तपाईंको सोचाइ कसबाट प्रभावित छ?
“मलाई कसैले सिकाउनु पर्दैन! मलाई जे मन लाग्यो त्यही गर्छु!” यस्तो जोडदारसाथ भन्नुको अर्थ साधारणतया आफू र आफ्ना निर्णयहरूमाथि तपाईं पूर्णतया विश्वस्त हुनुहुन्छ भनी देखाउँछ। के तपाईंलाई पनि त्यस्तै लाग्छ? हो, कसैले पनि तपाईंको निम्ति निर्णय गर्नु हुँदैन। तर के कुनै पनि सल्लाहलाई सीधै अस्वीकार गर्नु बुद्धिमानी हुनेछ? किनभने ती असल पनि हुनसक्छन्। के कसैले पनि तपाईंलाई कहिल्यै बुद्धिमानी निर्णय गर्न मदत गर्न सक्दैन? अनि के तपाईंको सोचाइ चालै नपाई कसैबाट प्रभावित छैन भनेर पनि ठोकुवा गर्न सक्नुहुन्छ?
उदाहरणका लागि, दोस्रो विश्वयुद्धअघि हिटलरका प्रचारप्रसार मन्त्री योजेफ गोबेलले जर्मनीको चलचित्र उद्योग आफ्नो नियन्त्रणमा राखे। किन? किनभने तिनले यो “मानिसहरूको विश्वास र फलतः आचरणलाई” प्रभाव पार्ने अत्यन्तै शक्तिशाली माध्यमको रूपमा देखे। (प्रचारप्रसार तथा जर्मन चलचित्र १९३३-१९४५) सरल तथा विवेकी जनसाधारणलाई विचारै नगरी नाजी दर्शनहरूअनुसार चल्न लगाउन तिनले कुन हदसम्म चलचित्र तथा अन्य माध्यमहरू चलाए तपाईंलाई थाहै होला।
कुरा के हो भने, तपाईंको सोचाइ र व्यवहार सधैं तपाईंले कुरा सुन्ने व्यक्तिको विचार तथा भावनाहरूबाट प्रभावित हुन्छ। निस्सन्देह यो खराब होइन। यदि ती व्यक्तिहरू शिक्षक, साथी वा आमाबाबुले जस्तै तपाईंको भलो चाहन्छन् भने तिनीहरूको सरसल्लाहबाट निकै फाइदा उठाउनुहुनेछ। तर ती व्यक्तिहरू आफ्नै भलो मात्र चाहन्छन् र तिनीहरूको विचार भ्रष्ट अर्थात् प्रेरित पावलले भनेझैं “छली” छन् भने सावधान हुनुहोस्!—तीतस १:१०; व्यवस्था १३:६-८.
अतः आत्मसन्तुष्ट नहुनुहोस् र मलाई कसैले प्रभाव पार्न सक्दैन भन्ने नसोच्नुहोस्। (१ कोरिन्थी १०:१२ तुलना गर्नुहोस्।) सायद, तपाईंले स्वीकार्न नचाँहदा नचाँहदै पनि तपाईं चालै नपाई कसैबाट प्रभावित भइसक्नुभएको हुनसक्छ। बजार जाँदा कुन चीज किन्ने भनी निर्णय गर्नेजस्तो साधारण कुरालाई नै उदाहरणस्वरूप लिनुहोस्। के त्यो सधैं व्यक्तिगत तथा व्यवहारिक निर्णय हुन्छ? वा चालै नपाई तर प्रभावकारी ढंगमा तपाईंको छनौटमा प्रभाव पारिरहेको छ? अनुसन्धनात्मक पत्रकार एरिक क्लार्कको विचारमा प्रभाव पारिरहेको हुन्छ। तिनी भन्छन्, “हामीसामु तीन थुप्रो विज्ञापनहरू हुँदा हामी सबलाई त्यति ध्यान दिदैनौं तैपनि हामी झन् धेरै प्रभावित भइरहेका हुन्छौं।” मानिसहरूलाई विज्ञापनहरू कत्तिको प्रभावकारी छन् भनी प्रश्न गर्दा विज्ञापनले “आफूलाई त होइन तर अरूलाई प्रभाव परिरहेको छ” भन्छन् भनी तिनी लेख्छन्। मानिसहरू आफूबाहेक अरू सबै कमजोर छन् भन्ठान्छन्। “आफू मात्र सबै कुराबाट सुरक्षित ठान्छन्।”—द वन्ट मेकर्स्
शैतानको चालमा चल्दै हुनुहुन्छ?
तपाईं दिनहुँ विज्ञापनबाट प्रभावित हुनु भए तापनि नतिजा त्यति गम्भीर नहुनसक्छ। तथापि, अर्को प्रकारको एउटा प्रभाव छ र त्यो धेरै खतरनाक छ। बाइबलमा शैतानले सारा संसारलाई ठग्छ भनी प्रस्टै देखाइएको छ। (प्रकाश १२:९) त्यसको तौरतरिका मुख्यतः एक विज्ञापन एजेन्टको जस्तै छ जसले मानिसहरूलाई प्रभाव पार्ने दुइटा तरिका अपनाउँछ, ती हुन् “लोभ्याएर वा फकाएर।” प्रचारप्रसार तथा विज्ञापन गर्ने व्यक्तिहरूले त त्यस्तो चलाखीपूर्ण ढंगमा तपाईंको सोचाइलाई प्रभाव पार्नसक्छन् भने शैतान तिनीहरूभन्दा अझ कति सीपालु होला!—यूहन्ना ८:४४.
यो कुरा प्रेरित पावललाई थाह थियो। आफ्ना केही सँगी मसीहीहरू त्यति होसियार नहोलान् र शैतानको छलको शिकार होला भन्ने तिनलाई डर थियो। तिनले लेखे: “जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी ख्रीष्टतर्फका तिमीहरूका सीधापना र पवित्रताबाट तिमीहरूका विचारहरू भ्रष्ट होलान् कि भन्ने मलाई डर लागेको छ।” (२ कोरिन्थी ११:३) त्यस चेताउनीलाई गम्भीरता साथ लिनुहोस्। नत्र तपाईं पनि ती व्यक्तिहरूजस्तै हुनुहुनेछ जसले “आफूबाहेक” अरू सबैलाई प्रभाव पार्छ भन्ने सोचाइ राख्छन्। शैतानी प्रचारप्रसारले काम गर्छ भन्ने प्रमाण हामी स्पष्टसित आफू वरपरको क्रूरता, दुराचार र कपटीपनमा देख्छौं।
अतः पावलले आफ्ना सँगी मसीहीहरूलाई “यस संसारसित एकै चालका नहोओ” भनी बिन्ती गरे। (रोमी १२:२) एक बाइबल अनुवादकले पावलका शब्दहरूलाई यसरी शब्दान्तर गरे: “तपाईं वरपरको संसारले तपाईंलाई प्रभाव नपारोस्।” (रोमी १२:२, फिलिप्स्) पुरातन समयको कुमालेले आफ्नो इच्छाअनुसारको भाँडोमा माटो हालेर आफूलाई मनपर्ने बुट्टा तथा आकार निकाले जस्तै शैतानले पनि तपाईंलाई हर हालतमा आफ्नो वशमा पार्न खोज्छ। त्यसो गर्न शैतानको हातमा यस संसारको राजनीति, वाणिज्य, धर्म र मनोरञ्जन छ। त्यसको प्रभाव कत्तिको व्याप्त छ? प्रेरित यूहन्नाको दिनमा जस्तै आज पनि त्यतिकै व्याप्त छ। यूहन्नाले भने: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९; २ कोरिन्थी ४:४ पनि हेर्नुहोस्।) मानिसहरूलाई फकाउने र तिनीहरूको मनलाई भ्रष्ट पार्ने शैतानको क्षमतामाथि तपाईंलाई शंका लाग्छ भने शैतानले परमेश्वरप्रति समर्पित एउटा सम्पूर्ण राष्ट्रलाई कसरी प्रभावकारी ढंगमा फकायो विचार गर्नुहोस्। (१ कोरिन्थी १०:६-१२) के तपाईंलाई पनि त्यस्तै हुनसक्छ? फकाइफुस्लाई प्रभाव पार्ने शैतानको तरिकादेखि होसियार हुनुभएन भने हुनसक्छ।
के भइरहेको छ थाह पाउनुहोस्
साधारणतया, त्यस्ता छली विचारहरूले तब मात्र तपाईंलाई प्रभाव पार्छ जब तपाईंले मौका दिनुहुन्छ। चालै नपाई फकाउन खोज्नेहरू नामक पुस्तकमा भान्स पाकर्डले यस्तो भने: “[चालै नपाई] फकाउन खोज्नेहरू विरुद्ध हामीसित अझै बलियो प्रतिरक्षा छ: हामी फकिनदेखि बच्ने। साधारणतया सबै परिस्थितिमा हामीसित छनौट छ र हामी वरपर के भइरहेको छ जान्यौं भने त्यस्तो नराम्रोसित ठगिन सकिंदैन।” गलत प्रचारप्रसार तथा छलबारे पनि त्यसै भन्नसक्छौं।
निस्सन्देह, “के भइरहेको छ” थाह पाउन तपाईं खुला मनको हुनुका साथै असल प्रभावहरूप्रति ग्रहणशील हुनुपर्छ। स्वस्थ शरीरलाई पौष्टिक आहार चाहिएजस्तै स्वस्थ मन पनि सुचारु रूपले चल्न पौष्टिक आहार चाहिन्छ। (हितोपदेश ५:१, २) जानकारीको कमी हुनु गलत जानकारी पाउनु जत्तिकै खतरनाक हुनसक्छ। हो, तपाईंले भ्रमात्मक विचार तथा दर्शनहरूबाट आफ्नो मनलाई सुरक्षित राख्नुपर्छ तर तपाईंलाई दिइने सबै सल्लाह तथा जानकारीप्रति खराब र अशिष्ट भाव राख्नु हुँदैन।—१ यूहन्ना ४:१.
इमानदार सल्लाहहरू छलपूर्ण प्रचारप्रसारहरूजस्ता हुँदैनन्। प्रेरित पावलले जवान तिमोथीलाई “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जाने[हरू]” विरुद्ध सतर्क हुन चेताउनी दिए। तर पावलले यसो पनि भने: “तर तिमी चाहिं, यो कसबाट सिकेका हौ, सो जानेर आफूले सिकेका र निश्चय भएका कुराहरूमा लागिरह।” (२ तिमोथी ३:१३, १४) तपाईंले सुन्नुहुने सबै कुराले केही हदसम्म प्रभाव पार्ने भएकोले ‘कसबाट सिक्नुभएको हो’ थाह पाउनु महत्त्वपूर्ण छ किनभने ती व्यक्तिहरू आफ्नो होइन तर तपाईंको भलो चाहनेहरू हुनुपर्छ।
छनौट तपाईंकै हो। यस संसारको दर्शन तथा मूल्यमान्यताहरूद्वारा प्रभावित भई “यस संसारसित एकै चालका” हुने छनौट पनि गर्न सक्नुहुन्छ। (रोमी १२:२) तर यस संसारले तपाईंको भलो चाहँदैन। अतः पावल यस्तो चेताउनी दिन्छन्, “होशियार बस, नत्रता कसैले . . . मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।” (कलस्सी २:८) शैतानको चालमा चल्न वा तिनको शिकार सजिलै बन्न सकिन्छ। यो आफूले धूम्रपान नगरे तापनि आफूसँगै बस्ने धूम्रपान गर्ने व्यक्तिको धूँवाबाट प्रभावित हुनुजस्तै हो। त्यस प्रदूषित हावामा सास फेर्दा मात्र पनि तपाईंलाई नराम्रो प्रभाव पार्छ।
तर तपाईं त्यस “हावाबाट” टाढै बस्न पनि सक्नुहुन्छ। (एफिसी २:२) त्यसको सट्टा पावलको सल्लाह सुन्नुहोस् जसले यसो भने: “तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) यसको निम्ति निश्चय पनि प्रयास गर्नुपर्छ। (हितोपदेश २:१-५) स्मरण रहोस्, यहोवा कुनै छलछाम गर्ने खराब व्यक्ति हुनुहुन्न। उहाँले सबै आवश्यक जानकारीहरू उपलब्ध गर्नुहुन्छ तर त्यसबाट लाभ उठाउन तपाईंले यो सुन्नुपर्छ र तपाईंको सोचाइलाई प्रभावित हुन दिनुपर्छ। (यशैया ३०:२०, २१; १ थिस्सलोनिकी २:१३) “पवित्र लेखोटहरू” अर्थात् परमेश्वरको प्रेरित वचन बाइबलमा भएको सत्यले तपाईंको मनलाई प्रभाव पार्न दिन तपाईं इच्छुक हुनुपर्छ।—२ तिमोथी ३:१५-१७.
यहोवाले जस्तो चाहनुहुन्छ त्यस्तै गर्नुहोस्
यहोवाको प्रभावकारी तौरतरिकाहरूबाट लाभान्वित हुन तपाईं इच्छुक तथा आज्ञाकारी हुनुपर्छ भन्ने कुरा यहोवाले अगमवक्ता यर्मियालाई कुमालेकहाँ पठाउनुहुँदाको घटनाबाट सुस्पष्ट हुन्छ। बनाइरहेको माटोको भाँड़ा “कुमालेको हातमा” बिग्रिएपछि कुमालेले आफ्नो मन परिवर्तन गरेको यर्मियाले देखे। त्यसपछि यहोवाले यस्तो भन्नुभयो: “हे इस्राएलको घराना, यस कुमालेले गरेझैं के म तँलाई पनि गर्नसक्तिनँ र? . . . हे इस्राएलको घराना, कुमालेको हातमा माटो भएझैं तँ पनि मेरो हातमा त्यस्तै छस्।” (यर्मिया १८:१-६) के त्यसोभए इस्राएलीहरू निर्जीव माटोका डल्लाहरू जस्तो मात्र थिए त जसलाई यहोवाले आफूलाई जस्तो मन लाग्यो त्यस्तै आकारमा ढाल्नुहुन्थ्यो?
यहोवाले कहिल्यै आफ्नो शक्ति मानिसहरूलाई जबरजस्ती तिनीहरूको इच्छा विरुद्ध गर्न चलाउनु हुन्न नता उहाँले कुमालेजस्तै त्रुटिपूर्ण कुराहरू नै उत्पादन गर्नुहुन्छ। (व्यवस्था ३२:४) यहोवाले सकारात्मक ढंगमा मानिसहरूलाई आफ्नो सोचाइअनुसार ढाल्न खोज्दा प्रतिरोध गर्दा खोटहरू विकास हुन्छ। तपाईं र निर्जीव माटोको डल्लोबीचको ठूलो भिन्नता नै त्यही हो। तपाईंले आफ्नो इच्छाअनुसार छनौट गर्न सक्नुहुन्छ। यो चलाएर तपाईंले परमेश्वरको सोचाइद्वारा प्रभावित हुने या जानाजानी इन्कार गर्ने निर्णय गर्न सक्नुहुन्छ।
कस्तो विचारणीय पाठ! हठीपूर्वक “मलाई कसैले सिकाउनु पर्दैन!” भन्नुको साटो यहोवाको आवाज सुन्नु कत्ति असल हो! हामी सबैलाई यहोवाको प्रभावकारी डोऱ्याइ चाहिन्छ। (यूहन्ना १७:३) भजनरचयिता दाऊद जस्तो हुनुहोस्। तिनले यसो भने: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्।” (भजन २५:४) राजा सुलेमानले भनेका कुरा पनि मनमा राख्नुहोस्, “बुद्धिमान मानिसले यो ध्यानसित सुन्यो भने आफ्नो विद्या बढ़ाउनेछ।” (हितोपदेश १:५) के तपाईंले सुन्नुहुनेछ? सुन्नुभयो भने ‘विवेकले तपाईंमाथि हेरचाह गर्नेछ, समझ-शक्तिले तपाईंको रक्षा गर्नेछ।’—हितोपदेश २:११.