प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 २/१ pp. २४-२८
  • “तपाईंको करुणा जीवनभन्दा उत्तम छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तपाईंको करुणा जीवनभन्दा उत्तम छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सेवकाईको लागि प्रशिक्षण
  • आजीवन पेशाको सुरुआत
  • सेवाका विशेष सुअवसरहरू
  • क्यानाडा अनि पछि बेल्जियममा
  • युद्धपछिका क्रियाकलापमा तीव्रता
  • परिस्थितिअनुरूप काँटछाँट गर्ने
  • बाल्यकालदेखि नै यहोवाद्वारा सिकाइएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आमाबाबुले हामीलाई परमेश्‍वरलाई प्रेम गर्न सिकाउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • आमाबाबुको पदचिन्हलाई पछ्याउँदै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाले मेरो निर्णयमा आशिष्‌ बर्साउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 २/१ pp. २४-२८

“तपाईंको करुणा जीवनभन्दा उत्तम छ”

केलभिन एच. होम्सको वृतान्तमा आधारित

डिसेम्बर १९३० को कुरा हो, मैले दूध दुहिसकेको मात्र थिएँ बुबा छिमेकीकहाँबाट घर फर्कनुभयो। आफ्नो खल्तीबाट नीलो रंगको पुस्तक निकाल्नुहुँदै उहाँले भन्‍नुभयो, “ई, वाइमनले मलाई यो किताब पढ्‌न दिएको छ।” वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित उक्‍त पुस्तकको शीर्षक छुटकारा (अंग्रेजी) थियो। बुबा किताबहरू त्यति पढ्‌नुहुन्‍नथ्यो तर त्यो किताब भने राति अबेरसम्म पढ्‌नुभयो।

उक्‍त प्रकाशकले नै प्रकाशित गरेका ज्योति र मिलाप (अंग्रेजी) नामक अन्य पुस्तकहरू पनि बुबाले पछि ल्याउनुभयो। उहाँले मुमाको पुरानो बाइबल खोजेर राति अबेरसम्म टुकी बालेर पढ्‌नुभयो। बुबाको जीवनमा ठूलो परिवर्तन आयो। त्यो हिउँदमा हामी पुरानो मकलको वरिपरि बसेर आगो ताप्दै गर्दा उहाँले मुमा, मेरा तीन बहिनीहरू र मसँग घण्टौंसम्म कुराकानी गर्नुभयो।

ती पुस्तकहरू प्रकाशित गर्नेहरूलाई बाइबल स्टुडेन्ट्‌स भनिन्छ र तिनीहरूको भनाइअनुसार हामी “आखिरी दिनमा” बाँचिरहेका छौं भनी बुबाले भन्‍नुभयो। (२ तिमोथी ३:१-५) संसारको अन्त हुँदा पृथ्वी विनाश हुने होइन तर परमेश्‍वरको राज्य अन्तर्गत त्यो प्रमोदवनमा परिवर्तन हुनेछ भनेर बुबाले बताउनुभयो। (२ पत्रुस ३:५-७, १३; प्रकाश २१:३, ४) मलाई त त्यो कुरा एकदमै घत लाग्यो।

हामी एकसाथ काम गर्दा बुबाले मसँग कुरा गर्नुहुन्थ्यो। एकचोटि मकै छोडाउँदै गर्दा परमेश्‍वरको नाउँ यहोवा हो भनेर उहाँले बताउनुभएको मलाई अझै याद छ। (भजन ८३:१८) तसर्थ, १९३१ को बसन्त ऋतुमा मैले यहोवा र उहाँको राज्यको पक्षमा अडान लिएँ। त्यतिखेर म १४ वर्षको मात्र थिएँ। घरपछाडिको पुरानो स्याउ बगानमा गएर यहोवालाई प्रार्थना गरें अनि सदा सर्वदा उहाँको सेवा गर्ने बाचा बाँधें। हाम्रा अद्‌भुत परमेश्‍वरको अनुग्रहले मेरो हृदय छोइसकेको थियो।—भजन ६३:३.

हामी अमेरिकास्थित सेन्ट जोसेफ, मिसोरीदेखि करिब ३० किलोमिटर र क्यान्सस शहरदेखि लगभग ६५ किलोमिटर टाढाको फार्ममा बस्थ्यौं। मेरा जिजुबाजेले १९ औं शताब्दीको सुरुतिर फार्म भएकै ठाउँमा फल्याकले बनाएको घरमा बुबाको जन्म भएथ्यो।

सेवकाईको लागि प्रशिक्षण

सन्‌ १९३१ को ग्रीष्म ऋतुमा हामीले रेडियोमा “परमेश्‍वरको राज्य, संसारको एउटै आशा” (अंग्रेजी) भन्‍ने जनभाषण सुन्यौं। उक्‍त भाषण वाच टावर सोसाइटीका तात्कालीन अध्यक्ष जोसेफ रदरफोर्डले ओहायोस्थित कोलम्बसको अधिवेशनमा दिनुभएको थियो। त्यो भाषणले मेरो हृदयमा ठूलो प्रभाव पाऱ्‍यो। अनि बुबासँग मिलेर चिनेजानेका व्यक्‍तिहरूलाई उक्‍त महत्त्वपूर्ण जनसम्बोधनको पुस्तिका वितरण गर्न पाउँदा म हर्षले गद्‌गद भएँ।

सन्‌ १९३२ को बसन्त ऋतुमा यहोवाका साक्षीहरूको सभामा पहिलो चोटि उपस्थित भएँ। यहोवाका साक्षीहरूका परिभ्रमण निरीक्षक जर्ज ड्रेपरले सेन्ट जोसेफमा दिनुहुने भाषण सुन्‍न हाम्रा छिमेकीले बुबा र मलाई निमन्त्रणा दिएका थिए। हामी त्यहाँ पुग्दा त आधा सभा सिद्धिसकेको रहेछ। हट्टाकट्टा र गतिलो जीउ भएका जे. डी. ड्राअरको पछाडिपट्टि मैले बस्ने ठाउँ पाएँ। तिनी नै पछि मेरो जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्‍ति भए।

सेप्टेम्बर १९३३ मा क्यान्सस शहरमा बुबासँग सम्मेलनमा उपस्थित भएँ र त्यहीं प्रथमपल्ट जनप्रचार कार्यमा भाग लिएँ। बुबाले तीनवटा पुस्तिका दिनुभयो र यसो भन्‍न सिकाउनुभयो: “म यहोवाको साक्षी हुँ र परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने गर्छु। जोसेफ रदरफोर्डको भाषण त रेडियोबाट पक्कै पनि सुनिसक्नुभयो होला। उहाँको भाषण हप्तैपिच्छे ३०० भन्दा बढी स्टेशनहरूबाट प्रसारण हुने गर्छन्‌।” त्यसपछि एउटा पुस्तिका दिएँ। त्यस साझँ, फार्ममा दूध दुहुँदै गर्दा मलाई लाग्यो, यो मेरो जीवनको सबैभन्दा अविस्मरणीय दिन हो।

त्यसपछि त हिउँद लागिहाल्यो र त्यति दौडधूप गर्न पाएनौं। तर त्यति नै खेर भाइ ड्राअर र तिनकी श्रीमती हामीकहाँ आउनुभयो। अनि शनिबार साँझ उहाँहरूको घरमा गएर एक रात त्यहीं बसे कसो होला भनेर मलाई सोध्नुभयो। ड्राअरको घर पुग्न १० किलोमिटर लामो बाटो हिंडेको खेर गएन। किनकि भोलिपल्ट उहाँहरूसँग सेवकाईमा जान पाएँ र सेन्ट जोसेफमा प्रहरीधरहरा अध्ययनमा पनि उपस्थित हुनसकें। त्यस समयदेखि आइतबारको सेवकाईमा भाग लिन विरलै मात्र चुकेको छु। भाइ ड्राअरले दिनुभएको प्रशिक्षण र सल्लाह साह्रै अमूल्य साबित भएको छ।

सेप्टेम्बर २, १९३५ मा अन्ततः क्यान्सस शहरमा सम्पन्‍न सम्मेलनमा पानीको बप्तिस्माद्वारा यहोवाप्रतिको समर्पणलाई प्रतीकात्मक रूप दिएँ।

आजीवन पेशाको सुरुआत

सन्‌ १९३६ तिरै अग्रगामी अर्थात्‌ पूर्ण-समय सेवकको काम गर्न आवेदन दिएँ। अनि अग्रगामी गर्ने साथी खोजिरहेका व्यक्‍तिहरूको सूचीमा मेरो नाउँ राखियो। केही समय नबित्दै अर्भाडा, वायेमिङमा बस्ने एडवार्ड स्टीडको पत्र पाएँ। तिनले पत्रमा आफूले ह्विलचेरमा जीवन बिताइरहेको र अग्रगामी गर्न सहयोग चाहिएको कुरा बताएका थिए। मैले तुरुन्तै तिनको निमन्त्रणा स्वीकारें अनि अप्रिल १८, १९३६ मा अग्रगामीमा नियुक्‍त भएँ।

भाइ एडवार्ड स्टीडकहाँ जान लाग्दा मेरी मुमाले मसँग सुटुक्क कुरा गर्नुभयो। “छोरा, तिमीले पक्कै यो काम गर्न चाहेको हौ त?” उहाँले सोध्नुभयो।

“गरिनँ भने त जीवनको के नै मूल्य रह्‍यो र,” मैले प्रत्युत्तरमा भनें। सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाको करुणा हो भन्‍ने मैले बुझेको छु।

टेडसँग अग्रगामी गर्नु मेरोलागि उत्कृष्ट प्रशिक्षण थियो। भाइ स्टीडलाई हामी टेड नै भन्‍ने गर्थ्यौं। तिनी खूबै जोसिला थिए र एकदमै घतलाग्दो तरिकामा राज्य समाचार प्रस्तुत गर्थे। तथापि, लेख्नु अनि कुराकानी गर्नुबाहेक टेडले के नै गर्न सक्थे र किनकि बाथ रोगले तिनका सबै जोर्नीहरू कक्रिसकेका थिए। बिहान चाँडै उठेर तिनलाई नुहाइधुवाइ गरिदिनु र दाह्रीजुँगा खौरी दिनुपर्थ्यो अनि नास्ता तयार पारेर खुवाउनुपर्थ्यो। त्यसपछि, लुगा लगाई दिएर क्षेत्र सेवकाईको लागि तम्तयार पार्नुपर्थ्यो। त्यस ग्रीष्म ऋतुमा खुला मैदानमै रात बिताउँदै वायेमिङ र मन्टानामा अग्रगामी गऱ्‍यौं। टेड आफ्नो पिकअप ट्रकको पालमा सुत्थे, म चाहिं भुइँमै सुत्थें। पछि त्यही वर्ष टेनीसी, अर्कानसा र मिसिसिपिमा अग्रगामी गर्न म दक्षिणतर्फ लागें।

सेप्टेम्बर १९३७ मा ओहायो, कोलम्बसमा पहिलोचोटि ठूलो अधिवेशनमा उपस्थित भएँ। व्यापक तवरमा प्रचारकार्य गर्न त्यहाँ फोनोग्राफ प्रयोग गर्ने प्रबन्ध थियो। एकचोटि फोनोग्राफ बजाएर सुनाउनुलाई हामी एक सेटअप भन्थ्यौं। एक महिनामा मैले ५०० भन्दा बढी सेटअप सुनाएँ र ८०० भन्दा बढी व्यक्‍तिहरूले त्यसलाई सुन्‍नसके। पूर्वी टेनीसी, भर्जिनिया र पश्‍चिमी भर्जिनियाका थुप्रै शहरहरूमा प्रचार गरेपछि विशेष अग्रगामीको हैसियतमा प्रान्तीय सेवकसँग मिलेर काम गर्ने निमन्त्रणा पाएँ। त्यती खेर परिभ्रमण निरीक्षकलाई प्रान्तीय सेवक भनिन्थ्यो।

मैले भर्जिनियाका मण्डलीहरू तथा पृथक समूहहरूमा भ्रमण गरें। भ्रमणको दौडान प्रत्येक मण्डली तथा दुर्गम समूहमा दुईदेखि चार हप्तासम्म बिताउँथें अनि क्षेत्र सेवकाईमा अगुवाइ गर्थें। तत्पश्‍चात, जनवरी १९४१ मा प्रान्तीय सेवक नियुक्‍त भएँ। त्यतिञ्जेलसम्म त मुमा र तीनै जना बहिनीहरू अर्थात्‌ क्लेरा, लोइस र रूथले पनि परमेश्‍वरको राज्यप्रति अडान लिइसकेका थिए। अतः त्यस वर्षको ग्रीष्म ऋतुमा सेन्ट लुइसमा सम्पन्‍न ठूलो अधिवेशनमा हामी सम्पूर्ण परिवार नै एकसाथ उपस्थित भयौं।

नोभेम्बर १९४१ को अन्ततिर प्रान्तीय काम समाप्त हुनेछ भनी उक्‍त अधिवेशनको लगत्तैपछि प्रान्तीय सेवकहरूलाई सूचित गरियो। त्यसपछिको महिनामा संयुक्‍त राज्य दोस्रो विश्‍वयुद्धमा मुछियो। मलाई विशेष अग्रगामी सेवा गर्न खटाइयो र सेवकाईमा १७५ घण्टा बिताउनुपर्थ्यो।

सेवाका विशेष सुअवसरहरू

जुलाई १९४२ मा एउटा पत्र पाएँ। विदेशमा सेवा गर्न इच्छुक हुनुहुन्छ कि भनेर उक्‍त पत्रमा सोधिएको थियो। मैले सकारात्मक प्रत्युत्तर दिएपछि ब्रूकलिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको विश्‍व मुख्यालयको बेथेलमा मलाई बोलाइयो। त्यस समय करिब २० जना अविवाहित भाइहरूलाई विशेष प्रशिक्षण लिन आमन्त्रित गरिएको थियो।

प्रचारकार्य निकै सेलाएको छ र मण्डलीहरूलाई आध्यात्मिक तवरमा सुदृढ बनाउन हामीलाई प्रशिक्षण दिइँदैछ भनी वाच टावर सोसाइटीका तात्कालीन अध्यक्ष नेथन एच. नोरले बताए। तिनले भने: “हामी मण्डलीमा के कस्ता समस्याहरू छन्‌ भन्‍ने मात्र जान्‍न चाहन्‍नौं तर ती समस्याहरूबारे तपाईंहरूले के कस्ता कदम चाल्नुभयो, त्यो पनि जान्‍न चाहन्छौं।”

भाइ नोरपछि १९७७ मा अध्यक्ष भएका फ्रेड फ्रान्जले हामी बेथेलमा छँदा एउटा भाषणको दौडान यसो भने: “दोस्रो विश्‍वयुद्ध अन्त हुनेछ र अझ व्यापक प्रचारकार्य हुनेछ। यहोवाको संगठनमा पक्कै पनि अझै लाखौं व्यक्‍तिहरू जम्मा गरिनेछ!” उक्‍त भाषणले मेरो दृष्टिकोणमा ठूलो परिवर्तन ल्यायो। आ-आफ्नो कार्यभारमा खटाइएपछि, मैले टेनीसी र केन्टकीका सबै मण्डलीहरूको भ्रमण गर्नुपर्ने रहेछ भन्‍ने थाह पाएँ। हामीलाई भाइहरूका दास भनिन्थ्यो, जसलाई आजकल क्षेत्रीय निरीक्षक भनिन्छ।

अक्टोबर १, १९४२ देखि मैले मण्डलीहरूको सेवा गर्न थालें। त्यतिखेर म २५ वर्षको मात्र थिएँ। त्यस समय कुनै कुनै मण्डलीहरूमा पुग्न कि पैदल हिंड्‌नुपर्थ्यो या त घोडा चढ्‌नुपर्थ्यो। कहिलेकाहीं बास बसेको घरमै घरधनीहरूसँग एउटै कोठामा सुतेको पनि छु।

जुलाई १९४३ मा टेनीसीको ग्रीनभिल मण्डलीमा सेवा गर्दै गर्दा वाचटावर बाइबल स्कूल अफ गिलियडको दोस्रो कक्षामा उपस्थित हुने निमन्त्रणा पाएँ। गिलियडमा छँदा मैले, “झन्‌ बढ़ी उत्कट ध्यान दिनुपर्दछ” अनि “सधैं प्रभुको काममा प्रशस्त हुँदै” जानुपर्छ भन्‍ने कुराको मर्म बुझ्नसकें। (हिब्रू २:१; १ कोरिन्थी १५:५८) उक्‍त स्कूलको पाँच महिने कार्यक्रम बितेको पत्तो भएन र जनवरी ३१, १९४४ मा त स्नातक पनि भइहाल्यौं।

क्यानाडा अनि पछि बेल्जियममा

स्नातक गर्नेहरूमध्ये हामी कोही कोहीलाई क्यानाडा खटायो। त्यहाँ यहोवाका साक्षीहरूका क्रियाकलापमाथि लगाइएको प्रतिबन्ध भर्खरै हटाइएको थियो। मलाई परिभ्रमणकार्यको कार्यभार दिइयो। त्यो कार्य गर्न कतै कतै त एउटा मण्डलीदेखि अर्को मण्डलीसम्म पुग्न धेरै लामो यात्रा गर्नुपर्थ्यो। क्यानाडामा प्रतिबन्ध लगाएको बेला कसरी प्रचारकार्य गरियो भन्‍ने अनुभवहरू भ्रमणको दौडान सुन्‍न पाउँदा निकै खुशी लाग्यो। (प्रेरित ५:२९) क्यानाडाको एक छेउदेखि अर्को छेउसम्म प्रायजसो सबै घरमा एकै रातमा पुस्तिका वितरण गरिएको विशाल अभियानबारे थुप्रैले कुरा गर्थे। मे १९४५ मा युरोपमा युद्ध अन्त भयो भनेर थाह पाउनु कत्ति खुसीको खबर थियो!

त्यस वर्षको ग्रीष्म ऋतुमा सास्काट्‌चेवानस्थित ओसाज शहरको मण्डलीमा सेवा गर्दैगर्दा भाइ नोरले पठाउनुभएको पत्र पाएँ। त्यसमा यस्तो लेखिएको थियो: “म तपाईंलाई बेल्जियम जाने सुअवसर दिंदैछु। . . . त्यहाँ अझ बढी काम गर्नुपर्नेछ। त्यो युद्धग्रस्त देश हो र त्यहाँका हाम्रा भाइहरूलाई सहयोगको सख्त जरुरत छ। तिनीहरूलाई मदत गर्न र सान्त्वना दिन अमेरिकी भाइ पठाउनु उचित देखिन्छ।” उक्‍त पत्र पाउनासाथै त्यो कार्यभारको लागि म तयार छु भनेर जवाफ पठाइहालें।

नोभेम्बर १९४५ मा ब्रूकलिन बेथेलमा आलसासको निकै उमेर ढल्किसकेको चार्ल्स इकरसँग फ्रान्सेली भाषा सिक्दै थिएँ। शाखा कार्यालयको कार्यप्रणालीबारे पनि नियमित रूपमा प्रशिक्षण पाएँ। युरोपतर्फ लाग्नुअघि सेन्ट जोसेफ, मिसोरीमा आफ्ना परिवार र साथीभाइहरूसँग छोटो भेटघाट गरें।

डिसेम्बर ११ मा न्यु योर्कबाट क्विन एलिजाबेथ जहाज चढेर बाटो लागें। अनि चार दिनको यात्रापछि बेलाइतको साउथएम्टेन पुगें। बेलाइत शाखा कार्यालयमा एक महिना बसें र त्यहाँ थप प्रशिक्षण पाएँ। तत्पश्‍चात्‌ जनवरी १५, १९४६ मा इंग्लिस च्यानलहुँदै ओस्टेन्ड, बेल्जियम पुगें। त्यहाँबाट रेल चढेर ब्रसेल्सतर्फ लागें। त्यहाँको रेल स्टेसनमा सम्पूर्ण बेथेल परिवारले मलाई स्वागत गरे।

युद्धपछिका क्रियाकलापमा तीव्रता

बेल्जियममा मेरो काम राज्यसम्बन्धी कामकुराहरू निरीक्षण गर्नुथियो। तर त्यहाँको भाषा भने बोल्नै आउदैनथ्यो। छ महिनाभित्र भने कुराकानी गर्न सक्नेसम्म भएँ। पाँच वर्षसम्म नाजीले शासन गर्दा आफ्नो ज्यानको बाजी लगाएर प्रचारकार्यमा लाग्ने व्यक्‍तिहरूसँग काम गर्नु मेरोलागि सुअवसर नै थियो। तिनीहरूमध्ये कोही कोही त भर्खरै मात्र यातना शिविरबाट छुटेका थिए।

भाइहरू सुव्यवस्थित ढंगमा काम गर्न र बाइबल सच्चाइप्रति भोकाएका व्यक्‍तिहरूलाई खुवाउन उत्सुक थिए। अतः सम्मेलनहरू आयोजना गर्ने तथा परिभ्रमण निरीक्षकहरूले मण्डलीहरूको भ्रमण गर्ने प्रबन्ध मिलाइयो। साथै ब्रूकलिन मुख्यालयका प्रतिनिधिहरू नेथन नोर, मिल्टन हेन्श्चेल, फ्रेड फ्रान्ज, ग्रान्ट सुटर र जोन बूथका भ्रमण पनि एकदमै प्रोत्साहनदायी भयो। त्यतिबेला मैले क्षेत्रीय निरीक्षक, जिल्ला निरीक्षक अनि शाखा निरीक्षकको हैसियतमा सेवा गरें। बेल्जियममा सेवा गर्न थालेको झन्डै सात वर्षपछि डिसेम्बर ६, १९५२ मा इमिलिया भनाप्सलकसँग विवाह गरें। उनी पनि बेल्जियम शाखामा काम गर्थिन्‌।

केही महिनापश्‍चात्‌ अप्रिल ११, १९५३ मा मलाई स्थानीय प्रहरी चौकीमा बोलाइयो अनि बेल्जियमको सुरक्षाको लागि मेरो उपस्थिति खतराजनक छ भनियो। मैले लक्जमबर्ग गएर राजसभामा आफ्नो मुद्दाको अपील गरें।

फेब्रूअरी १९५४ मा बेल्जियमको राजसभाले पनि मेरो उपस्थिति देशको लागि खतराजनक छ भन्‍ने फैसला सुनायो। मैले बेल्जियममा पाइला टेकेदेखि त्यहाँ साक्षीहरूको संख्या ह्वात्तै बढ्यो अर्थात्‌ १९४६ को ८०४ जना साक्षीहरू बढेर १९५३ मा ३,३०४ पुग्यो। परिणामस्वरूप, थुप्रै जवान साक्षीहरूले मसीही तटस्थताप्रति दृढ अडान लिए जसले गर्दा बेल्जियमको सुरक्षा खतरामा परेजस्तो देखिन्थ्यो र त्यही नै मेरो खतराको प्रमाण हो भनियो। तसर्थ, इमिलिया र मलाई स्वीट्‌जरल्याण्डमा खटाइयो। त्यहाँ हामीले फ्रान्सेली भाषी इलाकामा क्षेत्रीय कार्य थाल्यौं।

सन्‌ १९५९ मा साउथ लान्सिङ, न्यु योर्कमा राज्य सेवकाई पाठशाला अर्थात्‌ मसीही प्राचीनहरूलाई थप प्रशिक्षण प्रदान गर्ने पाठशालाको स्थापना भयो। मैले त्यहाँ प्रशिक्षण लिने निमन्त्रणा पाएँ किनकि त्यही पाठशाला मैले युरोपमा सञ्चालन गर्नु थियो। संयुक्‍त राज्यमा हुँदा सेन्ट जोसेफ, मिसोरी गएर आफ्नो परिवारसँग भेटघाट गरें। त्यसपछि त मेरी प्रिय मुमालाई देख्न पनि पाइनँ। जनवरी १९६२ मा उहाँ बित्नुभयो; बुबा त जून १९५५ मै बितिसक्नुभएको थियो।

पेरिस र फ्रान्समा मार्च १९६१ मा राज्य सेवकाई पाठशाला सुरु भयो। त्यहाँ इमिलियाले मलाई साथ दिइन्‌। उक्‍त पाठशालामा भाग लिन फ्रान्स, बेल्जियम र स्वीट्‌जरल्याण्डबाट जिल्ला निरीक्षकहरू, क्षेत्रीय निरीक्षकहरू, मण्डली निरीक्षकहरू तथा विशेष अग्रगामीहरू आएका थिए। त्यसपछिका १४ महिनामा, चार हप्ते कार्यक्रम हुने त्यस्तो १२ वटा कक्षाहरू सञ्चालन गरें। पछि, अप्रिल १९६२ मा इमिलिया गर्भवती भइन्‌।

परिस्थितिअनुरूप काँटछाँट गर्ने

हामी जेनेभा, स्वीट्‌जरल्याण्ड फर्क्यौं। हामीसँग त्यहाँ स्थायी रूपमा बस्नसक्ने अनुमतिपत्र थियो। तथापि, डेरा पाउनु भने सजिलो थिएन किनकि एउटै घर खाली थिएन। न त जागिर पाउनु नै सजियो थियो। अन्ततः मध्य जेनेभाको एउटा ठूलो डिपार्टमेन्ट स्टोरमा जागिर पाएँ।

मैले २६ वर्ष पूर्ण-समय सेवकाईमा बिताएको हुनाले भिन्‍नै परिस्थितिमा जीवन व्यतीत गर्न निकै काँटछाँट गर्नुपऱ्‍यो। डिपार्टमेन्ट स्टोरमा २२ वर्षसम्म जागिर खाँदा तथा हाम्रा दुईटी छोरी लोइस र युनिसलाई लालनपालन गर्दा हामीले सधैं परमेश्‍वरको राज्यसम्बन्धी कुराहरूलाई नै प्राथमिकता दिएका छौं। (मत्ती ६:३३) सन्‌ १९८५ मा जागिरबाट अवकाश पाएपछि समय-समयमा क्षेत्रीय निरीक्षकको हैसियतमा सेवा गर्दैछु।

इमिलियाको स्वास्थ्य त्यति राम्रो छैन। तर पनि आफ्नो बलबर्कतले भ्याएसम्म सेवकाईमा भाग लिन्छिन्‌। लोइसले दस वर्षसम्म अग्रगामीको हैसियतमा सेवा गरिन्‌। सन्‌ १९९३ मा मस्कोमा सम्पन्‍न अन्तरराष्ट्रिय अधिवेशनमा उसँग साह्रै राम्रो आध्यात्मिक कुरा पाएका थियौं! त्यसपछि केही दिन नबित्दै, बिदा मनाउन अफ्रिकाको सेनेगल गएको बेला समुद्रमा पौडी खेल्दा लोइसको मृत्यु भयो। उसको अन्त्येष्टि क्रियामा म सेनेगल गएँ। त्यतिखेर अफ्रिकी भाइहरू तथा मिसनेरीहरूले देखाएको प्रेम तथा दया मेरोलागि सान्त्वनाको ठूलो स्रोत भयो। पुनरुत्थानद्वारा पुनः लोइसलाई भेट्‌न म साह्रै उत्सुक छु!—यूहन्‍ना ५:२८, २९.

चार दशकभन्दा बढी समयसम्म मायालु साथीको सच्चा सहयोग पाएकोले म साह्रै कृतज्ञ छु। साँच्चै, आफ्नो मनोव्यथा तथा दुःखकष्टको बावजूद पनि यहोवाको अनुग्रहले खुसी अनुभव गरेको छु र जीवन सार्थक भएको छ। यहोवा परमेश्‍वरबारे बाइबलका भजनरचयिताले भनेका शब्दहरू घोषणा गर्न मेरो हृदय उत्प्रेरित हुन्छ: “किनकि तपाईंको करुणा जीवनभन्दा उत्तम छ, मेरा ओठले तपाईंको प्रशंसा गर्नेछ।”—भजन ६३:३.

[पृष्ठ २६-मा भएको चित्र]

फोनोग्राफ प्रयोग गरेर व्यापक प्रचारकार्य गऱ्‍यौं

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९३६ मा मेरा बुबामुमा

[पृष्ठ २६-मा भएको चित्र]

बेल्जियममा १९४८ मा सडक साक्षी दिंदै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने