राज्य उद्घोषकहरूका रिपोर्ट
परमेश्वरले अलास्कामा वृद्धि गराउनुभयो
हिउँ तथा बरफको पत्रमनि एउटा सानो बीउले अंकुराउने मौका पर्खिरहेको हुन्छ। अलास्काको तीन महिने छोटो ग्रीष्म ऋतुभित्र ३ मिलिमिटर व्यास भएको एउटा सानो बीउ बढेर ४० किलोग्रामको बन्दा बन्नसक्छ! हो, कुनै समय मानिसहरूले निर्जन, हिउँ नै हिउँले ढाकिएको बंजर जमीन ठानेको यस भूमिले प्रशस्त फल फलाउनसक्छ।
यो विशेषगरि अलास्काको आध्यात्मिक क्षेत्रको सन्दर्भमा साँचो साबित भएको छ। हिउँद असाध्यै लामो हुने यस इलाकाका साक्षीहरूले राज्यको बीउ रोप्न छोडेका छैनन्। पृथ्वीका अन्य भागहरूमा जस्तै परमेश्वरले फलदायी हृदयहरूमा बीउ बढाउनुहुन्छ।—१ कोरिन्थी ३:६, ७.
● भानिसा नाउँकी साक्षीले आफ्नी साथी एन स्कूल बसमा सधैं अलग्गै बस्ने गरेको याद गरिरहेकी थिइन्। एन दुःखी देखिन्थिन्। त्यसकारण भानिसाले एनलाई आफूसँगै बस्न बोलाइन्। एन दुःखी नहून् पनि किन! उनकी आमाको हृदयघातबाट मृत्यु भएको थियो र त्यसको धेरै समय नबित्दै उनको बुबाको पनि क्यान्सरले मृत्यु भयो। त्यसैकारण, एन आफ्ना नातेदारहरूसित अलास्कामा बसिरहेकी थिइन्।
शनिबार क्षेत्र सेवकाईमा जाँदा भानिसा यस नयाँ साथीको घरमा गई उनलाई के परमेश्वरले साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिका दिइन्। त्यसपछिको आइतबार एनले उक्त साक्षीलाई खोज्न थालिन्। एनका थुप्रै प्रश्नहरूको भानिसाले जवाफ दिइन्। उनले सोधिन्, “तिमी उपासनाको लागि कहाँ भेला हुन्छौ?” त्यही साँझ एन राज्य भवनको सभामा पहिलो पटक उपस्थित भइन्।
यस १७ वर्षीया टुहुरीले येशूले प्रतिज्ञा गर्नुभएझैं छिट्टै थुप्रै ‘बुबा’ तथा ‘आमाहरू’ पाउन थालिन्। (मत्ती १९:२९) अनि यस हँसमुख एनले “ईश्वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनमा यहोवाप्रतिको समर्पणलाई पानीको बप्तिस्माद्वारा दर्शाएको हेर्न पाउनु असाध्यै आनन्दमय सुअवसर थियो!
● गाउँहरूबीचको दूरी सयौं किलोमिटर टाढा, विशाल अलास्काको आर्कटिक क्षेत्रका १५० भन्दा बढी समुदायहरूमा राज्यको बीउ रोप्न वाच टावर सोसाइटीले सानो हवाइजहाज प्रयोग गर्ने गरेको छ। तर आध्यात्मिक प्रगतिको लागि बाइबलको नियमित अध्ययन पत्राचारद्वारा गरिन्छ। चिठी लेख्नु भनेको सजिलो काम होइन, त्यसैले विद्यार्थीको चासो ताजा राख्न बाइबल शिक्षक सृजनशील हुनुपर्छ। यो कसरी गर्न सकिन्छ?
आफू बसेको ठाउँभन्दा ६०० किलोमिटर टाढा बस्ने भए तापनि एड्नासित क्याथीले प्रगतिशील बाइबल अध्ययन सञ्चालन गरिन्! अध्ययन सहायक पुस्तकका प्रश्नहरू खुरूखुरू सार्नुको साटो क्याथीले जवाफ लेख्ने ठाउँ भएको एउटा बेग्लै प्रश्न पत्र बनाउँथिन्। एड्नाले प्रश्नहरू लेखिसकेपछि क्थाथीले जवाफ फर्काउँथिन् र कुनै एउटा बुँदा प्रस्ट पार्न आवश्यकताअनुसार टिप्पणीहरू थप्थिन्। क्याथी भन्छिन्: “मैले हरेक बुधवार साँझ हाम्रो ‘अध्ययनको’ लागि छुट्याएकी थिएँ र अन्य बाइबल अध्ययन तालिकाजस्तै यो नटुटाउने प्रयास गरें। मैले एड्नालाई टिकट टाँसिसकेको खाम पनि पठाउँथें। हुलाकमा दुई हप्ता लाग्ने भएकोले पत्राचारद्वारा बाइबल अध्ययन अलि सुस्तजस्तो लाग्थ्यो।”
पत्राचारद्वारा दश महिना अध्ययन गरिसकेपछि आंकोराज जिल्ला अधिवेशनमा क्याथी र एड्नाको भेट हुँदा तिनीहरू कति हर्षित भए होलान्, कल्पना गर्नुहोस्! अलास्काका थुप्रै दुर्गम गाउँका बाइबल विद्यार्थी तथा अन्य जिज्ञासुहरू उक्त अधिवेशनमा उपस्थित भएको देख्दा साक्षीहरू रमाए।
कहिलेकाहीं वृद्धि सुस्त देखिए तापनि सत्यको ज्योति पाएपछि केही “बीऊहरू” छिट्टै अंकुराउँछन्। अलास्कामा औसतन प्रति वर्ष यहोवाका एक सयभन्दा बढी नयाँ प्रशंसकहरूले बप्तिस्मा लिन्छन्! यसरी बढाउनुभएको लागि हामी भन्छौं, “धन्यवाद यहोवा”!