जेरोम—बाइबल अनुवादका विवादास्पद अग्रणी
अप्रिल ८, १५४६ मा ट्रेन्टको निकायले ल्याटिन भल्गेटलाई “[क्याथोलिक] चर्चले मान्यता दिएको . . . र यसलाई कसैले कुनै हालतमा इन्कार गर्ने आँट नगरोस् वा हल्कासित नलेओस्” भन्ने घोषणा गऱ्यो। भल्गेट एक हजार वर्षअघि पूरा भए तापनि यो र यसको अनुवादक जेरोम निकै अघिदेखि विवादको प्रमुख विषय बनेका थिए। जेरोम को थिए? तिनी र तिनको बाइबल अनुवाद किन विवादास्पद भयो? तिनको कृतिले अहिले बाइबल अनुवादमा कस्तो प्रभाव पार्छ?
कसरी शास्त्रविद् बन्न पुगे
जेरोमको ल्याटिन नाउँ युसिबियस हाइरोनिमस थियो। तिनी सा.यु. ३४६ तिर स्ट्राइडन, डाल्मेसियाको रोमी प्रान्तमा जन्मिए। यो ठाउँ अहिले इटाली र स्लोभेनियाको सीमा इलाका नजिकै पर्छ।a तिनका आमाबाबुहरू सम्पन्न थिए अनि सानो उमेरदेखि नै तिनलाई पैसा खेलाउने बानी लागिसकेको थियो। तिनले प्रख्यात व्याकरणविद् डोनाटसबाट रोममा शिक्षा हासिल गरे। जेरोम व्याकरण, वाक्कौशल र दर्शनमा पोख्त थिए। यसताक तिनले ग्रीक पनि अध्ययन गर्न थाले।
सा.यु. ३६६ मा रोम छोडेपछि जेरोम यताउता डुले र अन्तमा इटालीको अक्वेलिया शहरमा बस्न थाले। यहीं छँदा तिनले सन्यासी जीवनबारे थाह पाए। आफूलाई पूर्णतया इन्कार गर्ने यस्तो दृष्टिकोणतर्फ आकर्षित भएर तिनी र तिनका केही साथीहरूले सन्यासी जीवन बिताउने प्रयासमा धेरै वर्ष बिताए।
सा.यु. ३७३ मा यो समूह टुक्रिनुको कारण थाह छैन। अलमल्ल अनि निरास भएका जेरोम पूर्वतिर बिथिनिया, गलेसिया, सिलिसिया भौंतारिए र अन्तमा एन्टिओक, सिरिया आइपुगे।
यो लामो यात्रा असाध्यै कष्टप्रद थियो। थकित तथा अस्वस्थ जेरोम ज्वरोले झन्डै मरेका थिए। तिनले साथीलाई यस्तो चिठी लेखे, “प्रभु येशू ख्रीष्टले मलाई तपाईंकहाँ सम्म सरर्र पुऱ्याइदिए कति हुन्थ्यो। यसरी बिरामी पर्नुअघि नै मेरो शरीर एकदमै कमजोर भइसकेको थियो र अब त फतक्कै गलिसकें।”
अस्वस्थता, एकाकीपन तथा अन्तरद्वन्द मात्र कहाँ हो र, जेरोमले अर्को एउटा आध्यात्मिक संकट पनि सामना गर्नुपऱ्यो। तिनले आफूलाई परमेश्वरको “न्याय आसनअघि घिसार्दै लगिएको” सपना देखे। प्रश्न गरिंदा जेरोमले यसरी आफ्नो चिनारी दिए: “म एक जना मसीही हुँ।” तर आसनमा बस्ने व्यक्तिले यस्तो जवाफ दिए: “तिमी झूट बोल्छौ किनभने तिमी ख्रीष्टको होइन, सिसेरोका अनुयायी हौ।”
यतिञ्जेल जेरोमले जे जति अध्ययनहरू गरे ती सबै परमेश्वरको वचनभन्दा गैरमसीही पढाइमा केन्द्रित थियो। तिनले भने, “मेरो अन्तस्करणले मलाई पिरोलिरह्यो।” अब उप्रान्त त्यसो नगर्ने वाचा गर्दै जेरोमले सपनामा यसो भने: “हे प्रभु, फेरि मैले सांसारिक पुस्तक राखें वा पढें भने तपाईंलाई तिरस्कार गरेसरह होस्।”
पछि, जेरोमले सपनामा गरेको वाचाको लागि तिनलाई जवाफदेही ठहराइनु हुँदैन भनी तर्क गरे। तैपनि कमसे कम सैद्धान्तिक तवरमा भए पनि तिनी आफ्नो वाचा पूरा गर्न कटिबद्ध थिए। त्यसकारण, जेरोम एन्टिओक छोडेर सिरिया मरुभूमिको सुनसान ठाउँ खाल्किसमा बस्न थाले। त्यहाँ सन्यासीको जस्तो जीवन बिताएर तिनले बाइबल तथा धर्मविज्ञानी साहित्यहरूमा पूरा ध्यान दिए। जेरोमले यसो भने: “मैले मानिसहरूका पुस्तकहरूभन्दा परमेश्वरका पुस्तकहरू बढी जोसका साथ पढें।” तिनले स्थानीय सिरियाक भाषा सिके अनि मसीहीधर्म अपनाएका यहूदीको मदत लिएर हिब्रू अध्ययन गर्न थाले।
पोपले अह्राएको काम
लगभग पाँच वर्षसम्म सन्यासीको जीवन बिताइसकेपछि अध्ययन कायम गर्न जेरोम एन्टिओक फर्के। तर त्यहाँ पुग्दा तिनले चर्चमा अत्यन्तै गहिरो फाटो आइसकेको देखे। निस्सन्देह, मरुभूमिमा छँदा नै जेरोमले पोप डमासससित सल्लाह माग्दै यस्तो आग्रह गरेका थिए: “चर्च तीन भागमा विभाजित छ र हरेक भागले मलाई आफूतिर तान्न खोजिरहेको छ।”
समयको दौडान जेरोमले पलिनससित मिल्ने निधो गरे जो एन्टिओकको विशपको पदवी दाबी गर्ने तीन जना मानिसमध्ये एक थिए। दुइटा शर्त पूरा भएको खण्डमा जेरोम, पलिनसद्वारा नियुक्त हुन राजी भए। सर्वप्रथम, आफ्नो सन्यासी जीवन कायमै राख्ने स्वतन्त्रता चाहन्थे। अनि दोस्रो, कुनै एउटा चर्चको मात्र सेवा गर्नुपर्ने पूजाहारी दायित्त्वहरूबाट मुक्त हुन चाहन्थे।
सा.यु. ३८१ मा पलिनससँगसँगै जेरोम कन्स्टान्टिनोपलको निकाय र त्यसपछि रोम गए। पोप डमाससले जेरोमको विद्वता तथा भाषासम्बन्धी दक्षता देखिहाले। एक वर्षभित्र जेरोमले डमाससको निजी सचिव हुने सम्माननीय ओहदा पाइसकेका थिए।
सचिवको हैसियतमा सेवा गर्दा पनि जेरोम विवादहरूबाट मुक्त थिएनन्। विवादहरूमा को मुछियो त भन्दा प्रायजसो जेरोम नै हुन्थे। उदाहरणका लागि, चर्चको विलासी वातावरणबीच तिनले सन्यासी जीवन बिताउन छोडेनन्। आफ्नो सन्यासी जीवन कायमै राख्नुका साथै पादरीवर्गको अचाक्ली विलासिता उदांग पारेर जेरोमले थुप्रै शत्रुहरू कमाए।
तर यी आलोचकहरूको बावजूद जेरोमले पोप डमाससबाट पूरापूर सहयोग पाए। जेरोमलाई बाइबल अनुसन्धान कार्य नछोड्ने प्रोत्साहन दिन पोपसित ठोस कारण थियो। त्यतिबेला बाइबलका अनगिन्ती ल्याटिन संस्करणहरू चलनचल्तीमा थिए। यीमध्ये थुप्रै एकदम लापरवाही ढंगमा अनुवाद गरिएको हुँदा ठूलठूला गल्तीहरू प्रस्टै देखिन्थे। भाषाको कारण चर्च, पूर्वी र पश्चिमी भागमा विभाजित भएकोमा पनि डमासस चिन्तित थिए। पूर्वका थोरैलाई मात्र ल्याटिन भाषा आउँथ्यो भने पश्चिमका अझ त्योभन्दा थोरैले मात्र ग्रीक जान्थे।
त्यसकारण, पोप डमासस सुसमाचारका पुस्तकहरूको संशोधित ल्याटिन संस्करण अनुवाद गराउन उत्सुक थिए। डमासस, मौलिक ग्रीकको सही अर्थ झल्काउने तथा ल्याटिनमा स्पष्ट तथा सरर्र पढ्न सकिने अनुवाद चाहन्थे। त्यस्तो अनुवाद गर्नसक्ने मुट्ठीभर शास्त्रीविद्हरूमध्ये जेरोम पनि थिए। ग्रीक, ल्याटिन, सिरियाक भाषामा पोख्त हुनुका साथै हिब्रूको पनि धेरथोर ज्ञान भएको हुँदा तिनी त्यो कामको लागि योग्य थिए। अतः डमाससले अह्राएपछि जेरोमलाई यो काम पूरा गर्न २० वर्षभन्दा बढी लाग्यो।
विवाद चर्किन्छ
सुसमाचारका पुस्तकहरू तेज रफ्तारले अनुवाद गरे तापनि जेरोमले सुस्पष्ट, शास्त्रीहरूको जस्तो क्षमता देखाए। त्यतिबेला उपलब्ध सबै ग्रीक हस्तलिपिहरू तुलना गर्दै तिनले ल्याटिन पदको शैली तथा विषयवस्तु दुवैमा भूलसुधारहरू गरेर यथासम्भव ग्रीक पदको अर्थसित मिल्दोजुल्दो गरे।
जेरोमले अनुवाद गरेका सुसमाचारका चारवटा पुस्तकहरूका साथसाथै ग्रीक सेप्टुआजिन्ट पदमा आधारित भजनको ल्याटिन संशोधन मानिसहरूले मन पराए। तैपनि, तिनका आलोचकहरूको कुनै कमी थिएन। जेरोमले लेखे, “केही आलोचकहरू मैले सुसमाचारको पुस्तकका पद्यांशहरू सच्चाउन खोजें र मैले पहिले पहिलेको तथा सारा संसारको विचारलाई वास्ता गरिनँ भन्ने आरोपहरू लगाउन खोजिरहेका छन्।” सा.यु. ३८४ मा पोप डमाससको मृत्यु भएपछि त्यस्ता आलोचनाहरू झन् झन् चर्किए। नयाँ पोपसित जेरोमको त्यति राम्रो सम्बन्ध नभएको हुँदा तिनले रोम छोड्ने निधो गरे। फेरि जेरोम पूर्वतिर लागे।
हिब्रू शास्त्रविद्
सा.यु. ३८६ मा जेरोम बेतलेहेममा बसोबास गर्न थालिसकेका थिए र त्यहीं नै आफ्नो बाँकी जीवन बिताए। तिनका अनुयायीहरूको सानो समूह थियो र त्यसमध्ये रोमको घरानियाँ महिला पला पनि थिइन्। जेरोमको प्रचारकार्यबाट प्रभावित भएर पलाले सन्यासी जीवन बिताउन थालेकी थिइन्। जेरोमको निर्देशन र पलाको वित्तीय सहयोगमा एउटा विहार निर्माण गरियो। त्यहाँ तिनले आफ्नो कार्य गर्नुका साथै जीवनमा पहिले कहिल्यै नगरेको कार्यलाई कडा मेहनत गरेर फत्ते गरे।
प्यालेस्टाइनमा छँदा जेरोमले हिब्रू भाषाको ज्ञान बढाउने मौका पाए। हिब्रू भाषाका गाह्रा कुराहरू बुझ्न जेरोमले थुप्रै यहूदी शिक्षकहरूलाई पैसा तिरेर मदत मागे। तर शिक्षक भएर पनि सजिलो भएन। टाइबेरियसको बरानिनास भन्ने शिक्षकबारे जेरोमले यसो भने: “राति राति बरानिनाससित सिक्न ओहो, मैले कति धेरै मेहनत तथा खर्च गर्नुपऱ्यो।” तिनीहरूले किन राति पढे? किनभने बरानिनासलाई यहूदी समुदायले “मसीही[सित]” संगत गरेको आरोप लगाउला भन्ने डर थियो।
जेरोमको समयमा हिब्रू भाषा बोल्ने अन्यजातिहरूले राम्ररी उच्चारण गर्न नसक्ने हुँदा यहूदीहरू तिनीहरूको प्रायः आलोचना गर्ने गर्थे। तर निकै प्रयास गरिसकेपछि जेरोमले सही उच्चारण गर्न सके। जेरोमले थुप्रै हिब्रू शब्दहरू पनि ल्याटिनमा रूपान्तर गरे। यसले तिनलाई शब्दहरू सम्झन मात्र नभई त्यतिबेलाको हिब्रू उच्चारण सुरक्षित राख्न पनि मदत गऱ्यो।
जेरोमको सबैभन्दा ठूलो विवाद
पोप डमाससको विचारमा जेरोमले बाइबलको कति अंश अनुवाद गरोस् भन्ने थियो, त्यो स्पष्ट छैन। तर अनुवादकार्यप्रति जेरोमको दृष्टिकोणमा शंका गर्नुपर्ने कुनै कारण छैन। जेरोम आफ्नो काममा दत्तचित्त र कटिबद्ध थिए। तिनको सबैभन्दा ठूलो इच्छा “चर्च अनि भावी पुस्ताहरूका लागि उपयोगी” वस्तु उत्पादन गर्ने थियो। त्यसकारण, तिनले सम्पूर्ण बाइबलको संशोधित ल्याटिन अनुवाद निकाल्ने अठोट गरे।
हिब्रू शास्त्र अनुवाद गर्न जेरोमले सेप्टुआजिन्ट-मा आफ्नो काम आधारित गरे। हिब्रू धर्मशास्त्रको यो युनानी संस्करण सबैभन्दा पहिले सा.यु.पू. तेस्रो शताब्दीमा अनुवाद गरिएको थियो र यो परमेश्वरबाट प्रेरित भन्ठानिन्थ्यो। त्यसकारण, त्यतिबेलाका ग्रीकभाषी मसीहीहरूमाझ यसको व्यापक वितरण भयो।
तर जेरोमले काम गर्दै जाँदा ग्रीक हस्तलिपिमा पनि त्यस्तै असमानताहरू देखे जुन तिनले ल्याटिन भाषामा पनि देखेका थिए। जेरोम दिक्क हुन थाले। भरपर्दो अनुवाद तयार पार्न नाउँ कहलिएको सेप्टुआजिन्ट-लगायत ग्रीक हस्तलिपिलाई अलग्गै पन्छाएर हिब्रू पदमै हेर्नुपर्छ भन्ने निष्कर्षमा पुगे।
यस्तो निर्णयले निकै खैलाबैला मच्चायो। जेरोमलाई मानिसहरूले थुप्रै आरोप लगाए। जस्तै, पदको झूटो अर्थ लाउने, परमेश्वरको बदनाम गर्ने, यहूदीहरूको पक्ष लिएर चर्चका परम्पराहरू त्याग्ने इत्यादि। त्यतिबेला चर्चको प्रमुख धर्मविज्ञानी अगस्टिनले समेत जेरोमलाई सेप्टुआजिन्ट-बाटै अनुवाद गर्न यस्तो बिन्ती गरे: “यदि तिम्रो अनुवाद थुप्रै चर्चहरूमा पढ्न थालियो र धर्मशास्त्र पढ्दा ल्याटिन चर्च तथा ग्रीक चर्चहरूबीच भिन्नताहरू देखा पऱ्यो भने त्यो एकदमै दुःखद् कुरा हुनेछ।”
हो, अगस्टिनलाई पश्चिमी चर्चहरूले हिब्रू पदमा आधारित जेरोमको ल्याटिन पद र अर्कोतिर पूर्वका चर्चहरूले सेप्टुआजिन्ट संस्करण प्रयोग गरेको खण्डमा चर्चमा विभाजन आउनसक्छ भन्ने ठूलो डर थियो।b साथै, जेरोमले मात्र सेप्टुआजिन्ट-को पक्षमा बोल्नसक्ने अवस्थाप्रति अगस्टिनले आपत्ति जनाए।
यी सबै विरोधीहरूप्रति जेरोमले कस्तो प्रतिक्रिया देखाए? सधैंजसो यी आलोचकहरूको पर्बाह नगर्ने तिनको स्वभावै थियो। तिनले सोझै हिब्रूबाट अनुवाद गर्न थाले अनि सा.यु. ४०५ सम्म ल्याटिन बाइबलको काम सिध्याइसकेका थिए। वर्षौंपछि तिनको अनुवादलाई भल्गेट भनियो र त्यसको अर्थ, साधारणतया व्यापक प्रचलित संस्करण (ल्याटिन भल्गेटस-को अर्थ “सामान्य अर्थात् लोकप्रिय”) हो।
चिरकालीन उपलब्धिहरू
जेरोमको हिब्रू धर्मशास्त्रको अनुवाद संशोधन मात्र थिएन। यसले भावी पुस्ताहरूले बाइबल अध्ययन तथा अनुवाद गर्ने सम्पूर्ण तरिकामा हेरफेर ल्यायो। इतिहासकार विल ड्युरान्टले यसो भने, “चौथो शताब्दीको सबैभन्दा ठूलो तथा प्रभावशाली साहित्यिक उपलब्धी नै भल्गेट हो।”
जेरोमको बोली व्यंग्यले भरिएको र तिनको झगडालु स्वभाव भए तापनि एक्लैले प्रेरित हिब्रू पदको अनुवाद गर्ने जिम्मा लिए। अहिले उपलब्ध नभएको पुरातन हिब्रू तथा ग्रीक हस्तलिपिहरू अध्ययन गर्नुका साथै तुलना गरेर गहन अध्ययन गरे। यहूदी मेसोरेटहरूको भन्दा तिनको कृति उत्तम थियो। यसर्थ, बाइबल पदका वैकल्पिक अनुवादहरू तुलना गर्न भल्गेट बहुमूल्य सन्दर्भसामग्री हो।
तिनको अनौठो स्वभाव वा धार्मिक दृष्टिकोणलाई समर्थन नगरी परमेश्वरको वचनका प्रेमीहरूले बाइबल अनुवादकार्यमा यस विवादास्पद अग्रणीका लगनशील प्रयासहरूको मूल्यांकन गर्नसक्छन्। अनि जेरोमले “भावी पुस्ताहरूको लागि उपयोगी” वस्तु तयार पार्ने आफ्नो लक्ष्यसम्म पुगेरै छोडे।
[फुटनोटहरू]
a जेरोमको जीवनमा भएका घटनाहरूको मिति र कालक्रमबारे सबै इतिहासकारहरू सहमत छैनन्।
b समयको दौडान जेरोमको अनुवाद नै पश्चिमी मसीहीजगत्को आधारभूत बाइबल भयो जबकी पूर्वी मसीहीजगत्मा अहिले पनि सेप्टुआजिन्ट प्रयोग गरिन्छ।
[पृष्ठ २८-मा भएको चित्र]
बेतलेहेममा जेरोमको प्रतिमा
[चित्रको स्रोत]
Garo Nalbandian
[पृष्ठ २६-मा भएको चित्रका स्रोतहरू]
माथि बायाँ, हिब्रू हस्तलिपि: Courtesy of the Shrine of the Book, Israel Museum, Jerusalem; तल बायाँ, सिरियाक हस्तलिपि: Reproduced by kind permission of The Trustees of the Chester Beatty Library, Dublin; माथि बीचमा, युनानी हस्तलिपि: Courtesy of Israel Antiquities Authority