प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ६/१ pp. २८-३१
  • भीषण परीक्षाहरू आउँदा पनि सँभालिएकी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भीषण परीक्षाहरू आउँदा पनि सँभालिएकी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहूदी पृष्ठभूमि
  • परीक्षाहरू सुरु भए
  • मैले भोग्नुपरेको सबैभन्दा नराम्रो परीक्षा
  • राहत पाएको समय
  • अस्वीचमा जीवितै रहें
  • अन्य शिविरहरूमा पनि बचें
  • छुटकारा अनि त्यसपछिको जीवन
  • परीक्षाको बावजूद मेरो आशा उज्ज्वल रहिरहेको छ
    ब्यूँझनुहोस्‌!—२००२
  • मेरो प्रमुख चासो—वफादार रहनु
    ब्यूँझनुहोस्‌!—२०००
  • यहोवामा भरोसा गर्न सिकें
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • सच्चाइभन्दा उत्तम अरू केही छैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ६/१ pp. २८-३१

भीषण परीक्षाहरू आउँदा पनि सँभालिएकी

इभा युसेफ्सनको वृत्तान्तमा आधारित

मसीही सेवकाईमा जानुअघि हाम्रो सानो झुन्ड हंगेरी, बुडापेस्टको उइपेश्‍ट जिल्लामा छोटो सभाका लागि भेला भएको थियो। यो घटना दोस्रो विश्‍वयुद्ध सुरु हुनुभन्दा केही समयअघि सन्‌ १९३९ तिरको हो। त्यतिखेर हंगेरीमा यहोवाका साक्षीहरूको प्रचार कार्य प्रतिबन्धित थियो। खुल्लमखुल्ला बाइबल शिक्षा सिकाउनेहरू अक्सर गिरफ्तार हुन्थे।

पहिलो पटक प्रचारमा भाग लिएकोले हो कि कुन्‍नि, म अलि डराएको र आत्तिएकी देखिन्थें। त्यसकारण, एक वृद्ध मसीही भाइले मलाई यसो भन्‍नुभयो: “इभा, डराउनुपर्दैन। मानिसले पाउनसक्ने सबैभन्दा ठूलो सम्मान यहोवाको सेवा गर्नु हो।” यी मायालु तथा प्रोत्साहनजनक शब्दहरूले मलाई थुप्रै भयानक परीक्षाहरू सहन मदत गऱ्‍यो।

यहूदी पृष्ठभूमि

पाँच सन्तान भएको यहूदी परिवारकी म जेठी छोरी हुँ। आमा यहूदी मतसित सन्तुष्ट हुनुहुन्‍नथ्यो। अतः उहाँले अन्य धर्महरू जाँच्न थाल्नुभयो। यसरी उहाँले बाइबल सत्य खोजिरहेकी एउटी अर्की यहूदी आइमाई एरझाबेत स्लेजिङगर भेट्‌नुभयो। एरझाबेतले आमालाई यहोवाका साक्षीहरूसित भेट गराइदिनुभयो। फलतः मलाई पनि बाइबलका शिक्षाहरूमा असाध्यै चासो लाग्न थाल्यो। केही समयमै म आफूले सिकिरहेका कुराहरू अरूसित बाँड्‌न थालें।

सन्‌ १९४१ को गृष्म ऋतुमा १८ वर्ष लागेपछि दानुबे नदीमा बप्तिस्मा लिएर मैले यहोवा परमेश्‍वरप्रतिको समर्पण जनाएँ। आमाले पनि त्यही दिन बप्तिस्मा लिनुभयो। तर बुबाले हाम्रो नयाँ मसीही विश्‍वास ग्रहण गर्नुभएन। बप्तिस्मा लिएको लगत्तैपछि मैले अग्रगामी सेवा अर्थात्‌ पूर्ण-समय सेवकाई गर्ने योजना बनाएँ। तर त्यसो गर्न मलाई साइकल चाहिने भएकोले एउटा ठूलो कपडा कारखानाको प्रयोगशालामा काम गर्न थालें।

परीक्षाहरू सुरु भए

नाजीहरूले हंगेरी कब्जा गरेपछि मैले काम गरिरहेको कारखाना जर्मनीको रेखदेखमा संचालन हुन थाल्यो। एकदिन सम्पूर्ण कामदारहरूलाई नाजीप्रति वफादारी रहने शपथ खुवाउनका लागि सुपरिवेक्षकसमक्ष बोलाइयो। शपथ नलिएमा परिणाम भयंकर हुनेछ भनेर हामीलाई धम्की दिइएको थियो। उक्‍त समारोहमा हामीले हिट्‌लरको महिमा गर्नुपर्थ्यो तर त्यसमा भाग नलिए तापनि म आदरपूर्वक खडा भएँ। त्यही दिन मलाई अफिसमा बोलाइयो, तलब थमाइवरी त्यहाँबाट लघारिएँ। काम खोज्न निकै धौ धौ भएकोले अब अग्रगामी गर्ने सपना साकार होला कि नहोला भनेर म चिन्तित हुन थालें। तथापि, भोलिपल्टै त्योभन्दा बढ्‌ता तलब पाउने ठाउँमा नयाँ काम पाएँ।

अब भने अग्रगामी गर्ने मेरो सपना साकार हुने भयो। मैले थुप्रै अग्रगामी साथीहरूसित काम गरें र मेरी अन्तिम साथी युलिश्‍का अस्टालोश थिइन्‌। प्रस्तुत गर्न कुनै साहित्य नभएकोले सेवकाईमा हामी बाइबल मात्र चलाउँथ्यौं। चासो दिने व्यक्‍तिहरू भेट्‌दा हामी पुनःभेट गर्थ्यौं र तिनीहरूलाई हाम्रा साहित्यहरू पैंचो दिन्थ्यौं।

युलिश्‍का र मैले बारम्बार हाम्रो प्रचार इलाका परिवर्तन गरिरहनुपर्थ्यो। किनभने पादरीले ‘उसका भेडाहरूलाई’ हामीले भेटेर कुरा गरेको थाह हुनेबित्तिकै यहोवाका साक्षीहरू फेरि आए भने तिनलाई नभए प्रहरीलाई खबर गर्नू भनेर चर्चमा घोषणा गर्थे। मित्रैलो व्यक्‍तिहरूले यस घोषणाबारे हामीलाई अवगत गराएपछि हामी त्यो इलाका छोडेर अन्तै जान्थ्यौं।

एकदिन युलिश्‍का र मैले निकै चासो देखाउने ठिटोलाई भेट्यौं। हामीले फेरि भेट्‌ने प्रबन्ध मिलायौं र पढ्‌नको लागि उसलाई केही साहित्य पैंचो दियौं। तर अर्को पटक आउँदा त त्यहाँ प्रहरीहरू पो फेला पाऱ्‍यौं र हामी समातियौं अनि दूनाभेचेस्थित थानामा लगियौं। त्यो केटो त हामीलाई जालमा पार्न पो प्रयोग गरिएको रहेछ। प्रहरी थानामा पुगेपछि त्यहाँ हामीले एक जना पादरी देख्यौं र यस काममा तिनको हात रहेछ भनेर थाह पायौं।

मैले भोग्नुपरेको सबैभन्दा नराम्रो परीक्षा

त्यहाँ प्रहरी थानामा मेरो कपाल खौरियो र लगभग १२ जना प्रहरीसामु मलाई नाङ्‌गै उभ्याइयो। तिनीहरूले केरकार गर्न थाले र हंगेरीमा हाम्रो नेता को हो भनेर पत्ता लगाउन खोजे। येशू ख्रीष्टबाहेक हाम्रो अरू कोही नेता छैन भनेर मैले बुझाउन खोजें। अनि त तिनीहरूले मलाई निर्ममतापूर्वक डन्डाले दनादन पिट्‌न थाले तैपनि मैले मसीही भाइहरूलाई धोका दिइनँ।

त्यसपछि तिनीहरूले मेरो खुट्टा बाँधिदिए र हात पनि टाउको मास्तिर लगेर बाँधिदिए। अनि एक जनाले बाहेक सबैले पालैसित बलात्कार गरे। मलाई यत्ति बेस्सरी बाँधिएको थियो कि मेरो नाडीमा बसेको नीलडाम तीन वर्षसम्म पनि मेटिएन। मसित गरिएको पाशविक व्यवहारको कारण भएका चोटपटकहरूमध्ये धेरैजसो अलि अलि निको नहोउञ्जेल अर्थात्‌ दुई हप्तासम्म तिनीहरूले मलाई छिंडीमा राखे।

राहत पाएको समय

पछि मलाई नाजकोनिझो शहरको झ्यालखानामा सारियो। त्यहाँ यहोवाका थुप्रै साक्षीहरू थिए। झ्यालखानामै भए तापनि त्यहाँ दुई वर्ष रमाउँदै बितायौं। हामी गोप्य तरिकामा सभाहरू संचालन गर्थ्यौं र ती धेरथोर मण्डलीका सभाहरूजस्तै थिए। अनौपचारिक साक्षी दिने थुप्रै मौकाहरू पनि हामीले पायौं। त्यही झ्यालखानामा मैले मेरी आमा र मलाई बाइबल सत्य चिनाउने एरझाबेत स्लेजिङगरकी साक्खै दिदी ओल्गा स्लेजिङगरलाई भेटें।

सन्‌ १९४४ सम्ममा यहूदीहरूको नामोनिसान मेटाउने प्रण नाजीहरूले गरेका थिए र हंगेरीमा तिनीहरूले त्यसै गर्ने योजना गरे। एक दिन तिनीहरू ओल्गा र मलाई लिन आए। हामीलाई गाईबस्तु ओसार्ने डिब्बामा राखियो र चेकोस्लाभाकिया हुँदै निकै थकाइलाग्दो यात्रा पार गरेर गन्तव्य स्थान, दक्षिणी पोल्याण्डस्थित अस्वीचको मृत शिविरमा पुग्यौं।

अस्वीचमा जीवितै रहें

ओल्गा साथै हुँदा म सुरक्षित महसुस गर्थें। कठिन परिस्थितिहरूमा पनि तिनी हाँसिरहन सक्थिन्‌। अस्वीचमा पुगेपछि हामीलाई कुख्यात डा. मेङजेलअघि उभ्याइयो। उसको काम नयाँ आएका कैदीहरूमा काम गर्नसक्ने र नसक्नेहरूलाई अलग अलग पार्नु थियो। काम गर्न नसक्नेहरू ग्याँस भट्टीमा पठाइन्थे। हाम्रो पालो आउँदा मेङजेलले ओग्लालाई सोध्यो: “कति वर्ष पुग्यौ?”

निर्भयी हुँदै र आँखा झिम्काउँदै तिनले भनिन्‌, “२०.” वास्तवमा तिनको उमेर दुई गुना बढी थियो। मेङजेल हाँस्यो र तिनलाई दायाँतिर उभिन अह्रायो। यसरी तिनी बाँचिन्‌।

अस्वीचका हरेक कैदी लुगामा लगाइएको चिह्नबाट अर्थात्‌ यहूदीहरू दाऊदको ताराबाट अनि यहोवाका साक्षीहरू बैजनी रंगको त्रिकोणबाट चिनिन्थे। तिनीहरूले हाम्रो कपडामा दाऊदको तारा सिउन खोज्दा हामीले हामी यहोवाका साक्षीहरू हौं त्यसैले हामीलाई बैजनी त्रिकोण दिनु भन्यौं। यहूदी भएकोले लज्जित भएर त होइन तर अब यहोवाका साक्षी भइसकेकाले त्यसो गरेका थियौं। लात र मुक्का वर्षाउँदै तिनीहरूले हामीलाई यहूदी चिह्न स्वीकार्न बलजफ्ती गर्न खोजे। तर तिनीहरूले हामीलाई यहोवाका साक्षीको रूपमा ग्रहण नगरेसम्म हामी आफ्नो अडानमा टसमस भएनौं।

रहँदा बस्दा मैले मभन्दा तीन वर्ष कान्छी बहिनी एल्भिरालाई भेटें। हाम्रो परिवारको सातै जना अस्वीच लगिएका रहेछन्‌। एल्भिरा र म मात्र काम गर्न योग्य छानियौं। बुबा, आमा र हाम्रा तीन भाइबहिनीहरू ग्याँस च्याम्बरमा मारिए। त्यतिखेर एल्भिरा साक्षी थिइनन्‌ र हामी क्याम्पका एउटै ठाउँमा बस्न पाएनौं। तर तिनी बचिन्‌ र संयुक्‍त राज्यमा बसाइँ सरिन्‌। त्यहीं पेन्सिलभेनियाको पिट्‌सबर्गमा तिनी पनि यहोवाको साक्षी बनिन्‌ र पछि त्यहीं १९७३ मा तिनी बितिन्‌।

अन्य शिविरहरूमा पनि बचें

रूसीहरू नजिकिंदै आएकाले १९४४/४५ को जाडो महिनामा जर्मनहरूले अस्वीच छोड्‌ने निर्णय गरे। अतः हामीलाई जर्मनीको उत्तरी भाग बर्जन-बेलजनमा सारियो। हामी त्यहाँ पुग्ने बित्तिकै ओल्गा र म ब्राउनशिभिक शहरमा पठाइयौं। त्यहाँ हामीलाई विपक्षी सेनाहरूले गरेका भारी बमवर्षाका कारण थुप्रिएका फोहर कसिंगर सफा गराउन खोजेका थिए। ओल्गा र मैले यस विषयमा छलफल गऱ्‍यौं। यस्तो काम गर्दा हाम्रो तटस्थता भंग हुने हो कि भनेर पक्का नभएकोले हामीले उक्‍त कार्य नगर्ने निर्णय गऱ्‍यौं।

हाम्रो निर्णयले निकै तहल्का मच्चायो। हामीलाई छालाको कोर्राले पिटेर गोली ठोकेर मार्ने ठाउँमा लगियो। यस विषयमा फेरि विचार गर्न हामीलाई एक मिनेट दिइयो र हामी अडिग भइरह्‍यौं भने गोली ठोकिनेछ पनि भनियो। हामीले विचार गरिसक्यौं फेरि विचार गरिरहनुपर्दैन भन्यौं। शिविरका कमाण्डरले मात्र मृत्युदण्डको आदेश दिनसक्ने र त्यस दिन तिनी त्यहाँ उपस्थित नभएकाले हामीलाई मृत्युदण्ड दिने समय पछि सार्नुपर्ने भयो।

त्यतिञ्जेल हामीलाई दिनभरि शिविरको चौरमा उभ्याइयो। हाम्रो निगरानी गर्ने हतियारबन्ध सैनिकहरू प्रत्येक दुई घण्टामा फेरिन्थे। हामी भोकभोकै राखियौं र फेब्रुअरीको महिना भएकोले हामी चिसोले कठांग्रियौं। यस्तो दुर्व्यवहार खपेको हप्तादिन बितिसक्दा पनि कमाण्डर आइपुगेनन्‌। अतः हामीलाई ट्रकमा हालेर फेरि बर्जन-बेलजन फर्काउँदा त हामी छक्कै पऱ्‍यौं।

त्यतिञ्जेल ओल्गा र मेरो अवस्था निकै नाजुक भइसकेको थियो। मेरो कपाल निकै झरिसकेको थियो र मलाई हनहनी ज्वरो आइरहेको थियो। सानोभन्दा सानो काम गर्न पनि निकै प्रयास गर्नुपर्थ्यो। बन्दाको पातलो सुरुवा र एक टुक्रा पाउरोटी दिनभरको लागि पर्याप्त थिएन। त्यत्तिकै भरमा भए पनि काम गर्नैपर्थ्यो किनकि काम गर्न नसक्नेजति मारिन्थे। मसँगै भान्छामा काम गर्ने जर्मन बहिनीहरू मलाई छिनछिनमा आराम गर्न दिन्थे। सुरक्षाकर्मीहरू जाँच्न आउँदा ती बहिनीहरू मलाई सतर्क गराउँथे र म उठेर काम गरेजस्तो गर्थें।

एकदिन ओल्गा काममा जान सकिनन्‌ र त्यसपछि हामीले तिनलाई देखेनौं। मैले एउटी साहसी सखी गुमाएँ। एउटी त्यस्तो सँगीनी जसले मलाई शिविरमा बिताएका कठिन महिनाहरूको दौडान धेरै तरिकामा मदत गरेकी थिइन्‌। तिनी हाम्रा प्रभु येशू ख्रीष्टका सँगी अभिषिक्‍त अनुयायी थिइन्‌। त्यसैले तिनले तुरुन्तै आफ्नो स्वर्गीय इनाम पाएकी हुनुपर्छ।—प्रकाश १४:१३.

छुटकारा अनि त्यसपछिको जीवन

मे १९४५ मा युद्ध टुंगिएपछि स्वतन्त्र भएँ। तर चलहल गर्न नसक्ने भएकीले अत्याचारीहरूले बोकाएको हलो भाँचिंदा रमाउन पनि सकिनँ नता स्वतन्त्र भएकाहरूलाई निम्ताउने मुलुकहरूसम्म पुऱ्‍याउने रक्षकदलमै सामेल हुन पाएँ। फेरि बलियो हुन मलाई तीन महिनासम्म अस्पतालमा राखियो। पछि म स्वीडेन लगिएँ, र यही मुलुक मेरो नयाँ घर साबित भयो। त्यहाँ पुग्नेबित्तिकै मसीही भाइबहिनीहरूसित सम्पर्क गरें र समयमा बहुमूल्य क्षेत्र सेवकाईमा फेरि भाग लिन थालें।

सन्‌ १९४९ मा मैले लेनार्ट युसेफ्सनसित विवाह गरें। उहाँ यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षकको रूपमा वर्षौंदेखि सेवा गरिरहनुभएको थियो। विश्‍वासको कारण उहाँ पनि दोस्रो विश्‍व युद्धताक थुनिनुभएको रहेछ। सेप्टेम्बर १, १९४९ मा हामीले एक साथ अग्रगामीको जीवन सुरु गऱ्‍यौं र बुरोस भन्‍ने सानो शहरमा खटाइयौं। त्यहाँ बिताएको पहिलो वर्ष जिज्ञासुहरूसित हामीले प्रत्येक हप्ता दसवटा बाइबल अध्ययन नियमित तवरमा गर्थ्यौं। हामीले बुरोसमा नौ वर्षभित्र तीनवटा मण्डली भएको देख्न पाएकोमा असाध्यै खुसी लाग्छ। अहिले त्यहाँ पाँचवटा मण्डलीहरू छन्‌।

मैले धेरै समयसम्म अग्रगामी गर्न पाइनँ किनकि १९५० मा हाम्री छोरी जन्मिइन्‌ र यसको दुई वर्षपछि उसको भाइ जन्मियो। म मात्र १६ वर्षकी छँदा हंगेरीमा त्यस प्रिय भाइले सिकाउनुभएको त्यो बहुमूल्य सच्चाइ मैले हाम्रा छोराछोरीलाई पनि सिकाउने आनन्ददायी मौका पाएँ: “मानिसले पाउनसक्ने सबैभन्दा ठूलो सम्मान यहोवाको सेवा गर्नु हो।”

जीवनलाई नियाँल्दा चेला याकूबले अय्यूबको धीरजबारे हामीलाई सम्झना गराउँदै लेखेका कुराहरूको मर्म राम्ररी अनुभव गरेकी मैले पाएँ: “प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” (याकूब ५:११) भीषण परीक्षाहरू सहनुपरेको भए तापनि दुइटा छोराछोरी, ज्वाइँ तथा बुहारी र छ जना नातिनातिनीहरू सबै यहोवाका उपासक भएका देख्न पाउनु आशिष्‌ नै हो। यसबाहेक, मेरा थुप्रै आध्यात्मिक छोराछोरी तथा नातिनातिनी छन्‌। तिनीहरूमध्ये कतिपय त अग्रगामी वा मिसनरी रूपमा सेवा गर्दैछन्‌। मृत्युको कारण अहिले चिरनिद्रामा परेकाहरूलाई भेट्‌नु र सम्झनाको चिहानबाट निस्केर आउँदा उनीहरूलाई अँगाल्नु नै मेरो सबैभन्दा ठूलो आशा रहेको छ।—यूहन्‍ना ५:२८, २९.

[पृष्ठ ३१-मा भएको चित्र]

दोस्रो विश्‍वयुद्धपछि स्वीडेनमा प्रचारकार्य गरिरहेको

[पृष्ठ ३१-मा भएको चित्र]

मेरा श्रीमान्‌का साथमा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने