इप्राफास—“ख्रीष्टका एक विश्वासी सेवक”
कोरिन्थ, एफिसस र फिलिप्पीमा कसले मसीही मण्डली स्थापित गरे? शायद तपाईं सजिलै जवाफ दिनुहुन्छ होला, ‘ “अन्यजातिहरूको प्रेरित” पावलले।’ (रोमी ११:१३) तपाईंको जवाफ गलत होइन।
कलस्से, हिरापोलिस र लाओडिसियाको मण्डली कसले खडा गऱ्यो नि? हामी किटेरै त भन्न सक्दैनौं, तर तिनी इप्राफास नाउँ भएका व्यक्ति हुनुपर्छ। जे होस्, तिनलाई “ख्रीष्टका एक विश्वासी सेवक” भनिएको हुनाले शायद तपाईंलाई ती सुसमाचारकको विषयमा अझ बढी जान्ने सकसक लाग्यो होला।—कलस्सी १:७.
लाइकस उपत्यकाका सुसमाचारक
इप्राफास भन्ने नाउँ इपाफ्रोडाइटसको छोटकरी रूप हो। तर इप्राफास फिलिप्पीका इपाफ्रोडाइटस नै हुन् कि भनेर नझुक्किनुहोस्। इप्राफास कलस्सेका थिए। एसिया माइनरको लाइकसस्थित नदी भएको उपत्यकामा रहेका मसीही मण्डलीका तीन केन्द्रहरूमध्ये एउटा केन्द्र कलस्से हो। यो लाओडिसियाबाट १८ किलोमिटर र हिरापोलिसबाट १९ किलोमिटर टाढा फ्रिगियाको पुरातन क्षेत्रमा पर्थ्यो।
फ्रिगियामा कसरी सुसमाचार पुग्यो भन्नेबारे बाइबलमा स्पष्टसँग बताइएको छैन। तापनि, फ्रिगियाकाहरू पनि सा.यु. ३३ को पेन्तिकोसमा यरूशलेम पुगेका थिए। त्यहाँ उपस्थित हुनेहरूमध्ये कोही कोही कलस्सेका पनि थिए होलान्। (प्रेरित २:१, ५, १०) पावलले एफिससमा प्रचार गर्दा (सा.यु. ५२-५५ तिर) त्यहाँ दिइएको साक्षी यति घतलाग्दो र प्रभावकारी भयो, एफिसीका मानिसहरूले मात्र हैन “एशियामा रहने सारा यहूदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने।” (प्रेरित १९:१०) लाइकस उपत्यकाका धेरैजसो मसीहीहरूले पावललाई कहिल्यै नदेखेका हुनाले उनी आफैले त्यस क्षेत्रमा सुसमाचार प्रचार गरेका होइनन् जस्तो देखिन्छ।—कलस्सी २:१.
प्रेरित पावलअनुसार, कलस्सीहरूलाई “सत्यतामा परमेश्वरको अनुग्रहको विषयमा” सिकाउने व्यक्ति इप्राफास नै थिए। यी सहकर्मीलाई पावलले “हाम्रा पक्षमा ख्रीष्टका एक विश्वासी सेवक” भनेर सम्बोधन गरेकाले इप्राफास त्यस क्षेत्रका सक्रिय सुसमाचारक थिए भन्ने बुझिन्छ।—कलस्सी १:६, ७.
प्रेरित पावल र सुसमाचारक इप्राफास दुवैलाई लाइकस उपत्यकाको आध्यात्मिक प्रगतिबारे खूब चिन्ता थियो। पावल “अन्यजातिहरूका प्रेरित” भएकाले तिनीहरूको उन्नतिको समाचार सुन्दा पक्कै पनि दंग परेको हुनुपर्छ। पावलले कलस्सेको आध्यात्मिक उन्नतिबारे अरू कसैद्वारा होइन, तिनै इप्राफास मार्फत सुने।—कलस्सी १:४, ८
इप्राफासको रिपोर्ट
आफूहरूले सामना गर्नु परेको गम्भीर समस्याबारे पावलसँग विशेष छलफल गर्न कलस्सीहरूले इप्राफासलाई रोमसम्मको लामो यात्रा गर्न मनाइ छाडे। इप्राफासको लामो वृत्तान्त सुनेर पावल कहिल्यै नचिनेका भाइहरूलाई स्पष्टसँग चिठ्ठी लेख्न तम्सिए। उनले लेखेका पत्रहरूमध्ये एउटा कलस्सीहरूलाई थियो। अर्को एउटा चिठ्ठी लाओडिसियालाई लेखे तर त्यस पत्रको बारेमा अन्त कतै उल्लेख गरिएको छैन। (कलस्सी ४:१६) इप्राफासले पावललाई दिएको विवरणले ती मसीहीहरूलाई चाहिएको सहयोगबारे पावलले के बुझे र त्यसबारे लेख्न पावल किन बाध्य भए भनेर सोच्नु उपयुक्तै होला। इप्राफासले कस्तो आवश्यकता महसुस गरे? अनि त्यसले उनको व्यक्तित्वबारे हामीलाई के बताउँछ?
पावलले कलस्सीहरूलाई लेखेको पत्रबाट कलस्सेका मसीहीहरू मूर्तिपूजक दर्शनसित सम्बन्धित सन्यासवाद, आत्मवाद र रूढिवादी परम्परामा फस्ने खतराबारे इप्राफास चिन्तित थिएजस्तो देखिन्छ। त्यसका साथसाथै त्यहाँका कोही कोही मसीहीहरूलाई खानपिन बार्ने र तिथिमितिसम्बन्धी यहूदी शिक्षाको पनि प्रभाव परेको हुनसक्छ।—कलस्सी २:४, ८, १६, २०-२३.
पावलले यस विषयमा लेखेका कुराहरूबाट इप्राफास सँगी मसीहीहरूको आवश्यकताप्रति कत्तिको सजग र सचेत थिए भनेर प्रष्ट हुन्छ। त्यस्तो दूषित वातावरणबारे बुझेर उनले तिनीहरूको आध्यात्मिक हितबारे मायालु चासो देखाए। पावलसँग सल्लाह मागेका हुनाले इप्राफास नम्र थिए भन्ने थाह हुन्छ। हुनसक्छ, आफूभन्दा अनुभवी व्यक्तिको सल्लाह लिनुपर्ने आवश्यकता महसुस गरे। जे होस्, इप्राफासले बुद्धिमत्तापूर्ण तरिकामा काम गरे।—हितोपदेश १५:२२.
प्रार्थनाको महत्त्व बुझ्ने व्यक्ति
कलस्सीका मसीहीहरूलाई पठाएको पत्रको अन्तमा पावलले यसो भने: “तिमीहरू परमेश्वरका सब इच्छामा सिद्ध र पूरा निश्चय भएका होओ भनेर प्रार्थनामा तिमीहरूका निम्ति बराबर प्रयत्न गर्दै ख्रीष्टको दास तिमीहरूमध्येका एक, इप्राफासले तिमीहरूलाई सलाम भन्दछन्। किनभने म तिनको निम्ति गवाही दिन्छु, कि तिमीहरू, लाओडिसियामा हुनेहरू र हिरापोलिसमा हुनेहरूका निम्ति तिनले घोर परिश्रम गरेका छन्।”—कलस्सी ४:१२, १३.
हो, तिनी रोममा पावलसितै ‘कैदमा परेका’ थिए। यद्यपि, इप्राफासले कलस्से, लाओडिसिया र हिरापोलिसका प्रिय भाइहरूका खातिर चिन्ता गर्न अनि प्रार्थना गर्न छाडेनन्। (फिलेमोन २३) शाब्दिक रूपमा भन्ने हो भने, ‘उनी प्रार्थनामा’ प्रयत्न गर्थे। शास्त्रविद् डि. एडमण्ड हिबर्टअनुसार, यहाँ प्रयोग गरिएको युनानी शब्दले “कडा परिश्रमसाथ र बडो मेहनतसाथ गरेको काम” बुझाउँछ। गेतसमनीको बगैंचामा प्रार्थना गर्नुहुँदा येशूले मानसिक “संकष्ट” अनुभव गर्नुभएको थियो, इप्राफासले पनि त्यसरी नै प्रार्थना गरे। (लूका २२:४४) इप्राफास आफ्ना आध्यात्मिक भाइबहिनीहरू पूर्ण रूपमा दृढ र परिपक्व मसीही होऊन् भन्ने चाहन्थे। त्यस्तो भावना भएको भाइ हुनु मण्डलीको लागि गजबकै आशिष् होइन त?
इप्राफासलाई “प्रिय संगी-दास” भनिएकोले, उनलाई सँगी मसीहीहरूले माया गर्थे भन्ने कुरामा कुनै शंका छैन। (कलस्सी १:७) परिस्थितिले दिन्छ भने मण्डलीका सबै भाइहरू सकेसम्म न्यानो र मायालु हुनुपर्छ। उदाहरणको लागि, बिरामी, बूढाबूढी अथवा आ-आफ्नै किसिमका समस्यामा परेकाहरूको सहयोगमा ध्यान दिन सकिन्छ। मण्डलीमा हेरचाह गर्नुपर्ने विभिन्न जिम्मेवारीहरू हुनसक्छन्, अथवा ईश्वरतान्त्रिक निर्माण योजनामा सहयोग गर्न पनि सकिन्छ।
इप्राफासले जस्तै अरूको लागि प्रार्थना गर्नु पवित्र सेवाको एउटा भाग हो। यस्तो प्रार्थनामा आध्यात्मिक अनि शारीरिक विभिन्न प्रकारका खतरा र दुःखदायी परिस्थितिमा परेका यहोवाका उपासकहरूप्रतिको हाम्रो चासो पनि झल्काउन सकिन्छ। जोसका साथ यस्तो काममा लाग्ने प्रयत्न गऱ्यौं भने, हामी पनि इप्राफास जस्तै हुनसक्छौं। यसरी, हामीमध्ये जो कोहीले पनि यहोवाका विश्वासी सेवकहरूको परिवारमा रहेर आफूलाई “प्रिय सँगी दास” साबित गराउने मौका पाउनसक्छौं र आनन्द उठाउनसक्छौं।