प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १२/१५ pp. ५-८
  • येशूको जन्म—साँचो कथा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको जन्म—साँचो कथा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • लेख्नुको उद्देश्‍य
  • बेतलेहेममा येशूको जन्म
  • यहोवाले सत्य खोज्ने नम्र व्यक्‍तिहरूलाई अनुग्रह देखाउनुहुन्छ
  • खतरामा परेको शिशु
  • येशूको जन्म— तपाईंको निम्ति यसले के अर्थ राख्छ
  • येशूको जन्मको विवरणबाट पाठहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • येसुको जन्म—कहाँ र कहिले?
    येसु—बाटो, सत्य र जीवन
  • येशू कहाँबाट आउनुभयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • येशूको जन्म—कहाँ र कहिले?
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १२/१५ pp. ५-८

येशूको जन्म—साँचो कथा

तपाईंको देशको इतिहासमा एउटा चिरपरिचित घटनाबारे विचार गर्नुहोस्‌। यसबारे लिखित प्रमाणहरू हुनुका साथै थुप्रै इतिहासकारहरूले लेखेका पनि छन्‌। अब कसैले आएर तपाईंलाई त्यो घटना कहिल्यै भएको थिएन, त्यो त मिथ्या हो भन्यो भने नि? यस परिस्थितिलाई अझ व्यक्‍तिगत तवरमा लागू गरौं, तपाईंको परिवारले तपाईंलाई तपाईंको हजुरबुबाको जन्म र बाल्यकालबारे जे जति भनेको थियो त्यो सबै झूटा हो भनी कोही व्यक्‍तिले बतायो भने नि? यस्तो कुरा सुन्दा मात्र पनि तपाईंलाई रीस उठ्‌नसक्छ। स्पष्टतः त्यस्ता कुराहरू तपाईंले अरूले भनेको भरमा मात्र स्वीकार्नु हुन्‍न!

यद्यपि, आज समालोचकहरूले येशूको जन्मबारे मत्ती र लूकाले लेखेका सुसमाचारका पुस्तकका विवरणलाई साधारणतया बेवास्ता गर्छन्‌। ती असाध्यै विरोधाभासपूर्ण हुनुका साथै अप्रासंगिक छन्‌ अनि ती दुवै विवरणमा सरासर झूट तथा ऐतिहासिक गल्तीहरू छन्‌ भनी तिनीहरू भन्छन्‌। के त्यो साँचो हुनसक्छ? यस्ता दोषहरू स्वीकार्नुको सट्टा आउनुहोस्‌, हामी आफै सुसमाचारका पुस्तकहरू केलाऔं। यसै सिलसिलामा आज हामीले के सिक्नसक्छौं, त्यो पनि हेरौं।

लेख्नुको उद्देश्‍य

सर्वप्रथम यी बाइबल विवरणहरू लेख्नुको उद्देश्‍य सम्झन हामीलाई मदत गर्छ। ती जीवनी लेखहरू होइनन्‌ तर सुसमाचारका पुस्तक हुन्‌। यी दुई बीचको भिन्‍नता थाह पाउनु महत्त्वपूर्ण छ। जीवनी लेखमा ग्रन्थकारले जसको जीवनी लेखिरहेको हुन्छ उक्‍त व्यक्‍ति कसरी त्यस्तो प्रख्यात हुन गयो भनी बताउने प्रयासमा सयौं पाना लेख्छन्‌। अतः केही जीवनी लेखहरूमा पात्रको वंश, जन्म र बाल्यकालबारे निकै बयान गरिएको हुन्छ। सुसमाचारका पुस्तकहरू त्यस्ता होइनन्‌। सुसमाचारका चारवटा विवरणहरूमध्ये मत्ती र लूकाले मात्र येशूको जन्म र बाल्यकालबारे बताएका छन्‌। तथापि, तिनीहरूको लक्ष्य येशू कसरी त्यस्तो व्यक्‍ति हुनुभयो भनी देखाउनु थिएन। स्मरण रहोस्‌, येशूका अनुयायीहरूले उहाँ यस पृथ्वीमा आउनुअघि आत्मिक प्राणीको रूपमा हुनुहुन्थ्यो भनी बुझेका थिए। (यूहन्‍ना ८:२३, ५८) तसर्थ, मत्ती अनि लूकाले येशू कसरी त्यस्तो प्रकारको व्यक्‍ति हुनुभयो भनी बताउन उहाँको बाल्यकालबारे बेलीबिस्तार लगाएनन्‌। बरु, तिनीहरूले आ-आफ्नो सुसमाचारको पुस्तकका उद्देश्‍यसित मिल्दा घटनाहरू बताए।

अनि तिनीहरूले ती विवरणहरू लेख्नुको उद्देश्‍य के थियो? अंग्रेजी शब्द “गस्पल”-को अर्थ “सुसमाचार” हो। दुवै पुरुषको सन्देश एउटै थियो—येशू नै प्रतिज्ञा गरिएको मसीह वा ख्रीष्ट हुनुहुन्छ, उहाँ मानिसजातिको पापको निम्ति मर्नुभयो र पुनरुत्थान भएर स्वर्ग जानुभयो। तर यी दुई लेखकहरूको पृष्ठभूमि एकदमै भिन्‍न थियो र तिनीहरूले छुट्टाछुट्टै श्रोताहरूलाई ध्यानमा राखेर लेखे। महसुल उठाउने मत्तीले मुख्यतः यहूदी श्रोताहरूका लागि लेखे। चिकित्सक लूकाले सम्भवतः उच्च ओहदा भएका “माननीय थियोफिलस[का]” साथै अझ विस्तृत तवरमा यहूदी तथा अन्यजातिहरूलाई ध्यानमा राखेर लेखे। (लूका १:१-४) प्रत्येक लेखकले सबैभन्दा प्रासंगिक र सम्भवतः आफूले ध्यानकेन्द्रित गरेका श्रोताहरूलाई विश्‍वस्त गराउने घटनाहरू छाने। अतः मत्तीको विवरणले येशूसम्बन्धी पूर्ति भएका हिब्रू धर्मशास्त्रमा गरिएका भविष्यवाणीहरूमा जोड दिन्छ। अर्कोतर्फ लूका गैर यहूदी श्रोताहरूले पनि बुझ्ने प्राचीन ऐतिहासिक तरिका अपनाउँछन्‌।

तथापि, तिनीहरूको विवरण फरक फरक हुनु छक्कलाग्दो कुरा होइन। तर समालोचकहरूले दाबी गरेझैं ती दुई विवरण आपसमा बाझ्दैनन्‌। ती एकअर्काका पूरक हुन्‌।

बेतलेहेममा येशूको जन्म

मत्ती र लूका दुवैले येशूको जन्मको सन्दर्भमा एउटा उल्लेखनीय चमत्कारबारे लिपिबद्ध गरेका छन्‌। त्यो हो, कन्या केटीबाट उहाँको जन्म। शताब्दीऔंअघि यशैयाले गरेको भविष्यवाणी यस चमत्कारद्वारा पूरा भएको मत्तीले बताएका छन्‌। (यशैया ७:१४; मत्ती १:२२, २३) सिजरले नाउँ दर्ता गर्नुपर्ने नियम बनाएकाले यूसुफ र मरियम बेतलेहेम जान बाध्य भए र त्यसैकारण येशूको जन्म बेतलेहेममा भयो भनी लूका बताउँछन्‌। (पृष्ठ ७ को पेटी हेर्नुहोस्‌।) येशू बेतलेहेममा जन्मिनु उल्लेखनीय थियो। शताब्दीऔंअघि अगमवक्‍ता मीकाले मसीहको जन्म यरूशलेम नजीकैको एउटा नगण्य शहरमा हुनेछ भनी भविष्यवाणी गरेका थिए।—मीका ५:२.

येशूको जन्म तस्बिरहरूमा प्रायः येशूको जन्मको रात देखाइन्छ। तथापि, त्यो रातबारे साँचो कथा साधारणतया चित्रण गरिनेभन्दा धेरै भिन्‍न छ। जनगणनाको कारण मरियम र यूसुफ बेतलेहेम जानुपऱ्‍यो भनी बताउने इतिहासकार लूकाले त्यस महत्त्वपूर्ण रातमा गोठालाहरू आफ्नो बगाल लिएर बाहिरै बसिरहेका पनि बताउँछन्‌। यी दुई घटनाले गर्दा थुप्रै बाइबल अनुसन्धानकर्ताहरू येशूको जन्म डिसेम्बर महिनामा हुन सक्दैन भन्‍ने निष्कर्षमा पुगेका छन्‌। सिजरले रिसाहा यहूदीहरूको रीस चर्काउन त्यस्तो जाडो र वर्षाको बेला तिनीहरू जन्मिएको शहरमा जबरजस्ती पठाएका हुनसक्दैनन्‌ भनी तिनीहरू भन्छन्‌ किनभने यसले विद्रोही मानिसहरूलाई अझ क्रोधित मात्र बनाउने थियो। त्यस्तैगरि, त्यस्तो प्रतिकूल मौसममा गोठालाहरू आफ्नो बगाल लिएर बाहिर बसिरहेका हुनसक्दैनन्‌ भनेर पनि शास्त्रविद्‌हरू भन्छन्‌।—लूका २:८-१४.

याद गर्नुहोस्‌, यहोवाले आफ्नो पुत्रको जन्मको घोषणा त्यतिबेलाका शिक्षित तथा प्रभावशाली धर्म गुरुहरूलाई गर्नु भएन तर प्रायः बाहिर बाहिरै भइरहने झुत्रेझाम्रे श्रमिकहरूलाई गर्नुभयो। सम्भवतः शास्त्री तथा फरिसीहरूको तिनीहरूसित त्यति सम्पर्क थिएन, साथै तिनीहरूको कार्य तालिकाले गर्दा मौखिक व्यवस्थाका सबै पक्षहरू पालन गर्न असमर्थ हुन्थे होला। मसीह जसलाई परमेश्‍वरका जनहरूले हजारौं वर्षदेखि पर्खिरहेका थिए तिनको जन्म भर्खरै बेतलेहेममा भएको जानकारी तिनीहरूलाई स्वर्गदूतहरूको समूह मार्फत दिनुभएर परमेश्‍वरले यी नम्र, विश्‍वासी पुरुषहरूलाई ठूलो सम्मान गर्नुभयो। मरियम र यूसुफलाई भेट्‌न तथा गोठमा जन्मेका यस अबोध शिशुलाई हेर्न अक्सर येशूको जन्म तस्बिरमा देखाइने “तीन राजाहरू” होइनन्‌ तर यी मानिसहरू आए।—लूका २:१५-२०.

यहोवाले सत्य खोज्ने नम्र व्यक्‍तिहरूलाई अनुग्रह देखाउनुहुन्छ

परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको उद्देश्‍य पूरा भएको हेर्न चाहने नम्र व्यक्‍तिहरूलाई परमेश्‍वरले अनुग्रह देखाउनुहुन्छ। येशूको जन्मताक पनि यही कुरा बारम्बार दोहऱ्‍याइएको थियो। शिशु जन्मेको झन्डै एक महिनापछि यूसुफ र मरियमले मोशालाई दिइएको व्यवस्थाअनुरूप उहाँलाई मन्दिरमा ल्याए अनि “एक जोड़ ढुकुर कि परेवाका दुइवटा बच्चा” बलिदान चढाए। (लूका २:२२-२४) व्यवस्थाअनुसार वास्तवमा थुमा चढाउनुपर्थ्यो तर गरिब भएमा अलि सस्तो भेटी पनि चढाउनसकिन्थ्यो। (लेवी १२:१-८) विचार गर्नुहोस्‌ त। यस ब्रह्‍माण्डको सर्वोच्च परमेश्‍वर यहोवाले आफ्नो एक मात्र प्रिय पुत्रको लालनपालनको निम्ति सम्पन्‍न परिवार नभई गरिब परिवार छान्‍नुभयो। तपाईं पनि आमा या बुबा हुनुहुन्छ भने यो तपाईंको लागि ज्वलन्त उदाहरण हुनसक्छ। किनभने तपाईंले आफ्ना छोराछोरीलाई दिनसक्ने उत्तम उपहार भौतिक धनसम्पत्ति वा प्रतिष्ठित शिक्षा नभई आध्यात्मिक मूल्य मान्यतालाई प्राथमिकता दिने घरेलु वातावरण हो।

मन्दिरमा अन्य दुई विश्‍वासी नम्र उपासकहरूले यहोवाको अनुग्रह पाए। एक थिइन्‌ ८४ वर्षीया विधवा हन्‍ना जसले “मन्दिर छोड़दैन थिइन्‌।” (लूका २:३६, ३७) अर्का थिए, विश्‍वासी वृद्ध पुरुष शिमियोन। तिनीहरू मर्नुअघि प्रतिज्ञा गरिएको मसीह हेर्न पाउने परमेश्‍वरले प्रदान गर्नुभएको विशेषाधिकारको निम्ति रोमाञ्चित छन्‌। त्यस बच्चाबारे शिमियोनले भविष्यवाणी बोल्छन्‌। यो भविष्यवाणी आशाले भरिएको छ तर कता कता शोकको आभास पनि पाइन्छ। यस जवान आमा मरियम एक दिन आफ्नो प्रिय छोराको निम्ति दुःखले छटपटिनेछिन्‌ भनी तिनी भविष्यवाणी गर्छन्‌।—लूका २:२५-३५.

खतरामा परेको शिशु

शिमियोनको भविष्यवाणीले यस अबोध शिशु घृणाको तारो हुनेछ भनी सम्झना गराउँछ। तिनी शिशु छँदादेखि नै घृणाको पात्र हुन थालिसकेका छन्‌। यसबारे मत्तीले विस्तृत रूपमा बताएका छन्‌। येशू जन्मिएको निकै महिना भइसक्यो र अब यूसुफ, मरियम तथा येशू बेतलेहेममा बसोबास गरिरहेका छन्‌। तिनीहरूले चिन्दै नचिनेका कतिपय मानिसहरू पनि तिनीहरूलाई भेट्‌न आए। येशूको जन्मसम्बन्धी असंख्य दृश्‍यहरूमा चित्रण गरिए तापनि मत्तीले तिनीहरूलाई भेट्‌न आएका मानिसहरूको संख्या किटेर बताउँदैनन्‌ नता ती मानिसहरूलाई “बुद्धिमान्‌ पुरुष” वा “तीन राजाहरू” नै भनेका छन्‌। तिनले युनानी शब्द मागोइ प्रयोग गरेका छन्‌ जसको अर्थ हो “ज्योतिषहरू।” यसबाट नै पाठकहरूले कुनै दुष्टले चाल चलिरहेको छ भनी सुराक पाउनसक्छन्‌ किनभने परमेश्‍वरको वचनले ज्योतिषशास्त्रको विरोध गर्छ र विश्‍वासी यहूदीहरू यसबाट पूर्णतया अलग बसेका थिए।—व्यवस्था १८:१०-१२; यशैया ४७:१३, १४.

ती ज्योतिषीहरूले पूर्वको तारालाई पछ्याउँदै आएका थिए र “यहूदीहरूका राजा भएर जन्मेका[लाई]” उपहारहरू ल्याएका छन्‌। (मत्ती २:२) तर तिनीहरूलाई ताराले बेतलेहेमतिर डोऱ्‍याउँदैन। बरु तिनीहरू यरूशलेममा हेरोद राजाकहाँ पुग्छन्‌। यस संसारको कुनै मानिसले आफ्नो भएभरको स्रोत, साधन अनि शक्‍ति लगाएर पनि जवान येशूलाई हानि गर्नसक्दैन। यस महत्त्वाकांक्षी हिंस्रक व्यक्‍तिले खतराको रूपमा देखिएका आफ्नै परिवारका सदस्यहरूलाई समेत मारे।a “यहूदीहरूका राजा” जन्मेको सुनेर तिनलाई खलबल हुन्छ र बेतलेहेममा तिनलाई भेट्टाउन ज्योतिषीहरूलाई पठाउँछन्‌। तिनीहरू जाँदै गर्दा एउटा अनौठो कुरा हुन्छ। तिनीहरूलाई यरूशलेमसम्म डोऱ्‍याउने “तारा” चलेजस्तो देखिन्छ!—मत्ती २:१-९.

अब आकाशमा साँच्चै कुनै प्रकारको ज्योति देखिएको हो वा खालि दर्शन मात्र हो, त्यो हामीलाई थाह छैन। तर एउटा कुरा भने पक्का थाह छ, यो “तारा” परमेश्‍वरबाट थिएन। यसले ती मूर्तिपूजकहरूलाई कमजोर, निस्सहाय बालक येशूकहाँ पुऱ्‍याउँछ जसको सुरक्षाको नाउँमा गरिब सिकर्मी र तिनको पत्नी मात्र छिन्‌। हेरोदका चम्चाहरू अर्थात्‌ ती ज्योतिषीहरूले सम्भवतः त्यस इखालु राजालाई रिपोर्ट गर्ने थिए र फलस्वरूप बच्चाको मृत्यु हुनेथियो। तर परमेश्‍वरले सपनाद्वारा हस्तक्षेप गर्नुहुन्छ र अर्कै बाटोबाट तिनीहरूलाई घर पठाउनुहुन्छ। उसोभए, त्यो “तारा” मसीहलाई जसरी भए पनि हानि गर्न तयार परमेश्‍वरको शत्रु शैतानको साधन हुनुपर्छ। हास्यास्पद कुरा के छ भने त्यस “तारा” र ज्योतिषीहरूलाई येशूको जन्म तस्बिरहरूमा परमेश्‍वरको दूतको रूपमा चित्रण गरिएको छ!—मत्ती २:९-१२.

शैतान अझै हरेस खाँदैन। यस मामिलामा त्यसको कठपुतली राजा हेरोदले बेतलेहेममा दुई वर्षमुनिका सबै बच्चाहरूलाई मार्ने आदेश दिन्छन्‌। तर शैतानले यहोवा विरुद्धको युद्धमा विजय हासिल गर्न सक्दैन। यस निर्दोष बच्चाको निर्मम हत्याबारे समेत परमेश्‍वरलाई पहिल्यै थाह थियो भनी मत्ती भन्छन्‌। यूसुफलाई सुरक्षाको निम्ति मिश्र भाग्न स्वर्गदूत मार्फत चेताउनी दिनुभएर फेरि यहोवाले शैतानको प्रतिकार गर्नुहुन्छ। मत्तीको विवरणअनुसार केही समयपछि यूसुफ पुनः आफ्नो सानो परिवारसित फर्कन्छन्‌ र नासरतमा बसोबास गर्न थाल्छन्‌ जहाँ येशू आफ्नो साना भाइ तथा बहिनीहरूसँगै हुर्कनुभयो।—मत्ती २:१३-२३; १३:५५, ५६.

येशूको जन्म— तपाईंको निम्ति यसले के अर्थ राख्छ

येशूको जन्म र उहाँको बाल्यकालसम्बन्धी यस छोटो विवरणले के तपाईंलाई अलि अलमल्लमा पारेको छ? थुप्रै पर्छन्‌। कसै कसैले लिपिबद्ध विवरणहरू झूटा हुन्‌ भन्‍ने दाबी निर्भयता साथ गरे तापनि अन्य कतिपय मानिसहरू यो वास्तवमा सामञ्जस्यपूर्ण र सही भएको थाह पाउँदा छक्क पर्छन्‌। कुनै कुनै घटनाहरू सयौं वर्षअघि भविष्यवाणी गरिएका रहेछन्‌ भन्‍ने थाह पाउँदा तिनीहरू छक्क पर्छन्‌। अनि सुसमाचार पुस्तकमा लिपिबद्ध कतिपय मुख्य मुख्य बुँदाहरू नै परम्परागत कथा तथा दृश्‍यहरूमा उल्लेख नगरेको देखेर तिनीहरू छक्क पर्छन्‌।

सायद, सबैभन्दा छक्कलाग्दो कुरा चाहिं के होला भने, परम्परागत क्रिसमस उत्सवले सुसमाचारका पुस्तकका मुख्य बुँदाहरूलाई नै पन्छाएका छन्‌। उदाहरणका लागि, वास्तवमा येशूका पिता—यूसुफ नभई यहोवा परमेश्‍वर हुनुहुन्छ भनेर त्यति ध्यानै दिइन्दैन। आफ्नो प्रिय पुत्रको लालनपालन गर्ने जिम्मेवारी यूसुफ र मरियमलाई सुम्पँदा उहाँलाई कस्तो भयो होला विचार गर्नुहोस्‌। सानै छँदा समेत आफ्नो पुत्रको हत्या गर्ने षड्यन्त्र रच्ने दुष्ट राजा भएको संसारमा हुर्कन दिंदा पितालाई कस्तो पीडा भयो होला, कल्पना गर्नुहोस्‌! मानिसजातिको निम्ति गहिरो प्रेमले गर्दा नै यहोवा यस्तो बलिदान गर्न उत्प्रेरित हुनुभयो।—यूहन्‍ना ३:१६.

वास्तविक येशूलाई अक्सर क्रिसमस पर्वमा वास्तै गरिंदैन। उहाँको जन्मदिन मनाउन चेलाहरूलाई आज्ञा गर्नुभएको कतै पनि लिपिबद्ध गरिएको छैन नता उहाँका अनुयायीहरूले मनाएको नै कुनै संकेत पाइन्छ।

ऐतिहासिक महत्त्व येशूको जन्म होइन उहाँको मृत्यु थियो र उहाँले आफ्ना अनुयायीहरूलाई त्यो मनाउन आज्ञा गर्नुभयो। (लूका २२:१९, २०) डूँडमा सुतिरहेको निस्सहाय बालकको रूपमा येशूको सम्झना गरेको उहाँ चाहनुहुन्‍न किनभने अहिले उहाँ त्यस्तो प्रकारको व्यक्‍ति हुनुहुन्‍न। उहाँको हत्या भएको झन्डै ६० वर्षपछि येशूले आफूलाई प्रेरित यूहन्‍नाले देखेको दर्शन मार्फत युद्धको लागि तयार शक्‍तिशाली राजाको रूपमा प्रस्तुत गर्नुभयो। (प्रकाश १९:११-१६) हामीले आज येशूलाई परमेश्‍वरको स्वर्गीय राज्यको राजाको भूमिका निर्वाह गरिरहनुभएको रूपमा चिन्‍नुपर्छ किनभने यस पृथ्वीमा परिवर्तन ल्याउनुहुने राजा उहाँ नै हुनुहुन्छ।

[फुटनोट]

a वास्तवमा, सिजर अगस्तसले भने हेरोदको छोरा हुनुभन्दा तिनले पालेको सुँगुर हुनु बेस।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

के लूका गलत थिए?

नासरतमा हुर्किएका र साधारणतया नासरी भनेर चिनिने येशूको जन्म १५० किलोमिटर टाढा बेतलेहेममा कसरी भयो? लूका भन्छन्‌: “ती दिनमा [येशूको जन्मअघि] सिजर अगस्टसले सारा जगत्‌को जनसंख्या लिनू भन्‍ने उर्दी गरे। क्युरिनियस सिरियाका बड़ा हाकिम हुँदा पहिलो पल्ट जनसंख्या दर्ता गरिएको थियो। औ सबै जना नाउँ लेखाउनालाई आफ्नो आफ्नो शहर गए।”—लूका १:१; २:१-३.

समालोचकहरू यो विवरण गलत वा अझ त्योभन्दा पनि प्रेरितहरू आफैले रचेका मनगढन्ते कुरा हो भन्छन्‌। सा.यु. ६ वा ७ तिर मात्र क्युरिनियस बडा हाकिम हुनुका साथै जनगणना गर्ने काम गरिएको थियो भनी तिनीहरू दाबी गर्छन्‌। यो साँचो हुँदो हो त लूकाको विवरणमा शंका गर्न मिल्छ किनभने प्रमाणअनुसार येशूको जन्म सा.यु.पू. २ मा भएको थियो। तर यी समालोचकहरूले दुई मुख्य कुराहरूको बेवास्ता गर्छन्‌। प्रथमतः लूकाले एउटाभन्दा बढी जनगणना भएको थियो भनी स्वीकारेका छन्‌। याद गर्नुहोस्‌, तिनले “यो पहिलो पल्टको जनसंख्या थियो” भनेका छन्‌। पछि लिइएको जनगणनाबारे पनि तिनलाई राम्ररी थाह थियो। (प्रेरित ५:३७) यो पछि लिइएको जनगणनाबारे नै इतिहासकार जोसेफसले भनेका हुन्‌। यो सा.यु. ६ मा भएको थियो। दोस्रो, क्युरिनियस बडा हाकिम भएको समय हेरेर येशूको जन्म सा.यु. ६ मा भयो भन्‍नु मिल्दैन। किन? किनभने प्रमाणस्वरूप क्युरिनियसले त्यस ओहदामा दुई चोटि काम गरे। थुप्रै शास्त्रविद्‌हरूले तिनको पहिलो समयावधि सा.यु.पू. २ मा भएको थियो भनी स्वीकार्छन्‌।

येशूको जन्म बेतलेहेममा नै भएको हो भनी प्रमाणित गर्न र यसरी मीका ५:२ को भविष्यवाणी पूरा गर्न लूकाले आफै जनगणमा भएको विवरण लेखेका हुन्‌ भनी समालोचकहरू भन्छन्‌। यस्तो हुँदो हो त लूकाले जानाजानी झूट बोलेको साबित हुन्छ र कुनै समालोचकले पनि सुसमाचार र प्रेरितको पुस्तक लेख्ने नियमनिष्ठ इतिहासकारमाथि लगाइएको आरोप गलत साबित गर्न सक्दैन।

समालोचकहरूले बताउन नसक्ने अर्को एउटा कुरा पनि छ: जनगणना आफै पनि भविष्यवाणीको एउटा पूर्ति थियो! सा.यु.पू. छैठौं शताब्दीमा अगमवक्‍ता दानियलले “शाही रक्षकसाथ एउटा अफिसर कर उठाउनालाई पठाउनेछन्‌” भनी भविष्यवाणी गरेका थिए। के यसले अगस्तस र इस्राएलमा जनगणना गर्ने तिनको आदेशलाई संकेत गर्छ? यस शासकको उत्तराधिकारीको शासनकालमा मसीह वा “करारअनुसारका राजकुमार . . . परास्त” गरिनेछन्‌ भनी त्यस भविष्यवाणीले बताउँछ। निस्सन्देह, येशू अगस्तसका उत्तराधिकारी टाइबेरियसको शासनकालमा “परास्त” हुनुभयो अर्थात्‌ उहाँलाई झुन्ड्याइयो।—दानियल ११:२०-२२.

[चित्र]

सिजर अगस्तस (सा.यु.पू. २७–सा.यु. १४)

सिजर टाइबेरियस (सा.यु. १४-३७)

[स्रोत]

Musée de Normandie, Caen, France

Photograph taken by courtesy of the British Museum

[पृष्ठ ८-मा भएको चित्र]

यहोवाको स्वर्गदूतले ख्रीष्टको जन्मको सुसमाचार सुनाएर नम्र गोठालाहरूलाई अनुग्रह देखाउनुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने