मैले सुनभन्दा उत्तम कुरा पाएँ
चार्ल्स मिल्टनको वृत्तान्तमा आधारित
एक दिन बुबाले यसो भन्नुभयो: “अमेरिकामा त रूखमा पैसा फल्छ रे नि, चार्लीलाई त्यहाँ पठाऊँ होइन? उसले केही पैसा हात पारेर हामीलाई पठाउँन सक्ला नि हौ!”
वास्तवमा, मानिसहरू अमेरिकाका सडकहरूमा सुन छापिएका छन् भन्ठान्थे। त्यतिखेर पूर्वी युरोपमा जीवन धान्न धौ धौ पर्थ्यो। मेरो मुमाबुबाको एउटा सानो फार्म थियो अनि उहाँहरू गाई र कुखुरा पाल्नुहुन्थ्यो। हाम्रो घरमा बिजुली बत्ती र धाराको व्यवस्था थिएन। त्यतिखेर नता छेउछाउमा अरू कसैको नै बत्ती र धारा थियो।
म आजभन्दा झन्डै १०६ वर्षअघि अर्थात् जनवरी १, १८९३ मा होसोचेकमा जन्मेको थिएँ। हामी तत्कालीन अस्ट्रो-हंगेरी साम्राज्यको अंग अर्थात् गलेसिया प्रान्तको एउटा गाउँमा बस्थ्यौं। अहिले होसोचेक स्लोभाकिया र युक्रेन नजिकै पूर्वी पोल्याण्डमा पर्छ। त्यहाँ हिउँदमा मुटु कमाउने जाडो हुन्छ अनि रासका रास हिउँ थुप्रिन्छ। म यस्तै सात वर्षको हुँदा हाम्रो घरदेखि करिब आधा किलोमिटर टाढाको सानो खोलामा गएर बन्चरोले हिउँ काटेर पानी निकाल्थें। मैले ओसारेको पानीले मुमा खाना पकाउनुका साथै भाँडाकुँडा धुनुहुन्थ्यो। लुगाफाटा चाहिं खोलामै गएर हिउँका ठूलठूला टुक्रामाथि राखेर धुनुहुन्थ्यो।
होसोचेकमा एउटै स्कूल थिएन। तर मैले जसोतसो पोलिश, रुसी, स्लोभाकी र युक्रेनी भाषा बोल्न सिकें। हामी बच्चैदेखि ग्रीक अर्थोडक्स धर्ममा हुर्केबढेका थियौं र म धार्मिक पूजाआजामा सघाउपघाउ गर्नेगर्थें। तर म सानै छँदा पादरीहरूदेखि विचलित भएँ। किनकि तिनीहरू हामीले शुक्रबार मासु खानु हुँदैन भन्थे तर आफै चाहिं बाँकी राख्दैनथे।
केही साथीभाइहरू संयुक्त राज्यमा जागिर खाएर घर फर्केका थिए। तिनीहरूले आफ्नो घर मरम्मत तथा रंगरोगन गर्ने अनि फार्ममा चलाउने यन्त्रहरू किन्ने पैसा कमाएर ल्याए। यसैकारण, बुबाले अमेरिका जानै लागेका छिमेकीहरूका साथमा मलाई पनि पठाउने कुरा गर्नुभयो। यो १९०७ को कुरा हो। त्यतिखेर म १४ वर्षको थिएँ।
अमेरिकामा रनभुल्लमा परें
केही दिनपछि म पानीजहाज चढें अनि दुई हप्ताको यात्रापछि आन्द्र महासागर पार गरियो। त्यतिबेला अमेरिका प्रवेश गर्न २० अमेरिकी डलर चाहिन्थ्यो नत्र तिनीहरूले घर फर्काइदिन्थे। मसँग २० डलर चाँदीका सिक्काहरू थिए। अतः अमेरिकाको प्रवेशद्वार अर्थात् न्यु योर्कस्थित एलिस टापुबाट छिर्ने लाखौंमध्ये म पनि एक भएँ। निस्सन्देह, त्यहाँ रूखमा पैसा फल्दैनथ्यो नता सडकहरूमा सुन नै छापिएको थियो। भनौं भने, कतिपय सडकहरूमा त अलकत्रा समेत छापेको पाइन्नथ्यो!
