अशुभ समाचारको बढ्दो घटना
मुख्य समाचारको रूपमा छापिएको सुसमाचारभन्दा अशुभ समाचारप्रति मानिसहरूले औधी चासो राखेको के तपाईंले कहिल्यै याद गर्नुभएको छ? चाहे यो समाचारपत्रमा प्राकृतिक प्रकोपबारेको मुख्य समाचार होस् या लोकप्रिय पत्रिकाको आवरण पृष्ठमा दिइने निन्दाचर्चा नै किन नहोस्। सुसमाचार भएका प्रकाशनहरूभन्दा अशुभ समाचार भएका प्रकाशनहरू नै धेरै बिक्री हुन्छन् जस्तो देखिन्छ।
हिजोआज अशुभ समाचारको कमी छैन। तर कुनै पनि सुसमाचारभन्दा बरु अशुभ समाचार पो खोजेर प्रकाशित गर्न संवाददाता र पत्रकारहरू प्रशिक्षित छन् कि भनेर कहिलेकाहीं मानिसहरू छक्क पर्छन्।
इतिहासभरि प्रशस्त
निस्सन्देह, शताब्दीयौंदेखि सुसमाचारभन्दा अशुभ समाचारको छ्यापछ्याप्ती हुँदै आएको छ। मानव जीवनको भाग हुन गएको पीडा, नैराश्य तथा हतोत्साहले ऐतिहासिक विवरणहरू भरिएका छन्।
आउनुहोस्, केही उदाहरणहरू मात्र विचार गरौं। झाक लेग्राद्वारा लिखित पुस्तक विश्वको इतिहास-ले (अंग्रेजी) विभिन्न विवरणहरू प्रस्तुत गर्छ। घटना भएको मितिसहित विवरणहरू लेखिएकोले ती आधुनिक पत्रकारले प्रत्यक्षतः सुनाएजस्तै छन्। चारैतिर फैलिएको अशुभ समाचारबारे हामी ती राम्ररी जाँचपडताल गरेका विवरणहरूबाट लाभदायी दृष्टिकोण प्राप्त गर्छौं। मानिसले यस पृथ्वीमा आफूले बिताएको कष्टदायी जीवनकालभरि यी समाचारहरू सुनेको छ।
प्रथमतः सा.यु.पू. ४२९ मा ग्रीसको यस अग्रिम विवरणलाई विचार गर्नुहोस्। यसले एथेन्स र स्पार्टाबीच भएको युद्धको विवरण दिन्छ: “पाटडीअको नगरराज्यलाई एथेनीहरूले घेराबन्दी गरेर आत्मसमर्पण गर्न बाध्य गराए। त्यस घेराउले गर्दा त्यहाँका मानिसहरूले आफ्ना मृत मानिसहरूको मासुसमेत खाए।” निश्चय पनि, यो अशुभ समाचार हो!
हाम्रो सामान्य युगअघिको प्रथम शताब्दीतिर आयौं भने, सा.यु.पू. ४४, मार्च १५ का दिन रोममा जुलियस सिजरको मृत्युबारे स्पष्ट विवरण पाउँछौं। “जुलियस सिजरको हत्या भएको छ। आज मार्च १५ तारिख तिनले परिषद् भवनमा आसन ग्रहण गर्नासाथ षड्यन्त्रकारीहरूले तिनलाई छुरी रोपेर मारे। तिनीहरूमध्ये केही तिनका घनिष्ठ मित्रहरू थिए।”
त्यसपछिका शताब्दीहरूमा अशुभ समाचार प्रचुर मात्रामा बढ्दै गयो। झसंगै पार्ने समाचारको एउटा उदाहरण हो, सा.यु. १४८७ मा मेक्सिकोमा भएको यो घटना: “आज्टेक राजधानी तेनोचटीटलानमा अघि कहिल्यै नगरिएको सबैभन्दा अचम्मलाग्दो बलि दिइयो। बीस हजार मानिसहरूको मुटु निकालेर युद्धको देवता विटजीलोपोक्टलीलाई चढाइयो।”
मानिसको निर्दयताले मात्र होइन तर लापरवाहीले गर्दा अशुभ समाचार उत्पन्न भएको छ। लन्डनमा भएको भीषण आगलागीलाई यस्ता घटनाहरूमध्ये एक मान्न सकिन्छ। सेप्टेम्बर ५, १६६६ मा लन्डनबाट प्राप्त विवरण यस्तो छ: “अन्तमा योर्कको ड्युकले चार दिन चार रातपछि यो आगो निभाए। तिनले भवनमा दन्किरहेको आगो निभाउन नौसैनिक टोलीहरूलाई ल्याए। यो आगलागी ४०० एकडसम्म फैलियो र यसले ८७ वटा चर्च र १३,००० भन्दा धेरै घरहरू नष्ट पाऱ्यो। अचम्मलाग्दो कुरा, नौ जनाले मात्र यस घटनामा ज्यान गुमाए।”
अशुभ समाचारका यी उदाहरणहरूमा १८३० दशकको प्रारम्भतिर धेरै महादेशहरूमा व्याप्त हैजाको महामारीलाई पनि हामी नलिई सक्दैनौं। रिपोर्टको शीर्षक नै यस्तो थियो: “हैजाको भूतले युरोपलाई घरिघरि सताउँछ।” त्यसपछिको वास्तविक रिपोर्टले हैजाद्वारा उत्पन्न डरलाग्दो अशुभ समाचारको वर्णन यसरी गर्छ: “सन् १८१७ सम्म युरोपमा थाहै नभएको हैजा एसियादेखि पश्चिमतिर फैलिंदैछ। यो महामारीले गर्दा सोभियत संघका मास्को तथा सेन्ट पिटर्सबर्गजस्ता शहरहरूको जनसंख्या धेरै मात्रामा घटेको थियो। अनि धेरैजसो गरिब शहरवासीहरू यसको शिकार भएका छन्।”
हालका वर्षहरूमा वृद्धि
इतिहासको विवरणभरि अशुभ समाचार जीवनको वास्तविकता भए तापनि यस २० औं शताब्दीका हालका दशकहरूले अशुभ समाचार बढ्दै गइरहेको प्रमाण दिन्छ। वास्तवमा यो तीव्र गतिले बढ्दैछ।
निस्सन्देह, वर्तमान शताब्दीमा हामीले सुनेका अशुभ समाचारहरूमध्ये युद्धको समाचार चाहिं सबैभन्दा खराब समाचार भएको छ। प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध भन्ने सुहाउँदो नाउँ पाएका इतिहासका दुइ ठूल-ठूला युद्धहरूले अशुभ समाचारलाई डरलाग्दो स्थितिमा पुऱ्यायो। तर त्यो यस आनन्दरहित शताब्दीमा वृद्धि भएको अशुभ समाचारको सानो भाग मात्र भएको छ।
केही मुख्य समाचारहरू विचार गर्नुहोस्:
सेप्टेम्बर १, १९२३: टोक्योमा भूकम्प—३,००,००० को मृत्यु; सेप्टेम्बर २०, १९३१: संकट—बेलाइतमा पाउण्डको मूल्य घट्यो; जून २५, १९५०: दक्षिण कोरियामाथि उत्तर कोरियाको आक्रमण; अक्टोबर २६, १९५६: हंगेरियालीहरू सोभियत शासनको विरोध गर्छन्; नोभेम्बर २२, १९६३: डालासमा जोन केनेडीलाई गोली हानी हत्या गरियो; अगस्त २१, १९६८: प्राग विद्रोह दमन गर्न सोभियत संघद्वारा ट्यांकको प्रयोग; सेप्टेम्बर १२, १९७०: अपहरण गरिएका विमानहरू मरुभूमिमा ध्वस्त; डिसेम्बर २५, १९७४: साइक्लोन ट्रेसीले अष्ट्रेलियाको डार्विन शहर नष्ट—६६ जनाको मृत्यु; अप्रिल १७, १९७५: साम्यवादी सेनाद्वारा कम्बोडिया पराजित; नोभेम्बर १८, १९७८: गुयेनामा सामूहिक आत्महत्या; अक्टोबर ३१, १९८४: श्रीमती इन्दिरा गान्धीको हत्या; जनवरी २८, १९८६: अन्तरिक्ष यान उड्नेबित्तिकै त्यसभित्र भएका सात यानकर्मीहरूसहित विस्फोट; अप्रिल २६, १९८६: सोभियत संघको आणविक भट्टीमा आगलागी; अक्टोबर १९, १९८७: सट्टा बजारको ह्रास; मार्च २५, १९८९: अलास्कामा कच्चा तेलको खराब असर; जून ४, १९८९: तायेनान्मेन चोकमा सेनाद्वारा विरोधीहरूको हत्या।
हो, अशुभ समाचार दिन प्रतिदिन प्रचुर मात्रामा बढ्दै गएको अनि सुसमाचार चाहिं दुर्लभ हुँदै गएको इतिहासले देखाउँछ। हालका दशकहरूमा अशुभ समाचार वृद्धि हुँदै जाँदा हरेक वर्ष सुसमाचार ह्रास हुँदै गएको छ।
यो किन हुन्छ? के सधैं यस्तै हुनेछ?
अर्को लेखले यी दुइ प्रश्नहरूको जवाफ दिनेछ।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
WHO/League of Red Cross