दुलहीको मोल उचित तरिकाले तय गर्नुहोस्
बाइबलकालीन समयमा जस्तै आज पनि कतै कतै बिहे गर्नुअघि पुरुषले दुलहीको मोल तिर्नुपर्ने संस्कृति छ। याकूबले आफ्ना भावी ससुरा लाबानलाई भने, “तपाईंकी कान्छी छोरी राहेलको निम्ति सात वर्षसम्म म तपाईंको चाकरी गर्नेछु।” (उत्पत्ति २९:१८) राहेलप्रतिको प्रेमले गर्दा याकूबले निकै ठूलो मोल अर्थात् सात वर्ष बराबरको ज्याला दिने प्रस्ताव राखे! लाबानले त्यो प्रस्ताव स्वीकारे तर याकूबसित आफ्नी जेठी छोरी लेआको बिहे गरिदिएर तिनलाई झुक्याए। त्यसपछि पनि लाबानले याकूबसित छक्कापञ्जा गरिनै रहे। (उत्पत्ति ३१:४१) भौतिक लाभको यस्तो मोहको कारण लाबान आफ्ना छोरीहरूको नजरमा गिरे। तिनीहरूले सोधे, “के उहाँले हामीलाई विदेशीजस्तै गर्नुभएको छैन र? किनभने उहाँले ता हामीलाई बेचिदिनुभयो, र हाम्रा निम्ति दिनुभएको पैसा पनि आफै चलाइदिनुभएको छ।”—उत्पत्ति ३१:१४ख, १५.
दुःखको कुरा, आज पनि यस भौतिक संसारमा थुप्रै आमाबाबुहरू लाबानजस्तै छन्। अनि कतिपय त लाबानभन्दा पनि गएगुज्रेका छन्। एक अफ्रिकी समाचारपत्रअनुसार केही विवाहहरू “अनुचित लाभ उठाउने बुबाहरूको लोभको कारण मात्र” तय गरिन्छन्। अर्को कारण त आर्थिक दबाब हो, जसले गर्दा केही आमाबाबु आफ्ना छोरीहरूलाई आर्थिक समस्या समाधान गर्ने माध्यम ठान्छन्।a
सबैभन्दा बढ्ता मोल तिर्ने व्यक्तिको पर्खाइमा केही आमाबाबु त आफ्ना छोरीहरूको ढिलो बिहे गर्छन्। यसले गम्भीर समस्याहरू खडा गर्नसक्छन्। पूर्वी अफ्रिकामा कार्यरत एक समाचारपत्रका रिपोर्टर लेख्छन्: “अडियल/जिद्दीवाल सासूससुराले माग्ने अत्यधिक दाइजोको मारबाट जोगिन युवायुवतीहरू भागेर बिहे गर्छन्।” दुलहीको अत्यधिक मोल तोकेकोले उत्पन्न समस्याहरूमध्ये एक अनैतिकता हो। यसबाहेक, केही जवान पुरुषहरू स्वास्नी किन्न त सफल होलान् तर बोक्नै नसकिने ऋणको मारमा पर्छन्। दक्षिण अफ्रिकाका एक सामाजिक कार्यकर्ता आग्रह गर्छन्, “आमाबाबुहरू व्यवहारिक हुनुपर्छ। तिनीहरूले अत्यधिक धनराशी माग गर्नु हुँदैन। नवदम्पतीहरूले पनि गुजारा गर्नुपर्छ . . . त्यसैले नवविवाहितलाई ऋण तिर्नै नसक्ने अवस्थामा किन पुऱ्याउने?”
मसीही आमाबाबुहरूले दुलहीको मोल तिर्ने वा लिने तय गर्दा कसरी व्यवहारिक भएर उदाहरण बसाल्नसक्छन्? यो गम्भीर विषय हो, किनकि बाइबलले यस्तो आदेश दिन्छ: “तिमीहरूको सहनशीलता [“व्यवहारिक,” NW] सबै मानिसहरूलाई थाह होस्।”—फिलिप्पी ४:५.
बाइबलका व्यवहारिक सिद्धान्तहरू
मसीही आमाबाबुहरू दुलहीको मोल तय गर्न चाहन्छन् वा चाहँदैनन्, त्यो व्यक्तिगत निर्णय हो। चाहन्छन् भने, मोल तय गर्दा त्यो बाइबलका सिद्धान्तहरूअनुरूप गरिएको हुनुपर्छ। परमेश्वरको वचन भन्छ, “रूपियाँ-पैसाको लोभबाट अलग बस।” (हिब्रू १३:५) विवाह तय गर्दा यो सिद्धान्त प्रस्ट देखिएको छैन भने, मसीही आमाबाबुले नराम्रो उदाहरण बसालिरहेका हुनसक्छन्। मसीही मण्डलीमा जिम्मेवारी पाउने पुरुषहरू “व्यवहारिक” हुनुपर्छ ‘रुपैयाँपैसाको लोभ गर्ने’ वा “नीच कमाईको लोभी” हुनु हुँदैन। (१ तिमोथी ३:३, ८, NW) दुलहीको चर्को मोल धुत्ने लोभी तथा अपश्चात्तापी मसीही, मण्डलीबाट बहिष्कृतसमेत हुनसक्छ।—१ कोरिन्थी ५:११, १३; ६:९, १०.
लोभको कारण समस्या खडा भएकोले कुनै कुनै सरकारले दुलहीको मोल तिर्नेसम्बन्धी कानुन पारित गरेको छ। उदाहरणका लागि, पश्चिम अफ्रिकी मुलुक टोगोमा दुलहीको मोल “सरसामान वा रकम वा दुवै तरिकामा तिर्न सकिने” प्रावधान छ। उक्त नियम अझै थप्छ: “जसरी तिरे पनि रकमको परिमाण १०,००० F CFA (अमेरिकी डलर २०.००) भन्दा बढी हुनु हुँदैन। बाइबलले बारम्बार मसीहीहरूलाई नियम-पालक नागरिक हुन आग्रह गर्छ। (तीतस ३:१) सरकारले यस्तो नियम पारित गरेको छैन भने पनि साँचो मसीही आज्ञाकारी हुन चाहन्छ। यसरी उसले परमेश्वरसमक्ष असल अन्तस्करण कायम गर्नेछ र ऊ अरूको निम्ति ठोक्करको कारण हुनेछैन।—रोमी १३:१, ५; १ कोरिन्थी १०:३२, ३३.
मोल तय गर्ने जिम्मेवारी कसको हो?
कुनै कुनै संस्कृतिमा दुलहीको मोल तय गर्ने तरिका अर्को महत्त्वपूर्ण सिद्धान्तसित बाझिनसक्छ। बाइबलअनुसार पारिवारिक मामिलाको लागि बुबा जिम्मेवार हुन्छन्। (१ कोरिन्थी ११:३; कलस्सी ३:१८, २०) अतः, मण्डलीमा जिम्मेवारी पाउने पुरुषहरू “आफ्ना छोराछोरीहरू र आफ्ना घरको प्रबन्ध राम्रो मिलाउनसक्ने” हुनुपर्छ।—१ तिमोथी ३:१२.
तथापि, विवाहजस्तो महत्त्वपूर्ण काम तय गर्ने काम परिवारका शिरको नातेदारहरूले गर्ने चलन कुनै कुनै समाजमा प्रचलित हुनसक्छ। अनि यी नातेदारहरू दुलहीको मोलमा आफूले पनि भाग पाउनुपर्ने दाबी गर्छन्। यसले मसीही परिवारलाई परीक्षामा पार्छ। चलनहरूको नाउँमा केही परिवारका शिरहरूले मसीही विश्वासमा नभएका नातेदारहरूलाई दुलहीको चर्को मोल धुत्ने अनुमति दिन्छन्। यसले गर्दा मसीही केटीको विवाह मसीही विश्वासमा नभएको पुरुषसित भएको दुइचारवटा घटनाहरू छन्। यो, मसीहीहरूले “प्रभुमा मात्र” बिहे गर्नुपर्छ भन्ने सल्लाह विपरीत छ। (१ कोरिन्थी ७:३९) परिवारको शिरले आफ्नो मसीही विश्वासमा नभएका नातेदारहरूलाई छोराछोरीको आध्यात्मिक सुस्वास्थ्य खतरामा पार्ने निर्णय गर्न दिन्छ भने उसलाई “आफ्नो घर राम्ररी चलाउनसक्ने” ठानिंदैन।—१ तिमोथी ३:४.
तर ईश्वरभीरु कुलपिता अब्राहामको जस्तै मसीही बुबाले आफ्नो छोरा वा छोरीको विवाह तय गर्न प्रत्यक्ष भाग लिन नसकिने अवस्था खडा भयो भने के गर्ने नि? (उत्पत्ति २४:२-४) विवाह तय गर्न अरू नै व्यक्ति छानिएको छ भने त्यो लमीले बाइबलका व्यवहारिक सिद्धान्तहरूअनुरूप काम गरेको छ, छैन, मसीही बुबाले पक्का गर्नुपर्छ। यसबाहेक, दुलहीको मोल तय गर्नुअघि मसीही आमाबाबुहरूले उक्त विषयमाथि फेरि गहन विचार गर्नुपर्छ र अव्यवहारिक चलन तथा मागहरूले गर्दा बहकिनु हुँदैन।—हितोपदेश २२:३.
गैरमसीही बानीहरू छोड्ने
बाइबलले घमण्ड तथा “जीवनको शेखी”-को भर्त्सना गर्छ। (१ यूहन्ना २:१६; हितोपदेश २१:४) यद्यपि, मसीही मण्डलीसित सम्बन्धित केही व्यक्तिहरूले विवाह तय गर्दा यस्ता बानीहरू देखाएका छन्। दुलहीको धेरै मोल दिएर वा लिएर कसै कसैले संसारको जस्तै आडम्बरी भाव देखाएका छन्। अर्कोतिर, अफ्रिकास्थित यहोवाका साक्षीहरूको एउटा शाखा कार्यालयले यस्तो रिपोर्ट पेश गर्छ: “आफ्ना सासूससुराले अव्यवहारिक माग गरेकोले आ-आफ्ना पत्नीहरूलाई ‘खसीबोका’ किनेसरह सस्तो ठान्दै कुनै कुनै लोग्नेहरूले सासूससुरालाई अनादर गरेका छन्।”
दुलहीको अत्यधिक मोलको लोभले केही मसीहीहरूलाई जकडेको छ र यसका दुःखदायी परिणामहरू भएका छन्। उदाहरणका लागि, वाच टावर सोसाइटीको अर्को शाखा कार्यालयबाट प्राप्त यो रिपोर्ट हेर्नुहोस्: “अविवाहित भाइहरूलाई बिहे गर्न अथवा बहिनीहरूलाई जोडी खोज्न अक्सर गाह्रो भएको छ। फलतः अनैतिकताका कारण थुप्रै बहिष्कार भएका छन्। केही भाइहरू त बिहे गर्न आफूसित पर्याप्त साधन होस् भनेर सुन वा हीरा खोज्न र ती बेचेर पैसा कमाउन खानीतिर लागेका छन्। यसो गर्दा दुई/तीन वर्ष वा सोभन्दा बढी समय लाग्छ र भाइहरू र मण्डलीको संगतिबाट टाढिएकोले अक्सर त्यतिञ्जेल तिनीहरू आध्यात्मिक तवरमा निकै कमजोर भइसकेका हुन्छन्।”
यस्ता दुःखदायी परिणामहरू भोग्नदेखि जोगिन मसीही आमाबाबुहरूले मण्डलीका परिपक्व व्यक्तिहरूको उदाहरणलाई पछ्याउनुपर्छ। हुन त पावलका छोराछोरी त भएनन् र पनि सँगी मसीहीहरूप्रति तिनी व्यवहारिक थिए। कसैलाई ऋणको गह्रौं भार बोकाउन नपरोस् भन्नाका लागि तिनी निकै होसियार थिए। (प्रेरित २०:३३) निस्सन्देह, मसीही आमाबाबुले दुलहीको मोल तय गर्दा पावलकै निःस्वार्थ उदाहरणको अनुकरण गर्नुपर्छ। वास्तवमा, ईश्वरीय प्रेरणा पाएर पावलले लेखे: “ए भाइ हो, तिमीहरू मसँगसँगै मेरा देखासिकी गर्नेहरू होओ, र जसरी हामी तिमीहरूका नमूना भएका छौं त्यसरी हिंड़नेहरूलाई हेर।”—फिलिप्पी ३:१७.
व्यवहारिक भएका उदाहरणहरू
विवाह तय गर्दा थुप्रै मसीही आमाबाबुहरूले व्यवहारिक भएर राम्रो उदाहरण बसालेका छन्। यहोवाका पूर्ण-समय सुसमाचारक जोसेफ र तिनकी पत्नी मेलाई विचार गर्नुहोस्।b तिनीहरू सोलोमन आइल्याण्डको एउटा ठाउँमा बस्छन्, जहाँ दुलहीको मोलले कहिलेकाहीं समस्या खडा गर्छ। यस्ता समस्याहरूबाट जोगिन जोसेफ र मेले आफ्नी छोरी हेलेनको विवाह अर्को टापुमा गरिदिए। अर्की छोरी एस्तरको विवाह पनि तिनीहरूले त्यसरी नै गरे। जोसेफले आफ्नो ज्वाइँ पिटरले व्यवहारिक तवरमा स्वीकारिनेभन्दा पनि कम दुलहीको मोल तिर्नुपर्ने तय गरे। किन त्यसो गरेको भनेर सोध्दा जोसेफ बताउँछन्: “अग्रगामी गरिरहेका मेरो ज्वाइँलाई म भार बोकाउन चाहन्न थिएँ।”
अफ्रिकामा यहोवाका थुप्रै साक्षीहरूले पनि त्यसैगरि व्यवहारिक भएर उत्तम उदाहरण बसालेका छन्। कुनै कुनै ठाउँमा संयुक्त परिवारका सदस्यहरूले सामान्यतया दुलहीको वास्तविक मोल तय गर्नु अगावै ठूलो रकम दिएको आशा गर्छन्। अनि दुलहीको सुरक्षाका लागि दुलहाले आफ्नो सालोको बिहेमा दुलहीको मोल तिर्ने कबूल गरेको पनि आशा गरिन्छ।
यसको विपरीत कोसी र तिनकी पत्नी मरको उदाहरण विचार गर्नुहोस्। तिनीहरूकी छोरी बेबोकोले हालसालै यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षकसित बिहे गरिन्। बिहेअघि नातेदारहरूले आमाबाबुलाई दुलहीको मोलस्वरूप निकै मोटो रकम लिएर तिनीहरूसित पनि बाँडचुँड गर्न असाध्यै दबाब दिए। तथापि, आमाबाबु दुवै आफ्नो अडानमा दृढ बसेर यस्ता मागहरू पूरा गरेनन्। बरु, तिनीहरूले सीधै आफ्नो भावी ज्वाइँलाई भेटेर छोरीको निम्ति एकदमै कम मोल तय गरे र त्यसमा पनि आधा त बिहेको तयारीका लागि ती नवविवाहितहरूलाई नै फिर्ता गरे।
त्यही मुलुकको इतोङगो नाउँ गरेकी जवान साक्षीलाई पनि लिनुहोस्। सुरुमा त तिनको परिवारले दुलहीको व्यवहारिक मोल मागे। तर नातेदारहरूले मोल बढाउन कर गरे। फलतः परिस्थिति निकै तनाउग्रस्त भयो र ती नातेदारहरूले चाहेजस्तो हुने देखियो। स्वभावैले लज्जालु भए तापनि इतोङगोले प्रबन्ध गरिएअनुसार नै साङजे नाउँ गरेका जोसिला मसीहीसित विवाह गर्ने अठोट आदरपूर्वक सुनाइन्। त्यसपछि तिनले साहसी भई “मबि के” भनिन् (जसो अर्थ हो, “कुरो यही टुंगियो”) र थपक्क बसिन्। तिनलाई तिनकी मसीही आमा सामबेकोले समर्थन गरिन्। त्यसपछि फेरि यस विषयमा थप छलफल गरिएन र पूर्वयोजनाअनुसारै त्यस जोडीको विवाह भयो।
मायालु मसीही आमाबाबुले दुलहीको मोलबाट प्राप्त हुने व्यक्तिगत फाइदाभन्दा पनि अझ धेरै चिन्ता गर्नुपर्ने विषयहरू छन्। क्यामरूनका एक पति लेख्छन्: “मेरी सासू मलाई मैले दुलहीको मोलस्वरूप उहाँलाई जे दिन चाहेको छु, त्यो उहाँकी छोरीको आवश्यकता पूरा गर्न नै प्रयोग गर्नुपर्छ भनेर बेलामौकामा भनिरहनुहुन्छ।” मायालु आमाबाबुहरू छोराछोरीको आध्यात्मिक स्वास्थ्यको पनि चिन्ता गर्छन्। उदाहरणका लागि, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने काममा निकै समय लगाउने जिम्बावेका फाराई र रुडोलाई हेर्नुहोस्। कुनै आयस्रोत नभए तापनि तिनीहरूले असाध्यै कम मोलमा आफ्ना दुइटी छोरीहरूको बिहे गरिदिए। तिनीहरूले यसो गर्नुको कारण? यहोवालाई साँच्चै माया गर्ने पुरुषहरूसित आफ्ना छोरीहरूले बिहे गरेर लाभान्वित होऊन् भन्ने तिनीहरू चाहन्थे। तिनीहरू बताउँछन्, “हाम्रा दुइटी छोरीहरू र ज्वाइँहरूको आध्यात्मिकता हाम्रोनिम्ति सबैभन्दा ठूलो कुरा थियो।” सुन्दै मन कत्ति हल्का हुन्छ! आफ्ना विवाहित छोराछोरीको आध्यात्मिक तथा भौतिक सुस्वास्थ्यप्रति मायालु चासो देखाउने सासूससुराहरू असाध्यै सराहनीय छन्।
व्यवहारिक हुनुका फाइदाहरू
सोलोमन आइल्याण्डका जोसेफ र मेले आफ्नी छोरीहरूको बिहे उदारता र होसियारीसाथ गराइदिएकाले आशिष् पाए। यसरी तिनीहरूका ज्वाइँहरू ऋणमा डुबेनन्। बरु, त्यस दम्पतीले निकै वर्ष परमेश्वरको राज्यको सुसमाचार फैलाउने पूर्ण-समय सेवकाईमा बिताउनसके। पहिलेको कुरा सम्झँदै जोसेफ भन्छन्: “म र मेरो परिवारले गरेको निर्णयको कारण प्रशस्त आशिष् पाएका छौं। हो, कहिलेकाहीं अबुझहरूले निकै दबाब दिए तर छोराछोरीहरूलाई यहोवाको सेवामा व्यस्त भएको देख्दा मेरो अन्तस्करण सफा भएको छ र म सन्तुष्ट छु। तिनीहरू पनि सुखी छन् र मेरी पत्नी र म झन् धेरै खुसी छौं।
अर्को फाइदा विवाहद्वारा साइनो पर्नेहरूबीचको सुमधुर सम्बन्ध हो। उदाहरणका लागि, जोनडाई र सिबुसीसो आ-आफ्ना पत्नीहरूसित जिम्बावेस्थित वाच टावर सोसाइटीको शाखा कार्यालयमा स्वयंसेवा गर्छन्। तिनीहरूका पत्नीहरू साक्खै दिदीबहिनी हुन्। तिनीहरूका ससुरा दाक्राई पूर्ण-समय सुसमाचारवाहक हुन् र उनको कुनै आयस्रोत छैन। दुलहीको मोल तय गर्ने बेलामा उनले ज्वाइँहरूलाई तिनीहरूको क्षमताले भ्याउने चिज मात्र स्वीकार्ने कुरा बताए। “हामी हाम्रो ससुरालाई औधी माया गर्छौं,” जोनडाई र सिबुसीसो भन्छन्, “उहाँलाई आपत् परेको बेला हामी सक्दो मदत गर्छौं।”
हो, दुलहीको मोल तय गर्ने बेला व्यवहारिक हुँदा परिवार आनन्दित हुन्छ। जस्तै, उदाहरणका लागि, नवविवाहितहरू ऋणमा पर्दैनन् र विवाहमा काँटछाँट गर्न तिनीहरूलाई सजिलो हुन्छ। यसले थुप्रै जवान दम्पतीहरूलाई प्रचार गर्ने र चेला बनाउने अत्यावश्यक काम, पूर्ण-समय सेवा गर्नेजस्ता आध्यात्मिक आशिष्हरू हासिल गर्न सजिलो तुल्याएको छ। फलतः यसले विवाहका मायालु आरम्भक यहोवा परमेश्वरको प्रशंसा हुन्छ।—मत्ती २४:१४; २८:१९, २०.
[फुटनोटहरू]
a कुनै कुनै समाजमा चाहिं कुरा ठीक उल्टो छ। सासूससुरा दुलहीका आमाबाबुले दाइजो दिएको आशा गर्छन्।
b यस लेखमा नाउँ परिवर्तन गरिएको छ।
[पृष्ठ २७-मा भएको पेटी]
तिनीहरूले दुलहीको मोल फिर्ता गरे
दुलहीको असाध्यै कम मोल लिंदा दुलही र तिनका आमाबाबुलाई कुनै कुनै समाजमा होच्याइन्छन्। यसकारण, घमण्डी र आडम्बरी भई परिवारको इज्जत राख्ने इच्छाले यदाकदा चर्को मोल तय गर्न तम्सन्छन्। लागोस, नाइजेरियाको एउटा परिवारले निकै हलुको महसुस गराउने उदाहरण पेश गरेको छ। तिनीहरूका ज्वाइँ डेले व्याख्या गर्छन्:
“मेरो ससुरालीले मलाई दुलहीको मोल तिर्ने परम्परागत समारोहलाई कायम गर्दा लाग्ने थुप्रै खर्चहरूबाट जोगाउनुभयो। जस्तै, लुगा फेर्दा दिनुपर्ने महँगा लुगाफाटाहरू। मेरो बुबाले उहाँहरूलाई दुलहीको मोल दिनुहुँदा पनि उहाँहरूको तर्फका प्रवक्ताले हामीलाई ‘तपाईंहरू यो केटीलाई बुहारीको रूपमा लान चाहनुहुन्छ कि छोरीको रूपमा’ भनेर सोधे। मेरो परिवारले एकसाथ जवाफ दियो: ‘हामी तिनलाई छोरीको रूपमा लान चाहन्छौं।’ त्यसपछि त्यही खाममा दुलहीको मोल फिर्ता गरियो।
“हाम्रो विवाह यसप्रकार गर्न चाँजो मिलाइदिनुभएको लागि मेरी पत्नीका नातेदारहरूप्रति म अझै आभारी छु। यसले गर्दा उहाँहरूप्रति मेरो श्रद्धा निकै बढेको छ। उहाँहरूको उत्कृष्ट आध्यात्मिक दृष्टिकोणको कारण म उहाँहरूलाई आफ्नो नजिकैको नातेदारसरह ठान्छु। आफ्नी स्वास्नीप्रतिको मेरो दृष्टिकोणलाई पनि यसले निकै ठूलो प्रभाव पारेको छ। उसको परिवारले मसित गरेको व्यवहारको कारण ऊप्रति मेरो मूल्यांकन गहिरिएको छ। हाम्रो कुरा बाझ्दा म समस्याको रूप लिन दिन्नँ। ऊ कुन परिवारबाट आएको हो, सम्झनेबित्तिकै असहमति त्यसै फासफुस हुन्छ।”
“मेरो र उसको परिवारका सदस्यहरू मित्रताको बलियो बन्धनमा बाँधिएका छन्। हाम्रो बिहे भएको दुई वर्ष भइसक्यो र पनि मेरो बुबा अझै मेरो ससुरालीमा कोसेली पठाइरहनुहुन्छ।”