प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१५ pp. १७-२१
  • युवावस्थामा बुद्धिमानी निर्णय गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवावस्थामा बुद्धिमानी निर्णय गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको सबैभन्दा महत्त्वपूर्ण निर्णय
  • युवावस्थामा तपाईं के गर्न चाहनुहुन्छ?
  • तपाईंलाई मदत गर्ने तीनवटा सिद्धान्त
  • बुद्धिमानी निर्णय गर्न बाइबल सिद्धान्त प्रयोग गर्नुहोस्‌
  • युवायुवती हो, यहोवाको सेवामा रमाउनुहोस्‌!
  • के तिनीहरूले ठूलो भएपछि परमेश्‍वरको सेवा गर्नेछन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • युवाहरू हो, के तपाईं भविष्यको लागि जग बसाल्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • हामीले आफ्नो छनौट गर्ने स्वतन्त्रता कसरी प्रयोग गर्नुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • आफ्नो मुक्‍तिको काम पूरा गर्दै जानुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१५ pp. १७-२१
प्रेषित पावल र तिमोथी जहाजमा

युवावस्थामा बुद्धिमानी निर्णय गर्नुहोस्‌

“जवान ठिटा र कुमारीहरू, . . . सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्‌।”—भज. १४८:१२, १३.

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • भविष्यमा यहोवाको सेवामा विभिन्‍न सुअवसर पाउन चाहनुहुन्छ भने तपाईंले अहिले कस्तो निर्णय गर्नुपर्छ?

  • युवावस्थाका केही भाइबहिनीले कसरी यहोवाको सेवा गरेका छन्‌?

  • बाइबलका कुन-कुन सिद्धान्तले तपाईंलाई बुद्धिमानी निर्णय गर्न मदत गर्न सक्छ?

१. अहिले थुप्रै युवायुवती के गर्न पाएकोमा रमाइलो मान्दैछन्‌?

अहिले हामी निर्णायक समयमा बाँचिरहेका छौं। विश्‍वभरि लाखौं मानिस यहोवाको उपासना गर्न ओइरिरहेका छन्‌। यस्तो पहिला कहिल्यै भएको थिएन। (प्रका. ७:९, १०) “जीवन दिने पानी सित्तैंमा” लिने निम्तो दिन पाउँदा थुप्रै युवायुवती एकदमै रमाइरहेका छन्‌। (प्रका. २२:१७) तिनीहरूले मानिसहरूलाई बाइबलको कुरा सिक्न र जीवन सुखी बनाउन मदत गरिरहेका छन्‌। कतिले त अर्को भाषा सिकेर त्यो भाषा बोलिने इलाकामा सुसमाचार सुनाइरहेका छन्‌। (भज. ११०:३; यशै. ५२:७) जीवनमा सन्तुष्टि र आनन्द दिने यस्तो अनुभव बटुल्न तपाईंले के गर्नुपर्छ?

२. यहोवा युवायुवतीलाई जिम्मेवारी सुम्पन चाहनुहुन्छ भनेर तिमोथीको उदाहरणबाट कसरी स्पष्ट हुन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

२ अहिले गर्ने निर्णयले गर्दा भविष्यमा तपाईंले यहोवाको सेवामा विभिन्‍न सुअवसर पाउन सक्नुहुन्छ। जस्तै, राम्रो निर्णय गरेकोले १९-२० वर्ष पुग्दा तिमोथी मिसनरी सेवाको लागि योग्य भइसकेका थिए। (प्रेषि. १६:१-३) तिमोथीले मिसनरी सेवा थालेको केही महिनापछि पावलले तिनलाई थिस्सलोनिकाको भर्खरै स्थापित मण्डलीमा पठाए। त्यहाँका भाइहरूले घोर सतावट भोगिरहेका थिए र पावल पनि त्यहाँबाट रातारात भाग्नुपरेको थियो। त्यसैकारण भाइहरूलाई स्थिर गराउने जिम्मा पावलले तिमोथीलाई दिए। (प्रेषि. १७:५-१५; १ थिस्स. ३:१, २, ६) यस्तो जिम्मेवारी पाउँदा तिमोथीलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्‌।

तपाईंको सबैभन्दा महत्त्वपूर्ण निर्णय

३. तपाईंले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण निर्णय कुन हो र यो निर्णय कहिले गर्नुपर्छ?

३ युवावस्थामा थुप्रै महत्त्वपूर्ण निर्णय गर्छौं। तर तीमध्ये तपाईंले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण निर्णय कुन हो? यहोवाको सेवा गर्ने निर्णय। अनि यस्तो निर्णय गर्ने सबैभन्दा राम्रो समय कहिले हो? यहोवा यसो भन्‍नुहुन्छ: “युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌।” (उप. १२:१) यहोवाको “सम्झना” गर्ने सबैभन्दा राम्रो तरिका तनमनले उहाँको सेवा गर्नु हो। (व्यव. १०:१२) यो नै तपाईंले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण निर्णय हो। यसले तपाईंको बाँकी जीवनलाई समेत असर गर्नेछ।—भज. ७१:५.

४. अन्य कस्ता निर्णयले परमेश्‍वरको सेवा गर्ने तपाईंको निर्णयमा असर गर्न सक्छ?

४ यहोवाको सेवा गर्ने निर्णयले मात्र तपाईंको भविष्यलाई असर गर्ने होइन। विवाह गर्ने कि नगर्ने, गर्ने हो भने कोसित गर्ने अनि के काम गर्ने, त्यो पनि निर्णय गर्नुपर्ने हुन्छ। यी पनि महत्त्वपूर्ण निर्णय हुन्‌। तर सबैभन्दा पहिले तनमनले यहोवाको सेवा गर्ने निर्णय गर्नुपर्छ। (व्यव. ३०:१९, २०) किन? किनकि यी सबै निर्णय आपसमा सम्बन्धित छन्‌। विवाह र पेसासम्बन्धी तपाईंको निर्णयले तपाईं कसरी परमेश्‍वरको सेवा गर्नुहुन्छ, त्यसमा असर गर्छ। त्यसैगरि परमेश्‍वरको सेवा गर्ने तपाईंको इच्छाले विवाह र पेसासम्बन्धी तपाईंको निर्णयमा असर गर्छ। (लूका १४:१६-२० तुलना गर्नुहोस्‌) त्यसैकारण अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, त्यसैको आधारमा निर्णय गर्नुहोस्‌।—फिलि. १:१०.

युवावस्थामा तपाईं के गर्न चाहनुहुन्छ?

५, ६. सही निर्णय गर्दा भविष्यमा यहोवाको सेवा गर्ने विभिन्‍न सुअवसर मिलेको राम्रा अनुभवहरू बताउनुहोस्‌। (यसै अङ्‌कको “सानो छँदा मैले गरेको छनौट” शीर्षकको लेख पनि हेर्नुहोस्‌)

५ यहोवाको सेवा गर्ने निर्णय गरिसकेपछि उहाँ तपाईंबाट के चाहनुहुन्छ पक्का गर्नुहोस्‌। त्यसपछि आफ्नो जीवन कसरी बिताउन चाहनुहुन्छ, निर्णय गर्नुहोस्‌। एक जापानी भाइ लेख्छन्‌: “१४ वर्षको छँदा एक जना एल्डरसित प्रचारमा गएको थिएँ। मलाई प्रचार गर्न त्यत्ति रमाइलो नलागेको उहाँले याद गर्नुभयो। त्यसैले कोमल भावसहित उहाँले मलाई यसो भन्‍नुभयो: ‘युईचिरो, घर जाऊ। घर पुगेपछि यहोवाले तिम्रो लागि गरिदिनुभएका कुराहरू एक-एक गरी सम्झ।’ मैले उहाँले भन्‍नुभएझैं गरें। त्यसबारे अझै केही दिन सोचिरहें र प्रार्थना गरिरहें। बिस्तारै मेरो मनोवृत्तिमा परिवर्तन आउन थाल्यो। मलाई यहोवाको सेवा गर्न र मिसनरीहरूबारे पढ्‌न रमाइलो लाग्न थाल्यो। त्यसैले परमेश्‍वरको सेवामा अझै व्यस्त हुनेबारे सोच्न थालें।”

६ युईचिरो अझै भन्छन्‌: “विदेशमा यहोवाको सेवा गर्न मलाई मदत दिने किसिमका छनौट गर्न थालें। जस्तै, मैले अङ्‌ग्रेजी भाषा सिक्न थालें। अग्रगामी सेवा गर्न सजिलो होस्‌ भनेर पढाइ सिद्धिएपछि पार्ट-टाइम कामको रूपमा अङ्‌ग्रेजी भाषा सिकाउन थालें। अनि २० वर्षको भएपछि मङ्‌गोलियन भाषा सिक्न थालें र एक पटक मङ्‌गोलियन समूहमा जाने मौका पनि मिल्यो। त्यसको दुई वर्षपछि सन्‌ २००७ मा मङ्‌गोलिया गएँ। अग्रगामीहरूसित प्रचारमा जाँदा थुप्रै मङ्‌गोलियनहरू सत्यको निम्ति तिर्खाइरहेको पाएँ र तिनीहरूलाई मदत गर्न मङ्‌गोलियामै बसेर सेवा गर्न चाहें। त्यसैले जापान फर्केर योजना मिलाउन थालें। अप्रिल २००८ देखि यहाँ मङ्‌गोलियामा सेवा गरिरहेको छु। यहाँ जीवन बिताउनु खासै सजिलो छैन, तैपनि मानिसहरू हाम्रो कुरा सुन्छन्‌। तिनीहरूलाई यहोवासित घनिष्ठ हुन मदत गर्न सकिरहेको छु। जीवनमा सर्वोत्तम निर्णय गरें जस्तो लाग्छ।”

७. तपाईं आफैले गर्नुपर्ने निर्णय के हो? मोशाले हाम्रो लागि कस्तो उदाहरण बसाले?

७ यहोवाको सेवा कसरी गर्न चाहनुहुन्छ, त्यो तपाईं आफैले निर्णय गर्नुपर्छ। (यहो. २४:१५) विवाह गर्ने कि नगर्ने अथवा कोसित गर्ने, त्यसबारे हामी तपाईंलाई केही भन्‍न सक्दैनौं। साथै के काम गर्ने, त्यो पनि बताउन सक्दैनौं। थोरै तालिम लिए पुग्ने काम खोज्नुहुन्छ कि? तपाईंहरूमध्ये कोही-कोही गाउँमा बस्नुहुन्छ भने कोही-कोही सम्पन्‍न सहरमा। तपाईंको व्यक्‍तित्व, सीप, रुचि, विश्‍वास र तपाईंले लिएको तालिम पनि फरक-फरक हुन सक्छ। प्राचीन मिश्रमा बस्ने हिब्रू युवायुवती र मोशाको जीवनस्तर धेरै फरक भएजस्तै तपाईंहरूको जीवनस्तर पनि फरक-फरक होला। मोशासित दरबारको हर सुखसुविधा थियो भने बाँकी हिब्रू युवायुवती दास थिए। (प्रस्थ. १:१३, १४; प्रेषि. ७:२१, २२) तपाईंजस्तै तिनीहरू पनि निर्णायक समयमा बाँचिरहेका थिए। (प्रस्थ. १९:४-६) तर जीवनमा के गर्ने प्रत्येकले आफै निर्णय गर्नुपर्थ्यो। मोशाले सही निर्णय गरे।—हिब्रू ११:२४-२७ पढ्‌नुहोस्‌।

८. सही निर्णय गर्न चाहिने मदत कहाँ पाउन सक्नुहुन्छ?

८ युवावस्थामा सही निर्णय गर्न यहोवा तपाईंलाई मदत गर्नुहुन्छ। कसरी? जस्तोसुकै परिस्थितिमा प्रयोग गर्न सकिने बाइबल सिद्धान्तहरू सिकाएर। (भज. ३२:८) यी सिद्धान्त प्रयोग गर्न जान्‍नुभएन भने आमाबुबालाई वा एल्डरहरूलाई सोध्नुहोस्‌। (हितो. १:८, ९) आउनुहोस्‌, तपाईंलाई सही निर्णय गर्न मदत गर्ने बाइबलका तीनवटा सिद्धान्त अब केलाऔं।

तपाईंलाई मदत गर्ने तीनवटा सिद्धान्त

९. (क) यहोवाले हामीलाई नै निर्णय गर्न दिएर कसरी हाम्रो सम्मान गर्नुभएको छ? (ख) परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिंदा तपाईंलाई कस्तो फाइदा हुन्छ?

९ परमेश्‍वरको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिनुहोस्‌। (मत्ती ६:१९-२१, २४-२६, ३१-३४ पढ्‌नुहोस्‌) यहोवाले तपाईंलाई नै निर्णय गर्न दिएर तपाईंको सम्मान गर्नुभएको छ। उहाँले तपाईंलाई चौबीसै घण्टा प्रचार गर्नुपर्छ भन्‍नुभएको छैन। तर परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिनुको महत्त्वबारे भने येशूले सिकाउनुभएको छ। परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिंदा भविष्यमा यहोवाको सेवामा विभिन्‍न सुअवसर पाउन सक्नुहुन्छ। जस्तै, यहोवा र छिमेकीप्रतिको आफ्नो माया जाहेर गर्ने र अनन्त जीवनको आशा पाएकोमा धन्यवादी भएको देखाउने थुप्रै मौका पाउन सक्नुहुन्छ। विवाह र कामसम्बन्धी तपाईंको निर्णयले तपाईं यहोवाको “राज्यलाई र उहाँको स्तर बमोजिमको असल कामलाई” होइन, धनसम्पत्तिलाई बढी महत्त्व दिनुहुन्छ भनेर पो देखाउँछ कि?

१०. के गर्दा येशू आनन्दित हुनुभयो? के गर्नुभयो भने तपाईं पनि आनन्दित हुन सक्नुहुनेछ?

१० अरूको सेवा गरेर आनन्दित हुनुहोस्‌। (प्रेषित २०:२०, २१, २४, ३५ पढ्‌नुहोस्‌) येशूले यो आधारभूत सिद्धान्त सिकाउनुभयो। आफ्नै इच्छा पूरा गर्नुको साटो बुबाको इच्छा पूरा गरेकोले उहाँ आनन्दित हुनुभयो। साथै नम्र मानिसहरूले सुसमाचार सुन्दा उहाँ खुसी हुनुभयो। (लूका १०:२१; यूह. ४:३४) अरूलाई मदत गर्दा तपाईंलाई पनि आनन्द लागेको हुनुपर्छ। येशूले सिकाउनुभएको सिद्धान्तलाई आधार मानेर निर्णय गर्नुभयो भने तपाईं आफै पनि आनन्दित हुन सक्नुहुनेछ र यहोवालाई पनि आनन्दित तुल्याउन सक्नुहुनेछ।—हितो. २७:११.

११. बारूक किन रमाउन सकेनन्‌? यहोवाले तिनलाई कस्तो सल्लाह दिनुभयो?

११ यहोवाको सेवा गर्दा एकदमै आनन्दित हुन सकिन्छ। (हितो. १६:२०) तर यर्मियाका सचिव बारूकले यो कुरा बिर्सेजस्तो देखिन्छ। एकपटकको कुरा हो, तिनी यहोवाको सेवामा रमाउन सकेनन्‌। यहोवाले तिनलाई यसो भन्‍नुभयो: “के तँचाहिं आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्‌? ती नखोज्‌। किनकि हेर्‌, म सबै प्राणीमाथि विपत्ति ल्याइरहेछु, तर तँ जहाँ जान्छस्‌ ती सबै ठाउँमा तेरो प्राण म तँलाई युद्धको लूटको धनसरह छोडिदिनेछु।” (यर्मि. ४५:३, ५) तपाईंको विचारमा के गरेका भए बारूक आनन्दित हुन्थे होलान्‌? आफूले चाहेको कुरा खोजि रहेका भए वा यहोवाले चाहेको काम गरेर यरूशलेमको विनाश हुँदा जोगिएका भए?—याकू. १:१२.

१२. कस्तो निर्णय गरेकोले रामिरो आनन्दित भए?

१२ अरूको सेवा गरेर आनन्दित भएका एक जना भाइ रामिरो हुन्‌। तिनी भन्छन्‌: “मेरो जन्म एण्डीज पर्वतको एउटा गाउँमा भएको थियो। गरिब परिवारमा हुर्केकोले दाइले नै विश्‍वविद्यालयको पढाइ खर्च बेहोरिदिन्छु भन्‍नुभयो। त्यो मेरो लागि ठूलो मौका थियो। तर मैले हालै मात्र बप्तिस्मा गरेको थिएँ र मसामु अर्को मौका पनि थियो। एक जना अग्रगामीले एउटा सानो सहरमा उहाँसँगै प्रचार गर्न बोलाउनुभयो। म त्यहाँ गएँ, कपाल काट्‌न सिकें र खर्च धान्‍न कपाल काट्‌ने पसल खोलें। त्यस सहरका थुप्रैले हामीसित बाइबल अध्ययन गरे। पछि त्यहाँ रैथाने भाषाको एउटा मण्डली खडा भयो। त्यसैले मैले त्यो मण्डलीमा सर्ने निर्णय गरें। मैले पूर्ण-समय सेवा गरेको १० वर्ष पुग्यो। मानिसहरूलाई उनीहरूकै भाषामा बाइबल सिक्न मदत गर्दा जुन आनन्द पाएको छु, त्यो आनन्द अरू कुनै कुराले दिन सक्दैन।”

यहोवाको सेवा गर्न रामिरोले युवावस्थामा चालेका कदमहरू

रामिरो युवावस्थादेखि नै यहोवाको सेवामा रमाइरहेका छन्‌ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१३. तनमनले यहोवाको सेवा गर्ने समय युवावस्था नै हो भनेर किन भन्‍न सक्छौं?

१३ युवावस्थामै यहोवाको सेवा गरेर रमाउनुहोस्‌। (उपदेशक १२:१ पढ्‌नुहोस्‌) अग्रगामी सेवा गर्नुअघि राम्रो ठाउँमा जागिर खानै पर्छ भनेर नसोच्नुहोस्‌। पारिवारिक जिम्मेवारी नहुने भएकोले तनमनले यहोवाको सेवा गर्ने समय युवावस्था नै हो। स्वास्थ्य राम्रो हुनुका साथै प्रशस्तै जोस र जाँगर पनि हुने भएकोले जहाँसुकै अनि जस्तोसुकै सेवा गर्न सक्नुहुन्छ। यहोवाको लागि तपाईं के गर्न चाहनुहुन्छ? सायद तपाईं अग्रगामी सेवा गर्न चाहनुहुन्छ। अर्को भाषा बोलिने इलाकामा वा दुर्गम इलाकामा सेवा गर्न चाहनुहुन्छ होला। अथवा आफ्नै मण्डलीमा अझ राम्ररी सेवा गर्ने तरिका खोज्न सक्नुहुन्छ होला। यहोवाको सेवामा तपाईंको लक्ष्य जेसुकै होस्‌, जीवन धान्‍न काम त गर्नै पर्छ। आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘कस्तो काम खोजूँ? त्यसको लागि कति तालिम लिनुपर्ला?’

बुद्धिमानी निर्णय गर्न बाइबल सिद्धान्त प्रयोग गर्नुहोस्‌

१४. काम खोज्दा तपाईं किन होसियार हुनुपर्छ?

१४ हामीले भर्खरै छलफल गरेका तीनवटा सिद्धान्तले तपाईंलाई काम खोज्ने सम्बन्धमा मदत गर्नेछ। कुन विषय लिएर पढ्‌दा कस्तो काम पाइन्छ, तपाईंलाई शिक्षकहरूले बताउन सक्छन्‌। तपाईंको इलाकामा वा तपाईंले सेवा गर्न चाहेको ठाउँमा कस्तो काम पाइन्छ, अखबारमा निस्केको विज्ञापनबाट थाह पाउन सक्नुहुन्छ वा चिनेजानेकाहरूले तपाईंलाई बताउन सक्छन्‌। तर होसियार हुनुहोस्‌। यहोवालाई माया नगर्ने मानिसहरूको कुरा सुन्‍नुभयो भने संसारलाई प्रेम गर्ने खतरामा पर्न सक्नुहुन्छ। (१ यूह. २:१५-१७) नबिर्सनुहोस्‌, हृदय छली छ। संसारको कुराले तपाईंलाई सजिलै बहकाउन सक्छ। —हितोपदेश १४:१५ पढ्‌नुहोस्‌; यर्मि. १७:९.

१५, १६. कामको सम्बन्धमा कसले तपाईंलाई बुद्धिमानी सल्लाह दिन सक्छन्‌?

१५ के-कस्ता काम पाइँदा रहेछन्‌, थाह पाएपछि अरूसित सल्लाह माग्नुपर्छ। (हितो. १:५) कस्तो काम गर्नु उपयुक्‍त हुन्छ भनेर बाइबल सिद्धान्तको आधारमा पक्का गर्न तपाईंलाई कसले मदत गर्न सक्छ? यहोवा र तपाईंलाई माया गर्ने अनि तपाईं र तपाईंको अवस्था राम्ररी बुझ्नेहरूको कुरा सुन्‍नुहोस्‌। उनीहरूले तपाईंलाई इमानदार भई आफ्नो क्षमता र मनसाय केलाउन मदत गर्नेछन्‌। उनीहरूको कुरा सुनेपछि तपाईं आफ्नो लक्ष्य फेरि जाँच्न चाहनुहोला। तपाईंका आमाबुबा यहोवालाई माया गर्छन्‌ भने उनीहरूले पनि तपाईंलाई मदत गर्न सक्छन्‌। साथै मण्डलीका एल्डरहरूले तपाईंलाई आवश्‍यक सल्लाह दिन सक्छन्‌। यसबाहेक अग्रगामीहरू र परिभ्रमण निरीक्षकहरूसित पनि कुरा गर्नुहोस्‌। उनीहरूलाई यस्ता प्रश्‍न सोध्न सक्नुहुन्छ: ‘पूर्ण-समय सेवा गर्ने निर्णय किन गर्नुभयो? अग्रगामी सेवा गर्न के-कस्ता छाँटकाँट गर्नुभयो? के काम गर्नुभयो? के-कस्ता आशिष्‌ पाउनुभयो?’—हितो. १५:२२.

१६ तपाईंलाई राम्ररी चिन्‍नेहरूले बुद्धिमानी सल्लाह दिन सक्छन्‌। जस्तै, पढ्‌न मन नलागेकोले बीचैमा स्कूलको पढाइ छोडेर अग्रगामी सेवा गर्ने विचार गर्दै हुनुहुन्छ कि? तपाईंलाई साँच्चै माया गर्ने व्यक्‍तिले तपाईंले बीचैमा पढाइ छोड्‌न चाहेको वास्तविक कारण स्पष्टै थाह पाउन सक्छन्‌ र पढ्‌ने उमेरमा पढ्‌न छोड्‌नुभयो भने लगनशील र मेहनती हुन सिकिंदैन भनेर बुझ्न पनि मदत गर्न सक्छन्‌। तनमनले यहोवाको सेवा गर्न लगनशील र मेहनती हुनु अत्यावश्‍यक छ।—भज. १४१:५; हितो. ६:६-१०.

१७. कस्तो किसिमको काम गर्ने निर्णय गर्नुहुँदैन?

१७ हाम्रो विश्‍वासलाई कमजोर बनाउन सक्ने र हामीलाई यहोवाबाट टाढा लैजान सक्ने अवस्थामा हामी सबै पर्न सक्छौं। (१ कोरि. १५:३३; कल. २:८) तर कुनै-कुनै किसिमको कामले तपाईंको विश्‍वासलाई झनै खतरामा पार्न सक्छ। कुनै खास किसिमको काम गर्दा कसै-कसैको “विश्‍वासको जहाज क्षतिग्रस्त” भएको पनि तपाईंले याद गर्नुभएको होला। (१ तिमो. १:१९) यहोवासितको तपाईंको मित्रतालाई खतरामा पार्न सक्ने किसिमको काम गर्ने निर्णय गर्नु सरासर मूर्खता हो।—हितो. २२:३.

युवायुवती हो, यहोवाको सेवामा रमाउनुहोस्‌!

१८, १९. अहिले यहोवाको सेवा गरूँजस्तो लागेको छैन भने के गर्न सक्नुहुन्छ?

१८ यहोवाको सेवा गर्ने इच्छा छ भने उहाँले तपाईंलाई दिनुभएको मौकाको पूरापूर सदुपयोग गर्नुहोस्‌। यो निर्णायक समय भएकोले यहोवाको सेवामा रमाउन सक्ने किसिमको छनौट गर्नुहोस्‌।—भज. १४८:१२, १३.

१९ तर अहिले तपाईंलाई यहोवाको सेवा गरूँजस्तो लागेको छैन भने नि? यहोवामाथिको आफ्नो भरोसा बलियो बनाउन नछोड्‌नुहोस्‌। यहोवाको आशिष्‌ पाउन आफूले गरेको प्रयासबारे बताएपछि पावलले अझै यसो लेखे: “यदि कुनै कुरामा तिमीहरूको मानसिक झुकाव अर्कै छ भने पनि परमेश्‍वरले तिमीहरूलाई माथिबाट दिइने मनोवृत्ति प्रकट गरिदिनुहुनेछ। जे होस्‌, हामीले जुन हदसम्म प्रगति गरिसकेका छौं, त्यहीबमोजिम व्यवस्थित ढङ्‌गमा अघि बढिरहौं।” (फिलि. ३:१५, १६) यहोवा तपाईंलाई माया गर्नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। उहाँले दिने सल्लाह सबैभन्दा उत्तम छ। युवावस्थामा बुद्धिमानी निर्णय गर्न उहाँ तपाईंलाई मदत गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने