अध्याय ५
येशूको जन्म—कहाँ र कहिले?
रोमी साम्राज्यका सम्राट, सिजर अगस्तसले सबै जनालाई आफ्नो जन्म-दर्ता गराउनका निम्ति आफू जन्मेको सहरमा फर्किने उर्दी जारी गरेका छन्। त्यसकारण यूसुफ आफ्नो जन्मस्थान बेतलेहेम सहर जान यात्रा गर्छन्।
नाम लेखाउन बेतलेहेममा थुप्रै मानिसहरू छन् अनि यूसुफ र मरियमले बस्नका लागि तबेलाबाहेक अरू कुनै ठाउँ पाउँदैनन्। त्यहीं, जहाँ गधा र अरू जनावरहरू राख्ने गर्छन्, येशू जन्मनुहुन्छ। मरियमले बच्चालाई कपडाले बेरेर जनावरको चारा राखिने डुँडमा राख्छिन्।
सिजर अगस्तसले जन्म-दर्ता गराउने कानुन बनाउनुमा निश्चय नै परमेश्वरकै निर्देशन थियो। यसले गर्दा येशूको जन्म बेतलेहेममा हुन सक्यो, जुन सहर प्रतिज्ञा गरिएका शासकको जन्मस्थान हुनेछ भनी धर्मशास्त्रमा धेरै अगाडि नै भविष्यवाणी गरिएको थियो।
यो कस्तो महत्त्वपूर्ण रात हो! बाहिर चौरमा गोठालाहरूको एउटा समूहको वरिपरि तेज ज्योति चम्किन्छ। यो यहोवाको गौरव हो! तब यहोवाका स्वर्गदूतले तिनीहरूलाई भन्छन्: “नडराओ, किनकि हेर म सबै मानिसहरूलाई असाध्यै आनन्दित बनाउने सुसमाचार तिमीहरूलाई सुनाउँदैछु। किनकि दाऊदको सहरमा आज तिमीहरूको उद्धारक, ख्रीष्ट प्रभुको जन्म भएको छ। अनि तिमीहरूले उहाँलाई यसरी चिन्नेछौ: तिमीहरूले एउटा शिशुलाई कपडाले बेरेको र डुँडमा राखेको भेट्टाउनेछौ।” तब एक्कासि अझ अरू धेरै स्वर्गदूत देखा पर्छन् र यसरी स्तुति गाउँछन्: “स्वर्गमा परमेश्वरको महिमा होस् अनि पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”
स्वर्गदूतहरू त्यहाँबाट गएपछि गोठालाहरू आपसमा यसो भन्छन्: “आओ, हामी तुरुन्तै बेतलेहेम जाऔं अनि यहोवाले हामीलाई भन्नुभएबमोजिम त्यहाँ के-के भएछ, गएर हेरौं।” तिनीहरू हतारिंदै जान्छन् र स्वर्गदूतले भनेकै ठाउँमा येशूलाई भेट्टाउँछन्। स्वर्गदूतले भनेका कुराहरू गोठालाहरूले सुनाउँदा सबै सुन्नेहरू आश्चर्य मान्छन्। मरियमले यी सबै कुरालाई मनमा साँचेर राख्छिन्।
येशूको जन्म २५ डिसेम्बरमा भएको हो भनेर आज धेरै मानिसहरू विश्वास गर्छन्। तर बेतलेहेममा डिसेम्बर महिनामा वर्षा र जाडोको मौसम हुन्छ। त्यस्तो समयमा गोठालाहरू आफ्ना बगालहरूका साथ बाहिर चौरमा बसिरहेका हुन सक्दैनन्। साथै, रोमी सम्राटले त्यसै त विद्रोह गर्न तम्सिएका त्यहाँका मानिसहरूलाई त्यस्तो जाडोको मौसममा जन्म-दर्ता गर्नका लागि यात्रा गर्ने आदेश दिने सम्भावना देखिंदैन। स्पष्टतया येशूको जन्म शरद् ऋतुको सुरुतिर भएको हो। लूका २:१-२०; मीका ५:२.
▪ यूसुफ र मरियम बेतलेहेमको यात्रा किन गर्छन्?
▪ येशू जन्मनुभएको राती के चमत्कारपूर्ण कुरा हुन्छ?
▪ येशू डिसेम्बर २५ मा जन्मिनुभएको होइन भनेर हामी कसरी बुझ्छौं?