हामी रेल चढेर पेन्सिलभेनियास्थित जोन्सटाउनतर्फ लाग्यौं। मेरा यात्रुहरू पहिला पनि त्यहाँ गइसकेका थिए। त्यसैले, तिनीहरूले त्यहाँ एउटा बोर्डिङ हाउस चिनेका रहेछन्। तिनले मलाई त्यहीं बसे हुन्छ भन्ने कुरा गरे। म पेन्सिलभेनियास्थित जेरोममा बस्नुहुने मेरी दिदीलाई खोज्न चाहन्थें। त्यहाँबाट जेरोम लगभग २५ किलोमिटर मात्र टाढा रहेछ भनेर पछि थाह पाएँ। तर म जेरोम होइन यारोम भन्ने गर्थें किनकि मेरो मातृभाषामा अंग्रेजी वर्ण “जे”-लाई “वाई” भनेर उच्चारण गरिन्छ। त्यहाँ कसैले पनि यारोम भन्ने ठाउँको नाउँ सुनेकै थिएनन्। अतः म त अनजान देशमा हराएझैं भएँ, त्यसमाथि मलाई फाट्टफुट्ट मात्र अंग्रेजी बोल्न आउँथ्यो र पैसा पनि थोरै मात्र थियो।
प्रत्येक बिहान धुइँधुइँती जागिर खोज्न थालें। जागिरको खोजीमा कार्यालयबाहिर लाम लागेका असंख्य व्यक्तिहरूमध्ये दुई तीन जनाले मात्र काम पाउँथे। अतः प्रत्येक दिन बोर्डिङ हाउस फर्केर भाषा सिक्ने पुस्तकहरू पढ्दै अंग्रेजी सिक्न थालें। कहिलेकाहीं सानोतिनो जागिर नपाएको चाहिं होइन तर महिना मर्दा नमर्दै सबै पैसा सखाप भइहाल्थ्यो।
आफ्नो दाज्यूदिदीसँग पुनर्मिलन
एक दिन रेल स्टेशन छेउको होटलमा गएँ। त्यहाँ भट्टी पनि थियो। अनि खानेकुरा मगमग वासना आइरहेको थियो! यो भट्टीमा एक गिलास बियरको पाँच सेन्ट पर्थ्यो अनि बियर किनेमा स्यान्डविच, ससेज तथा अन्य परिकारहरू सित्तैमा पाइन्थ्यो। मेरो उमेर मद्य पिउनसक्ने भएकै थिएन। तैपनि भट्टीको मालिकको मनमा मप्रति दया जागेछ र मलाई बियर दियो।
बियर खाँदै गर्दा केही व्यक्तिहरू भट्टीमा पसेर यसो भने: “छिटछिटो बियर सिध्याउनुहोस्! जेरोम जाने रेल आउँदैछ।”
“के तपाईंले यारोम भन्नुभएको हो?” मैले सोधें।
“होइन, जेरोम भनेको,” तिनीहरूले प्रत्युत्तर दिए। तब मेरी दिदी कहाँ बस्नुहुन्छ भन्ने कुरा थाह पाएँ। वास्तवमा, मेरी दिदीको घर नजिकै बस्ने एक व्यक्तिसँग त्यही भट्टीमा भेट भयो! अतः मैले रेलको टिकट लिएँ र अन्ततः दिदीलाई भेट्टाएँ।
मेरी दिदी र भिनाज्यूले कोइला खानीका मजदुरहरूका लागि बोर्डिङ हाउस चलाउनुहुन्थ्यो। म उहाँहरूसँगै बसें। उहाँहरूले मलाई खानीबाट पानी निकाल्ने पम्प देखरेख गर्ने काममा लगाउनुभयो। मेरो काम, पम्प चल्न बन्द हुनेबित्तिकै मिस्त्री बेलाउनु थियो। तलब दिनको १५ सेन्ट थियो। त्यसपछि रेलमार्ग र इटा कारखानामा काम गरें अनि बिमा बेच्ने काम पनि गरें। पछि पिट्स्बर्गतर्फ लागें, त्यहाँ मेरो दाज्यू स्टिभ हुनुहुन्थ्यो। त्यहाँ हामीले स्टिल कारखानामा काम गऱ्यौं। मैले कहिल्यै पनि घरमा पठाउन पुग्नेगरि प्रशस्त पैसा कमाउन सकिनँ।
परिवार र अन्त्येष्टि
एक दिन काममा लुखुरलुखुर जाँदै गर्दा एउटी तरुनी नोकरनी आफ्नो मालिकको घरअघि ठिङग उभिरहेकी देखें। मैले मनमनै भनें, ‘वाह, कत्ति राम्ररी।’ त्यसको तीन हप्तापछि १९१७ मा हेलेन र मेरो विवाह भयो। दस वर्षको अन्तरालमा हाम्रा छ जना छोराछोरीहरू भए। तिनीहरूमध्ये एक जना सानैमा मऱ्यो।
सन् १९१८ मा मैले पिट्स्बर्ग रेलवेमा ट्राम चालकको काम पाएँ। ट्राम राख्ने घरको छेउमा एउटा चमेनागृह थियो। त्यहाँ कफी पाइन्थ्यो। चमेनागृह चलाउने दुई युनानी पुरुष बाइबलको कुरा प्रचार गर्न नपाउञ्जेल त कसैले केही मागे पनि वास्तै नगर्लान्जस्ता देखिन्थे। म यसो भन्ने गर्थे: “तपाईंहरूले त सारा संसार चाहिं गलत अनि आफू मात्र सही हो भन्न खोज्नुभएको हो कि क्या हो?”
“यसबारे एकचोटि बाइबलमा हेर्नुहोस् न!” तिनीहरू भन्थे। तर तिनीहरू मलाई विश्वस्त गराउन असमर्थ हुन्थे।
दुःखको कुरा, १९२८ मा मेरी प्रिय हेलेन बिरामी परिन्। छोराछोरीको राम्रो हेरचाह होस् भनेर तिनीहरूलाई जेरोममा हुनुभएका दिदी र भिनाज्यूको घरमा पुऱ्याएँ। त्यतिबेलासम्म उहाँहरूले एउटा फार्म किनिसक्नुभएको थियो। म अक्सर छोराछोरीलाई भेट्न गइरहन्थें अनि तिनीहरूको खानपानका लागि महिनैपिच्छे पैसा दिन्थें। तिनीहरूलाई लुगाफाटा पनि पठाउँथें। दुःखको कुरा, हेलेनको स्वास्थ्य दिनपरदिन बिग्रंदै गयो। अन्ततः अगस्त २७, १९३० मा मृत्यु भयो।
मलाई आफू एक्लो भएझैं अनि मेरो संसारै डुबेझैं लाग्यो। अन्त्येष्टि कार्यक्रमको प्रबन्ध मिलाउन पादरीकहाँ जाँदा तिनले यसो भने: “अब तपाईं यस चर्चको सदस्य हुनुहुन्न। तपाईंले चर्चको शुल्क नतिर्नुभएको एक वर्षभन्दा बढी भइसक्यो।”
मेरी श्रीमती लामो समयसम्म ओछ्यान परिन् अनि उब्रेको पैसा छोराछोरीलाई जेरोम चर्चको निम्ति चन्दा पठाउनुपर्थ्यो। तैपनि, अन्त्येष्टि गर्न पादरी राजी हुनअघि पहिलेको चर्च शुल्क तिर्न मैले ५० डलर सापटी लिनुपऱ्यो। हेलेनकी दिदीको घरमा मेरा साथीहरू र परिवारले हेलेनलाई अन्तिम श्रद्धाञ्जली चढाउने योजना थियो। त्यहाँ मास आयोजना गर्न पादरीले थप १५ डलर मागे। मैले १५ डलर जोरजाम गर्नै सकिनँ। तर तलब पाउने दिन उक्त रकम दिन्छु भन्दा बल्लतल्ल पादरी मास आयोजना गर्न राजी भए।
तलब पाएपछि मैले त्यो पैसाले छोराछोरीलाई स्कूलका लागि जुत्ता र लुगाफाटा किन्नुपर्थ्यो। करिब दुई हप्तापछि उक्त पादरी मेरो ट्राममा चढ्यो। “खोइ त, तपाईंले अझै पनि १५ डलर दिनुभएकै छैन,” तिनले भने। पछि, आफ्नो गन्तव्यस्थानमा ओर्लेपछि तिनले यस्तो धम्की दिए, “म तपाईंको सुपरभाइजरकहाँ गएर तपाईंको तलबबाट मेरो पैसा लिन्छु।”
दिनभरि काम गरिसकेपछि सुपरभाजरलाई भेटेर पादरीको विषयमा कुरा गरें। आफू क्याथोलिक भए पनि तिनले यसो भने, “त्यो पादरी यहाँ आयो भने म त्यसलाई ठीक पार्छु!” यसले गर्दा मेरो मनमा कुरा खेल्न थाल्यो, ‘पादरीहरू हाम्रो पैसा खान मात्र खोज्छन्, बाइबलबारे चाहिं कहिल्यै केही सिकाउँदैनन्।’
सच्चाइ सिक्ने
म अर्को दिन ती दुई युनानी पुरुषको चमेनागृहमा गएँ। पादरीसँग भएको घटनाबारे कुराकानी गऱ्यौं। परिणामस्वरूप, त्यसताक बाइबल स्टुडेन्ट्स भनेर चिनिने यहोवाका साक्षीहरूसँग अध्ययन गर्न थालें। बाइबल तथा बाइबल साहित्यहरू पढेर पूरै रात फर्लंगै बिताउँथें। पादरीहरूले भनेजस्तो हेलेन पापमोचनस्थानमा होइन तर मृत्युमा निदाएकी रहिछन् भनेर थाह पाएँ। (अय्यूब १४:१३, १४; यूहन्ना ११:११-१४) निस्सन्देह, मैले सुनभन्दा उत्तम कुरा पाएँ। त्यो हो, सच्चाइ!
यसको केही हप्तापछि पिट्स्बर्गको गार्डन थिएटरमा बाइबल स्टुडेन्ट्सहरूको सभामा पहिलोचोटि उपस्थित हुँदा मैले हात उठाएर यसो भने, “मैले यतिका वर्षमा बाइबलबारे चर्चमा सिकेकोभन्दा बढी कुरा आज राति सिकें।” तत्पश्चात्, भोलि को को प्रचारकार्यमा जानुहुन्छ भन्दा फेरि मेरो हात उठ्यो।
त्यसपछि अक्टोबर ४, १९३१ मा पानीको बप्तिस्माद्वारा यहोवाप्रतिको समर्पणलाई प्रतीकात्मक रूप दिएँ। त्यतिञ्जेल एउटा घर भाडामा लिएर छोराछोरीलाई सँगै राख्ने अवस्थामा पुगिसकेको थिएँ। तिनीहरूको राम्रो हेरचाह गर्न एउटी धाईआमाको व्यवस्था पनि मिलाएँ। पारिवारिक जिम्मेवारीहरूको बावजूद जनवरी १९३२ देखि जून १९३३ सम्म विशेष सेवा अर्थात् सहायक सेवा गरें। त्यतिखेर सहायक सेवा गर्दा अरूसँग बाइबलबारे कुराकानी गरेर महिनैपिच्छे ५० देखि ६० घण्टासम्म बिताउनुपर्थ्यो।
त्यसैताक हिस्सी परेकी एउटी आइमाई जागिरमा आउँदाजाँदा सधैं मेरै ट्राममा यात्रा गर्ने गरेकी मैले याद गरें। ट्रामको पछाडि हेर्ने ऐनामा हाम्रा आँखा जुधेर चार हुन्थ्यो। यसरी मेरी र मेरो भेट भयो। हामीबीच माया बस्यो अनि अगस्त १९३६ मा विवाह गऱ्यौं।
सन् १९४९ सम्ममा मैले जागिर खाएको निकै भइसकेको थियो। अतः मैले आफूले भनेको समयमा काम गर्न पाउने भएँ र त्यतिबेला पूर्ण-समय सेवकाई भनिने अग्रगामी गर्न थालें। मेरी कान्छी छोरी जिनले १९४५ मा अग्रगामी गर्न थालिन् र हामी दुइले सँगै अग्रगामी गऱ्यौं। पछि, जिन र साम फ्रेन्डको भेट भयो। त्यतिबेला उनी ब्रूकलिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा सेवारत् थिए।a सन् १९५२ मा उनीहरूको विवाह भयो। मैले पिट्स्बर्गमा अग्रगामी गरी नै रहें अनि थुप्रै बाइबल अध्ययनहरू सञ्चालन गरें। एकताक त हरेक हप्ता १४ वटा भिन्नाभिन्नै परिवारसँग अध्ययन गरें। सन् १९५८ मा ट्राम चालकको जागिरबाट अवकाशप्राप्त गरें। तत्पश्चात्, अग्रगामी गर्न झनै सजिलो भयो किनकि हरेक दिन जागिरमा आठ घण्टा बिताउनै नपर्ने भयो।
सन् १९८३ मा मेरी बिरामी परिन्। उनले झन्डै ५० वर्षसम्म मेरो देखभाल गरेकी थिइन् र मैले पनि उसको सक्दो देखभाल गर्ने कोसिस गरें। अन्ततः सेप्टेम्बर १४, १९८६ मा उनको मृत्यु भयो।
आफ्नो जन्मथलो भेट्टाउने
सन् १९८९ मा जिन र सामले मलाई पोल्याण्डको अधिवेशनमा लगे। म हुर्केबढेको ठाउँ पनि गयौं। रुसीहरूले त्यस ठाउँमा आफ्नो कब्जा जमाएपछि शहरहरूको नाउँ परिवर्तन गरेका अनि मानिसहरूलाई चाहिं देश निकाला गरेका रहेछन्। मेरो दाज्यू इस्तानबुलमा र दिदी चाहिं रूसमा खेदिनुभएको रहेछ। अनि हामीले ज-जसलाई हाम्रो गाउँबारे सोध्यौं, तिनीहरूलाई थाहै हुँदैनथ्यो।
पछि केही परतिर देखिने पर्वतहरू पहिले पनि देखे देखेझैं लाग्यो। जसै हामी नजिक पुग्यौं, पहाड, सडकमा लडिरहेको दाँते, चर्च र खोलामाथि तेर्सिएको पुल पनि चिनें। एउटा संकेतपाटीमा देख्दा त हामी तीन छक पऱ्यौं। त्यसमा लेखिएको थियो, “होसोचेक”! केही समयअघि मात्र त्यहाँ साम्यवादीहरूको प्रभुत्व हटेकोले गाउँको पुरानै नाउँ राखिएको रहेछ।
हाम्रो घरको नामोनिसान थिएन। तर घरबाहिर चलाउने चुलो चाहिं आधा जति माटोमा पुरिएको अवस्थामा त्यहीं थियो। तब एउटा ठूलो रूख देखाउँदै मैले भने: “ऊ त्यो रूख हेर त। त्यो मैले अमेरिका जानुअघि रोपेको थिएँ। ल हेर, कत्ति ठूलो भइसकेछ!” त्यसपछि, हाम्रो परिवारका सदस्यहरूको नाउँ हेर्दै समाधिस्थल घुम्यौं। तर कसैको नाउँ पाएनौं।
सच्चाइलाई पहिलो स्थान दिंदै
सन् १९९३ मा जिनका श्रीमान् बितेपछि उसले मेरो देखभाल गर्न बेथेल छोड्नुपर्छ कि भनेर सोधिन्। बेथेल छोड्नु राम्रो होइन भनेर उसलाई बताएँ। अहिले पनि म यसै भन्ने गर्छु। म १०२ वर्ष पुगुञ्जेल त एक्लै बसें तर त्यसपछि भने नर्सिङ होममा बस्न करै लाग्यो। म अझै पिट्स्बर्गस्थित बेलभ्यु मण्डलीको प्राचीन हुँ। भाइहरू आएर मलाई आइतबार राज्यभवनको सभाहरूमा लग्छन्। अहिले म त्यति धेरै प्रचार गर्न सक्दिनँ तर पनि दुर्बल अग्रगामीको हैसियतमा सेवा गरिरहेको छु।
वर्षौंको दौडान, वाच टावर सोसाइटीले निरीक्षकहरूलाई प्रशिक्षण दिन प्रबन्ध मिलाएका विशेष पाठशालाहरूमा भाग लिन पाएको छु। गत डिसेम्बरमा मण्डलीका प्राचीनहरूलाई दिइएको राज्य सेवकाई पाठशालाको कुनै कुनै भागमा उपस्थित हुन पाएँ। अनि गत अप्रिल ११ मा जिनले मलाई येशूको मृत्युको स्मरणार्थ उत्सवमा लगिन्। मैले १९३१ देखि प्रत्येक वर्ष यस उत्सवमा भाग लिने गरेको छु।
मसँग बाइबल अध्ययन गर्नेहरूमध्ये कोही कोही अहिले प्राचीनको हैसियतमा सेवा गरिरहेका छन् भने कोही दक्षिण अमेरिकामा मिसनरी भएका छन्। कोही बाजेबज्यै भइसकेका छन् र आफ्ना छोराछोरीहरूसँग परमेश्वरको सेवा गरिरहेका छन्। मेरा तीन छोराछोरी अर्थात् मेरी जेन, जोन अनि जिन तथा तिनीहरूका थुप्रै छोराछोरी तथा नातिनातिनीहरू विश्वासी भई यहोवा परमेश्वरको सेवा गरिरहेका छन्। मेरा अन्य छोरीहरू तथा नातिनातिनी र पनातिपनातिनीहरूले पनि यसै गरून् भन्ने मेरो प्रार्थना छ।
अहिले मैले १०५ वर्ष पार गरिसकेको छु। म अझै पनि सबैलाई बाइबल पढ्ने र सिकेका कुराहरू अरूलाई बताउने प्रोत्साहन दिन्छु। हो, यहोवासँग नजिकको सम्बन्ध राख्यौं भने कहिले पनि निराश हुनुपर्दैन भनी म विश्वस्त छु। यसो गर्नुभयो भने तपाईंले पनि नाशवान् सुनभन्दा उत्तम कुरा पाउनुहुनेछ। त्यो हो, सच्चाइ। त्यो सच्चाइ जसले हामीलाई हाम्रो जीवनदाता यहोवा परमेश्वरसँग मूल्यवान् सम्बन्ध गाँस्न दिएको छ।
[फुटनोट]
a अगस्त १, १९८६ को प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ २२-६ मा साम फ्रेन्डको जीवनी प्रकाशित भएको थियो।
[पृष्ठ २५-मा भएको चित्र]
ट्राम चालक छँदा
[पृष्ठ २६-मा भएको चित्र]
अहिले म बस्ने गरेको नर्सिङ होम
[पृष्ठ २७-मा भएको चित्र]
हामीले १९८९ मा बाटोमा भेट्टाएको संकेतपाटी