तपाईं चिरस्थायी मित्रताको आनन्द उठाउन सक्नुहुन्छ
मित्रतामा बाधा पुऱ्याउने कुराहरू छन्। वास्तवमा बाइबलले यी “आखिरी दिन[मा]” प्रेम, स्वाभाविक स्नेह र वफादारी हुँदैन भनेर अग्रिमवाणी गरेको थियो। (२ तिमोथी ३:१-५; मत्ती २४:१२) यी कारणहरूले गर्दा अघि कहिल्यै नभएको एकाकीपनको महामारी आएको छ। एक स्त्री भन्छिन्: “मेरो टोलछिमेक नूहको जहाजजस्तै भएको छ। तपाईं विवाहित हुनुहुन्न भने, त्यहाँ बस्न सक्नुहुन्न।” यी सम्पूर्ण दोष एक्लो व्यक्तिहरूमाथि थोपर्नु मिल्दैन। संसारका केही भागहरूमा विभिन्न समस्याहरूको कारण चिरस्थायी मित्रता गाँस्नु चुनौती भएको छ। ती समस्याहरूमा बारम्बार बसाइँ सर्नु, परिवार टुक्रिनु, आत्मीयताको कमी, जोखिमपूर्ण शहरहरू तथा फुर्सतको समय उल्लेखनीय ढंगमा ह्रास हुनु आदि समावेश छन्।
अठारौं शताब्दीको ग्रामवासीले एक वर्ष वा जीवनभर जति मानिसहरू देख्यो, त्योभन्दा धेरै मानिसहरूसित आधुनिक शहरवासीले एक हप्तामा सम्पर्क राख्नसक्छ! यद्यपि, आजका सम्बन्धहरू प्रायः सतही हुन्छन्। धेरै जनाले संगति गरेर आनन्दित हुने पूर्णतया प्रयास गरिरहन्छन्। तैपनि, खराब मित्रहरूसितको खोक्रो आमोदप्रमोद दाउराको रूपमा बालेको काँडाजस्तै हो भनेर हामीले स्वीकार्नैपर्छ। उपदेशक ७:५, ६ ले यसो भन्छ: “बुद्धिमान मानिसको हप्काइ सुन्नु मूर्खहरूको प्रशंसाभन्दा असल हो किनभने मूर्खको हँसाइ भाँड़ामनि पड़कने काँढाको आगोजस्तै हो। यो पनि व्यर्थ हो।” काँडा बाल्दा निक्लेको उज्यालो र चर्को आवाज क्षणिक हुन्छ। त्यसले हामीलाई निकै बेरसम्म न्यानो राख्न सक्दैन। त्यस्तै प्रकारले होहल्ला र हँसीठट्टा गर्ने मित्रहरूले क्षणभरका लागि हाम्रो ध्यानाकर्षण गर्लान्। तर तिनीहरूले नता हाम्रो एकाकीपनलाई हटाउनेछन् न साँचो मित्रहरू पाउने चाहनालाई नै पूरा गर्नेछन्।
एकान्तवास र एकाकीपन बेग्लाबेग्लै हुन्। स्फूर्तिका लागि कहिलेकाहीं एकान्तवासको आवश्यकता पर्छ। त्यसो गर्दा हामी मित्रहरूको हित हुने धेरै कुराहरूबारे सोच्नसक्छौं। एकाकीपनको भाव महसुस हुनासाथ धेरैजसो मानिसहरू कुनै न कुनै विद्युतीय मनोरञ्जनतिर लाग्छन्। एक अध्ययनअनुसार एकाकीपन महसुस हुनेबित्तिकै प्रायः मानिसहरू टिभी हेर्ने गर्छन्। यद्यपि, लामो समयसम्म टिभी हेर्नु एकाकीपनको समयमा गर्नसक्ने खराब कुराहरूमध्ये एउटा हो भन्ने निष्कर्षमा अनुसन्धानकर्ताहरू पुगे। यसले निष्क्रियता, पट्टाइ र सांसारिक कल्पना उत्पन्न गराउँछ। फलतः अरूसँग असल व्यक्तिगत सम्बन्ध राख्नु गाह्रो हुन्छ।
वास्तवमा हामीले समयलाई रचनात्मक ढंगमा प्रयोग गऱ्यौं भने, एकान्तवास एकदमै मूल्यवान् हुनसक्छ। यो हामी पढेर, पत्र लेखेर, कुनै वस्तु बनाएर तथा आराम गरेर गर्नसक्छौं। रचनात्मक एकान्तवासमा परमेश्वरलाई प्रार्थना गर्नु, बाइबल अध्ययन गर्नु तथा मनन गर्नु समावेश छन्। (भजन ६३:६) यी तरिकाहरूले हामीलाई सबैभन्दा महान् मित्र यहोवा परमेश्वरसित घनिष्ठ बनाउँछन्।
बाइबलकालीन मित्रताका उदाहरणहरू
धेरै मानिसहरूसित मित्रैलो हुनु असल हो तर विशेष “मित्र चाहिं ता दाज्यू-भाइभन्दा पनि नजीकको हुन्छ” भनेर बाइबलले हामीलाई स्मरण गराउँछ। (हितोपदेश १८:२४) हाम्रो साँच्चै चिन्ता गर्ने केही आत्मीय मित्रहरू हामी सबैलाई चाहिन्छ। त्यस्ता मित्रहरूसितको मित्रताले हामीलाई आनन्द, शक्ति र शान्ति प्रदान गर्छ। आज यस्तो प्रकारको साँचो मित्रता पाउन नसकिए तापनि बाइबलमा केही पुरातन उदाहरणहरू उल्लेख गरिएका छन्। उदाहरणका लागि, दाऊद र जोनाथानबीच असामान्य मित्रता थियो। यसबाट हामी के सिक्नसक्छौं? किन तिनीहरूको मित्रता टिक्न सक्यो?
यसको एउटा कारण हो, दाऊद र जोनाथानका समान रुचिहरू थिए। सबैभन्दा मुख्य कुरा तिनीहरू दुवैले यहोवा परमेश्वरप्रति गहिरो भक्तिभाव राख्थे। परमेश्वरप्रति दाऊदको विश्वास र उहाँका मानिसहरूको समर्थन गर्न तिनले गरेका कार्यहरू देखेर “जोनाथान- ले दाऊदलाई आफैलाई झैं हृदयले प्रेम गर्नलागे।” (१ शमूएल १८:१) परमेश्वरप्रतिको साझे प्रेमले मित्रहरूलाई एकअर्कामा बाँधिन सहायता गर्छ।
जोनाथान र दाऊद परमेश्वरका सिद्धान्तअनुरूप जीवन बिताउने दृढ व्यक्तिहरू थिए। तसर्थ, तिनीहरूले एकअर्काको आदर गर्न सके। (१ शमूएल १९:१-७; २०:९-१४; २४:६) वास्तवमा धर्मशास्त्रीय सिद्धान्तहरूअनुरूप चल्ने मित्रहरू हुनु आशिष् हो।
दाऊद र जोनाथानको मित्रतामा अरू तत्त्वहरूले पनि योगदान पुऱ्याएका थिए। तिनीहरू एकअर्काप्रति इमानदार र स्पष्टवादी थिए। अनि एउटाले अर्कोलाई भरोसा गर्थे। जोनाथानले वफादारीपूर्वक दाऊदका रुचिहरूलाई प्राथमिकता दिए। दाऊदलाई राजा बनाउने प्रतिज्ञा गरिएकोमा तिनले ईर्ष्या गरेनन्। बरु, तिनले दाऊदलाई भावनात्मक तथा आध्यात्मिक तवरमा सहायता गरे। अनि दाऊदले पनि तिनको सहयोग स्वीकारे। (१ शमूएल २३:१६-१८) धर्मशास्त्रीय उपयुक्त तरिकाहरूअनुसार दाऊद र जोनाथानले तिनीहरूबीचको मैत्री भावनाहरू एकअर्कामा स्पष्ट पारे। तिनीहरूबीचको ईश्वरीय मित्रता साँचो मूल्यांकन र स्नेहमा आधारित थियो। (१ शमूएल २०:४१; २ शमूएल १:२६) दुवै जना परमेश्वरप्रति विश्वासी भएकोले तिनीहरूको मित्रता टुक्रिएन। यस्ता सिद्धान्तहरू लागू गर्नाले हामीलाई साँचो मित्रता गाँस्न र कायम राख्न मदत दिन्छ।
मित्रता कसरी गाँस्ने
के तपाईं साँचो मित्रहरू खोज्दै हुनुहुन्छ? त्यसका लागि तपाईं टाढा जानु पर्दैन। तपाईंसित सधैं भेट भइरहने व्यक्तिहरूमध्ये कसैलाई पनि मित्र बनाउन सक्नुहुन्छ। अनि तिनीहरूले पनि तपाईंलाई मित्र बनाउन चाहेका होलान्। खास गरेर सँगी मसीहीहरूको सम्बन्धमा प्रेरित पावलले सल्लाह दिएजस्तै “ठूलो मनको हुनु” बुद्धिमानी हुन्छ। (२ कोरिन्थी ६:११-१३) तथापि, हर प्रयासको बावजूद पनि गहिरो सम्बन्ध गाँस्न सकिएन भने चिन्तित नहुनुहोस्। साधारणतया, मित्रता बढाउन समय लाग्छ। र सबैसितको मित्रता एकैनासले गहिरो पनि हुँदैन। (उपदेशक ११:१, २, ६) वास्तवमा साँचो मित्रताको आनन्द उठाउन हामी निःस्वार्थी हुनैपर्छ र येशूको यो सुझाउलाई मान्नु आवश्यक छ: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ती ७:१२.
कसले तपाईंलाई मित्र बनाउन चाहन्छ? तपाईंका दौंतरीहरूबाहेक तपाईंभन्दा कान्छो वा जेष्ठ मानिसहरूसित मित्रता गाँसे कसो होला? बेग्लाबेग्लै उमेर भएकाहरूबीचको मित्रतामा दाऊद र जोनाथान, रूथ र नाओमी तथा पावल र तिमोथीबीचका मित्रताहरू समावेश छन्। (रूथ १:१६, १७; १ कोरिन्थी ४:१७) के तपाईं विधवा र अविवाहितहरूसित पनि मित्रता गाँस्न सक्नुहुन्छ कि? तपाईंको इलाकामा आएका नयाँ मानिसहरूबारे पनि सोच्नुहोस्। बसाइँ सराइ वा जीवनपद्धति नै बदलिएको कारण तिनीहरूले सबै संगति वा मित्रहरू छाडेका होलान्। अरूले आफूलाई मित्र बनाओस् भन्ने भावना नराख्नुहोस्। तपाईं मसीही हुनुहुन्छ भने, पावलको यस सुझाउलाई प्रयोग गरेर चिरस्थायी मित्रताको बन्धनमा बाँधिनुहोस्: “भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ। मानमा एउटाले अर्कोको बढ़ता कदर गर।”—रोमी १२:१०.
मित्रताको अर्थ दिनु हो भन्ने कुरा पनि मनमा राख्नसक्छौं। येशूले भन्नुभयो, यदि हामीले अरूलाई दियौं भने, तिनीहरूले पनि हामीलाई दिनेछन्। उहाँले यो पनि औंल्याउनुभयो, लिनुमा भन्दा दिनुमा अधिक आनन्द हुन्छ। (लूका ६:३८; प्रेरित २०:३५) के तपाईंले विविध पृष्ठभूमिका मानिसहरूलाई भेटाउनुभएको छ? विभिन्न संस्कृति भएका मानिसहरू एकताबद्ध भई एउटै परमेश्वरको उपासना गर्दा साँचो र चिरस्थायी मित्रताको बन्धनमा बाँधिनसक्छन् भन्ने कुरा यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनहरूले प्रमाणित गरेको छ।
मित्रतामा आँच आउन नदिने
दुःखको कुरा, मित्र मानिएकाहरूबीच आपसी चित्त दुखाउने कुरा हुन्छन्। तपाईंले साँचो मित्र ठान्नुभएको व्यक्तिले हानिकारक गफ गरेको देख्दा, अविश्वासिलोपन र मूल्यांकनको कमी वा त्यस्तै दुर्गुणहरू देखाउँदा तपाईंलाई असाध्यै चित्त दुख्छ। यस्ता परिस्थितिहरूमा तपाईं के गर्न सक्नुहुन्छ?
असल उदाहरण बसाल्नुहोस्। अनावश्यक पीडा हटाउन यथाशक्य गर्नुहोस्। केही ठाउँहरूमा अरूका भूलहरूलाई ठट्टामा उडाउने चलन छ। “ठट्टा मात्र” किन नहोस् रूखो व्यवहार वा छलले मित्रहरूलाई घनिष्ठ बनाउनेछैन।—हितोपदेश २६:१८, १९.
मित्रता कायम राख्न कठिन परिश्रम गर्नुहोस्। मित्रहरूले एकअर्काबाट अधिक प्रत्याशा गर्दा कहिलेकाहीं मनमुटाउ पैदा हुन्छ। बिमारी वा विकट समस्याको कारण चिन्तित भएको मित्रले सधैंजस्तो आत्मीयता देखाउन नसक्लान्। यस्तो बेला तिनलाई बुझ्ने र सहयोग गर्ने चेष्टा गर्नुहोस्।
समस्याहरू चाँडो तर दयालुभावले समाधान गर्नुहोस्। सम्भव भए तपाईंहरू दुइ मात्र हुँदा समस्या समाधान गर्नुहोस्। (मत्ती ५:२३, २४; १८:१५) तपाईं राम्रो सम्बन्ध कायम राख्न चाहनुहुन्छ भन्ने कुरा तपाईंको मित्रलाई थाह हुनुपर्छ। निष्कपट मित्रहरू एकअर्काप्रति क्षमाशील हुन्छन्। (कलस्सी ३:१३) के तपाईं पनि दाजुभाइभन्दा घनिष्ठ हुने प्रकारको मित्र बन्नु- हुनेछ?
मित्रताबारे पढ्नु र सोच्नु मित्रताको सुरुआत मात्र हो। एकाकीपन महसुस हुनासाथ आवश्यक कदम चालिहालौं। यसो गर्दा लामो समयसम्म हामी एक्लो हुनेछैनौं। हामीले प्रयास गऱ्यौं भने, साँचो मित्रहरू बनाउनसक्छौं। तिनीहरूमध्ये केहीले हामीलाई विशेष बन्धनमा बाँध्नेछन्। तर महान् मित्र अर्थात् परमेश्वरको स्थानलाई कसैले ओगट्न सक्दैन। यहोवाले मात्र हामीलाई पूर्ण रूपले चिन्न, बुझ्न र सहयोग गर्न सक्नुहुन्छ। (भजन १३९:१-४, २३, २४) यसबाहेक, उहाँको वचनले भविष्यका लागि अद्भुत आशा प्रस्तुत गर्छ। त्यो हो नयाँ संसार, जहाँ अनन्तकालीन साँचो मित्रहरू पाउन सम्भव हुनेछ।—२ पत्रुस ३:१३.
[पृष्ठ ५-मा भएको चित्र]
दाऊद र जोनाथानले जस्तै हामी पनि साँचो मित्रताको आनन्द उठाउनसक्छौं