प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १/१ pp. २३-२८
  • यहोवाले “असामान्य शक्‍ति” दिनुभएको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले “असामान्य शक्‍ति” दिनुभएको छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍नै प्रश्‍नले भरिएको बिरामी केटी
  • “यो पुस्तकले तिमीलाई बिगारेको छ!”
  • नयाँ जीवन
  • खाँचोमा परेका हाम्रा भाइहरूलाई मदत गर्दै
  • बारम्बारको यात्रामा जोखिमहरू
  • यहोवाको शक्‍तिको कारण सन्तोषजनक जीवन
  • यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—अल्बेनिया र कोसोभो
    यहोवाका साक्षीहरूको अनुभव
  • मेरो आध्यात्मिक तृष्णा कसरी तृप्त भयो
    ब्यूँझनुहोस्‌!—२००३
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १/१ pp. २३-२८

जीवनी

यहोवाले “असामान्य शक्‍ति” दिनुभएको छ

हेलेन मार्क्सको वृत्तान्तमा आधारित

सन्‌ १९८६ को कुरा हो, उखुम गर्मीको दिन थियो। युरोपको एउटा अत्यन्तै सुस्त विमानस्थलको भन्सार कार्यालय भएको टहरोमा म एक्लै थिएँ। त्यो, अल्बेनियाको राजधानी टिरेन अर्थात्‌ “संसारको प्रथम नास्तिकवाद राज्य” भनी घोषणा गरेको ठाउँ थियो।

सैन्य अधिकारीले मेरो सामान जाँच्दा अनिश्‍चितता र डरको मिश्रित भावनाहरू मनमा खेलाउँदै हेरिरहें। मैले तिनलाई शंका लाग्ने केही कुरा गरें वा भनेको खण्डमा मलाई देश निकाला गरिने र मलाई बाहिर पर्खिरहेका मानिसहरूलाई झ्यालखाना वा यातना शिविरमा पठाइने थियो। तर खुसीको कुरा, मैले अधिकारीलाई चुइङ गम र बिस्कुट दिएपछि तिनले मसँग मित्रैलो व्यवहार गरे। तर ६० वर्ष नाघिसकेकी बूढी मान्छे यहाँ आउनुको कारण के थियो? आरामको जिन्दगी त्यागेर अनि आफ्नो ज्यानै जोखिममा हालेर मैले मार्क्सवादी-लेनिनवादीहरूको बलियो गढ भएको ठाउँमा किन राज्य गतिविधि बढाउन चाहन्थे?

प्रश्‍नै प्रश्‍नले भरिएको बिरामी केटी

सन्‌ १९२० मा म दुई वर्षको हुँदा क्रेटको इरापेट्रामा मेरो बुबाको निमोनियाले गर्दा मृत्यु भयो। आमा गरिब र अनपढ हुनुहुन्थ्यो। म चार छोराछोरीमध्ये कान्छी थिएँ र मलाई कमलपित्त भएको कारण म शरीरमा रगत नभएजस्तो सेतो र बिरामी देखिन्थें। छिमेकीहरूले आमालाई आफ्ना तीन स्वस्थ छोराछोरीको स्याहारसुसार गर्न समय र सीमित आयस्रोत खर्च गरेर मलाई चाहिं मर्न दिनु भन्‍ने सल्लाह दिए। आमाले तिनीहरूको सल्लाह नसुन्‍नु भएकोमा म धेरै खुसी छु।

बुबाको आत्माले स्वर्गमा चिरशान्ति पाओस्‌ भनेर आमा अक्सर चिहान जानुहुन्थ्यो र अर्थोडक्स पादरीलाई केही धार्मिक कार्य गर्न लाउनुहुन्थ्यो। तर त्यस्ता कार्यहरू सस्तो चाहिं थिएनन्‌। मलाई त्यो क्रिसमसको कठांग्रिने जाडोको दिन अझै याद छ, जुन दिन म उहाँसँग चिहानबाट फर्कंदा खुट्टा घिसार्दै हिंडिरहेको थिएँ। हामीले आफूसँग भएको बाँकी सबै पैसा पादरीलाई दिइसकेका थियौं। आमाले हामी छोराछोरीलाई केही सागसब्जी पकाइ दिनुभयो अनि उहाँचाहिं भोको पेट र दुःखको आँसु चुहाउँदै अर्को कोठामा जानुभयो। केही समयपछि साहस बटुलेर म पादरीकहाँ गएँ र तिनलाई मेरो बुबाको मृत्यु हुनुको कारण र आमाले किन पादरीलाई पैसा तिर्नु परेको भनेर सोधें। अप्ठ्यारो मान्दै तिनले यस्तो उत्तर दिए: “तिम्रो बुबालाई परमेश्‍वरले लग्नुभयो। जीवन भनेको यस्तै हो। केही समयपछि तिमीले यो दुःख बिर्सनेछौ।”

तिनले भनेका कुरा र मैले स्कूलमा सिकेको प्रभुको प्रार्थना कसरी मिल्छ भनेर मैले त बुझ्नै सकिनँ। मलाई अझ पनि यसको सुरुका सुन्दर र अर्थपूर्ण शब्दहरू याद छ: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:९, १०) परमेश्‍वर आफ्नो इच्छा पृथ्वीमा पूरा होस्‌ भन्‍ने चाहनुहुन्छ भने, हामीले अहिले किन यत्तिबिघ्न दुःखकष्ट भोग्नुपरेको?

सन्‌ १९२९ मा यहोवाका साक्षीहरूको पूर्ण-समय प्रचारक, इमान्वेल लियोनडाकिस हाम्रो घरमा आउँदा मैले झन्डै मेरा प्रश्‍नहरूको जवाफ पाएकी थिएँ।a आमाले तिनलाई के चाहियो भनी सोध्नुहुँदा इमान्वेलले एक शब्द नबोली आमालाई साक्षी पत्र पढ्‌न दिए। आमाले त्यो कार्ड मलाई पढ्‌न दिनुभयो। म त्यतिबेला नौ वर्षकी मात्र भएको कारण मैले त्यसमा लेखिएको कुरा राम्ररी बुझ्न सकिनँ। ती प्रचारक लाटो भन्ठानेर आमाले यसो भन्‍नुभयो: “के गर्ने! तपाईं बोल्न सक्नुहुन्‍न र म पढ्‌न सक्दिनँ।” त्यसपछि आमाले अब जानुहोस्‌ भनेर राम्रैसँग ढोकातिर देखाउनुभयो।

केही वर्षपछि मैले जवाफ भेट्टाएँ। मेरो दाइ इमान्वेल पाटरकिसले त्यही पूर्ण-समय सेवकबाट यहोवाका साक्षीहरूद्वारा प्रकाशित ह्वेर आर द देड? पुस्तिका प्राप्त गर्नुभयो।b यो पुस्तिका पढेपछि बुबालाई परमेश्‍वरले लग्नुभएको होइन रहेछ भनी थाह पाउँदा ढुक्क लाग्यो। मृत्यु हुनुको कारण मानिसजातिको असिद्धता हो र बुबा पार्थिव प्रमोदवनमा पुनरुत्थानको पर्खाइमा हुनुहुन्छ भनेर पनि त्यस पुस्तिकाबाट थाह पाएँ।

“यो पुस्तकले तिमीलाई बिगारेको छ!”

बाइबल सच्चाइले हाम्रो आँखा खोल्यो। हामीले बुबाको पुरानो बाइबल भेट्टायौं र हामी अक्सर आगो बाल्ने ठाउँको वरपर बसेर मैनबत्तीको उज्यालोमा यो अध्ययन गर्न थाल्यौं। त्यस इलाकामा त्यतिबेला बाइबलमा चासो लिने केटी म मात्र भएकीले साक्षीहरूको सानो समूहका गतिविधिहरूमा मलाई समावेश गरिएन। मलाई पहिला त यो धर्म केटाहरूको लागि मात्र हो जस्तो लागेको थियो तर मेरो सोचाइ गलत थियो।

प्रचारकार्यप्रति दाइको उत्साह मेरोलागि प्रेरणाको स्रोत थियो। केही समयपछि, प्रहरीले दिन रात जुनसुकै बेला इमान्वेल र प्रकाशनहरूको खोजीमा हाम्रो घरमा आउन थाल्यो। एक जना पादरी हामीलाई चर्चमा फर्कन मनाउन आएको मलाई अझै राम्ररी याद छ। इमान्वेलले बाइबलबाट तिनलाई परमेश्‍वरको नाउँ यहोवा हो भनी देखाउँदा तिनले बाइबल खोसेर लिए र दाइको अगाडि किताब एकदमसित हल्लाउँदै यसो भनेर कराए, “यस किताबले तिमीलाई बिगारेको छ!”

सन्‌ १९४० मा इमान्वेल दाइले सेनामा सेवा गर्न इन्कार गर्नुहुँदा उहाँलाई समाते र अल्बेनियाली युद्ध क्षेत्रमा पठाइयो। त्यसपछि हामीले दाइबाट केही समाचार पाएनौं र हामीले उहाँ मरिसक्नुभयो होला भन्ठान्यौं। तथापि, दुई वर्षपछि हामीले कारागारबाट उहाँले पठाउनुभएको पत्र पायौं। उहाँ जीवित र सकुशल हुनुहुन्थ्यो! उहाँले त्यस पत्रमा उद्धृत गर्नुभएको एउटा शास्त्रपदले अहिलेसम्म मेरो मनमा अमेट छाप पारेको छ: “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इतिहास १६:९) हामीलाई त्यस्तै प्रोत्साहन चाहिएको थियो!

इमान्वेल दाइ कारागारमै हुनुहुँदा उहाँले केही भाइहरूलाई मलाई भेट्‌न जान आग्रह गर्नुभएको रहेछ। तुरुन्तै, शहरबाहिर एउटा खेतमा अवस्थित घरमा गोप्य मसीही सभाहरू आयोजना गरियो। कसैले हामीलाई चियो गरिरहेको छ भन्‍ने कुरा त हामीलाई थाहै भएन! एउटा आइतबार सशस्त्र प्रहरीले हामीलाई घेरा लगाए। तिनीहरूले हामीलाई खुला ट्रकमा हालेर शहरभरि घुमाए। मानिसहरूले हामीलाई खिसी गर्दै गिल्ला गरेको मलाई अझै याद छ तर यहोवाले उहाँको आत्मामार्फत हामीलाई मनोशान्ति दिनुभयो।

हामीलाई त्यहाँबाट अर्को शहरमा लगे अनि एकदमै अँध्यारो र फोहोर कोठरीमा थुनेर राखे। मेरो कोठरीमा शौचालय भनेको एउटा बाल्टिन थियो, जुन दिनको एक चोटि सफा गरिन्थ्यो। मलाई आठ महिना जेल सजाय दिइयो किनभने मलाई तिनीहरूले त्यस समूहको “शिक्षक” भन्ठानेका थिए। तथापि, त्यस कारागारमा थुनिएका एक जना भाइले हाम्रो मुद्दा लड्‌न तिनको वकिल मिलाइदिए र तिनी हामीलाई रिहा गर्न सफल भए।

नयाँ जीवन

इमान्वेल दाइ जेलबाट छुट्‌नुभएपछि उहाँ परिभ्रमण निरीक्षकको हैसियतमा एथेन्सका मण्डलीहरू भ्रमण गर्न थाल्नुभयो। म सन्‌ १९४७ मा त्यहाँ बसाइँ सरें। बल्लतल्ल मैले साक्षीहरूको ठूलो समूह भेटें र त्यस समूहमा लोग्ने मान्छेहरू मात्र होइन तर स्त्री तथा केटाकेटीहरू पनि थिए। अन्तमा, जुलाई १९४७ मा पानीको बप्तिस्माद्वारा यहोवालाई आफ्नो जीवन समर्पण गर्न सकें। म अक्सर मिसनरी हुने सपना देख्थें र यसैकारण अंग्रेजी सिक्न म साँझ स्कूल धाउन थालें। सन्‌ १९५० मा म अग्रगामी भएँ। आमा मसँग बस्न आउनुभयो र उहाँले पनि बाइबल सत्य अँगाल्नुभयो। त्यसपछि आफ्नो मृत्यु नहोउञ्जेल अर्थात्‌ ३४ वर्षसम्म उहाँ यहोवाका साक्षी नै रहनुभयो।

त्यसै वर्ष मैले जोन मार्क्सलाई (मार्कोपोलस) भेटें। उहाँ संयुक्‍त राज्यको सम्मानित अनि आध्यात्मिक व्यक्‍ति हुनुहुन्थ्यो। जोनको जन्म अल्बेनियाको दक्षिणी भागमा भएको थियो र संयुक्‍त राज्यमा बसाइँ सरेपछि उहाँ यहोवाको साक्षी हुनुभएको रहेछ। सन्‌ १९५० मा अल्बेनियाको प्रवेशाज्ञा लिन उहाँ ग्रीस आउनुभएको थियो। त्यतिबेला अल्बेनियामा अत्यन्तै क्रूर कम्युनिष्ट सरकार थियो र बाहिरी संसारको कुनै प्रभाव पर्न नदिन कडा निगरानी राखिन्थ्यो। जोनले आफ्नो परिवारका सदस्यहरू १९३६ देखि नभेटेको भए तापनि उहाँलाई अल्बेनिया जाने प्रवेशाज्ञा दिइएन। परमेश्‍वरको सेवाको निम्ति उहाँको जोस र भ्रातृत्वको निम्ति गहिरो प्रेम देखेर म प्रभावित भएँ र हामीले अप्रिल ३, १९५३ मा बिहे गऱ्‍यौं। त्यसपछि हामी हाम्रो नयाँ घर संयुक्‍त राज्य अमेरिकाको, न्यु जर्सीमा बसाइँ सऱ्‍यौं।

पूर्ण-समय प्रचारकार्यमा लाग्दा आफ्नो जीवन धान्‍नको लागि जोन र मैले न्यु जर्सीको समुद्र तटमा एउटा सानो व्यापार गरेका थियौं। हामी मछुवाहरूको निम्ति बिहानको नास्ता तयार पार्थ्यौं। हामी गर्मीका महिनाहरूमा मात्र झिसमिसे उज्यालोदेखि बिहान ९ बजेसम्म काम गर्थ्यौं। हाम्रो जीवनलाई सरल बनाउँदै आध्यात्मिक गतिविधिहरूमा ध्यान केन्द्रित गर्दा हामीले आफ्नो अधिकांश समय प्रचार कार्यमा बिताउँथ्यौं। वर्षौंको दौडान प्रचारकहरूको आवश्‍यकता बढी भएको विभिन्‍न ठाउँमा हामीलाई खटाइयो। हामी गएका सबै ठाउँमा यहोवाको मदतद्वारा हामीले जिज्ञासु व्यक्‍तिहरूलाई मदत गर्न, मण्डली स्थापना गर्न र राज्यभवनहरू निर्माण गर्न सक्यौं।

खाँचोमा परेका हाम्रा भाइहरूलाई मदत गर्दै

तथापि, हामीले चाँडै एउटा रोमाञ्कारी सुअवसर पायौं। जिम्मेवार भाइहरू बाल्कन क्षेत्रका सँगी विश्‍वासीहरूसँग सम्पर्क कायम राख्न चाहन्थे, जहाँ हाम्रो काममा प्रतिबन्ध लगाइएको थियो। त्यस क्षेत्रका यहोवाका साक्षीहरूले देशबाहिरका आफ्ना भाइबहिनीहरूलाई नभेटेको वर्षौं भइसकेको थियो। तिनीहरूले आध्यात्मिक भोजन प्राप्त गर्न सकिरहेका थिएनन्‌ र तिनीहरूले क्रूर सतावट भोगिरहेका थिए। तिनीहरूमध्ये कतिपय कडा निगरानीमा र अन्य कति जना चाहिं कारागार वा यातना शिविरमा थिए। तिनीहरूलाई बाइबल आधारित साहित्य, डोऱ्‍याइ तथा प्रोत्साहनको नितान्त आवश्‍यकता थियो। उदाहरणका लागि, अल्बेनियाबाट प्राप्त एउटा गोप्य अस्पष्ट सन्देश यस्तो थियो: “हाम्रोलागि प्रभुसँग प्रार्थना गर्नुहोस्‌। घरघर साहित्य जफत। हामीलाई पढ्‌न दिंदैनन्‌। तीन जना पक्राउमा परे।”

अतः नोभेम्बर १९६० मा हामीले यी देशहरूको भ्रमण गर्ने हेतुले छ महिने लामो यात्रा थाल्यौं। आफ्नो काममा सफल हुन हामीलाई निश्‍चय “असामान्य शक्‍ति,” ईश्‍वरप्रदत्त साहस, निडरता र चतुऱ्‍याइँ आवश्‍यक पर्ने थियो। (२ कोरिन्थी ४:७, नयाँ संशोधित संस्करण) हाम्रो प्रथम गन्तव्यस्थान अल्बेनिया थियो। हामीले पेरिसमा गाडी किन्यौं र त्यहाँबाट यात्रा थाल्यौं। हामी रोम पुगेपछि जोनले मात्र अल्बेनिया जाने प्रवेशाज्ञा पाउनुभयो। यसकारण मचाहिं एथेन्स, ग्रीस गएर त्यहाँ उहाँलाई पर्खिनुपर्ने थियो।

सन्‌ १९६१ फेब्रअरीको अन्ततिर जोन अल्बेनिया पुग्नुभयो र त्यहाँ मार्च महिनाको अन्तसम्म बस्नुभयो। टिरानेमा उहाँले ३० जना भन्दा बढी भाइहरूसँग भेटघाट गर्नुभयो। नितान्त आवश्‍यक साहित्य तथा प्रोत्साहन पाउँदा तिनीहरू कत्ति खुसी भए! तिनीहरूले बाहिर देशका भाइहरू कोही नभेटेको २४ वर्ष भइसकेको थियो।

ती भाइहरूको निष्ठा र धीरज देखेर जोन प्रभावित हुनुभयो। तिनीहरूमध्ये थुप्रैको जागिर खोसिएको र कम्युनिष्ट राज्यका गतिविधिहरूमा भाग नलिएको कारण पक्राउमा परेको कुरा उहाँले थाह पाउनुभयो। विशेष गरी असी वर्ष नाघिसकेका दुई जना भाइले उहाँलाई प्रचारकार्यको निम्ति भनेर झन्डै १०० अमेरिकी डलर अनुदान दिंदा उहाँको हृदय छोयो। तिनीहरूले आफूले पाउने सानो रकमको भत्ताबाट अलि-अलि गर्दै वर्षौंदेखि बचत गरेका रहेछन्‌।

जोनको अल्बेनिया भ्रमणको अन्तिम दिन मार्च ३०, १९६१ थियो अर्थात्‌ येशूको मृत्युको स्मरणार्थको दिन। जोनले त्यहाँ उपस्थित ३७ व्यक्‍तिलाई स्मरणार्थ भाषण दिनुभयो। भाषण सिद्धिने बित्तिकै भाइहरूले जोनलाई पछाडिको ढोकाबाट बाहिर लगे र डुरेसको बन्दरगाहसम्म पुऱ्‍याए। त्यहाँ पुगेर उहाँ ग्रीसको पिरायस जाने टर्कीको मालबाहक जहाज चढ्‌नुभयो।

उहाँ सकुशलै फर्किनुभएकोमा म खुसी थिएँ। अब हामी बाँकी खतरनाक यात्राको लागि तयार भयौं। हाम्रो काममा प्रतिबन्ध लगाइएका अन्य तीन बाल्कन देशहरूमा हामी गयौं र यो जोखिमपूर्ण काम थियो किनभने हामीसँग बाइबल साहित्य, टाइपराइटर तथा अन्य सामानहरू थियो। यहोवाको निम्ति आफ्नो जागिर, स्वतन्त्रता र आफ्नो ज्यानसमेत जोखिममा हाल्न तयार केही अत्यन्तै वफादार भाइबहिनीहरूलाई भेट्‌न पाउनु हाम्रोनिम्ति ठूलो सुअवसरको कुरा थियो। उहाँहरूको जोस र साँचो प्रेम प्रेरणाको स्रोत थियो। यहोवाले दिनुभएको “सर्वश्रेष्ठ शक्‍ति” देखेर पनि हामी प्रभावित भयौं।

हाम्रो यात्रा सफल भयो र हामी त्यहाँबाट संयुक्‍त राज्य फर्क्यौं। त्यसपछिका वर्षहरूमा अल्बेनियाका भाइहरूलाई साहित्यहरू पठाउन र त्यहाँका भाइहरूको गतिविधिको रिपोर्ट प्राप्त गर्न हामीले विभिन्‍न तरिका अपनायौं।

बारम्बारको यात्रामा जोखिमहरू

समय बित्दै गयो र सन्‌ १९८१ मा ७६ वर्षको उमेरमा जोनको मृत्यु हुँदा म एक्लै भएँ। मेरी भान्जी इभानजेलिया र तिनको श्रीमान्‌ जोर्ज ओर्फान्डियसले मलाई उनीहरूसँग बस्न बोलाए र त्यस बेलादेखि उनीहरूले मलाई मूल्यवान्‌ भावनात्मक र व्यावहारिक मदत दिंदै आएका छन्‌। तिनीहरूले पनि सुडानमा प्रतिबन्धको बेला सेवा गर्दा यहोवाको बल महसुस गरेका थिए।c

अन्ततः अल्बेनियाका हाम्रा भाइहरूसँग सम्पर्क कायम राख्न नयाँ तरिका अपनाइयो। त्यहाँ मेरो श्रीमान्‌का नातेदारहरू भएकोले मलाई त्यहाँ जान चाहनुहुन्छ कि भनेर सोधियो। निस्सन्देह म जान चहान्थें!

निकै महिना दौडधूप गरेपछि मे १९८६ मा बल्ल मैले एथेन्सस्थित अल्बेनियाली राजदूतावासबाट प्रवेशाज्ञा पाएँ। त्यहाँका कूटनीतिज्ञहरूले मलाई अल्बेनियामा केही गडबडी भयो भने कुनै मदत पाउनुहुन्‍न है भनेर कडा चेताउनी दिएका थिए। म एउटा ट्राभल एजेन्टमा अल्बेनियाको निम्ति हवाई टिकट किन्‍न जाँदा तिनी तीन छक परे। हप्ताको एक चोटि मात्र एथेन्सबाट टिराने जाने हवाईजहाज चढ्‌न मनमा उठेका सबै डरलाई मैले एकातिर पन्छाएँ। त्यस हवाईजहाजमा तीन जना वृद्ध अल्बेनियालीहरू मात्र थिए। तिनीहरू ग्रीसमा स्वास्थ्य परीक्षण गरेर फर्किन लागेका थिए।

हवाईजहाज अवतरण हुने बित्तिकै मलाई भन्सार कार्यालय भएको एउटा टहरामा लगियो। मेरो देवर र नन्द यहोवाका साक्षीहरू नभए तापनि तिनीहरू मलाई स्थानीय भाइहरूसँग भेटाउन इच्छुक थिए। कानुनअनुसार तिनीहरूले मेरो आगमनबारे स्थानीय प्रमुखलाई खबर गर्नुपर्थ्यो। फलस्वरूप, मेरो निकै चियो गरियो। त्यसैकारण, मेरा नातेदारहरूले मलाई घरमै बस्ने सल्लाह दिए र तिनीहरूचाहिं टिरानेका दुई जना भाइलाई खोज्न गए र उनीहरूलाई घरैमा ल्याइदिए।

त्यतिबेला अल्बेनियाभरि जम्माजम्मी नौ जना समर्पित भाइहरू थिए। वर्षौंको प्रतिबन्ध, सतावट र कडा निगरानीको कारण तिनीहरू असाध्यै होसियार भएका थिए। तिनीहरूको अनुहार चाउरी परेको थियो। ती दुई भाइहरूले म साँच्चै एक साक्षी हुँ भनी पत्याएपछि तिनीहरूको पहिलो प्रश्‍न थियो: “प्रहरीधरहराहरू कहाँ छन्‌?” तिनीहरूसँग वर्षौं पुरानो दुइटा पुस्तक मात्र रहेछन्‌, बाइबलसमेत थिएन।

तिनीहरूले त्यहाँको शासनले तिनीहरूमाथि गरेको क्रूर व्यवहारबारे सविवरण सुनाए। तिनीहरूले आगामी चुनाउमा तटस्थ रहने निर्णय गरेका एक जना भाइको अनुभव सुनाए। सबै कुरा राज्यको नियन्त्रणमा भएको कारण तिनको परिवारले केही खानेकुरा पाउँदैनथ्यो। तिनका विवाहित छोराछोरी र तिनीहरूका परिवारको धार्मिक विश्‍वास बेग्लै भए तापनि सबैलाई जेल चलान गरिने थियो। भनिन्छ, त्यस भाइको परिवारले डरको कारण चुनाउको अघिल्लो रात त्यस भाइको हत्या गरेर तिनको शरीर इनारमा फालिदिए र पछि तिनले डराएर आत्महत्या गरेको हल्ला फैलाए।

ती सँगी मसीहीहरूको दयनीय अवस्था हृदयविदारक थियो। यद्यपि, मैले तिनीहरू प्रत्येकलाई २० अमेरिकी डलर दिन खोज्दा लिन अस्वीकार गरे र यसो भने, “हामी आध्यात्मिक भोजन मात्र चाहन्छौं।” ती भाइहरू आफ्नो अधिकांश जनतालाई नास्तिक बनाउन सफल तानाशाह शासनको अधीनमा बसेको दशकौं भइसकेको थियो। तर तिनीहरूको विश्‍वास र संकल्प अरू ठाउँका साक्षीहरूको जस्तै बलियो थियो। अल्बेनियामा दुई हप्ता बस्दा अत्यन्तै कठिन परिस्थितिमा पनि “असामान्य शक्‍ति” दिनसक्ने यहोवाको योग्यता देखेर म साँच्चै प्रभावित भएँ।

मैले १९८९ र फेरि १९९१ मा अल्बेनिया जाने सुअवसर पाएँ। त्यस देशमा बिस्तारै वाक्‌ र धार्मिक स्वतन्त्रता प्राप्त हुन थालेपछि यहोवाका उपासकहरूको संख्या तीव्र गतिमा वृद्धि हुन थाल्यो। सन्‌ १९८६ का मुठीभर समर्पित मसीहीहरूको संख्या बढेर २,२०० भन्दा बढी पुगेको छ। तिनीहरूमध्ये मेरो नन्द मेल्पो पनि थिइन्‌। यहोवाले त्यस विश्‍वासी समूहलाई आशिष्‌ दिनुभयो भन्‍ने कुरामा के कुनै सन्देह छ र?

यहोवाको शक्‍तिको कारण सन्तोषजनक जीवन

विगतका दिनहरू सम्झँदा जोन र मैले गरेको काम व्यर्थमा गएन भनी म विश्‍वस्त छु। हामीले आफ्नो जवानीको बल सबैभन्दा उपयोगी तरिकामा चलायौं। पूर्ण-समय सेवकाईको हाम्रो काम सबैभन्दा अर्थपूर्ण भएको छ। यत्ति अर्थपूर्ण काम त अरू कुनै हुन सक्दैन। वर्षौंको दौडान हामीले बाइबल सत्य सिक्न मदत गरेकाहरूलाई देख्दा आनन्दित हुन्छु। अहिले मेरो उमेर ढल्किसक्यो र म जवानहरूलाई “युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना” गर्न हार्दिक प्रोत्साहन दिन्छु।—उपदेशक १२:१.

अहिले म ८१ वर्षकी भइसकें तर म अझै पनि सुसमाचारको पूर्ण-समय प्रकाशकको रूपमा काम गर्न सक्षम छु। म बिहान सबेरै उठ्‌छु र बस बिसौनी, पार्किङ क्षेत्र, सडक, पसल वा पार्कहरूमा मानिसहरूलाई साक्षी दिने गर्छु। बुढेसकालले गर्दा धेरै समस्या हुन्छ तर मेरा मायालु आध्यात्मिक भाइबहिनीहरू अर्थात्‌ मेरो ठूलो आध्यात्मिक परिवारलगायत मेरी भान्जीको परिवार साँच्चै ठूलो बल साबित भएका छन्‌। अझ योभन्दा पनि महत्त्वपूर्ण कुरा त, “[असामान्य शक्‍ति, NW] हाम्रो होइन तर परमेश्‍वरको हो” भन्‍ने कुरा मैले सिकेकी छु।—२ कोरिन्थी ४:७, नयाँ संशोधित संस्करण।

[फुटनोटहरू]

a इमान्वेल लियोनडाकिसको जीवनी प्रहरीधरहरा, सेप्टेम्बर १, १९९९, पृष्ठ २५-९ हेर्नुहोस्‌।

b इमान्वेल पाटरकिसको जीवनी प्रहरीधरहरा, नोभेम्बर १, १९९६ को पृष्ठ २२-७ मा हेर्नुहोस्‌।

c यहोवाका साक्षीहरूद्वारा प्रकाशित १९९२ यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज-को पृष्ठ ९१-२ हेर्नुहोस्‌।

[पृष्ठ २५-मा भएको चित्र]

माथि: सन्‌ १९५० मा एथेन्सको बेथेल परिवारसँग, जोन (सबैभन्दा बायाँमा), म (बीचमा), मेरो बायाँमा इमान्वेल दाइ र उहाँको बायाँपट्टि आमा

[पृष्ठ २५-मा भएको चित्र]

बायाँ: न्यु जर्सी तटमा जोनसँग हाम्रो पसलमा, १९५६

[पृष्ठ २६-मा भएको चित्र]

अल्बेनिया, टिरानेमा जिल्ला अधिवेशन, १९९५

[पृष्ठ २६-मा भएको चित्र]

अल्बेनिया, टिरानेमा बेथेल। निर्माण सम्पन्‍न भएको १९९६

[पृष्ठ २६-मा भएको चित्र]

माथि: सन्‌ १९४० “प्रहरीधरहरा” पत्रिकाबाट लुकिछिपी अल्बेनियाली भाषामा अनुवाद गरिएको लेख

[पृष्ठ २६-मा भएको चित्र]

मेरी भान्जी, इभानजेलिया ओर्फान्डियस (दायाँ) र तिनको श्रीमान्‌ जोर्जसँग

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने