प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ९/१ pp. २४-२८
  • यहोवामा भरोसा गर्न सिकें

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवामा भरोसा गर्न सिकें
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • घोर परीक्षाहरूको सुरुआत
  • सम्झौताको समस्या
  • सतावट बढ्‌छ
  • पूर्वतिर सराइ —त्यसपछि छुटकारा
  • छुटकारा तर थप दुःखद्‌ क्षणहरू
  • अन्तमा छुटकारा!
  • राजनैतिक कार्यकर्ताबाट एक जना तटस्थ मसीही
    ब्यूँझनुहोस्‌!—२००२
  • परीक्षाको बावजूद मेरो आशा उज्ज्वल रहिरहेको छ
    ब्यूँझनुहोस्‌!—२००२
  • हामीले परमेश्‍वरको शासनको पक्षमा दृढ अडान लियौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ९/१ pp. २४-२८

यहोवामा भरोसा गर्न सिकें

यान कोर्पाओन्डोको वृत्तान्तमा आधारित

सन १९४२ को कुरा हो। म रूसको कर्स्क नजिकै हंगेरी सिपाहीहरूको रखवारीमा थिएँ। हामी दोस्रो विश्‍वयुद्धको दौडान रूसीहरूसित युद्ध लडिरहेका जर्मनी, इटाली र जापान मिली एकजूट बनेको शक्‍तिको कैदी थियौं। मेरो चिहान खनियो र अबउसो यहोवाका साक्षी होइन भनिएको दस्तावेजमा सही गर्ने नगर्ने निर्णय गर्न मलाई दस मिनेटको समय दिइयो। त्यसपछि के भयो सो बताउनुअघि म त्यहाँ कसरी आइपुगें त्यो भन्‍न चाहन्छु।

मेरो जन्म जाहोरको सानो गाउँमा सन्‌ १९०४ मा भएको थियो। त्यो ठाउँ अहिले पूर्वी स्लोभाकियामा पर्छ। प्रथम विश्‍वयुद्धपछि जाहोर भर्खरै बनेको नयाँ देश चेकोस्लाभाकियाको भाग भयो। हाम्रो गाउँमा २०० जति घरहरू र दुइटा चर्च थिए। तीमध्ये एउटा ग्रीक क्याथोलिक चर्च र अर्को चाहिं क्याल्भिनिस्ट चर्च थियो।

म क्याल्भिनिस्ट चर्च धाउँथे तैपनि नैतिक अनुशासनविहीन जीवन बिताउँथें। मेरो घर नजिकै बिल्कुलै बेग्लै प्रकारका एक व्यक्‍ति बस्थे। एक दिन तिनले मसित कुरा गरे र एउटा बाइबल दिए। त्यही दिन जीवनमा पहिलो चोटि मैले त्यो किताब समाएको थिएँ। त्यसैबेलातिर १९२६ मा मैले बार्बोरालाई विवाह गरें। हाम्रो चाँडै दुइटा छोराछोरी भए, बार्बोरा र यान।

बाइबल पढ्‌न थालें तर मैले थुप्रै कुराहरू बुझिनँ। तसर्थ, म पास्टरकहाँ मदत माग्न गएँ। तिनले भने, “बाइबल त शिक्षित मानिसहरूका लागि मात्र हो। यसलाई बुझ्ने कोसिस समेत नगर्नू।” त्यसपछि, तिनले मलाई ताश खेल्न निम्त्याए।

तत्पश्‍चात्‌, मलाई बाइबल दिने व्यक्‍तिकहाँ गएँ। तिनी त्यसताक बाइबल स्टुडेन्ट नाउँले चिनिने यहोवाका साक्षी थिए। तिनी मलाई मदत गर्न खुसी भए अनि त्यसको केही समयपछि मैले बिस्तारै बाइबलका शिक्षाहरू बुझ्न थालें। अत्यधिक पिउन छोडें र नैतिक जीवन बिताउन थालें। अरूलाई यहोवाबारे बताउन समेत सुरु गरें। जाहोरमा बाइबल सच्चाइको सुरुआत १९२० दशकको सुरुतिर भएको थियो अनि चाँडै बाइबल स्टुडेन्टहरूको एक सक्रिय समूह गठन भयो।

यद्यपि, त्यहाँ यहोवाका साक्षीहरूको घोर धार्मिक विरोध भयो। स्थानीय पादरीले म पागल भएको भन्दै मेरो परिवारको धेरैजसोलाई मेरो विरोधमा भड्‌काए। तर मेरो जीवन उद्देश्‍यपूर्ण हुन थाल्यो र मैले साँचो परमेश्‍वर यहोवाको सेवा गर्ने दृढ संकल्प गरें। तसर्थ, १९३० मा मैले यहोवालाई बप्तिस्माद्वारा मेरो समर्पण जनाएँ।

घोर परीक्षाहरूको सुरुआत

सन्‌ १९३८ मा हाम्रो प्रान्त दोस्रो विश्‍वयुद्धमा जर्मनीको पक्ष लिने हंगेरीको अधीनमा पऱ्‍यो। त्यतिबेला हाम्रो गाउँमा हजारभन्दा कम मानिसहरू थिए र हामी साक्षीहरू ५० जना जति थियौं। हामीले आफ्नो ज्यान र स्वतन्त्रतालाई खतरामा पारेर भए पनि प्रचार गरिरह्‍यौं।

त्यसको एक वर्षपछि १९४० मा मलाई हंगेरीको सेनामा भर्ती हुन बोलाइयो। अब के गर्ने? मानिसहरूले युद्धका हतियारहरू पिटेर शान्ति कायम गर्ने औजार बनाउनेछन्‌ भनेर मैले बाइबल भविष्यवाणीहरू पढेको थिएँ अनि परमेश्‍वरले समयमै पृथ्वीबाट सबै युद्धहरू हटाउनुहुनेछ भन्‍ने कुरा पनि मलाई थाह थियो। (भजन ४६:९; यशैया २:४) त्यसैले, युद्धलाई घृणा गरें र त्यसको परिणाम जस्तोसुकै भए तापनि सेनामा भर्ती नहुने निर्णय गरें।

मैले हंगेरीको पाकमा १४ महिनाको जेल सजाय पाएँ। अरू पाँच जना साक्षीहरू पनि त्यही कैदखानामा थिए। हामी एकै ठाउँमा हुन पाएकोमा खुसी भयौं। तथापि, केही समयको लागि मलाई खुट्टामा साङ्‌लाले बाँधेर एकल बन्दीगृहमा राखियो। हामीले युद्धसित सम्बन्धित काम गर्न नमान्दा पिटाइ खायौं। त्यसबाहेक, हामीलाई दिउँसो दुई घण्टाबाहेक दिनभरि उभिन लगाइन्थ्यो। यो सतावट महिनाभरि चल्यो। तैपनि, हामी खुसी थियौं किनभने परमेश्‍वरको अघि हाम्रो अन्तस्करण सफा थियो।

सम्झौताको समस्या

एक दिन हामीलाई सेनामा भर्ती भएर युद्धमा सहयोग पुऱ्‍याउन अत्यावश्‍यक छ भनी विश्‍वास दिलाउन १५ जना क्याथोलिक पादरीहरू आए। छलफलको दौडान हामीले भन्यौं: “आत्मा अमर हुन्छ र हामी युद्धमा मऱ्‍यौं भने स्वर्ग जानेछौं भनेर यदि तपाईंहरूले बाइबलबाट प्रमाणित गर्नसक्नु भएमा हामी सेनामा भर्ती हुनेछौं।” निस्सन्देह, तिनीहरूले प्रमाणित गर्न सकेनन्‌ अनि थप छलफल गर्न चाहेनन्‌।

सन्‌ १९४१ मा मेरो जेल सजाय सिद्धियो र म आफ्नो परिवारलाई भेट्‌न आतुर थिएँ। तर मेरो आशा साकार हुन सकेन किनभने मलाई साङ्‌लाले बाँधेर हंगेरीको सेरोस्पाटकस्थित सैनिक शिविरमा लगियो। हामीलाई त्यहाँ पुऱ्‍याएपछि मलाई उम्किने अवसर दिइयो। मलाई भनियो, “तिमीले घर फर्केपछि २०० पेंगो तिर्नेछु भनी कबुल गरिएको यस दस्तावेजमा हस्ताक्षर गरे पुग्छ।”

मैले सोधें, “यो कसरी हुनसक्छ? पैसा किन चाहिएको?”

मलाई बताइयो, “पैसाको बदलामा तिमीले सैनिक सेवाको लागि तिमी मेडिकल परीक्षणमा असफल भयौ भन्‍ने प्रमाण-पत्र पाउनेछौ।”

त्यो, मैले गर्नुपरेको गम्भीर निर्णय थियो। मैले अमानवीय व्यवहार सहेको एक वर्षभन्दा धेरै भइसकेको थियो; म थाकिसकेको थिएँ। अहिले, केही पैसा तिरेर मुक्‍त हुनसक्थें। मैले बिस्तारै भनें, “यसबारे विचार गर्नेछु।”

के निर्णय गर्ने? मैले पत्नी र छोराछोरीको विचार गर्नुपर्थ्यो। त्यतिबेलातिरै एक सँगी मसीहीबाट प्रोत्साहनदायी पत्र पाएँ। तिनले त्यसमा हिब्रू १०:३८ लेखेका थिए जहाँ प्रेरित पावलले यहोवाका शब्दहरू यसरी उद्धरित गरेका छन्‌: “मेरो धार्मिक जनचाहिं विश्‍वासबाट बाँच्नेछ, औ यदि उनी पछि हट्‌छ भनेता मेरो मन उनीसित खुश रहनेछैन।” त्यसको तुरुन्तैपछि, दुई जना हंगेरी अधिकृतहरूले मसित ब्यारेकमा कुरा गरे। एक जनाले यसो भने: “यति दृढतासाथ बाइबल सिद्धान्तहरूको समर्थन गरेकोमा हामी तिम्रो कत्ति आदर गर्छौं, तिमीलाई थाहै छैन! हरेस नखाऊ!”

भोलिपल्ट मलाई २०० पेंगो लिएर छोडिदिने प्रस्ताव राख्ने व्यक्‍तिहरूकहाँ गएर भनें: “यहोवा परमेश्‍वरले नै मलाई कैदमा पर्न दिनुभएकोले उहाँले नै मलाई छुटकारा पनि दिनुहुनेछ। म आफूलाई किनेर छुटकारा दिनेछैन।” तसर्थ, मलाई दस वर्षको जेल सजाय भयो। तर मलाई सम्झौता गर्न लगाउने प्रयास त्यतिमै सिद्धिएन। यदि मैले दुई महिना मात्र, त्यो पनि हतियार नबोकी सेनामा काम गरें भने मलाई क्षमा गरिनेछ भनेर अदालतले प्रस्ताव राख्यो! मैले त्यस प्रस्तावलाई पनि ठुक्राएँ र मेरो जेल सजाय सुरु भयो।

सतावट बढ्‌छ

मलाई फेरि पाकको कैदखानामा हालियो। यसपटक झन्‌ घोर सतावट दिइयो। मेरो दुइटै हात पछाडि बाँधेर ती हातको भरमा लगभग दुई घण्टासम्म झुन्डाइयो। फलतः मेरो कुमको जोर्नी खुस्कियो। यसप्रकारको यातना लगभग छ महिनासम्म बारम्बार दिइयो। तर मैले हरेस नखाएकोमा यहोवालाई मात्र धन्यवाद दिनसक्छु।

सन्‌ १९४२ मा हाम्रो एक समूह अर्थात्‌ राजनैतिक कैदीहरू, यहूदीहरू र २६ जना यहोवाका साक्षीहरूलाई जर्मन सेनाले कब्जा गरेको इलाका कर्स्क शहरमा लगियो। हामीलाई जर्मनहरूको हातमा सुम्पियो। तिनीहरूले हामीलाई शिविरमा सैनिकहरूका लागि खानेकुरा, हतियार र कपडा बोक्न लगाए। हामी साक्षीहरूले त्यो काम गर्न मानेनौं किनभने त्यसो गर्दा हाम्रो मसीही तटस्थता भंग हुन्थ्यो। फलतः हामीलाई हंगेरीहरूकहाँ नै फर्काइयो।

अन्ततः हामीलाई कर्स्कको स्थानीय कैदखानामा हालियो। त्यसपछि निकै दिनसम्म हामी रबरको लाठोले दिनको तीन पटक पिटियौं। मैले कन्चटमा एक मुक्का खाएँ र डंग्रङ्‌ग लडें। पिटाइ खाँदा सोच्थें, ‘मर्नु त्यति गाह्रो रहेनछ।’ मेरो सारा शरीर नै लाटो भइसकेकोले केही चाल पाउन सकिनँ। तीन दिनसम्म हामीलाई केही खान दिइएन। त्यसपछि, हामीलाई अदालतमा लगियो र छ जनालाई ज्यान सजाय दिइयो। त्यस ज्यान सजायपछि हामी २० जना बाँकी रह्‍यौं।

अक्टोबर १९४२ मा कर्स्कमा अनुभव गरिएको विश्‍वासको जाँच सबैभन्दा कठिन थियो। हामीमा पुरातन राजा यहोशापातले आफ्ना मानिसहरूमाथि असह्‍य कठिनाई आइपर्दा व्यक्‍त गरेजस्तै भावना उर्लियो: “हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्यदलको सामना गर्न हाम्रो केही शक्‍ति छैन। हामीले के गर्नुपर्ने हो सो हामी जान्दैनौं। हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।”—२ इतिहास २०:१२.

हामी बीसै जनालाई १८ जना हंगेरी सिपाहीहरूको रखवरीमा आफ्नो चिहान खन्‍न लगियो। चिहान खनिसकेपछि हामीलाई दस्तावेजमा हस्ताक्षर गर्न दस मिनेट दिइनेछ भनेर बताइयो। त्यस दस्तावेजको एक भाग यस्तो थियो: “यहोवाका साक्षीहरूको शिक्षा गलत हो। अब उप्रान्त म यसलाई विश्‍वास वा समर्थन गर्नेछैनँ। म हंगेरी मातृभूमिको लागि लड्‌नेछु . . . हस्ताक्षर गरेर म रोमन क्याथोलिक चर्चमा सामेल भएको पुष्टि दिन्छु।”

दस मिनेटपछि अर्डर भयो: “दायाँ घुम! चिहानतिर हिंड्‌!” त्यसपछि आज्ञा भयो: “पहिलो र तेस्रो कैदी चिहानभित्र पस्‌!” ती दुईलाई दस्तावेजमा हस्ताक्षर गर्ने नगर्ने निर्णय गर्न फेरि दस मिनेट दिइयो। एक सिपाहीले आग्रह गऱ्‍यो: “आफ्नो विश्‍वास त्यागेर चिहानबाट निस्कि आऊ!” कसैले एक शब्द बोलेन। त्यसपछि, अधिकृतले ती दुवैलाई गोली ठोके।

“बाँकी रहेकालाई के गर्ने?” एक सिपाहीले त्यस अधिकृतलाई सोध्यो।

तिनले जवाफ दिए, “तिनीहरूलाई कसेर बाँध्नू। तिनीहरूलाई अझ यातना दिएर बिहान छ बजे गोली ठोक्नेछौं।”

अचानक मलाई डर लाग्यो। मरिन्छ भनेर त होइन तर यातना सहन नसकेर सम्झौता पो गर्छु कि भनेर। तसर्थ, मैले अघि बढेर भनें: “सर, तपाईंले गोली ठोक्नुभएको हाम्रा भाइहरूको र हाम्रो गल्ती एकै हो। हामीलाई पनि किन मार्नुहुन्‍न?”

तर तिनीहरूले हामीलाई मारेनन्‌। हामीलाई पाता कसेर बाँधे। त्यसपछि, हातको भरमा झुन्डाइयो। हामी बेहोश हुँदा तिनीहरू पानी छ्याप्थे। पीडा असह्‍य थियो किनभने शरीरको भारले कुमको जोर्नी खुस्किएको थियो। हामीलाई यो यातना लगभग तीन घण्टासम्म दिइयो। त्यसपछि, अचानक यहोवाका साक्षीहरूलाई गोली नठोक्नू भन्‍ने अर्डर आयो।

पूर्वतिर सराइ —त्यसपछि छुटकारा

तीन हप्तापछि हामीलाई लावालस्कर लगाएर डान नदीको किनार पुगुञ्जेल केही दिन हिंडाइयो। हाम्रो रेखदेख गर्नेहरूले हामीलाई जिउँदो नफर्काउने कुरा बताए। दिनभरि हामीलाई खाडल खन्‍ने अनि फेरि पुर्ने बिनसित्तिको काम गर्न लगाइयो। साँझ हामीलाई केही क्षण यताउता हिंड्डुल गर्न दिइन्थ्यो।

परिस्थितिलाई नियाल्दा हामीले दुइटै मात्र विकल्प देख्यौं। हामी या त त्यहीं मर्नसक्थ्यौं वा जर्मनको हातबाट उम्केर रूसीहरूसामु आत्मसमर्पण गर्नसक्थ्यौं। तर हामीमध्ये तीन जनाले मात्र कठांग्रिने डान नदी पार गरेर उम्किने निर्णय गऱ्‍यौं। डिसेम्बर १२, १९४२ को दिन हामीले यहोवालाई प्रार्थना गऱ्‍यौं र अघि बढ्यौं। हामी रूसी सेनासामु पुग्यौं र तुरुन्तै लगभग ३५,००० कैदीहरू भएको कैदी शिविरमा हालियौं। वसन्त ऋतु लागुञ्जेल २,३०० जति कैदीहरू मात्र जीवित थिए। बाँकी भोकले मरिसकेका थिए।

छुटकारा तर थप दुःखद्‌ क्षणहरू

यो युद्ध थामिएपछि र त्यसको धेरै महिनासम्म म रूसी कैदी भएर बाँचे। अन्ततः नोभेम्बर १९४५ मा जाहोर घर फर्कें। हाम्रो फार्मको हालत गएगुज्रेको थियो। तसर्थ, मैले फेरि यसको थालनी गर्नुपऱ्‍यो। युद्धको समयमा मेरी पत्नी र छोराछोरीले फार्म चलाएका थिए तर अक्टोबर १९४४ मा रूसीहरू आएर तिनीहरूलाई पूर्वतिर धपाएका रहेछन्‌। फलतः हाम्रो सबै कुरा लुटिएको थियो।

सबैभन्दा दुःखलाग्दो कुरा त के थियो भने म घर आउँदा मेरी पत्नी सिकिस्त बिरामी थिइन्‌। फेब्रुअरी १९४६ मा तिनले सधैंको लागि आँखा चिम्लिन्‌। तिनी ३८ वर्ष मात्र पुगेकी थिइन्‌। पाँच वर्षभन्दा लामो कठिन बिछोडको समयपछि हामीले केही क्षण मात्र पुनर्मिलनको घडी बिताउन पायौं।

तर मैले सभाहरू धाएर अनि घर-घरको सेवकाईमा भाग लिएर आध्यात्मिक भाइहरूबीच सान्त्वना पाएँ। सन्‌ १९४७ मा पैसा सापटी लिएर झन्डै ४०० किलोमिटर टाढा पर्ने ब्रोनोमा सम्पन्‍न हुने अधिवेशन धाउनसकें। त्यहाँ, वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका तत्कालीन अध्यक्ष नेथन एच. नरलगायत अरू मसीही भाइहरूबाट धेरै सान्त्वना र प्रोत्साहन पाएँ।

हामीले युद्धपछि पाएको स्वतन्त्रता धेरै समयसम्म रहेन। सन्‌ १९४८ मा साम्यवादीहरूले हामीलाई दबाउन थाले। चेकोस्लाभाकियामा यहोवाका साक्षीहरूको नेतृत्व लिने थुप्रै भाइहरूलाई १९५२ मा गिरफ्तार गरियो र मण्डलीको रेखदेख गर्ने जिम्मेवारी मलाई सुम्पियो। सन्‌ १९५४ मा म पनि गिरफ्तार भएँ र मेरो चार वर्षको जेल सजाय भयो। मेरो छोरा यान र तिनका छोरा युरी पनि मसीही तटस्थताको कारण जेल परे। मैले प्रागको राज्य बन्दीगृहमा दुई वर्ष बिताएँ। सन्‌ १९५६ मा आममाफीको घोषणापछि मुक्‍त भएँ।

अन्तमा छुटकारा!

अन्ततः १९८९ मा चेकोस्लाभाकियामा साम्यवाद हट्यो र यहोवाका साक्षीहरूको काम कानुनी तवरमा दर्ता गरियो। तसर्थ, हामी खुल्लमखुल्ला भेला हुन र प्रचार गर्न स्वतन्त्र भयौं। त्यतिबेलासम्म जाहोरमा झन्डै एक सय जति साक्षीहरू थिए। त्यसको अर्थ, त्यस गाउँमा १० जनामध्ये १ जना साक्षी थिए। हामीले केही वर्षअघि जाहोरमा २०० जना अटाउने फराकिलो र सुन्दर राज्यभवन निर्माण गऱ्‍यौं।

मेरो स्वास्थ्य त्यति ठीक छैन। त्यसैले भाइहरूले मलाई राज्यभवनमा पुऱ्‍याइदिन्छन्‌। म त्यहाँ उपस्थित हुँदा रमाउँछु र मलाई प्रहरीधरहरा अध्ययनमा टिप्पणी दिन रमाइलो लाग्छ। विशेषगरि, थुप्रै नातिनातिनालगायत मेरो तीन पुस्ताका प्रतिनिधिहरूले यहोवाको सेवा गरेको देख्न पाउँदा हर्षित छु। मेरा यी नातिनातिनामध्ये एक जनाले पारिवारिक जिम्मेवारीले गर्दा छोड्‌न नपरेसम्म चेकोस्लाभाकियामा यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षकको हैसियतमा सेवा गरे।

मलाई जाँचको बेला सशक्‍त पार्नुभएकोमा यहोवाप्रति कृतज्ञ छु। मैले “अदृश्‍यलाई देखेझैं गरी” उहाँमा ध्यानकेन्द्रित गर्दा ती सबै सहने बल पाएँ। (हिब्रू ११:२७) हो, उहाँको सशक्‍त हातले मुक्‍ति दिलाएको मैले महसुस गरेको छु। त्यसैकारण, अहिले पनि म मण्डलीका सभाहरू धाउन र जनसेवकाईमा उहाँको नाउँ उद्‌घोषणा गर्ने काममा सकेसम्म निरन्तर भाग लिन प्रयास गर्छु।

[पृष्ठ २५-मा भएको चित्र]

जाहोरको राज्यभवन

[पृष्ठ २६-मा भएको चित्र]

प्रहरीधरहरा अध्ययनमा टिप्पणी गर्न पाउने सुअवसरको म मूल्यांकन गर्छु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने