सिलास—प्रोत्साहनका स्रोत
मसीही इतिहासको थालनीदेखि नै परमेश्वरका जनका मण्डलीहरूलाई प्रोत्साहित गर्ने अनि संसारको कुनाकाप्चासम्म सुसमाचार पुराउने काममा विश्वासी परिभ्रमण निरीक्षकहरूको महत्त्वपूर्ण भूमिका रहिआएको छ। सुरु सुरुमा नियुक्त भएका त्यस्ता निरीक्षकहरूमध्ये सिलास पनि हुन्। तिनी यरूशलेम मण्डलीका अगमवक्ता र नेतृत्व लिनसक्ने सदस्य थिए। प्रचार कार्यको विस्तारमा भएका खास-खास उपलब्धिहरूमा तिनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। युरोपका इलाकातिर सुरुमा प्रचार गर्ने मिसनरीहरूमा तिनको पनि नाम आउँछ। सिलासलाई यी सबै कुरामा योग्य बनाउने खास कुरा के हो? अनि उनको व्यक्तित्वको कुनचाहिं पक्ष हामीले नक्कल गर्नु बेस हुन्छ?
खतनासम्बन्धी विवाद
सा.यु. ४९ तिर, खतनाको विषयलाई लिएर चर्को मतभेद हुँदा यसलाई सुल्झाउन यरूशलेमको परिचालक निकायले स्पष्ट निर्देशन सबै मसीहीहरूकहाँ पुऱ्याउनु जरुरी भयो। त्यसै सिलसिलामा सिल्भानस भन्ने नाउँले पनि चिनिने सिलास बाइबलको इतिहासमा देखापर्छन्। “प्रेरितहरू, र धर्मगुरुहरू[को]” निर्णय “एन्टिओक, सिरिया र सिलिसियामा रहने . . . भाइहरूलाई” सुनाउन सन्देशवाहकको रूपमा छानिएका सिलास, निर्णायक मण्डलीका सदस्य पनि थिए होलान्। एन्टिओकमा पुग्दा, बर्णाबास र पावलका साथमा सिलास र यहूदा (बर्साबास) थिए। आफूले ल्याएको पत्रमा भएको जरुरी सन्देशका साथसाथै यरूशलेमको सभामा भएका कुराहरू र निर्णयबारे तिनीहरूले त्यहाँ बेलिबिस्तार लगाए। तिनीहरूले “भाइहरूलाई धेरै वचनहरूले अर्ती दिएर स्थिर” गराउने काम पनि गरे। त्यसबाट भएको राम्रो परिमाण चाहिं के हो भने एन्टिओकका मसीहीहरू “खुशी भए।”—प्रेरित १५:१-३२.
यसरी, उक्त मूलभूत विवाद सुल्झाउने काममा सिलासले महत्त्वपूर्ण भूमिका खेले। तर उनको काम त्यति सजिलो भने थिएन। किनभने, निर्णय गरिएको कुरामा एन्टिओक मण्डलीले कस्तो प्रतिक्रिया देखाउने हो, यसै भन्न सकिंदैनथ्यो। त्यसैले, एक टिप्पणीकारको विचारमा “त्यस कामको लागि अति बुद्धिमान् र प्रेरितहरूको चिठीमा भएका कुरा कौशलतासाथ बयान गर्नसक्ने व्यक्ति चाहिन्थ्यो।” यस गम्भीर कामका लागि सिलास छानिनुले उनी लरतरो मानिस चाहिं पक्कै थिएनन् भन्ने कुरा हामी बुझ्छौं। त्यसैले, परिचालक निकायको प्रतिनिधित्व गर्न तिनमा पूरा भर पर्न सकिन्थ्यो। मण्डलीमा फैलिएको विवादलाई साम्य पार्ने खूबी भएकोले उनी पक्कै बुद्धिमान् निरीक्षक पनि थिए।
पावलसित परिभ्रमण गरे
उक्त काम सिद्धिएपछि सिलास यरूशलेम फर्किए कि फर्किएनन्, यसै भन्न सकिंदैन। जे सुकै भए पनि, मर्कूस भन्ने यूहन्नाको सम्बन्धमा पावल र बर्णाबासको मतभेद भएपछि पावलले नयाँ भ्रमणमा जान त्यस बखत एन्टिओकमा भएका सिलासलाई रोजे। पहिला, तिनीहरू पावलले पहिलो मिसनरी यात्राको क्रममा गएका शहरहरूमा पुनःभेट गर्न जानेथिए।—प्रेरित १५:३६-४१.
सिलासको अन्य जातिहरूकहाँ जाने सकारात्मक मनोवृत्ति, तिनी अगमवक्ता हुनु अनि सिरिया र सिलिसियाका विश्वासीहरूकहाँ परिचालक निकायको निर्णय पुऱ्याउने प्रवक्ता हुनु नै तिनी छानिनुका कारण हुनसक्छन्। त्यसको परिणाम साह्रै राम्रो भयो। त्यसबारे प्रेरितको पुस्तक यसरी वर्णन गर्छ: “अब तिनीहरू शहर शहरका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र धर्म-गुरुहरूबाट तोकिएका विधिहरूको प्रतिपालन गर्नू भनी तिनीहरूलाई बताए। यसरी मण्डलीहरू विश्वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढ़दै गए।”—प्रेरित १६:४, ५.
ती मिसनरीहरू यात्रा गर्दै जाँदा पवित्र आत्माले दुई पटक तिनीहरूलाई अन्तैतिर मोडिदिनुभयो। (प्रेरित १६:६, ७) लिस्त्रामा पुगेपछि कुनै स्पष्ट “पूर्वसूचना” नपाई तिनीहरूको टोलीमा तिमोथी पनि थपिए। (१ तिमोथी १:१८; ४:१४) पछि, भविष्यबाणी गर्नसक्ने वरदान पाएका पावललाई एउटा दर्शन मार्फत उक्त परिभ्रमण दललाई युरोपको म्यासिडोनियातिर जाने निर्देशन मिल्यो।—प्रेरित १६:९, १०.
कुटियो अनि झ्यालखानमा हालियो
“त्यस भागको मुख्य शहर” फिलिप्पीमा, सिलासले कहिल्यै नबिर्सिने कडा परीक्षा सामना गर्नुपऱ्यो। जोखाना हेर्ने एउटी केटीबाट पावलले प्रेतात्मा धपाइदिएको हुँदा त्यस केटीका मालिकले चाल पाएपछि आफ्नो आम्दानीको स्रोत हरण भयो। त्यसकारण, तिनीहरूले पावल र सिलासलाई घिसार्दै शहरका हाकिमहरूकहाँ लगे। त्यसो गर्दा, आमजनताका अगाडि तिनीहरू अपराधी सरह बदनाम भए। तिनीहरूका लुगा च्यातेर फालियो अनि बजारमा खुलेआम लठ्टीले पिटियो।—प्रेरित १६:१२, १६-२२.
पावल र सिलासले खाएका त्यो कुटाइ मानिसहरूले सहिनसक्नुको सजाय मात्र नभई गैरकानुनी पनि थियो। किन? रोमी कानुनअनुसार कुनै पनि रोमी नागरिकलाई कुट्न पाइँदैनथ्यो। पावलसँग रोमी नागरिकता थियो अनि सिलाससित पनि थियो। “निकै छड़ी” लगाइसकेपछि पावल र सिलासलाई झ्यालखानमा हालियो। त्यहाँ तिनीहरूका खुट्टामा ठिंगुरो ठोकेर राखियो। गुस्ताभ सटलिनले बयान गरेअनुसार, त्यस्तो “सास्ती दिने उपकरणमा कैदीहरू सुत्नै नमिल्ने गरी तिनीहरूका खुट्टा सकेसम्म फट्याएर हाल्न सकिन्थ्यो।” दर्दनाक चोटहरूले तिनीहरूको ढाड साह्रै दुखिरहेको भए तापनि “आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए।”—प्रेरित १६:२३-२५.
यस विवरणले सिलासको व्यक्तित्वबारे हामीलाई थप जानकारी दिन्छ। येशूको नाउँको खातिर तिनीहरूले दुःख भोगेकाले उनी रमाइरहेका थिए। (मत्ती ५:११, १२; २४:९) उनको यो मनोवृत्ति यसअघि एन्टिओक जाँदाखेरिको जस्तै थियो। त्यतिखेर पनि सिलास र तिनका सहयात्रीहरूले मण्डलीलाई प्रोत्साहित र बलियो पार्न त्यस्तो मनोवृत्ति प्रभावकारी भएको थियो। त्यसो गर्दा सँगी मसीहीहरू आनन्दित भएका थिए। तिनीहरू झ्यालखानबाट चमत्कारी ढंगमा छुट्न पाउँदा र आत्महत्या गर्न तम्सने झ्यालखानका हाकिम अनि तिनका परिवारलाई परमेश्वरमा विश्वास गर्न सहयोग गर्न सकेकोमा पावल र सिलास अझ आनन्दित भएका हुनुपर्छ।—प्रेरित १६:२६-३४.
कुटाइ र झ्यालखानको यातना खाएर पावल तर्सिएनन्, न ता सिलास नै तर्सिए। तिनीहरूलाई छोडिदिनू भन्ने आदेश पठाउँदा, शहरका हाकिमहरूले सोचेजस्तो फिलिप्पी छोडेर त्यसै लुरुलुरु जान तिनीहरू मानेनन्। तिनीहरूले अड्डी लिएर ती घमण्डी अनि मनमानी गर्ने अधिकृतहरूलाई नै अप्ठ्यारोमा पारिदिए। पावलले यसरी सवाल गरे, “तिनीहरूले, हामी रोमी नागरिकलाई दोषी नठहराईकन खुल्लमखुल्ला पिटे, र झ्यालखानमा पनि हाले, र अब हामीलाई सुटुक्क निकाल्नखोज्छन्? हामी जाँदै जान्नौं। तिनीहरू आफै आऊन् र हामीलाई निकासेर लैजाऊन्।” त्यस कुराले थर्कमान भएका हाकिमहरू आफै गएर ती दुईलाई शहर छोडेर जाने बिन्ती गर्न बाध्य भए।—प्रेरित १६:३५-३९.
अख्तियारवालाहरूसामु रोमी नागरिकको हैसियतमा आफ्नो हक दर्साएपछि मात्र पावल र सिलासले हाकिमहरूको अनुरोध स्वीकारे। तर पनि आफ्ना भाइबन्धुहरूसँग भेटघाट गरिवरी मात्र त्यस शहर छोडे। प्रचार अभियानको दौडान सबै ठाउँमा जस्तै त्यहाँ पनि सिलास र तिनका साथीहरूले फेरि एक पटक भाइहरूलाई “सान्त्वना” दिए अनि विदा भए।—प्रेरित १६:४०.
मेसिडोनियादेखि बेबिलोनसम्म
विचलित हुनसक्ने प्रकारका नकारात्मक अनुभवहरूका बावजूद पावल, सिलास र तिनका सँगीहरू आफ्नो नयाँ मिसनरी क्षेत्रमा लागिहाले। थिस्सलोनीकामा पनि तिनीहरू अप्ठ्यारोमा परे। तीन विश्राम दिनका दौडान पावलले सेवकाईमा पाएका सफलता देखेर डाढे विरोधीहरूले हूलदंगा मच्चाए। त्यसकारण, मिसनरीहरूले रातारात त्यस शहर छोडेर जानु नै बुद्धिमानी हुनगयो। त्यसैले, तिनीहरू बिरियातर्फ लागे। पावल र तिनका साथीहरूले त्यस शहरमा गरेका कामहरूका विषयमा सुनेर विरोधीहरू थिस्सलोनीकाबाट त्यहीं आइपुगे। यस पटक सिलास र तिमोथी नवजिज्ञासुहरूलाई मदत गर्न बिरियामै बसे। पावल मात्र त्यहाँबाट गए। (प्रेरित १७:१-१५) सिलास र तिमोथीले कोरिन्थदेखि फेरि पावलको साथ दिए। त्यतिखेर तिनीहरूले म्यासिडोनियाबाट राम्रा-राम्रा खबरहरू र विश्वासी मित्रहरूबाट सायद उपहारहरू पनि साथै ल्याएका थिए। त्यसले गर्दा, भौतिक तवरमा बिपन्न प्रेरित त्यतिखेर गरिरहेको पैसा कमाउने काम छोडेर फेरि पूर्णसमय प्रचारमा सक्रियतासाथ लाग्न सकेका हुनुपर्छ। (प्रेरित १८:१-५; २ कोरिन्थी ११:९) कोरिन्थमा छँदा सिलास र तिमोथीलाई पनि प्रचारक र पावलका सहचरहरूका रूपमा उल्लेख गरिएको छ। त्यसकारण, त्यस शहरमा पनि तिनीहरूले आफ्नो क्रियाकलापमा कमी आउन दिएनन् भन्ने कुराको पुष्टि मिल्छ।—२ कोरिन्थी १:१९.
कोरिन्थमा बसेर थिस्सलोनिकीहरूलाई लेखिएका दुवै पत्रहरूमा “हामी” भन्ने सर्वनाम प्रयोग गरिनुले सिलास र तिमोथीले पनि पत्र लेख्नमा सहयोग पुऱ्याएका थिए भन्ने बुझिन्छ। लेखन कार्यमा सिलास संलग्न थिए होलान् भन्ने अनुमान खास गरेर पत्रुसले आफ्नो पत्रमा भनेका कुरामा आधारित छ। उनले आफ्नो पहिलो पत्र बेबिलोनबाट “विश्वासयोग्य भाइ, . . . सिल्वानस” मार्फत लेखाएँ भनेका छन्। (१ पत्रुस ५:१२, १३) सिल्वानसलाई वाहक मात्र भन्न खोजिएको पनि हुनसक्ने भए तापनि पत्रुसका दुई पत्रबीचको भिन्नतालाई विचार गर्ने हो भने उनले दोस्रो होइन, पहिलो पत्र मात्र लेखाउन सिलासलाई लेखन्दास बनाएको कुरा संकेत गर्नसक्छ। यसरी, सिलासका विविध प्रतिभा र उनले पाएका ईश्वरतान्त्रिक सुअवसरमा सायद सचिवको काम पनि परेको हुनुपर्छ।
पछ्याउन लायकको उदाहरण
हामीलाई थाह भएसम्मका सिलासले गरेजति कामबारे विचार गर्ने हो भने उनको रेकर्ड प्रभावशाली छ। आधुनिक समयका मिसनरी र परिभ्रमण निरीक्षकहरूका लागि उनी उत्कृष्ट उदाहरण हुन्। आफ्नो जिउ-ज्यानको पर्वाह नगरी अनि भौतिक सम्पत्ति अथवा इज्जत कमाउने उद्देश्यले नभई अरूलाई मदत गर्न निःस्वार्थ भावसहित तिनले थुप्रै यात्रा गरे। बुद्धिमान् अनि कुशल सल्लाहहरू, तयारी गरिएका प्रोत्साहनजनक भाषणहरू र क्षेत्र सेवकाईप्रतिको जोसले मानिसहरूलाई प्रोत्साहित गर्नु नै तिनको उद्देश्य थियो। यहोवाका संगठित मानिसहरू माझ आफ्नो जस्तोसुकै भूमिका भए पनि आपत्-विपद्का बावजूद सिलासजस्तै सकारात्मक हुने प्रयत्न गर्नुभयो भने तपाईं पनि तिनीजस्तै आफ्ना सँगी विश्वासीहरूका लागि प्रोत्साहनको स्रोत हुनुहुनेछ।
[पृष्ठ २९-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
पावलको दोस्रो मिसनरी यात्रा
महासागर
एन्टिओक
डर्बी
लिस्त्रा
आइकोनियम
त्रोआस
फिलिप्पी
अम्फिपोलिस
थिस्सलोनिका
बिरिया
एथेन्स
कोरिन्थ
एफिसस
यरूशलेम
सिजरिया
[स्रोत]
Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.