आनन्दरहित संसारमा आनन्दित
“यो संसार पूर्णतया शैतानकै शताब्दी साबित भएको छ।” द न्यु योर्क टाइम्स्, जनवरी २६, १९९५ को सम्पादकीयको सुरुमै त्यो वाक्यांश थियो। “जातीय, धार्मिक तथा वर्गीय कारणले गर्दा एकअर्कालाई मार्ने यति धेरै झुकाउ र प्रवृत्ति मानिसहरूमा पहिले कहिल्यै थिएन।”
नाजी मृत्यु शिविरहरूमा थुप्रै निर्दोष व्यक्तिहरू थुनिएका थिए। ती व्यक्तिहरूले छुटकारा प्राप्त गरेको ५० औं वार्षिकोत्सवमा माथि उल्लेख गरिएजस्ता सम्पादकीय लेखहरू प्रकाशित भए। तथापि, अफ्रिका तथा पूर्वी युरोपमा त्यस्तै प्रकारका हिंस्रक मारकाटहरू अझै भइरहेका छन्।
नरसंहार, साम्प्रदायिक संहार, जनजातीय मारकाट, जस्तोसुकै नाउँ दिए तापनि यसको परिणाम असाध्यै दुःखदायी हुन्छ। यद्यपि, त्यसरी जानाजानी गरिएको संहारको माझमा आनन्दित मानिसहरू पनि छन्। उदाहरणका लागि, सन् १९३० दशकको जर्मनीलाई हेरौं।
हिटलर तथा तिनको नाजी पार्टीले सन् १९३५ अप्रिलसम्ममा यहोवाका साक्षीहरूलाई कुनै पनि प्रकारको निजामती सेवामा भर्ती हुन प्रतिबन्धित गरिसकेको थियो। यहोवाका साक्षीहरूले मसीही तटस्थता कायम गरेकोले तिनीहरू गिरफ्तार भए, थुनामा परे र यातना शिविरहरूमा पठाइए। (यूहन्ना १७:१६) सन् १९३६ अगस्त महिनाको अन्ततिर यहोवाका साक्षीहरूको सामूहिक गिरफ्तारी भयो। तिनीहरूमध्ये हजारौंलाई यातना शिविरहरूमा पठाइयो र जीवित रहनेहरू सन् १९४५ सम्म त्यहीं बस्नुपऱ्यो। तर यहोवाका साक्षीहरूले ती यातना शिविरहरूको अमानवीय व्यवहारप्रति कस्तो प्रतिक्रिया देखाए? सुन्दा छक्क लाग्ला तर आनन्दरहित परिस्थितिको बावजूद तिनीहरू आनन्दित हुनसके।
“माटोमा चट्टान”
बेलाइती इतिहासकार क्रिस्टीन किङले शिविरमा जीवन बिताएकी एउटी क्याथोलिक स्त्रीसित अन्तरवार्ता लिइन्। डा. किङले यसो भनिन्, “तिनले प्रयोग गरेकी एउटा वाक्यांश मैले कहिल्यै बिर्सिनँ। तिनले जीवनको त्रास र त्यहाँको घिनलाग्दो परिस्थितिबारे बेलीबिस्तार सुनाइन्। अनि तिनले भनिन्, तिनी यहोवाका साक्षीहरूलाई चिन्थे र ती साक्षीहरू माटोमा चट्टानजस्तै थिए। तिनीहरू चिप्ले माटोमा पनि दह्रो ठाउँजस्तै थिए। सुरक्षाकर्मीहरू आफ्नो छेऊबाट जाँदा यहोवाका साक्षीहरूले मात्र तिनीहरूलाई थुक्दैनन् थिए। तिनीहरूले मात्रै घृणा होइन तर प्रेम र आशा अनि एउटा उद्देश्य छ भन्ने भावनाले शिविरको परिस्थितिलाई सहे।”
कुन कुराले यहोवाका साक्षीहरूलाई ‘माटोमा चट्टान’ हुन मदत दियो? यहोवा परमेश्वर र उहाँको पुत्र, येशू ख्रीष्टमाथिको अटल विश्वासले। त्यसकारण हिटलरको प्रयासले तिनीहरूको मसीही प्रेम र आनन्दलाई दबाउन सकेन।
शिविरबाट बचेर विश्वासको परीक्षामा सफल भएका यी दुइ व्यक्तिहरूले पाँच दशकअघिका घटनाहरू कसरी सम्झन्छन्, सुन्नुहोस्। एक जना यसरी भन्छिन्: “असाध्यै क्रूर परिस्थितिमा यहोवाप्रति मेरो प्रेम र कृतज्ञता साबित गर्ने अनुपम सुअवसर पाएकोमा म आनन्दले गद्गद् भएकी छु। यसो गर्न मलाई कसैले जबरजस्ती गरेको होइन! बरु, हामीलाई जबरजस्ती गर्नेहरू त हाम्रा दुस्मनहरू थिए। तिनीहरूले हामीलाई परमेश्वरभन्दा हिटलरको सेवा गराउन धम्की दिए। तर तिनीहरू सफल भएनन्! म अहिले मात्र होइन तर असल अन्तस्करण राखेकीले झ्यालखानामा समेत आनन्दित थिएँ।”—मरी होम्बाक्, ९४ वर्षीया।
अर्को साक्षी यसो भन्छन्: “थुनामा परेका दिनहरू सम्झँदा म कृतज्ञ र आनन्दित हुन्छु। हिटलरको समयमा झ्यालखाना तथा यातना शिविरहरूमा निकै कठिन जीवन बिताउनुका साथै थुप्रै परीक्षाहरू सामना गर्नुपर्थ्यो। तर ती क्षणहरू म गुमाउन चाहन्न थिएँ किनभने त्यसले मलाई यहोवामाथि पूर्ण भरोसा राख्नु सिकायो।”—योहानेस नोइबाकर, ९१ वर्षीय।
“यहोवामाथि पूर्ण भरोसा राख्नु”—यहोवाका साक्षीहरूले अनुभव गरेको आनन्दको कुञ्जी त्यही थियो। तसर्थ, आनन्दरहित संसारमा पनि तिनीहरू आनन्दित छन्। हालै सम्पन्न “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनहरूमा तिनीहरूको आनन्द प्रकट भयो। आउनुहोस्, हामी छोटकरीमा यी आनन्दमय जमघटहरू पुनरावलोकन गरौं।
[पृष्ठ ४-मा भएको चित्र]
मरी होम्बाक्