प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ८/१५ pp. ४-७
  • तपाईं कोप्रति वफादार हुनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं कोप्रति वफादार हुनुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वफादारीको परीक्षा
  • साँचो वफादारी—प्रेमको अभिव्यक्‍ति
  • परमेश्‍वरप्रतिको वफादारी—लाभदायक शक्‍ति
  • सही ज्ञानद्वारा प्रभावित वफादारी
  • किन वफादार हुने?
  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • हेर, वफादार जन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • वफादारीको चुनौती सामना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • वफादारी यस्को मूल्य के हुने हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ८/१५ pp. ४-७

तपाईं कोप्रति वफादार हुनुपर्छ?

“हाम्रो देशप्रति: . . . चाहे उनी सही होऊन्‌ वा गलत; रहनेछौं उनीप्रति सधैं वफादार।”—स्टेभन डिकाटुर, सं. रा. अ. नौसेना अधिकारी, सन्‌ १७७९-१८२०.

निस्सन्देह थुप्रै मानिसले आफ्नो जीवनमा सर्वमहत्त्वपूर्ण दायित्व देशप्रतिको वफादारी हो भन्ठान्छन्‌। अरूले भने स्टेभन डिकाटुरका शब्दहरू अर्को शब्दमा पुनः यसरी दोहऱ्‍याउँछन्‌, ‘मेरो धर्म चाहे उनी सही होऊन्‌ वा गलत; रहनेछौं उनीप्रति सधैं वफादार।’

यथार्थमा, प्रायजसो हामी जन्मेको ठाउँअनुसारै हामी वफादार हुनुपर्ने देश वा धर्म निर्धारित हुन्छ तर हामी कोप्रति वफादार हुनुपर्छ भन्‍ने निर्णय जे पर्ला सो टर्ला भनेर त्यत्तिकै छोड्‌न मिल्ने कुरा होइन। तथापि, आफू हुर्केको रीति वा परम्पराबारे प्रश्‍न उठाउन साहस चाहिन्छ र यसले चुनौतीहरू खडा गर्छ।

वफादारीको परीक्षा

जाम्बियामा हुर्केकी एक जना स्त्री यसो भन्छिन्‌: “म सानैदेखि धार्मिक प्रवृत्तिकी थिएँ। मैले पूजाकोठामा दिनहुँ पूजा गर्नुपर्छ, चाडपर्व मनाउनुपर्छ र नियमित तवरमा मन्दिर जानुपर्छ भनेर सिकेकी थिएँ। मेरो धर्म र उपासनाको संस्कृति, समाज तथा परिवारसँग नजिकको सम्बन्ध थियो।”

तथापि, किशोरावस्थाको अन्ततिर तिनले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न थालिन्‌ र चाँडै तिनले आफ्नो धर्म परिवर्तन गर्ने निर्णय गरिन्‌। के यो अवफादार कार्य थियो?

जलाट्‌को बोस्नियामा हुर्केका थिए र केही समयसम्म तिनले आफ्नो देशमा भएको गृहयुद्धमा भाग लिए। तिनले पनि यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। अहिले तिनी कसैको विरुद्ध पनि हातहतियार उठाउन इन्कार गर्छन्‌। के तिनी अवफादार भएका हुन्‌?

यी प्रश्‍नहरूको जवाफ तपाईंको दृष्टिकोणमा भर पर्छ। सुरुमा उल्लेख गरिएकी स्त्री भन्छिन्‌: “मेरो समाजमा धर्म परिवर्तन गर्नु भनेको अक्षम्य कार्य हो; यसलाई अवफादार, आफ्नो परिवार तथा समाजलाई धोका दिने कार्यको रूपमा हेरिन्छ।” त्यसै गरी, जलाट्‌कोका पहिलेका सैनिक साथीहरूले पनि आफ्नो पक्षमा लडाइँ नगर्नेहरूलाई विश्‍वासघातीको रूपमा हेर्थे। तर ती स्त्री र जालट्‌को दुवैका क्रियाकलापहरूलाई अझ उत्कृष्ट वफादारी अर्थात्‌ परमेश्‍वरप्रतिको वफादारीले उत्प्रेरित गऱ्‍यो। अझ महत्त्वपूर्ण कुरा, परमेश्‍वरप्रति वफादार हुन चाहनेहरूलाई उहाँले कुन दृष्टिकोणले हेर्नुहुन्छ?

साँचो वफादारी—प्रेमको अभिव्यक्‍ति

राजा दाऊदले यहोवा परमेश्‍वरलाई यसो भने: “वफादारप्रति तपाईं वफादार हुनुहुन्छ।” (२ शमूएल २२:२६, नयाँ संशोधित संस्करण) यहाँ “वफादार” भनेर अनुवाद गरिएको हिब्रू शब्दले एउटा यस्तो दयाको भाव बोध हुन्छ जुन कुनै कुराप्रति आफ्नो उद्देश्‍य पूरा नगरुन्जेल त्यही वस्तुसित प्रेमपूर्ण ढंगमा टाँसी रहन्छ। दूध चुसाउँदै गरेकी आमाको जस्तै मनोवृत्ति राखेर यहोवा आफूप्रति वफादार व्यक्‍तिहरूको साथ छोड्‌नुहुन्‍न। यहोवाले पुरातन इस्राएलका आफ्ना वफादार सेवकहरूबारे यसो भन्‍नुभयो: “के कुनै स्त्रीले आफ्नो दूधे–बालकलाई बिर्सनसक्छ र? आफ्नो गर्भको बालकलाई के त्यसले टिठाउँदैन र? यिनीहरूले बिर्सन पनि सक्छन्‌, तर म ता तँलाई बिर्सनसक्‍तिनँ।” (यशैया ४९:१५) परमेश्‍वरप्रतिको वफादारीलाई आफ्नो जीवनमा प्रथम स्थान दिनेहरूलाई उहाँ मायालु हेरचाह गर्ने आश्‍वासन दिनुहुन्छ।

यहोवाप्रतिको वफादारी प्रेममा आधारित हुन्छ। यसले एक जना व्यक्‍तिलाई यहोवाले प्रेम गर्नुहुने कुराहरूलाई प्रेम गर्न तथा यहोवाले घृणा गर्नुहुने दुष्ट कुराहरूलाई घृणा गर्न उत्प्रेरित गर्छ। (भजन ९७:१०) यहोवाको प्रमुख गुण प्रेम भएकोले परमेश्‍वरप्रतिको वफादारीले अरूप्रति निष्ठुरी व्यवहार नगर्न मदत गर्छ। (१ यूहन्‍ना ४:८) त्यसकारण कसैले परमेश्‍वरप्रतिको वफादारीले उत्प्रेरित भएर आफ्नो धार्मिक विश्‍वास परिवर्तन गर्छ भने त्यसको अर्थ उसले आफ्नो परिवारलाई प्रेम गर्दैन भन्‍ने होइन।

परमेश्‍वरप्रतिको वफादारी—लाभदायक शक्‍ति

माथि उल्लेख गरिएकी स्त्री आफ्ना कदमहरूबारे यसरी बताउँछिन्‌: “बाइबल अध्ययनद्वारा मैले यहोवा सत्य परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाएँ र उहाँसँग व्यक्‍तिगत सम्बन्ध विकास गरें। यहोवा मैले पहिले उपासना गर्ने गरेका देवताहरूजस्तो नभई प्रेम, न्याय, बुद्धि र शक्‍तिमा पूर्णतया सन्तुलित हुनुहुन्छ। यहोवाले ऐकान्तिक भक्‍ति चाहनुहुने भएकोले मैले अरू देवताहरूलाई पूज्न सक्दिन थिएँ।”

“मेरा आमाबाबुले उहाँहरू मसँग असाध्यै रिसाएको र मैले उहाँहरूलाई निराश तुल्याइरहेकी कुरा बारम्बार बताउनुभयो। यस्तो कुरा सुन्दा मलाई असाध्यै गाह्रो भयो किनभने मलाई आमाबाबुको समर्थन एकदमै महत्त्वपूर्ण थियो। तर जसै मैले बाइबल सच्चाइमा प्रगति गर्दै गएँ, मैले के छनौट गर्नुपर्छ भन्‍ने कुरा स्पष्ट भयो। म यहोवालाई आफ्नो पीठ फर्काउन सक्दिनथें।”

“धार्मिक परम्पराहरूप्रति भन्दा यहोवाप्रति वफादार हुन रोज्नुको अर्थ म आफ्नो परिवारप्रति अवफादार भएको होइन। उहाँहरूले कस्तो महसुस गर्नुहुन्छ भनी मैले बुझेकी छु भनेर म आफ्नो बोली तथा कामद्वारा देखाउने कोसिस गर्छु। तर म यहोवाप्रति वफादार भइनँ भने मैले आफ्नो परिवारलाई यहोवाबारे बुझ्न रोकिरहेकी हुनेछु र यो साँच्चै अवफादार कार्य हुनेछ।”

त्यसै गरी, परमेश्‍वरप्रतिको वफादारीको कारण कुनै व्यक्‍ति राजनीतिबाट तटस्थ रहन्छ र अरूको विरुद्ध हतियार उठाउँदैन भने उसलाई विश्‍वासघाती भन्‍न मिल्दैन। आफ्ना कदमहरूबारे जलाट्‌को यसरी बताउँछन्‌: “म नाउँ मात्रको मसीही परिवारमा जन्मेको भए तापनि मैले गैर-मसीहीसँग विवाह गरें। जब लडाइँ सुरु भयो, दुवै पक्षले मेरो वफादारीको माग गऱ्‍यो। कुन पक्षबाट लड्‌ने भनी मैले निर्णय गर्नुपर्ने भयो। मैले साढेतीन वर्षसम्म लडाइँ गरें। अन्ततः म र मेरी पत्नी क्रोएसियातिर भाग्यौं जहाँ हाम्रो भेट यहोवाका साक्षीहरूसित भयो।”

“बाइबल अध्ययनद्वारा हामीले सबैभन्दा पहिले हामी यहोवाप्रति वफादार हुनुपर्छ र उहाँले हाम्रा छिमेकीहरू जुनसुकै धर्म वा जातका भए तापनि तिनीहरूलाई प्रेम गरेको चाहनुहुन्छ भन्‍ने कुरा बुझ्यौं। अहिले म र मेरी पत्नी यहोवाको उपासनामा एकताबद्ध भएका छौं र मैले यहोवाप्रति वफादार भएर आफ्नो छिमेकीसित लडाइँ गर्न सक्दिनँ भन्‍ने कुरा बुझेको छु।”

सही ज्ञानद्वारा प्रभावित वफादारी

यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले अरू सबै कुराहरूभन्दा उहाँ नै हाम्रो वफादारीको प्रमुख हकदार हुनुहुन्छ। (प्रकाश ४:११) तथापि, परमेश्‍वरप्रतिको वफादारीलाई कट्टर र विध्वंसकारी शक्‍तिमा परिणत हुन नदिन यो सही ज्ञानद्वारा प्रभावित हुनुपर्छ। बाइबलले हामीलाई यस्तो सल्लाह दिन्छ: “आफ्नो मनको आत्मामा नयाँ होओ, र नयाँ मानिसलाई धारण गर, जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा [वफादारीमा, NW] सृष्टि भएको छ।” (एफिसी ४:२३, २४) यी प्रेरित वचनहरू लेख्ने प्रख्यात मानिससित आफू हुर्केको रीतिथितिबारे प्रश्‍न उठाउन सक्ने साहस थियो। तिनको परीक्षणले लाभदायक परिवर्तनतिर डोऱ्‍यायो।

हो, आधुनिक समयका थुप्रै व्यक्‍तिहरूले जस्तै शावलले पनि वफादारीका परीक्षाहरू सामना गर्नुपऱ्‍यो। शावल आफ्नो परिवारको कट्टर परम्परामा हुर्केका थिए र तिनी आफू जन्मेको धर्मप्रति एकदमै वफादार भए। यसप्रतिको वफादारीले तिनलाई आफ्नो दृष्टिकोणसित सहमत नहुनेहरूप्रति हिंसात्मक कार्य गर्नसमेत उक्सायो। शावल मसीहीहरूको घरमा छिरेर तिनीहरूलाई घिसार्दै सजाय दिन वा मार्नको लागि लैजाने व्यक्‍तिको रूपमा कुख्यात थिए।—प्रेरित २२:३-५; फिलिप्पी ३:४-६.

तथापि, शावलले एक पटक बाइबलको सही ज्ञान पाइसकेपछि तिनले आफ्ना अधिकांश साथीहरूको नजरमा अकल्पनीय काम गरे। तिनले आफ्नो धर्म परिवर्तन गरे। पछि प्रेरित पावल भनेर चिनिएका शावलले परम्पराहरूप्रति भन्दा परमेश्‍वरप्रति वफादार हुन रोजे। सही ज्ञानमा आधारित परमेश्‍वरप्रतिको वफादारीले शावललाई आफ्नो पहिलेको विध्वंसकारी, कट्टर व्यवहारको विपरीत सहनशील, मायालु र प्रोत्साहनदायी हुन उत्प्रेरित गऱ्‍यो।

किन वफादार हुने?

हाम्रो वफादारीलाई परमेश्‍वरका स्तरहरूअनुसार ढाल्दा पक्कै लाभदायक परिणामहरू प्राप्त हुन्छन्‌। उदाहरणका लागि, अस्ट्रेलियन इन्स्टिच्युट अफ फ्यामिली स्टडिज्‌-को सन्‌ १९९९ को रिपोर्टअनुसार स्थायी र सन्तोषजनक विवाहहरूका लागि महत्त्वपूर्ण कुराहरूमध्ये “भरोसा तथा विश्‍वासीपना . . . [र] आध्यात्मिक झुकाउ” हुन्‌। सोही अध्ययनले थाहा लगाएअनुसार “स्थायी र सन्तोषजनक विवाहहरूले” पुरुष तथा स्त्रीहरूलाई अझ सुखी, स्वस्थ र दीर्घजीवन दिनुका साथै बच्चाहरूलाई पनि आनन्दित जीवन बिताउने अवसर प्रदान गर्छ।

आजको अनिश्‍चित संसारमा वफादारी भनेको डुब्नै लागेको पौडीबाजको जीवन उद्धार गर्ने डुंगाजस्तै हो। “पौडीबाजले” भरोसा गर्न सक्ने कुनै माध्यम छैन भने ऊ छाल र बतासले यताउता हुर्रिन्छ। तर उसले गलत ठाउँमा भरोसा राख्न पुग्यो भने डुब्नै लागेको डुंगाले उसको जीवन बचाउन खोजेझैं हुन्छ। शावलजस्तै ऊ पनि विध्वंसात्मक कार्यहरूमा लाग्न सक्छ। तथापि, सही ज्ञानमा आधारित यहोवाप्रतिको वफादारी हामीलाई स्थायित्व दिने र मुक्‍तितर्फ डोऱ्‍याउने जीवन बचाउको माध्यम हो।—एफिसी ४:१३-१५.

यहोवा आफूप्रति वफादार हुनेहरूलाई यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्‍तहरूलाई त्याग्नुहुन्‍न, तिनीहरू सधैं सुरक्षित हुन्छन्‌।” (भजन ३७:२८) चाँडै, यहोवाप्रति वफादार जनहरू पार्थिव प्रमोदवनमा प्रवेश गर्नेछन्‌, जहाँ तिनीहरूले दुःख र पीडाबाट मुक्‍ति पाउनेछन्‌ अनि धार्मिक तथा राजनैतिक विभाजनबाट मुक्‍त अनन्तकालीन सम्बन्धको आनन्द उपभोग गर्नेछन्‌।—प्रकाश ७:९, १४; २१:३, ४.

अहिले पनि संसारभरिका लाखौं मानिसहरूले यस्तो साँचो आनन्द यहोवाप्रतिको वफादारीद्वारा मात्र प्राप्त गर्न सकिन्छ भनेर बुझेका छन्‌। बाइबल सच्चाइको ज्योति चलाएर वफादारीप्रतिको आफ्नो दृष्टिकोण जाँच्न यहोवाका साक्षीहरूको मदत लिनुभए कसो होला? बाइबलले हामीलाई यसो भन्छ: “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।”—२ कोरिन्थी १३:५.

हाम्रो विश्‍वासबारे र हामी किन यसप्रति वफादार छौं भनेर प्रश्‍न गर्न साहस चाहिन्छ तर यसो गर्दा हामी यहोवा परमेश्‍वरको अझ नजिक हुने भएकोले यस्तो प्रयत्नद्वारा पाइने लाभ निरर्थक हुँदैन। अरू थुप्रै व्यक्‍तिहरूले महसुस गर्ने जस्तै भावना माथि उल्लेख गरिएकी स्त्री यसरी व्यक्‍त गर्छिन्‌: “यहोवा र उहाँका स्तरहरूप्रति वफादार हुँदा यसले हामीलाई आफ्नो परिवारसँग व्यवहार गर्दा सन्तुलित हुन तथा समाजको लागि अझ असल सदस्य हुने मदत गर्छ भनी मैले बुझेकी छु। जतिसुकै अप्ठ्यारा परीक्षाहरूको सामना गर्नुपरे तापनि हामी यहोवाप्रति वफादार भयौं भने उहाँ पनि सधैं हामीसँग वफादार हुनुहुनेछ।”

[पृष्ठ ६-मा भएका चित्रहरू]

सही ज्ञानले शावललाई आफू वफादार भइरहेको कुरा परिवर्तन गर्न उत्प्रेरित गऱ्‍यो

[पृष्ठ ७-मा भएको चित्र]

बाइबल सच्चाइको ज्योति चलाएर वफादारीताप्रतिको आफ्नो दृष्टिकोण किन नजाँच्ने?

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Churchill, upper left: U.S. National Archives photo; Joseph Göbbels, far right: Library of Congress

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने