प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ४/१५ pp. ९-१४
  • विश्‍वास र तपाईंको भविष्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वास र तपाईंको भविष्य
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विगत कस्तो थियो?
  • मानिसले समाधान गर्नसक्दैन
  • यहोवाका साक्षीहरू भविष्यलाई कुन दृष्टिकोणले हेर्छन्‌
  • मानव शासनको भविष्य
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
  • यहोवाले आफ्ना उद्देश्‍यहरू पूरा गर्नुहुन्छ भनी भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • मेरो भविष्य कस्तो छ?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुने
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • पृथ्वीको नयाँ शासक–परमेश्‍वरको राज्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ४/१५ pp. ९-१४

विश्‍वास र तपाईंको भविष्य

“विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता . . . हो।”—हिब्रू ११:१.

१. अधिकांश मानिसहरू कस्तो भविष्य चाहन्छन्‌?

के तपाईं भविष्यमा हुने कुराहरूमा चासो राख्नुहुन्छ? अधिकांश मानिसहरू चासो राख्छन्‌। तिनीहरू शान्तिमय भविष्य, डरत्रास नभएको, सन्तोषप्रद जीवन, फलदायी र रमाइलो काम, सुस्वास्थ्य तथा दीर्घायु हुन चाहन्छन्‌। निस्सन्देह, इतिहासमा हरेक पीढीले यस्ता कुराहरूको अपेक्षा गरेका थिए भन्‍नुमा दुई मत छैन। अनि आजको संसार दुःखकष्टको अखडा बनेकोले यस्तो अवस्था पहिलेभन्दा झनै अपेक्षित भएको छ।

२. एक जना राजनीतिज्ञले भविष्यबारे कस्तो दृष्टिकोण व्यक्‍त गरे?

२ अहिले मानिसजाति २१ औं शताब्दीमा प्रवेश गर्नलागेको छ। के यस्तो स्थितिमा भविष्य कस्तो होला भनी निर्क्योल गर्ने कुनै तरिका छ? एउटा तरिका आजभन्दा २०० वर्षअघि अमेरिकी राजनीतिज्ञ पेट्रिक हेनरीले बताएका थिए। तिनले भने: “विगतको आधारमा बाहेक अरू तरिकाबाट भविष्य अनुमान गर्न सकिन्छ जस्तो मलाई लाग्दैन।” यो दृष्टिकोणअनुसार, विगतमा गरेका कामकुराको आधारमा मानव परिवारको भविष्य धेरथोर जान्‍न सकिन्छ। थुप्रै मानिसहरू यस्तो विचारसित सहमत छन्‌।

विगत कस्तो थियो?

३. भविष्यका प्रत्याशाहरूबारे इतिहासको रेकर्डले के संकेत गर्छ?

३ विगतले नै काँचुली फेरेर भविष्यको रूप लिने हो भन्‍ने सुन्दा के तपाईंलाई प्रोत्साहनदायी लाग्यो? के वर्षौंदेखि चल्दै आएको पीढीको भविष्य उत्तम हुँदै आएको छ? अहँ, छैन। हजारौं वर्षअघिदेखि मानिसहरूले उत्तम भविष्यको आशा गर्दै आए तापनि अनि केही मुलुकहरूमा भौतिक विकास भए तापनि इतिहास वस्तुतः अत्याचार, अपराध, युद्ध तथा गरिबीले ओगटेको छ। मुख्यतः असन्तोषप्रद मानव शासनको कारण यस संसारमा एकपछि अर्को विपत्ति खनिएको छ। बाइबल उपयुक्‍त ढंगमा यसो भन्छ: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।”—उपदेशक ८:९.

४, ५. (क) मानिसहरू २० औं शताब्दीको प्रारम्भतिर किन आशावादी थिए? (ख) तिनीहरूले सजाएको भविष्यको आशा के भयो?

४ वास्तविकता के हो भने झन्‌ झन्‌ व्यापक तथा हानिकारक रूपमा विपत्तिजनक मानव इतिहास दोहरिन्छ। यसको ज्वलन्त प्रमाण यो २० औं शताब्दी हो। के मानवजातिले विगतका गल्तीबाट पाठ सिकेर त्यस्तो गल्ती गर्न छाडे? यस शताब्दीको प्रारम्भतिर थुप्रै मानिसहरूले उत्तम भविष्य होला भन्‍ने विश्‍वास गरेका थिए। किनकि त्यतिखेर निकै लामो समयावधिसम्म शान्ति कायम हुनुका साथै उद्योग, विज्ञान तथा शिक्षामा उन्‍नतीको लहर चलिरहेको थियो। सन्‌ १९०० को प्रारम्भतिर विश्‍वविद्यालयका एक प्राध्यापकअनुसार त्यतिबेलाका मानिसहरूको धारणा युद्ध हुनै सक्दैन भन्‍ने थियो किनकि “मानिसहरू धेरै नै सभ्य भइसकेका थिए।” त्यतिखेरका मानिसहरूको दृष्टिकोणबारे भूतपूर्व बेलाइती प्रधानमन्त्रीले यसो भने: “मैले त्यसप्रकारको संसारमा जन्म लिएँ जहाँ सबै कुरा झन्‌ झन्‌ राम्रो हुँदै जानेछ भन्‍ने धारणा व्याप्त थियो।” तर तिनी थप्छन्‌: “अचानक १९१४ को एक बिहानी उत्तम संसारको प्रत्याशा भताभुंग भयो।”

५ त्यतिखेर उत्तम भविष्य होला भन्‍ने सबैले दृढ विश्‍वास गरेका भए तापनि नयाँ शताब्दी सुरु हुन नपाउँदै संसार मानवनिर्मित घातक विपत्ति अर्थात्‌ प्रथम विश्‍वयुद्धमा मुछियो। यो युद्ध कति भयानक थियो भन्‍ने उदाहरणका लागि १९१६ को घटना विचार गर्नुहोस्‌। त्यतिखेर बेलाइती फौजले एउटा युद्धमा फ्रान्सको सोमी नदी नजिकै जर्मन सुरक्षा फौजलाई आक्रमण गरेका थिए। एकै दिनमा २०,००० बेलाइती फौज मृत्युको मुखमा परे अनि थुप्रै जर्मन मारिए। चार वर्षसम्म मच्चिएको मारकाटमा सालाखाला दस लाख सेना तथा कैयौं जनसाधारणले ज्यान गुमाउनुपऱ्‍यो। थुप्रै मानिसहरूको मृत्यु भएकोले केही समयसम्म त फ्रान्सको जनसंख्या निकै घट्यो। आर्थिक स्थिति खस्कियो। फलस्वरूप, १९३० को दशकमा ठूलो आर्थिक मन्दी छायो। अतः कसै कसैले प्रथम विश्‍वयुद्ध सुरु भएको दिनदेखि संसार बौलायो भन्‍नु कुनै अनौठो कुरा होइन!

६. के प्रथम विश्‍वयुद्धपछि जीवन उत्तम भयो?

६ के त्यतिखेरको पीढीले आशा गरेको भविष्य त्यही थियो त? अहँ, कदापि थिएन। तिनीहरूले सजाएका आशाहरू भताभुंग भए; न ती युद्धहरूले कुनै असल कुरा नै जन्माउनसके। बरु, प्रथम विश्‍वयुद्ध छेडिएको २१ वर्ष बित्दा नबित्दै १९३९ मा पहिलेको भन्दा भयानक मानवनिर्मित विपत्ति अर्थात्‌ दोस्रो विश्‍वयुद्ध सुरु भयो। यस युद्धमा करिब पाँच करोड पुरुष, महिला तथा केटाकेटीहरूको ज्यान गयो। भारी बमबारीले कैयौं शहरहरू धूलोपिठो भए। प्रथम विश्‍वयुद्धमा लडिएको एउटा युद्धमा एकै दिनमा केही हजार सेनाहरू मारिएका थिए भने दोस्रो विश्‍वयुद्धमा त केही सेकेण्डभित्रै केवल दुइटा परमाणु बम विस्फोटनले १,००,००० भन्दा बढी मानिसहरू स्वाहा भए। थुप्रै मानिसहरूको विचारमा त्योभन्दा पनि खराब त नाजी यातना शिविरमा सिलसिलेवार ढंगमा करोडौं व्यक्‍तिहरूको हत्या गरिनु थियो।

७. यस सम्पूर्ण शताब्दीको वास्तविकता के छ?

७ विभिन्‍न स्रोतअनुसार राष्ट्र राष्ट्रबीच लडिएका युद्धहरू, गृहयुद्ध, सरकारद्वारा मारिएका नागरिकहरू सबै जोड्यो भने यस शताब्दीमा मारिएका मानिसहरूको संख्या लगभग २० करोड पुग्नेछ। अर्को स्रोतअनुसार त यो संख्या ३६ करोड हुनसक्छ। यसले उत्पन्‍न गरेका भयावह स्थितिको कल्पना गर्नुहोस्‌ त—पीडा, आँसु, वेदना अनि बीभत्स जीवन! यसबाहेक, गरिबीले गर्दा हुने रोगहरूको कारण एक दिनमा सरदर ४०,००० मानिसहरू, खासगरि केटाकेटीहरूको मृत्यु हुन्छ। हरेक दिन यसको तीन गुणा बढी गर्भपात गरिन्छ। साथै, लगभग एक अरब मानिसहरू यति गरिब छन्‌ कि दिनभरि सामान्य काम गर्नको लागि हातमुख जोड्‌नसमेत सक्दैनन्‌। यी सबै परिस्थितिहरू हामी दुष्ट रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेका छौं भन्‍ने बाइबल भविष्यवाणीका प्रमाण हुन्‌।—२ तिमोथी ३:१-५, १३; मत्ती २४:३-१२; लूका २१:१०, ११; प्रकाश ६:३-८.

मानिसले समाधान गर्नसक्दैन

८. मानव नेताहरू संसारका समस्याहरू समाधान गर्न किन असमर्थ छन्‌?

८ यो २० औं शताब्दी बित्न लागेको छ। यस शताब्दीका अनुभवहरू विगत शताब्दीहरूका अनुभवहरूसँग जोड्‌नसक्छौं। अनि त्यसले के बताउँछ? त्यसले यही बताउछ कि मानव नेताहरूले संसारका प्रमुख समस्याहरू कहिल्यै समाधान गर्नसकेनन्‌, अहिले पनि सकिरहेका छैनन्‌, भविष्यमा पनि सक्नेछैनन्‌। तिनीहरूको मनसाय जतिकै राम्रो किन नहोस्‌ हामीले चाहेजस्तो भविष्य दिनु तिनीहरूको क्षमता बाहिरको कुरा हो। अनि कतिपय अख्तियारवालाहरू राम्रो मनसायका हुँदैनन्‌; तिनीहरू अरूको हितका लागि होइन आफ्नै स्वार्थ तथा भौतिक लाभ पूरा गर्न ओहदा र शक्‍ति खोज्छन्‌।

९. विज्ञानले मानिसहरूको समस्या समाधान गर्ला भनेर शंका गर्ने कारण किन छ?

९ के विज्ञानले समस्या समाधान गर्ला त? अहँ, विगतलाई विचार गर्ने हो भने गर्नसक्दैन। सरकारी वैज्ञानिकहरूले भयंकर विनाशकारी रासायनिक, जैविक तथा अन्य प्रकारका हातहतियार उत्पादन गर्न पैसा, समय र पसिनाको खोला बगाइरहेका छन्‌। हातमुख जोर्न धौधौ पर्ने गरिब राष्ट्रलगायत संसारका विभिन्‍न राष्ट्रहरूले अस्त्रशस्त्रमा हरेक वर्ष सात खरब अमेरिकी डलरभन्दा बढी खर्च गर्छन्‌! साथै, वायु, जल तथा खाद्यान्‍न प्रदूषित गर्ने रासायनिक पदार्थका लागि केही हदसम्म ‘वैज्ञानिक प्रगति’ जिम्मेवार छ।

१०. किन शिक्षाले समेत उत्तम भविष्य निश्‍चित गर्नसक्दैन?

१० के शैक्षिक संस्थाहरूले उच्च नैतिक स्तर कायम गरेर अरूको ख्याल गर्ने तथा छिमेकीप्रति प्रेम देखाउने पाठ सिकाएर उत्तम भविष्य निर्माण गर्न मदत देलान्‌ भनी आशा गर्न सकिन्छ? अहँ, सकिंदैन। बरु, ती संस्थाहरू पेशा र पैसा कमाउने कुरामा ध्यान दिन्छन्‌। तिनीहरूले सहयोगी भावना होइन प्रतिस्पर्धाको भावना विकास गर्छन्‌। न त स्कूलले नै नैतिकता सिकाउँछ। बरु, थुप्रै स्कूलले यौन सम्पर्कप्रति आँखा चिम्लन्छन्‌ जसले गर्दा गर्भवती किशोरीहरू र यौनजन्य रोगहरू चुलिएको छ।

११. व्यापारिक उद्योगले भविष्यप्रति कसरी शंका उत्पन्‍न गरेको छ?

११ के संसारका ठूलठूला व्यापारिक उद्योगहरू नाफा खाने हिसाब मात्र नराखी साँच्चै फाइदाजनक सामग्रीहरू उत्पादन गरेर पृथ्वीको ख्याल तथा अरूप्रति प्रेम गर्न एकाएक उत्प्रेरित होलान्‌? होलान्‌ जस्तो देखिंदैन। के तिनीहरूले मानिसहरूको, त्यसमा पनि खासगरि जवानहरूको मनमस्तिष्क भ्रष्ट पार्ने हिंसात्मक तथा अनैतिक कुरा भरिभराउ भएको टेलिभिजन कार्यक्रम उत्पादन गर्न छोड्‌लान्‌? बितेका वर्षहरू हेर्दा त्यति प्रोत्साहनजनक देखिएन किनकि गत वर्षहरूमा टिभी त अनैतिकता र हिंसाको अखडा बन्यो।

१२. बिमारी तथा मृत्युको सन्दर्भमा मानव अवस्था कस्तो छ?

१२ यसबाहेक, औषधीवेत्ताहरू जति नै निष्कपट किन नहोऊन्‌, तिनीहरूले बिमारी र मृत्यु रोक्न सक्दैनन्‌। उदाहरणका लागि, तिनीहरूले प्रथम विश्‍वयुद्धको अन्ततिर फैलिएको स्पेनी ज्वरो रोक्न सकेनन्‌। यसले संसारभरि दुई करोड मानिसहरूको ज्यान लिएको थियो। आज मुटुको रोग, क्यान्सर तथा अन्य घातक रोगहरू जताततै छ्यासछ्यास्ती छन्‌। अनि औषधीजगत्‌ले एड्‌सको वर्तमान महामारी पनि रोक्न सकेको छैन। बरु, संयुक्‍त राष्ट्रद्वारा नोभेम्बर १९९७ मा प्रकाशित प्रतिवेदनअनुसार पूर्वानुमान गरिएभन्दा दुई गुणा बढी एड्‌स भाइरस फैलिरहेको छ। करोडौं मानिसहरू यसको शिकार भइसकेका छन्‌। बितेको वर्षमा ३० लाख मानिसहरू संक्रमित भएका छन्‌।

यहोवाका साक्षीहरू भविष्यलाई कुन दृष्टिकोणले हेर्छन्‌

१३, १४. (क) यहोवाका साक्षीहरू भविष्यलाई कुन दृष्टिकोणले हेर्छन्‌? (ख) किन मानिसहरूले उत्तम भविष्य ल्याउनसक्दैनन्‌?

१३ तथापि, मानिसजातिको भविष्य उज्ज्वल अनि सर्वोत्तम छ भनी यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌! तर तिनीहरू त्यो उज्ज्वल भविष्य मानव प्रयासद्वारा आउने आशा गर्दैनन्‌। बरु, तिनीहरू सृष्टिकर्ता अर्थात्‌ यहोवा परमेश्‍वरको बाटो हेर्छन्‌। उहाँले मानिसजातिको भविष्य अद्‌भुत हुनेछ भनी जान्‍नुहुन्छ! मानिसहरूले त्यस्तो भविष्य ल्याउन सक्दैनन्‌ भनेर पनि उहाँलाई थाह छ। परमेश्‍वरले सृष्टि गर्नुभएकोले उहाँलाई मानिसको सीमितताबारे जति थाह छ, त्यो अरू कसैलाई थाह छैन। मानिसहरू ईश्‍वरीय निर्देशनबिना शासन गर्नसक्ने क्षमतासहित सृष्टि गरिएका थिएनन्‌ भनेर उहाँले आफ्नो वचनमा सुस्पष्ट बताउनुभएको छ। परमेश्‍वरले मानिसहरूलाई उहाँको हस्तक्षेपबिना शासन चलाउने लामो समयावधि दिनुभएर तिनीहरू शासन चलाउन असक्षम छ भन्‍ने प्रमाणित भइसकेको छ। एक लेखकले यसरी स्वीकृति जनाए: “मानिसले हर प्रकारको सार्वभौमिकता छानेर हेरिसक्यो तर केही फाइदा भएन।”

१४ यर्मिया १०:२३ मा हामी प्रेरित अगमवक्‍ताका यस्ता शब्दहरू पढ्‌छौं: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” साथै, भजन १४६:३ यसो भन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।” हो, रोमी ५:१२ अनुसार हामी असिद्धतामा जन्मेका हुनाले आफैलाई समेत भरोसा नगर्नू भनी परमेश्‍वरको वचनले चेताउनी दिन्छ। यर्मिया १७:९ भन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ।” तसर्थ, हितोपदेश २८:२६ घोषणा गर्छ: “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो तर बुद्धिको मार्गमा हिंडने सुरक्षित रहनेछ।”

१५. हामीलाई डोऱ्‍याउने ज्ञान कहाँ पाउनसक्छौं?

१५ यस्तो बुद्धि कहाँ पाउनसक्छौं? “परमप्रभुको डर मान्‍नु बुद्धिको प्रथम खुड़किलो हो, परम-पवित्रको ज्ञाननै समझ-शक्‍ति हो।” (हितोपदेश ९:१०) अहिले यो डरलाग्दो समयमा डोऱ्‍याउनसक्ने ज्ञान यहोवासँग मात्र छ। अनि उहाँले पवित्र धर्मशास्त्र बाइबल मार्फत त्यो ज्ञान दिनुभएको छ जो हाम्रै निर्देशनको लागि उहाँले प्रेरित गराउनुभयो।—हितोपदेश २:१-९; ३:१-६; २ तिमोथी ३:१६, १७.

मानव शासनको भविष्य

१६. कसले भविष्य निर्धारित गरेको छ?

१६ त्यसोभए, परमेश्‍वरको वचनले भविष्यबारे के बताउँछ? मानिसहरूले विगतमा गरेका कामअनुरूप भविष्य पक्कै पनि हुनेछैन भनेर यसले बताउँछ। अतः पेट्रिक हेनरीको दृष्टिकोण गलत थियो। यस पृथ्वी तथा पृथ्वीबासीहरूको भविष्य मानिसहरूले होइन यहोवा परमेश्‍वरले निर्धारण गर्नुहुन्छ। पृथ्वीमा उहाँको इच्छा पूरा हुनेछ न कि यस संसारका कुनै राष्ट्र वा व्यक्‍तिहरूको। “मानिसको मन योजनाले भरिएको हुन्छ, तर परमप्रभुको उद्देश्‍यनै प्रबल हुन्छ।”—हितोपदेश १९:२१.

१७, १८. हाम्रो समयको लागि परमेश्‍वरको इच्छा के छ?

१७ हाम्रो समयका लागि परमेश्‍वरको इच्छा के छ? यस हिंसात्मक, अनैतिक रीतिरिवाजको जरै उखेल्ने उहाँको उद्देश्‍य छ। शताब्दीयौंदेखि चल्दै आएको दुष्ट मानव शासनको ठाउँ अब चाँडै ईश्‍वरीय शासनले लिनेछ। दानियल २:४४ को भविष्यवाणी यसो भन्छ: “ती राजाहरूका [अहिलेका राजाहरू] समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य [स्वर्गमा] खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” मानिसहरूले हटाउनै नसक्ने शैतान अर्थात्‌ दियाबलका दुष्ट प्रभावहरू पनि परमेश्‍वरको राज्यले हटाउनेछ। यस संसारमा उहाँको राज्यधिकार सधैंभरि रहिरहनेछ।—रोमी १६:२०; २ कोरिन्थी ४:४; १ यूहन्‍ना ५:१९.

१८ याद गर्नुहोस्‌, स्वर्गीय सरकारले हरेक प्रकारको मानव शासन चक्नाचूर पार्नेछ। मानिसहरूले यस पृथ्वीमा शासन गर्ने छैनन्‌। स्वर्गमा परमेश्‍वरको राज्यका सदस्य हुनेहरूले मानिसजातिको हितको लागि पृथ्वीका सबै मामला सम्हाल्नेछन्‌। (प्रकाश ५:१०; २०:४-६) पृथ्वीमा विश्‍वासी मानिसहरूले परमेश्‍वरका राज्यका निर्देशकहरूलाई सहयोग गर्नेछन्‌। यो त्यो शासन हो जसबारे येशूले यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:१०.

१९, २०. (क) बाइबलले परमेश्‍वरको राज्य प्रबन्धबारे कसरी वर्णन गर्छ? (ख) राज्य शासनले मानिसजातिका लागि के गर्नेछ?

१९ यहोवाका साक्षीहरू परमेश्‍वरको राज्यमाथि विश्‍वास राख्छन्‌। यो त्यो “नयाँ स्वर्ग” हो जसबारे प्रेरित पत्रुसले यसरी लेखे: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) “नयाँ पृथ्वी” चाहिं नयाँ मानव समाज हो जसमा नयाँ स्वर्ग अर्थात्‌ परमेश्‍वरको राज्यले शासन गर्नेछ। यो त्यही प्रबन्ध हो जसको विषयमा परमेश्‍वरले प्रेरित यूहन्‍नालाई दर्शन दिनुभयो। तिनले यसरी लेखे: “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी ता बितिहाले, . . . [परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:१, ४.

२० याद गर्नुहोस्‌, नयाँ पृथ्वी धार्मिक हुनेछ। सबै अधर्मी तत्त्वहरू ईश्‍वरीय हस्तक्षेप अर्थात्‌ आरमागेडोनको युद्धद्वारा हटाई सकिएको हुनेछ। (प्रकाश १६:१४, १६) यसबारे हितोपदेश २:२१, २२ मा यस्तो भविष्यवाणी गरिएको छ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌।” अनि भजन ३७:९ यस्तो प्रतिज्ञा गर्छ: “कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌।” के तपाईं त्यस्तो नयाँ संसारमा बस्न चाहनुहुन्‍न र?

यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌

२१. हामी यहोवाका प्रतिज्ञाहरूमा किन विश्‍वास गर्नसक्छौं?

२१ के हामी यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नसक्छौं? आफ्नो अगमवक्‍ता यशैया मार्फत उहाँ के भन्‍नुहुन्छ, सुन्‍नुहोस्‌: “अघि अघिका पुराना कुराहरूलाई सम्झ, किनकि म परमेश्‍वर हुँ, औ मबाहेक अरू कोही छैनँ। म परमेश्‍वर हुँ, म जस्तै अरू कोही छैन। म आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू यसो भनेर घोषणा गर्छु, ‘मेरो उद्देश्‍य ठहर्नेछ, र म आफ्नो सबै इच्छा पूरा गर्नेछु।’ ” पद ११ को अन्तिम भाग यसो भन्छ: “मैले यो अभिप्राय गरेको छु। र म त्यो गर्नेनै छु।” (यशैया ४६:९-११) हो, यहोवा तथा उहाँका प्रतिज्ञाहरू मानौं पूरा भइसकेझैं निश्‍चित भएर विश्‍वास गर्नसक्छौं। यसबारे बाइबल यसो भन्छ: “विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो।”—हिब्रू ११:१.

२२. यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर किन विश्‍वस्त हुनसक्छौं?

२२ नम्र मानिसहरू यस्तो विश्‍वास प्रदर्शित गर्छन्‌ किनकि परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भनी तिनीहरूलाई थाह छ। उदाहरणका लागि, भजन ३७:२९ हामी यसरी पढ्‌छौं: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” के हामी यो विश्‍वास गर्नसक्छौं? अवश्‍य सक्छौं, किनकि हिब्रू ६:१८ भन्छ: “परमेश्‍वरलाई झूट बोल्न असम्भव छ।” के नम्र जनहरूलाई अधिकार गर्न दिन परमेश्‍वर पृथ्वीको मालिक हुनुहुन्छ र? प्रकाश ४:११ घोषणा गर्छ: “सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” तसर्थ, भजन २४:१ भन्छ: “पृथ्वी र त्यसमा भएका जे जति थोक छन्‌, सबै परमप्रभुकै हुन्‌।” यहोवाले पृथ्वी सृष्टि गर्नुभयो, यसको मालिक उहाँ हुनुहुन्छ र उहाँलाई विश्‍वास गर्नेहरूलाई यो दिनुहुन्छ। यस कुरामा विश्‍वस्त हुन यहोवाले बितेको समयमा आफ्ना जनहरूसँग गर्नुभएका प्रतिज्ञाहरू कसरी पूरा गर्नुभयो साथै हाम्रो समयमा कसरी पूरा गरिरहनुभएको छ अनि भविष्यमा पनि पूरा गर्नुहुनेछ भनेर किन विश्‍वस्त हुनसक्छौं, अर्को लेखले प्रस्ट पार्नेछ।

पुनरावलोकनका लागि प्रश्‍नहरू

◻ इतिहासभरि मानिसहरूले सजाएको आशा के भएको छ?

◻ उत्तम भविष्यको लागि किन मानिसहरूको मुख ताक्नु हुँदैन?

◻ भविष्यबारे परमेश्‍वरको इच्छा के छ?

◻ परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर किन विश्‍वस्त छौं?

[पृष्ठ १०-मा भएको चित्र]

बाइबल एकदमै उपयुक्‍त ढंगमा भन्छ: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३

[स्रोत]

बम: U.S. National Archives photo; भोका बालबालिका: WHO/OXFAM; शरणार्थीहरू: UN PHOTO 186763/J. Isaac; मुसोलिनी र हिटलर: U.S. National Archives photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने