यहोवाजस्तै निष्पक्ष हुनुहोस्
१ यहोवा मानिसहरूमा चासो राख्नुहुन्छ। उहाँको इच्छा पूरा गर्नेजति सबैलाई उहाँ स्वीकार्नुहुन्छ, कुनै पक्षपात गर्नुहुन्न। (प्रेरि. १०:३४, ३५) येशूले पनि मानिसहरूलाई निष्पक्ष रूपमा प्रचार गर्नुभयो। (लूका २०:२१) पावलले जस्तै हामीले पनि उहाँहरूको उदाहरण अनुकरण गर्नुपर्छ। तिनले यसरी लेखे: “उहाँ प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैको धनराशि हुनुहुन्छ।”—रोमी १०:१२.
२ हामीले भेट्ने सबै मानिसहरूलाई परमेश्वरको राज्यबारे सुसमाचार सुनाउँदा “परमेश्वरको महिमा” हुन्छ। मानिसहरूको जात, सामाजिक स्तर, शिक्षा, वा आर्थिक अवस्था जस्तोसुकै किन नहोस्, हामीले सबैलाई यो राम्रो सन्देश सुनाइरहनुपर्छ। (रोमी १०:११-१३) यसको मतलब, हाम्रो कुरा सुन्ने पुरुष, स्त्री, जवान अनि वृद्ध सबैलाई प्रचार गर्नुपर्छ। हरेक ढोका ढोकामा गएर सबै घरधनीलाई सत्य सुन्ने मौका दिनुपर्छ।
३ सबैप्रति चासो राख्नुहोस्: हाम्रो लक्ष्य सकेसम्म सबैलाई भेट्नु हो। यो लक्ष्यलाई ध्यानमा राख्दै केही प्रकाशकहरूले डाक्टरहरूको कार्यालय, अस्पताल, नर्सिङ होम, जनकल्याण संस्थान र सुधारगृहहरूका मानिसहरूलाई साक्षी दिन सकेका छन्। यसबाहेक, प्रहरी विभागका कर्मचारी, स्कूलका सुपरिवेक्षक तथा सल्लाहकार र न्यायाधीशहरूलाई पनि प्रकाशकहरूले साक्षी दिएका छन्। अख्तियारवालाहरूसँग कुरा गर्दा उनीहरूले समाजमा पुऱ्याएका मदतकारी सेवाहरूको मूल्यांकन गर्नु उचित हुन्छ। उनीहरूलाई आदर गर्नुहोस् अनि उनीहरूका काम र त्यो कामसित सम्बन्धित समस्याहरूसँग मिल्ने समसामयिक लेखहरू छान्नुहोस्।
४ एक चोटि एउटी बहिनीले न्यायाधीशको कार्यालयमा गएर तिनीसित कुरा गरिन्। अत्यन्तै रमाइलो कुराकानीपछि तिनले यस्तो टिप्पणी गरे: “यहोवाका साक्षीहरूबारे मलाई के मन पर्छ, थाह छ? तिनीहरूका सिद्धान्तहरूको बलियो आधार छ र त्यसबाट तिनीहरू तर्किंदैनन्।” त्यस प्रभावकारी व्यक्तिलाई राम्रो साक्षी दिइयो।
५ मानिसहरूको हृदयमा भएको कुरा हामीलाई थाह छैन। तर हामीले भेटेका सबै मानिसहरूसित कुरा गरेर, हाम्रो काम परमेश्वरको डोऱ्याइमा छ भनी विश्वास देखाउँछौं। साथै, यसो गर्दा मानिसहरूले आशाको सन्देश सुन्ने र त्यसअनुसार हिंड्ने सुअवसर पाउँछन्। (१ तिमो. २:३, ४) आफ्नो समय बुद्धिमानीसाथ प्रयोग गरौं अनि सबै मानिसलाई सुसमाचार सुनाएर यहोवाजस्तै निष्पक्ष हुने प्रयास गरौं।—रोमी २:११; एफि. ५:१, २.