प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ९/१ pp. २२-२३
  • बेथेल—असल र खराब शहर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेथेल—असल र खराब शहर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बेथेल धर्मत्यागको केन्द्र बन्छ
  • बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९५
  • के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००३
  • असल कामहरू, जुन कहिल्यै बिर्सिइनेछैनन्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ९/१ pp. २२-२३

बेथेल—असल र खराब शहर

कतिपय शहरहरूले त्यहाँ हुने घटनाहरूअनुसार विख्यात वा कुख्यात नाउँ कमाउँछन्‌। तथापि, बेथेल असल र खराब दुइटै नाउँले चिनिनु सामान्य कुरा होइन। बेथेल नाउँ कुलपिता याकूबले राखेका थिए जसको अर्थ “परमेश्‍वरको घर” हो। तर त्यसको हजार वर्षपछि भविष्यवक्‍ता होशेले यस शहरलाई “दुःखको घर” भने। यो शहर असलबाट खराब कसरी भयो? अनि यसको इतिहासबाट हामी के पाठ सिक्नसक्छौं?

बेथेल र परमेश्‍वरका जनहरूबीचको सम्बन्ध अब्राहाम जीवितै छँदा सा.यु.पू. १९४३ मा सुरु भएको थियो। त्यतिबेला, यस शहरलाई यसको मूल कनानी नाउँ लूज भनेर चिनिन्थ्यो। यो यरूशलेमदेखि उत्तरतिर लगभग १७ किलोमिटर टाढा पर्ने पहाडी देशमा अवस्थित थियो। कल्पना गर्नुहोस्‌, तल्लो यर्दन उपत्यकाको उर्वर मैदानलाई अब्राहाम र तिनका भतिजा लूतले चारैतिर देख्न सकिने बेथेल वरपरको अग्लो पर्वतबाट हेरिरहेका छन्‌। अब्राहामले दक्षतासाथ लूतको ध्यान तिनीहरूको ठूलो बगाललाई चराउने चरनको समस्यातिर यसरी खिच्छन्‌: “तिम्रो र मेरो बीचमा औ तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्‌, किनकि हामी ता नातेदार हौं। सारा देश तिम्रै अगि छ। यसैले म तिमीलाई भन्दछु, कि तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”—उत्पत्ति १३:३-११.

अब्राहामले पहिला छनौट गर्न पाउने अधिकारको दाबा गरेनन्‌। बरु, तिनले कान्छो व्यक्‍तिलाई सबैभन्दा राम्रो भाग छनौट गर्न दिए। हामी अब्राहामको असल मनोवृत्तिको अनुकरण गर्नसक्छौं। हामी शान्तपूर्वक कुरा गर्न अग्रसर भएर अनि निःस्वार्थ काम गरेर कलह उत्पन्‍न गराउने विवादहरू साम्य पार्नसक्छौं।—रोमी १२:१८.

वर्षौंपछि अब्राहामका नाति याकूबले लूजमा पाल टाँगेर बस्दा एउटा असाधारण सपना देखे। तिनले सपनामा देखे, “जमीनमा खड़ा गरिएको एउटा भऱ्‍याङ रहेछ, र त्यसको टुप्पा चाहिं आकाशसम्मै पुगेको रहेछ। औ परमेश्‍वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दारहेछन्‌।” (उत्पत्ति २८:११-१९; तुलना गर्नुहोस्‌ यूहन्‍ना १:५१) त्यस सपनाले महत्त्वपूर्ण अर्थ राख्यो। याकूबले देखेका स्वर्गदूतहरूले परमेश्‍वरको सन्तानसम्बन्धी उहाँले गर्नुभएको प्रतिज्ञा पूरा गर्न तिनको सेवा गर्नेथिए। भऱ्‍याङभन्दा माथि बस्नुभएको यहोवाको उच्च स्थानले यस काममा उहाँले स्वर्गदूतहरूलाई डोऱ्‍याउनु हुनेथियो भनेर देखायो।

ईश्‍वरीय सहयोग पाउने यस आश्‍वासनले याकूब साह्रै उत्प्रेरित भए। तिनले ब्यूँझेपछि त्यस ठाउँको नाउँ बेथेल राखे जसको अर्थ “परमेश्‍वरको घर” हो। अनि तिनले यहोवालाई भाकल गरे: “तपाईंले मलाई दिनुभए जत्ति सबैको दशांश म तपाईंलाई अवश्‍य चढ़ाउनेछु।”a (उत्पत्ति २८:२०-२२) आफूसित भएको सबै कुरा परमेश्‍वरबाटै आएका हुन्‌ भनी बुझेर तिनले मूल्यांकन स्वरूप उदारचित्तसाथ केही भाग चढाउने इच्छा गरे।

आज पनि स्वर्गदूतहरूले मसीहीहरूलाई सहयोग गर्छन्‌। (भजन ९१:११; हिब्रू १:१४) मसीहीहरूले पनि आफूले पाएका सम्पूर्ण आशिष्‌हरूका निम्ति “परमेश्‍वरमा . . . धन्यवाद प्रशस्त मात्रामा” दिएर मूल्यांकन देखाउँछन्‌।—२ कोरिन्थी ९:११, १२.

समयको दौडान याकूबका सन्तानहरू मिलेर एउटा राष्ट्र बन्यो। तिनीहरूका नेता यहोशूले भर्खरै कनान जित्न थाल्दा बेथेलको मूर्तिपूजक राजालाई हराए। (यहोशू १२:१६) न्यायकर्ताहरूको समयमा अगमवादिनी दबोरा बेथेल नजिकै बस्थिन्‌ र मानिसहरूलाई यहोवाको वचन बताउँथिन्‌। शमूएल पनि इस्राएल राष्ट्रका न्यायकर्ता हुँदा नियमित बेथेल आउँथे।—न्यायकर्ता ४:४, ५; १ शमूएल ७:१५, १६.

बेथेल धर्मत्यागको केन्द्र बन्छ

तर सा.यु.पू. ९९७ मा इस्राएल राज्यको विभाजनपछि बेथेल र साँचो उपासनाबीचको सम्बन्ध टुट्यो। राजा यारोबामले बेथेललाई बाछो उपासनाको केन्द्र बनाए जुन बाछोलाई यहोवाको प्रतिनिधि मानियो। (१ राजा १२:२५-२९) त्यसैकारण, होशेले बेथेलको विनाशबारे भविष्यवाणी गर्दा यसलाई “बेतावन” भने जसको अर्थ “दुःखको घर” हो।—होशे १०:५, ८.

बेथेल आध्यात्मिक दुःखको केन्द्र भए तापनि यससम्बन्धी घटनाहरूले महत्त्वपूर्ण पाठहरू दिइरहे। (रोमी १५:४) यस्तै एउटा पाठ नाउँ उल्लेख नगरिएका भविष्यवक्‍ताबारे छ। तिनलाई यहूदाबाट बेथेलमा यसका बेदी र पूजाहारीहरूको विनाशबारे भविष्यवाणी गर्न पठाइएको थियो। यहोवाले तिनलाई केही खानपिन नगरी दक्षिणतिर केही किलोमिटर टाढा मात्र पर्ने यहूदामा फर्कि आउनू भनेका थिए। यस भविष्यवक्‍ताले इस्राएलका राजा यारोबामसामु बेथेलको बेदीको विनाशबारे भविष्यवाणी गरे। तर त्यसपछि तिनले बेथेलमा वृद्ध भविष्यवक्‍ताको घरमा खानपिन गरेर परमेश्‍वरको आज्ञा उल्लंघन गरे। किन? त्यस वृद्ध भविष्यवक्‍ताले तिनलाई सँगी भविष्यवक्‍ताको अतिथि-सत्कार गर्नू भनेर यहोवाको स्वर्गदूतले आफूलाई भनेका छन्‌ भनी झूटो कुरा बताए। यहूदाबाट आएका त्यस भविष्यवक्‍ताले आज्ञा उल्लंघन गर्दा तिनको अकाल मृत्यु भयो।—१ राजा १३:१-२५.

यदि सँगी विश्‍वासीले हामीलाई शंकास्पद लाग्ने केही कुरा गरौं भन्दा हामीले के गर्नुपर्छ? स्मरण रहोस्‌, असल मनसायले दिएको सल्लाहसमेत गलत रहेछ भने हानिकारक हुनसक्छ। (मत्ती १६:२१-२३ तुलना गर्नुहोस्‌।) प्रार्थना र यहोवाको वचनको अध्ययनद्वारा निर्देशन खोजेर हामी त्यस नाउँ उल्लेख नगरिएको भविष्यवक्‍ताले जस्तो दुःखद्‌ गल्ती गर्नुदेखि जोगिनेछौं।—हितोपदेश १९:२१; १ यूहन्‍ना ४:१.

लगभग १५० वर्षपछि भविष्यवक्‍ता आमोस पनि बेथेल विरुद्ध भविष्यवाणी भन्‍न उत्तरतिर लागे। आमोसले विरोधी श्रोताहरूको दृढतापूर्वक निन्दा गरे। ती श्रोतामध्ये आमोसलाई ‘यहाँबाट भागेर यहूदा जाऊ’ भन्‍ने पूजाहारी अमस्याह पनि थिए। तर आमोसले अमस्याहलाई तिनको परिवारमाथि दुःखकष्ट आइपर्नेछ भनेर निडरतासाथ बताए। (आमोस ५:४-६; ७:१०-१७) तिनको उदाहरणले हामीलाई यहोवाले आफ्ना नम्र सेवकहरूलाई साहस दिन सक्नुहुन्छ भनेर सम्झना दिलाउँछ।—१ कोरिन्थी १:२६, २७.

अन्ततः यहूदाका विश्‍वासी राजा योशियाहले ‘बेथेलको वेदी, पूजा गर्ने थान पनि . . . भत्काइदिए। त्यसलाई धूलो-पीठो पारेर त्यो पवित्र खामालाई जलाइदिए।’ (२ राजा २३:१५, १६) आज प्राचीनहरूले परमेश्‍वरका निर्देशनहरू जोसकासाथ पालन गरेर अनि मण्डली स्वच्छ राख्न नेतृत्व लिएर योशियाहको असल उदाहरण अनुकरण गर्नसक्छन्‌।

बेथेल इतिहासका यी घटनाहरूले धार्मिकता र दुष्टता अनि यहोवाको आज्ञा मान्दा र नमान्दा कस्ता परिणामहरू हुन्छन्‌, त्यसको सजीव वर्णन गर्छन्‌। वर्षौंअघि मोशाले इस्राएल राष्ट्रअघि यो छनौट राखिदिएका थिए: “आज मैले तिमीहरूको अगि जीवन र हित, औ मृत्यु र अहित राखेको छु।” (व्यवस्था ३०:१५, १६) बेथेल इतिहासलाई मनन गऱ्‍यौं भने हामी “परमेश्‍वरको घर” “दुःखको घर” नभई साँचो उपासना गर्ने ठाउँ हो भनेर चिन्‍न प्रोत्साहित हुन्छौं।

[फुटनोट]

a याकूब र अब्राहाम दुवैले स्वेच्छापूर्वक दशांश चढाए।

[पृष्ठ २३-मा भएको चित्र]

यारोबामले बाछो उपासनाको केन्द्र बनाएको बेथेलको भग्नावशेष

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने