तिनीहरूको विश्वासको खातिर घृणित
“मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ।”—मत्ती १०:२२.
१, २. आफ्नो धार्मिक विश्वास व्यवहारमा उतारेकोमा यहोवाका साक्षीहरूले भोग्नुपरेका केही सत्य घटनामा आधारित अनुभवहरू बताउन सक्नुहुन्छ?
क्रेट टापुको एक जना इमानदार साहू धेरै चोटि गिरफ्तार भएर ग्रीक अदालतसामु कैयन् चोटि हाजिर हुन परिसक्यो। तिनले आफ्नी पत्नी र पाँच बालबच्चाबाट अलग भएर झ्यालखानामा जम्माजम्मी छ वर्षभन्दा बढी समय बिताइसके। जापानको १७ वर्षीय केटो भद्र र ४२ जना विद्यार्थीमध्ये सबैभन्दा जेहेन्दार भए तापनि स्कूलबाट निकालियो। लगनशील तथा इमानदार कामदारहरू भए तापनि फ्रान्समा तारनतार थुप्रैलाई जागिरबाट निकालियो। यी सबै सत्य घटनाहरूबीच के समानता छ?
२ यी घटनाहरूमा परेका व्यक्तिहरू यहोवाका साक्षीहरू हुन्। तिनीहरूको “अपराध”? मुख्यतया आफ्नो धार्मिक विश्वासअनुसार चल्नु। येशू ख्रीष्टका शिक्षाहरू पालन गर्दै उक्त साहूले आफ्नो विश्वासबारे अरूलाई पनि बताउने गर्थे। (मत्ती २८:१९, २०) धर्मपरिवर्तनलाई अपराध ठहराउने एउटा पुरानो बेमतलबको ग्रीक कानुनको आधारमा तिनलाई दोषी ठहराइएको थियो। आफ्नो बाइबलआधारित अन्तस्करणले गर्दा अनिवार्य केन्डो (जापानी तरवार खेल) कवाजमा भाग नलिएकोले माथि उल्लिखित विद्यार्थी स्कूलबाट निकालिएका थिए। (यशैया २:४) अनि फ्रान्समा जागिरबाट निकालिनेहरूलाई एउटै कारण दिइएको थियो। त्यो हो, तिनीहरूले आफूलाई यहोवाका साक्षीहरू भनी चिनाए।
३. यहोवाका प्रायजसो साक्षीहरूमध्ये किन कमैले मात्र अरू मानिसहरूको हातबाट भीषण दुःखकष्ट भोग्नु परेको छ?
३ हालैका वर्षहरूमा कुनै कुनै देशमा यहोवाका साक्षीहरूले त्यस्ता कठोर अनुभवहरू भोगेका छन्। तथापि, यहोवाका साक्षीहरूमध्ये कमैले मात्र अरू मानिसहरूको हातबाट भीषण दुःखकष्ट भोगेका होलान्। यहोवाका जनहरू आफ्नो असल आचरणको लागि सारा संसारभरि चिनिन्छन् र यस्तो ख्याति कमाएकाहरूलाई हानि गर्नुपर्ने कुनै वैध कारण देखिंदैन। (१ पत्रुस २:११, १२) तिनीहरू षड्यन्त्र रच्दैनन् वा अरूलाई चोट पुऱ्याउने व्यवहारमा संलग्न हुँदैनन्। (१ पत्रुस ४:१५) बरु, तिनीहरू सर्वप्रथम परमेश्वर अनि त्यसपछि सरकारको अधीनमा बस्ने बाइबलको सल्लाहअनुसार जीवन बिताउन खोज्छन्। तिनीहरू कानुनले माग गरेअनुसार कर तिर्छन् अनि “सबै मानिसहरूसँग शान्तिमा” रहने कोसिस गर्छन्। (रोमी १२:१८; १३:६, ७; १ पत्रुस २:१३-१७) तिनीहरू बाइबलमा आधारित शैक्षिक कार्यअन्तर्गत कानुन, पारिवारिक मूल्य तथा मान्यता अनि नैतिकताप्रति आदर देखाउन प्रोत्साहन दिन्छन्। थुप्रै सरकारहरूले तिनीहरू कानुन पालक नागरिकहरू हुन् भनी प्रशंसा गरेका छन्। (रोमी १३:३) यद्यपि, सुरुको अनुच्छेदले बताएअनुसार तिनीहरू कहिलेकाहीं विरोधको तारो भएका छन् र कुनै कुनै देशमा तिनीहरूमाथि सरकारी प्रतिबन्ध पनि लगाइएको छ। के हामी यो थाह पाएर छक्क पर्छौं?
चेला बन्दा चुकाउनुपर्ने “मूल्य”
४. येशूले बताउनुभएअनुसार उहाँको चेला हुने व्यक्तिले के आशा गर्नसक्छ?
४ चेला बन्नुमा के के कुरा बिथोलित छ भन्ने सन्दर्भमा येशू ख्रीष्टले सबै कुरा प्रस्ट पार्नुभयो। उहाँले आफ्ना अनुयायीहरूलाई भन्नुभयो, “दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्।” येशूलाई “विनाकारण” घृणा गरियो। (यूहन्ना १५:१८-२०, २५; भजन ६९:४; लूका २३:२२) उहाँका चेलाहरूले पनि त्यस्तै व्यवहार अर्थात् निराधार विरोधको सामना गर्नुपर्ने आशा गर्नसक्थे। उहाँले धेरै चोटि यस्तो चेताउनी दिनुभयो: “तिमीहरू घृणित हुनेछौ।”—मत्ती १०:२२; २४:९.
५, ६. (क) येशूले आफ्ना सम्भाव्य अनुयायीहरूलाई “मूल्यको” हिसाब गर्न आग्रह गर्नुको कारण के हो? (ख) त्यसोभए विरोधको सामना गर्नुपर्दा हामी छक्क पर्नुपर्ने कारण किन छैन?
५ त्यसैअनुरूप येशूले आफ्ना सम्भाव्य अनुयायीहरूलाई चेला बन्दा चुकाउनुपर्ने “मूल्यको” विचार गर्न आग्रह गर्नुभयो। (लूका १४:२८) किन? उहाँको अनुयायी बन्ने या नबन्ने भनी निर्णय गर्नको लागि होइन तर चेला बन्दा त्यससँगसँगै आइपर्ने सबै कुरा पूरा गर्न कटिबद्ध हुन सकोस् भनेर हो। यस सुअवसरसँगसँगै आउने जस्तोसुकै परीक्षा वा कठिनाइ सहन हामी तयार हुनुपर्छ। (लूका १४:२७) ख्रीष्टको अनुयायीको हैसियतमा यहोवाको सेवा गर्न हामीलाई कसैले जबरजस्ती गर्दैन। यो स्वेच्छाले गर्ने निर्णय हो; साथै, सबै कुरा सम्झेबुझेर गर्ने जानकार निर्णय पनि हो। हामीलाई पहिल्यै थाह भएको कुरा हो, परमेश्वरसित समर्पित सम्बन्धमा गाँसिदा आशिष्हरू पाउनुका साथै हामी “घृणित” पनि हुनेछौं। त्यसकारण विरोध आइपर्दा हामी छक्क पर्दैनौं। हामीले चेला बन्दाको मूल्य हिसाब गरेका छौं र त्यो मोल तिर्न पूरा तयार छौं।—१ पत्रुस ४:१२-१४.
६ केही सरकारी अख्यितारवालाहरूलगायत कसै कसैले साँचो मसीहीहरूको विरोध गर्न चाहनुको कारण के हुनसक्छ? त्यसको जवाफका लागि सा.यु. प्रथम शताब्दीका दुइटा धार्मिक समूहहरू केलाउनु मदतकारी हुन्छ। दुवैलाई घृणा गरियो तर बेग्लाबेग्लै कारणका लागि।
घृणायोग्य र घृणित
७, ८. अन्यजातिहरूप्रति घृणा झल्काउने शिक्षाहरू के हुन् र त्यसले गर्दा यहूदीहरूबीच कस्तो मनोवृत्ति विकास भयो?
७ सा.यु. प्रथम शताब्दीतिर इस्राएल रोमी शासनको अधीनमा परिसकेको थियो र यहूदी धार्मिक प्रणाली अर्थात् यहूदीधर्म मुख्यतया फरिसी तथा शास्त्रीहरूजस्ता दमनकारी नेताहरूको अधीनमा थियो। (मत्ती २३:२-४) यी कट्टरपन्थी नेताहरूले अन्यजातिहरूबाट अलग रहने सन्दर्भमा गैर-यहूदीहरूलाई हेला गर्ने बाटो खोज्न मोशालाई दिइएको व्यवस्थालाई बंग्याए। त्यसो गर्ने सिलसिलामा तिनीहरूले एउटा यस्तो धर्म निकाले जसले अन्यजातिहरूलाई घृणा गर्थ्यो र त्यसको बदलामा अन्यजातिहरूले पनि यहूदीहरूलाई घृणा गर्न थाले।
८ अन्यजातिहरूलाई घृणा गर्नुपर्छ भनी मानिसहरूलाई सिकाउनु यहूदी नेताहरूका लागि कुनै गाह्रो कुरा थिएन किनभने त्यतिबेला यहूदीहरू अन्यजातिहरूलाई तुच्छ प्राणीहरू ठान्थे। अन्यजातिहरूसित यहूदी आइमाई एक्लै पर्नैहुँदैन भनी धार्मिक नेताहरू सिकाउँथे किनभने तिनीहरूबाट “अश्लील कार्य हुनसक्छ भन्ने शंका गरिन्थ्यो।” “अन्यजातिहरूले रक्तपात गर्छन् भन्ने शंका गरेर” यहूदी पुरुष “तिनीहरूसित एक्लै बस्नैहुँदैन” भनिन्थ्यो। अन्यजातिले दूध दुहदा यहूदी उपस्थित भएको खण्डमा मात्र त्यो दूध प्रयोग गर्न सकिन्थ्यो। यी नेताहरूको प्रभावमा परेर यहूदीहरू अरूबाट अलग्गै बस्थे अनि असाध्यै अरट्ठो व्यवहार गर्थे।—यूहन्ना ४:९ तुलना गर्नुहोस्।
९. गैर-यहूदीहरूबारे यहूदी नेताहरूको शिक्षाले कस्तो असर पाऱ्यो?
९ गैर-यहूदीहरूबारे त्यस्ता शिक्षाहरूले यहूदी तथा अन्यजातिहरूबीच सौहार्द सम्बन्ध कायम गर्न कुनै योगदान पुऱ्याएन। अन्यजातिहरूको दृष्टिकोणमा यहूदीहरू, मानवजातिलाई घृणा गर्ने व्यक्तिहरू थिए। रोमी इतिहासकार टासिटसले (सा.यु. ५६ तिर जन्मिएका) यहूदीहरू त त्यस्ता व्यक्तिहरू हुन् जसले “आफूबाहेक सारा मानवजातिलाई शत्रुलाई जस्तो लखेट्छन्” भने। धर्म परिवर्तन गरेर यहूदी भएका अन्यजातिहरूलाई समेत आफ्नो देश तिरस्कार गर्न अनि आफ्नो परिवार तथा साथीभाइलाई बेकम्माको ठान्न सिकाइएको थियो भन्ने दाबी पनि टासिटसले गरे। साधारणतया रोमीहरू यहूदीहरूलाई कचकच गर्दैनथे किनभने यहूदीहरूको संख्या धेरै भएकोले डराउनुपर्ने अवस्था थियो। तर रोमीहरूले सा.यु. ६६ को यहूदी विद्रोहलाई कठोर प्रतिरोध गरे र त्यसैको फलस्वरूप सा.यु. ७० मा यरूशलेमको विनाश भयो।
१०, ११. (क) मोशालाई दिइएको व्यवस्थाअनुसार विदेशीहरूप्रति कस्तो व्यवहार गर्नुपर्थ्यो? (ख) यहूदीधर्मले भोगेको अवस्थाबाट हामी कस्तो पाठ सिक्छौं?
१० विदेशीहरूप्रतिको यस्तो दृष्टिकोणलाई मोशाको व्यवस्थामा बताइएको उपासनासित तुलना गरेर हेऱ्यौं भने के पाउँछौं? व्यवस्थाले पक्कै पनि अरू राष्ट्रहरूबाट अलग रहन सिकाएको थियो तर यो विशेषगरि इस्राएलीहरूको शुद्ध उपासना जोगाउनका लागि थियो। (यहोशू २३:६-८) तैपनि, विदेशीहरूले जानाजानी इस्राएलको नियमकानुन भंग नगरुञ्जेल तिनीहरूसित न्यायपूर्ण निष्पक्ष व्यवहार गर्नुका साथै तिनीहरूको अतिथि-सत्कार गर्नुपर्छ भनेर व्यवस्थामा उल्लेख गरिएको थियो। (लेवी २४:२२) व्यवस्थाअनुसार विदेशीहरूप्रति राख्नुपर्ने मनोभावको साँचो आशयदेखि तर्केर येशूको समयका यहूदी नेताहरूको उपासना गर्ने ढंगले विदेशीहरूप्रति घृणा झल्काउँथ्यो र त्यसको बदलामा विदेशीहरूबाट पनि घृणित हुनुपऱ्यो। अन्तमा प्रथम शताब्दीको यहूदी राष्ट्रले यहोवाको अनुग्रह गुमायो।—मत्ती २३:३८.
११ के यसबाट हामी पाठ सिक्नसक्छौं? अवश्य! हाम्रोभन्दा बेग्लै धार्मिक विश्वास भएका मानिसहरूको सामु आत्मधर्मी देखाउने, तिनीहरूभन्दा म ठूलो भन्ने मनोवृत्तिले यहोवाको शुद्ध उपासना झल्काउँदैन र यहोवालाई खुसी पनि तुल्याउँदैन। प्रथम शताब्दीका विश्वासी मसीहीहरूलाई विचार गर्नुहोस्। तिनीहरूले गैर-मसीहीहरूलाई घृणा गरेनन् नता रोमविरुद्ध विद्रोह गर्न उत्रे। तैपनि तिनीहरू “घृणित” भए। किन? र कोद्वारा?
प्रारम्भिक मसीहीहरू—कोबाट घृणित?
१२. गैर-मसीहीहरूप्रति आफ्ना अनुयायीहरूले सन्तुलित दृष्टिकोण राखेको येशू चाहनुहुन्छ भनी धर्मशास्त्रले कसरी स्पष्ट पार्छ?
१२ येशू आफ्ना चेलाहरूले गैर-मसीहीहरूप्रति सन्तुलित दृष्टिकोण राखून् भन्ने चाहनुहुन्थ्यो भन्ने कुरा उहाँका शिक्षाहरूबाट स्पष्ट हुन्छ। अर्कोतिर, उहाँले आफ्ना अनुयायीहरू संसारबाट अलग रहनेछन् भन्नुभयो। भनाइको मतलब, तिनीहरूले यहोवाका धार्मिक स्तरसित मेल नखाने मनोभाव तथा आचरण त्याग्नेथिए। तिनीहरू युद्ध तथा राजनीतिजस्ता कुराहरूमा तटस्थ रहनेथिए। (यूहन्ना १७:१४, १६) अर्कोतिर, गैर-मसीहीहरूलाई घृणा गर्न सिकाउनुको साटो येशूले आफ्ना अनुयायीहरूलाई “शत्रुहरूलाई प्रेम गर” भन्नुभयो। (मत्ती ५:४४) प्रेरित पावलले मसीहीहरूलाई यस्तो आग्रह गरे: “तिम्रो शत्रु भोकाउँछ भने, त्यसलाई खुवाऊ, तिर्खाउँछ भने, पियाऊ।” (रोमी १२:२०) उहाँले मसीहीहरूलाई “सबै मानिसतर्फ, . . . भलाइको काम” गर पनि भन्नुभयो।—गलाती ६:१०.
१३. यहूदी धार्मिक नेताहरूले ख्रीष्टका चेलाहरूको त्यति विघ्न विरोध गर्नुको कारण के हो?
१३ यद्यपि, ख्रीष्टका चेलाहरू तीनवटा स्रोतबाट “घृणित” भए। सर्वप्रथम त, यहूदी धार्मिक नेताहरू। मसीहीहरूतर्फ तिनीहरूको ध्यानाकर्षण हुनु कुनै अचम्मको कुरा होइन! मसीहीहरूको नैतिकता अनि निष्ठासम्बन्धी उच्च सिद्धान्तहरू थिए अनि तिनीहरू आशा-जगाउने सन्देश बल्दो जोसका साथ सुनाउँथे। हजारौंले यहूदीधर्म त्यागेर मसीहीधर्म अँगाले। (प्रेरित २:४१; ४:४; ६:७) यहूदी धार्मिक नेताहरूका लागि येशूका यहूदी चेलाहरू धर्मत्यागीहरू थिए! (प्रेरित १३:४५ तुलना गर्नुहोस्।) यी रिसाहा नेताहरूलाई आफ्नो परम्परा मसीहीधर्मले निष्काम पारेको जस्तो लाग्यो। किनकि ती मसीहीहरू अन्यजातिहरूप्रतिको दृष्टिकोणको समेत कुनै पर्बाह गर्दैनथे! सा.यु. ३६ देखि अन्यजातिहरू पनि मसीहीहरू बन्न सम्भव भयो, तिनीहरूको एउटै विश्वास भयो अनि यहूदीहरूले जस्तै तिनीहरूले पनि मसीही सुअवसरहरू पाउन थाले।—प्रेरित १०:३४, ३५.
१४, १५. (क) मूर्तिपूजक उपासकहरूले मसीहीहरूलाई घृणा गर्नुको कारण के हो? उदाहरण दिनुहोस्। (ख) प्रारम्भिक मसीहीहरूलाई “घृणा” गर्ने तेस्रो समूह कुन हो?
१४ दोस्रो, मसीहीहरूले मूर्तिपूजक उपासकहरूको पनि घृणा खप्नुपऱ्यो। उदाहरणका लागि, पुरातन एफिससमा डायनाको चाँदीको मूर्ति बनाउने व्यापार फस्टाइरहेको थियो। तर पावलले त्यहाँ प्रचार गर्दा थुप्रै एफिसीबासीहरूले त्यो सन्देश स्वीकारेर डायनाको उपासना त्यागे। आफ्नो व्यापारमा नोक्सान हुनसक्ने खतरा देखेपछि चाँदीका शिल्पकारीहरूले हुलदंगा गरे। (प्रेरित १९:२४-४१) बिथिनियामा (अहिलेको उत्तरपश्चिम तुर्की) मसीहीधर्म फैलिएपछि त्यस्तै भयो। मसीही युनानी धर्मशास्त्र लेख्न पूरा भएको धेरै समय नबित्दै बिथिनियाका बडाहाकिम, प्लाइनी द यंगरले मूर्तिपूजक मन्दिरहरू सुनसान हुँदै गएको र बलि चढाइने पशुहरूको निम्ति चाराको बिक्री घट्दै गएको कुरा बताए। यसको दोष मसीहीहरूलाई लगाएर सताइयो किनभने तिनीहरूले पशुबलि चढाउने र मूर्तिपूजा गर्दैनथे। (हिब्रू १०:१-९; १ यूहन्ना ५:२१) स्पष्टतः, मसीहीधर्म फैलिंदै जाँदा मूर्तिपूजक उपासनामा लुकेको निहित स्वार्थलाई असर गऱ्यो र यसको कारण आफ्नो काम तथा दाम गुमाउनु परेकाहरूलाई रिस उठ्यो।
१५ तेस्रो, मसीहीहरू राष्ट्रवादी रोमीहरू-द्वारा “घृणित” भए। सुरुसुरुमा रोमीहरूले मसीहीहरूलाई एउटा सानो कट्टर धार्मिक समूह मात्र ठानेका थिए। यद्यपि, समय बित्दै जाँदा मसीही हुँ भन्नु मात्र पनि मृत्युदण्ड पाउन सकिने अपराध हुन गयो। मसीही जीवन बिताइरहेका इमानदार नागरिकहरू किन सतावट र मृत्युको सिकार हुन लायकका ठहराइए?
प्रारम्भिक मसीहीहरू —रोमी संसारमा किन घृणित?
१६. कुन कुन तरिकामा मसीहीहरू संसारबाट अलग्गै बसे र यसले गर्दा तिनीहरू रोमी संसारमा किन अलोकप्रिय भए?
१६ मुख्यतया, मसीहीहरूले आफ्ना धार्मिक विश्वासहरू व्यवहारमा उतारेको हुँदा रोमी संसारबाट घृणित भए। उदाहरणका लागि, तिनीहरू संसारबाट अलग बसे। (यूहन्ना १५:१९) त्यसकारण तिनीहरूले कुनै प्रकारको राजनैतिक कार्यभार सँभालेनन् र सैनिक सेवामा सामेल हुन पनि इन्कार गरे। फलस्वरूप, तिनीहरू “संसारको लागि कामै नलाग्ने तथा जीवनका कामकुरामा पटक्कै चासो नराख्ने मानिसहरू ठहरिए” भनी इतिहासकार अगस्टस नियान्डर बताउँछन्। यो संसारको कुनै भाग नहुनुमा भ्रष्ट रोमी संसारको दुष्ट मार्गमा नचल्नु पनि समावेश थियो। “मसीहीहरूको सानो समुदायहरूको भक्ति र शिष्टताले सुखविलासी मूर्तिपूजक संसारलाई पिरोलिरहेको थियो” भनी इतिहासकार विल ड्युरान्ट वर्णन गर्छन्। (१ पत्रुस ४:३, ४) मसीहीहरूलाई सताएर अनि मारेर रोमीहरूले तिनीहरूको कारण हुने अप्ठ्यारोलाई शान्त पार्न खोजेको हुनुपर्छ।
१७. प्रथम शताब्दीका मसीहीहरूको प्रचारकार्य प्रभावशाली थियो भनेर केले देखाउँछ?
१७ प्रथम शताब्दीका मसीहीहरूले पूरा जोसका साथ परमेश्वरको राज्यको सुसमाचार प्रचार गरे। (मत्ती २४:१४) पावलले सा.यु. ६० मा सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भन्न सके। (कलस्सी १:२३) प्रथम शताब्दीको अन्तसम्म येशूका अनुयायीहरूले रोमी साम्राज्य, एसिया, युरोप र अफ्रिकामा चेला बनाइसकेका थिए। “सिजरका घरानाका” कोही कोही सदस्यहरू मसीही भएका होलान्।a (फिलिप्पी ४:२२) यस्तो जोसिलो प्रचारकार्यले गर्दा अरूलाई रिस उठ्यो। नियान्डर यसो भन्छन्: “बिस्तारै बिस्तारै सबै प्रकारका मानिसहरूले मसीहीधर्म अपनाउन थाले अनि फलतः राष्ट्रको धर्मलगायत समाजको संरचना नै उलटपुलट हुनसक्ने सम्भावना भयो।”
१८. मसीहीहरूले यहोवालाई ऐकान्तिक भक्ति चढाएको हुँदा किन रोमी सरकारको शत्रु बन्नुपऱ्यो?
१८ येशूका अनुयायीहरू यहोवालाई ऐकान्तिक भक्ति चढाउँथे। (मत्ती ४:८-१०) सायद रोमसित तिनीहरूको कुरा नमिल्नुको प्रमुख कारण नै उपासनाको यही पक्ष हुनसक्छ। अरू धर्म मान्नेहरूले सम्राटको पनि उपासना गर्छन् भने रोमीहरूले तिनीहरूलाई दुःख दिंदैनथे। प्रारम्भिक मसीहीहरू त्यस्तो उपासनामा पटक्कै भाग लिंदैनथे। किनकि तिनीहरू आफूलाई रोमी राष्ट्रभन्दा उच्च अख्तियार अर्थात् यहोवा परमेश्वरप्रति जवाफदेही ठान्थे। (प्रेरित ५:२९) फलस्वरूप, अरू कामकुरामा मसीहीहरू जतिसुकै उदाहरणीय नागरिक भए तापनि राष्ट्रको शत्रु गनिन्थे।
१९, २०. (क) विश्वासी मसीहीहरूबारे फैलाएको भयानक झूटको लागि सबैभन्दा को दोषी थियो? (ख) मसीहीहरू विरुद्ध कस्ता झूटा आरोपहरू लगाइएको थियो?
१९ रोमी संसारमा विश्वासी मसीहीहरू “घृणित” हुनुको अर्को एउटा कारण पनि छ: यहूदीहरूले मसीहीहरूबारे फैलाएको धूर्त झूट मानिसहरूले पत्याइहाल्थे र यसका लागि यहूदी धार्मिक नेताहरू एकदमै दोषी थिए। (प्रेरित १७:५-८) सा.यु. ६० वा ६१ तिर पावल रोममा सम्राट नेरोबाट पुर्पक्ष गरिन पर्खिरहेको बेला अगुवा यहूदीहरूले मसीहीहरूबारे यसो भने: “यस पन्थको विषयमा ता हामीलाई यति थाह छ, कि जताततै मानिसहरू यसको विरुद्ध मात्रै बोल्दछन्।” (प्रेरित २८:२२) मसीहीहरूका विरुद्धमा फैलाएका झूटा कथाहरू नेरोले पनि पक्कै सुनेका हुनुपर्छ। सा.यु. ६४ मा रोमलाई खतम पार्ने आगोको दोष नेरोलाई लगाइँदा तिनले सबैको तारो बनिसकेका मसीहीहरूमाथि त्यो दोष थोपारे। यसपछि मसीहीहरूलाई सखाप पार्ने अभियानमा हिंस्रक सतावट सुरु गर्ने लहड चलेको जस्तो देखिन्छ।
२० मसीहीहरूमाथि लगाइएका आरोपहरू प्रायजसो सरासर झूट हुनुका साथै मसीहीहरूको विश्वास बंग्याएर प्रस्तुत गरिन्थ्यो। तिनीहरू एउटा मात्र परमेश्वरको उपासना गर्ने र सम्राटको उपासना नगर्ने हुँदा तिनीहरूलाई नास्तिकहरू भनियो। परिवारका कोही कोही गैर-मसीही सदस्यहरूले आफ्ना मसीही नातेदारहरूको विरोध गरेको हुँदा मसीहीहरूलाई परिवार टुक्राउनेहरू भन्ने आरोप लगाइयो। (मत्ती १०:२१) येशूले प्रभुको साँझको भोजमा भन्नुभएका शब्दहरूको गलत अर्थ लगाएर तिनीहरू नरभक्षीहरू हुन् भन्ने आरोपसमेत लगाइयो।—मत्ती २६:२६-२८.
२१. कुन दुइटा कारणको लागि मसीहीहरू “घृणित” भए?
२१ त्यसकारण, विश्वासी मसीहीहरू दुइटा कारणका लागि रोमीहरूबाट “घृणित” भए: (१) तिनीहरूको बाइबलआधारित विश्वास तथा प्रचलनहरू र (२) तिनीहरू विरुद्ध लगाइएका झूटा आरोपहरू। कारण जेसुकै भए तापनि विरोधीहरूको एउटै उद्देश्य थियो र त्यो हो, मसीहीधर्मलाई दबाउने। निस्सन्देह, मसीहीहरूलाई सतावट दिन साँच्चै उस्काउने चाहिं आत्मिक विरोधी अर्थात् अदृश्य दुष्ट आत्मिक शक्ति थियो।—एफिसी ६:१२.
२२. (क) यहोवाका साक्षीहरू “सबैलाई भलाइ गर्न” प्रयास गर्छन् भनी कुन उदाहरणले देखाउँछ? (पृष्ठ ११ को पेटी हेर्नुहोस्।) (ख) यसपछिको लेखमा के छलफल गरिनेछ?
२२ प्रारम्भिक मसीहीहरूजस्तै आधुनिक समयका यहोवाका साक्षीहरू विभिन्न मुलुकहरूमा “घृणित” भएका छन्। यद्यपि, तिनीहरू गैर-साक्षीहरूलाई घृणा गर्दैनन्; नता तिनीहरू सरकारहरूको विद्रोह गर्ने समस्याको कारक तत्त्व नै हुन्। त्यसको विपरीत, तिनीहरू सामाजिक, राष्ट्रिय अनि जनजातीय सीमाहरूको पर्बाह नगरेर साँचो प्रेम व्यवहारमा उतार्ने मानिसहरू भनी सारा संसारभरि चिनिन्छन्। त्यसोभए तिनीहरूलाई किन सताइयो? अनि तिनीहरू विरोधप्रति कस्तो प्रतिक्रिया व्यक्त गर्छन्? यी प्रश्नहरू यसपछिको लेखमा छलफल गरिनेछन्।
[फुटनोट]
a “सिजरका घराना” भन्ने अभिव्यक्तिले त्यतिबेलाका शासक नेरोको आफ्नै परिवारका सदस्यहरूलाई बुझाएको नहुनसक्छ। बरु, शाही परिवार तथा कर्मचारीहरूको निम्ति खाना पकाउने र सफा गर्ने जस्ता घरायसी कामधन्दाहरू गर्ने चाकर तथा तल्लो दर्जाका अधिकृतहरूलाई बुझाएको हुनसक्छ।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ येशूले आफ्ना सम्भाव्य अनुयायीहरूलाई चेला बन्दाको मूल्य हिसाब गर्न किन आग्रह गर्नुभयो?
◻ गैर-यहूदीहरूको धारणाले यहूदीधर्ममा कस्तो असर पाऱ्यो र यसबाट हामी के सिक्छौं?
◻ प्रारम्भिक विश्वासी मसीहीहरूले कुन तीनवटा स्रोतबाट विरोधको सामना गरे?
◻ कुन आधारभूत कारणका लागि रोमीहरूले प्रारम्भिक मसीहीहरूलाई “घृणा” गरे?
[पृष्ठ ११-मा भएको पेटी]
‘सबै मानिसतर्फ भलाइको काम गर्ने’
यहोवाका साक्षीहरू ‘सबै मानिसतर्फ भलाइको काम गर्ने’ बाइबलको सल्लाह पालन गर्ने प्रयास गर्छन्। (गलाती ६:१०) खाँचोमा पर्दा छिमेकीप्रतिको प्रेमले तिनीहरू बेग्लै धार्मिक विश्वास भएकाहरूलाई पनि मदत गर्न उत्प्रेरित हुन्छन्। उदाहरणका लागि, १९९४ मा रूवाण्डामा स्थिति डामाडोल हुँदा युरोपका साक्षीहरू उद्धार कार्यको प्रबन्ध गर्न अफ्रिका जान राजी भए। सहायताको लागि सुव्यवस्थित शिविर तथा अस्थायी अस्पतालहरू तुरुन्तै खडा गरिए। थुप्रै परिमाणमा खाद्यान्न, लत्ताकपडा तथा कम्बलहरू हवाई मार्गबाट पठाइयो। त्यो क्षेत्रमा यस उद्धार कार्यबाट लाभ उठाउने शरणार्थीहरूको संख्या साक्षीहरूको संख्याभन्दा तीन गुणा बढी थियो।
[पृष्ठ ९-मा भएको चित्र]
प्रथम शताब्दीका मसीहीहरूले अटल जोसका साथ सुसमाचार प्रचार गरे