प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ४/१५ pp. ५-७
  • सुसमाचार निकट!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुसमाचार निकट!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अशुभ समाचारका कारणहरू
  • अशुभ समाचारको किन वृद्धि?
  • यो स्थिति सधैं रहनेछैन
  • अशुभ समाचारको बढ्‌दो घटना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “सुसमाचार”!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • स्वर्गमा भएको विद्रोह
    मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ४/१५ pp. ५-७

सुसमाचार निकट!

हामीलाई व्यक्‍तिगत तवरमा असर गर्ने अशुभ समाचार सुन्दा हामी निराश हुन्छौं। अर्कोतर्फ, आफू वा आफ्ना प्रियजनहरूबारे सुसमाचार सुन्‍न पाउँदा आनन्दित हुन्छौं। तर अरूको अशुभ समाचारप्रति हामी अक्सर जिज्ञासु हुन्छौं। केही त अरूको दुःख खोतल्न आनन्द मान्छन्‌। किन अशुभ समाचार भएका पत्रिकाहरू निकै मात्रामा बिक्री हुन्छन्‌, यस लेखले आंशिक रूपमा व्याख्या गर्छ!

दोस्रो विश्‍वयुद्धको प्रारम्भमा भएका घटनाहरूबाट संकटप्रति मानिसहरूले लिने भयानक रुचिको ज्वलन्त उदाहरण प्रस्तुत भयो। दश हजार टन ओजन भएको ग्रेफ स्पी नामक युद्धपोतले जर्मन नौसेनाको गौरव बढाएको थियो। हप्तौंदेखि यो युद्धपोतले जर्मनीको विरुद्धमा संगठित देशका व्यापारिक जहाजहरूलाई आन्द्र र हिन्द महासागरहरूमा ध्वस्त पारिरहेको थियो। अन्ततः बेलाइतका तीन जंगी जहाजहरूले ग्रेफ स्पी-लाई आक्रमण गऱ्‍यो। यस आक्रमणमा धेरैको ज्यान गुम्यो र त्यो जहाजलाई उरुग्वेको मन्तेभिदियोको बन्दरगाहमा मर्मत गर्न लानुपऱ्‍यो। उरुग्वे सरकारले त्यो युद्धपोतलाई अविलम्ब समुद्रमा फर्कनू नत्र कब्जा गरिनेछ भन्‍ने आदेश जारी गऱ्‍यो। सम्भवतः बेलाइतले युद्ध जित्नै लागेको जस्तो देखियो।

यो समाचार सुनेर संयुक्‍त राज्यको एक झुन्ड धनी व्यापारीहरूले उरुग्वेमा रक्‍तरंजित युद्ध हेर्न प्रतिव्यक्‍ति लगभग २,५०० अमेरिकी डलर तिरेर विमान भाडामा लिए। तिनीहरूका लागि निराशाजनक कुरा, युद्ध हुँदै भएन। एडोल्फ हिटलरले ग्रेफ स्पी-लाई समुद्रमा डुबाउने आदेश दिए। डरलाग्दो समुद्री युद्ध हेर्न भीड लागेका हजारौं दर्शकहरूले युद्धको साटो बहिरो पार्ने विस्फोटक आवाज सुन्‍नुका साथै ग्रेफ स्पी-लाई त्यसैमा भएका सिपाहीहरूले समुद्रमा डुबाएको देखे। कप्तानले शिरमा गोली ठोकेर आत्महत्या गरे।

केही मानिसहरूले डरलाग्दा कुराहरू मन पराए तापनि अधिकांश मानिसहरू अशुभ समाचारभन्दा सुसमाचार नै सुन्‍न रुचाउँछन्‌। के तपाईं त्यस्तै अनुभव गर्नुहुन्‍न र? त्यसोभए, ऐतिहासिक विवरणमा किन सुसमाचारभन्दा अशुभ समाचार धेरै छन्‌? के यस्तो परिस्थिति कहिल्यै परिवर्तन हुनसक्छ?

अशुभ समाचारका कारणहरू

बाइबलले सुसमाचार मात्र भएको समयबारे बताउँछ। त्यस बेला अशुभ समाचार के हो, थाह थिएन। यहोवा परमेश्‍वरले सृष्टिको कार्य सक्नुभएपछि यो पृथ्वी मानिस तथा जनावरका लागि आनन्द उपभोग गर्न योग्य भएको थियो। उत्पत्तिको विवरणले यसरी बताउँछ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।”—उत्पत्ति १:३१.

मानिसको सृष्टि भएको केही समय बित्दा नबित्दै अशुभ समाचारको प्रादुर्भाव भयो। आदम र हव्वाको कुनै सन्तान जन्मनुअघि नै परमेश्‍वर र उहाँको सुव्यवस्थित ब्रह्‍माण्डीय असल प्रबन्धको विद्रोह गरिएको अशुभ समाचार स्वर्गमा दिइयो। आफ्नो उच्चपदस्थ आत्मिक पुत्रले उहाँलाई विश्‍वासघात गऱ्‍यो। अनि त्यस विद्रोही पुत्र प्रथम मानव दम्पतीलाई आफूसितै विद्रोही र विश्‍वासघाती बनाउन सफल भयो।—उत्पत्ति ३:१-६.

मानिसजातिले प्रचुर मात्रामा सुनेका अशुभ समाचारको सुरुआत त्यसै बेला भएको थियो। अशुभ समाचारमा षड्यन्त्र, छल, झूट, असत्य तथा अर्धसत्य स्पष्ट देखा पर्नु कुनै अचम्मलाग्दो होइन। ती कुराहरू संसारमा अघि कहिल्यै यति धेरै व्याप्त भएको थिएन। येशू ख्रीष्टले शैतान अर्थात्‌ दियाबललाई अशुभ समाचारको सुरुआतकर्ता भनेर सोझै दोष लगाउनुभयो। यसबारे उहाँले तत्कालीन धार्मिक नेताहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। त्यो ता शुरूदेखिनै हत्यारा थियो, र सत्यमा ठहरेन। किनभने त्यसमा सत्य छँदैछैन। त्यसले झूट बोल्दछ भने त्यो आफ्नैतर्फबाट बोल्दछ, किनभने त्यो झूट र झूटको पिता हो।”—यूहन्‍ना ८:४४.

मानव जनसंख्या सँगसँगै अशुभ समाचार पनि बढ्‌दै गयो। निस्सन्देह, त्यसको अर्थ आनन्द तथा खुशीयालीको समय छँदै थिएन भनेको होइन। किनभने त्यस बेला जीवनलाई आनन्दित पार्ने धेरै कुराहरू थिए। यद्यपि, संकष्ट तथा दुःखको बाक्लो बादलले मानिसजातिलाई पुस्तौंदेखि अहिलेसम्म छोपिरहेको तथ्यलाई भने नकार्न सकिन्‍न।

यस दुःखद स्थितिको अर्को मुख्य कारण छ। त्यो हो, गलत कार्य र विपत्तिप्रति हाम्रो वंशानुगत झुकाउ। अशुभ समाचार उत्पन्‍न गराउने ती त्याग्न असम्भव झुकाउको यहोवा स्वयं यसरी परिचय दिनुहुन्छ: “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ।”—उत्पत्ति ८:२१.

अशुभ समाचारको किन वृद्धि?

तथापि, यस २० औं शताब्दीमा अशुभ समाचार बढ्‌नुको कारण छ। यसबारे बाइबलमा स्पष्टसित बताइएको छ। त्यसले मानिसजाति २० औं शताब्दीमा “आखिरी दिन” वा “अन्तको समय” भनिने एक अनुपम समयावधिमा प्रवेश गर्नेछ भनेर अग्रिमवाणी गरेको थियो। (२ तिमोथी ३:१; दानियल १२:४) बाइबलको भविष्यवाणी तथा बाइबलीय कालक्रमले त्यो “अन्तको समय” सन्‌ १९१४ मा सुरु भयो भनेर प्रमाणित गर्छ। यससम्बन्धी विस्तृत धर्मशास्त्रीय प्रमाणका लागि, कृपया भारतको वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको ११ अध्याय हेर्नुहोस्‌।

पृथ्वीमा अशुभ समाचार फैलाउने बढ्‌दो घटनासितै आखिरी दिन सुरु हुनेथियो। त्यो के थियो? त्यो थियो, शैतान अर्थात्‌ दियाबल तथा त्यसका प्रेतहरूलाई स्वर्गबाट फ्याँकिएको घटना। हटाउन नसकिने बढ्‌दो अशुभ समाचारको स्पष्ट विवरण प्रकाश १२:९, १२ मा पढ्‌न सक्नुहुन्छ: “त्यो अजीङ्‌गरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए। . . . ‘स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ। पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।’”

तसर्थ, आखिरी दिनको अन्त आउन जतिसुकै समय रहेको भए तापनि अशुभ समाचार चर्किंदै जान्छ भनेर हामी आशा गर्नसक्छौं।

यो स्थिति सधैं रहनेछैन

पृथ्वीवासीका लागि खुशीको खबर के हो भने, आज व्याप्त अशुभ समाचारको महामारी उत्पन्‍न गराउने दुःखद परिस्थिति सधैं रहनेछैन। वास्तवमा, अशुभ समाचार सुनिरहनुपर्दैन भनेर हामी दृढतापूर्वक भन्‍नसक्छौं। घटना जस्तोसुकै देखिए तापनि परिस्थिति निराशाजनक छैन। सबै अशुभ समाचारको अन्त निकट छ अनि यो परमेश्‍वरले तोक्नुभएको ठीक समयमा हुनेछ।

हामी यसबारे निश्‍चित हुनसक्छौं किनभने आखिरी दिन चरमसीमामा पुग्नासाथ वा आउनासाथ परमेश्‍वरले सबै अशुभ समाचारका जडहरूलाई नष्ट गर्नुहुनेछ तथा हटाउनुहुनेछ भनेर भविष्यवाणी गरिएको छ। उहाँले सुध्रन नचाहने तथा आफ्नो विद्रोह गर्न भड्‌काउने दुष्ट मानवहरूलाई हटाउनुहुनेछ। साधारणतया आरमागेडोनको लडाइँ भनेर चिनिने परमेश्‍वरको ठूलो दिनको लडाइँमा यो चरमसीमामा पुग्नेछ। (प्रकाश १६:१६) त्यसको लगत्तैपछि शैतान अर्थात्‌ दियाबल र त्यसका प्रेतहरू निष्क्रिय पारिनेछन्‌। सबै अशुभ समाचारको सुरुआतकर्तालाई कसरी बाँधिनेछ त्यसबारे प्रकाश २०:१-३ ले यसरी वर्णन गर्छ: “अनि अगाध खाँदको साँचो र एउटा ठूलो साङ्‌गलो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएका मैले देखें। औ तिनले त्यस अजीङ्‌गरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे, र हजार वर्ष भुक्‍तान नहोउञ्जेल त्यसले जाति जातिलाई फेरि नठगोस्‌ भनेर तिनले त्यसलाई अगाध खाँदमा फालिदिए। औ त्यसलाई बन्द गरेर त्यसमाथि छाप लगाए।”

यी नाटकीय घटनाहरूपश्‍चात्‌ पृथ्वी तथा यसमा बस्नेहरूले अघि कहिल्यै नभएको सुसमाचारको अनुभव गर्नेछन्‌। यी बासिन्दाहरूमा आरमागेडोनको अन्तिम युद्धमा बाँच्ने लाखौं र मृत्युबाट पुनरुत्थान हुने करोडौं मानिसहरू सम्मिलित हुनेछन्‌। यो सर्वोत्कृष्ट सुसमाचारबारे बाइबलको अन्तिम पुस्तकमा यसरी वर्णन गरिएको छ: “परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

के तपाईं त्यो रमाइलो क्षणको कल्पना गर्न सक्नुहुन्छ? अशुभ समाचार नभएको गौरवमय भविष्य अवश्‍य आउनेछ। हो, सबै अशुभ समाचारको अन्त हुनेछ र ती फेरि कहिल्यै सुन्‍नुपर्ने छैन। सुसमाचारले प्रभुत्व जमाउनेछ र यो सदासर्वदाका लागि रहनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने