तिनीहरूले यहोवाको इच्छा गरे
येशूका बिदाइ शब्दहरूलाई ध्यान दिंदै
सामान्य युग ३३ नीसान १४, को साँझ यरूशलेमको एउटा घरको माथिल्लो तल्लामा येशू र उहाँका ११ जना विश्वासी प्रेरितहरू टेबल वरिपरि अडेस लागेर बसिरहेका थिए। आफ्नो मृत्यु हुनै लागेको थाह पाएर येशूले तिनीहरूलाई भन्नुभयो: “केही बेरसम्म म तिमीहरूसित छु!” (यूहन्ना १३:३३) वास्तवमा यहूदा इस्करयोती येशूलाई मार्न चाहने दुष्ट मानिसहरूसित षड्यन्त्र रच्न गइसकेको थियो।
येशूले बाहेक त्यो माथिल्लो तल्लामा भएका कसैले पनि त्यस जरुरी परिस्थितिको अर्थ बुझेका थिएनन्। आफूमाथि पीडा आइपर्न लागेको छ भनेर उहाँलाई राम्ररी थाह थियो। त्यसै रात आफ्ना प्रेरितहरूले उहाँलाई छाड्नेछन् भन्ने कुरा पनि येशूलाई थाह थियो। (मत्ती २६:३१; जकरिया १३:७) आफ्नो मृत्युअघि प्रेरितहरूसित बोल्ने यो मौका अन्तिम भएकोले येशूका यी बिदाइ शब्दहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरूमा केन्द्रित थिए भनेर हामी निश्चित हुनसक्छौं।
“मेरो सम्झनामा यो गर्नेगर”
येशूले उहाँका विश्वासी प्रेरितहरूलाई यहूदी निस्तार चाडको साटो एउटा नयाँ उत्सव दिनुभयो। प्रेरित पावलले यसलाई “प्रभु[को साँझको] भोज” भने। (१ कोरिन्थी ११:२०) येशूले खमिर नहालेको रोटी लिएर प्रार्थना गर्नुभयो। त्यसपछि उहाँले रोटी भाँचेर प्रेरितहरूलाई दिंदै यसो भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले दाखरसको कचौरा उठाउनुभयो र प्रार्थना चढाउनुहुँदै प्रेरितहरूलाई दिनुभयो अनि यसो भन्नुभयो: “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्चितको लागि, बहाइन्छ।”—मत्ती २६:२६-२८.
त्यस घटनाको के महत्त्व थियो? येशूले संकेत गर्नुभएअनुसार रोटीले उहाँको निष्पाप शरीरको प्रतिनिधित्व गर्थ्यो। (हिब्रू ७:२६; १ पत्रुस २:२२, २४) दाखरस येशूले बगाउनुभएको रगतको प्रतीक थियो जसद्वारा पापहरू क्षमा हुन सम्भव हुनेथियो। उहाँको बलिदानरूपी रगतले अन्ततः येशूसित स्वर्गमा शासन गर्ने १,४४,००० मानवहरू र यहोवा परमेश्वरबीच नयाँ करार स्थापित गर्नेथियो। (हिब्रू ९:१४; १२:२२-२४; प्रकाश १४:१) आफ्ना प्रेरितहरूलाई यस भोजमा भाग लिन निमन्त्रणा दिनुहुँदै येशूले तिनीहरू पनि स्वर्गीय राज्यमा उहाँसित भागीदार हुनेछन् भन्ने कुरा देखाउनुभयो।
यस स्मरण भोजको सम्बन्धमा येशूले आज्ञा गर्नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) हो, निस्तार चाडजस्तै प्रभुको साँझको भोज वार्षिक उत्सव हुनेथियो। निस्तार चाड इस्राएलीहरूले मिश्रको दासत्वबाट छुटकारा पाएको संस्मरणमा मनाउँथे भने, प्रभुको साँझको भोजले त्योभन्दा महान् छुटकारालाई केन्द्रित गर्नेथियो। त्यो हो पाप र मृत्युको दासत्वबाट मानिसजातिको उद्धार। (१ कोरिन्थी ५:७; एफिसी १:७) यसबाहेक, प्रतीकात्मक रोटी र दाखरस लिनेहरूलाई परमेश्वरको स्वर्गीय राज्यमा तिनीहरू राजा र पूजाहारीहरू हुनपाउने भावी सुअवसरहरूको स्मरण गराइने थियो।—प्रकाश २०:६.
येशू ख्रीष्टको मृत्यु मानव इतिहासको साँच्चै सबैभन्दा महत्त्वपूर्ण घटना थियो। येशूले गर्नुभएका कार्यलाई मूल्यांकन गर्नेहरूले प्रभुको साँझको भोजसम्बन्धी उहाँको यो आज्ञा पालन गर्छन्: “मेरो सम्झनामा यो गर्नेगर।” यहोवाका साक्षीहरूले नीसान १४ पर्ने मितिमा येशूको मृत्युको स्मरणार्थ मनाउँछन्। यो मिति १९९६ मा अप्रिल २ तारिख सूर्यास्तपछि पर्छ। तपाईंको इलाकाको राज्य भवनमा उपस्थित हुन तपाईंलाई हार्दिक निमन्त्रणा गरिन्छ।
‘एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु’
येशूले आफ्ना प्रेरितहरूलाई प्रभुको साँझको भोज मनाउनू भन्नुको अलावा केही बिदाइ सुझाउ पनि दिनु थियो। उत्तम प्रशिक्षणको बावजूद पनि यी पुरुषहरूले अझ सिक्नुपर्ने धेरै थिए। तिनीहरूले येशूप्रति, तिनीहरूप्रति वा भविष्यप्रति परमेश्वरको उद्देश्य पूर्णतया बुझेका थिएनन्। तर येशूले यस घडीमा यी सबै कुराहरूलाई स्पष्ट गर्ने चेष्टा गर्नुभएन। (यूहन्ना १४:२६; १६:१२, १३) यसको साटो, उहाँले केही अति महत्त्वपूर्ण कुराहरूबारे बताउनुभयो। उहाँले भन्नुभयो, “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर।” येशूले त्यसपछि थप्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।”—यूहन्ना १३:३४, ३५.
कुन अर्थमा यो “नयाँ आज्ञा” थियो? भनौं भने, मोशाको व्यवस्थामा यस्तो आज्ञा दिइएको थियो: “आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर।” (लेवी १९:१८) तथापि, येशूले आफ्ना अनुयायीहरूलाई आत्मत्यागी प्रेम देखाउन आह्वान गर्नुभयो। त्यसमा सँगी मसीहीहरूका खातिर आफ्नो जीवन पनि गुमाउनुपर्ने हुन्छ। तथापि, जीवनै बलिदान दिनुपर्ने स्थितिमा मात्र ‘प्रेमको नियम’ लागू हुन्छ भन्ने होइन। येशू ख्रीष्टको अनुयायी हर परिस्थितिमा अरूलाई आध्यात्मिक तथा अन्य तरिकाले सहायता गर्दै प्रेम प्रदर्शित गर्न अग्रसर हुनेथियो।—गलाती ६:१०.
प्रेमले प्रोत्साहित हुनुभएर आफ्नो पार्थिव जीवनको अन्तिम रातमा येशूले चेलाहरूका लागि यहोवा परमेश्वरलाई प्रार्थना गर्नुभयो। त्यसको एक भाग यस्तो छ: “यिनीहरू ता संसारमा हुन्छन्। मचाहिं तपाईंकहाँ आउँछु। हे पवित्र पिता, जो तपाईंले मलाई दिनुभएको छ, तपाईंको नाउँमा तिनीहरूलाई जोगाइराख्नुहोस्, र तिनीहरू पनि हामी जस्तै एक होऊन्।” (यूहन्ना १७:११) उल्लेखनीय कुरा के हो भने, यस निवेदनमा येशूले आफ्ना पितालाई अनुयायीहरूको एकताको बारेमा प्रार्थना गर्नुभयो। (यूहन्ना १७:२०-२३) ‘येशूले तिनीहरूलाई गरेझैं तिनीहरूले एकअर्कालाई प्रेम गर्नु’ आवश्यक थियो।—यूहन्ना १५:१२.
विश्वासी प्रेरितहरूले येशूका बिदाइ वचनहरूलाई ध्यान दिए। हामीले पनि उहाँका आज्ञाहरू पालन गर्नुपर्छ। यी संकटपूर्ण “आखिरी दिन[मा]” साँचो उपासकहरूबीच पहिलाको भन्दा धेरै प्रेम र एकता हुनु महत्त्वपूर्ण छ। (२ तिमोथी ३:१) निस्सन्देह, साँचो मसीहीहरूले येशूका आज्ञाहरू पालन गर्छन् र भातृप्रेम देखाउँछन्। यसमा उहाँले प्रभुको साँझको भोज मनाउनू भनेर दिनुभएको आज्ञा पालन गर्नु समावेश छ।