बाइबल हाम्रो समयसम्म कसरी आइपुगेको छ—भाग एकa
एउटा सानो कारखानामा मुद्रक र तिनका सहयोगीहरू एक सुरमा काठे प्रेस चलाउन व्यस्त छन्। अक्षरहरू छाप्न सक्ने गरी सावधानीपूर्वक खाली कागज राख्दै र छापेर निस्केका पानाहरू केलाएर हेरिरहेका छन्। त्यसपछि तिनीहरू त्यहाँ टाँगेका डोरीमा ती पानाहरू सुकाउँछन्।
अकस्मात् कसैले बेस्सरी ढोका ढकढक्याएको आवाज सुनिन्छ। सबै झसंग हुन्छन् र मुद्रकले ढोका मात्र के खोलेका थिए, सिपाहीहरूको डफ्फा भित्र घुस्छन्। तिनीहरू अवैध साहित्यहरूमध्ये पनि अत्यन्तै भर्त्सना गरिएको पुस्तक जफत गर्न धुइँधुइँती खोज्दैछन्। त्यो थियो, सर्वसाधारणको भाषामा उपलब्ध बाइबल!
तिनीहरू त्यहाँ अलि ढिला पुगे। यस्तो खतराबारे पहिल्यै जनाउ पाइसकेको हुँदा अनुवादक र तिनको सहयोगी भण्डारतिर दौडेर एक पोका कागतको थाक बोकेर राइन नदी हुँदै कुलेलम ठोकिसकेका थिए। धन्न, तिनीहरूको कामको केही भाग भए पनि बच्यो।
यी अनुवादक थिए, विलियम टिन्डेल। यो हो सन् १५२५ को कुरा जब तिनले प्रतिबन्धित अंग्रेजी “नयाँ नियम” कोलोन, जर्मनमा छाप्ने प्रयास गर्दैथिए। अरू थुप्रैले पनि यसरी आफ्नो जीउधन खतरामा पारेर बाइबल अनुवाद गरेका थिए। बाइबल लेख्न सिद्धिएपछि लगभग १,९०० वर्षको दौडान थुप्रै पुरुष तथा स्त्रीहरूले आफ्नो जीउधन खतरामा राखी परमेश्वरको वचन अनुवाद गरेर वितरण गरेका छन्। तिनीहरूको कामबाट हामीले अहिलेसम्म पनि लाभ उठाइरहेका छौं। तिनीहरूले के गरे? अहिले हामीले प्रयोग गर्ने बाइबल हाम्रो समयसम्म कसरी आइपुग्यो?
सुरु-सुरुतिर बाइबलको प्रतिलिपि बनाउने कार्य तथा अनुवाद
परमेश्वरका साँचो सेवकहरूले उहाँको वचनलाई सदैव अत्यन्त श्रद्धा गरेका छन्। न्यु क्याथोलिक इन्साइक्लोपीडिया यसो भन्छ: “आफ्ना यहूदी पुर्खाहरूले जस्तै प्रारम्भिक मसीहीहरूले पवित्र पुस्तकहरू पढ्नु असाध्यै महत्त्वपूर्ण ठान्थे। येशूको उदाहरण (मत्ती ४:४; ५:१८; लूका २४:४४; यूहन्ना ५:३९) पछ्याउँदै प्रेरितहरू पु[रानो] नि[यम] पढेर त्यसको विषयवस्तु बुझ्न खोज्थे। मतलब, तिनीहरू समय लगाएर गहन अध्ययन गर्थे र आफ्ना चेलाहरूलाई पनि त्यसै गर्न आग्रह गर्थे (रोमी १५:४; २ तिमोथी ३:१५-१७)।”
त्यसो गर्न बाइबलका प्रतिलिपिहरू बनाउनुपर्थ्यो। मसीहीपूर्व कालमा अत्यन्तै निपुण ‘विशेषज्ञले’ प्रायजसो प्रतिलिपिहरू बनाउने गर्थे र तिनीहरू गल्ती होला भनेर असाध्यै डराउँथे। (एज्रा ७:६, ११, १२) एउटै गल्ती नहोस् भनेर तिनीहरूले भावी बाइबल प्रतिलिपिकहरूका लागि उच्च स्तर कायम गरे।
तथापि, सा.यु.पू. चौथो शताब्दीतिर एउटा समस्या खडा भयो। संसारभरिका सबै मानिसहरूलाई युनानी संस्कृतिको ज्ञान होस् भनी महान् सिकन्दर चाहन्थे। यसै प्रयासमा तिनले मध्यपूर्वभरि साझा भाषाको रूपमा सामान्य युनानी वा कोइन कायम गरे। परिणामस्वरूप, थुप्रै यहूदीहरूले हिब्रू पढ्ने मौकै पाएनन् र धर्मशास्त्र पढ्न असक्षम भए। तसर्थ, सा.यु.पू. २८० तिर हिब्रू बाइबललाई लोकप्रिय कोइनमा अनुवाद गर्न हिब्रू शास्त्रज्ञहरूको टोली मिश्रको अलेक्जेन्ड्रियामा भेला भए। यस अनुवादलाई सेप्टुआजिन्ट भनिन थालियो। ल्याटिन भाषामा त्यसको अर्थ हो “सत्तरी” किनभने त्यस अनुवाद कार्यमा लगभग ७० जना समावेश थिए होलान्। यो अनुवाद कार्य सा.यु.पू. १५० तिर पूरा भयो।
येशूको समयमा हिब्रू भाषा प्यालेस्टाइनमा अझै बोलिन्थ्यो। यद्यपि, त्यहाँ र रोमी साम्राज्यको आधिपत्य भएका टाढा टाढाका प्रान्तहरूको समेत प्रमुख भाषा चाहिं कोइन नै थियो। तसर्थ, मसीही बाइबल लेखकहरूले यथासम्भव बढी मानिसहरूले पढ्न सकोस् भनेर यही सामान्य युनानी भाषा प्रयोग गरे। साथै, सेप्टुआजिन्ट-बाट पनि धेरै उद्धरणहरू लिए र त्यहाँ प्रयोग गरिएका पदावलीहरू चलाए।
प्रारम्भिक मसीहीहरू जोशिला मिसनरीहरू भएको हुँदा चिरप्रतीक्षित मसीह, येशू नै हुनुहुन्छ भनी सेप्टुआजिन्ट-बाट प्रमाण देखाउन छिट्टै पोख्त भए। यसो हुँदा यहूदीहरूलाई रीस उठ्यो र तिनीहरू युनानी भाषामा अरू अनुवादहरू निकाल्न उस्किए। तिनीहरूको मुख्य उद्देश्य नै मसीहीहरूले चलाउने केही खास पदहरू छाँटकाँट गरेर मसीहीहरूको शिक्षालाई गलत साबित गर्नु थियो। उदाहरणका लागि, सेप्टुआजिन्ट-ले यशैया ७:१४ मा मसीहको आमालाई भविष्यसूचक ढंगमा देखाउन “कुमारी” अर्थ बुझाउने युनानी शब्द प्रयोग गरेको छ। नयाँ अनुवादहरूले “युवती” अर्थ बुझाउने बेग्लै युनानी शब्द चलाए। तर मसीहीहरूले सेप्टुआजिन्ट प्रयोग गरी नै रहे। फलस्वरूप, यहूदीहरूले आफ्नो यो तरकिब त्यागेर हिब्रू भाषालाई बढावा दिन थाले। अन्ततः नयाँ बाइबल अनुवादहरूका लागि यो आशिष् साबित भयो किनभने यसो गरेर कामचलाउ हिब्रू भाषाको जगेर्ना गर्न सकियो।
मसीही पुस्तकका प्रथम प्रकाशकहरू
जोशिला प्रारम्भिक मसीहीहरूले हातैले सारेर यथाशक्य बढी प्रतिलिपिहरू बनाउन खोजे। कोडेक्सको प्रयोग सुरु गर्ने पनि तिनीहरू नै थिए। कोडेक्समा कागतको मुट्ठाको साटो अहिलेको पुस्तकमा जस्तै पानाहरू हुन्थे। कोडेक्समा शास्त्रपद भेट्टाउन सजिलो थियो। साथै मुट्ठामा अट्नेभन्दा धेरै शास्त्रपद यसमा समावेश गर्न सकिन्थ्यो। जस्तै, एउटा कोडेक्समा सम्पूर्ण युनानी धर्मशास्त्र वा पूरै बाइबल अटाउँथ्यो।
मसीही युनानी धर्मशास्त्रको प्रमाणिक धर्मग्रन्थ संग्रह लेख्ने काम सा.यु. ९८ तिर पूरा भयो। त्यसमा सबैभन्दा बढी बाँच्ने, प्रेरित यूहन्नाका पुस्तकहरू पनि समावेश छन्। यूहन्नाले लेखेको सुसमाचारको पुस्तकका केही अंश अर्थात् राइलान्ड्ज पपाइरस ४५७ (P52) अहिले पनि अस्तित्वमा छ। यो सा.यु. १२५ तिरको हो। सा.यु. १५० देखि १७० तिर जस्टिन मार्टियरका विद्यार्थी, टाशेनले डायाटेसारोन छापे। डायाटेसारोन अर्थात् येशूको जीवनी संकलन गरेर प्रस्तुत गरिएको सुसमाचारका ती चार पुस्तकहरू अहिले पनि हाम्रो बाइबलमा छन्।b यसको मतलब तिनले ती सुसमाचारका पुस्तकहरू मात्र प्रमाणिक ठाने र त्यतिञ्जेल त्यसको व्यापक वितरण पनि भइसकेको थियो। सा.यु. १७० तिर “नयाँ नियम[का]” पुस्तकहरूको सबैभन्दा पुरानो सूची अर्थात् मुराटोरियन फ्रागमेन्ट छापियो। यसमा मसीही युनानी धर्मशास्त्रका प्रायजसो पुस्तकहरू सूचीबद्ध छन्।
मसीही धर्म फैलन थालेपछि मसीही युनानी धर्मशास्त्र तथा हिब्रू धर्मशास्त्रका अनुवादहरूको माग बढ्न थाल्यो। आर्मेनियाली, कप्टिक, जर्जियाली र आरामीजस्ता भाषाहरूमा असंख्य संस्करणहरू प्रकाशित हुन थाले। अनुवाद गर्न कतिपय भाषाहरूमा लिपिहरूसमेत बनाउनुपऱ्यो। भनिन्छ, चौथो शताब्दीमा रोमन चर्चको पादरी, उल्फिलासले बाइबल अनुवाद गर्न गोथिक लिपि आविष्कार गरे। तर तिनले राजाका पुस्तकहरू अनुवाद गरेनन् किनभने तिनको विचारमा त्यसले गथ जातिहरूको युद्ध गर्ने प्रवृत्तिलाई झन् प्रोत्साहन दिनेथियो। तथापि, “मसीही भइसकेका” गथहरूलाई सा.यु. ४१० मा रोममाथि आक्रमण गर्नदेखि त्यस्तो काँटछाँटले रोक्न सकेन।
ल्याटिन तथा स्लाभोनिक बाइबलहरू
त्यतिञ्जेल ल्याटिन भाषाले प्रभुत्व जमायो र पुरानो ल्याटिन भाषाका थुप्रै संस्करणहरू देखा पर्न थाले। तर तिनीहरूको शैली र विवरण बेग्लाबेग्लै थियो। अतः सा.यु. ३८२ मा पोप डामाससले आफ्ना सचिव, जेरोमलाई आधिकारिक ल्याटिन बाइबल तयार पार्न खटाए।
जेरोमले सुरुमा मसीही युनानी धर्मशास्त्रको ल्याटिन संस्करण संशोधन गरे। तथापि, तिनले हिब्रू धर्मशास्त्र भने मौलिक हिब्रूबाटै अनुवाद गर्न ढिपी कसे। तसर्थ, हिब्रू भाषा अध्ययन गर्न अनि रब्बीको मदत माग्न तिनी सा.यु. ३८६ मा बेतलेहेममा बसाइँ सरे। तिनको यस्तो कार्यले चर्चमा अनेकन् विवादहरू खडा गऱ्यो। जेरोमका समकालीन अगस्टिनलगायत अरू कतिपयले सेप्टुआजिन्ट ईश्वरप्रेरित पुस्तक हो भनी विश्वास गर्थे। अतः जेरोमलाई “यहूदीहरूसित मदत मागेको हुँदा अवफादारीको आरोप लगाइयो।” यी विरोधको बावजूद जेरोमले सा.यु. ४०० तिर आफ्नो काम पूरा गरे। तिनले मौलिक भाषा तथा कागजातको स्रोत पत्ता लगाएर त्यतिबेलाको बोलीचालीको भाषामा अनुवाद गरे। यसप्रकार जेरोमले आजभन्दा हजार वर्षअघि नै आधुनिक अनुवाद तरिका प्रयोग गरिसकेका थिए। तिनको कृति भल्गेट वा कमन भर्सनको नाउँले चिनिन थालियो र यसले शताब्दीयौंसम्म मानिसहरूलाई मदत पुऱ्यायो।
पूर्वीय युरोपमा मसीहीजगत्का प्रायजसो मानिसहरूले सेप्टुआजिन्ट र मसीही युनानी धर्मशास्त्र पढ्नसक्थे। तथापि, पछि गएर स्लाभोनिक अथवा स्लाभिक लिपिमा आधारित भाषा तथा क्षेत्रीय भाषाहरू पूर्वीय युरोपमा चलनचल्तीमा आउन थाले। सा.यु. ८६३ मा दुइ युनानीभाषी भाइहरू, सिरेल तथा मिथोडियस मोराभिया गए। त्यो ठाउँ अहिले चेक गणतन्त्रमा पर्छ। तिनीहरूले पुरानो स्लाभोनिक भाषामा बाइबल अनुवाद गर्न थाले। अनुवाद थाल्न तिनीहरूले ग्लागल्डिक वर्णमाला तयार पारे र यो भाषा पछि गएर सिरेलको नाउँमा सिरेलिक हुन गयो। यो वर्णमाला नै वर्तमान समयको रूसी, युक्रेनी, सर्बियाली तथा बुल्गेरियन लिपिहरूको आधार हो। स्लाभोनिक बाइबलले पुस्तौंसम्म त्यहाँका मानिसहरूको आवश्यकता पूरा गऱ्यो। तर समयसँगसँगै भाषा परिवर्तन हुँदै जाँदा साधारण मानिसले बुझ्न नसक्ने भयो।
हिब्रू बाइबल अस्तित्वबाट हराएन
यसै समयतिर अर्थात् सा.यु. छैठौंदेखि दशौं शताब्दीतिर मेसोरेट भनिने यहूदीहरूको समूहले हिब्रू धर्मशास्त्रको जगेर्ना गर्न सिलसिलेवार ढंगमा प्रतिलिपि बनाउने तरिका निकाले। यहाँसम्म कि तिनीहरू हरेक वाक्य र एक एक अक्षर गन्थे अनि हस्तलिपिका सानातिना भिन्नताहरू औंल्याउँथे। तिनीहरूको यस्तो प्रयास खेर गएन। उदाहरणका लागि, आधुनिक मेसोरेट पद र सा.यु.पू. २५० र सा.यु. ५० को बीचतिर लेखिएको मृतसागर पाण्डुलिपिलाई तुलना गरेर हेर्दा १,००० वर्षको दौडान खास कुनै धर्मसैद्धान्तिक हेरफेरहरू भेटिएन।c
युरोपमा मध्ययुग र अन्धकारयुगबीच खास भिन्नता थिएन। कमैले मात्र लेखपढ गर्न जानेका थिए। यस्तो सम्म भयो कि पादरीवर्गसमेत ल्याटिन पढ्न नसक्ने भए र कतिपयले त प्रायः आफ्नै मातृभाषासमेत पढ्न सकेनन्। यो समयताका नै युरोपका यहूदीहरूलाई भिन्नै इलाकामा जबरजस्ती बसोबास गर्न लगाइयो। केही हदसम्म यो कारणले गर्दा पनि बाइबल लेख्न प्रयोग गरिएको उच्चस्तरीय हिब्रू भाषाको जगेर्ना भयो। तथापि, पूर्वाग्रह र अविश्वासले गर्दा ती यहूदी इलाकाबाहिरका गैरयहूदीहरूले हिब्रूको ज्ञान लिन सकेनन्। पश्चिमी युरोपमा पनि युनानी भाषा जान्नेहरूको संख्या घट्दै गइरहेको थियो। पश्चिमी चर्चहरूले जेरोमको ल्याटिन भल्गेट-लाई बढी सम्मान गर्न थाल्दा परिस्थिति झनै बिग्रियो। मेसोरेटकालको अन्ततिर ल्याटिनको प्रयोग शून्य भइसक्दा पनि त्यसताक यसैलाई मात्र आधिकारिक संस्करण मानिन्थ्यो। तसर्थ, बाइबलको ज्ञान लिने इच्छा बिस्तारै विकास हुन थाल्यो र चर्को विवाद सुरु हुनसक्ने परिस्थिति खडा भयो।
बाइबल अनुवादको विरोध
स्थानीय भाषामा बाइबल छाप्ने वा राख्नसमेत नपाउने प्रथम उर्दी सा.यु. १०७९ मा पारित भयो। यस्तो उर्दी दिने व्यक्ति मध्यवर्ती चर्चहरूका पोप ग्रेगरी सातौं थिए। स्लाभोनिक भाषामा मास मनाउन पवित्र धर्मशास्त्रका केही अंशहरू चाहिने हुँदा तिनले उर्दी बदर गराए। प्रारम्भिक मसीहीहरूले लिएका अडानको ठीक विपरीत तिनले यसप्रकार लेखे: “केही खास स्थानहरूमा धर्मशास्त्रलाई गोप्य नै राख्नु सर्वशक्तिमान् परमेश्वरको इच्छा हो।” चर्चको यस्तो आधिकारिक अडान पाएपछि बाइबल पढाइलाई महत्त्व दिने व्यक्तिहरू खतरनाक ठानिने प्रवृत्ति झन् झन् विकास भयो।
तथापि, यस्तो अप्रिय वातावरणको बावजूद स्थानीय भाषाहरूमा बाइबलको प्रतिलिपि बनाउने तथा अनुवाद गर्ने काम चली नै रह्यो। थुप्रै भाषाका संस्करणहरू गोप्यरूपमा युरोपभरि वितरण हुन थाले। यी सबै हस्तलिखित प्रतिहरू थिए किनभने मुभेबल प्रेसहरू युरोपमा १४०० शताब्दीको बीचतिर मात्र आविष्कार भए। हातले बनाएका यी प्रतिहरू महँगो र थोरै मात्र उपलब्ध भएको हुँदा बाइबलको कुनै पुस्तकको एउटा भाग वा केही पानाहरू मात्र हात पार्न सके पनि सर्वसाधारण जनता खुशी हुन्थे। कसै कसैले थुप्रै शास्त्रपदहरू र मसीही युनानी धर्मशास्त्रको सम्पूर्ण भागसमेत मुखस्त पारे।
तथापि, समयको दौडान सुधारवादी नीतिहरूले चर्चमा व्यापक हलचल मच्चाउन थाले। दैनिक जीवनमा परमेश्वरको वचनको महत्त्वबारे मानिसहरू सजग हुन थालेकाले ती सुधारवादी विचारहरू उत्प्रेरित भएका थिए। यी अभियान तथा मुद्रण क्षेत्रका प्रगतिहरूले बाइबललाई कस्तो असर पार्नेथियो? अनि सुरुमा उल्लिखित विलियम टिन्डेल र तिनको अनुवादलाई के भयो? त्यतिबेलादेखि हाम्रो समयसम्मको रोचक विवरण यसपछिका अंकहरूमा प्रकाशित हुनेछन्।
[फुटनोटहरू]
a भाग २ र ३ क्रमशः सेप्टेम्बर १५ र अक्टोबर १५ को अंकमा प्रकाशित हुनेछ।
b सुसमाचारका चार पुस्तकहरूको सामञ्जस्य देखाउने आधुनिक नमुना, वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक हो।
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित धर्मशास्त्रमाथि अन्तरदृष्टि (अंग्रेजी) खण्ड २, पृष्ठ ३१५ हेर्नुहोस्।
[पृष्ठ ८ र ९-मा भएको तालिका]
महत्त्वपूर्ण मितिहरू बाइबलको रूपान्तर
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
सामान्य युग पूर्व (सा.यु.पू.)
सामान्य युग पूर्व (सा.यु.पू.)
हिब्रू धर्मशास्त्र लेख्ने काम पूरा, लगभग सा.यु.पू. ४४३ तिर
सा.यु.पू. ४००
महान् सिकन्दर (मृत्यु सा.यु.पू. ३२३)
सा.यु.पू. ३००
सेप्टुआजिन्ट सुरु, सा.यु.पू. २८० तिर
सा.यु.पू. २००
सा.यु.पू. १०० प्रायजसो मृतसागर पाण्डुलिपि, लग- भग सा.यु.पू. १०० देखि सा.यु. ६८ तिर
सामान्य युग (सा.यु.)
यरूशलेमको विनाश, सा.यु. ७०
युनानी धर्मशास्त्र पूरा, सा.यु. ९८
सा.यु. १००
यूहन्नाको राइलान्ड्ज पपाइरस, (सा.यु. १२५ अघि)
सा.यु. २००
सा.यु. ३००
सा.यु. ४०० जेरोमको ल्याटिन भल्गेट, लगभग सा.यु. ४०० तिर
सा.यु. ५००
सा.यु. ६००
मेसोरेट पद तयार पारियो
सा.यु. ७००
सा.यु. ८००
सिरेल मोराभियामा सा.यु. ८६३
सा.यु. ९००
सा.यु. १०००
स्थानीय बाइबल विरुद्ध उर्दी सा.यु. १०७९
सा.यु. ११००
सा.यु. १२००
सा.यु. १३००
[पृष्ठ ९-मा भएको चित्र]
सुरुसुरुमा कोडेक्स प्रयोग गर्ने व्यक्तिहरू प्रारम्भिक मसीहीहरू थिए
[पृष्ठ १०-मा भएको चित्र]
हिब्रू भाषा अध्ययन गर्न जेरोम बेतलेहेम गए