घानाको “परम्परागत विवाह”
घानाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
संसारभरि हरेक वर्ष लाखौं मानिसहरूले विवाह गर्छन्। तिनीहरू अक्सर आफू बस्ने ठाउँको चलनअनुसार विवाह गर्छन्।
घानामा सबैभन्दा प्रचलित विवाहलाई नै परम्परागत विवाह भनिन्छ। यसअनुसार दुलहाको परिवारले दुलहीको परिवारलाई दुलहीको मोल तिर्नुपर्छ। अफ्रिकाका धेरैजसो ठाउँहरूमा र पापुआ न्यु गिनी, हङकङ, सोलोमन टापुहरूका साथसाथै कोलम्बियाको उत्तरपूर्वी ग्वाकेरो इन्डियनहरूबीच र उत्तर पश्चिमी भेनेज्वेलामा यस्तो परम्परागत विवाह गरिन्छ। र अरू थुप्रै देशहरूमा यस्तो विवाह गर्ने चलन छ।
बाइबलकालीन विवाहमा पनि दुलहीको मोल तिर्ने चलन थियो। (उत्पत्ति ३४:११, १२; १ शमूएल १८:२५) पुरातन समय र अहिलेको कुरा बुझ्दा दुलहीको मोलस्वरूप दिइने रकम त्यस केटीले परिवारमा पुऱ्याएकी योगदान र विवाहअघि उनको हेरचाह र शिक्षाको निम्ति परिवारले गरेको प्रयास तथा खर्च बापत दिइने क्षतिपूर्ति हो।
आमाबाबुको जिम्मेवारी
प्राचीन समयमा घानामा युवायुवतीहरूबीच प्रेमविवाह गर्ने चलन थिएन। आमाबाबुले आफ्नो समुदायमा विवाह गर्ने उमेर पुगिसकेका जवान केटा तथा केटीहरूबारे पहिला सबै कुरा बुझ्थे। अनि त्यसपछि मात्रै आफ्ना हुर्केका छोराछोरीको लागि विवाहको कुरा छिन्थे। घानामा कोही कोही आमाबाबुले अझै यसो गर्छन्।
केटाको आमाबाबुले केटीको व्यक्तित्व, तिनी र तिनको परिवारको छवि, परिवारमा कुनै वंशानुगत रोग छ कि छैन, जस्ता कुराहरू हेर्छन् र यहोवाका साक्षीहरू हुन् भने चाहिं तिनको आध्यात्मिकता पनि हेरिन्छ। सबै कुरा चित्त बुझेपछि केटाको आमाबाबु केटीको आमाबाबुकहाँ औपचारिक रूपमा जान्छन् र विवाहको प्रस्ताव राख्छन्।
त्यसपछि केटीको आमाबाबुले केटा र तिनको परिवारको पृष्ठभूमिबारे छानबिन गर्छन्। माथि उल्लिखित कुराहरूबाहेक तिनीहरूले केटा सक्षम छन् कि छैनन्, पत्नीलाई पाल्नसक्छन् कि सक्दैनन्, तिनी जागिरे छन् कि बेरोजगार, त्यो पनि हेर्छन्। केटीको आमाबाबुलाई पनि चित्त बुझ्यो भने केटाको आमाबाबुलाई खबर गर्छन्। अनि केटा र केटी दुवै सहमत भएमा दुवैको आमाबाबु मिलेर विवाहका लागि अन्य प्रबन्धहरू मिलाउँछन्।
कोही कोही आमाबाबुले किन अझै पनि आफ्ना हुर्केका छोराछोरीको लागि दुलहा वा दुलही खोजिदिने गर्छन्? आमाबाबुले नै मिलाइ दिएको केटासित विवाह गरेकी एक भारतीय स्त्रीले यसो भनिन्: “कुनै जवान व्यक्तिले त्यस्तो गम्भीर निर्णय कसरी गर्नसक्छन् र? आफूभन्दा पाको र अनुभवी व्यक्तिलाई नै यो जिम्मेवारी दिनु बेस हुन्छ।” थुप्रै अफ्रिकीहरूको धारणा पनि यस्तै छ।
तथापि, घानामा कामकुरा पहिलेजस्तो छैन। प्रेमविवाह झन् झनै लोकप्रिय हुँदैछ। केटा र केटीको आपसमा कुरा पक्का भएपछि दुवैले आ-आफ्नो आमाबाबुलाई तिनीहरूको मनसाय बताउँछन्। आमाबाबुले आपसमा छलफल गरेर दुवै पक्षका आमाबाबुलाई यो जोडी चित्त बुझेपछि मात्रै औपचारिक समारोह गरिन्छ। साधारणतया घानाका विभिन्न भाषाहरूमा यस समारोहलाई विवाहको ढोका ढकढक्याउने समारोह भनिन्छ।
ढोका ढकढक्याउने समारोह
केटा र केटीका आमाबाबुले आ-आफ्ना परिवारका सदस्यहरूलाई विवाहको मिति र यो भेटघाटको कारण बताउँछन्। “परिवारका सदस्यहरू” भन्ने पदावलीले यहाँ ठूलो अफ्रिकी परिवार जसमा केटा र केटीको काका, काकी, मामा, माइजू, फुफू, फुफाजू, अन्य नातेदारहरू र हजूरबुबा, हजूरआमालाई बुझाउँछ। तय गरेको मितिमा दुवै परिवारका आफन्तहरू समारोहको लागि जम्मा हुन्छन्। दुलहा आउनैपर्छ भन्ने छैन। निम्न विवरण त्यस्तै ढोका ढकढक्याउने समारोहहरूमा भएको संक्षिप्त घटना हो।
केटीको प्रतिनिधि: [दुलहाको आफन्तहरूसित कुरा गर्दै] तपाईंहरू यहाँ आउनुको कारण हामीलाई थाह छ तर के गर्ने चलनअनुसार हामीले सोध्नैपर्छ। यहाँहरू के कति कारणले आउनुभएको होला?
केटाको प्रतिनिधि: तपाईंको घरको बाटो भएर जाँदा हाम्रो छोरा क्वेजेले एउटा असाध्यै राम्रो फूल देखेछन् र तिनी त्यो फूल टिप्न अनुमति चाहन्छन्।
केटीको प्रतिनिधि: [बुझ पचाउँदै] यो घरमा फूल त छैन। पत्यार नलागे आफै आएर हेर्नुहोस् न।
केटाको प्रतिनिधि: होइन, हाम्रो छोराले त्यो फूल देखेकै हो। यो घरमा एउटा असाध्यै राम्रो फूल पक्कै छ। त्यो फूलको नाउँ हो आफी।
केटीको प्रतिनिधि: ए, त्यो फूल त केटी मान्छे पो परेछ। त्यसोभए त हो, आफी यहीं बस्छिन्।
केटाको प्रतिनिधि: हामी ढोका ढकढक्याएर हाम्रो छोरा क्वेजेको आफीसित विवाह गरिदिन चाहन्छौं।
अब केटाको परिवारले केही चीजबीजहरू, जस्तै विभिन्न पेयपदार्थ र केही रकम उपहारस्वरूप दिन्छ। दिइने सामग्री र परिमाण, कुल कुलअनुसार फरक फरक हुन्छ। यो समारोह पश्चिमी सभ्यतामा मगनी गरेजस्तै हो र कोही कोही परिवारले मगनीको औंठी पनि साटासाट गर्ने भन्छन्।
दुलहीको आफन्तले अब सबैको सामु ती चीजबीजहरू लिने कि नलिने भनी दुलहीलाई सोध्छन्। तिनको सकारात्मक जवाफद्वारा उपस्थित सबै तिनी विवाह गर्न राजी छिन् भनी थाह पाउँछन्। दुलहीको मोल तिर्ने दिन र विवाह कुन दिन पार्ने हो भनेर दुवै परिवार बसेर तय गर्छन्। अन्तमा जलपान गरिन्छ।
विवाह समारोह
केटीको वा कुनै आफन्तको घरमा दुलहीको मोल तिर्न र विवाहको लागि मानिसहरू जम्मा हुन्छन्। र ढोका ढकढक्याउने समारोहमा भन्दा यो समारोहको लागि अक्सर धेरै मानिसहरू जम्मा हुन्छन् किनभने अहिले थुप्रै साथीहरू पनि भेला भएका छन्।
एकदमै रमाइलो वातावरण हुन्छ। दुलहीको लागि ल्याइएका सामानहरू हेर्न अविवाहित युवायुवतीहरू उत्सुक छन्। तर दुलहीको परिवारले दुलहीको मोलस्वरूप ल्याएको चीजबीजहरू कम भयो भनेर गुनासो गरेपछि रमाइलो वातावरण तनाउमा परिणत हुन्छ। दुलहीको परिवारलाई चित्त नबुझेको जस्तो देखिंदा उपस्थित भएकाहरूमध्ये कोही कोही त झस्किन्छन् पनि। दुलहाको प्रतिनिधिले दुलहीको परिवारलाई सम्झाउँदै बुझाउँदै विभिन्न तर्कहरू पेश गर्छन्। केटीको परिवार बल्लतल्ल मानेपछि सबै ढुक्क हुन्छन्। फेरि वातावरण पहिलेकै जस्तो रमाइलो हुन्छ र हल्का जलपान टक्राइन्छ।
त्यसपछि, दुलहीको प्रतिनिधिले उपस्थित सबैलाई चूप लाग्न आग्रह गर्दै स्वागत गर्छन्। तिनले दुलहाका आफन्तहरूलाई तिनीहरू आउनुको उद्देश्य सोध्छन्। दुलहाको प्रवक्ताले भेला भएका जति सबैलाई ढोका ढकढक्याइ सकेको र प्रवेश गर्न अनुमति पनि पाइसकेको कुरा सम्झाउँदै तिनीहरू आउनुको कारण बताउँछन्।
अनि दुवै परिवारको प्रवक्ताले केटीलाई अनमाउने व्यक्ति र विवाहमा केटाको अभिभावकका साथसाथै परिवारको निकटम सदस्यहरू भेला भएका सबैलाई चिनाउँछन्। विवाह समारोह अझै सकिएको छैन।
केटीको प्रतिनिधि: [दुलहाको आफन्तहरूसित कुरा गर्दै] विवाहको लागि हामीले मागेका सामग्रीहरू कृपया देखाउनुहोस्।
दुलहीको प्रवक्ताले दुलहीको मोलस्वरूप दिनुपर्ने चीजबीजहरूको सूची पढ्छन् ताकि भेला भएकाहरूले सबै थोक छन् कि छैनन् हेर्न सकोस्। दुलहाका आफन्तहरूलाई दुलहीको परिवारले धेरै मागेको जस्तो लागेमा तिनीहरूले विवाहअघि नै आपसमा कुरा मिलाउँछन्। तथापि, दुलहीका परिवारका केही सदस्यहरूले अझै बढी मागेर कचकच गरेमा मोलतोल गर्न दुलहाको परिवार तम्तयार भएर आउँछन्। घानाको सबैजसो ठाउँहरूमा कम होस् या धेरै दुलहीको मोल भने पहिल्यै तय गरिसकेको हुन्छ र त्यो पूरै नतिरी सुखै छैन।
केही परिवारहरूले सिक्री, मुन्द्री र केटीहरूलाई चाहिने अन्य मालतालहरू माग्छन्। उत्तरी घानामा दुलहीको मोलमा नून, किसमिस, गिनीया चरा, भेडा र गाईवस्तुसमेत माग्छन्। दुलहीको मोलमा पैसा चाहिं तिर्नैपर्ने हुन्छ।
वार्ता भइरहेको ठाउँमा दुलही हुँदिनन् तर कतै नजीकबाट हेरिरहेकी हुन्छिन्। दुलहा चाहिं आए पनि हुन्छ, नआए पनि हुन्छ। त्यसैले, केटा कतै टाढा ठाउँमा छन् भने आफ्नो आमाबाबुलाई विवाहको कुरा छिनिदिन आग्रह गर्नसक्छन्। तर यहाँ वर्णन गरिएको अवसरमा भने दुलहा पनि छन्। अब पालो दुलहाको परिवारको हो।
केटाको प्रतिनिधि: हामीले तपाईंहरूले भन्नुभएको सबै पूरा गरिसकेका छौं तर बुहारी भने देखेकै छैनौं।
विवाह उत्सव केवल गम्भीर कुराकानी गर्ने समय मात्र होइन तर ख्यालठट्टा गर्ने समय पनि हो। केटाको परिवारले दुलही हेर्ने आग्रह गर्दा केटीको परिवारले यसरी जवाफ दिन्छ।
केटीको प्रतिनिधि: दुलही यहाँ भए त कति हुन्थ्यो। तर के गर्ने तिनी विदेश गएकी छिन् र तिनलाई फर्काउन हामीसित नता पासपोर्ट छ न भिसा नै छ।
यसको अर्थ के हो सबैलाई थाह छ। तुरुन्तै दुलहाको परिवारले आफूले दिनसक्ने जति एक मुस्ट रकम दिइहाल्छ र काल्पनिक पासपोर्ट र भिसा पनि तयार! अनि त दुलही विदेशबाट फर्किन्!
अझ रमाइलो गर्न कुनै कुनै कुलले दुलहीका केही संगिनीहरूलाई दुलहीजस्तै सिंगार्छन्। दुलहीजस्तै सिंगारिने जो कोहीलाई भेला भएका सबैले तुरुन्तै अस्वीकार गरिहाल्छन् र वास्तविक दुलही आउँदा जोडदार ताली बजाउँछन्। अनि दुलहीलाई तिनको प्रवक्ताले दुलहीको मोलस्वरूप ल्याइएका चीजबीजहरू हेर्न बोलाउँछन्। दुलहाले ल्याएका कुराहरू स्वीकार्ने कि नस्वीकार्ने भनेर दुलहीलाई सोध्छन्। दुलहीले कस्तो जवाफ देलिन् भन्दै सबै चूपचाप लाग्छन्। कोही केटीहरू लजालु त कोही निडर हुन्छन् तर सधैंजसो सबैले नै सकारात्मक जवाफ दिन्छन् अनि सबै जना दंग परेर ताली बजाउँछन्।
दुलहा पनि साथै आएका छन् भने दुलहीको परिवारले दुलहालाई चिन्ने आग्रह गर्छ। दुलहाका साथीहरूलाई पनि दुलहाजस्तै बन्न लगाएको छ भने त झन् रमाइलोको कुरै नगरौं। सान देखाउँदै तिनको साथी उठ्छन् तर यो त हुँदै होइन भनेर तुरुन्तै अस्वीकार गरिहाल्छन्।
दुलहीको आमाबाबुले फेरि ज्वाइँ हेर्ने आग्रह गर्छ। प्रफुल्लित हुँदै मधुर मुस्कान छोड्दै अब सक्कली दुलहा उठ्छन्। दुलहीको परिवारले दुलहीलाई आफ्नो पतिसित बस्ने अनुमति दिन्छ र दुलहीको मोलमा औंठी पनि कबुल गरिएको छ भने औंठी साटफेर गर्छन्। औंठी साटफेर गर्ने चलन चाहिं पश्चिमी सभ्यताबाट सिकेको हो। त्यस्तै दुलहीले पनि दुलहालाई औंठी लगाइ दिन्छिन्। सबैले दुलहादुलहीलाई बधाई दिन्छन् र वातावरण नै रमाइलो हुन्छ। सुविधा र पैसाको कारण आजकल कोही कोहीले ढोका ढकढक्याउने समारोह र विवाह एकै दिनमा गर्छन्।
आफ्नो विवाहलाई आजीवन सफल बनाउन यी नववरवधूलाई दुवै परिवारका अनुभवी सदस्य तथा अन्य व्यक्तिहरूले सल्लाह दिन्छन्। अन्तमा रमाइलोसित जलपान गरिन्छ।
विवाह समारोह समापन भयो! घानाको चलनअनुसार त्यस दिनदेखि समुदायले त्यो दम्पतीलाई कानुनी रूपमा विवाहित ठान्छ। कारणवश केटीको परिवारका केही मुख्य सदस्यहरू समारोहमा आउनसकेन भने विवाह समारोह समापन भएको पक्का गर्न केही पेयपदार्थहरू तिनीहरूलाई पठाइन्छ। दुलहा र दुलही यहोवाका साक्षीहरू हुन् भने, त्यसपछि बाइबल आधारित भाषण दिने र हल्का जलपानको प्रबन्ध मिलाउँछन्।
घानामा केही दम्पतीहरूले पश्चिमीशैलीमा विवाह गर्छन् जसलाई त्यहाँ निजामती विवाह वा कानुनअनुसार गरिएको विवाह भनिन्छ। दम्पती बालिग भइसकेका छन् भने विवाह गर्न आमाबाबुको अनुमति अनिवार्य छैन। तर परम्परागत विवाहमा भने आमाबाबुको अनुमति अनिवार्य छ।
निजामती विवाह गर्दा दम्पतीले विवाह वाचा लिन्छ। तर परम्परागत विवाहमा चाहिं वाचा लिइँदैन। त्यहाँको सरकारले सबै परम्परागत विवाहलाई दर्ता गर्ने आदेश दिएको छ र यहोवाका साक्षीहरूले यो पालन गर्छन्। (रोमी १३:१) अनि दर्ता गरिएको प्रमाणपत्र दिइन्छ।
पुरातन समयदेखि गोल्ड कोस्ट अर्थात् घाना बेलाइतको उपनिवेश नभएसम्म त्यहाँ विवाह गर्ने एउटै मात्र तरिका परम्परागत विवाह थियो। अनि बेलाइतीहरूले त्यहाँ बसोबास गर्न थालेपछि त्यहाँका नागरिकहरूलाई पश्चिमीशैलीको विवाह पनि सिकाए। यहाँका नागरिकहरूलाई पश्चिमीशैलीमा विवाह गर्न पनि अनुमति दिइन्थ्यो र पश्चिमीशैलीको विवाह तथा परम्परागत विवाह दुवै वर्षौंअघिदेखि प्रचलित छ। घानामा दुवै तरिकाको विवाहलाई कानुनी मान्यता दिइन्छ। तसर्थ यहोवाका साक्षीहरूलाई पनि दुवै स्वीकार्य छ। कुन शैलीमा विवाह गर्ने हो, त्यो व्यक्तिविशेषमा भर पर्छ।
केही अफ्रिकी देशहरूमा परम्परागत विवाह गरेको दम्पतीलाई कानुनी तवरमा विवाहित ठान्नुअघि विवाह दर्ता गरेको हुनुपर्छ। तर घानामा चाहिं माथि उल्लिखित परम्परागत विवाह दर्ता नगरे तापनि कानुनले मान्यता दिन्छ। परम्परागत विवाहपछि दम्पतीलाई कानुनी रूपमा विवाहित मानिन्छ। रिकर्ड राख्ने उद्देश्यले मात्रै पछि परम्परागत विवाह दर्ता गरिन्छ।
निस्सन्देह, विवाह मानिसजातिको निम्ति परमेश्वरको मायालु उपहार हो। एउटा अद्वितीय उपहार जुन स्वर्गदूतहरूलाई समेत दिइएन। (लूका २०:३४-३६) यहोवा परमेश्वरले सुरु गर्नुभएको यो मूल्यवान् बन्धनबाट उहाँको महिमा हुनैपर्छ।
[पृष्ठ २९-मा भएको चित्र]
औंठी साटासाट गरिरहेको