राज्य उद्घोषकहरूका रिपोर्ट
“तपाईंका सबै आज्ञाहरू सत्यका छन्”
मोशाले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि इस्राएलका मानिसहरूलाई यहोवाका सबै आज्ञाहरू पालन गर्न प्रोत्साहन दिए। तिनले भने: “आज मैले तिमीहरूलाई दिएका सबै वचनहरू आफ्नो मनमा राख आफ्ना छोराछोरीहरूलाई पनि यस व्यवस्थाका सबै वचनहरू होशियारीसाथ पालन गर्ने आज्ञा देओ। किनभने यो तिमीहरूका लागि साधारण कुरो होइन। यो तिमीहरूको जीवन हो।”—व्यवस्था ३२:४६, ४७.
सयौं वर्षपछि भजनरचयिताले परमेश्वरका सबै शिक्षाको महत्त्वलाई यसो भन्दै प्रकाश पारे: “हे परमप्रभु, तपाईं ता नजीकै हुनुहुन्छ, र तपाईंका सबै आज्ञाहरू सत्यका छन्।” (भजन ११९:१५१) प्रथम शताब्दीमा स्वयं येशूले “परमेश्वरको मुखबाट निस्केको हरेक वचन[को]” मोलबारे उल्लेख गर्नुभयो। (मत्ती ४:४) अनि परमेश्वरको निर्देशनअनुसार प्रेरित पावलले “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र . . . उपयोगी हुन्छ” भनेर लेखे।—२ तिमोथी ३:१६.
स्पष्टतया, यहोवा परमेश्वरले हाम्रोलागि आफ्नो वचनमा लिपिबद्ध गर्नुभएका सम्पूर्ण सन्देशप्रति आफ्ना उपासकहरूले गम्भीरतापूर्वक ध्यान देओस् भनी आशा गर्नुहुन्छ। बाइबलको कुनै पनि परिच्छेद मूल्यविहीन छैन। यहोवाका साक्षीहरूले परमेश्वरको वचनप्रति त्यस्तै दृष्टिकोण राख्छन् भन्ने कुरा मरिससबाट प्राप्त निम्न अनुभवले देखाउँछ।
श्री डी.——सुदूर गाउँमा बस्थे। तिनी त्यहाँ पेशाले रातीको पाले थिए। धेरै अघिदेखि तिनले परमेश्वरको उपासना गर्ने सही मार्ग निष्कपटसाथ खोजिरहेका थिए। राती पाले बसेको समयमा तिनले बाइबल पढ्न थाले। अन्ततः तिनले सम्पूर्ण बाइबल पढे। परमेश्वरको नाउँ यहोवा हो भनी तिनले थाह पाए। तिनको हिन्दी बाइबलमा त्यो नाउँ धेरै पटक लेखिएको थियो। विशेषतः प्रकाशको पुस्तक तिनलाई रोचक लाग्थ्यो।
तत्पश्चात्, सम्पूर्ण बाइबल पालन गर्ने कुनै धर्म थियो कि थिएन भनेर तिनले सोचे। आफूले जाने जति धर्महरूले हदमा बाइबलको एक भाग मात्र पालन गरेको तिनले देखे। केही धर्महरूले मसीही युनानी धर्मशास्त्रलाई अस्वीकार गरेर हिब्रू धर्मशास्त्रलाई स्वीकारेका थिए। अरू धर्महरूले चाहिं मसीही युनानी धर्मशास्त्रको मात्र व्यवहारिक मूल्य छ भनेर हिब्रू धर्मशास्त्रलाई बेवास्ता गर्दैथिए।
एक दिन श्री डी.——ले एक दम्पतीलाई झरीमा निथ्रुक्क रुझिरहेको देखेर आफ्नो घरमा ओत लिन बोलाए। तिनीहरू यहोवाका साक्षी थिए। पत्नी चाहिंले प्रकाश—त्यसको चरमोत्कर्ष निकट!a पुस्तक बोकिरहेकी थिइन्। तुरुन्तै श्री डी.——ले त्यस पुस्तक लिन चाहे। त्यस पुस्तकको भविष्यवाणी तिनलाई बुझ्न कठिन पर्ला भन्ने सोचेर ती साक्षीहरूले तिनलाई त्यसको साटो अर्को प्रकाशन प्रस्तुत गरे। तर श्री डी.——ले ढिपी गरेर प्रकाश पुस्तक नै लिन चाहे।
तिनले त्यो पुस्तक पाएपछि चाँडचाँडो पढे। तत्पश्चात् तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन स्वीकारे। यहोवाका साक्षीहरूले सम्पूर्ण बाइबल अति आदरसाथ पालन गरेको देखेर तिनी तुरुन्तै प्रभावित भए। नियमित तवरमा तिनी यहोवाका साक्षीहरूको राज्यभवन धाउन थाले। त्यहाँ हिब्रू धर्मशास्त्र र मसीही युनानी धर्मशास्त्र दुवैको ध्यानपूर्वक अध्ययन गरेको तिनले देखे। तिनी अहिले राज्य उद्घोषक तथा मसीही मण्डलीको बप्तिस्माप्राप्त सदस्य हुन्।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।