गिलियड १०४ औं कक्षाको दीक्षान्त समारोह
एक रमाइलो अवसर
“आजको दिन रमाइलो छ र हामी सबै रमाइरहेका छौं।” यी शब्दहरूद्वारा यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य क्यारी बार्बरले मार्च १४, १९९८ मा आयोजित वाचटावर बाइबल स्कूल अफ गिलियडको १०४ औं कक्षाको दीक्षान्त समारोह सुरु गरे। उपस्थित ४,९४५ श्रोताहरूलाई २०८ नम्बरको “रमाहटको गीत” शीर्षक राज्य गीत गाउन निम्त्याउँदै उक्त कार्यक्रम थालियो।
आनन्दित रहन व्यवहारिक सल्लाहहरू
कार्यक्रमको प्रारम्भमा बाइबल-आधारित पाँच छोटा छोटा श्रृंखलाबद्ध भाषणहरू दिइए। उक्त भाषणहरूले स्नातक दिनमा व्याप्त आनन्दित भावलाई कसरी कायम राख्ने भन्ने विषयमा केही व्यवहारिक सुझाउहरू दिए।
पहिलो भाषण लेखन विभागका जोसेफ इम्सले प्रस्तुत गरेका थिए। तिनले “वफादार जनहरूको मनोभाव अनुकरण गर्नुहोस्” शीर्षकमा २ शमूएल अध्याय १५ र १७ को बाइबल विवरणमा आधारित भाषण दिए। ती अध्यायहरूमा दाऊदका छोरा अब्शालोमले जनतालाई विद्रोह गर्न उस्काएर आफ्ना बुबाको ईश्वरप्रदत्त राज्य हडप्ने षड्यन्त्र गरेको विवरण पाइन्छ। तथापि, यहोवाले अभिषेक गर्नुभएको राजा दाऊदप्रति वफादार भइरहनेहरू पनि थिए। यसबाट नयाँ मिसनरीहरूले के पाठ सिक्नसक्छन्? “मिसनरी भएपछि तपाईंलाई जहाँसुकै खटाइयोस्, ईश्वरतान्त्रिक अख्तियारप्रति सहयोग र आदरको मनोभावलाई बढाउनुहोस्। अरूलाई पनि त्यसै गर्न मदत गर्नुहोस्,” भन्दै भाइ इम्सले आफ्नो भाषण टुंग्याए।
त्यसपछि, डेभिड सिनक्ल्येरले भजन अध्याय १५ मा उल्लिखित ‘यहोवाको बासस्थानमा’ पाहुना हुन पूरा गर्नुपर्ने दस आवश्यकताहरू सरसरती बताए। “आफ्नो मिसनरी बासस्थानमा पाहुनासरह बसिरहनुहोस्” शीर्षक तिनको भाषणले स्नातक विद्यार्थीहरूलाई आफू पाहुना भएर जान लागेको मिसनरी क्षेत्रमा यो भजन प्रयोग गर्न प्रोत्साहित गऱ्यो। भाइ सिनक्ल्येरले हर समय ईश्वरीय स्तरअनुरूप जीवन बिताउनुपर्ने आवश्यकता प्रस्ट्याए। यसो गर्दा हुने परिणाम? भजन १५:५ जवाफ दिन्छ: “यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन।”
त्यसपछि, परिचालक निकायका सदस्य जोन बारले मसीही सभाहरूमा गीत गाउनाले उत्पन्न हुने जोसप्रति ध्यानाकर्षण गराए। आज सारा पृथ्वीभरि गाइरहेको सबैभन्दा आनन्दित गीत कुन हो? परमेश्वरको मसीही राज्यको सुसमाचार। यो राज्यबारे गीत गाएको वा प्रचार गरेकोले यसको परिणाम कस्तो भएको छ? गीत नम्बर २०८ को अन्तराले यो सुहाउँदो कुरा भनेको छ: “राज्य प्रचार र मसीही शिक्षाले थुप्रैलाई यहोवाको पक्षमा उभ्याएका छन्। यिनीहरू पनि रमाहटको गीत गाउँदैछन्, गुञ्जाउँदैछन्, हेर टाढा टाढासम्म!” हो, प्रत्येक दिन लगभग १,००० नयाँ चेलाहरूले बप्तिस्मा लिइरहेका छन्। भाइ बारले अन्तमा यसो भने: “भाइहरू हो, तपाईंहरूले गाउनुभएको प्रशंसाको गीत सुन्न पर्खिबसेका इलाकाहरूमा तपाईंहरू पठाइनु के गजबको कुरा हैन?”
लेखन विभागका जेम्स मान्ट्जले प्रस्तुत गरेका भाषणको शीर्षक थियो, “अनुभवीहरूका कुरामा कान थाप्नुहोस्।” तिनले कुनै कुनै कुराहरू आफैले अनुभव गरेपछि मात्र सिकिन्छ भने। (हिब्रू ५:८) यद्यपि, हितोपदेश २२:१७ हामीलाई ‘बुद्धिमान् मानिसको’ अर्थात् अनुभवीहरूको ‘वचन ध्यान दिएर सुन्न’ प्रोत्साहित गर्छ। स्नातक विद्यार्थीहरूले आफूअघिका मिसनरीहरूबाट थुप्रै कुराहरू सिक्नसक्छन्। भाइ मान्ट्जले भने, “तिनीहरूलाई पसलेसित मोलतोल गर्ने तरिका थाह हुन्छ। शारीरिक तथा नैतिक हानिबाट बच्न जान नहुने शहरका इलाकाहरू तिनीहरूलाई थाह हुन्छ। स्थानीय बासिन्दाहरू कुन कुराहरूमा संवेदनशील छन्, त्यो पनि तिनीहरूलाई थाह हुन्छ। आफ्नो काममा आनन्दित र सफल हुन तपाईंले के गर्नु आवश्यक छ, त्यो वर्षौंदेखि मिसनरी सेवामा लागिरहेकाहरूलाई राम्ररी थाह छ।”
“आफ्नो ईश्वरतान्त्रिक कार्यभारको मूल्यांकन गर्नुहोस्,” शीर्षकमा बोल्दै गिलियडका रजिस्ट्रार वालेस लिभरन्सले प्रेरित पावल, तिमोथी र बर्णाबासजस्ता केही मिसनरीहरूले यहोवाकै पवित्र आत्मा वा अन्य चमत्कारद्वारा कार्यभार पाएका थिए भने गिलियड तालिमप्राप्त मिसनरीहरू “विश्वासी र बुद्धिमान दास[बाट]” विश्वभरि खटाइन्छन् भने। (मत्ती २४:४५-४७) भाइ लिभरन्सले मिसनरीहरूको यो कार्यभारलाई गिदोनले मिद्यानीहरूसित लड्न आफ्ना मानिसहरूलाई खटाएको ठाउँसँग तुलना गरे। (न्यायकर्त्ता ७:१६-२१) भाइ लिभरन्सले यसरी आग्रह गरे, “आफ्नो ईश्वरतान्त्रिक मिसनरी कार्यभारको मूल्यांकन गर्नुहोस्। गिदोनका सिपाहीहरू ‘आफू बसेको ठाउँमा नै उभिरहेजस्तै’ आफ्नो कार्यभारलाई पनि तपाईं उभिरहनुपर्ने ठाउँ सम्झनुहोस्। यहोवाले गिदोनका तीन सय मानिसहरूलाई प्रयोग गर्नुभएजस्तै यहोवाले तपाईंलाई पनि प्रयोग गर्नुहुनेछ भनेर विश्वस्त हुनुहोस्।”
मानिसहरूप्रति चासो राख्नु आनन्दको स्रोत
एकपटक प्रहरीधरहरा-ले (अंग्रेजी) यस्तो टिप्पणी गरेको थियो: “आज कि भोलि बित्ने सांसारिक चीजबीज तथा साधनहरूमा बढ्ता चासो दिनु र तिनीहरूमै भुल्नुको साटो मानिसहरूप्रति गहिरो चासो राख्नु र अरूको निम्ति केही काम गरेर साँचो आनन्द प्राप्त गर्नु कता हो कता उत्तम अनि बुद्धिमानी हो।” यसैसित मिलान गर्दै गिलियड स्कूलका निर्देशक भाइ मार्क न्युमारले एक हूल विद्यार्थीहरूसित क्षेत्र सेवकाईमा बटुलेका अनुभव छलफल गर्नुका साथै यस्तो टिप्पणी गरे: “अरूमाथि व्यक्तिगत चासो राखेर तपाईं एउटा असल मिसनरी हुन सक्नुहुनेछ।”
विदेशमा आनन्दित हुने तरिकाहरू
मिसनरी सेवामा सफल तथा आनन्दित हुने केही तरिकाहरू के हुन्? सेवा विभागका भाइ चार्ल्स वूडी र ल्याटिन अमेरिकाका भूतपूर्व मिसनरी तथा शिक्षण समितिका सहायक ह्यारोल्ड ज्याक्सनले विभिन्न शाखा समितिका सदस्यहरूको अन्तरवार्ता लिए। यी सदस्यहरू शाखा कर्मचारीको तालिम लिने नवौं कक्षाका विद्यार्थीहरू थिए। यिनीहरूले दिएको सुझाउ यसप्रकार छन्:
जिम्बावेका अल्बर्ट मुसन्डले भने: “मिसनरीहरूले भाइहरूलाई अभिवादन गर्न अघि सर्दा प्रोत्साहनदायी मनोभाव उत्पन्न हुन्छ। किनकि भाइहरू मिसनरीसित र मिसनरीहरू तिनीहरूसित घनिष्ठ हुनेछन्।”
मित्रैलो मानिसहरूले स्थानीय पेयपदार्थ पिउन आग्रह गर्दा दयापूर्वक र कौशलतासाथ यस्तो जवाफ दिने सुझाउ ग्वाटेमालाका रोलान्डो मोरालेस दिन्छन्: “पिउन त असाध्यै मन लागेको छ तर यो देशमा भर्खर भर्खरै आएकोले अलि बानी परेको छैन। पचाउनसक्ने भएपछि पिउँला नि हुन्न?” यस्तो जवाफ दिंदा नतिजा के हुन्छ? “मानिसहरूले चित्त पनि दुखाउँदैनन् र मिसनरीहरूले दयालु व्यवहार पनि प्रदर्शित गरिरहेका हुनेछन्।”
आफ्नो कार्यभारमा लागिरहन मिसनरीहरूलाई कुन कुराले मदत गर्नसक्छ? लाइबेरियामा विगत १२ वर्षदेखि सेवा गरिरहेका गिलियडको ७९ औं कक्षाका स्नातक भाइ पल क्रुदासले भने: “हो, मलाई थाह छ, आमाबाबुहरू छोराछोरीहरूको कमी महसुस गर्छन्। नयाँ मुलुक, नयाँ वातावरण, संस्कृति तथा मानिसहरूसित भिज्न मिसनरीले निकै कोसिस गरिरहेको हुन्छ। यस्तो संघर्ष गर्नुपर्दा उसलाई आफ्नो कार्यभार चटक्कै छोडेर जान मन लागिरहेको हुनसक्छ। अनि त्यतिखेरै घरबाट ‘तिमी नभएकोले न्यास्रो लागिरहेछ; तिम्रो अभाव साह्रै खड्किरहेछ,’ भन्ने चिठी पाउँदा उसलाई के खोज्छस् कानो, आँखो भनेजस्तै हुनसक्छ र गुन्टा कसेर घरतिर लाग्न तयार हुन्छ। त्यसकारण, आज यहाँ उपस्थित नातेदारहरूले त्यसो नगर्नु नितान्त आवश्यक छ।”
अन्तरवार्तापछि कार्यक्रमको अन्तिम भाषण परिचालक निकायका सदस्य थिओडोर जारासले प्रस्तुत गरे। तिनको भाषणको शीर्षक थियो: “परमेश्वरको राज्यलाई जीवनमा प्रथम स्थान दिनुहोस्।” मिसनरीहरू कसरी आफ्नो कार्यभारमा एकचित्तको र स्थिर हुनसक्छन्? तिनले व्यक्तिगत बाइबल अध्ययनको तालिका बनाउन प्रोत्साहित गरे। किनकि त्यसो गरेमा तिनीहरूले परमेश्वरको राज्यलाई प्राथमिकता दिन सक्नेछन्। अनि यो समयानुकूल सम्झौटो पनि तिनले दिए: “केही मिसनरीहरूले इलेक्ट्रोनिक साधनहरू, ई-मेल र कम्प्युटरमै भुलेर व्यक्तिगत अध्ययनलाई त्यति गम्भीरतासाथ लिइरहेका छैनन्। कुनै पनि साधन प्रयोग गर्दा सन्तुलित हुनुपर्छ र परमेश्वरको वचनको व्यक्तिगत अध्ययन गर्ने हाम्रो समय बिस्तारै बिस्तारै खाने गरी त्यसैमा लग्गू हुनु हुँदैन।”
भाइ जारासको भाषणपछि प्रमाणपत्रहरू वितरण गरिए तथा कक्षाले लेखेको मूल्यांकन पत्र पढियो। कक्षाको प्रतिनिधिले सबैको मनोभाव यी शब्दहरूमा व्यक्त गरे: “येशूले आफ्ना चेलाहरूलाई चिनाउने प्रमुख गुन प्रेम हो भन्नुभएको थियो। यही प्रेमको प्रत्यक्ष प्रमाण हामीले यहाँ देख्यौं। हामी जहाँसुकै होऔं, हामीलाई सहारा दिने आमाजस्ती मायालु संगठन हुनेछिन् भनेर हामी आश्वस्त भएका छौं। यस्तो समर्थनको आडमा हामी पृथ्वीको कुनाकाप्चासम्म जान पनि तयार छौं।” गिलियड १०४ औं कक्षाको रमाइलो दीक्षान्त समारोहको यो समापन मनै छुने थियो।
[पृष्ठ २४-मा भएको पेटी]
कक्षाको तथ्यांक
प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ९
मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १६
विद्यार्थीहरूको संख्या: ४८
विवाहित दम्पतीहरूको संख्या: २४
औसत उमेर: ३३
सच्चाइमा बिताएको औसत वर्ष: १६
पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १२
[पृष्ठ २५-मा भएको चित्र]
वाचटावर बाइबल स्कूल अफ गिलियडको १०४ औं स्नातक कक्षा
देहायबमोजिम सूचीमा दिइएको लहर तथा नाउँहरू क्रमशः अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ सुरु हुन्छ
(१) रोमेरो, एम.; हाऊवर्थ, जे.; ब्लाक्बर्न-केन, डी.; होन्गासर, इ.; वेस्ट एस.; टम, एस. (२) कोलोन, डब्लू.; ग्लान्सी, जे.; कोनो, वाई; ड्रूस, पी.; टाम, एस.; कोनो, टी., (३) टाम, डी.; जेशमाइस्टर, एस.; ग्रडेल, एस.; एलवेल, जे.; डनेक, पी.; टिब्डो, एच. (४) टेलर, इ.; हिलड्रेड, एल.; सान्चेस, एम.; एन्डरसन, सी.; बूक्नोर, टी.; होन्गासर, इ. (५) हाऊवर्थ, डी.; वर्ड, सी.; हिन्च, पी.; मक्डनल्ड, वाइ.; सान्चेस, टी.; टम, ओ. (६) ड्रूस, टी.; टिब्डो, इ.; एलवेल, डी.; डनेक, डब्लू.; ब्लाक्बर्न-केन, डी.; वर्ड, डब्लू. (७) एन्डरसन, एम.; जेशमाइस्टर, आर.; मक्डनल्ड, आर.; बूक्नोर, आर.; ग्लान्सी, एस.; ग्रडेल, जी. (८) रोमेरो, डी.; हिन्च, आर.; हिलड्रेड, एस.; टेलर, जे.; कोलोन, ए.; वेस्ट, डब्लू.
[पृष्ठ २६-मा भएको चित्र]
यस १०४ औं कक्षाका निर्देशक भाइहरू: (बायाँबाट) डब्लू. लिभरन्स, यु. ग्लास, के. आडम्स्, एम. न्युमार