के तपाईं यहोवाको संगठनको मूल्यांकन गर्नुहुन्छ?
“परमप्रभु भन्नुहुन्छ, ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी चाहिं मेरो पाउदान हो।’ ”—यशैया ६६:१.
१, २. (क) यहोवाको संगठनको कुन दृश्य प्रमाण तपाईं बताउन सक्नुहुन्छ? (ख) यहोवाको बासस्थान कहाँ छ?
के तपाईंलाई यहोवाको संगठन छ जस्तो लाग्छ? लाग्छ भने, किन? तपाईं यस्तो जवाफ दिनुहोला: ‘किन नलाग्नु नि, हाम्रो राज्यभवन छ। प्राचीनहरूको निकाय भएको सुव्यवस्थित मण्डली छ। न्यायोचित ढंगमा नियुक्त परिभ्रमण निरीक्षक छन् र तिनी नियमित तवरमा परिभ्रमण गर्न आउँछन्। हामी व्यवस्थित सम्मेलन तथा अधिवेशनहरू धाउँछौं। हाम्रो देशमा वाच टावर सोसाइटीको शाखा कार्यालय छ। यी सबै अनि अरू थुप्रै कुराहरूले यहोवाको संगठन क्रियाशील छ भनी प्रमाणित गर्छन्।’
२ हो, यी सबै पक्षले संगठनको प्रमाण दिन्छन्। तर हामी पृथ्वीमा देखिने कुरालाई मात्र मान्यता दिन्छौं भने यहोवाको संगठनलाई पूर्णतया चिनेका छैनौं। यहोवाले यशैयालाई पृथ्वी केवल उहाँको पाउदान हो तर स्वर्ग उहाँको सिंहासन हो भन्नुभयो। (यशैया ६६:१) यहोवा कुन “स्वर्ग[को]” कुरा गर्दै हुनुहुन्थ्यो? हाम्रो वायुमण्डल? अन्तरिक्ष? वा अर्कै प्रकारको जीवन? यशैया यहोवाको “पवित्र बासस्थान र महिमा[बारे]” बताउँछन् अनि भजनरचयिता यो स्वर्गलाई उहाँको “बासस्थान” भन्छन्। तसर्थ, यशैया ६६:१ ले बताएको “स्वर्ग” यहोवा बास गर्नुहुने अदृश्य आत्मिक जगत्को अतिश्रेष्ठ वा सर्वोत्तम स्थान हो।—यशैया ६३:१५; भजन ३३:१३, १४.
३. शंकाहरू हटाउन हामी के गर्नसक्छौं?
३ तसर्थ, हामी साँच्चै यहोवाको संगठनबारे बुझेर त्यसको मूल्यांकन गर्न चाहन्छौं भने स्वर्गतिर आँखा उचाल्नुपर्छ। अनि कसै कसैको लागि यो एउटा समस्या हुनसक्छ। यहोवाको स्वर्गीय संगठन अदृश्य भएकोले त्यसको अस्तित्वबारे हामी कसरी पक्का हुनसक्छौं? कोही कोहीले त शंका उपशंका गर्नसक्छ, ‘हामीले कसरी विश्वास गर्ने?’ त्यसोभए, विश्वासले कसरी शंका हटाउनसक्छ? दुइटा महत्त्वपूर्ण तरिकामा, परमेश्वरको वचनको गहन व्यक्तिगत अध्ययन र मसीही सभाहरूमा नियमित उपस्थिति तथा सहभागिताद्वारा। त्यसपछि, शंका बिस्तारै हट्नसक्छ। परमेश्वरका अन्य सेवकहरूको मनमा पनि शंका उब्जेका थिए। इस्राएलमाथि अरामी राजाले आक्रमण गर्दा एलीशाको चाकरलाई के भयो, विचार गरौं।—तुलना गर्नुहोस् यूहन्ना २०:२४-२९; याकूब १:५-८.
स्वर्गीय सेना देख्ने व्यक्ति
४, ५. (क) एलीशाको चाकरको समस्या के थियो? (ख) यहोवाले एलीशाको प्रार्थनाको कसरी जवाफ दिनुभयो?
४ अरामी राजाले एलीशालाई पक्रन दोतानमा ठूलो फौज पठाए। एलीशाको चाकर ताजा हावा खान बिहान सबेरै मध्यपूर्वीय निवासको छतमा उक्लँदा, नराम्रोसित तर्सिए! परमेश्वरको अगमवक्तालाई समात्न तैनाथ अरामीहरूको घोडा तथा रथहरूको ठूलो फौजले शहर घेरिसकेको थियो। चाकरले चिच्याएर एलीशालाई यसो भने: “हाय, मेरा प्रभु, अब हामी के गरौं?” स्पष्टतः दृढ निश्चयका साथ शान्तपूर्वक एलीशाले यस्तो जवाफ दिए: “नडरा, किनभने हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।” उक्त चाकर यसो भन्दै वाल्ल परेको हुनुपर्छ, ‘तिनीहरू कहाँ छन्? खै म त देख्दिनँ!’ कहिलेकाहीं हामीलाई पनि यस्तै समस्या हुनसक्छ अर्थात् समझको आँखाले स्वर्गीय फौज नदेख्न वा नबुझ्न सक्छ।—२ राजा ६:८-१६; एफिसी १:१८.
५ एलीशाले आफ्नो चाकरको समझको आँखा खोलिऊन् भनेर प्रार्थना गरे। त्यसपछि के भयो? “तब परमप्रभुले त्यस जवान मानिसको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाको वरिपरिको डाँड़ामा अग्निमय घोड़ा र रथहरू भरिएको देख्यो।” (२ राजा ६:१७) हो, तिनले परमेश्वरको चाकरलाई जोगाउन तैनाथ स्वर्गीय फौज, स्वर्गदूतहरूको पल्टन देखे। अब भने एलीशा किन त्यति ढुक्क भएका रहेछन् भनेर तिनले बुझ्नसके।
६. यहोवाको स्वर्गीय संगठनमा हामी कसरी अन्तरदृष्टि पाउनसक्छौं?
६ के कहिलेकाहीं हामी पनि एलीशाको चाकरले जस्तै बुझ्न सक्दैनौं? के हामी कहिलेकाहीं आफूलाई वा कुनै कुनै मुलुकमा मसीही गतिविधिलाई बाधा पुऱ्याउन खोज्ने अवस्थाको भौतिक पक्ष मात्र हेर्छौं? हेर्छौं भने के हामीलाई ज्योति प्रदान गर्न विशेष दर्शन प्रकट होला? हुँदैन। किनभने हामीसित एलीशाको चाकरसित नभएको एउटा कुरा छ अर्थात् थुप्रै दर्शनहरू भएको सम्पूर्ण बाइबल छ र यसले स्वर्गीय संगठनको अन्तरदृष्टि प्रदान गर्नसक्छ। हाम्रो सोचाइ र जीवनशैली सुगम बनाउन त्यस प्रेरित वचनले मार्गदर्शक सिद्धान्तहरू पनि प्रदान गर्छ। तथापि, विवेक खोज्न तथा यहोवाको संगठनप्रति मूल्यांकन बढाउन हामीले प्रयास गर्नुपर्छ। त्यो हामी व्यक्तिगत अध्ययन, प्रार्थना तथा मनन गरेर गर्नसक्छौं।—रोमी १२:१२; फिलिप्पी ४:६; २ तिमोथी ३:१५-१७.
बुझ्ने हेतुले अध्ययन गर्ने
७. (क) व्यक्तिगत बाइबल अध्ययन गर्ने सन्दर्भमा कसै कसैको कस्तो समस्या हुनसक्छ? (ख) व्यक्तिगत अध्ययन गर्न लगाएको प्रयास किन खेर जाँदैन?
७ स्कूलमा पढाइप्रति कुनै चासो नराखेका वा पढ्ने मौका नै नपाएका जस्ता थुप्रै मानिसहरूलाई व्यक्तिगत अध्ययन गर्नु रमाइलो लाग्दैन। तथापि, समझको आँखाले यहोवाको संगठनबारे बुझेर त्यसको मूल्यांकन गर्ने हो भने हामीले अध्ययन गर्ने इच्छा बढाउनुपर्छ। स्वादिलो भोजनको आनन्द उठाउन के कुनै तयारी गर्नु पर्दैन र? जुनसुकै भान्छेलाई सोधे पनि स्वादिलो भोजन बनाउन निकै मेहनत लाग्छ भन्छन्। तर त्यो स्वादिलो भोजन आधा घण्टा वा त्योभन्दा कम समयमै खान सकिन्छ। अर्कोतिर, व्यक्तिगत अध्ययनका लाभहरू जिन्दगीभर रहन्छ। आफ्नो प्रगति देखेपछि तपाईंले बिस्तारै बिस्तारै व्यक्तिगत अध्ययनबाट पनि आनन्द उठाउन सिक्न सक्नुहुन्छ। हामीले आफ्नोबारे र शिक्षामा निरन्तर ध्यान दिइरहनुपर्छ र धर्मशास्त्र पढ्न कहिल्यै छोड्नु हुँदैन भनेर प्रेरित पावलले ठीकै भनेका थिए। प्रयास गरिरहनुपर्छ तर त्यसका लाभहरू अनन्तकालीन हुन्छन्।—१ तिमोथी ४:१३-१६.
८. हितोपदेशले कस्तो मनोवृत्ति राख्ने सुझाउ दिन्छ?
८ पुरातन समयका एक बुद्धिमान् मानिसले यसो भने: “हे मेरो छोरो [वा छोरी], यदि तैंले मेरा वचन हृदयमा लिइस् र मेरा आज्ञा तेरो मनमा राखिस् भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्तिमा लगाइस् भने, तैंले विवेक माग्छस् भने समझशक्तिलाई पुकार्। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस् र गाड़-धनझैं त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।”—हितोपदेश २:१-५.
९. (क) “परमेश्वरको ज्ञानको” तुलनमा सुनको कत्तिको मोल छ? (ख) सही ज्ञान हासिल गर्न हामीलाई कस्ता औजारहरू चाहिन्छ?
९ जिम्मेवारी कसको हो, के तपाईंले बुझ्नुभयो? बारम्बार दोहऱ्याइएको पद्यांश हो, ‘यदि तैंले’। अनि ‘गाड़-धनझैं त्यो खनिस् भने’ भन्ने अभिव्यक्तिलाई पनि ध्यान दिनुहोस्। शताब्दीयौंदेखि दक्षिण अफ्रिका, बोलिभिया, मेक्सिको तथा अन्य देशहरूमा सुन र चाँदी खोज्दै आएका खानी मजदूरहरूलाई विचार गर्नुहोस्। मूल्यवान् धातुहरू हात पार्न पिक र साबेलहरूले चट्टान निकाल्थे। तिनीहरू सुनलाई यति मूल्यवान् ठान्थे कि सं.रा.अ., क्यालिफोर्नियाको एउटा खानीमा ५९१ किलोमिटर लामो सुरुंग खने र डेढ किलोमिटर गहिराइसम्म पुगे। तर के तपाईं सुन खान सक्नुहुन्छ? पिउन सक्नुहुन्छ? तपाईं मरुभूमिमा भोक र तिर्खाले मर्नै लाग्नुभयो भने के त्यसले तपाईंलाई बचाउँछ? अहँ, बचाउँदैन किनभने त्यसको मूल्य कृत्रिम तथा मनोमानी हुन्छ, अन्तरराष्ट्रिय बजारमा हेर्ने हो भने यसको मोल दिनदिनै जसो घटबढ भइरहेको पाइन्छ। तैपनि, त्यसको लागि मानिसहरूले ज्यानसमेत दिएका छन्। अब आफै भन्नुहोस्, “परमेश्वरको ज्ञान” अर्थात् आध्यात्मिक सुन पाउन कत्तिको प्रयास गर्नुपर्छ होला? यसो विचार गर्नुहोस्, ब्रह्माण्डको सार्वभौम प्रभु, उहाँको संगठन तथा उहाँका उद्देश्यहरूबारे ज्ञान! यस सन्दर्भमा हामी आध्यात्मिक पिक तथा साबेल चलाउनसक्छौं। ती हुन्, हामीलाई यहोवाका वचन खोतल्न तथा त्यसको अर्थ बुझ्न मदत गर्ने बाइबल आधारित प्रकाशनहरू।—अय्यूब २८:१२-१९.
अन्तरदृष्टिको लागि खन्ने
१०. दानियलले दर्शनमा के देखे?
१० यहोवाको स्वर्गीय संगठनको ज्ञान हासिल गर्न हामी आध्यात्मिक तवरमा खन्न थालौं। मूलभूत अन्तरदृष्टिको लागि सिंहासनमा विराजमान अति वृद्धबारे दानियलको दर्शनमा ध्यान देऔं। दानियल यस्तो लेख्छन्: “मैले हेरिनै रहें, र के देखें भने, सिंहासनहरू बसालिए, औ एक जना अति वृद्ध व्यक्ति त्यसमा बस्नुभयो। उहाँको पोशाक हिउँजस्तै सेतो थियो, उहाँका शिरका केश सफा ऊनजस्तै थिए। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला थियो, र त्यसका पाङराहरू दन्केको आगो थियो। उहाँको सामुबाट आगोको खोला बगेर निस्कन्थ्यो। हजारौं हजारले उहाँको सेवा गर्दथिए। लक्खौं लाख उहाँको सामु खड़ा भइरहन्थे। न्यायको निम्ति दरबार बस्यो, औ पुस्तकहरू खोलिए।” (दानियल ७:९, १०) यहोवालाई सेवा चढाइरहेका यी लक्खौं लाख को थिए? नयाँ विश्व अनुवाद-मा (अंग्रेजी) “पिक” तथा “साबेल” बुझाउन प्रयोग गरिएका छेउ टिप्पणीहरूले भजन ६८:१७ र हिब्रू १:१४ जस्ता शास्त्रपदहरूतर्फ संकेत गर्छन्। हो, ती सेवा चढाउनेहरू स्वर्गदूतहरू हुन्!
११. दानियलको दर्शनले हामीलाई एलीशाका शब्दहरू बुझ्न कसरी मदत गर्नसक्छ?
११ दानियलले परमेश्वरको सेवामा खटिएका सबै विश्वासी स्वर्गदूतहरू देखे भनेर उक्त विवरणमा उल्लिखित छैन। अरू लक्खौं लाख हुनसक्छन्। तर एलीशाले यसो भन्नुको कारण अहिले हामी अवश्य बुझ्नसक्छौं: “हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।” अरामी राजाको फौजलाई साथ दिने अविश्वासी स्वर्गदूत अर्थात् प्रेतहरू भए तापनि त्यसको तुलनामा यहोवाको स्वर्गीय फौज निकै बढी थियो!—भजन ३४:७; ९१:११.
१२. तपाईं स्वर्गदूतहरूबारे कसरी बढी जान्न सक्नुहुन्छ?
१२ सायद तपाईं यी स्वर्गदूतहरूले यहोवाको सेवा गर्ने सन्दर्भमा कस्तो भूमिका खेल्छन् भनेर बढी कुरा जान्न चाहनुहुन्छ। स्वर्गदूत बुझाउने युनानी शब्दको अर्थअनुसार तिनीहरू सन्देशवाहक हुन् किनभने त्यो युनानी शब्दको अर्थ “सन्देशवाहक” पनि हो। तथापि, तिनीहरूको काम त्यति मात्र होइन। तर अरू के के हो भनी पत्ता लगाउन तपाईंले खन्नुपर्छ। धर्मशास्त्रमा अन्तरदृष्टि (अंग्रेजी) पुस्तक तपाईंसित छ भने “स्वर्गदूतहरू” विषयक लेख अध्ययन गर्न वा स्वर्गदूतहरूबारे छलफल गरिएका प्रहरीधरहरा-का पुराना अंकहरू पढ्न सक्नुहुन्छ। परमेश्वरका यी स्वर्गीय प्राणीहरूबारे कति धेरै कुराहरू सिक्न सकिंदो रहेछ भनेर तपाईं छक्कै पर्नुहोला अनि तिनीहरूले पुऱ्याइरहेका सहयोगको मूल्यांकन गर्नुहुनेछ। (प्रकाश १४:६, ७) तथापि, परमेश्वरको स्वर्गीय संगठनमा कोही कोही आत्मिक प्राणीहरूको विशेष भूमिका छ।
यशैयाले के देखे
१३, १४. यशैयाले दर्शनमा के देखे र यसले तिनलाई कस्तो असर पाऱ्यो?
१३ अब हामी यशैयाको दर्शनमा केही खानतलासी गरौं। अध्याय ६ को पद १ देखि ७ सम्म पढ्नुभएपछि तपाईं पक्कै पनि प्रभावित हुनुहुनेछ। यशैयाले “परमप्रभुलाई . . . सिंहासनमा विराजमान हुनुभएको” देखे र “उहाँदेखि मास्तिर सराफहरू खड़ा थिए।” तिनीहरूले यहोवाको पवित्रताको गुनगान गर्दै उहाँको महिमा घोषणा गरिरहेका थिए। यो विवरण पढ्दा मात्र पनि तपाईं प्रभावित हुनुपर्छ। यशैयाले कस्तो प्रतिक्रिया देखाए? “तब मैले भनें ‘हाय! म [शिओलमा] नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, औ अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, किनकि मैले मेरो आँखैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखें।’ ” त्यो दर्शन देखेर तिनी अत्यन्तै प्रभावित भए! तपाईं नि?
१४ अतः यस महिमामय दर्शन देख्दा यशैया कसरी अडिग रहनसके? एउटा सराफले तिनलाई बचाए र यसो भने: “तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।” (यशैया ६:७) यशैयाले परमेश्वरको कृपामा भरोसा राख्दै यहोवाको वचन ध्यान दिएर सुन्नसक्थे। अब के तपाईं यी उच्च पदस्थ आत्मिक प्राणीहरूबारे अझ बढी जान्न चाहनुहुन्न? चाहनुहुन्छ भने तपाईंले के गर्नुपर्छ? बढी जानकारी हासिल गर्न खन्नुहोस्। एउटा औजार त प्रहरीधरहरा प्रकाशन अनुक्रमणिका (अंग्रेजी) हो र जानकारीहरू प्रष्ट्याउन त्यसमा दिइएका विभिन्न स्रोत सामग्रीहरू प्रयोग गर्न सकिन्छ।
इजकिएलले के देखे?
१५. इजकिएलको दर्शन भरपर्दो छ भनेर कुन कुराले देखाउँछ?
१५ अब हामी अर्कै प्रकारको आत्मिक प्राणीलाई हेरौं। बाबेलको कैदमा छँदै इजकिएलले एउटा प्रेरणादायी दर्शन देख्ने सुअवसर पाए। इजकिएलको पुस्तक अध्याय १ पल्टाएर सुरुको तीनवटा पदमा ध्यान दिनुहोस्। विवरण कसरी सुरु गरिएको छ? के त्यहाँ ‘एकादेशमा . . . ’ भनिएको छ? छैन किनभने यो पौराणिक समयको कुनै परीकथा होइन। पद १ यसो भन्छ: “तीसौं वर्षको चौथो महीनाको पाँचौं दिनमा जब म कैदमा लगिएकाहरूसँग कबार नदीको किनारमा थिएँ तब स्वर्ग खोलियो र मैले परमेश्वरका दर्शनहरू देखें।” यो पदमा तपाईंले के विशेषता पाउनुभयो? यहाँ मिति र ठाउँ तोकेर दिइएको छ। यी विवरणहरू सा.यु.पू. ६१३ अर्थात् यहोयाकीन राजा कैदमा लगिएको पाँचौं वर्षको घटना हो।
१६. इजकिएलले के देखे?
१६ यहोवाको हात इजकिएलमाथि आयो र तिनले यहोवा स्वर्गमा एउटा विशाल रथमा विराजमान हुनुभएको भयानक दर्शन देखे अनि त्यसको पाङ्ग्राको घेराका चारैतिर आँखाहरू थिए। हामीलाई चाखलाग्ने विवरण हो, चारै वटा पाङ्ग्रामा एउटा एउटा जीवित प्राणीहरू उभिरहेका थिए। “तिनीहरू यस्ता देखिन्थे—तिनीहरूको रूप मानिसहरूको जस्तै थियो, तर हरेकका चार मोहोड़ा र चार पखेटा थिए। . . . ती चारैका दाहिनेपट्टिको मोहोड़ा सिंहको झैं थियो। तिनीहरूको देब्रेपट्टिको मोहोड़ा चाहिं गोरुको झैं र पछिपट्टिको मोहोड़ा चाहिं चीलको झैं थियो।”—इजकिएल१:५, ६, १०.
१७. करूबका चार मोहडाहरूले कुन कुराको प्रतिनिधित्व गर्छ?
१७ यी चार जीवित प्राणीहरू के थिए? ती करूबहरू थिए भनी इजकिएल आफै बताउँछन्। (इजकिएल १०:१-३, १४) तिनीहरूको चार मोहडा हुनुको कारण? सार्वभौम प्रभु यहोवाका चारवटा उल्लेखनीय गुनहरू झल्काउन। चीलको मोहडा दूरदर्शी बुद्धिको प्रतीक थियो। (अय्यूब ३९:२७-२९) गोरूको मोहडाले के देखायो? गर्धन तथा कुमको भयानक बल लगाएर जोधाहा गोरूले घोडा र घोडसवारलाई हावामा फ्याल्नसक्छ। गोरूले पक्कै पनि यहोवाको असीमित शक्तिको सही चित्रण गर्छ। सिंह साहसी न्यायको प्रतीक हो। तसर्थ, मानिसको मोहडाले परमेश्वरको प्रेमलाई देखाउँछ किनभने यो गुन बुद्धिमानीपूर्वक झल्काउनसक्ने एकमात्र पार्थिव प्राणी मानिस हो।—मत्ती २२:३७, ३९; १ यूहन्ना ४:८.
१८. स्वर्गीय संगठनबारे बुझ्न प्रेरित यूहन्ना हामीलाई कसरी मदत गर्छन्?
१८ यो दर्शन राम्ररी बुझ्न हामीलाई मदत गर्ने अन्य दर्शनहरू पनि छन्। जस्तै, बाइबलको पुस्तक प्रकाशमा उल्लिखित यूहन्नाका दर्शनहरू। इजकिएलले जस्तै तिनी यहोवाको महिमामय सिंहासनलाई वरपर करूबहरूले घेरेका देख्छन्। ती करूबहरू के गर्दैछन्? तिनीहरू यशैया अध्याय ६ मा सराफहरूले गरेको घोषणा यसरी गुञ्जायमान गर्छन्: “पवित्र, पवित्र, पवित्र, प्रभु परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनआउनुहुनेछ।” (प्रकाश ४:६-८) यूहन्ना सिंहासनको छेउमा एउटा थुमा पनि देख्छन्। तिनी को हुन्? परमेश्वरका थुमा येशू ख्रीष्ट।—प्रकाश ५:१३, १४.
१९. यस अध्ययनबाट तपाईंले यहोवाको संगठनबारे के बुझ्नुपर्छ?
१९ अब यी दर्शनहरूबाट हामीले के बुझ्यौं त? स्वर्गीय संगठनको सर्वोच्च स्थानमा यहोवा परमेश्वर आफ्नो सिंहासनमा विराजमान हुनुहुन्छ र उहाँको साथमा थुमा येशू ख्रीष्ट अर्थात् वचन वा लोगोस हुनुहुन्छ। त्यसपछि, हामीले सराफ तथा करूबहरूलगायत स्वर्गदूतहरूको स्वर्गीय फौज पनि देख्यौं। तिनीहरू यहोवाको उद्देश्य पूरा गर्न उहाँको सेवा गरिरहेका एकताबद्ध विशाल संगठनका भाग हुन्। अनि ती उद्देश्यहरूमध्ये एउटा यस अन्तको समयमा सारा संसारभरि सुसमाचार प्रचार गर्नु हो।—मर्कूस १३:१०; यूहन्ना १:१-३; प्रकाश १४:६, ७.
२०. यसपछिको लेखमा कुन प्रश्नको जवाफ दिइनेछ?
२० अनि, सार्वभौम प्रभुको इच्छा पूरा गर्ने तरिका सिक्न राज्यभवनहरूमा भेला हुने यहोवाका साक्षीहरू यस पृथ्वीमा छन्। निस्सन्देह, अब हामी भन्नसक्छौं कि शैतान तथा सत्यका शत्रुहरूभन्दा हाम्रो साथमा भएकाहरू बढी छन्। तर एउटा प्रश्न उठ्छ, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नुसित स्वर्गीय संगठनको के सम्बन्ध? यसपछिको लेखले त्यो तथा अन्य विषयहरू केलाउनेछ।
[पृष्ठ १३-मा भएको चित्र]
राम्ररी तयार पारिएको भोजनबाट भन्दा व्यक्तिगत अध्ययनबाट धेरै लाभ पाइन्छ
[पृष्ठ १५-मा भएको चित्र]
यहोवाले एलीशाको प्रार्थनाको जवाफमा स्वर्गीय फौजको दर्शन देखाउनुभयो
पुनरावृत्तिका लागि प्रश्नहरू
◻ यहोवाको संगठनको मूल्यांकन गर्न हामीले कुन कुरा बुझ्नैपर्छ?
◻ एलीशाको चाकरले कस्तो अनुभव गरे अनि यी अगमवक्ताले तिनलाई कसरी प्रोत्साहन दिए?
◻ व्यक्तिगत अध्ययनलाई कुन दृष्टिले हेर्नुपर्छ?
◻ दानियल, यशैया र इजकिएलले स्वर्गीय संगठनबारे कसरी वर्णन गर्छन्?