के राजा सुलेमानको धनबारे बढाइ-चढाइ कुरा गरिएको हो?
“सुलेमानकहाँ वर्षेनि आउने गरेको सुनको तौल छ सय छियासट्ठी तोड़ा थियो।”—१ राजा १०:१४.
बाइबलको उपरोक्त पदअनुसार राजा सुलेमानले वर्षमा २५ टनभन्दा धेरै सुन प्राप्त गर्थे! यो आज २४,००,००,००० अमेरिकी डलर बराबर हुन्छ। यो सन् १८०० मा विश्वभरिका खानीबाट निकालिएको सुनको झन्डै दोब्बर परिमाण हो। के यो सम्भव छ? पुरातात्त्विक प्रमाणले के देखाउँछ? यसले सुलेमानको धनसम्बन्धी बाइबलीय विवरण निश्चय नै पत्यारिलो छ भनेर देखाउँछ। बाइबलीय पुरातत्त्व पुनरावलोकन (अंग्रेजी) यसप्रकार बताउँछ:
▫ मिश्रको राजा थुत्मसे तृतीयले (सा.यु.पू. दोस्रो सहस्र वर्ष) कर्नाकस्थित आमोन राँको मन्दिरमा लगभग १३.५ टन सुनका सामग्रीहरू उपहार चढाए। यो त उपहारको अंश मात्र थियो।
▫ राजा ओसोर्कान प्रथमले (सा.यु.पू. प्रथम सहस्र वर्षको प्रारम्भतिर) लगभग ३८३ टन सुन र चाँदी देवताहरूलाई उपहार चढाएको विवरण मिश्री शिलालेखहरूमा पाइन्छ।
त्यसबाहेक, मानिसका महान् युगहरू (अंग्रेजी) श्रृंखलाको शास्त्रीय युनान खण्डले यस्तो प्रतिवेदन दिन्छ:
▫ राजा फिलिप द्वितीयको (सा.यु.पू. ३५९-३३६) लागि थ्रेसस्थित पान्जिअनका खानीहरूबाट वर्षेनी ३७ टन सुन निकालिन्थ्यो।
▫ फिलिपको छोरा महान् सिकन्दरले (सा.यु.पू. ३३६-३२३) फारसी साम्राज्यको राजधानी सुसा कब्जा गर्दा १,००० टनभन्दा धेरै सुन पाए।—द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका।
तसर्थ, राजा सुलेमानको धनसम्बन्धी बाइबलको विवरण हुनै नसक्ने कुरा होइन। यो पनि स्मरण रहोस्, सुलेमान राजाले “धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाहरूलाई जिते।”—१ राजा १०:२३.
सुलेमानले कसरी आफ्नो धनलाई प्रयोग गरे? तिनको सिंहासन “कञ्चन सुनले” मोहोरेको थियो, पिउने सबै कचौ- राहरू “सुनका” थिए र तिनीसित “पिटेका सुनका” २०० ठूला काँड हान्ने निशान र ३०० ढालहरू थिए। (१ राजा १०:१६-२१) विशेषगरि, सुलेमानको सुन यरूशलेममा यहोवाको मन्दिरसम्बन्धी कामकुरामा प्रयोग गरियो। मन्दिरको वेदी तथा काँटा, छर्कने डाडू, सुराही र कचौराजस्ता पवित्र सामग्रीहरू सुन र चाँदीले बनिएका थिए। महापवित्रस्थानमा भएका ४.५७२ मिटर अग्ला करूबहरू, धूपवेदी र भवनको भित्री भागसमेत सुनले मोहोरेका थिए।—१ राजा ६:२०-२२; ७:४८-५०; १ इतिहास २८:१७.
सुनले मोहोरेको मन्दिरबारे के भन्न सकिन्छ? चाखलाग्दो कुरा, पुरातन समयमा यसरी सुन प्रयोग गर्नु सामान्य कुरा थियो। बाइबलीय पुरातत्त्व पुनरावलोकन-को टिप्पणीअनुसार मिश्रको अमीनोफिस तृतीयले “थेबासको मन्दिर खडा गरेर महान् देवता आमुनको महिमा गरे। त्यो मन्दिर ‘पूर्णतया सुनले मोहोरेको, यसको भुइँ चाँदीले सिंगारिएको [र] प्रवेशद्वार सुन तथा चाँदीको मिसावटले’” अर्थात् सुन र चाँदीको मिश्रणद्वारा बनाइएको थियो। त्यसबाहेक, अश्शूरको इसार-हिदोनले (सा.यु.पू. सातौं शताब्दी) आशुरको तीर्थस्थलका ढोकाहरू र भित्ताहरू सुनले मोहोरेका थिए। हरानस्थित सिनको मन्दिरबारे बाबेलको नेबोनाइडसको (सा.यु.पू. छैटौं शताब्दी) विवरण यस्तो छ: “मैले भित्ताहरू सुन र चाँदीले मोहोरें र तिनीहरूलाई सूर्यजस्तै चम्काएँ।”
तसर्थ, राजा सुलेमानको धनबारे बाइबलीय विवरण बढाइ-चढाइ गरिएको कुरो होइन भनेर ऐतिहासिक विवरणहरूले बताउँछन्।