यहोवामा आनन्दित होओ र हर्ष मनाओ
जुनसुकै काम होस्, सफलता साथ पूरा हुँदा खुसी लाग्छ। मार्च १३, १९९९ मा न्यु योर्क, प्याटर्सनस्थित वाचटावर एजुकेशनल सेन्टरमा सम्पन्न दीक्षान्त समारोह, वाचटावर बाइबल स्कूल अफ गिलियडको १०६ औं कक्षाका ४८ जना विद्यार्थीहरूका लागि साँच्चै आनन्दको क्षण थियो।
परिचालक निकायका सदस्य, गिलियड सातौं कक्षाका स्नातक तथा यस दीक्षान्त समारोहका अध्यक्ष थिओडोर जारासले आफ्नो प्रारम्भिक टिप्पणीमा भजन ३२:११ का शब्दहरूमा जोड दिए: “हे धर्मात्मा हो, परमप्रभुमा आनन्दित होओ र हर्ष मनाओ।” (नयाँ संशोधित संस्करण) उक्त अवसरमा सबै जना आनन्दित हुनुको कारणबारे बताउँदै तिनले यसो भने: “गिलियडका विद्यार्थीहरूलगायत सोझो हृदय भएकाहरूद्वारा यहोवाले जुन काम पूरा गर्नुहुँदैछ, त्यसको लागि यस्ता अवसरहरूमा हामी आनन्दित हुन्छौं।” विद्यार्थीहरूले गिलियड स्कूलमा भर्ना हुने योजना बनाउनुका साथै मिसनरी सेवाको लागि योग्यता हासिल गर्न कडा परिश्रम गरे तापनि सबै कार्यहरू सफलता साथ पूरा गराउनुहुने चाहिं यहोवा हुनुहुन्छ। (हितोपदेश २१:५; २७:१) ‘यहोवामा आनन्दित’ हुने कारण यही हो भनेर भाइ जारासले जोड दिए।
प्याटर्सनको सभागृहमा आयोजित उक्त आनन्दित अवसरमा १२ वटा देशबाट आएका विद्यार्थीहरूका परिवार तथा पाहुनाहरू पनि उपस्थित भएका थिए। टिभी प्रसारण मार्फत कार्यक्रम हेर्ने, ब्रूकलिन, प्याटर्सन र वल्कीलका बेथेल परिवारका सदस्यहरूलगायत ५,१९८ व्यक्तिहरू उक्त समारोहको प्रतीक्षामा रहँदा आनन्दित मनोभाव प्रस्टै देखिन्थ्यो।
आनन्दित मनोभाव कायम राख्न आग्रह
भाइ जारासले गिलियड स्नातकहरूका लागि मात्र नभई सम्पूर्ण श्रोताहरूका लागि प्रोत्साहनजनक धर्मशास्त्रीय सल्लाह तयार गर्ने प्रथम पाँच वक्ताहरूको परिचय दिंदै आफ्नो प्रारम्भिक टिप्पणी टुंग्याए।
गिलियडको ३४ औं कक्षाका स्नातक र हाल परिचालक निकायका शिक्षण समितिका सहायकको रूपमा सेवारत विलियम मालेन्फोन्ट पहिलो वक्ता थिए। उपदेशक १:२ मा आधारित “ ‘सबै’ व्यर्थ होइन!” भन्ने भाषण प्रस्तुत गर्दै तिनले यस्तो प्रश्न गरे: “के सुलेमानले साँच्चै सबै व्यर्थ हुन् भनिरहेका थिए?” जवाफ: “अहँ, थिएनन्। तिनले ईश्वरीय इच्छालाई बेवास्ता गर्ने मानिसका कामकुराहरूका साथै ईश्वरीय इच्छासित सम्बन्ध नभएका सबै कामकुराहरू व्यर्थ हुन् भनिरहेका थिए।” तर साँचो परमेश्वर यहोवाको उपासना गर्नु व्यर्थ होइन, न उहाँको वचन अर्थात् बाइबल पढ्नु अनि अरूलाई त्यसबारे सिकाउनु नै व्यर्थ हो। आफ्ना सेवकहरूले गरेका यस्ता प्रयत्नहरू परमेश्वर बिर्सनुहुन्न। (हिब्रू ६:१०) वास्तवमा परमेश्वरको अनुमोदन पाएकाहरूमाथि विपत्ति आयो नै भने पनि तिनीहरूको प्राणलाई “परमेश्वरले . . . सुरक्षित राखेर आफ्नो भण्डारमा राख्नुहुनेछ।” (१ शमूएल २५:२९) कस्तो हृदयस्पर्शी विचार! यी कुराहरू याद राख्नाले यहोवाका सम्पूर्ण उपासकहरूले आनन्दित मनोभाव कायम राख्न मदत पाउनसक्छन्।
परिचालक निकायका सदस्य जोन बारले “आफ्नो मिसनरी असाइनमेन्टमा आनन्दित होओ” भन्ने भाषणद्वारा विद्यार्थीहरूलाई प्रोत्साहन दिए। मिसनरी सेवा यहोवा परमेश्वरले सधैं नै प्रिय ठान्नुभएको कुरा तिनले देखाए। “यहोवाले संसारप्रति देखाउनुभएको प्रेमको प्रमुख भाग मिसनरी सेवा थियो। उहाँले आफ्नो एक मात्र पुत्रलाई यस संसारमा पठाउनुभयो। येशू नै महान् तथा सर्वोत्तम मिसनरी हुनुहुन्थ्यो।” यस पृथ्वीमा आफ्नो कार्यभार पूरा गर्न येशूले गर्नुभएका परिवर्तनहरूबारे स्नातकहरूले मनन गर्नसक्छन्। येशूको मिसनरी सेवाबाट अरूले अझै पनि फाइदाहरू उठाउनसक्छन्। भाइ बारले येशू परमेश्वरको कार्य गर्न आनन्दित हुनुका साथै मानवजातिलाई प्रेम पनि गर्नुहुन्थ्यो भनेर औंल्याए। (हितोपदेश ८:३०, ३१) भाइ बारले स्नातकहरूलाई धीरजी भएर मात्र होइन तर आनन्दित भएर आ-आफ्नो असाइनमेन्टमा लागिरहन आग्रह गरे। तिनले विद्यार्थीहरूलाई यस्तो आग्रह गरे, “तेरो भारी परमप्रभुमा राख्, र उहाँले तँलाई सह्माल्नुहुनेछ।”—भजन ५५:२२.
त्यसपछिका वक्ता, परिचालक निकायका अर्को सदस्य लोयड ब्यारीको भाषणको शीर्षक “यहोवाको नाउँमा सदा सर्वदा हिंड्नु” थियो। भाइ ब्यारीले गिलियडको ११ औं कक्षा पूरा गरेपछि जापानमा २५ वर्षभन्दा बढी मिसनरी सेवा गरेका थिए। तिनले प्रारम्भिक मिसनरीहरूका केही अनुभव र तिनीहरूले सामना गरेका चुनौतीहरूबारे बताए। तिनले स्नातक कक्षाका विद्यार्थीहरूलाई कस्तो व्यवहारिक सल्लाह दिए? “सबैभन्दा मुख्य कुरा, आफ्नो आध्यात्मिकतालाई कायम राख्नुहोस्। साथै, त्यहाँको भाषा र संस्कृति सिक्नुहोस्। हँसिलो मिजासको हुनुहोस्। अनि आफ्नो काममा लागिरहनुहोस्; कहिल्यै हरेस नखानुहोस्।” स्नातकहरूले सेवा गर्नुपर्ने परदेशमा विभिन्न देवीदेवता मान्ने थुप्रै मानिसहरू भेट्नेछन् भनी भाइ ब्यारीले बताए। त्यसपछि तिनले तिनीहरूलाई मीकाका निम्न शब्दहरू स्मरण गराए: “सबै जातिका मानिसहरू चाहिं ता आफ्नो आफ्नो देवताको नाउँमा हिंड़छन्, तर हामी चाहिं सदा सर्वदै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा हिंड़नेछौं।” (मीका ४:५) निस्सन्देह, पहिलेपहिलेका मिसनरीहरूका उदाहरणले परमेश्वरका सम्पूर्ण सेवकहरूलाई विश्वाससाथ यहोवाको नाउँमा हिंडिरहन र उहाँको सेवा गरिरहन ठूलो उत्प्रेरणा दिन्छ।
त्यसपछिको भाषण गिलियडका प्रशिक्षक लरेन्स बोवेनले प्रस्तुत गरे। तिनको भाषणको विषयले “तपाईं के हुनुहुनेछ?” भन्ने प्रश्न गऱ्यो। तिनले परमेश्वरको सेवामा सफल हुन यहोवामाथि विश्वास र भरोसा गरेको हुनुपर्छ भनेर औंल्याए। राजा आसाले यहोवामाथि पूर्ण भरोसा राखेकाले नै शत्रु अर्थात् दश लाख सेनाहरूलाई उल्लेखनीय ढंगमा परास्त गर्न सके। तापनि, अगमवक्ता अजर्याहले तिनलाई परमेश्वरमाथि भरोसा गरिरहनु पर्ने कुरा सम्झाउँदै यसो भने: “जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ।” (२ इतिहास १४:९-१२; १५:१, २) परमेश्वरको नाउँ यहोवाको अर्थ आफ्नो उद्देश्य पूरा गर्न उहाँ जे पनि अर्थात् प्रबन्धकर्ता, रक्षक वा न्यायकर्तासमेत हुनुहुन्छ भन्ने भएकोले, यहोवामा भर पर्ने मिसनरीहरू अनि उहाँको उद्देश्यअनुरूप काम गर्नेहरू आफ्नो असाइनमेन्टमा अवश्य सफल हुनेछन्। (प्रस्थान ३:१४) अन्तमा भाइ बोवेनले यसो भन्दै आफ्नो भाषण टुंग्याए, “तपाईंहरूले जबसम्म यहोवाको उद्देश्यलाई आफ्नो उद्देश्य बनाउनुहुन्छ तबसम्म आफ्नो असाइनमेन्ट पूरा गर्न उहाँले तपाईंलाई जे पनि बन्न मदत गर्नुहुनेछ भनेर कहिल्यै नबिर्सनुहोस्।”
पहिलेका मिसनरी र हाल स्कूलका रजिस्टारको रूपमा सेवारत वालेस लिभरन्स दीक्षान्त समारोहका अन्तिम वक्ता थिए। तिनको भाषणको शीर्षक “परमेश्वरको वचनलाई जीवित राख्नुहोस् र तपाईंमा काम गर्न दिनुहोस्” थियो। उक्त भाषणले पूरा हुनै लागेको परमेश्वरको अचूक सन्देश अथवा प्रतिज्ञाप्रति ध्यानाकर्षित गऱ्यो। (हिब्रू ४:१२) यस्तो सन्देशले परमेश्वरको वचन जीवित राख्ने अनि आफूमा काम गर्न दिनेहरूको जीवनलाई त्यसले प्रभावित गर्छ। (१ थिस्सलोनिकी २:१३) आफ्नो जीवनमा यो वचनलाई कसरी जीवित राख्न अनि काम गर्न दिनसक्छौं? लगनशील भई बाइबल अध्ययन गरेर। भाइ लिभरन्सले स्नातकहरूलाई गिलियडमा सिकेका बाइबल अध्ययन गर्ने तरिकाहरू सम्झाए जसमा परमेश्वरको वचन पढ्नुका साथै त्यसको अर्थ र उपयोगिता बुझ्नु समावेश थियो। तिनले परिचालक निकायका सदस्य तथा लगभग ५० वर्षअघि गिलियड स्कूल स्थापित हुँदा उक्त समितिका अध्यक्ष अल्बर्ट श्रोडरका यी शब्दहरू उद्धरण गरे: “प्रसंगअनुसार अध्ययन गरेर परमेश्वरले आफ्ना वचनमा उपलब्ध गराउनुभएको पूर्ण तथा सही आध्यात्मिक शक्ति प्राप्त गर्न सकिन्छ।” यसरी बाइबल अध्ययन गर्नाले परमेश्वरको वचन जीवित रहनुका साथै त्यसले काम पनि गर्छ।
आनन्दमय अनुभव र अन्तर्वार्ताहरू
भाषणपछि विद्यार्थीहरूका केही आनन्दमय अनुभवहरू श्रोतागणलाई सुनाइयो। पूर्व मिसनरी तथा हाल गिलियडका प्रशिक्षक मार्क नुमारको निर्देशनमा विद्यार्थीहरूको एक समूहले विभिन्न परिस्थितिमा कसरी साक्षी दिए भनेर अनुभव बताउनुका साथै प्रदर्शन प्रस्तुत गरे। कसै कसैले आफ्ना क्षेत्रका मानिसहरूका परिस्थिति र अभिव्यक्तिहरू विचार गरेर अनि व्यक्तिगत रूपमा तिनीहरूमा चासो राखेर तिनीहरूसित बाइबल अध्ययन सुरु गर्नसके। यसप्रकार, विद्यार्थीहरू “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार” हुनुका साथै अरूले उद्धार पाओस् भनेर सहायता गर्न साँच्चै इच्छुक भए।—१ तिमोथी ४:१६.
थुप्रै व्यवहारिक सल्लाहहरू दिइयो अनि वाचटावर एजुकेशनल सेन्टरमा सञ्चालित शाखा समितिका सदस्यहरूको स्कूलमा तालिम प्राप्त गरिरहेका थुप्रै अनुभवी भाइहरू हेर्दा मिसनरी सेवाको आनन्द प्रस्ट देखिन्थ्यो। मुख्य कार्यालयका भाइहरू शमूएल हर्ड र रबर्ट जोनसनले बोलिभिया, जिम्बावे, निकारागुवा, मध्य अफ्रिकी गणतन्त्र, डोमिनिकन गणतन्त्र पापुआ न्यु गिनी र क्यामरूनस्थित सोसाइटीका शाखा कार्यालयका प्रतिनिधिहरूसित जीवन्त अन्तर्वार्ताहरू लिए।
अनुभव र अन्तर्वार्ताहरूपछि गिलियडको ४१ औं कक्षाका स्नातक अनि हाल परिचालक निकायका सदस्य गेरेट लोशले “के तपाईं ‘प्रिय व्यक्ति’ हुनुहुन्छ?” भन्ने सोचनीय शीर्षक भएको अन्तिम भाषण दिए। प्रथमतः भाइ लोशले स्नातकहरूलाई परमेश्वरको सिद्ध पुत्र येशूलाई मानिसहरूले प्रिय ठानेनन् तर “[उहाँ] मानिसहरूबाट घृणित [हुनुहुन्थ्यो] र इन्कार गरियो” भनी सम्झाए। (यशैया ५३:३ नयाँ संशोधित संस्करण) यसकारण, आज संसारका थुप्रै ठाउँहरूमा मिसनरीहरूलाई अप्रिय ठान्नु, ग्रहण वा स्वागत नगर्नु कुनै अचम्मको कुरा होइन। अर्कोतिर, दानियलले बाबेलमा धेरै वर्षसम्म सेवा गर्दा सृष्टिकर्ताले स्वर्गदूत मार्फत तिनलाई तीन पटक “अति प्रिय” भन्नुभयो। (दानियल ९:२३; १०:११, १९) त्यस्तो हुन दानियललाई केले मदत गऱ्यो? बाबेलको संस्कृतिअनुसार काँटछाँट गर्नुपर्दा तिनले कहिल्यै बाइबलका सिद्धान्तहरूसित सम्झौता गरेनन्। तिनी इमानदार भएकाले कहिल्यै आफ्नो ओहदाको फाइदा उठाएनन् अनि तिनी परमेश्वरको वचनको जोसिला विद्यार्थी थिए। (दानियल १:८, ९; ६:४; ९:२) तिनी यहोवालाई निरन्तर प्रार्थना गर्थे र आफ्नो सफलताको श्रेय परमेश्वरलाई दिन सधैं उहाँको महिमा गर्थे। (दानियल २:२०) दानियलको उदाहरण पछ्याउँदै परमेश्वरका सेवकहरू संसारको लागि मात्र नभई यहोवा परमेश्वरको लागि प्रिय हुनसक्छन्।
आध्यात्मिक रूपमा उन्नति गराउने समारोहलाई समापन गर्न अध्यक्षले संसारभरिबाट आएका केही टेलिग्राम तथा सन्देशहरू पढेर सुनाए। त्यसपछि, २४ दम्पतीहरूले डिप्लोमा पाए र तिनीहरूलाई खटाइएको देशको नाउँ घोषणा गरियो। अन्तमा, पाँच महिनासम्म पाएको तालिम र तयारिप्रति मूल्यांकन व्यक्त गर्न विद्यार्थीहरूले परिचालक निकाय अनि बेथेल परिवारलाई लेखेको पत्र कक्षाका एक जना प्रतिनिधिले पढेर सुनाए।
समारोहको समापन भएपछि छुटिंदै गरेको भीडमा “रमाहट, धन्यवाद” सुनियो।—नहेम्याह १२:२७.
[पृष्ठ २७-मा भएको पेटी]
कक्षाको तथ्यांक
प्रतिनिधित्व गरिएका देशहरूको संख्या: १०
मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १९
विद्यार्थीहरूको संख्या: ४८
विवाहित दम्पतीहरूको संख्या: २४
औसत उमेर: ३३
सच्चाइमा बिताएको औसत वर्ष: १६
पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १३
[पृष्ठ २५-मा भएको चित्र]
वाचटावर बाइबल स्कूल अफ गिलियडको १०६ औं स्नातक कक्षा
देहायबमोजिम सूचीमा दिएको लहर तथा नाउँहरू क्रमशः अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ सुरु हुन्छ।
(१) डिकन, डि.; प्वपोलो, एम.; लगुन, एम.; डभोल्ट, एस.; डोमिंगज, ई.; बर्क, जे. (२) गाऊट, एस.; भास्केस, डब्लू.; सीब्रूक, ए.; मोस्का, ए.; हेली, एल.; ब्रुआर्ड, एल. (३) ब्रान्डन, टि.; ओलिभार्स, एन.; कोल्मन, डि.; स्कट, भी.; पिटरसन, एल.; मेक्लाउड, के. (४) मक्लाऊड, जे.; थम्पसन, जे.; लुब्रिस, एफ.; स्पेट, बी.; ल्हेटमेकी, एम.; लगुन, जे. (५) गाऊट, यु.; डोमिंगज, आर.; हेली, एफ.; स्मिथ, एम.; बाइय, डि.; मोस्का, ए. (६) स्कट, के.; सीब्रूक, भी.; स्पेट, आर.; कोल्म्यान, आर.; ब्रुआर्ड, एल.; डभोल्ट, डब्लू. (७) स्मिथ, डि.; ल्हेटमेकी टि.; पिटरसन, पि.; थम्पसन, जि.; भास्केस, आर.; बाइय, ए. (८) लुब्रिस, एम.; डिकन, सि.; ब्रान्डन, डि.; प्वपोलो, डि.; ओलिभार्स, ओ.; बर्क, एस.