अग्रगामी सेवकाईका आशिष्हरू
“परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्न।” —हितोपदेश १०:२२.
१, २. (क) एक जना अग्रगामीले पूर्ण-समय सेवकाईबारे कस्तो भावना व्यक्त गरे? (ख) अग्रगामीहरूले चेला बनाउने सन्दर्भमा किन भरपूर आनन्द उठाउनसक्छन्?
“तपाईंसित अध्ययन गरेको व्यक्ति पछि गएर यहोवाको सक्रिय प्रकाशक भएको देख्न पाउनुभन्दा ठूलो आनन्दको कुरा अरू के होला र? यहोवालाई खुशी तुल्याउन जीवनमा छाँटकाँटहरू गर्न मानिसहरूलाई उत्प्रेरित गर्नसक्ने परमेश्वरको वचन त्यत्तिको प्रबल भएको देख्नु साँच्चै उत्साहवर्धक कुरा हो र यसले हाम्रो विश्वास पनि बलियो बनाउँछ।” पूर्ण-समय सेवकाईमा ३२ वर्षभन्दा बढी समय बिताइसकेका क्यानाडाका एक अग्रगामीले त्यसरी लेखे। आफ्नो अग्रगामी सेवकाईबारे तिनी यसो भन्छन्: “यो कामबाहेक अरू काम गरिरहेको त कल्पनासमेत गर्न सक्दिनँ। यो जत्तिको आनन्ददायी काम त अरू कुनै छैन होला।”
२ अरूलाई जीवनको मार्गमा हिंड्न डोऱ्याउनु असाध्यै आनन्दको कुरा हो भनेर तपाईं सहमत हुनुहुन्न र? निस्सन्देह, त्यस्तो आनन्द उठाउनेहरू अग्रगामी मात्र होइनन्। यहोवाका सबै सेवकहरूले ‘चेला बनाउने’ आज्ञा पाएका छन् र त्यो आज्ञा पालन गर्ने प्रयास गर्छन्। (मत्ती २८:१९) तथापि, अग्रगामीहरूले क्षेत्र सेवकाईमा धेरै घण्टा बिताउने हुँदा चेला बनाउँदा प्राप्त हुने भरपूर आनन्द उठाउनसक्छन्। तर अग्रगामी सेवकाईका अन्य इनामहरू पनि छन्। अग्रगामीहरूसित कुरा गरेर हेर्नुहोस् अनि ‘परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउने’ उत्तम तरिका अग्रगामी गर्नु हो भनी तपाईंले थाह पाउनुहुनेछ।—हितोपदेश १०:२२.
३. यहोवाको सेवा गर्दा हामीलाई कुन कुराले उत्प्रेरित गर्नसक्छ?
३ हालै, संसारभरिका अग्रगामीहरूलाई तिनीहरूले पूर्ण-समय सेवकाईबाट पाएका आशिष्हरूबारे सोधिएको थियो। आउनुहोस्, तिनीहरूका टिप्पणीहरू सुनौं। तर अस्वस्थता, ढल्कँदो उमेर वा अन्य परिस्थितिहरूले गर्दा गर्न सक्नुहुन्न भने, हरेश नखानुहोस्। नबिर्सनुहोस्, सबैभन्दा महत्त्वपूर्ण कुरा हर हालतमा पूरा मनतनले यहोवाको सेवा गर्नु हो। तैपनि, तिनीहरूको टिप्पणी सुनेपछि, सम्भव भए यस इनामदायी कार्यमा लाग्ने तपाईंको पनि इच्छा जाग्ला।
गहिरो सन्तुष्टि र आनन्द
४, ५. (क) अरूलाई सुसमाचार सुनाउनु किन असाध्यै इनामदायी अनुभव हो? (ख) सेवकाईमा पूर्ण-समय भाग लिने सन्दर्भमा अग्रगामीहरू कस्तो महसुस गर्छन्?
४ येशूले भन्नुभयो, “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) हो, निस्वार्थ भएर दिंदा इनामहरू पाइन्छ। (हितोपदेश ११:२५) विशेषगरि, अरूलाई सुसमाचार सुनाउने सन्दर्भमा यो साँचो साबित हुन्छ। भनौं भने, हामी आफ्ना सँगी मानवलाई अनन्त जीवनतर्फ डोऱ्याउने परमेश्वरको ज्ञान प्राप्त गर्न मदत दिनुभन्दा ठूलो उपहार अरू के नै दिनसक्छौं र?—यूहन्ना १७:३.
५ सेवकाईमा पूर्ण-समय लागेका व्यक्तिहरूले सेवकाईबाट प्राप्त गहिरो आनन्द र सन्तुष्टिबारे बताउनु कुनै अचम्मको कुरा होइन। बेलाइतका ६४ वर्षीय अग्रगामी यसो भन्छन्, “अरूलाई सत्य बताउँदा जुन सन्तुष्टि महसुस गरेको छु, त्यो त अरू कुनै कामले पनि दिन सक्दैन होला।” जायरकी एउटी विधवी बहिनी अग्रगामी सेवालाई असाध्यै अनमोल ठान्छिन्। उनी यसो भन्छिन्: “मेरो प्रिय श्रीमान्को मृत्युपछि अग्रगामी सेवाले मलाई साँचो सान्त्वना प्रदान गऱ्यो। म अरूलाई मदत गर्न सेवकाईमा जति बढी समय बिताउँछु, मेरो पीडा पनि त्यत्ति नै कम हुन्छ। म यहोवाका प्रतिज्ञाहरूमा पूरा विश्वास राख्छु र मसित बाइबल अध्ययन गर्ने व्यक्तिहरूलाई जीवनमा छाँटकाँट गर्न कसरी मदत दिनसक्छु भन्ने कुरामा मन लगाउँछु। दिनभरिको सेवकाईपछि राति मस्त निदाउँछु र मेरो हृदय आनन्दले गद्गद हुन्छ।”
६. केही अग्रगामीहरूले कस्ता विशेष आनन्द उठाएका छन्?
६ वर्षौंदेखि अग्रगामी गर्दै आएकाहरूले दुर्गम इलाकामा सेवा गर्ने, नयाँ मण्डलीहरू स्थापना गर्ने जस्ता विशेष आनन्द अनुभव गरेका छन्। ती नै मण्डलीहरू पछि वृद्धि भएर क्षेत्रहरू बनेका छन्। उदाहरणका लागि, होकाइडोको (जापानको सबैभन्दा उत्तरमा पर्ने टापु) आबाशिरी इलाकालाई लिनुहोस्। त्यहाँ एउटी बहिनीले अग्रगामी गरिरहेको ३३ वर्ष भइसक्यो। उनी विगतलाई सम्झँदै भन्छिन्, सबैभन्दा पहिलो क्षेत्रीय सम्मेलनमा होकाइडोभरिबाट जम्मा ७० जना उपस्थित भएका थिए। अहिले नि? अहिले त्यो टापुमा १२ वटा क्षेत्र र १२,००० भन्दा बढी प्रकाशकहरू छन्। त्यो टापुमा सँगी राज्य उद्घोषकहरूको विशाल भीडसँगसँगै सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुँदा उनको हृदय कत्तिको गद्गद हुँदो हो!
७, ८. धेरै समयदेखि अग्रगामी गर्दै आएकाहरूले कस्तो आनन्द उठाएका छन्?
७ निकै समयदेखि अग्रगामी गर्दै आएका अरू अग्रगामीहरूले पनि आफ्ना बाइबल विद्यार्थीहरूले बप्तिस्मा लिएर सेवासम्बन्धी थप सुअवसरहरू सँभालेको देख्न पाउँदा निकै आनन्द महसुस गरेका छन्। जापानकी एउटी बहिनीले सन् १९५७ देखि नौ वटा बेग्लाबेग्लै ठाउँमा अग्रगामी गरिसकेकी छिन्। त्यो समयको दौडान उनले एक चोटि बैंकमा काम गर्ने युवतीलाई ब्यूँझनुहोस्! पत्रिका दिएकी थिइन्। नौ महिनाभित्र उक्त युवतीले बप्तिस्मा लिइन्। पछि तिनले विवाह गरिन् र पति पत्नी दुवैले विशेष अग्रगामी गर्न थाले। त्यस अग्रगामी बहिनीको तेस्रो अग्रगामी इलाकामा नयाँ परिभ्रमण अध्यक्ष तथा तिनकी पत्नी आउँदा खुशीले उनको खुट्टा भुइँमा थिएन। कारण, यस परिभ्रमण अध्यक्षकी पत्नी उनको त्यही पुरानो बाइबल विद्यार्थी थिइन्।
८ साँच्चै, २२ वर्षीय एक अग्रगामीले भनेझैं थुप्रै अग्रगामीहरू यो पेशालाई “असाध्यै अनमोल सुअवसर” ठान्छन्!
यहोवाको हेरचाहको प्रमाण
९. महान् प्रबन्धकको हैसियतमा यहोवाले आफ्ना सेवकहरूका लागि के प्रतिज्ञा गर्नुभएको छ र हाम्रोलागि त्यसले के अर्थ राख्छ?
९ सबैभन्दा महान् प्रबन्धक, यहोवाले आफ्ना सेवकहरूलाई सँभाल्ने, तिनीहरूको आध्यात्मिक तथा भौतिक आवश्यकताहरू प्रबन्ध गर्ने प्रतिज्ञा गर्नुभएको छ। त्यसैकारण, पुरातन राजा दाऊदले यसो भन्नसके: “जवान थिएँ, र म अहिले बूढ़ो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भजन ३७:२५) निस्सन्देह, परमेश्वरले त्यस्तो ग्यारेन्टी दिनु हुँदैमा हामीले परिवारको लागि भौतिक प्रबन्ध नगर्ने र मसीही भाइहरूको उदारताको नाजायज फाइदा उठाउने छुट पाउँदैनौं। (१ थिस्सलोनिकी ४:११, १२; १ तिमोथी ५:८) यद्यपि, यहोवाको अझ बढी सेवा गर्न हामीले स्वेच्छापूर्वक त्यागहरू गऱ्यौं भने, उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन।—मत्ती ६:३३.
१०, ११. यहोवाले प्रबन्ध गर्न सक्नुहुन्छ भन्ने सन्दर्भमा थुप्रै अग्रगामीहरूलाई आफ्नो व्यक्तिगत अनुभवबाट के थाह छ?
१० संसारभरिका अग्रगामीहरूले व्यक्तिगत तवरमा अनुभव गरेको कुरा हो, आफूलाई यहोवाको हेरचाहमा सुम्पनेहरूका निम्ति उहाँले प्रबन्ध गर्नुहुन्छ। उदाहरणका लागि, राज्य प्रकाशकहरूको बढी आवश्यकता भएको ठाउँमा बसाइँ सरेका अग्रगामी दम्पतीलाई लिनुहोस्। केही महिनापछि तिनीहरू बेरोजगार भए र बचाएर राखेको पैसा पनि सिद्धियो। त्यसपछि, तिनीहरूले गाडी बिमास्वरूप ८१ अमेरिकी डलर तिर्नुपर्ने पुर्जी पाए। त्यो भाइ यसो भन्छन्, “त्यो पैसा तिर्ने हामीसित कुनै उपाय नै थिएन। हामीले त्यो रात अत्यन्तै व्यग्र प्रार्थना गऱ्यौं।” त्यसको भोलिपल्ट तिनीहरूले एउटा पत्र पाए। त्यो पत्र पठाउने परिवारको आर्थिक अवस्था पनि नाजुक थियो। त्यस परिवारले सरकारलाई कर तिरेको रकमबाट केही पैसा फिर्ता पाएका थिए। यो रकम तिनीहरूले फिर्ता पाउन आशा गरेको रकमभन्दा बढी थियो र कुनै अग्रगामी दम्पतीलाई दिन चाहन्थे। त्यस खामभित्र ८१ अमेरिकी डलरको चेक थियो! यस अग्रगामी भाइ भन्छन्, “म जिन्दगीभर त्यस दिन बिर्सन सक्दिनँ, मेरा रौंहरू ठाड्ठाडो भए! यो परिवारले देखाएको उदारता हामीले असाध्यै मूल्यांकन गऱ्यौं!” यहोवाले पनि त्यस्तो दयालु कार्यको मूल्यांकन गर्नुहुन्छ र उहाँले त्यस्तै प्रकारको उदार मनोभाव राख्न आफ्ना सेवकहरूलाई प्रोत्साहन दिनुहुन्छ।—हितोपदेश १९:१७; हिब्रू १३:१६.
११ थुप्रै अग्रगामीहरूले यस्तै अनुभव गरेका छन्। तिनीहरूलाई सोधेर हेर्नुहोस् र तिनीहरू कहिल्यै पनि “चटक्कै छोडिएनन्” भनी तपाईंलाई बताउनेछन्। आफ्नो ५५ वर्ष लामो पूर्ण-समय सेवकाईलाई सम्झँदै ७२ वर्षीय अग्रगामी यसो भन्छन्, “यहोवाले मलाई कहिल्यै निराश पार्नुभएको छैन।”—हिब्रू १३:५, ६.
“यहोवासित घनिष्ठ हुने सर्वोत्तम तरिका”
१२. सुसमाचार घोषणा गर्नु किन एउटा अद्भुत सुअवसर हो?
१२ यहोवाले आफ्नो राज्यको सुसमाचार घोषणा गर्न हामीलाई अह्राउनु मात्र पनि हाम्रोलागि एउटा सुअवसर हो। हामी असिद्ध मानिसहरू भए तापनि हामीलाई यस जीवनदायी काममा उहाँका “सहकर्मी” ठान्नुहुन्छ। (१ कोरिन्थी ३:९; १ तिमोथी ४:१६) अरूलाई परमेश्वरको राज्यबारे प्रचार गर्दा, दुष्टताको अन्तबारे घोषणा गर्दा, छुडौतीको बलिदानको प्रबन्ध गर्नुभएर यहोवाले दर्शाउनुभएको अद्भुत प्रेमबारे बुझाउँदा, उहाँको जीवित वचनबाट इमानदार हृदय भएका मानिसहरूलाई त्यसका बहुमूल्य कुराहरू सिकाउँदा हाम्रो सृष्टिकर्ता, यहोवाप्रति हामी स्वतः घनिष्ठ हुन्छौं।—भजन १४५:११; यूहन्ना ३:१६; हिब्रू ४:१२.
१३. यहोवासितको सम्बन्धमा अग्रगामी सेवकाईको प्रभावबारे कसै कसैले के भन्छन्?
१३ यहोवाबारे सिक्न अनि उहाँबारे अरूलाई सिकाउन अग्रगामीहरूले हरेक महिना बढी समय बिताउनसक्छन्। यसले परमेश्वरसित तिनीहरूको सम्बन्धलाई कसरी असर गरेको महसुस गर्छन्? फ्रान्सका एक जना प्राचीनको अनुभव सुनौं। तिनले अग्रगामी गरेको दश वर्षभन्दा बढी भइसक्यो। तिनी यसो भन्छन्, “यहोवासित घनिष्ठ हुने सर्वोत्तम तरिका अग्रगामी गर्नु हो।” पूर्ण-समय सेवकाईमा लागेको १८ वर्ष भइसकेको त्यही मुलुकका अर्को एक जना अग्रगामीले भने: “दिनदिनै सृष्टिकर्तासित अझ घनिष्ठ हुँदै जान अग्रगामी सेवकाईले मदत गर्नुका साथै ‘यहोवा कस्तो भलो हुनुहुन्छ भनी पारख गरेर हेर्ने’ मौका दिन्छ। (भजन ३४:८) अग्रगामी सेवामा ३० वर्ष बिताइसकेका बेलाइतकी एउटी बहिनी पनि त्यस्तै महसुस गर्छिन्। उनी भन्छिन्, “सेवकाईको लागि चाहिने डोऱ्याइको लागि यहोवामा भर पर्नुपर्दा म उहाँसित घनिष्ठ हुनसक्छु। घरधनीले चाहेकै बेलामा तिनको ढोका ढकढक्याउन यहोवाले मलाई धेरै चोटि डोऱ्याउनुभएको महसुस गरेकी छु।”—प्रेरित १६:६-१० तुलना गर्नुहोस्।
१४. अरूलाई सिकाउन दिनदिनै जसो बाइबल र बाइबल आधारित प्रकाशनहरू प्रयोग गर्दा अग्रगामीहरूले कसरी लाभ उठाउँछन्?
१४ धर्मशास्त्रीय सत्य अरूलाई बुझाउन तथा सिकाउन दिनहुँजसो बाइबल र बाइबल आधारित प्रकाशनहरू चलाउँदा परमेश्वरको वचनको ज्ञानमा बढ्न मदत पाएको धेरै अग्रगामीहरूले अनुभव गरेका छन्। स्पेनका ८५ वर्षीय भाइले अग्रगामी गरेको ३१ वर्ष भइसक्यो। तिनी यसो भन्छन्: “अग्रगामी गरेर मैले बाइबलको गहिरो ज्ञान हासिल गर्न सकेको छु। यही ज्ञानद्वारा मैले यहोवा र उहाँका उद्देश्यहरूबारे अरू थुप्रै मानिसहरूलाई पनि मदत गर्न सकेको छु।” अग्रगामी सेवामा २३ वर्ष बिताइसकेका बेलाइतकी एउटी बहिनी यसो भन्छिन्: “पूर्ण-समय सेवकाईले मलाई आध्यात्मिक भोजनको लागि साँचो भोक जगाउन मदत गरेको छ।” आफ्नो “आशाको कारण” अरूलाई बताउँदा आफूले असाध्यै अनमोल ठानेको विश्वासलाई अझ सुदृढ बनाउन मदत पुग्नसक्छ। (१ पत्रुस ३:१५) अस्ट्रेलियाका एक अग्रगामी यसो भन्छन्: “अग्रगामी गर्दा अरूलाई आफ्नो विश्वासबारे बताउने प्रशस्त मौका पाउँछु र त्यसले गर्दा मेरो विश्वास अझ बलियो हुन्छ।”
१५. अग्रगामी सेवकाई थाल्न र त्यसलाई नछोड्न कोही कोही के गर्न इच्छुक भएका छन् र त्यसको कारण के हो?
१५ स्पष्टतः, यहोवाबाट अनगिन्ती आशिष्हरू पाउने सेवा छानेका छौं भनी यी अग्रगामी प्रचारकहरू पूर्ण विश्वस्त छन्। हो, धेरै जना आफ्नो जीवनमा छाँटकाँट गर्न इच्छुक भएका छन्, अग्रगामी सेवा थालेर त्यसैमा लागिरहन सांसारिक पेशा र भौतिक सम्पत्तिहरूसमेत त्यागेका छन्।—हितोपदेश २८:२०.
के तपाईंको मनले अझ बढी गर्ने तिर्सना गर्छ?
१६, १७. (क) तपाईंले पनि अग्रगामी गर्न सक्नुहुन्छ कि भनी सोचिरहनुभएको भए, तपाईं के गर्न सक्नुहुन्छ? (ख) अग्रगामी गर्न नसक्दा कसै कसैले कस्तो महसुस गर्छन्?
१६ अग्रगामी सेवकाईका आशिष्हरूबारे अग्रगामीहरूको कुरा सुन्नुभएपछि शायद तपाईं पनि अग्रगामी गर्न सकिएला कि भनी सोचिरहनुभएको होला। त्यसो हो भने, पूर्ण-समय सेवकाईमा सफलता हासिल गरेका अग्रगामीसित कुरा गरे कसो होला? तपाईंको स्वास्थ्य, तपाईंको सीमितता र पारिवारिक जिम्मेवारीहरूबारे राम्ररी थाह भएको मण्डलीको प्राचीनसित यसबारे कुरा गर्नु पनि मदतकारी हुनसक्छ। (हितोपदेश १५:२२) अरूका व्यवहारिक टिप्पणीहरूले तपाईं पनि अग्रगामी गर्नसक्ने अवस्थामा हुनुहुन्छ कि हुनुहुन्न भनी केलाउन मदत पाउन सक्नुहुन्छ। (लूका १४:२८ तुलना गर्नुहोस्।) तपाईं अग्रगामी गर्न सक्नुहुन्छ भने, अवश्य पनि प्रचुर मात्रामा आशिष् पाउनुहुनेछ।—मलाकी ३:१०.
१७ तर त्यस्ता थुप्रै विश्वासी राज्य प्रकाशकहरूबारे हामी के भन्नसक्छौं जो सेवकाईमा अझ बढी गर्ने इच्छा गर्छन् तर गर्न नसक्ने अवस्थामा होलान्? उदाहरणका लागि, एक्लैले चार बालबच्चाको पालनपोषण गर्न संघर्ष गरिरहेकी एउटी मसीही बहिनीका भावनाहरू विचार गर्नुहोस्। उनी भन्छिन्, “म पहिले नियमित अग्रगामी थिएँ तर अहिलेको परिस्थितिले गर्दा सेवकाईमा पहिलेजस्तो धेरै समय बिताउन नसक्दा दुःख लाग्छ।” यी बहिनी आफ्ना छोराछोरीलाई असाध्यै माया गर्छिन् र तिनीहरूको भरनपोषण गर्न चाहन्छिन्। तर अर्कोतिर तिनी प्रचारकार्यमा पनि बढी समय बिताउन चाहन्छिन्। उनी भन्छिन्, “मलाई सेवकाई मन पर्छ।” यहोवाप्रति प्रेमको कारण “सारा हृदयले” उहाँको सेवा गर्न चाहने अरू थुप्रै समर्पित मसीहीहरू पनि यस्तै महसुस गर्छन्।—भजन ८६:१२.
१८. (क) यहोवा हामीबाट के चाहनुहुन्छ? (ख) परिस्थितिले गर्दा आफूले चाहेजति गर्न सक्दैनौं भने हामी किन निराश हुनु हुँदैन?
१८ नबिर्सनुहोस्, यहोवाले हामीबाट चाहनुहुने कुरा पूरा मनतनको सेवा हो। पूरा मनतनको सेवा चढाउने सन्दर्भमा कसले कति गर्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुनसक्छ। कसै कसैले आफ्नो कामकुरामा छाँटकाँट गरेर नियमित अग्रगामी गर्न सक्लान्। अरू कतिपय भने, कहिलेकाहीं वा नियमित तवरमा सहायक अग्रगामी गरेर हरेक महिना ६० घण्टा सेवकाईमा बिताउँछन्। तथापि, यहोवाका अधिकांश जनहरू मण्डलीका प्रकाशकहरूको हैसियतमा पूरा मनतनले प्रचार कार्यमा लाग्न तथा अरूलाई सिकाउन समर्पित छन्। त्यसकारण, तपाईंको स्वास्थ्य त्यत्तिको राम्रो छैन, उमेर ढल्कँदै गइरहेको छ, पारिवारिक जिम्मेवारीहरू छन् वा अवस्था अनुकूल छैन भने, निराश नहुनुहोस्। तपाईंले यथाशक्य सेवा चढाइरहनुभएको छ भने, परमेश्वरले तपाईंको सेवालाई पूर्ण-समय सेवकहरूको जत्तिकै मूल्यवान् ठान्नुहुन्छ।
सबैले अग्रगामीको मनोभाव देखाउनसक्छन्
१९. अग्रगामीको मनोभाव के हो?
१९ तपाईं अग्रगामी गर्न सक्नुहुन्न भने पनि अग्रगामीको मनोभाव देखाउन सक्नुहुन्छ। अग्रगामीको मनोभाव भनेको के हो? जुलाई १९८८ हाम्रो राज्य सेवकाई-मा (अंग्रेजी) यसरी परिभाषित गरिएको थियो: “प्रचार गर्ने र चेला बनाउने कार्यप्रति सकारात्मक मनोवृत्ति राख्नु, मानिसहरूप्रति प्रेम र चासो देखाउन पूर्णतया समर्पित हुनु, आत्मत्यागी हुनु, प्रभुको अनुकरण गर्न पाउँदा आनन्दित हुनु र भौतिक कुराहरूमा नभई आध्यात्मिक कुराहरूमा रमाउनु हो।” तपाईं त्यस्तो अग्रगामीको मनोवृत्ति कसरी देखाउन सक्नुहुन्छ?
२०. आमाबाबुले अग्रगामीको मनोभाव कसरी देखाउनसक्छन्?
२० तपाईंका स-साना छोराछोरीहरू छन् भने, अग्रगामीलाई पेशाको रूपमा लिन तिनीहरूलाई पूरा मनतनले सल्लाह दिन सक्नुहुन्छ। सेवकाईप्रति तपाईंको सकारात्मक मनोवृत्तिले तिनीहरूलाई जीवनमा यहोवाको सेवा सर्वमहत्त्वपूर्ण कुरा बनाउनुपर्छ भनी तिनीहरूको मनमा अमेट छाप पार्नसक्छ। आफ्नो घरमा अग्रगामी तथा परिभ्रमण निरीक्षक र तिनकी पत्नीलाई निम्त्याउन सक्नुहुन्छ। यसो गर्दा तपाईंका छोराछोरीले पूर्ण-समय सेवकाईबाट आनन्द उठाएका व्यक्तिहरूको उदाहरणबाट लाभ उठाउनसक्नेछन्। (हिब्रू १३:७ तुलना गर्नुहोस्।) बेग्लाबेग्लै धर्म मान्ने व्यक्तिहरू भएको परिवारमा पनि यहोवालाई विश्वास गर्ने आमा या बुबाले काम र वचनद्वारा छोराछोरीलाई मदत गर्नसक्छन्। यसो गर्दा तिनीहरूले पूर्ण-समय सेवकाईलाई आफ्नो जीवनको लक्ष्य बनाउनसक्छन्।—२ तिमोथी १:५; ३:१५.
२१. (क) अग्रगामी गरिरहेकाहरूलाई हामी सबैले कसरी समर्थन गर्नसक्छौं? (ख) अग्रगामीहरूलाई प्रोत्साहन दिन प्राचीनहरूले के गर्नसक्छन्?
२१ मण्डलीमा अग्रगामी गर्नसक्नेहरूलाई पूरा मनतनले समर्थन गर्नसक्छौं। उदाहरणका लागि, कहिलेकाहीं सेवकाईमा जान अग्रगामी एक्लै पर्दा तिनीसित सँगै जान के तपाईंले विशेष प्रयास गर्नुहुनेछ? त्यसो गरेर अवश्य पनि “प्रत्येकले आपसमा” प्रोत्साहन पाउन सक्नेछ। (रोमी १:११, १२) तपाईं प्राचीन हुनुहुन्छ भने, अग्रगामीहरूलाई प्रोत्साहन दिन अझ बढी गर्न सक्नुहुन्छ। प्राचीनहरूको निकायको छलफल हुँदा अग्रगामीहरूका आवश्यकताहरूबारे छलफल गर्न बिर्सनु हुँदैन। अग्रगामी निरुत्साहित हुँदा वा कुनै कठिनाइ सामना गर्दा हतपत तिनलाई अग्रगामी सेवा छोडिहाल्ने सुझाउ नदिनुहोस्। कहिलेकाहीं त्यस्तो सुझाउ दिनु पनि आवश्यक होला। तर एउटा कुरा नबिर्सनुहोस्, अग्रगामीले आफ्नो पूर्ण-समय सेवकाईलाई भित्री हृदयदेखि हार्दिक कदर गर्ने अनमोल सुअवसर ठान्नसक्छन्। कहिलेकाहीं त अलिकता प्रोत्साहन र व्यवहारिक सल्लाह वा सहयोग मात्र पनि पर्याप्त हुन्छ। सोसाइटीको स्पेनस्थित शाखा कार्यालय यसो भन्छ: “प्राचीनहरूले अग्रगामी गर्न प्रोत्साहन गर्दा, क्षेत्र सेवकाईमा अग्रगामीहरूको साथ दिंदा, तिनीहरूलाई नियमित तवरमा डोऱ्याइ दिंदा अग्रगामीहरू अझ बढी आनन्दित हुन्छन्, आफू मण्डलीको उपयोगी सदस्य भएको महसुस गर्छन् र अवरोधहरूको बावजूद अग्रगामी सेवा गरिरहन चाहन्छन्।”
२२. मानव इतिहासको यस डरलाग्दो समयमा हामी के गर्न कटिबद्ध हुनुपर्छ?
२२ हामी मानव इतिहासको सबैभन्दा डरलाग्दो समयमा बाँचिरहेका छौं। यहोवाले हामीलाई जीवन बचाउने कार्य गर्न अह्राउनुभएको छ। (रोमी १०:१३, १४) हामीले त्यस काममा अग्रगामीको हैसियतमा पूर्ण-समय भाग लिन सकौंला नसकौंला, त्यो अर्कै कुरा हो। तर हामी प्रत्येकले अग्रगामीको मनोभाव भने देखाऔं। हामीमा इच्छुकताको भावना र आत्मत्यागी मनोभाव होस्। यहोवाले हामीबाट जे माग्नुभएको छ, त्यो दिन कटिबद्ध होऔं। त्यो हो, पूरा मनतनको सेवा। हामीले यथाशक्य सेवा चढाउँदा चाहे त्यो विधवाको आधा पैसाजस्तो होस् वा मरियमको किमती तेलजस्तो, पूरा मनतनले गरेको हुनुपर्छ। अनि हामीले चढाउने त्यस्तो पूरा मनतनको सेवा यहोवाले कदर गर्नुहुन्छ!
के तपाईंले सम्झनुभएको छ?
◻ पूर्ण-समय सेवकाईले किन गहिरो सन्तुष्टि र आनन्द दिन्छ?
◻ यहोवाले आफ्ना जनहरूको हेरचाह गर्न सक्नुहुने क्षमताबारे थुप्रै अग्रगामीहरूलाई आफ्नै अनुभवबाट के थाह छ?
◻ अग्रगामीहरू यहोवासितको सम्बन्धमा सेवकाईको कस्तो प्रभाव महसुस गर्छन्?
◻ तपाईं कसरी अग्रगामीको मनोभाव देखाउन सक्नुहुन्छ?
[पृष्ठ २३-मा भएको चित्र]
चेला बनाउने कार्यबाट अग्रगामीहरूले निकै आनन्द उठाउँछन्
[पृष्ठ २३-मा भएको चित्र]
तपाईंका छोराछोरीले पूर्ण-समय राज्य उद्घोषकहरूसित सरसंगत गरेर लाभ उठाउनसक्छन्
[पृष्ठ २३-मा भएको चित्र]
प्राचीनहरूले क्षेत्र सेवकाईमा अग्रगामीहरूलाई प्रोत्साहन दिनसक्छन्