उत्तम जीवन—नजीकै!
त्यो मौसमवेत्ताको कल्पना गर्नुहोस्, जसका अगमवाणीहरू सधैं साँचो साबित हुन्छन्। मानौं, तिनले भोलि बिहान पानी पर्नेछ भनेर साँझपख अगमवाणी गरे। भोलि बिहान घरबाट निस्कँदा छाता लग्न तपाईंले आनाकानी गर्नुहुनेछैन। तिनले बताएका सबै साँचो हुने भएकोले तपाईं ढुक्क हुनुहुन्छ। तपाईं तिनले भनेझैं गर्नुहुन्छ।
पार्थिव प्रमोदवनमा उत्तम जीवन प्रदान गर्ने यहोवाको प्रतिज्ञा कत्तिको भरपर्दो छ? भनौं भने, उहाँले पहिले गर्नुभएका कुराहरूले के देखाउँछ? बाइबलका प्रतिज्ञाहरूको पूर्तिले यहोवाको विश्वसनीयता स्पष्टसित प्रमाणित गर्छ। उहाँ अचूक सत्यताको परमेश्वर हुनुहुन्छ। (यहोशू २३:१४; यशैया ५५:११) यहोवा परमेश्वरका प्रतिज्ञाहरू यति भरपर्दा छन्, कहिलेकाहीं उहाँले ती भावी घटनाहरू अहिले भइसकेको जस्तो गरी बोल्नुहुन्छ। उदाहरणको लागि, मृत्यु र शोक नहुने नयाँ संसारबारे प्रतिज्ञा गर्नुभएपछि हामी यस्तो लेखिएको पाउँछौं: “ती [प्रतिज्ञा गरिएका आशिष्हरू] हुनआएका छन्।” अर्को शब्दमा भन्ने हो भने, “तिनीहरू वास्तविकता हुन्!”—प्रकाश २१:५, ६, पादटिप्पणी, न्युव.
हो, यहोवाले पहिले गर्नुभएका प्रतिज्ञाहरूको पूर्तिले मानवजातिको लागि उत्तम जीवनको प्रतिज्ञा वास्तविकता हुनेछ भनेर निर्धक्क बनाउँछ। तर यो उत्तम जीवन कहिले आउनेछ?
उत्तम जीवन—कहिले?
उत्तम जीवन चाँडै आउनेछ! हामी त्यसबारे ढुक्क हुनसक्छौं किनभने त्यस उत्तम जीवन आउनअघि पृथ्वीमा थुप्रै खराब कुराहरू हुनेछन् भनी बाइबलले बताउँछ। ती खराब कुराहरू अहिले भइरहेका छन्।
उदाहरणको लागि, येशू ख्रीष्टले महायुद्धहरू हुनेछन् भनी भविष्यवाणी गर्नुभयो। उहाँले यसो भन्नुभयो: “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ।” (मत्ती २४:७) यो भविष्यवाणी सत्य साबित भएको छ। सन् १९१४ देखि १९४५ सम्म दुइटा विश्वयुद्धहरू भए र त्यसपश्चात् अनगिन्ती युद्धहरू भएका छन्। “यस अवधिमा [दोस्रो विश्वयुद्धदेखि यता] युद्धहरूमा वर्षेनी औसतन् मारिनेहरूको संख्या १९ औं शताब्दीमा भन्दा दोब्बर र १८ औं शताब्दीमा भन्दा सात गुना बढी भएको छ।”—वर्ल्ड मिलिटरी एण्ड सोशियल एक्सपेन्डीचर्स नाइन्टीन नाइन्टी थ्री.
प्रमोदवनमा उत्तम जीवन नजीकै छ भन्ने अर्को प्रमाण, चारैतिर फैलिएका रोगहरू हुन्। येशूले ‘विभिन्न ठाउँहरूमा हुने रूढीबारे’ भविष्यवाणी गर्नुभएको थियो। (लूका २१:११) के यो भविष्यवाणी सत्य साबित भएको छ? छ। प्रथम विश्वयुद्धपश्चात् स्पेनिश फ्लू नामक महामारीले दुइ करोडभन्दा बढी मानिसहरूको ज्यान लियो। त्यतिबेलादेखि क्यान्सर, हृदय रोग, औलो, एड्स र अन्य रोगहरूले लाखौं मानिसहरूको ज्यान लिएको छ। विकासोन्मुख मुलुकहरूमा दूषित पानीको कारण हुने रोगहरूले (झाडापखाला र आन्द्रामा जूका पर्नु) वर्षेनी लाखौंको ज्यान जान्छ।
येशूले यसो पनि भन्नुभयो: “ठाउँ ठाउँमा अनिकाल . . . हुनेछ।” (मत्ती २४:७) अघिल्लो लेखमा बताइएअनुसार यस संसारका गरिबहरूसित यथेष्ट भोजन छैन। प्रमोदवनमा उत्तम जीवन नजीकै छ भन्ने अर्को प्रमाण यो पनि हो।
येशूले भन्नुभयो: “ठूला ठूला भैंचालो जानेछ।” (लूका २१:११) हाम्रो समयमा यस्तै भइरहेको छ। सन् १९१४ देखि विध्वंसकारी भुइँचालोहरूले लाखौं मानिसहरूको ज्यान लिएको छ।
बाइबलले अझै भन्छ, “आखिरी दिनमा” मानिसको व्यवहारमा परिवर्तन आउनेछ। तिनीहरू “स्वार्थी” र “धनका लोभी” हुनेछन् अनि छोराछोरीहरू “आमा-बाबुको आज्ञा पालन नगर्ने” हुनेछन्। मानिसहरू साधारणतया “परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने” हुनेछन्। (२ तिमोथी ३:१-५) के आज अधिकांश मानिसहरू यस्तै छन् भनेर तपाईं सहमत हुनुहुन्न र?
झन् झन् बढी मानिसहरूले खराब कामहरू गर्ने हुँदा अधर्म बढिरहेको छ। यसबारे पनि भविष्यवाणी गरिएको थियो। मत्ती २४:१२ अनुसार येशूले “अधर्म बढ़ने” सन्दर्भमा बताउनुभयो। पहिलेभन्दा अपराध बढेको कुरामा तपाईं सहमत हुनुहुन्छ होला। लुटिएला, ठगिएला र हानि भोग्नु पर्ला भनेर सबै ठाउँका मानिसहरू डराउँछन्।
बाइबलले भविष्यवाणी गरेझैं युद्ध, सर्वव्यापी रोग, अनिकाल, भुइँचालो, बढ्दो अपराध र बिग्रदो मानव सम्बन्धहरू आज प्रत्यक्ष छन्। तर तपाईं सोध्नुहोला, ‘यी कुराहरू त मानव इतिहासमा भई नै रहेका छन् हैन र? हाम्रो समय के अरू समयभन्दा भिन्न छ र?’
आज हाम्रो समयमा भइरहेका घटनाहरूका केही उल्लेखनीय पक्षहरू छन्। बाइबलले प्रमाणस्वरूप अनिकालजस्तो एउटै मात्र घटनालाई तोकेर हामी अन्तिम दिनमा बाँचिरहेका छौं र उत्तम जीवन नजीकै छ भनेर बताउँदैन। अन्तको समयबारे बाइबलका भविष्यवाणीहरू अधर्मी पुस्तामाथि पूरा हुनेथियो।—मत्ती २४:३४-३९; लूका १७:२६, २७.
यसबाहेक, विशेषगरि अनिकाल र सर्वव्यापी रोगहरूबारे येशूको भविष्यवाणीका केही पक्षहरू अहिले हाम्रो समयमा पूरा हुनु निकै अनौठो कुरा हो। किन? किनभने अहिले जति वैज्ञानिक प्रगतिहरू पहिले कहिल्यै भएको थिएन। अहिले चिकित्सा विज्ञान र स्वास्थोपचारहरू पहिलेभन्दा निकै उच्च प्रविधियुक्त वा सर्वव्यापी भएका छन्। यस्तो समयमा रोग र अनिकालको अवस्था सुध्रिनुको साटो बिग्रिनेछ भनेर परमेश्वरले मात्र उहाँको वचन, बाइबलमा भविष्यवाणी गर्न सक्नुहुने थियो।
अन्तको समय वा “आखिरी दिन[सित]” सम्बन्धित बाइबलका सारा भविष्यवाणीहरू अहिले पूरा भइरहेको हुँदा हामी कस्तो निष्कर्षमा पुग्नसक्छौं? उत्तम जीवन नजीकै छ भन्ने निष्कर्षमा! तर त्यो कसरी आउनेछ?
उत्तम जीवन—कसरी?
के तपाईंलाई मानिसहरूले प्रमोदवन ल्याउनसक्छ जस्तो लाग्छ? अहिले हाम्रो समयसम्म थुप्रै प्रकारका मानव सरकारहरू आइसकेका छन्। केहीले मानव आवश्यकताहरू सन्तुष्ट गर्न कडा यत्न गरेका छन्। यद्यपि, थुप्रै समस्याहरू झन् झन् बिग्रदैछन्। धनी तथा गरिब सबै प्रकारका मुलुकहरूमा सरकारहरूले लागू पदार्थको दुरुपयोग, अव्यवस्थित आवास, गरिबी, अपराध, बेरोजगारी र युद्ध विरुद्ध संघर्ष गर्नुपरेको छ।
सरकारहरूले यीमध्ये केही समस्याहरू समाधान गर्न सके तापनि तिनीहरूले पूर्ण सुस्वास्थ्य कहिल्यै दिन सक्नेछैनन्। तिनीहरूले वृद्धावस्था र मृत्यु पनि हटाउन सक्नेछैनन्। स्पष्टतः, मानिसहरूले पृथ्वीमा प्रमोदवन कहिल्यै ल्याउनेछैन।
बाइबलले बुद्धिमानीपूर्वक यसो भन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्, मानिसमाथि पनि नगर्, तिनीहरूबाट केही सहायता हुँदैन।” त्यसोभए हामीले कसमाथि भरोसा राख्ने? बाइबलले यसरी जवाफ दिन्छ: “याकूबका परमेश्वरलाई आफ्नो सहायक बनाउनेचाहिं सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा, हुन्छ।” (भजन १४६:३, ५) आफ्नो आशा यहोवामा राख्यौं भने कहिल्यै निराश हुनेछैनौं।
पृथ्वी, सूर्य तथा ताराहरू बनाउने बुद्धि र शक्ति भएको व्यक्तिले अवश्य पनि पृथ्वीलाई प्रमोदवन बनाउन सक्नुहुन्छ। उहाँले मानिसहरूलाई उत्तम जीवनको आनन्द उठाउन मदत दिन सक्नुहुन्छ। यहोवाले जे जति गर्ने उद्देश्य गर्नुहुन्छ, उहाँले पूरा गर्न सक्नुहुन्छ र अवश्य गर्नुहुनेछ। उहाँको वचनले यसो भन्छ: “किनकि परमेश्वरतर्फबाट हुने कोही कुरो असम्भव हुँदैन।” (लूका १:३७) तर परमेश्वरले उत्तम जीवन कसरी ल्याउनुहुनेछ?
यहोवाले आफ्नो राज्य मार्फत मानवजातिको लागि उत्तम जीवन ल्याउनुहुनेछ। अनि परमेश्वरको राज्य के हो? यो परमेश्वरद्वारा नियुक्त शासक, येशू ख्रीष्टको वास्तविक सरकार हो। परमेश्वरको राज्य स्वर्गमा अवस्थित छ तर यसले चाँडै पार्थिव प्रमोदवनका बासिन्दाहरूको लागि अद्भुत आशिष् तथा उत्तम जीवन ल्याउनेछ।—यशैया ९:६, ७.
बाइबलको मत्ती ६:९-१३ मा पाइने येशूको नमूना प्रार्थना तपाईंलाई थाहै होला। परमेश्वरसित गरेको उक्त प्रार्थनाको केही भाग यसप्रकार छ: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” त्यस प्रार्थनाअनुरूप पृथ्वीको लागि यहोवा परमेश्वरको उद्देश्य पूरा गर्न परमेश्वरको राज्य ‘आउनेछ।’ अनि यो पृथ्वी प्रमोदवन होस् भन्ने उहाँको उद्देश्य हो।
एउटा अन्तिम प्रश्न अझै रहन्छ: आउँदै गरेको प्रमोदवनमा उत्तम जीवनको आनन्द उठाउन तपाईंले के गर्नुपर्छ?
तपाईंले के गर्नु खाँचो छ
यहोवा परमेश्वरको इच्छा पालन गर्ने सबैलाई उहाँले प्रमोदवनमा उत्तम जीवनको प्रत्याशा मायालुपूर्वक प्रदान गर्नुभएको छ। बाइबलले हामीलाई यसो भन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन ३७:२९) तर परमेश्वरको नजरमा कुनै व्यक्ति कसरी धर्मी हुनसक्छ?
यहोवालाई खुशी तुल्याउन उहाँले हामीबाट के चाहनुहुन्छ, त्यसबारे अझ बढी सिक्नुपर्छ। हामीले परमेश्वरको ज्ञान लियौं र त्यसलाई आफ्नो जीवनमा पालन गऱ्यौं भने सधैंभरि बाँच्नसक्छौं। येशूले परमेश्वरलाई प्रार्थना गर्दा यसो भन्नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।”—यूहन्ना १७:३.
यहोवा परमेश्वर र येशू ख्रीष्टबारे बताउने पुस्तक, परमेश्वरको वचन, बाइबल हो। यो यहोवाले दिनुभएको सबैभन्दा मूल्यवान् वरदानहरूमध्ये एक हो। बाइबल, मायालु बुबाले आफ्ना छोराछोरीहरूलाई लेख्नुभएको पत्रजस्तै हो। यसले मानवजातिको लागि उत्तम जीवन ल्याउने परमेश्वरको प्रतिज्ञाबारे बताउँछ र त्यो हामी कसरी प्राप्त गर्नसक्छौं भनेर पनि देखाउँछ। परमेश्वरले बिगतमा के गर्नुभयो र भविष्यमा के गर्नुहुनेछ भनी बाइबलले हामीलाई बताउँछ। यसले अहिलेका समस्याहरूको कसरी सफलतापूर्वक सामना गर्ने भनेर व्यवहारिक सल्लाह पनि दिन्छ। निस्सन्देह, यस दुःखै दुःखले भरिएको संसारमा पनि केही हदसम्म कसरी आनन्दित हुन सकिन्छ भनी परमेश्वरको वचनले सिकाउँछ।—२ तिमोथी ३:१६, १७.
यहोवाका साक्षीहरूले खुशीसाथ तपाईंसित निश्शुल्क गृह बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाउनेछन्। निकट भविष्यमा उत्तम जीवनको प्रत्याशा लिएर अहिले आनन्दित जीवन कसरी पाउन सकिन्छ, सिक्नुहोस्।
[पृष्ठ ५-मा भएको चित्र]
उत्तम जीवन नजीकै छ भनेर बाइबल भविष्यवाणीहरूले संकेत गर्छ
[पृष्ठ ७-मा भएको चित्र]
परमेश्वरको राज्यले मानवजातिलाई उत्तम जीवन प्रदान गर्नेछ