बायोएथिक्स र रक्तविहीन शल्यचिकित्सा
हालका वर्षहरूमा उपचार क्षेत्रमा अप्रत्याशित प्रगति भएको छ। तथापि, उपचारसम्बन्धी समस्याहरू सुल्झाउँदा नैतिक समस्या पनि उब्जेको छ।
चिकित्सकहरूले यस्ता द्विविधालाई राम्ररी विचार गर्नुपर्छ: रोगी मर्यादित ढंगमा मर्न सकोस् भनेर कहिलेकाहीं रूखो तरिकामा उपचार नगर्ने कि? रोगीले गरेको निर्णय रोगीको लागि उचित नै लागे तापनि चिकित्सकले त्यसलाई त्यति वास्ता नगर्ने कि? महँगो उपचार सबैले गर्न नसक्दा उचित ढंगमा सबैको स्वास्थ्यको ख्याल कसरी गर्नुपर्छ?
यस्ता अप्ठ्यारा स्थितिहरूले गर्दा बायोएथिक्स भनिने उपचार क्षेत्र सुरु भएको छ। यसको उद्देश्य चिकित्सक र वैज्ञानिकहरूलाई जीवविज्ञानसम्बन्धी अनुसन्धान र उपचार गर्दा नैतिक रायलाई विचार गर्न मदत दिनु हो। अस्पतालमा निकै अप्ठ्यारा निर्णयहरू गर्नुपर्ने हुँदा थुप्रै अस्पतालमा बायोएथिकल समिति गठन गरिएको छ। प्रायः चिकित्सक र वकिलहरूलगायत समितिका सदस्यहरू गोष्ठी बस्छन् र उपचारसम्बन्धी नैतिक समस्याहरू छानबिन गर्छन्।
यस्ता गोष्ठीहरूमा प्रायः खडा हुने केही प्रश्नहरू हुन्: मुख्यतः धार्मिक कारणले गर्दा रक्तक्षेपण नगर्ने यहोवाका साक्षीहरूको विश्वासलाई चिकित्सकहरूले कुन हदसम्म आदर गर्नुपर्छ? उपचारको दृष्टिकोणअनुसार “उचित” देखिएमा के चिकित्सकले रोगीको इच्छा विरुद्ध रक्तक्षेपण गर्नुपर्छ? ‘रोगीलाई थाह नभएको कुराले तिनलाई चोट पुग्दैन’ भन्ने विचार राख्दै तिनलाई अत्तोपत्तो नदिई रक्तक्षेपण गर्नु कहाँसम्मको नैतिकता हो?
यस्ता स्थितिहरूलाई ठीकसित सुल्झाउन चिकित्सकहरूले निष्पक्ष भई साक्षीहरूको दृष्टिकोण के हो बुझ्नुपर्छ। अर्कोतिर, आपसी समझले विवादलाई हटाउँछ भन्ने थाह भएकोले यहोवाका साक्षीहरू आफ्नो अडानबारे बताउन उत्सुक छन्।
दृष्टिकोणको आदानप्रदान
बायोएथिक्ससम्बन्धी प्रख्यात स्पेनी विशेषज्ञ प्राध्यापक डीयागो ग्रासिया आफ्नो दलले यसरी दृष्टिकोण आदानप्रदान गरेको चाहन्थे। तिनले भने, “रक्तक्षेपणको सन्दर्भमा तपाईंहरूले भोगिरहनुभएका कठिनाइहरूबारे बताउन तपाईंहरूलाई [यहोवाका साक्षीहरू] अवसर दिनु एकदमै उचित हो।”
त्यसैले १९९६, जून ५ का दिन यहोवाका साक्षीहरूका तीन प्रतिनिधिहरूलाई आफ्नो दृष्टिकोण बताउन स्पेनको माद्रिदस्थित कोम्प्लुटेन्से युनिर्भसिटीमा बोलाइयो। त्यहाँ केही ४० जना चिकित्सक र अरू पेशेवरहरू उपस्थित थिए।
साक्षीहरूले छोटो प्रस्तुति दिएपछि प्रश्नहरू सोधिन थालियो। कुनै वयस्क रोगीले केही प्रकारको उपचार अस्वीकार गर्नसक्ने अधिकार पाउनुपर्छ भनेर उपस्थित सबै सहमत भए। रोगीलाई पूर्ण जानकारी दिएर सहमति हासिल नगरेसम्म कहिल्यै रक्तक्षेपण गर्नु हुँदैन भनेर पनि तिनीहरूले पत्यार गरे। तर यहोवाका साक्षीहरूको अडानसम्बन्धी केही पक्षहरूले गर्दा तिनीहरू चिन्तित भए।
चिन्तित हुनुपर्ने एउटा कुरा त खर्चबारे थियो। कहिलेकाहीं रगतबिना शल्यचिकित्सा गर्दा लेसर शल्यचिकित्साजस्तो शल्यक्रियामा विशेष उपकरणका साथै रातो रक्त कोशिका उत्पादन गर्न इरिथ्रोपोइटनजस्ता महँगा औषधीहरू प्रयोग गर्नुपर्ने हुन्छ। कम खर्च हुने विकल्प (एकै समूहको रगतको प्रयोग) अस्वीकार गरेर साक्षीहरूले सार्वजनिक स्वास्थ्य सेवाहरूबाट विशेष सुअवसरहरूको प्रत्याशा साँचेका हुन् कि भनी एक चिकित्सकले सोचे।
चिकित्सकहरूले विचार गर्नुपर्ने आवश्यक कुरा खर्च हो भनेर स्वीकार्दै एक साक्षीले एउटै समूह भएको रक्तक्षेपणसम्बन्धी लाग्ने खास खर्चबारे प्रकाशित अध्ययनहरूतर्फ ध्यानाकर्षण गरे। यस खर्चमा रक्तक्षेपणसम्बन्धी जटिलताहरूले गर्दा हुने खर्चका साथै यस्ता जटिलताको कारण बिरामी हुँदाको नोक्सानी समावेश छ। संयुक्त राज्यमा गरिएको व्यापक अध्ययनलाई तिनले उद्धृत गरे। त्यस अध्ययनले के देखाएको थियो भने, रगतको सरदर मात्राको दाम सुरुमा २५० अमेरिकी डलर मात्र भए तापनि यसले गर्दा पछि वास्तवमा १,३०० अमेरिकी डलर खर्च गर्नुपर्छ अर्थात् पहिलेभन्दा पाँच गुणा बढी खर्च गर्नुपर्ने हुन्छ। त्यसैले, सबै खर्च जोडजाड गर्दा रगतबिनाको शल्यचिकित्सा नै सस्तो पर्छ भनेर तिनले देखाए। त्यसबाहेक, रगतबिनाको शल्यचिकित्सामा फाल्तु खर्च भनौंदो नै उपकरण हो, त्यसलाई पनि पुनः प्रयोगमा ल्याउन सकिन्छ।
थुप्रै चिकित्सकहरूको मनमा समूहबाटको दबाबबारे प्रश्न मडारिरहेको थियो। कुनै साक्षीले दोधारमा परेर रक्तक्षेपण स्वीकारेमा के हुन्छ? भनेर तिनीहरूले सोचे। के तिनलाई साक्षीहरूको समुदायबाट बहिष्कार गरिनेछ?
यो कुरा परिस्थितिमा निर्भर गर्छ। किनभने परमेश्वरको नियम उल्लंघन गर्नु निश्चयै गम्भीर कुरा हो र यसलाई मण्डलीका प्राचीनहरूले जाँच्नुपर्छ। जीवनघातक शल्यचिकित्साको अप्रिय अनुभव गरेका र रक्तक्षेपण स्वीकारेकाहरूलाई यहोवाका साक्षीहरू मदत दिन चाहन्छन्। निस्सन्देह, यस्तो बेला कुनै पनि साक्षीलाई एकदमै नरमाइलो लाग्छ र परमेश्वरसितको आफ्नो सम्बन्धबारे चिन्तित हुन्छन्। यस्तो व्यक्तिलाई मदत र समझको खाँचो पर्ला। मसीहीधर्मको आधार प्रेम भएकोले प्राचीनहरू न्यायिक जाँचपड्ताल गर्दा कृपासाथ व्यवहार गर्न चाहन्छन्।—मत्ती ९:१२, १३; यूहन्ना ७:२४.
“के तपाईं आफ्नो नैतिक अडान तुरुन्तातुरुन्तै परिवर्तन गर्ने विचार गर्नुहुन्छ?” भनेर अमेरिकाबाट आएकी बायोएथिक्सका प्राध्यापकले सोधिन्। किनकि “अरू धर्महरूले हालका वर्षहरूमा त्यसै गरेका छन्।”
रगत पवित्र हो भनेर यहोवाका साक्षीहरूले लिएको अडान बेला बेला परिवर्तन गरिने नैतिक दृष्टिकोण नभई सैद्धान्तिक विश्वास हो भनेर तिनलाई बताइयो। बाइबलको आज्ञाअनुसार यसबारे सम्झौता गर्न सकिंदैन भनेर स्पष्ट छ। (प्रेरित १५:२८, २९) साक्षीहरूले यस्तो ईश्वरीय नियम भंग गर्नु मूर्तिपूजा वा व्यभिचारलाई स्वीकारे सरह हो।
बाइबलआधारित विश्वासअनुसार रक्तक्षेपणको वैकल्पिक उपचार गर्ने यहोवाका साक्षीहरूको निर्णयलाई चिकित्सकहरूले स्वेच्छासाथ आदर गरेकोमा साक्षीहरू कृतज्ञ छन्। त्यस्तै प्रकारको छलफल गर्न म्याद्रिदको बायोएथिक्स गोष्ठीमा चिकित्सकहरू उपस्थित भएका थिए। निस्सन्देह, बायोएथिक्सले चिकित्सक र रोगीबीच राम्रो सम्बन्ध बनाउने र रोगीको इच्छाको अझ कदर गर्ने काममा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
स्पेनका प्रख्यात चिकित्सकले उल्लेख गरेझैं डाक्टरहरूले सधैं नै के याद राख्नुपर्छ भने तिनीहरूले “चलाउने साधनहरू त्रुटिपूर्ण छन् र त्यसले गल्ती पनि गर्नसक्छन्।” तसर्थ, “ज्ञानको अभावमा प्रेम व्यक्त गर्नुपर्छ भन्ने विश्वास” तिनीहरूमा हुनुपर्छ।