प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 अक्टोबर पृ. ६-११
  • तपाईँ साँचो आनन्द पाउन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ साँचो आनन्द पाउन सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आध्यात्मिक भोजन खानुहोस्‌
  • यहोवाको स्तरअनुसार जिउनुहोस्‌
  • यहोवाको उपासनालाई पहिलो स्थानमा राख्नुहोस्‌
  • वास्तविक अनुभव
  • आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • साँचो सुख कहाँ पाउन सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको सेवा गर्नमा साँचो आनन्द छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • के गरेदेखि वास्तवमा आनन्दित भइन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 अक्टोबर पृ. ६-११

अध्ययन लेख ४१

तपाईँ साँचो आनन्द पाउन सक्नुहुन्छ

“आनन्दित हुन्‌ ती सबै, जसले यहोवाको डर मान्छन्‌, जो उहाँको मार्गमा हिँड्‌छन्‌।”—भज. १२८:१.

गीत ११० ‘यहोवाले दिनुहुने आनन्द’

परिचयa

१. हाम्रो “आध्यात्मिक आवश्‍यकता” के हो र यो साँचो आनन्दसित कसरी सम्बन्धित छ?

साँचो आनन्द भनेको छिनभरमा बिलाइजाने खुसीको अनुभूति मात्र होइन, यस्तो आनन्द स्थायी हुन्छ। हामी किन यसो भन्‍न सक्छौँ? येसुले डाँडाको उपदेशमा यसो भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌।” (मत्ति ५:३) यहोवाले मानिसलाई “आध्यात्मिक आवश्‍यकता”-सहित अर्थात्‌ उहाँलाई चिन्‍ने र उहाँको उपासना गर्ने तीव्र इच्छासहित सृष्टि गर्नुभएको थियो भनेर येसुलाई थाह थियो। यहोवा “आनन्दित परमेश्‍वर” हुनुभएकोले उहाँको उपासना गर्नेहरू पनि आनन्दित हुन सक्छन्‌।—१ तिमो. १:११.

“आनन्दित हुन्‌ ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन्‌।”—मत्ति ५:१० (अनुच्छेद २-३ हेर्नुहोस्‌)d

२-३. (क) येसुले भन्‍नुभएअनुसार को पनि आनन्दित हुन सक्छन्‌? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ र यसबारे थाह पाउनु किन आवश्‍यक छ?

२ जीवनमा कुनै समस्या नै छैन भने मात्र आनन्दित हुन सकिन्छ भन्‍ने हो? होइन। येसुले डाँडाको उपदेशमा एउटा अचम्मलाग्दो कुरा भन्‍नुभयो। ‘शोकमा’ परेकाहरू अर्थात्‌ आफ्नो पापको कारण दोषी महसुस गरेकाहरू वा कुनै तनावपूर्ण परिस्थितिको सामना गरेकाहरू आनन्दित हुन सक्छन्‌। साथै “न्यायोचित काम गरेकोले खेदोमा परेका”-हरू र येसुको अनुयायी भएकोले “बदनाम” भएकाहरू पनि आनन्दित हुन सक्छन्‌ भनेर उहाँले भन्‍नुभयो। (मत्ति ५:४, १०, ११) तर यस्ता अवस्थाहरूमा कसरी साँच्चै आनन्दित हुन सकिन्छ?

३ जीवनमा कुनै समस्या छैन भने मात्र आनन्दित हुन सकिन्छ भनेर येसुले सिकाउनुभएन। बरु आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गरेर अनि परमेश्‍वरसित नजिक भएर आनन्दित हुन सकिन्छ भनेर सिकाउनुभयो। (याकु. ४:८) हामी कसरी त्यसो गर्न सक्छौँ? आउनुहोस्‌, साँचो आनन्द पाउन चाल्नुपर्ने तीन वटा कदमबारे छलफल गरौँ।

आध्यात्मिक भोजन खानुहोस्‌

४. साँचो आनन्द पाउन चाल्नुपर्ने पहिलो कदम के हो? (भजन १:१-३)

४ कदम १: साँच्चै आनन्दित हुन हामीले आध्यात्मिक भोजन खानै पर्छ। मानिस र जनावर दुवैलाई बाँच्नको निम्ति भौतिक खानेकुरा चाहिन्छ। तर मानिसले मात्र आध्यात्मिक खानेकुरा खान सक्छ र यो हामीलाई चाहिन्छ पनि। त्यसैकारण येसुले यसो भन्‍नुभयो: “मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा परमेश्‍वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।” (मत्ति ४:४) त्यसैले हामीले परमेश्‍वरको अमूल्य वचन बाइबलबाट आध्यात्मिक भोजन खान एक दिन पनि छुटाउनु हुँदैन। भजनरचयिताले यसो भने: ‘आनन्दित हो त्यो मानिस, जो यहोवाको व्यवस्थामा प्रसन्‍न रहन्छ र दिनरात उहाँको व्यवस्था पढ्‌छ।’—भजन १:१-३ पढ्‌नुहोस्‌।

५-६. (क) हामी बाइबलबाट कस्ता कुराहरू सिक्न सक्छौँ? (ख) बाइबल पढ्‌दा हामी कसरी आनन्दित हुन सक्छौँ?

५ यहोवा हामीलाई माया गर्नुहुन्छ। त्यसैले जीवनमा आनन्दित हुन के गर्नुपर्छ भनेर उहाँले बाइबलमा बताउनुभएको छ। यहोवाले हाम्रो लागि कस्तो उद्देश्‍य राख्नुभएको छ भनेर हामीले थाह पाएका छौँ। उहाँसित कसरी नजिक हुन सकिन्छ र आफ्नो पापको क्षमा कसरी पाउन सकिन्छ भनेर पनि सिकेका छौँ। अनि उहाँले हामीलाई दिनुभएको उज्ज्वल भविष्य र आशाबारे पनि बुझ्न सकेका छौँ। (यर्मि. २९:११) बाइबलबाट सिकेका यस्ता सत्यहरूले हाम्रो हृदयलाई आनन्दित बनाउँछ!

६ बाइबलले दैनिक जीवनको लागि चाहिने व्यावहारिक सल्लाहहरू पनि दिन्छ। ती सल्लाहहरू पालन गर्दा हामी आनन्दित हुन सक्छौँ। समस्याहरूले गर्दा निराश हुँदा यहोवाको वचन पढ्‌न र मनन गर्न अझ धेरै समय बिताउनुहोस्‌। येसुले यसो भन्‍नुभयो: “आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लुका ११:२८.

७. बाइबल पढाइलाई रमाइलो बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

७ बाइबल पढाइलाई रमाइलो बनाउन समय लगाएर पढ्‌नुहोस्‌। एउटा उदाहरण विचार गरौँ। कसैले तपाईँको लागि मन पर्ने खानेकुरा पकाइदिन्छ। तर तपाईँलाई हतार भएकोले अथवा मनमा धेरै कुरा खेलिरहेकोले तपाईँ त्यो खानेकुरा स्वादै नलिई ग्वाम-ग्वाम खानुहुन्छ। खाइसकेपछि पो ‘मैले किन हतारमा खाएको होला, बिस्तारै स्वाद लिई-लिई खाएको भए पनि हुन्थ्यो’ भनेर सोच्नुहुन्छ। बाइबल पढाइको सन्दर्भमा पनि यस्तै भन्‍न सकिन्छ। हामीले हतारमा बाइबल पढ्यौँ भने यहोवाले सिकाउन खोज्नुभएको कुराबाट आनन्द उठाउन सक्दैनौँ। त्यसैले बाइबल पढाइलाई रमाइलो बनाउन समय लगाएर पढ्‌नुहोस्‌, आफूले पढेको विवरणको दृश्‍य कल्पना गर्नुहोस्‌, त्यहाँको आवाज सुन्‍ने कोसिस गर्नुहोस्‌ र पढेको कुरामा मनन गर्नुहोस्‌। यसरी पढ्‌दा तपाईँ अझै आनन्दित हुन सक्नुहुनेछ।

८. “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले कसरी आफ्नो भूमिका निभाउँदै छ? (फुटनोट पनि हेर्नुहोस्‌।)

८ येसुले हामीलाई ठीक समयमा आध्यात्मिक भोजन दिन “विश्‍वासी र बुद्धिमान्‌ दास” नियुक्‍त गर्नुभयो र हामीले प्रशस्त मात्रामा आध्यात्मिक भोजन खान पाइरहेका छौँ।b (मत्ति २४:४५) विश्‍वासी दासले आध्यात्मिक भोजन तयार पार्न प्रयोग गर्ने मुख्य सामग्री बाइबल हो। (१ थिस्स. २:१३) यस्तो आध्यात्मिक भोजनले हामीलाई यहोवाको सोचाइ बुझ्न मदत गर्छ। त्यसैकारण हामी प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू र jw.org का लेखहरू पढ्‌छौँ। मध्यहप्ता र सप्ताहन्तको सभाको लागि तयारी गर्छौँ अनि हरेक महिना JW ब्रोडकास्टिङ हेर्छौँ। यसरी प्रशस्त आध्यात्मिक भोजन लिँदा साँचो आनन्द प्राप्त गर्न मदत गर्ने दोस्रो कदम चाल्न सक्नेछौँ।

यहोवाको स्तरअनुसार जिउनुहोस्‌

९. साँचो आनन्द पाउन चाल्नुपर्ने दोस्रो कदम के हो?

९ कदम २: साँचो आनन्द पाउन यहोवाको स्तरअनुसार जिउनुपर्छ। भजनरचयिताले यस्तो लेखे: “आनन्दित हुन्‌ ती सबै, जसले यहोवाको डर मान्छन्‌, जो उहाँको मार्गमा हिँड्‌छन्‌।” (भज. १२८:१) यहोवाको डर मान्‍नु भनेको उहाँको आदर गर्नु हो र यस्तो आदरले गर्दा हामी उहाँलाई दुःखी तुल्याउने कुनै काम गर्दैनौँ। (हितो. १६:६) त्यसैले सही र गलतसम्बन्धी परमेश्‍वरको स्तरअनुसार चल्न हामीले सक्दो कोसिस गरिरहनुपर्छ। (२ कोरि. ७:१) यदि हामी यहोवालाई मन पर्ने कुरा गर्छौँ र उहाँले घृणा गर्नुहुने कुरालाई तिरस्कार गर्छौँ भने हामी आनन्दित हुनेछौँ।—भज. ३७:२७; ९७:१०; रोमी १२:९.

१०. हामीले परमेश्‍वरको इच्छा थाह पाउनुको अलावा के पनि गर्नुपर्छ? (रोमी १२:२)

१० रोमी १२:२ पढ्‌नुहोस्‌। कुनै व्यक्‍तिलाई यहोवासित सही र गलतको स्तर तोक्ने अधिकार छ भनेर थाह हुन सक्छ। तर तिनी परमेश्‍वरको स्तरअनुसार चल्न इच्छुक पनि हुनुपर्छ। जस्तै, कुनै व्यक्‍तिलाई सरकारसित सवारीसाधनको गति सीमा तोक्ने अधिकार छ भनेर थाह हुन सक्छ। तर तिनी त्यस नियमअनुसार चल्न इच्छुक नहुन सक्छन्‌ र तोकिएको भन्दा धेरै गतिमा गाडी हाँक्न सक्छन्‌। हामी आफ्नो आचरणद्वारा यहोवाको स्तरअनुसार चल्नु नै जीवन जिउने सबैभन्दा राम्रो तरिका हो भनेर विश्‍वास गरेको देखाउँछौँ। (हितो. १२:२८) दाउदले पनि यस्तै महसुस गरे। तिनले यहोवाबारे यसो भने: “तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईँको उपस्थितिमा म आनन्दले भरिन्छु। तपाईँको दाहिने बाहुलीमा रहँदा म सदा आनन्दित हुन्छु।”—भज. १६:११.

११-१२. (क) चिन्तित वा निराश हुँदा हामीले के गर्नु हुँदैन? (ख) फिलिप्पी ४:८ ले हामीलाई सही मनोरञ्जन रोज्न कसरी मदत गर्छ?

११ कुनै समस्याले गर्दा चिन्तित वा निराश हुँदा हामीलाई त्यसबाट कसरी उम्कौँ जस्तो लाग्न सक्छ। यो स्वाभाविक हो। तर समस्याबाट उम्कन हामीले यहोवाले घृणा गर्नुहुने काम गर्नु हुँदैन।—एफि. ५:१०-१२, १५-१७.

१२ फिलिप्पीहरूलाई लेखेको पत्रमा प्रेषित पावलले ‘जुन कुराहरू असल छन्‌, जुन कुराहरू चोखा छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरू प्रशंसायोग्य छन्‌’ ती नै कुराहरूको विचार गरिरहन आग्रह गरे। (फिलिप्पी ४:८ पढ्‌नुहोस्‌।) हुनत पावलले यहाँ मनोरञ्जनको विषयमा लेखिरहेका थिएनन्‌ तर त्यसले हामीलाई सही मनोरञ्जन रोज्न मदत गर्छ। यसो गरेर हेर्नुहोस्‌: यस पदमा जहाँ-जहाँ “कुराहरू” भन्‍ने शब्द छ, त्यहाँ-त्यहाँ “सङ्‌गीत,” “फिल्म,” “उपन्यास” र “भिडियो गेम” शब्द राखेर हेर्नुहोस्‌। यसो गर्दा तपाईँले परमेश्‍वरको नजरमा कस्तो किसिमको मनोरञ्जन स्वीकार्य छ र कस्तो छैन भनेर बुझ्नुहुनेछ। हामी यहोवाको उच्च स्तरअनुसार जीवन बिताउन चाहन्छौँ। (भज. ११९:१-३) यसो गऱ्‍यौँ भने हाम्रो अन्तस्करण सफा हुनेछ अनि हामी साँचो आनन्द पाउन मदत गर्ने अर्को कदम चाल्न सक्नेछौँ।—प्रेषि. २३:१.

यहोवाको उपासनालाई पहिलो स्थानमा राख्नुहोस्‌

१३. साँचो आनन्द पाउन चाल्नुपर्ने तेस्रो कदम के हो? (युहन्‍ना ४:२३, २४)

१३ कदम ३: यहोवाको उपासनालाई पहिलो स्थानमा राख्नुहोस्‌। यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ हाम्रो उपासनाको हकदार हुनुहुन्छ। (प्रका. ४:११; १४:६, ७) त्यसैले उहाँले स्विकार्नुहुने तरिकामा उहाँको उपासना गर्ने कुरालाई हामीले प्राथमिकता दिनुपर्छ। यसको मतलब हामीले “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम” उपासना गर्नुपर्छ। (युहन्‍ना ४:२३, २४ पढ्‌नुहोस्‌।) हाम्रो उपासनालाई बाइबलमा पाइने सत्यअनुरूप बनाउन हामी यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्नुपर्छ। हाम्रो काममा कडिकडाउ गरिएको वा प्रतिबन्ध लगाइएको देशमा बसिरहेका छौँ भने पनि हामीले यहोवाको उपासनालाई पहिलो स्थानमा राख्नुपर्छ। हाम्रा १०० जनाभन्दा धेरै भाइबहिनी अहिले आफ्नो विश्‍वासको कारण झ्यालखानामा छन्‌।c यस्तो अवस्थामा पनि तिनीहरू आनन्दित छन्‌। किनकि तिनीहरू प्रार्थना र अध्ययन गर्न अनि परमेश्‍वर र उहाँको राज्यबारे अरूलाई बताउन यथाशक्य गर्छन्‌। यहोवा हामीसित हुनुहुन्छ र उहाँले इनाम दिनुहुनेछ भन्‍ने कुरा थाह भएकोले बदनाम गरिँदा वा खेदो भोग्नुपर्दा समेत हामी आनन्दित हुन सक्छौँ।—याकु. १:१२; १ पत्रु. ४:१४.

वास्तविक अनुभव

१४. ताजिकिस्तानका जवान भाइले कस्तो परीक्षा भोग्नुपऱ्‍यो?

१४ हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि भर्खरै छलफल गरेका तीन वटा कदमले साँचो आनन्द पाउन मदत गर्छ भनेर हाम्रा भाइबहिनीको अनुभवले प्रस्ट पार्छ। ताजिकिस्तानका १९ वर्षीय जोभिडन बोबोजोनोभको अनुभव विचार गरौँ। सैन्य सेवामा भर्ती हुन इन्कार गरेकोले अक्टोबर ४, २०१९ मा तिनलाई घरबाट जबरजस्ती लगियो र महिनौँसम्म झ्यालखानामा हालियो अनि अपराधीलाई जस्तो व्यवहार गरियो। यस्तो अन्यायले अन्तरराष्ट्रिय सञ्चार माध्यमको ध्यान खिच्यो। तिनलाई सैन्य सेवाको शपथ खान र सेनाको बर्दी लगाउन जबरजस्ती गरियो तर इन्कार गरेकोले तिनलाई कुटपिट गरियो। त्यसपछि तिनलाई दोषी ठहर गरेर श्रम शिविरमा पठाइयो। तर पछि त्यस देशको राष्ट्रपतिले तिनलाई माफी दिए र रिहा गर्न आदेश दिए। यस्तो कठिन परिस्थितिको समयमा जोभिडनले आफ्नो सत्यनिष्ठा र आनन्द कसरी कायम राखे? आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सधैँ सचेत रहेर।

तस्बिरहरूको सँगालो: जोभिडन बोबोजोनोभ। १. तिनी आफूलाई थुनिएको कोठरीको झ्यालबाट बाहिर हेर्दै छन्‌। २. तिनी झोलामा लेखिएको दैनिक पद पढ्‌दै छन्‌। ३. तिनी प्रार्थना गर्दै छन्‌।

जोभिडनले आध्यात्मिक भोजन लिइरहे, यहोवाको स्तरअनुसार चले र उहाँको उपासनालाई पहिलो स्थानमा राखे (अनुच्छेद १५-१७ हेर्नुहोस्‌)

१५. झ्यालखानामा छँदा जोभिडनले कसरी आध्यात्मिक भोजन लिइरहे?

१५ झ्यालखानामा छँदा जोभिडनसित बाइबल अनि अरू कुनै पनि प्रकाशन थिएन। तैपनि तिनले आध्यात्मिक भोजन लिइरहे। यो कसरी सम्भव भयो? भाइबहिनीले तिनको लागि खानेकुरा लगेको झोलामा दैनिक पद लेखिदिन्थे। यसरी तिनले हरेक दिन बाइबल पढ्‌न अनि त्यसमा मनन गर्न सके। झ्यालखानाबाट छुटेपछि तिनले अहिलेसम्म कठिन परीक्षा नभोगेकाहरूलाई यस्तो सुझाव दिए: “अहिले स्वतन्त्र छँदा नै बाइबल अनि हाम्रा प्रकाशनहरू पढेर यहोवाको विषयमा सकेसम्म धेरै कुरा सिक्नुहोस्‌।”

१६. जोभिडनले कस्ता कुराहरूमा ध्यान दिए?

१६ हाम्रा यी भाइ यहोवाको स्तरअनुसार चलिरहे। झ्यालखानामा छँदा तिनले आफ्नो मनमा खराब विचारहरू खेलाएनन्‌ न त गलत काम नै गरे। बरु यहोवामा अनि उहाँलाई मन पर्ने कुराहरूमा ध्यान दिए। जोभिडन परमेश्‍वरको सुन्दर सृष्टि नियाल्थे। तिनी हरेक बिहान चराको चिरबिर आवाजसँगै उठ्‌थे अनि राती जून र टिलपिल गर्ने ताराहरू नियाल्थे। तिनले यसो भने: “यहोवाले दिनुभएका यी उपहारहरूले मलाई आनन्दित हुन मदत गऱ्‍यो अनि उहाँको स्तरअनुसार चलिरहन बल दियो।” यहोवाले गर्नुभएको आध्यात्मिक अनि भौतिक प्रबन्धहरूप्रति कृतज्ञ भयौँ भने हाम्रो हृदय आनन्दित हुनेछ। अनि यस्तो आनन्दले हामीलाई अझ धेरै सहनशील हुन मदत गर्नेछ।

१७. जोभिडनले जस्तै परीक्षाहरू सह्‍यौँ भने नतिजा कस्तो हुन्छ? (१ पत्रुस १:६, ७)

१७ जोभिडनले यहोवाको उपासनालाई पहिलो स्थानमा पनि राखे। साँचो परमेश्‍वरप्रति सत्यनिष्ठा कायम राख्नु महत्त्वपूर्ण छ भनेर तिनलाई थाह थियो। येसुले यसो भन्‍नुभयो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।” (लुका ४:८) सैन्य कमान्डर र सिपाहीहरूले तिनलाई आफ्नो धर्म त्याग्न दबाब दिन्थे। तर तिनी उनीहरूसामु घुँडा नटेक्न र आफ्नो विश्‍वासमा सम्झौता नगर्न यहोवालाई हरेक दिन र हरेक रात व्यग्र प्रार्थना गर्थे। जस्तोसुकै अन्याय भोग्नुपरे तापनि जोभिडनले कहिल्यै सम्झौता गरेनन्‌। तिनलाई घरबाट जबरजस्ती लगिएकोले, कुटपिट गरिएकोले र झ्यालखानामा हालिएकोले तिनको विश्‍वास पहिलाभन्दा झन्‌ बलियो भएको छ। त्यसैले अहिले तिनी धेरै खुसी छन्‌।—१ पत्रुस १:६, ७ पढ्‌नुहोस्‌।

१८. हामी कसरी आफ्नो आनन्द कायम राख्न सक्छौँ?

१८ साँच्चै आनन्दित हुन हामीले के गर्नुपर्छ भनेर यहोवालाई थाह छ। यस लेखमा छलफल गरिएको तीन वटा कदम चाल्नुभयो भने कठिन अवस्थाको बाबजुद तपाईँले आफ्नो आनन्द कायम राख्न सक्नुहुनेछ। अनि तपाईँले पनि यसो भन्‍न सक्नुहुनेछ: “आनन्दित हुन्‌ ती मानिसहरू, जसका परमेश्‍वर यहोवा हुनुहुन्छ!”—भज. १४४:१५.

निम्न कदमहरूले साँचो आनन्द पाउन कसरी मदत गर्छ?

  • कदम १: आध्यात्मिक भोजन खाने

  • कदम २: यहोवाको स्तरअनुसार जिउने

  • कदम ३: यहोवाको उपासनालाई पहिलो स्थानमा राख्ने

गीत ८९ सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!

a थुप्रै मानिसले साँचो आनन्द पाएका छैनन्‌ किनभने तिनीहरू मोजमस्ती, नाम, दाम र शक्‍तिजस्ता कुराहरूमा आनन्द खोज्छन्‌। पृथ्वीमा हुनुहुँदा येसुले मानिसहरूलाई कसरी आनन्दित हुन सकिन्छ भनेर बताउनुभयो। यस लेखमा साँचो आनन्द पाउन हामीले चाल्नुपर्ने तीन वटा कदमबारे छलफल गर्नेछौँ।

b अगस्त १५, २०१४ अङ्‌कको प्रहरीधरहरा-मा “के तपाईँले ‘ठीक समयमा भोजन’ पाइरहनुभएको छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

c थप विवरणको लागि jw.org मा “आफ्नो विश्‍वासको कारण थुनिएकाहरू” भन्‍ने अङ्‌ग्रेजी शृङ्‌खला खोज्नुहोस्‌।

d तस्बिरको व्याख्या: यस पुनःअभिनयमा पक्राउ परेका एक जना भाइलाई सुनवाइको लागि अदालत लगिँदै छ र भाइबहिनीहरू तिनलाई साथ दिन त्यहाँ आएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने