गिलियडको १०१औं कक्षा सुकर्ममा जोसिलो
हाम्रो सृष्टिकर्ता, यहोवा परमेश्वर र उहाँको पुत्र येशू ख्रीष्ट सुकर्ममा जोसिलो हुनुहुन्छ। हाम्रो आदर्श येशूले आफ्नो ईश्वरप्रदत्त कार्यभार वहन गर्न जोस प्रदर्शन गर्नुभयो जसमा “उहाँको निम्ति सुकर्ममा जोशिलो भएका उहाँकै आफ्ना एक खास पवित्र जाति तुल्याउनालाई हाम्रो निम्ति आफैलाई अर्पण” गर्नु पनि समावेश थियो। (तीतस २:१४) वाचटावर बाइबल स्कूल अफ गिलियडको १०१औं कक्षाका ४८ सदस्यहरूले निश्चय पनि सुकर्मका लागि आफ्नो जोस प्रदर्शन गरेका छन्। यी मिसनरीहरूको दीक्षान्त समारोह न्यु योर्क, प्याटर्सनस्थित वाचटावर एजुकेशनल सेन्टरमा सेप्टेम्बर ७, १९९६ का दिन आयोजना भएको थियो।
जोसिलो रहन व्यवहारिक सल्लाह
दीक्षान्त समारोहका अध्यक्ष परिचालक निकायका सदस्य क्यारी बार्बर थिए जो आफै पनि ७० वर्षभन्दा बढी समयदेखि पूर्ण-समय सेवकाईमा सेवारत छन्। भाइ बार्बरले आफ्नो भाषणको सुरुआतमा यस “संसारको ज्योति” अर्थात् येशूको प्रचार तथा शिक्षण क्रियाकलापमा ध्यानाकर्षण गरे। (यूहन्ना ८:१२) येशूले त्यस आदरणीय भूमिका आफूले मात्रै निर्वाह गर्नुभएन तर आफ्ना चेलाहरूलाई पनि तिनीहरूको ज्योति चम्काउन आग्रह गर्नुभएको तिनले औंल्याए। (मत्ती ५:१४-१६) सेवा गर्ने यस सुअवसरले मसीही जीवनलाई अर्थपूर्ण बनाउनुका साथै “ज्योतिका सन्तानझैं हिंड़डुल” गर्नेहरूको काँधमा गहन जिम्मेवारी थप्छ।—एफिसी ५:८.
ती सुरुका टिप्पणीहरूपश्चात् ब्रूकलिन मुख्यालयको प्रशासकीय कार्यालयका डन आडम्स्लाई भाषण दिन आमन्त्रित गरियो। तिनले “पछाडि होइन, अगाडि बढ्नुहोस्” भन्ने विषयमा भाषण दिए। भाइ आडम्स्ले गिलियड स्कूल र यसको उद्देश्य अर्थात् विदेशी मुलुकहरूमा सुसमाचार प्रचार गर्दै विस्तार गर्नेतर्फ ध्यानाकर्षण गरे। तिनले परमेश्वरको संगठनको प्रगतिबारे बताए जसले संसारभरि ३०० भन्दा बढी भाषाहरूमा बाइबल साहित्यहरू प्रकाशित गरेको छ। सन् १९९५ मा प्रकाशित पुस्तक ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ १११ भाषाहरूमा उपलब्ध छ र अझ थुप्रै भाषाहरूमा मुद्रण गर्ने योजना छ। यो पुस्तक येशूका नयाँ चेलाहरूलाई केही महिनाभित्रै समर्पण र बप्तिस्मा लिनसम्म मदत दिन सहायक सिद्ध भइसकेको छ। अतः नयाँ मिसनरीहरूले आफ्नो कार्यको लागि नवीनतम बाइबल अध्ययन सहायक पाउनेछन्।
त्यसपछि परिचालक निकायका सदस्य लिमन स्विंगलले प्रकाश ७:१५ मा आधारित “यहोवालाई दिन-रात पवित्र सेवा चढाउँदै गर्नुहोस्” भन्ने विषयमा भाषण दिए। यहोवा स्वयं आनन्दित परमेश्वर हुनुभएकोले उहाँको अनवरत सेवा गर्दा हामी पनि आनन्दित हुन्छौं। (१ तिमोथी १:११) यस आनन्दित सेवाको परिणामस्वरूप पृथ्वीका सबै भागबाट उहाँको सेवा गर्न ठूलो भीड ओइरिरहेको छ। वर्षौंको दौडान, गिलियड स्कूलमा प्रशिक्षण पाएकाहरूले सत्यको सही ज्ञान प्राप्त गर्न थुप्रैलाई मदत दिएका छन्। अतः, बढ्दै गएको ठूलो भीडका सदस्यहरूलाई जम्मा गर्न अहिले खटाइएकाहरूलाई पनि यहोवाले आशिष् दिनुहुनेछ भनेर विश्वास गर्ने हर कारण हामीसित छ।
परिचालक निकायका अर्का सदस्य डानियल सिड्लिकले “यहोवाको आनन्द प्रतिबिम्बित गर्ने” विषयमा प्रकाश पारे। नयाँ मिसनरीहरूका साथै परमेश्वरका सबै सेवकहरूसित मानिसहरूलाई अनन्त जीवनको मार्ग सिकाउने र अहिल्यै जीवनको सर्वोत्तम फाइदा लिने सुअवसर छ भनी तिनले प्रकाश पारे। भाइ सिड्लिकले भने, “सिकाउनु भनेको आत्मसन्तुष्टि दिने पेशा हो। यो शिक्षा दिने तथा सिकिरहेकाहरू दुवैको अनुहारमा प्रतिबिम्बित हुन्छ।” (भजन १६:८-११) तिनले इस्टोनियाका मिसनरीको भनाइलाई उद्धृत गर्दै यसो भने: “हामीसित यस पृथ्वीमा भएको सबैभन्दा महान् सन्देश छ र यो हाम्रो अनुहारले प्रतिबिम्बित गर्छ।” हाम्रो अनुहारको भावले मात्रै पनि मानिसहरूलाई हाम्रो कुरा सुन्ने चासो जगाउनसक्छ। यहोवाका सेवकहरू के कारणले आनन्दित छन्, मानिसहरू जान्न चाहन्छन्। “अतः, आफ्नो अनुहारको भावमा ध्यान दिनुहोस्,” भन्ने सल्लाह भाइ सिड्लिकले दिए। “आनन्दित व्यक्तिहरू देख्न पाउँदा मानिसहरू रमाउँछन्।”
सन् १९४९ को १२औं गिलियड कक्षादेखि निर्देशन दिंदै आएका युलिसिज ग्लासले “धैर्यतासाथ आफ्नो प्राणको सुरक्षा गर्नुहोस्” भन्ने विषयमा श्रोतालाई सम्बोधन गरे। धैर्य भनेको के हो? यसले शान्तपूर्वक केही कुराको लागि पर्खिने, चिढिइँदा वा तनाउको बेला धैर्यधारण गर्ने भन्ने अर्थ बुझाउँछ। धीरजी व्यक्ति शान्त रहन्छ भने अधीरजी व्यक्ति हतारिने र झनक्क रीसाउने हुन्छ। “थुप्रैले धैर्य कमजोरी वा अनिश्चयीपनको संकेत हो भन्ने विचार राख्छन्” भनी भाइ ग्लासले टिप्पणी गरे तर “यहोवाको सन्दर्भमा धैर्यले बल र उद्देश्यलाई संकेत गर्छ।” (हितोपदेश १६:३२) धैर्यका फाइदाहरू के हुन्? एउटा चिनियाँ हितोपदेशले यसो भन्छ, “एक छिनको रीसलाई सहँदा सय दिनको वेदनाबाट जोगिन्छ।” भाइ ग्लासले यस्तो टिप्पणी गरे: “धैर्यले व्यक्तिविशेषको व्यक्तित्वलाई अझ निखार्छ। भनौं भने, यसले अरू असल गुनहरूलाई पनि चम्काउँछ। यसले विश्वासलाई चाहलाग्दो, शान्तिलाई चिरस्थायी र प्रेमलाई अटल बनाउँछ।”
केन्यामा ११ वर्षसम्म मिसनरीको रूपमा सेवा गरेका र अहिले गिलियड निर्देशक मार्क नुमारले यस्तो उल्लेख गरे, “यहोवा परमेश्वरले आफ्नो संगठन मार्फत दिनुहुने कार्यभार पाउनु एउटा विशेषाधिकार हो।” “विश्वास छैन भने धेरै बेर टिक्न सकिंदैन” भन्ने विषयमा भाषण दिंदै भाइ नुमारले यहूदाका राजा आहाजको उदाहरणतर्फ ध्यानाकर्षण गरे। यशैयाले त्यस राजालाई यहोवाको समर्थनको आश्वासन दिंदा दिंदै पनि आहाजले उहाँमाथि विश्वास गर्न सकेनन्। (यशैया ७:२-९) अनि मिसनरीहरू र वास्तवमा हामीले पनि आफ्नो ईश्वरतान्त्रिक कार्यभारमा लामो समयसम्म टिकिरहन यहोवामाथि विश्वास गर्नुपर्ने भाइ नुमारले औंल्याए। मिसनरी कार्यभारका खास चुनौतीहरूले बलियो विश्वासको माग गर्छ। “यस रीतिरिवाजमा सिद्ध परिस्थिति कतै पनि छैन भनेर सधैं मनमा राख्नुहोस्” भनी भाइ नुमारले उल्लेख गरे।
जोसिलो क्रियाकलापमा भाग लिन प्रोत्साहन दिने अनुभवहरू
गिलियड प्रशिक्षणको दौडान विद्यार्थीहरूले हरेक सप्ताहन्त जनसेवकाईमा बिताए जुन तिनीहरूको मिसनरी कार्यभारको मुख्य चासोको विषय पनि हुनेछ। गिलियड विभागका सदस्य वालेस लिभरन्सले १५ जना विद्यार्थीहरूसित अन्तरवार्ता लिए र तिनीहरूले आ-आफ्ना अनुभवहरू बताए। अनि सेवा विभाग समितिका लियन विभर र बेथेल परिचालन समितिका लान सिलिङले अफ्रिका र ल्याटिन अमेरिकाबाट आएका शाखा समितिका सदस्यहरूसित अन्तरवार्ता लिए। शाखा समितिका ती सदस्यहरूले मिसनरीहरूका अनुभवहरू सुनाउनुका साथै अब स्नातक हुने मिसनरीहरूका निम्ति आ-आफ्ना देशका मिसनरीहरूको तर्फबाट केही उत्तम सल्लाह दिए। सियरा लियोनमा १९९५ सेवा वर्षमा बप्तिस्मा लिनेहरूमध्ये ९० प्रतिशतले मिसनरीहरूद्वारा मदत पाएको कुरा औंल्याइयो। जोसिलो क्रियाकलापको कत्ति राम्रो रिकर्ड!
अन्तमा, सोसाइटीका अध्यक्ष मिल्टन हेन्शेलले उपस्थित २,७३४ श्रोतालाई “यहोवाको दृश्य संगठन अनुपम छ” भन्ने विषयमा सम्बोधन गरे। परमेश्वरको दृश्य संगठन के कारणले अद्वितीय छ? यो नता यसको आकार शक्तिको कारणले गर्दा नै हो। यो त परमेश्वरको धार्मिक विधिविधान र न्यायिक निर्णयहरूले डोऱ्याइएकोले गर्दा हो। पुरातन समयमा यहोवाका जनहरू अर्थात् इस्राएल राष्ट्रलाई परमेश्वरको वाणी सुम्पिएको थियो र यही कारणले त्यो राष्ट्र अनुपम भएको थियो। (रोमी ३:१, २) आज, यहोवाको संगठन एकताबद्ध छ किनभने यो येशू ख्रीष्टको डोऱ्याइमा परिचालन हुन्छ। (मत्ती २८:१९, २०) यो फस्टाउँदैछ, बढ्दैछ। पृथ्वीमा अर्को कुन चाहिं संगठन छ जसले कुनै महत्त्वपूर्ण निर्णय गर्नुअघि परमेश्वरको वचन बाइबलबाट सरसल्लाह लिन्छ? यी र अन्य तरिकाहरूमा यहोवाको दृश्य संगठन साँच्चै अनुपम छ।
स्नातक उपाधि वितरण र विशेष प्रशिक्षणको निम्ति मूल्यांकन जाहेर गरिएको कक्षाको पत्र पढेपछि आनन्ददायी समारोह समापन भयो।
[पृष्ठ २२-मा भएको पेटी]
कक्षाको तथ्यांक
प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ९
मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १२
विद्यार्थीहरूको संख्या: ४८
औसत उमेर: ३१.७
सच्चाइमा बिताएको औसत वर्ष: १३.८
पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: ९.८
[पृष्ठ २३-मा भएको पेटी]
वाचटावर बाइबल स्कूल अफ गिलियडको १०१औं स्नातक कक्षा
देहायबमोजिम सूचीमा दिइएको लहर तथा नाउँहरू क्रमशः अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ सुरु हुन्छ।
(१) स्विन्ट, एच.; जेजिनस्कि, ए.; हाइफिल्ड, एल.; मारकाडो, एस.; डेल, ए.; चाभेज, भि.; स्मिथ, जे.; सेलिनियस, एस.
(२) कर्टस्, डी.; क्लार्क, सि.; लेसबोन, जे.; मोर्टेनसेन, डब्ल्यु.; ब्राम्ली, ए.; तोइका, एल.; मार्टेन, ए.; स्मिथ, डी.
(३) जेजिनस्कि, डी.; ब्यरगोर, एल.; गाराफेलो, बि.; कालडाल, एल.; चाभेज, इ.; फ्रडिङ, एस.; खान, आर.; सेलिनियस, आर.
(४) स्विन्ट, बि.; ब्यरगोर, एम.; गाराफेलो, पि.; होल्मब्लाड, एल.; केजर, एम.; फ्रडिङ, टी.; पलफ्रेमन, जे.; पलफ्रेमन, डी.
(५) मिङग्वास, एल.; लेसबोन, एम.; मारकाडो, एम.; कर्टस्, एम.; डेल, एच.; तोइका, जे.; क्लार्क, एस.; खान, ए.
(६) मिङग्वास, एफ.; मार्टेन, बि.; हाइफिल्ड, एल.; होल्मब्लाड, बि.; ब्राम्ली, के.; कालडाल, एच.; मोर्टेनसेन, पि.; केजर, आर.