के तपाईं हाम्रो निष्पक्ष परमेश्वरको अनुसरण गर्दै हुनुहुन्छ?
निष्पक्षता—यो कहाँ पाउन सकिन्छ? पूर्वाग्रह, पक्षपात र भेदभाव नराख्ने एक जना साँच्चै निष्पक्ष व्यक्ति हुनुहुन्छ। उहाँ हुनुहुन्छ, मानिसजातिको सृष्टिकर्ता, यहोवा परमेश्वर। तथापि, १९औं शताब्दीका बेलाइती लेखक चार्ल्स ल्याम्बले मानवहरूबारे यसरी स्पष्टसित लेखे: “सोझै भन्ने हो भने, म पूर्वाग्रहहरूको अखडा हुँ अर्थात् मन पर्ने र नपर्ने कुराहरूले भरिएको छु।”
जहाँसम्म मानव सम्बन्धहरूबीच निष्पक्षताको कुरा छ, दुःखको कुरा यो अल्पिंदै गइरहेको छ। धेरै शताब्दीअघि इस्राएलका बुद्धिमान राजा सुलेमानले भने, “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।” (उपदेशक ८:९) जातीय घृणा, राष्ट्रिय विवाद र पारिवारिक फाटो बढ्दै गइरहेको छ। तसर्थ, मानवजातिले निष्पक्ष समाज बनाउनसक्छन् भनेर विश्वास गर्नु के व्यवहारिक छ र?
आफ्ना प्रवृत्तिहरूलाई नियन्त्रण गर्न र हामीभित्र गहिरो जरा गाडेर बसेका पूर्वाग्रहहरूलाई उखेलेर फ्याँक्न सजग भई प्रयास गर्नुपर्छ। (एफिसी ४:२२-२४) चालै नपाई हामी सामाजिक र शैक्षिक वातावरणबाट सिकेका र हाम्रो परिवार, जाति तथा राष्ट्रिय पृष्ठभूमिमा जरा गाडेर बसेका प्रवृत्तिहरूको दासत्वमा पर्नसक्छौं। राम्राजस्ता लाग्ने यी झुकाउहरू प्रायः गहिरेका हुन्छन् र यिनीहरूले पक्षपाती प्रवृत्तिलाई बढावा दिन्छन्। स्कटिश न्यायाधीश तथा सम्पादक लर्ड फ्रान्सिस जेफ्रीले समेत यसरी स्वीकारे: “मानिसहरूले आफूभित्र गहिरो जरा गाडेर बसेका पूर्वाग्रहहरूबारे थाहै पाउँदैनन्।”
पक्षपाती झुकाउको सामना गर्न सजग भई प्रयास गर्नुपर्छ भनेर स्वीकार्ने एक व्यक्ति लीनाa हुन्। आफूभित्र भएको पूर्वाग्रहको निस्सासिंदो भावनाहरूबारे तिनी भन्छिन्, “पालनपोषणको दौडान यो अत्यन्तै गहिरेको हुनाले यसलाई हटाउन अधिक प्रयास चाहिन्छ।” निरन्तर सम्झौटाहरूको खाँचोलाई पनि लीना स्वीकार्छिन्।
निष्पक्षताबारे यहोवाको विवरण
यहोवा, निष्पक्षताको सिद्ध उदाहरण हुनुहुन्छ। उहाँले मानवहरूसित व्यवहार गर्नुहुँदा कसरी निष्पक्षता प्रदर्शित गर्नुभयो, हामी बाइबलका सुरुका पृष्ठहरूदेखि नै पढ्छौं। यी सर्वोत्कृष्ट उदाहरणहरू र सम्झौटाहरूबाट हामी धेरै पाठ सिक्नसक्छौं।
यहोवाले सा.यु.पू. ३६ मा यहूदी प्रेरित पत्रुसलाई चलाएर कर्निलियस र अन्यजातिहरूलाई सुसमाचार उद्घोषणा गर्न लाउनुहुँदा उहाँको निष्पक्षता झल्क्यो। त्यतिखेर पत्रुसले भने: “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.
यहोवाले मानव परिवारसित व्यवहार गर्नुहुँदा हर हमेशा निष्पक्षता प्रदर्शित गर्नुभयो। ख्रीष्ट येशूले आफ्नो पिताबारे यसो भन्नुभयो: “उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४५) यहोवालाई निष्पक्ष परमेश्वरको रूपमा प्रशंसा गर्दै पत्रुसले अझ यसो भने: “कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।”—२ पत्रुस ३:९.
नूहको समयमा “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र” भएको हुँदा यहोवाले ती मानिसजातिलाई नष्ट गर्ने निर्णय गर्नुभयो। (उत्पत्ति ६:५-७, ११, १२) तथापि, परमेश्वरको आज्ञाअनुरूप सबै मानिसहरूको आँखैअगाडि नूहले जहाज निर्माण गरे। नूह र तिनका छोराहरूले जहाज बनाउञ्जेल तिनी “धर्मको प्रचारक” पनि थिए। (२ पत्रुस २:५) त्यस पुस्ताको दुष्ट झुकाउ देख्दा देख्दै पनि यहोवाले निष्पक्षसाथ स्पष्ट सन्देश पठाउनुभयो। उहाँले नूहलाई जहाज बनाउन र प्रचार गर्न लगाउनुभएर ती मानिसहरूको मन र हृदय छुन उत्तेजित हुनुभयो। तिनीहरूले मन फर्काउने प्रशस्त अवसर पाएका थिए तर त्यसो गर्नुको साटो ‘जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले वास्तै गरेनन्।’—मत्ती २४:३९.
यहोवाको निष्पक्षताको कस्तो सर्वोत्कृष्ट उदाहरण! यी कठिन समयमा त्यस्तै निष्पक्ष भएर परमेश्वरको राज्यको सुसमाचार उद्घोषणा गर्न परमेश्वरका सेवकहरूलाई यस कुराले उत्प्रेरित गर्छ। त्यसबाहेक, यहोवाको बदलाको दिनबारे घोषणा गर्न तिनीहरू पछि सर्दैनन्। तिनीहरू निष्पक्षसाथ सर्वसाधारणले देख्ने गरी परमेश्वरको सन्देश प्रत्येक व्यक्तिलाई सुनाउँछन्।—यशैया ६१:१, २.
यहोवाले कुलपिताहरू अब्राहाम, इसहाक र याकूबसित गर्नुभएका प्रतिज्ञाहरूले उहाँ निष्पक्ष परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण दिए। तिनीहरूकै खास वंशबाट अभिषिक्त जन आउनेथियो र तिनीद्वारा नै ‘सबै जातिहरू आशीर्वादी हुनेथिए।’ (उत्पत्ति २२:१८; २६:४; २८:१४) ख्रीष्ट येशू नियुक्त जन प्रमाणित हुनुभयो। येशूको मृत्यु र पुनरुत्थान मार्फत यहोवाले सबै आज्ञाकारी मानिसजातिका लागि मुक्तिको बाटो खोलिदिनुभयो। हो, ख्रीष्टले चढाउनुभएको छुडौतीको बलिदानको पक्षपातरहित लाभ उपलब्ध छ।
मोशाको समयमा सलोफादका छोरीहरूबारे यहोवाले खुबै चाखलाग्दो ढंगमा निष्पक्षता देखाउनुभयो। यी पाँच स्त्रीहरू प्रतिज्ञा गरिएको देशमा आफ्नो बुबाको उत्तराधिकारी हुने या नहुने दुबिधामा थिए। यसो किन भएको थियो भने, इस्राएलको चलनअनुसार त्यस भूमिको उत्तराधिकारी छोराहरू हुन्थे। तथापि, सलोफादको मृत्यु भयो र तिनको उत्तराधिकारी हुने एउटै छोरा थिएन। तसर्थ, तिनका छोरीहरूले निष्पक्ष न्याय पाऊँ भनी मोशालाई यसरी निवेदन चढाए: “छोराहरू नहुँदा हाम्रा बाबुको आफ्नो कुलमा नाउँ किन मासिने? हाम्रा बाबुका दाज्यू-भाइहरूमा हामीलाई पनि अधिकार दिनुहोस्।” यहोवाले तिनीहरूको पुकारा सुन्नुभयो र मोशालाई यस्तो निर्देशन दिनुभयो: “कुनै मानिस छोरा नभई मऱ्यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनू।”—गन्ती २७:१-११.
कस्तो मायालु र निष्पक्ष उदाहरण! छोरीहरूले विवाह गर्दा एक कुलको उत्तराधिकारी अर्को कुलमा नजाओस् भनेर पक्का गर्न तिनीहरूले “बाबुपट्टिका कुलका परिवारसँग” मात्र विवाह गर्नुपर्थ्यो।—गन्ती ३६:५-१२.
यहोवाको निष्पक्षताबारे थप अन्तरदृष्टि न्यायकर्त्ता तथा भविष्यवक्ता शमूएलको समयमा भएको देखिन्छ। यहोवाले तिनलाई बेतलेहेमवासी यस्सी परिवारको यहूदा कुलमा राजा नियुक्त गर्न खटाउनुभयो। तर यस्सीका आठ छोराहरू थिए। कुन चाहिं राजा नियुक्त हुनेथिए? एलीआबको शारीरिक बनावट देखेर शमूएल प्रभावित भए। तथापि, यहोवा बाहिरी व्यक्तित्वदेखि प्रभावित हुनुहुन्न। उहाँले शमूएललाई भन्नुभयो: “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। . . . परमप्रभुले मानिसले झैं हेर्दैनन्। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।” यस्सीको कान्छो छोरा, दाऊद राजा चुनियो।—१ शमूएल १६:१, ६-१३.
यहोवाको निष्पक्षताबाट सिक्ने
मसीही प्राचीनहरूले आफ्ना सँगी विश्वासीहरूको आध्यात्मिक गुनहरूलाई हेरेर यहोवाको अनुसरण गर्नु राम्रो हो। आफ्ना व्यक्तिगत भावनाहरूको आधारमा न्यायलाई धमिलाउँदै आफ्नै स्तरहरूअनुरूप कुनै व्यक्तिको न्याय गर्न सजिलो हुन्छ। एक प्राचीनले यसो भने, “म आफ्नो पूर्वकल्पित विचारहरूको आधारमा होइन तर यहोवालाई खुशी तुल्याउने तरिकामा अरूसित व्यवहार गर्ने चेष्टा गर्छु।” परमेश्वरको वचनलाई आफ्नो स्तरको रूपमा प्रयोग गर्नु उहाँका सेवकहरूका लागि कत्ति लाभदायी कुरा हो!
जातीय वा राष्ट्रिय पूर्वाग्रहका भावनाहरूको प्रतिरोध गर्न विगतका बाइबलीय उदाहरणहरूले हामीलाई मदत दिन्छन्। यहोवाको निष्पक्षता अनुसरण गरेर हामी मसीही मण्डलीलाई पूर्वाग्रह, भेदभाव र पक्षपातबाट जोगाउँछौं।
‘परमेश्वर पक्षपाती हुनुहुन्न’ भनेर प्रेरित पत्रुसले थाह पाए। (प्रेरित १०:३४) पक्षपात, निष्पक्षताको शत्रु हो र यसले प्रेम तथा एकताको सिद्धान्तलाई उल्लंघन गर्छ। येशूले गरिब, कमजोर तथा दबिएकाहरूको हृदय जित्नुभयो र तिनीहरूको भारी हल्का पारिदिनुभयो। (मत्ती ११:२८-३०) येशू मानिसहरूमाथि प्रभुत्व जमाउने र व्यवस्थाहरूको भारी लाद्ने यहूदी धार्मिक नेताहरूको कट्टर विरोधी बन्नुभयो। (लूका ११:४५, ४६) यसरी मानिसहरूमाथि भारी लाद्नुका साथै धनी र प्रतिष्ठित व्यक्तिहरूको पक्ष लिनु ख्रीष्टका शिक्षाहरूसित पटक्कै मेल खाँदैन थियो।—याकूब २:१-४, ९.
आज मसीही प्राचीनहरूले ख्रीष्टको शिरत्वलाई स्वीकार्छन् र यहोवाका सबै समर्पित जनहरूप्रति निष्पक्षता देखाउँछन्। तिनीहरू ‘परमेश्वरको बगालको गोठालो हुँदा’ आर्थिक प्रतिष्ठा, विभिन्न व्यक्तित्व वा पारिवारिक सम्बन्धहरूको आधारमा पक्षपात गर्नुदेखि टाढा रहन्छन्। (१ पत्रुस ५:२) निष्पक्ष परमेश्वरको अनुसरण गर्दै अनि पक्षपातपूर्ण कार्यहरू विरुद्ध उहाँको चेताउनी पालन गर्दै मसीही प्राचीनहरूले मण्डलीमा निष्पक्षताको मनोवृत्ति फैलाउँछन्।
यहोवाका साक्षीहरूको मसीही मण्डली अन्तरराष्ट्रिय भ्रातृत्व हो। यो, येशू ख्रीष्टको निर्देशनअन्तर्गत पूर्वाग्रहरहित र निष्पक्ष समाज सम्भव छ भन्ने जीवन्त प्रमाण हो। यहोवाका साक्षीहरूले “नयाँ मानिसलाई धारण गरेका छन्, जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” (एफिसी ४:२४) हो, तिनीहरूले निष्पक्ष परमेश्वर यहोवाको सिद्ध उदाहरणबाट सिक्दैछन् र पक्षपातरहित नयाँ संसारमा अनन्त जीवनको प्रत्याशा राखेका छन्।—२ पत्रुस ३:१३.
[फुटनोट]
a वास्तविक नाउँ होइन।
[पृष्ठ २६-मा भएको चित्र]
परमेश्वर पक्षपाती हुनुहुन्न भनेर प्रेरित पत्रुसले सिके