के प्राण अमर हुन्छ?
साथीभाइ तथा परिवारका सदस्यहरू चुपचाप मुर्दाबाकस वरिपरि घुम्छन्। तिनीहरू १७ वर्षीय केटोको मृत शरीरलाई टुलटुलती हेर्छन्। सहपाठीहरूले उनलाई चिन्नै नसक्ने भइसक्यो। केमोथेरापीले गर्दा उनको कपाल झरेर पातलो भइसक्यो, अर्बुद रोगले शरीर खाइसक्यो। के यो तिनीहरूको उही साथी हो? केही हप्ताअघिसम्म मात्र उनी अत्यन्तै जीवन्त, अनेकन् प्रश्न तथा विचारहरू सँगालेका फुर्तिलो केटा थिए! यस केटोकी आमाले बरबरी आँसु झार्दै यसो भनिरहन्छिन्: “टामी अहिले खुशी छन्। परमेश्वरले टामीलाई स्वर्गमा राख्न चाहनुभयो।”
आफ्नो छोरा कुनै न कुनै अवस्थामा अझै जीवित छन् भन्ने धारणाले गर्दा यस विह्वल आमाले केही हदसम्म आशा तथा सान्त्वना पाउँछिन्। प्राण अमर हुन्छ अनि यसैमा व्यक्तित्व, विचार, सम्झना र मानिस “स्वयं” निहित हुन्छ भनेर तिनले चर्चबाट सिकेकी छिन्। तिनको विश्वासअनुसार छोराको प्राण मरेकै छैन। प्राण, जीवित आत्मा भएकोले मृत्युपछि उनको शरीरबाट निस्केर स्वर्गमा परमेश्वर तथा स्वर्गदूतहरूसित बस्न गयो भन्ठान्छिन्।
मानव हृदयले दुःखद क्षणमा निस्सहाय भई आशाको जस्तोसुकै सानो किरणको पनि सहारा लिन्छ। त्यसकारण यो विश्वास त्यत्तिको आकर्षक हुनुको कारण बुझ्न गाह्रो छैन। उदाहरणका लागि, धर्मविज्ञानी जे. पाटर्सन-स्मीथले यसउप्रान्त सुसमाचारको पुस्तक-मा (अंग्रेजी) आफैलाई यसरी व्यक्त गर्छन्: “मृत्यपश्चात् हुने कुराहरूको तुलनामा मृत्यु त मामुली कुरा हो किनभने मृत्युले हामीलाई अत्यन्त अद्भुत संसारमा लैजान्छ।”
संसारभरिका थुप्रै धर्म तथा संस्कृतिका मानिसहरूले आफूभित्र अमरणशील प्राण अर्थात् शरीर मरेपछि पनि बाँचिरहने सचेत आत्मा हुन्छ भनी विश्वास गर्छन्। यो विश्वास मसीहीजगत्का हजारौं धर्म तथा गुटहरूमा व्यापक छ। यो यहूदी धर्मको पनि औपचारिक धर्मसिद्धान्त हो। हिन्दूहरूको विश्वासअनुसार समयको सुरुआत हुँदा नै आत्मा वा प्राण सृष्टि गरिएको हो। त्यसलाई मानिसहरूको जन्म हुँदा शरीरभित्र बन्द गरिन्छ अनि मृत्युपश्चात् पुनर्जन्मको चक्रमा एकपछि अर्को शरीरमा घुमिरहन्छ। मुस्लिमहरूको विश्वासअनुसार जन्मिंदा शरीर सँगसँगै प्राण अस्तित्वमा आउँछ र शरीर मरेपछि पनि त्यो बाँचिरहन्छ। अफ्रिकाका यथार्थवादी धर्म, शिन्टो धर्म र बौद्ध धर्मावलम्बीहरूले समेत भिन्न दृष्टिकोणबाट यसै विषयमा बेग्लाबेग्लै कुराहरू सिकाउँछन्।
बिलखबन्दमा पार्ने केही प्रश्नहरू
अमर प्राणको धारणा निर्विवाद तथा विश्वव्यापी तवरमा स्वीकार्य भए तापनि बिलखबन्दमा पार्ने प्रश्नहरू भने खडा हुन्छन्। उदाहरणका लागि, कुनै व्यक्तिले त्यत्तिको उदाहरणीय जीवन बिताएका छैनन् भने ती प्रियजनको प्राण कहाँ जान्छ होला भनी मानिसहरू सोच्छन्। के कुनै निम्नकोटी जीवको रूपमा तिनको पुनर्जन्म हुनेछ? वा तिनी शोधस्थानमा पठाइन्छन् र स्वर्ग जान योग्य नहोऊञ्जेल कुनै आग्नेय प्रक्रियाद्वारा शुद्ध पारिनेछन्? यद्यपि, असाध्यै चिन्ताजनक कुरा त, के तिनी बल्दो नरकमा सधैंभरि तड्पिनेछन्? वा धेरैजसो यथार्थवादी धर्महरूले सिकाएअनुसार तिनी शान्त पार्नुपर्ने आत्मा पो हुन् कि?
त्यस्ता धारणाहरूले जीवितहरूका लागि बोझिला प्रत्याशाहरू खडा गर्छन्। प्रिय मृतजनहरूले हामीमाथि क्रोध पोखाउलान् भन्ने डरले गर्दा ती आत्माहरूलाई शान्त पार्नुपर्ने पो हो कि? के हामीले तिनीहरूलाई भयानक शोधस्थानबाट निस्कन मदत गर्नुपर्छ? अथवा तिनीहरू नरकमा तड्पिरहेका होलान् भनी सोचेर निस्सहाय भई केवल थरथर काँपे पुग्छ? अथवा मृत मानवहरूको प्राण जनावरहरूमा हुन्छ भन्ठानेर केही जीवित जनावरहरूप्रति अर्कै व्यवहार गर्नुपर्ने पो हो कि?
स्वयं परमेश्वरबारे खडा हुने प्रश्नहरू पनि पटक्कै चित्तबुझ्दा छैनन्। उदाहरणका लागि, परमेश्वरले आफ्नो बच्चाको अमर प्राणलाई स्वर्गमा “लैजानुभयो” भन्ने धारणाबाट माथि उल्लिखित आमाजस्तै थुप्रै आमाबाबुहरूले सुरुसुरुमा त सान्त्वना पाउँछन्। तर, चाँडै तिनीहरूले के सोच्न थाल्छन् भने, एक निर्दोष बच्चालाई भयावह रोगको शिकार बनाएर आफ्नो छुनुमुनुलाई विह्वल आमाबाबुबाट अकालमै चुँडाइ लाने कस्तो परमेश्वर होला। त्यस्तो परमेश्वरको न्याय, प्रेम, कृपा खै कहाँ गयो? केहीले त त्यस्तो परमेश्वरको बुद्धिमा समेत शंका गर्छन्। तिनीहरू सोध्छन्, आखिरमा सबै प्राणहरूलाई स्वर्गमै लैजाने हो भने बुद्धिमान परमेश्वरले पहिले चाहिं पृथ्वीमा किन राख्नुभयो त? त्यसो हो भने पृथ्वी बिनसित्ति बनाइएको वस्तु हुनेछैन र?—व्यवस्था ३२:४; भजन १०३:८; यशैया ४५:१८; १ यूहन्ना ४:८ तुलना गर्नुहोस्।
त्यसकारण स्पष्ट छ, मानव प्राणको अमरताको धर्मसिद्धान्तलाई जुनसुकै तरिकामा सिकाइए तापनि बुझ्न नसकिने प्रश्नहरू र विसंगतिसमेत खडा हुन्छन्। किन? अधिकांश समस्या चाहिं यस शिक्षाको मूलसित सम्बन्धित छ। यी मूलहरूलाई छोटकरीमा केलाउनु ज्ञानोद्दीपक हुनसक्छ। अनि बाइबलले प्राणबारे के बताउँछ, त्यो सिकेर तपाईं छक्कै पर्नु होला। यसले मृत्युपश्चात् जीवनको सन्दर्भमा संसारका धर्महरूले साधारणतया सिकाउने कुराहरूभन्दा उत्तम आशा प्रदान गर्छ।