प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जून pp. ६-१०
  • महान्‌ कुमाले यहोवाको कदर गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महान्‌ कुमाले यहोवाको कदर गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफूले आकार दिन चाहेका मानिसहरूलाई यहोवा कसरी छान्‍नुहुन्छ?
  • यहोवाले आफ्ना मानिसहरूलाई किन आकार दिनुहुन्छ?
  • यहोवाले हामीलाई कसरी आकार दिनुहुन्छ?
  • यहोवाको अनुशासनले आकार दिंदा त्यसलाई स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • महान्‌ कुमाले अनि उहाँको काम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • यहोवाले तपाईंको सोचाइ र आचरणलाई आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • के तपाईं महान्‌ कुमाले यहोवाबाट आकार पाउन तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जून pp. ६-१०
माटो तयार पार्दै गरेका कुमाले

महान्‌ कुमाले यहोवाको कदर गर्नुहोस्‌

“हे परमप्रभु, . . . तपाईंचाहिं कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।”—यशै. ६४:८.

गीत: ८९, २६

निम्न कुराहरू बुझ्दा हामीलाई कस्तो आध्यात्मिक लाभ हुन्छ:

  • आफूले आकार दिने मानिसहरूलाई यहोवाले कसरी छान्‍नुहुन्छ?

  • यहोवाले आफ्ना मानिसहरूलाई किन आकार दिनुहुन्छ?

  • आफ्नो अधीनमा बस्नेहरूलाई यहोवाले कसरी आकार दिनुहुन्छ?

१. यहोवालाई किन महान्‌ कुमाले भन्‍न सकिन्छ?

सन्‌ २०१०, नोभेम्बर महिनाको कुरा हो, लन्डनमा अठारौं शताब्दीको एउटा चाइनिज सेरामिक भाँडोको लागि लगभग ७ करोड मूल्य तोकियो। हो, कुमालेले माटोजस्तो सामान्य कुरालाई पनि सुन्दर अनि बहुमूल्य कलाकृतिमा परिणत गर्न सक्छ। तर कुनै पनि मानव कुमालेलाई यहोवा परमेश्‍वरसित तुलना गर्न सकिंदैन। किनभने उहाँले सृष्टिको छैटौं दिनको अन्तमा “भूमिको माटोबाट” त्रुटिरहित पुरुष बनाउनुभयो र उसमा सृष्टिकर्ताको गुणहरू झल्काउने क्षमता पनि राखिदिनुभयो। (उत्प. २:७) त्यसैले भूमिबाट बनाइएको त्रुटिरहित त्यस मानिस अर्थात्‌ आदमलाई “परमेश्‍वरका छोरा” भन्‍नु एकदमै उपयुक्‍त थियो।—लूका ३:३८.

२, ३. हामी पश्‍चात्तापी इस्राएलीहरूले देखाएको मनोवृत्ति कसरी अनुकरण गर्न सक्छौं?

२ दुःखको कुरा, परमेश्‍वरको विद्रोह गरेपछि आदमले उहाँको छोरा हुने सुअवसर गुमाए। तर आदमकै सन्तानहरूको “बाक्लो बादल”-ले शताब्दियौंको दौडान परमेश्‍वरको शासन गर्ने अधिकारलाई समर्थन गरेका छन्‌। (हिब्रू १२:१) नम्र हुँदै आफ्नो सृष्टिकर्ताको अधीनमा बसेर तिनीहरूले सैतानलाई होइन तर यहोवालाई आफ्नो बुबा अनि कुमाले बनाउन चाहेको कुरा देखाएका छन्‌। (यूह. ८:४४) तिनीहरूले देखाएको वफादारीले हामीलाई पश्‍चात्तापी इस्राएलीहरूबारे यशैयाले भनेको यो कुरा सम्झना गराउँछ: “हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटा मात्र हौं र तपाईंचाहिं कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।”—यशै. ६४:८.

३ अहिले पनि, पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम यहोवाको सेवा गर्ने सबैले यस्तै नम्र मनोवृत्ति अर्थात्‌ अधीनमा बस्ने मनोवृत्ति देखाउने प्रयास गरेका छन्‌। यहोवालाई आफ्नो बुबा भन्‍न पाउनु र कुमालेको रूपमा उहाँको अधीनमा बस्न पाउनुलाई तिनीहरू ठूलो सम्मानको रूपमा लिन्छन्‌। के त्यसोभए तपाईं उहाँको हातमा भएको नरम माटोजस्तै हुनुहुन्छ अनि उहाँले चाहेको आकारमा ढालिन तयार भाँडोजस्तै हुनुहुन्छ? के तपाईं मण्डलीका दाजुभाइ दिदीबहिनीलाई परमेश्‍वरले आकार दिंदै गरेको तर तयार नभइसकेको भाँडोको रूपमा हेर्नुहुन्छ? आउनुहोस्‌, यी कुराहरू बुझ्न महान्‌ कुमालेको हैसियतमा यहोवाले गर्नुहुने कामको तीन पक्षलाई विचार गरौं: आफूले आकार दिने मानिसहरूलाई उहाँले कसरी छान्‍नुहुन्छ? उहाँ तिनीहरूलाई किन आकार दिनुहुन्छ? अनि कसरी आकार दिनुहुन्छ?

आफूले आकार दिन चाहेका मानिसहरूलाई यहोवा कसरी छान्‍नुहुन्छ?

४. आफूले आकार दिन चाहेका मानिसहरूलाई यहोवा कसरी छान्‍नुहुन्छ? उदाहरण दिनुहोस्‌।

४ यहोवा मानिसको बाहिरी रूप हेर्नुहुन्‍न; तिनीहरूको हृदय अर्थात्‌ भित्री रूप हेर्नुहुन्छ। (१ शमूएल १६:७ख पढ्‌नुहोस्‌) ख्रीष्टियन मण्डली स्थापना गर्नुहुँदा यो कुरा स्पष्ट भयो। मानिसको नजरबाट हेर्दा कामै नलाग्ने जस्तो देखिए तापनि परमेश्‍वरले त्यस्ता मानिसहरूलाई आफू र आफ्नो छोरातर्फ खिच्नुभयो। (यूह. ६:४४) ती मानिसहरूमध्ये एक जना शावल नाम गरेका फरिसी पनि हुन्‌, जो “परमेश्‍वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस” थिए। (१ तिमो. १:१३) तर ‘मन जाँच गर्नुहुने’ परमेश्‍वर यहोवाले शावललाई कामै नलाग्ने माटो ठान्‍नुभएन। (हितो. १७:३) बरु उहाँले तिनलाई आफूले चाहेको आकारमा ढाल्न मिल्ने भाँडोको रूपमा हेर्नुभयो। अझ भन्‍नुपर्दा, तिनी “जाति-जातिका मानिसहरू, राजाहरू अनि इस्राएलका सन्तानहरूलाई” साक्षी दिन ‘रोजिएका पात्र [अर्थात्‌ “भाँडो”]’ थिए। (प्रेषि. ९:१५) त्यतिमात्र होइन, परमेश्‍वरले पियक्कडहरू, अनैतिक जीवन बिताउनेहरू, चोरहरूलाई समेत “आदरणीय प्रयोगको लागि” चलाउन मिल्ने भाँडोको रूपमा हेर्नुभयो। (रोमी ९:२१; १ कोरि. ६:९-११) परमेश्‍वरको वचनको सही ज्ञान लिएर अनि त्यसमा विश्‍वास गरेर तिनीहरू उहाँको हातबाट आकार पाउन राजी भएका थिए।

५, ६. (क) मानिसहरूलाई यहोवाले नै आकार दिनुहुन्छ भन्‍ने कुरा मनमा राख्दा इलाकाका मानिसहरूलाई हेर्ने हाम्रो दृष्टिकोण कसरी फरक हुन्छ? (ख) अनि मण्डलीका दाजुभाइ दिदीबहिनीलाई हेर्ने हाम्रो दृष्टिकोण कसरी फरक हुन्छ?

५ यी कुराहरूबाट हामी के सिक्न सक्छौं? यहोवासित मानिसको हृदय पढ्‌ने अनि आफूले छानेका मानिसहरूलाई आफूतिर खिच्नसक्ने क्षमता छ भनेर विश्‍वास गर्दा ती मानिसहरूप्रति नकारात्मक धारणा नराख्न मदत गर्छ, चाहे तिनीहरू मण्डलीका दाजुभाइ दिदीबहिनी होऊन्‌ वा इलाकामा भेटिने मानिसहरू। माइकल नाम गरेका व्यक्‍तिको उदाहरण विचार गर्नुहोस्‌। तिनी विगतका कुरा सम्झँदै यसो भन्छन्‌: “यहोवाका साक्षीहरू भेट्‌न आउँदा म फनक्क फर्किन्थें अनि तिनीहरूलाई वास्तै गर्दिन थिएँ। म साह्रै खरो स्वभावको थिएँ। पछि एउटा परिवारसित मेरो भेट भयो। त्यस परिवारको असल व्यवहारले गर्दा म तिनीहरूको असाध्यै कदर गर्थें। तर पछि तिनीहरू यहोवाका साक्षी रहेछन्‌ भनेर थाह पाउँदा म त तीनछक परें! तिनीहरूको असल व्यवहारले गर्दा ‘साक्षीहरूलाई किन नराम्रो व्यवहार गरें’ भनेर सोच्न बाध्य भएँ। मान्छेहरूको चाहिने नचाहिने कुरा सुनेर बिनसित्ति तिनीहरूलाई नराम्रो व्यवहार गरेछु भनेर पछि बुझें।” त्यसपछि वास्तविक कुरा थाह पाउन माइकलले बाइबल अध्ययन सुरु गरे। पछि तिनी साक्षी भए अनि पूर्ण-समय सेवामा लागे।

६ यहोवा हाम्रो कुमाले हुनुहुन्छ र उहाँ हामीलाई आकार दिनुहुन्छ भन्‍ने कुरा स्वीकाऱ्‍यौं भने मण्डलीका दाजुभाइ दिदीबहिनीलाई हेर्ने हाम्रो दृष्टिकोण पनि फरक हुन्छ। यहोवा आफ्ना सेवकहरूलाई आकारमा ढालिंदै गरेको तर तयार नभइसकेको भाँडोको रूपमा हेर्नुहुन्छ। के तपाईं पनि मण्डलीका दाजुभाइ दिदीबहिनीलाई त्यस्तै दृष्टिकोणले हेर्नुहुन्छ? हो, यहोवा मानिसको भित्री रूप हेर्न सक्नुहुन्छ र तिनीहरूलाई पछि कस्तो आकार दिन सकिन्छ, त्यो पनि उहाँलाई थाह छ। त्यसैले यहोवा मानिसहरूको क्षणिक कमजोरीलाई नभई तिनीहरूको सकारात्मक कुरामा ध्यान दिनुहुन्छ। (भज. १३०:३) हामी पनि परमेश्‍वरका सेवकहरूको सकारात्मक कुरामा ध्यान दिएर यहोवाको अनुकरण गर्न सक्छौं। वास्तवमा भन्‍ने हो भने, हाम्रा दाजुभाइ दिदीबहिनीहरूले आध्यात्मिक उन्‍नति गर्न प्रयास गर्दा तिनीहरूलाई मदत गर्छौं भने हामीले महान्‌ कुमालेलाई साथ दिइरहेका हुन्छौं। (१ थिस्स. ५:१४, १५) यस सन्दर्भमा “वरदानको रूपमा पुरुषहरू” अर्थात्‌ एल्डरहरूले नेतृत्व लिनुपर्छ।—एफि. ४:८, ११-१३.

यहोवाले आफ्ना मानिसहरूलाई किन आकार दिनुहुन्छ?

७. यहोवाको अनुशासनलाई तपाईं किन अनमोल ठान्‍नुहुन्छ?

७ कसै-कसैले यसो भनेको सुन्‍नुभएको होला: ‘आफूले छोराछोरी जन्माइसकेपछि मात्र आमाबाबुले दिनुभएको अनुशासनको महत्त्व बुझ्न सकें।’ हामी जति-जति अनुभव बटुल्दै जान्छौं, त्यति-त्यति नै अनुशासनलाई यहोवाको दृष्टिकोणले हेर्न सक्छौं अनि यसलाई मायाको अभिव्यक्‍तिको रूपमा लिन सक्छौं। (हिब्रू १२:५, ६, ११ पढ्‌नुहोस्‌) हो, हामीलाई माया गर्ने भएकोले नै यहोवाले धीरजी हुँदै आकार दिनुहुन्छ। उहाँ आफ्ना सन्तान बुद्धिमान्‌ र आनन्दित भएको चाहनुहुन्छ र त्यसबापत हामीले पनि उहाँलाई प्रेम गरेको आशा गर्नुहुन्छ। (हितो. २३:१५) आफ्ना सन्तानले दु:ख पाउँदा उहाँ खुसी हुनुहुन्‍न अनि आदमको पापले गर्दा हामी ‘क्रोधको सन्तानकै’ रूपमा मरेको पनि चाहनुहुन्‍न।—एफि. २:२, ३.

८, ९. यहोवाले अहिले हामीलाई कसरी सिकाउँदै हुनुहुन्छ? भविष्यमा यो कामले कसरी निरन्तरता पाउनेछ?

८ विगतमा ‘क्रोधका सन्तानका’ रूपमा हामीले यहोवालाई मन नपर्ने थुप्रै दुर्गुणहरू देखायौं होला, सायद जङ्‌गली व्यवहार समेत गऱ्‍यौं होला! तैपनि यहोवाले हामीलाई आकार दिनुभएकोले हामी परिवर्तन हुन र भेडाजस्तै (थुमा) सुधो बन्‍न सक्यौं। यसको लागि हामी यहोवाप्रति आभारी छौं। (यशै. ११:६-८; कल. ३:९, १०) यसरी हामी यहोवाबाट आकार लिन तयार भएकोले अहिले एउटा आध्यात्मिक प्रमोदवन बनेको छ। हामी दुष्ट संसारमा बाँच्नु परे तापनि यस आध्यात्मिक प्रमोदवनमा सुरक्षित महसुस गर्छौं। त्यतिमात्र होइन, निष्ठुर अनि विभाजित परिवारमा हुर्केकाहरूले समेत यहाँ साँचो माया पाएका छन्‌। (यूह. १३:३५) अनि हामीले अरूलाई माया गर्न पनि सिकेका छौं। अझ महत्त्वपूर्ण कुरा, हामीले यहोवालाई चिन्‍न सक्यौं र उहाँबाट बुबाको जस्तै माया पायौं।—याकू. ४:८.

९ आध्यात्मिक प्रमोदवनमा अहिले अनुभव गरिरहेको आशिष्‌ नयाँ संसारमा अझ पूर्णरूपमा अनुभव गर्न पाउनेछौं। भविष्यमा यस आध्यात्मिक प्रमोदवनलाई यहोवा परमेश्‍वरले उहाँको राज्यमार्फत साँच्चैको प्रमोदवनमा परिणत गर्नुहुनेछ। त्यतिबेला विश्‍वव्यापी रूपमा पुनर्स्थापनाको काम हुनेछ। आफ्नो शिक्षाद्वारा यहोवाले मानिसहरूलाई कुन हदसम्म परिवर्तन गर्नुहुनेछ, अहिले हामी सोच्न पनि सक्दैनौं। (यशै. ११:९) त्यतिमात्र होइन, उहाँले दिनुहुने शिक्षा पूर्णरूपमा बुझ्न सकोस्‌ र शतप्रतिशत उहाँको इच्छा पूरा गर्न सकोस्‌ भनेर हाम्रो शरीर र दिमागलाई समेत त्रुटिरहित बनाउनुहुनेछ। त्यसैले परमेश्‍वरले दिनुहुने आकारलाई प्रेमको अभिव्यक्‍तिको रूपमा लिएर निरन्तर उहाँको अधीनमा बसिरहौं।—हितो. ३:११, १२.

यहोवाले हामीलाई कसरी आकार दिनुहुन्छ?

१०. येशूले महान्‌ कुमाले यहोवाको व्यक्‍तित्व कसरी प्रकट गर्नुभयो?

१० सिपालु कुमालेले जस्तै यहोवाले पनि ‘माटोको’ किसिम र गुणस्तर हेरेर त्यसैअनुसार आकार दिनुहुन्छ। (भजन १०३:१०-१४ पढ्‌नुहोस्‌) हो, उहाँले हामीलाई व्यक्‍तिगत रूपमा ध्यान दिनुहुन्छ। हाम्रो कुनै खास कमजोरी, सीमितता र आध्यात्मिक अवस्थालाई विचार गरेर व्यवहार गर्नुहुन्छ। त्रुटिपूर्ण सेवकहरूसित उहाँले कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा उहाँको छोराले बसालेको उदाहरणबाट देखियो। उदाहरणका लागि, प्रेषितहरूले आपसमा हामीमध्ये को ठूलो भनी विवाद गर्दा तिनीहरूको कमजोरी प्रकट भयो। त्यतिबेला येशूले कस्तो व्यवहार गर्नुभयो ध्यान दिनुहोस्‌। तिनीहरूले चर्को वहस गरिरहेको बेला तपाईं त्यहाँ हुनुभएको भए के तिनीहरूलाई नम्र र आकार दिन मिल्ने व्यक्‍तिको रूपमा हेर्नुहुन्थ्यो? येशूले तिनीहरूलाई नकारात्मक रूपमा हेर्नुभएन; उहाँको नम्रताको उदाहरण पछ्याएर अनि दयालु र धीरजी भई उहाँले दिनुभएको सल्लाह लागू गरेर तिनीहरूले सही आकार लिनेछन्‌ भनेर येशूलाई थाह थियो। (मर्कू. ९:३३-३७; १०:३७, ४१-४५; लूका २२:२४-२७) येशू पुनर्जीवित भइसकेपछि र चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइसकेपछि तिनीहरूले ओहदा-मानसम्मान पाउने कुरामा नभई येशूले सुम्पनुभएको काममा आफ्नो ध्यान केन्द्रित गरे।—प्रेषि. ५:४२.

११. आफू नरम माटोजस्तै भएको कुरा दाऊदले कसरी देखाए अनि हामी कसरी तिनको अनुकरण गर्न सक्छौं?

११ यहोवाले अहिले हामीलाई खासगरि आफ्नो वचन, पवित्र शक्‍ति र ख्रीष्टियन मण्डलीद्वारा आकार दिनुहुन्छ। परमेश्‍वरको वचन उद्देश्‍यपूर्ण ढङ्‌गमा अध्ययन र मनन गर्दा अनि सिकेको कुरा लागू गर्न यहोवासित मदत माग्दा हामीले आकार पाइरहेका हुन्छौं। दाऊदले यस्तो लेखे: ‘आफ्नो ओछ्यानमा मैले तपाईंको सम्झना गरें र रातको पहर-पहरमा तपाईंको ध्यान गरें।’ (भज. ६३:६) तिनले यस्तो पनि लेखे: “मलाई सल्लाह दिनुहुने परमप्रभुलाई म धन्यको भन्‍नेछु। मेरो अन्तस्करणले पनि मलाई राती शिक्षा दिन्छ।” (भज. १६:७) हो, दाऊदले आफ्ना भित्री सोचाइ र भावनालाई आकार दिनको लागि परमेश्‍वरको सल्लाहलाई आफ्नो मनभित्र राखे, यहोवाबाट कडा सल्लाह पाउँदा समेत तिनले यसो गरे। (२ शमू. १२:१-१३) नम्रता र अधीनमा बस्ने सन्दर्भमा दाऊदले हाम्रो लागि कत्ति राम्रो उदाहरण बसाले! के तपाईं पनि उहाँको वचन आफ्नो मनभित्र पुग्ने गरी मनन गर्नुहुन्छ? अथवा यस सन्दर्भमा अझै उन्‍नति गर्नुपर्ने ठाउँ देख्नुहुन्छ कि?—भज. १:२, ३.

१२, १३. यहोवाले ख्रीष्टियन मण्डली र पवित्र शक्‍तिमार्फत कसरी आकार दिनुहुन्छ?

१२ पवित्र शक्‍तिले हामीलाई विभिन्‍न तरिकामा आकार दिन सक्छ। उदाहरणका लागि, यसले हामीलाई ख्रीष्टको जस्तै व्यक्‍तित्व अर्थात्‌ पवित्र शक्‍तिको फलका विभिन्‍न पक्षहरू खेती गर्न मदत गर्छ। (गला. ५:२२, २३) त्यस फलको एउटा पक्ष प्रेम हो। हामी परमेश्‍वरलाई प्रेम गर्छौं, उहाँको आज्ञा पालन गर्न चाहन्छौं र उहाँको आज्ञा बोझिलो छैन भनी स्वीकार्दै उहाँबाट आकार पाउन चाहेको देखाउँछौं। साथै पवित्र शक्‍तिले हामीलाई संसार र त्यसको खराब मनोभावलाई तिरस्कार गर्न र त्यसको आकारमा नढालिन पनि मदत गर्छ। (एफि. २:२) युवा छँदा प्रेषित पावललाई यहूदीहरूको घमन्डी मनोभावले गहिरो असर गरेको थियो। तर पछि तिनले यस्तो लेखे: “किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” (फिलि. ४:१३) त्यसकारण पावलले जस्तै हामी पनि निरन्तर पवित्र शक्‍ति मागिरहौं। किनकि यहोवा आफ्ना नम्र सेवकहरूले मनैदेखि गरेको बिन्ती कहिल्यै बेवास्ता गर्नुहुन्‍न।—भज. १०:१७.

दुई जना एल्डर तयारी गर्दै; पछि एक जना भाइलाई धर्मशास्त्रबाट सल्लाह दिंदै अनि ती भाइ पछि व्यक्‍तिगत अध्ययन गर्दै

हामीलाई आकार दिन यहोवाले ख्रीष्टियन एल्डरहरू चलाउनुहुन्छ तर हामी आफैले पनि प्रयास गर्नुपर्छ (अनुच्छेद १२, १३ हेर्नुहोस्‌)

१३ हामीलाई व्यक्‍तिगत रूपमा आकार दिन यहोवाले ख्रीष्टियन मण्डली र निरीक्षकहरूलाई चलाउनुहुन्छ। उदाहरणका लागि, हामीले आध्यात्मिक रूपमा कुनै समस्या सामना गर्नुपर्दा एल्डरहरू हामीलाई मदत गर्न अघि सर्छन्‌। तर यसरी सल्लाह-सुझाव दिंदा तिनीहरू मानव बुद्धिमा भर पर्दैनन्‌। (गला. ६:१) बरु तिनीहरू बुद्धि र ज्ञानको लागि नम्रतापूर्वक परमेश्‍वरमाथि भर पर्छन्‌। हामीले भोगिरहेको परिस्थितिलाई मनमा राख्दै तिनीहरू प्रार्थना गर्छन्‌ अनि त्यसबारे परमेश्‍वरको वचन र हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्छन्‌। यसो गर्दा तिनीहरूले हामीलाई चाहिएकै मदत दिन सक्छन्‌। एल्डरहरूले दयालु हुँदै दिनुभएको सल्लाहलाई, जस्तै: लुगाफाटाको विषयमा तिनीहरूले केही सल्लाह-सुझाव दिंदा के तपाईं त्यसलाई परमेश्‍वरको प्रेमको अभिव्यक्‍ति ठान्‍नुहुन्छ? यस्तो ठान्‍नुभएमा तपाईं यहोवाको हातमा भएको नरम माटोजस्तै हुनुहुनेछ र आफ्नो फाइदाको लागि सही आकारमा ढालिन तयार भइरहनुभएको हुनेछ।

१४. हामीमाथि पूर्ण अख्तियार भए तापनि यहोवाले हाम्रो स्वतन्त्र इच्छालाई कदर गर्नुभएको कुरा कसरी देखाउनुहुन्छ?

१४ यहोवाले हामीलाई कसरी आकार दिंदै हुनुहुन्छ भन्‍ने कुरा बुझ्दा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसँगको हाम्रो सम्बन्ध राम्रो हुन्छ। साथै इलाकाका मानिसहरू लगायत बाइबल विद्यार्थीहरूप्रतिको हाम्रो मनोवृत्ति पनि राम्रो हुन्छ। बाइबलकालीन समयको कुरा विचार गरौं। त्यस समयका कुमालेहरूले खनेर निकालेको माटोलाई त्यतिकै आकार दिई हाल्दैन थिए; सुरुमा त माटोबाट ढुङ्‌गा अनि अरू काम नलाग्ने कुराहरू हटाएर माटो तयार पार्थे। यहोवाले पनि इच्छुक व्यक्‍तिहरूलाई आकार दिनको लागि त्यसरी नै तयार पार्नुहुन्छ। हुन त उहाँ तिनीहरूलाई परिवर्तन गर्न कुनै करबल गर्नुहुन्‍न तर आवश्‍यक छाँटकाँट गर्न तिनीहरूलाई आफ्नो त्रुटिरहित स्तर भने देखाइदिनुहुन्छ। फलस्वरूप, त्यस्ता व्यक्‍तिहरू राजीखुसीसाथ आफूमा भएको खराब कुरा हटाउन उत्प्रेरित हुन्छन्‌।

१५, १६. यहोवाले आफूलाई आकार दिएको चाहन्छन्‌ भनेर बाइबल विद्यार्थीहरूले कसरी देखाउँछन्‌? उदाहरण दिनुहोस्‌।

१५ अस्ट्रेलियामा बस्ने टेजी बहिनीको उदाहरण विचार गर्नुहोस्‌। तिनीसँग बाइबल अध्ययन सञ्चालन गर्ने बहिनीले यसो भनिन्‌, “टेजीसँग बाइबल अध्ययन गर्न खासै गाह्रो थिएन। तर तिनले आध्यात्मिक उन्‍नति गरिनन्‌, सभा समेत आइनन्‌! निकै प्रार्थना गरेपछि तिनको अध्ययन छोड्‌ने विचार गरें। त्यसपछि त अचम्मलाग्दो कुरा भयो। अन्तिम चोटि अध्ययन गर्छु भनेर गएकी थिएँ। तर त्यही दिन तिनले आफ्नो मनको कुरा खोलिन्‌। जुवातास खेलेकोमा आफूलाई एकदम नराम्रो लागेको कुरा तिनले बताइन्‌। तर अब तिनी यो नराम्रो बानी छोड्‌ने विचारमा रहेछिन्‌।”

१६ त्यसको केही समयपछिदेखि टेजी सभा आउन थालिन्‌; बिस्तारै परमेश्‍वरलाई मन पर्ने गुणहरू विकास गरिन्‌। साथीहरूको गिल्लाको बाबजुद तिनी अघि बढिन्‌। अध्ययन गराउने बहिनी अझै यसो भन्छिन्‌: “केही समयपछि तिनले बप्तिस्मा गरिन्‌ अनि छोराछोरी सानै भए पनि नियमित अग्रगामी गर्न थालिन्‌।” हो, परमेश्‍वरलाई खुसी पार्न बाइबल विद्यार्थीले आफ्नो जीवनमा छाँटकाँट गर्दा उहाँ तिनीहरूको नजिक आउनुहुन्छ र आफूले चाहेको आकार दिनुहुन्छ।

१७. (क) महान्‌ कुमाले यहोवाको कुन पक्ष तपाईंलाई मन पऱ्‍यो? (ख) हामी अर्को लेखमा के छलफल गर्नेछौं?

१७ अहिले पनि कुनै-कुनै भाँडाहरू कुमालेले हातैले बनाउँछन्‌ र आफूले चाहेजस्तै आकार दिन्छन्‌। त्यसरी नै महान्‌ कुमाले यहोवाले पनि हामीलाई सल्लाह-सुझाव दिएर अनि हाम्रो चाहना बुझेर धीरजी हुँदै आकार दिनुहुन्छ। (भजन ३२:८ पढ्‌नुहोस्‌) यहोवाले चासो दिनुभएको कुरा के तपाईं आफैले महसुस गर्नुभएको छ? अनि उहाँले मायालु तरिकाले आकार दिंदै गरेको महसुस गर्दै हुनुहुन्छ? त्यसोभए यहोवाको हातमा आकार दिन मिल्ने नरम माटोजस्तै बनिरहन तपाईंलाई अरू कस्ता गुणहरूले मदत गर्छ? आकार दिनै नमिल्ने साह्रो माटोजस्तो नहुन हामीले कस्ता दुर्गुणहरू त्याग्नुपर्छ? आफ्ना छोराछोरीलाई यहोवाले आकार दिएको चाहने आमाबाबुले आफ्नो तर्फबाट के गर्न सक्छन्‌? अर्को लेखमा यसबारे छलफल गरिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने