यहोवाका भेडाहरूको हेरचाह गर्न “पुरुषहरूमध्ये वरदान”
“उहाँ माथि उक्लेर जानुहुँदा, कैदलाई कैद गरेर लानुभयो, औ मानिसहरूलाई वरदान [“पुरुषहरूमध्ये वरदान,” NW] दिनुभयो।”—एफिसी ४:८.
१. आफ्नो मण्डलीका प्राचीनहरूबारे एक मसीही बहिनीले के भनिन्?
“हाम्रो राम्रो हेरचाह गर्नुभएकोमा धन्यवाद। तपाईंहरूको हाँसो, न्यानोपन कत्ति निश्चल छन् र तपाईंहरू साँच्चै हाम्रो कत्ति ख्याल राख्नुहुन्छ। तपाईंहरू हाम्रो कुरा सुन्न सधैं तत्पर हुनुहुन्छ र बाइबलका कुराहरू हामीसित बाँडेर हाम्रो मनोबल बढाउनुहुन्छ। तपाईंहरूलाई कहिल्यै हल्कासित नलिन मलाई मदत गर्नुहोस् भनेर म प्रार्थना गर्छु।” यसरी एक मसीही बहिनीले आफ्नो मण्डलीका प्राचीनहरूलाई लेखिन्। स्पष्टतः मायालु प्राचीनहरूले देखाएको प्रेमले तिनको हृदय छोएको थियो।—१ पत्रुस ५:२, ३.
२, ३. (क) यशैया ३२:१, २ अनुसार अनुकम्पापूर्ण प्राचीनहरूले यहोवाको भेडाको कसरी हेरचाह गर्छन्? (ख) प्राचीनलाई कस्तो बेला वरदानको रूपमा लिन सकिन्छ?
२ यहोवाले आफ्नो भेडाहरूको हेरचाह गर्न प्राचीनहरूको प्रबन्ध गर्नुभएको हो। (लूका १२:३२; यूहन्ना १०:१६) यहोवालाई आफ्ना भेडाहरू प्रिय छन्। वास्तवमा यति प्रिय छन् कि उहाँले तिनीहरूलाई येशूको अनमोल रगतद्वारा किन्नुभयो। त्यसैले उहाँको बगालसित प्राचीनहरूले अनुकम्पापूर्ण व्यवहार गर्दा यहोवा खुसी हुनुहुन्छ। (प्रेरित २०:२८, २९) यी सम्भावित “राज्यपालहरू, [NW]” वा प्राचीनहरूबारे गरिएको भविष्यसूचक अगमवाणी सुन्नुहोस्: “प्रत्येक . . . बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै हुनेछ।” (यशैया ३२:१, २) हो, तिनीहरूले उहाँको भेडालाई सुरक्षा, स्फूर्ति र सान्त्वना दिनुपर्छ। अतः अनुकम्पापूर्ण ढंगमा बगालको हेरचाह गर्ने प्राचीनहरूले परमेश्वरले चाहेअनुसार जीवन बिताउन खोजिरहेका हुन्छन्।
३ यस्ता प्राचीनहरूलाई बाइबलमा “पुरुषहरूमध्ये वरदान” भनिएको छ। (एफिसी ४:८, NW) हामी सबैलाई थाह भएकै कुरा हो, वरदान कसैको आवश्यकता पूरा गर्न वा प्रसन्न पार्न दिइन्छ। प्राचीनले आवश्यक मदत दिन तथा बगालको आनन्दको निम्ति आफ्ना योग्यताहरू प्रयोग गर्छन् भने तिनलाई वरदानको रूपमा लिन सकिन्छ। त्यसोभए तिनी कसरी वरदान साबित हुनसक्छन्? जवाफ एफिसी ४:७-१६ मा उल्लिखित पावलका शब्दहरूमा पाइन्छ जहाँ परमेश्वरले आफ्ना भेडाहरूको कस्तो मायालु चासो राख्नुहुन्छ भनी स्पष्ट हुन्छ।
“पुरुषहरूमध्ये वरदान”—कहाँबाट?
४. भजन ६८:१८ को भविष्यवाणीअनुरूप यहोवा कुन तरिकामा ‘उच्चमा चढ्नुभयो’ र “मानिसहरूका बीचमा . . . उपहार” को थिए?
४ पावलले “पुरुषहरूमध्ये वरदान” भन्ने वाक्यांश प्रयोग गर्दा राजा दाऊदलाई उद्धृत गरिरहेका थिए जसले यहोवाबारे यसो भने: “तपाईं उच्चमा चढ़नुभएको छ, तपाईंले कैदीहरूलाई कैद पार्नुभएको छ, तपाईंले मानिसहरूका बीचमा . . . उपहार लिनुभयो।” (भजन ६८:१८) इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पुगेको केही वर्षपछि यहोवा लाक्षणिक रूपमा सियोन डाँडा ‘चढ्नुभयो’ र यरूशलेमलाई इस्राएल राष्ट्रको राजधानी बनाउनुभएर दाऊदलाई राजा नियुक्त गर्नुभयो। तर “मानिसहरूका बीचमा . . . उपहार” को थिए? तिनीहरू इस्राएल भूमि हासिल गर्ने क्रममा समातिएका कैदीहरू थिए। यी कैदीहरूमध्ये कसै कसैलाई लेवीहरूलाई बासस्थानमा काम गर्न सघाउन सुम्पिएको थियो।—एज्रा ८:२०.
५. (क) भजन ६८:१८ मसीही मण्डलीमा लागू हुन्छ भनी पावल कसरी संकेत गर्छन्? (ख) येशू कुन तरिकामा ‘उच्चमा चढ्नुभयो?’
५ पावल एफिसीहरूलाई लेखेको पत्रमा भजनरचयिताका उक्त शब्दहरूको पूर्ति मसीही मण्डलीमा अझ विस्तृत रूपमा हुन्छ भनी संकेत गर्छन्। भजन ६८:१८ लाई आफ्नै शब्दमा व्याख्या गर्दै पावल लेख्छन्: “तर हामीमध्ये हरेकलाई ख्रीष्टको वरदानको नापअनुसार अनुग्रह दिइएको छ। यसैकारण उहाँ भन्नुहुन्छ, ‘उहाँ माथि उक्लेर जानुहुँदा, कैदलाई कैद गरेर लानुभयो, औ मानिसहरूलाई वरदान [“पुरुषहरूमध्ये वरदान,” NW] दिनुभयो।’” (एफिसी ४:७, ८) पावलले उक्त भजनद्वारा येशूलाई परमेश्वरको प्रतिनिधिको रूपमा प्रस्तुत गरिरहेका थिए। येशूले आफ्नो विश्वासी मार्गद्वारा ‘संसारलाई जित्नुभयो।’ (यूहन्ना १६:३३) परमेश्वरले उहाँलाई मृत्युबाट पुनरुत्थान गराउनुभएको हुँदा येशू मृत्यु तथा शैतानमाथि पनि विजयी हुनुभयो। (प्रेरित २:२४; हिब्रू २:१४) सा.यु. ३३ मा पुनरुत्थान हुनुभएको येशू “सारा स्वर्गहरूभन्दा धेरैमाथि” अर्थात् सबै स्वर्गीय प्राणीहरूभन्दा माथि उक्लनुभयो। (एफिसी ४:९, १०; फिलिप्पी २:९-११) विजयी हुनुभएको कारण मृत्युको दासत्वमा परेका पुरुषहरूलाई “कैद” गरेर लानुभयो। कसरी?
६. सा.यु. ३३ पेन्तिकोसदेखि उच्चमा चढ्नुभएको येशूले कसरी शैतानको घर लुट्न थाल्नुभयो र उहाँले ‘कैदीहरूसित’ के गर्नुभयो?
६ येशूले पृथ्वीमा हुनुहुँदा प्रेतको वशमा परेकाहरूलाई मुक्त गर्नुभएर शैतानभन्दा शक्तिशाली हुनुहुन्छ भनी प्रदर्शन गर्नुभयो। यो एक प्रकारले येशू शैतानको घर भित्र पसेर त्यसलाई बाँधेर त्यसका मालतालहरू लुट्नुभए बराबर थियो। (मत्ती १२:२२-२९) सोच्नुहोस्, पुनरुत्थान हुनुभएर ‘पृथ्वीमा सारा अधिकार पाएपछि’ उहाँले के के लुट्न सक्नुहुँदो रहेछ! (मत्ती २८:१८) स्वर्गमा उक्लनुभएको येशूले परमेश्वरको प्रतिनिधिको रूपमा सा.यु. ३३ पेन्तिकोसदेखि ‘कैदीहरूलाई’ अर्थात् लामो समयदेखि पाप तथा मृत्युको दासत्वमा अनि शैतानको नियन्त्रणमा परेका पुरुषहरूलाई कैद गरी शैतानको घर लुट्न थाल्नुभयो। यी ‘कैदीहरू’ स्वेच्छापूर्वक “ख्रीष्टको कमाराले झैं हृदयदेखिनै परमेश्वरको इच्छा पूरा” गर्ने भए। (एफिसी ६:६) येशूले तिनीहरूलाई शैतानको नियन्त्रणबाट स्वतन्त्र तुल्याउनुभयो र यहोवाको तर्फबाट “पुरुषहरूमध्ये वरदान[को]” रूपमा मण्डलीलाई दिनुभयो। आफ्नै आँखा अगाडि तिनीहरूलाई लगिंदा शैतान कत्ति क्रोधित भयो होला कल्पना गर्नुहोस्!
७. (क) ‘पुरुषहरूमध्येका वरदानहरूले’ मण्डलीहरूमा कस्ता कस्ता सेवा गर्छन्? (ख) प्राचीनको हैसियतमा सेवा गर्ने प्रत्येक व्यक्तिलाई यहोवाले कस्तो सुअवसर दिनुभएको छ?
७ के आज पनि मण्डलीमा त्यस्ता “पुरुषहरूमध्ये वरदान” छन्? अवश्य छन्! हामी यी प्राचीनहरू ‘प्रचारक, गोठालो र शिक्षकको’ रूपमा संसारभरि परमेश्वरका जनहरूका ८७,००० भन्दा बढी मण्डलीहरूमा कडा परिश्रम गरिरहेका पाउँछौं। (एफिसी ४:११) तिनीहरूले बगालसित दुर्व्यवहार गरेमा शैतान दंग पर्छ। तर यहोवाले ख्रीष्ट मार्फत मण्डलीलाई तिनीहरू दिनुको कारण त्यस्तो दुर्व्यवहार गरोस् भनेर होइन। बरु, यहोवाले मण्डलीको हितको निम्ति तिनीहरू दिनुभएको थियो। अनि यी मानिसहरू तिनीहरूमाथि सुम्पिएको भेडाहरूको निम्ति उहाँप्रति जवाफदेही छन्। (हिब्रू १३:७) तपाईं प्राचीनको हैसियतमा सेवा गर्दै हुनुहुन्छ भने नबिर्सनुहोस् भाइहरूको निम्ति वरदान वा अशिष् प्रमाणित गर्ने अत्युत्तम सुअवसर यहोवाले तपाईंलाई दिइरहनुभएको छ। तपाईंले चार महत्त्वपूर्ण जिम्मेवारीहरू पूरा गरेर आफूलाई वरदान साबित गर्न सक्नुहुन्छ।
“सिद्धता हुनाको निम्ति” गर्नुपर्दा
८. समय समयमा हामी सबैलाई कुन तरिकामा छाँटकाँट गर्नुपर्छ?
८ प्रथमतः “पुरुषहरूमध्ये वरदान” “पवित्र जनहरूको सिद्ध[को] . . . निम्ति” प्रबन्ध गरिएको हो भनी पावल भन्छन्। (एफिसी ४:१२) “सिद्धता हुनाको निम्ति” निम्ति चलाइएको युनानी शब्दले “छाँटकाँट” गर्नु भन्ने बुझाउँछ। असिद्ध मानव भएको कारण समय सयममा हाम्रो सोचाइ, मनोवृत्ति वा आचरण परमेश्वरको सोचाइ तथा इच्छाअनुसार “छाँटकाँट” गरिरहनुपर्छ। यहोवाले आवश्यक छाँटकाँटहरू गर्न सजिलो होस् भनेर मायालु ढंगमा “पुरुषहरूमध्ये वरदान[को]” प्रबन्ध गरिदिनुभएको छ। तिनीहरूले कसरी मदत गर्छन्?
९. गल्ती गर्ने भेडालाई छाँटकाँट गर्न प्राचीनले कसरी मदत गर्नसक्छन्?
९ कहिलेकाहीं ‘जान्दा नजान्दै अपराधमा पक्राउमा परेका’ भेडालाई मदत गर्न प्राचीनलाई बोलाइएला। प्राचीनले कसरी मदत गर्नसक्छन्? गलाती ६:१ भन्छ, “नम्रताको आत्माले . . . यस्ताको सुधार गर।” तसर्थ गल्ती गर्ने व्यक्तिलाई सल्लाह दिंदा प्राचीनहरूले कठोर शब्दहरू चलाएर गाली गर्नु हुँदैन। सल्लाह प्राप्त गर्ने व्यक्ति “थर्कमान” होइन तर प्रोत्साहित हुनुपर्छ। (२ कोरिन्थी १०:९; तुलना गर्नुहोस् अय्यूब ३३:७) त्यस व्यक्ति पहिल्यै लज्जित भइसकेका हुनसक्छन्, त्यसैले मायालु गोठालोले तिनको आत्मालाई अझै चूर पार्ने छैनन्। कडा ताडना नै किन नहोस्, प्रेमबाट उत्प्रेरित हुनुका साथै प्रेमपूर्ण ढंगमा दिइएको छ भने गल्ती गर्नेले आफ्नो सोचाइ वा आचरण सुधार्न सक्छ र तिनी पुनर्स्थापित हुनसक्छ।—२ तिमोथी ४:२.
१०. अरूलाई छाँटकाँट गर्नुमा के समावेश छ?
१० यहोवाले हाम्रो छाँटकाँटको निम्ति “पुरुषहरूमध्ये वरदान” प्रबन्ध गर्नुहुँदा प्राचीनहरू आध्यात्मिक तवरमा स्फूर्तिदायी र अनुकरणीय होस् भन्ने चाहनुभएको थियो। (१ कोरिन्थी १६:१७, १८; फिलिप्पी ३:१७) अरूलाई सुधार्नुमा गलत मार्गमा लाग्नेहरूलाई सच्याउने मात्र होइन तर विश्वासीहरूलाई सही मार्गमा लागिरहन मदत गर्नु पनि समावेश छ।a आज अनेकन् समस्याहरूले गर्दा मसीहीहरू निरुत्साहित हुन्छन्। त्यसैले दृढ भई लागिरहन प्रोत्साहनको जरुरी हुन्छ। कतिपय व्यक्तिहरूलाई आफ्नो सोचाइ परमेश्वरको इच्छाअनुरूप छाँटकाँट गर्न कृपालु मदतको आवश्यक परेको हुनसक्छ। उदाहरणका लागि, केही विश्वासी मसीहीहरू आफूलाई अयोग्य वा असक्षम महसुस गर्छन्। यसरी “हरेस” खाएकाहरूले यहोवाले तिनीहरूलाई कहिल्यै प्रेम गर्नु हुन्न र उहाँको सेवा गर्न जति नै प्रयास गरे तापनि उहाँले स्वीकार्नु हुन्न भन्ठानेका हुन्छन्। (१ थिस्सलोनिकी ५:१४) तर यस्तो विचारधारा परमेश्वरले आफ्ना उपासकहरूप्रति राख्नुहुने विचारधारासित मेल खाँदैन।
११. अयोग्यताको भावनासित संघर्ष गरिरहेकाहरूलाई प्राचीनहरूले कसरी मदत गर्नसक्छन्?
११ प्राचीनहरू हो, तपाईंहरूले यस्ता मसीहीहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ? यहोवा आफ्ना सेवकहरूको ख्याल राख्नुहुन्छ भनी दयापूर्वक धर्मशास्त्रीय प्रमाणहरू देखाउनुका साथै ती बाइबल पदहरू व्यक्तिगत तवरमा तिनीहरूमा लागू हुन्छ भनी आश्वासन दिनुहोस्। (लूका १२:६, ७, २४) यहोवाले तिनीहरूलाई उहाँको सेवा गर्न ‘खिच्नुभएकोले’ पक्कै पनि उहाँ तिनीहरूलाई मूल्यवान् ठान्नुहुन्छ भनी विश्वस्त गराउनुहोस्। (यूहन्ना ६:४४) यहोवाका अन्य थुप्रै विश्वासी जनहरूले पनि तिनीहरूले जस्तै महसुस गरेका थिए भनी देखाउनुहोस्। अगमवक्ता एलिया एक समय यति निराश भएका थिए कि तिनी मर्न चाहन्थे। (१ राजा १९:१-४) प्रथम शताब्दीका केही अभिषिक्त मसीहीहरूले पनि ‘दोषी’ हृदय महसुस गरेका थिए। (१ यूहन्ना ३:२०, नयाँ संशोधित संस्करण) बाइबल समयका विश्वासी जनहरू पनि “हामी जस्तै दुःख सुख भोगी मानिस थिए” भनी थाह पाउनु सान्त्वनादायी कुरा हो। (याकूब ५:१७) तपाईंले निरुत्साहित व्यक्तिहरूसित प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाका लेखहरू पढ्न सक्नुहुन्छ। त्यस्ता व्यक्तिहरूको भरोसा पुनर्स्थापित गर्न तपाईंले गर्नुभएको प्रयासलाई तपाईंलाई “पुरुषहरूमध्ये वरदान[को]” रूपमा दिनुहुने परमेश्वरले निश्चय याद गर्नुहुनेछ।—हिब्रू ६:१०.
बगाल “निर्माण” गर्ने
१२. “ख्रीष्टको शरीर निर्माण” गर्ने भन्ने पदावलीले के संकेत गर्छ र बगाललाई निर्माण गर्ने मुख्य तरिका के हो?
१२ दोस्रो, “ख्रीष्टको शरीर निर्माण” गर्ने हेतुले “पुरुषहरूमध्ये वरदान” दिइएको हो। (एफिसी ४:१२, नयाँ संशोधित संस्करण) पावलले यहाँ अलंकार भाषा चलाउँछन्: “निर्माण” शब्दबाट केही बनाउने भन्ने बुझ्छौं भने “ख्रीष्टको शरीर[ले]” मानिसहरू अर्थात् अभिषिक्त मसीही मण्डलीका सदस्यहरूलाई बुझाउँछ। (१ कोरिन्थी १२:२७; एफिसी ५:२३, २९, ३०) प्राचीनहरूले आफ्ना भाइहरूलाई आध्यात्मिक तवरमा बढ्न मदत गर्नुपर्छ। तिनीहरूको उद्देश्य बगाललाई ‘बिगार्ने होइन तर सुधार्ने’ हुनुपर्छ। (२ कोरिन्थी १०:८) बगालको निर्माण गर्ने मुख्य तरिका प्रेम हो किनभने “प्रेमले उन्नति गराउँछ।”—१ कोरिन्थी ८:१.
१३. समानुभूतिशील हुनुको अर्थ के हो र प्राचीनहरूले समानुभूति देखाउनु किन महत्त्वपूर्ण छ?
१३ बगाल निर्माण गर्न प्राचीनहरूलाई मदत गर्ने प्रेमको एउटा पक्ष समानुभूति हो। समानुभूतिशील हुनुको अर्थ अरूको भावनाहरू अर्थात् तिनीहरूका सीमितताहरू ध्यानमा राख्दै तिनीहरूको विचार तथा भावनाहरू बुझ्ने कोसिस गर्नु हो। प्राचीनहरू समानुभूतिशील हुनु किन महत्त्वपूर्ण छ? एउटा मुख्य कारण त, “पुरुषहरूमध्ये वरदान” दिनुहुने यहोवा समानुभूतिशील परमेश्वर हुनुभएकोले हो। आफ्ना सेवकहरू दुःखी वा पीडित हुँदा उहाँ पनि त्यस्तै महसुस गर्नुहुन्छ। (प्रस्थान ३:७; यशैया ६३:९) उहाँ तिनीहरूका सीमितताहरूको ख्याल राख्नुहुन्छ। (भजन १०३:१४) त्यसोभए प्राचीनहरूले कसरी समानुभूति देखाउनसक्छन्?
१४. प्राचीनहरूले कुन तरिकामा समानुभूति देखाउनसक्छन्?
१४ निरुत्साहित व्यक्ति आफूकहाँ आउँदा तिनीहरू सुन्छन् र तिनका भावनाहरूलाई स्वीकार्छन्। अनि आफ्ना भाइहरूको पृष्ठभूमि, व्यक्तित्व तथा अवस्था बुझ्ने कोसिस गर्छन्। त्यसपछि प्राचीनहरूले भेडालाई प्रोत्साहनदायी धर्मशास्त्रीय मदत दिंदा त्यसलाई स्वीकार्न सजिलो हुन्छ किनभने त्यो तिनीहरूलाई साँच्चै बुझ्ने तथा तिनीहरूको चासो राख्ने गोठालाहरूले दिएका हुन्। (हितोपदेश १६:२३) समानुभूतिले प्राचीनहरूलाई अरूका सीमितताहरू तथा त्यसले गर्दा उत्पन्न हुने भावनाहरू बुझ्न उत्प्रेरित गर्छ। उदाहरणका लागि, कोही कोही कर्तव्यनिष्ठ मसीहीहरू सायद बूढेसकाल वा बिग्रँदो स्वास्थ्यको कारण परमेश्वरको सेवा चाहेजति गर्न नसक्दा दोषी महसुस गर्नसक्छन्। अर्कोतर्फ कसै कसैलाई सेवकाईमा उन्नति गर्न प्रोत्साहन आवश्यक हुनसक्छ। (हिब्रू ५:१२; ६:१) समानुभूतिशील प्राचीनहरू अरूलाई प्रोत्साहित गर्ने “मीठा मीठा शब्दहरू” बोल्न प्रेरित हुन्छन्। (उपदेशक १२:१०) यहोवाको भेडा प्रोत्साहित तथा उत्प्रेरित भएमा तिनी परमेश्वरप्रतिको प्रेमले उत्प्रेरित भई उहाँको सक्दो सेवा गर्न तिनीहरू जुरमुराउने छन्!
एकता कायम गर्ने पुरुषहरू
१५. “विश्वासको . . . एकता[को]” अर्थ के हो?
१५ “पुरुषहरूमध्ये वरदान” प्रबन्ध गरिनुको तेस्रो कारण “हामी सबै जना विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त” गर्न सकोस् भनेर हो। (एफिसी ४:१३) “विश्वासको . . . एकता” भन्ने पदावलीले एउटै विश्वास मात्र होइन तर विश्वासीहरूको एकतालाई पनि संकेत गर्छ। अतः परमेश्वरले “पुरुषहरूमध्ये वरदान” दिनुभएको अर्को कारण उहाँका जनहरूबीच एकता कायम होस् भनेर हो। तिनीहरूले यो कसरी गर्छन्?
१६. प्राचीनहरूले आपसमा एकता कायम राख्नु किन महत्त्वपूर्ण छ?
१६ प्रथमतः तिनीहरूले आपसमा एकता कायम राख्नुपर्छ। गोठालाहरू विभाजित छन् भने भेडाहरूले दुःख पाउँछन्। बगालको गोठालो गर्न लगाउनुपर्ने बहुमूल्य समय लामा लामा अनावश्यक सभाहरू तथा सानातिना विषयहरूमा विवाद गर्न खर्च हुनपुग्छ। (१ तिमोथी २:८) प्राचीनहरू छलफल गरिने सबै विषयमा सहमत नहुन सक्छन् किनभने तिनीहरूको व्यक्तित्वहरू भिन्नाभिन्नै हुन्छन्। एकताबद्ध हुने भन्दैमा भिन्न विचारधारा राख्नु हुन्न वा खुलस्त छलफलको दौडान सन्तुलित ढंगमा आफ्नो विचार पोख्नुहुन्न भनेको होइन। प्राचीनहरूको समूह पहिल्यै अड्कल नकाटी आदरपूर्वक कुरा सुनेर एकता कायम राख्छन्। अनि बाइबल सिद्धान्त उल्लंघन नभएसम्म प्रत्येक प्राचीन, प्राचीनहरूको समूहले गरेको अन्तिम निर्णय स्वीकार्न र समर्थन गर्न राजी हुनुपर्छ। आपसमा सहमत हुँदा तिनीहरूले ‘माथिबाट आउने ज्ञानबाट’ निर्देशित भएको प्रदर्शित गरिरहेका हुन्छन् किनकि त्यस्तो ज्ञान “कोमल, मृदुभाव” हुन्छ।—याकूब ३:१७, १८.
१७. प्राचीनहरूले कसरी मण्डलीमा एकता कायम राख्नसक्छन्?
१७ प्राचीनहरू मण्डलीमा एकताको प्रवर्धन गर्न पनि सजग रहन्छन्। हानिकारक गफ, शंका गर्न वा झगडालु मनोवृत्ति जस्ता शान्तिलाई खलल पार्ने अनि विभाजन ल्याउने प्रभावहरू देखा परेमा तिनीहरू तुरुन्तै मदतकारी सल्लाहहरू दिन्छन्। (फिलिप्पी २:२, ३) उदाहरणका लागि, अरूको बढ्तै आलोचना गर्ने वा अरूको मामिलामा हात हाल्ने व्यक्तिविशेषहरूबारे प्राचीनहरूलाई थाह होला। (१ तिमोथी ५:१३; १ पत्रुस ४:१५) प्राचीनहरूले त्यस्ता व्यक्तिहरूलाई त्यस्तो मार्ग परमेश्वरले सिकाउनुभएको भन्दा विपरीत छ र हरेक मानिसले “आफ्नै निज भार उठाउनुपर्छ” भनी बुझ्न मदत दिनेछन्। (गलाती ६:५, ७; १ थिस्सलोनिकी ४:९-१२) यहोवाले थुप्रै कुरा व्यक्तिविशेषको अन्तस्करणमा छोडिदिनुभएको छ र हामी कसैले त्यस्ता कुराहरूमा अरूको न्याय गर्नु हुँदैन भनी प्राचीनहरूले धर्मशास्त्रको मदत लिंदै बुझाउने छन्। (मत्ती ७:१, २; याकूब ४:१०-१२) एकताबद्ध भई सँगै सेवा गर्न मण्डलीमा विश्वास र आदरको वातावरण हुनुपर्छ। चाहिएको बेला धर्मशास्त्रीय सल्लाह दिएर “पुरुषहरूमध्ये वरदान[ले]” हामीलाई शान्ति तथा एकता कायम राख्न मदत गर्छन्।—रोमी १४:१९.
बगालको सुरक्षा गर्ने
१८, १९. (क) “पुरुषहरूमध्ये वरदान[ले]” हामीलाई केबाट जोगाउँछ? (ख) अरू कस्ता खतराहरूदेखि भेडालाई जोगाउनुपर्छ र आफ्नो भेडालाई बचाउन प्राचीनहरूले कस्तो कदम चाल्छन्?
१८ यहोवाले “पुरुषहरूमध्ये वरदान” दिनुको चौथो कारण हामीलाई “भ्रमको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिन” देखि जोगाउनेलाई हो। (एफिसी ४:१४) मूल युनानी शब्द “धूर्तता[को]” अर्थ “पासा खेल्दा ठग्नु” वा “कौडी फाल्न खप्पीस” हो। के यसले धर्मत्यागीहरू कति चलाख थिए भनी सम्झना दिलाउँदैन र? प्रभावशाली तर्कहरू चलाएर तिनीहरूले साँचो मसीहीहरूलाई विश्वासको मार्गबाट अलग्याउन धर्मशास्त्रलाई बंग्याउने गर्थे। त्यस्ता “डरलाग्दा ब्वाँसाहरू” पस्न नदिन प्राचीनहरू होसियार हुनुपर्छ।—प्रेरित २०:२९, ३०.
१९ यहोवाका बगाललाई अन्य खतराहरूदेखि पनि सुरक्षित राख्नुपर्छ। पुरातन गोठालो दाऊदले साहससाथ आफ्नो पिताको बगाललाई आक्रमणकारीहरूदेखि जोगाए। (१ शमूएल १७:३४-३६) आज पनि मसीही गोठालोले आफ्नो बगाल र अझ विशेष गरी कमजोरहरूलाई दुर्व्यवहार वा शोषणको सिकार हुनदेखि जोगाउनुपर्ने परिस्थिति खडा हुनसक्छ। प्राचीनहरू मण्डलीमा जानाजानी दुष्टता फैलाउन छल, ठगी र दुष्ट चाल चलेर स्वेच्छा साथ पाप गर्नेहरूलाई हटाउन तुरुन्तै कदम चाल्नेछन्।b—१ कोरिन्थी ५:९-१३; भजन १०१:७ तुलना गर्नुहोस्।
२०. “पुरुषहरूमध्ये वरदान[को]” हेरचाहमा हामी किन सुरक्षित महसुस गर्नसक्छौं?
२० “पुरुषहरूमध्ये वरदान[को]” निम्ति हामी कत्ति कृतज्ञ छौं! तिनीहरूको मायालु हेरचाहमा हामी सुरक्षित महसुस गर्नसक्छौं किनभने तिनीहरू अनुकम्पापूर्ण ढंगमा हाम्रो छाँटकाँट गर्छन्, मायालु ढंगमा प्रोत्साहित गर्छन्, हामीमाझ एकता कायम राख्न तत्पर रहन्छन् र साहससाथ हाम्रो सुरक्षा गर्छन्। तर “पुरुषहरूमध्ये वरदान[ले]” मण्डलीमा आफ्नो भूमिकाबारे कस्तो दृष्टिकोण राख्नुपर्छ? अनि हामी तिनीहरूको मूल्यांकन गर्छौं भनी कसरी देखाउनसक्छौं? यी प्रश्नहरूको जवाफ अर्को लेखमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a युनानी सेप्टुआजिन्ट संस्करणमा “सुधार्न[को]” निम्ति चलाइएको क्रियापद नै भजन १७[१६]:५ मा पनि प्रयोग गरिएको छ। त्यस पदमा विश्वासी दाऊदले आफ्नो पाइलाले उहाँको बाटोहरूमा दह्रोसँग टेकोस् भनेर प्रार्थना गरेका छन्।
b उदाहरणका लागि, प्रहरीधरहरा नोभेम्बर १५, १९७९ (अंग्रेजी) पृष्ठ ३१-२ “पाठकहरूका प्रश्नहरू” र जनवरी १, १९९७ अंकको पृष्ठ २६-९ “खराब कुराहरूलाई घृणा गरौं।”
के तपाईंलाई सम्झना छ?
◻ “पुरुषहरूमध्ये वरदान” को हुन् र तिनीहरूलाई परमेश्वरले ख्रीष्ट मार्फत मण्डलीलाई दिनुको कारण के हो?
◻ बगालको छाँटकाँट गर्ने जिम्मेवारी प्राचीनहरूले कसरी पूरा गर्छन्?
◻ आफ्ना सँगी विश्वासीहरूलाई प्रोत्साहित गर्न प्राचीनहरूले के गर्नसक्छन्?
◻ प्राचीनहरूले कसरी मण्डलीको एकता कायम राख्नसक्छन्?
[पृष्ठ १०-मा भएको चित्र]
निराश भएकाहरूलाई प्रोत्साहित गर्न प्राचीनहरूलाई समानुभूतिले मदत गर्छ
[पृष्ठ १०-मा भएको चित्र]
प्राचीनहरू माझ एकता हुँदा मण्डलीमा पनि एकता हुन्छ