प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ५/१ pp. २३-२७
  • अन्धो भए तापनि मेरा आँखा खोलिए!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्धो भए तापनि मेरा आँखा खोलिए!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चिकित्सा विद्यार्थी छँदा सुरुमा मलाई परेको प्रभाव
  • मानिसहरूलाई मदत गर्दा सन्तुष्टि
  • साक्षी बिरामीहरूको उपचार गर्ने
  • दुःखकष्टको बज्रपात हुन्छ
  • नमीठो सुरुवात
  • पुनः उपयोगी महसुस गर्दै
  • दबाबको बावजुद निष्ठा
  • मनोवृत्ति परिवर्तन
  • मैले रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोणलाई स्वीकारें
    ब्यूँझनुहोस्‌!—२००४
  • उपचार गराउँदा के तपाईं आफ्नो धार्मिक अडानमा दृढ रहन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९०
  • तपाईंको छोराछोरीलाई रगतको दुरुपयोग देखि सुरक्षित राख्नु
    हाम्रो राज्य सेवकाई—१९९२
  • रक्‍तविहीन औषधोपचार तथा शल्यक्रियाको—बढ्‌दो माग
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ५/१ pp. २३-२७

जीवनी

अन्धो भए तापनि मेरा आँखा खोलिए!

एगोन हाउसेरको वृत्तान्तमा आधारित

आँखा देख्न छोडेको दुई महिनापछि जीवनभर मैले तिरस्कार गरेको बाइबल सत्यप्रति मेरा आँखा खोलिए।

सात दशकभन्दा लामो जिन्दगीका पानाहरूलाई पल्टाएर हेर्दा, जीवनका थुप्रै पक्षहरूले मलाई असीम सन्तुष्टि दिन्छ। तर जीवनको एउटा पक्षलाई परिवर्तन गर्न सक्ने भएको भए, म यहोवा परमेश्‍वरलाई धेरै अगाडि नै चिन्‍ने छनौट गर्ने थिएँ।

मेरो जन्म १९२७ मा अर्जेन्टिना र ब्राजिलबीच अवस्थित नासपाती आकारको देश, उरुग्वेमा भएको थियो। यो देश आन्ध्र महासागरको तीरमा भएका थुप्रै मनोरम दृश्‍यहरूले सजिएको छ। यहाँका अधिकांश जनताहरू आप्रवासी इटालेली र स्पेनीहरू हुन्‌। तथापि, मेरा आमाबाबुचाहिं हंगेरी आप्रवासीहरू थिए र म सानो छँदा हामी साधारण तर अति मिलनसार छिमेकमा बसोबास गर्थ्यौं। हाम्रो दैलोमा ताल्चा वा झ्यालहरूमा बार लगाउनु पर्दैनथ्यो। हामीमाझ जातीय भेदभाव थिएन। विदेशी होऊन्‌ वा स्वदेशी, काला होऊन्‌ वा गोरा,—हामी सबै जना साथी थियौं।

मेरा आमाबाबु क्याथोलिक धर्म मान्‍नुहुन्थ्यो र दस वर्षको उमेरदेखि नै मैले चर्चको पूजाआजामा सघाउने केटोको रूपमा काम गर्न थालें। वयस्क भएपछि मैले स्थानीय गिर्जाघरमा काम गरें र त्यस इलाकाको जिम्मा पाएका विशपको सल्लाहकार समूहको एक सदस्य भएँ। चिकित्सा पेसा अपनाएको हुँदा मलाई भेनेजुएलामा क्याथोलिक चर्चद्वारा आयोजित सेमिनारमा भाग लिन आमन्त्रित गरियो। स्त्रीरोगसम्बन्धी क्षेत्रमा विशेष प्रशिक्षण हासिल गरेका मेडिकल डाक्टरहरूको हैसियतमा हाम्रो समूहलाई त्यस समय बजारमा बेचिने गर्भनिरोधक चक्कीहरूबारे अध्ययन गर्न खटाइयो।

चिकित्सा विद्यार्थी छँदा सुरुमा मलाई परेको प्रभाव

चिकित्सा विषयको एक विद्यार्थीको रूपमा मानव शरीरबारे सिक्दै जाँदा, शरीरको बनोटमा प्रकट हुने बुद्धि देखेर म झन्‌-झनै प्रभावित हुँदै गएँ। उदाहरणका लागि, चोटपटक निको पार्न सक्ने र भावनात्मक चोटबाट मुक्‍त हुन सक्ने शरीरको क्षमता देखेर म त छक्कै परें, जस्तै; कलेजो वा करङहरूमा केही क्षति पुग्दासमेत त्यो फेरि पहिलाकै जत्रो हुन सकिहाल्दो रहेछ।

त्यसै समयतिर, मैले गम्भीर दुर्घटनामा परेका थुप्रै व्यक्‍तिहरू देखें र रक्‍तक्षेपण गरेको कारण तिनीहरूको मृत्यु हुँदा मलाई साह्रै दुःख लाग्यो। रक्‍तक्षेपणले गर्दा उत्पन्‍न जटिल समस्याहरूको कारण मृत्यु भएका बिरामीहरूका आफन्तहरूसित कुरा गर्नु कत्ति गाह्रो हुन्थ्यो भनेर मैले अझै बिर्सेको छैन। प्रायजसो अवस्थामा, आफन्तहरूलाई उनीहरूका प्रियजनको मृत्यु हुनुको कारण रक्‍तक्षेपण थियो भनेर बताइएको थिएन। बरु, उनीहरूलाई अरू नै कारणहरू बताइन्थ्यो। थुप्रै वर्षहरू बिते तापनि रक्‍तक्षेपणबारे मेरो मनमा शङ्‌का-उपशङ्‌काहरू उब्जेको र अन्तमा म रक्‍तक्षेपण गर्नुमा पक्कै केही गडबडी छ भन्‍ने निष्कर्षमा पुगेको मलाई अझै याद आउँछ। रगतको पवित्रतासम्बन्धी यहोवाको व्यवस्था मैले त्यतिबेलै थाह पाएको भए कत्ति बेस हुने थियो! त्यसो भइदिएको भए, रक्‍तक्षेपणसम्बन्धी मेरो मनमा ती शङ्‌का-उपशङ्‌काहरू उब्जिने नै थिएनन्‌।—प्रेरित १५:१९, २०.

मानिसहरूलाई मदत गर्दा सन्तुष्टि

समयको अन्तरालमा, म शल्यचिकित्सक तथा सान्ता लुसियामा भएको चिकित्सा सहयोग केन्द्रको निर्देशक भएँ। मैले नेसनल इन्स्टिच्युट अफ बायोलोजिकल साइन्समा पनि काम गरें। यसले मलाई असीम सन्तुष्टि दियो। मैले मानिसहरूलाई उनीहरूको बिरामी निको पार्न, उनीहरूको शारीरिक पीडा हटाउन मदत गर्नुका साथै थुप्रै अवस्थाहरूमा त जीवन बचाएर अनि आमाहरूलाई बच्चा जन्माउन मदत गरेर संसारमा नवजीवन ल्याउन मदत गरें। रक्‍तक्षेपणको सन्दर्भमा मैले पहिला-पहिला पनि अनुभव बटुलिसकेको हुनाले बिरामीहरूलाई रक्‍तक्षेपण गर्न लगाइनँ र रगतविना हजारौं शल्यक्रिया गरें। रक्‍तश्राव हुनु भनेको घ्याम्पाबाट पानी चुहिनुजस्तै हो भनेर म तर्क गर्थें। वास्तविक समाधान भनेको चुहिने ठाउँ बन्द गर्नु हो, घ्याम्पामा पानी भरेको भऱ्‍यै गर्नु होइन।

साक्षी बिरामीहरूको उपचार गर्ने

यहोवाका साक्षीहरू रक्‍तविहीन शल्यक्रियाको लागि हाम्रो क्लिनिकमा आउन थालेपछि १९६० को दशकमा उनीहरूसित मेरो चिनजान भएको थियो। मर्सिडिज गोन्जालेज नाउँकी एउटी अग्रगामी (पूर्ण-समय सेविका) बिरामीलाई म कहिल्यै बिर्सिन्‍न। तिनलाई एकदमै रक्‍तअल्पता भएको कारण तिनको ज्यान जान सक्छ भनेर विश्‍वविद्यालय अस्पतालका डाक्टरहरूले तिनको शल्यक्रिया गर्ने खतरा मोल्न चाहेनन्‌। तिनको रक्‍तश्राव भइरहेको भए तापनि हामीले आफ्नो क्लिनिकमा तिनको शल्यक्रिया गऱ्‍यौं। शल्यक्रिया सफल भयो र ८६ वर्षको उमेरमा तिनको हालै निधन नहोउन्जेलसम्म तिनले ३० वर्षभन्दा बढी अग्रगामी गरिरहिन्‌।

अस्पतालमा भर्ना भएका आफ्ना मसीही भाइहरूको हेरविचार गर्न साक्षीहरूले देखाएको प्रेम र चासो देखेर म सधैं प्रभावित हुन्थें। अस्पतालमा बिरामीहरूलाई भेट्‌ने क्रममा उनीहरूले आफ्नो विश्‍वासबारे बताएको सुन्दा मलाई रमाइलो लाग्थ्यो र उनीहरूले दिने प्रकाशनहरू म स्वीकार्थें। चाँडै म उनीहरूको डाक्टर मात्र होइन तर उनीहरूको आध्यात्मिक भाइ पनि हुनेछु भन्‍ने कुरा त मैले कल्पनासमेत गरेको थिइनँ।

एक जना बिरामीकी छोरी, बियाट्रिजसित मेरो विवाह भएपछि साक्षीहरूसित म अझ घनिष्ठ भएँ। उनको परिवारका अधिकांश सदस्यहरूले साक्षीहरूसित पहिल्यैदेखि सरसंगत गर्दै आइरहेका थिए र हामीले विवाह गरिसकेपछि उनी पनि सक्रिय साक्षी भइन्‌। अर्कोतर्फ, म भने आफ्नो काममा चुर्लुम्मै डुबेको थिएँ र चिकित्सा क्षेत्रमा प्राप्त केही प्रतिष्ठाको आनन्द उठाइरहेको थिएँ। जीवनमा सफल भएँजस्तो लाग्थ्यो। मेरो संसार चाँडै भताभुङ्‌ग हुनेवाला थियो भनेर त मैले सोचेको समेत थिइनँ।

दुःखकष्टको बज्रपात हुन्छ

एक जना शल्यचिकित्सकको जीवनमा परिआउने सबैभन्दा दुःखद कुरा भनेकै आँखाको ज्योति गुमाउनु हो। मलाई त्यस्तै भयो। अकस्मात्‌ आँखाको दुवै रेटिना अर्थात्‌ दृष्टि पटलमा क्षति पुग्यो र म अन्धो भएँ अनि म फेरि देख्न सक्छु कि सक्दिनँ मलाई थाह थिएन। शल्यक्रिया गरिसकेपछि दुवै आँखामा पट्टी बाँधेर म अस्पतालको शय्यामा सीमित हुन पुगें र मलाई निराशाले छोप्न थाल्यो। मैले यति साह्रो बेकम्मा र खोक्रो महसुस गरें कि मैले आफ्नो जीवन नै अन्त गर्ने निधो गरें। चौथो तलामा भएको कारण म शय्याबाट उठें र झ्याल भेट्टाउने प्रयासमा भित्ता-भित्ता छाम्दै हिडें। मर्नको लागि म झ्यालबाट हामफाल्न गइरहेको थिएँ। तर म त चालै नपाई अस्पतालको मटानमा पो पुगेछु र नर्सले मलाई फर्काएर फेरि मेरै शय्यामा पुऱ्‍याइदिइन्‌।

त्यसपछि मैले फेरि त्यसो गर्ने कोसिस गरिनँ। तर मेरो संसार अन्धकारमय भएकोले मलाई निराशाले भने छोप्न छोडेन र झडङ्‌ग-झडङ्‌ग रिस उठिरहन्थ्यो। यसरी अन्धा भएर बसेको बेला, पुनः देख्न सकें भने म सुरुदेखि अन्तसम्म बाइबल पढ्‌नेछु भनेर मैले परमेश्‍वरसित एउटा बाचा बाँधें। अन्ततः मैले केही हदसम्म देख्न थालें र पढ्‌न सक्ने भएँ। तर मैले शल्यचिकित्सकको रूपमा आफ्नो पेसालाई निरन्तरता दिन सकिनँ। यद्यपि, ऊरुग्वेमा एउटा लोकप्रिय अभिव्यक्‍ति छ, “नो ही माल का पोर ब्यना नो भेङ्‌गा” अर्थात्‌ “जस्तोसुकै नराम्रो कुराबाट पनि केही न केही राम्रो कुरा निस्कन्छ।” मैले त्यस भनाइको सत्यता अनुभव गर्नै लागेको थिएँ।

नमीठो सुरुवात

म ठूलो अक्षरमा छापिएको द जेरूशलेम बाइबल-को संस्करण किन्‍न चाहन्थें तर मैले यहोवाका साक्षीहरूसित अलि कम मूल्य पर्ने बाइबल छ रे भन्‍ने कुरा थाह पाएँ र एक जना जवान साक्षीले त्यही बाइबल मेरो घरमा ल्याइदिने प्रस्ताव राखेका थिए। भोलिपल्ट बिहान, तिनी बाइबल लिएर मेरो घरको ढोका अगाडि उभिरहेका थिए। मेरी पत्नीले ढोका खोलिन्‌ र तिनीसित बातचित गरिन्‌। बाइबलको पैसा पत्नीले दिइसकिन्‌ भने तिनी बसिरहनुपर्ने काम छैन भनेर घरभित्रबाट म अशिष्ट पाराले चर्को स्वरमा कराएँ। नभन्दै तिनी त्यहाँबाट आफ्नो बाटो लागिहाले। यही व्यक्‍तिले चाँडै मेरो जीवनमा अहम्‌ भूमिका खेल्नेछन्‌ भन्‍ने कुराको मलाई हेक्कासमेत थिएन।

एक दिन मैले मेरी पत्नीसित एउटा बाचा गरें तर पूरा गर्न भने सकिनँ। त्यसको क्षतिपूर्ति स्वरूप र उनलाई खुसी पार्न मैले उनीसँगै ख्रीष्टको मृत्युको वार्षिक स्मरणार्थमा जाने वचन दिएँ। त्यस उत्सवको दिन आएपछि मैले मेरो बाचा सम्झें र उनीसितै उक्‍त अवसरमा उपस्थित भएँ। मित्रैलो वातावरण र मैले पाएको मायालु स्वागत-सत्कारले म प्रभावित भएँ। वक्‍ताले आफ्नो भाषण दिन थालेपछि म त छक्कै परें किनभने जुन व्यक्‍तिलाई मैले एकदमै अशिष्ट पाराले मेरो घरबाट गइहाल्‌ भनेर खेदेको थिएँ, भाषण दिने व्यक्‍ति त तिनै पो रहेछन्‌। तिनको भाषणले मलाई गहिरो असर पाऱ्‍यो र तिनलाई अभद्र व्यवहार गरेकोमा मलाई साह्रै नमज्जा लाग्यो। अब तिनले लगाएको गुण कसरी फर्काउने?

साँझको खानाको लागि तिनलाई घरमा बोलाउनु नि भनेर मैले मेरी पत्नीलाई भनें तर उनले मलाई यस्तो सुझाव दिइन्‌: “तपाईंले नै तिनलाई बोलाउनुभयो भने अझ बेस हुन्छ जस्तो लाग्दैन? एकैछिन यहीं बस्नुहोस्‌ र तिनी आफै हामीलाई भेट्‌न आउनेछन्‌।” उनको कुरा मिल्यो। तिनी हामीलाई अभिवादन गर्न आए र खुसीसाथ निमन्त्रणा स्वीकारे।

तिनी हामीकहाँ आएको साँझ जे-जति कुराकानी भयो, त्यो मेरो जीवनका अनेकौं परिवर्तनहरूको सुरुवात थियो। तिनले मलाई द ट्रुथ द्याट लिड्‌स टु इटर्नल लाइफa भन्‍ने पुस्तक देखाए र मैले तिनलाई त्यही पुस्तकको छवटा प्रति देखाएँ। विभिन्‍न साक्षी बिरामीहरूले मलाई ती पुस्तकहरू अस्पतालमा दिएका थिए तर मैले ती कहिल्यै पढेको थिइनँ। खाना खाइरहेको बेला र खाना खाइसकेपछि राती अबेरसम्म मैले एकपछि अर्को गर्दै थुप्रै प्रश्‍नहरू सोधें र ती सबको तिनले बाइबलबाट जवाफ दिए। हाम्रो छलफल भोलिपल्ट बिहानसम्मै चल्यो। जानुअघि ती जवान मानिसले ट्रुथ पुस्तक चलाएर मसित बाइबल अध्ययन गर्ने प्रस्ताव राखे। तीन महिनाभित्रै हामीले त्यो पुस्तक अध्ययन गरिसिध्यायौं र “बेबिलोन द ग्रेट ह्‍याज फलन!” गड्‌स किङ्‌डम रुल्स्‌!b भन्‍ने पुस्तकबाट अध्ययन जारी राख्यौं। त्यसपछि मैले मेरो जीवन यहोवालाई समर्पण गरें र बप्तिस्मा लिएँ।

पुनः उपयोगी महसुस गर्दै

शारीरिक रूपमा अन्धो भएको फलस्वरूप त्यतिन्जेलसम्म मैले तिरस्कार गरेको बाइबल सत्यप्रति ‘मेरो हृदयका आँखा’ उघ्रिए! (एफिसी १:१८) यहोवा तथा उहाँको मायालु उद्देश्‍य थाह पाएपछि मेरो सम्पूर्ण जीवन नै परिवर्तन भयो। फेरि एकपल्ट मलाई आफू उपयोगी र खुसी भएको महसुस हुन्छ। म मानिसहरूलाई शारीरिक अनि आध्यात्मिक दुवै तवरमा मदत गर्छु र यस रीतिरिवाजमा अझ केही वर्ष अनि आउँदै गरेको नयाँ संसारमा सदासर्वदा कसरी आफ्नो जीवन लम्ब्याउने भन्‍ने कुरा देखाउँछु।

मैले चिकित्सा क्षेत्रमा भएका प्रगतिहरूबारे नवीनतम जानकारी राख्ने गर्नुका साथै रगतका जोखिम, वैकल्पिक उपचार, बिरामीको अधिकार र बायोएथिक्सबारे अनुसन्धान गरेको छु। चिकित्सासम्बन्धी सेमिनारहरूमा यी जानकारी बताउन आमन्त्रित गरिएको बेला मैले यो जानकारी स्थानीय चिकित्सक जनसमुदायसित बाँड्‌ने मौका पाएको छु। सन्‌ १९९४ मा मैले ब्राजिलको रियो दे जेनेरियोमा आयोजित रक्‍तविहीन उपचारसित सम्बन्धित पहिलो सम्मेलनमा उपस्थित हुनुका साथै रक्‍तश्रावका समस्याहरू कसरी हल गर्ने भन्‍ने विषयमा भाषण दिएँ। त्यस जानकारीको केही भाग हेमोटेरापिया भन्‍ने चिकित्सासम्बन्धी पत्रिकामा छापिएको म आफैले लेखेको “ऊना प्रोप्वेस्टा: इस्ट्राटेक्यास पारा एल ट्राटाम्येन्टो डे लास आमारोक्यास” (“रक्‍तस्राव रोक्ने उपचारको एउटा नीतिगत प्रस्ताव”) भन्‍ने लेखमा समावेश गरिएको थियो।

दबाबको बावजुद निष्ठा

सुरु-सुरुमा, रक्‍तक्षेपणसम्बन्धी मेरा शङ्‌का-उपशङ्‌काहरू प्रायजसो वैज्ञानिक ज्ञानमा आधारित थियो। तथापि, बिरामी परेर म आफै अस्पतालमा भर्ना हुनुपर्दा भने रक्‍तक्षेपण अस्वीकार गर्नु र डाक्टरहरूको तीव्र दबाबसामु आफ्नो विश्‍वासलाई कायम राख्नु सजिलो हुँदो रहेनछ। ठूलो हृदयघात भएपछि मैले शल्यचिकित्सकलाई दुई घण्टाभन्दा बढी समय लगाएर आफ्नो अडानबारे बताउनुपऱ्‍यो। ती शल्यचिकित्सक मेरै घनिष्ठ मित्रका छोरा थिए र रक्‍तक्षेपणद्वारा मेरो ज्यान जोगाउन सकिन्छ भने मलाई त्यत्तिकै मर्न नदिने कुरा बताए। तिनी मेरो अडानसित सहमत नभए तापनि यस डाक्टरलाई मेरो अडान बुझ्न र आदर गर्न मदत गर्नुहोस्‌ भनेर मैले यहोवालाई मनमनै प्रार्थना गरें। अन्ततः ती डाक्टरले मेरा इच्छाहरूको आदर गर्ने वचन दिए।

अर्को चोटि चाहिं प्रोस्टेट ग्रन्थीबाट निकै ठूलो ट्युमर झिकेर फाल्नुपऱ्‍यो। रक्‍तश्राव भयो। फेरि पनि मैले रक्‍तक्षेपण अस्वीकार गर्नुका कारणहरू बताउनुपऱ्‍यो र मेरो दुई तिहाइ रगत खेर गए तापनि चिकित्साकर्मीहरूले मेरो अडानको आदर गरे।

मनोवृत्ति परिवर्तन

इन्टरनेसनल असोसिएसन अफ बायोएथिक्सको एक जना सदस्यको हैसियतमा बिरामीहरूको अधिकारप्रति चिकित्साकर्मी तथा कानुनी अख्तियारवालाहरूको मनोवृत्ति परिवर्तन भएको देख्दा मैले सन्तुष्टि प्राप्त गरेको छु। डाक्टरहरूको अधिकारवादी मनोवृत्तिको बदलामा सूचित सम्मतिप्रतिको आदरले ठाउँ पाउँदैछ। अब त तिनीहरूले बिरामीहरूलाई उपचारको विकल्प छनौट गर्ने मौका दिन्छन्‌। अचेल यहोवाका साक्षीहरूलाई स्वास्थ्यसेवा पाउन अयोग्य कट्टरपन्थीहरूको रूपमा हेरिंदैन। बरु, उनीहरूलाई सुसूचित बिरामीहरूको रूपमा हेरिन्छ, जसका अधिकारहरूलाई आदर गरिनुपर्छ। चिकित्सासम्बन्धी सेमिनार तथा टेलिभिजन कार्यक्रमहरूमा नाउँ चलेका प्राध्यापकहरूले यसो भनेका छन्‌: “यहोवाका साक्षीहरूको प्रयासको लागि हामी कृतज्ञ छौं, अहिले हामीले बुझेका छौं कि . . . हामीले साक्षीहरूबाट सिकेका छौं . . . ” र “उनीहरूले हामीलाई सुधार गर्न सिकाएका छन्‌।”

भनिन्छ, सबैभन्दा अमूल्य वस्तु जीवन हो किनभने जीवन छैन भने स्वतन्त्रता, स्वाधीनता र मानमर्यादाको केही अर्थ हुँदैन। हरेक व्यक्‍ति आफ्नो व्यक्‍तिगत अधिकारको मालिक हो र कुनै पनि विशेष परिस्थितिमा आफ्नो कुनचाहिं अधिकारलाई प्राथमिकता दिनुपर्छ भन्‍ने कुराको निर्णय गर्ने अधिकार उनैसित छ भन्‍ने कुरालाई मानिलिंदै अचेल थुप्रैले उच्च कानुनी विचारधारालाई स्वीकार्छन्‌। यस प्रकार मानमर्यादा, छनौट गर्ने स्वतन्त्रता र धार्मिक विश्‍वासलाई प्राथमिकता दिइएको छ। बिरामीसित आफ्नो स्वास्थ्यसम्बन्धी व्यक्‍तिगत छनौट गर्ने अधिकार छ। यहोवाका साक्षीहरूले स्थापना गरेको अस्पताल सूचना सेवाले थुप्रै डाक्टरहरूलाई यी विषयहरूमा अझ बढी बुझ्न मदत गरेको छ।

आफ्नो परिवारको निरन्तर सहयोगले गर्दा म यहोवाको सेवामा उपयोगी हुन र मसीही मण्डलीमा एक जना प्राचीनको हैसियतमा सेवा गरिरहन सकेको छु। मैले अघि नै पनि बताइसकें कि उमेर छँदै यहोवाबारे नसिकेकोमा मलाई साह्रै नै पछुतो छ। तथापि, परमेश्‍वरको राज्य प्रबन्धअन्तर्गत सधैंभरि बाँच्ने अद्‌भुत आशाप्रति मेरो आँखा खोलिदिनुभएकोमा म औधी कृतज्ञ छु, जहाँका “बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ”—यशैया ३३:२४.c

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

c यो लेख तयार पार्दा-पार्दै भाइ एगोन हाउसेर बित्नुभयो। उहाँ अन्तसम्मै विश्‍वासी रहनुभयो र उहाँको आशा पक्का छ भन्‍ने कुरामा हामी पनि रमाउँछौं।

[पृष्ठ २४-मा भएको चित्र]

त्यस्तै तीस वर्षको हुँदा सान्ता लुसियामा काम गर्दै

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९९५ मा मेरी पत्नी, बियाट्रिजसँग

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने