परमेश्वरको सेवा गर्ने भाकल कायम गर्दै
फ्रान्ज गुडलिक्स्को वृत्तान्तमा आधारित
सय जवानभन्दा बढी सेना भएको मेरो डफ्फामा जम्मा चार जना बाँकी थिए। आफू पनि मृत्युको मुखैमा परेको कारण घुँडा टेक्दै परमेश्वरसित यस्तो भाकल गरें: ‘यो युद्धबाट बचें भने जिन्दगीभर तपाईंको सेवा गर्नेछु।’
अप्रिल १९४५ मा अर्थात् ५४ वर्षअघि जर्मन सेनामै हुँदा मैले यो भाकल गरेको थिएँ। दोस्रो विश्वयुद्ध अन्त हुनुभन्दा केही समयअघिको कुरा हो, सोभियत सेनाले बर्लिनमा भारी आक्रमण गरिरहेको थियो। हाम्रा सेनाहरू चाहिं बर्लिनभन्दा ६५ किलोमिटर पर ओडर नदीसँगै शिलो शहरमा तैनाथ थिए। त्यहाँ दिनरात भारी बमवर्षा हुन्थ्यो र हाम्रो डफ्फामा सेनाहरूको ठूलो संख्यामा मृत्यु भयो।
त्यही बेला मैले जीवनमा पहिलो चोटि आँसु बगाउँदै परमेश्वरलाई प्रार्थना गरें। अनि परमेश्वरको भय राख्नुहुने मेरी आमाले बारम्बार उद्धृत गर्नुहुने बाइबल पद सम्झें: “संकटको दिनमा मलाई पुकार्। म तलाईं छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्।” (भजन ५०:१५) आफ्नो ज्यानको माया भएकोले खाडलमा बस्दै मैले परमेश्वरसित माथि उल्लिखित भाकल गरें। मैले आफ्नो भाकल कसरी पूरा गरें? अनि म कसरी जर्मन सेनामा भर्ती भएँ?
लिथुआनियामा हुर्कंदा
प्रथम विश्वयुद्धको दौडान १९१८ मा लिथुआनियाले स्वतन्त्रता घोषणा गऱ्यो र प्रजातान्त्रिक व्यवस्थाअनुसार सरकार स्थापना गऱ्यो। मेरो जन्म १९२५ मा बाल्टिक समुद्रसँगै मामेलको प्रान्तमा भएको थियो। मेरो जन्मभन्दा एक वर्षअघि मात्रै त्यस प्रान्त लिथुआनियामा गाभिएको थियो।
मेरा चार दिदी अनि एक बहिनी थिइन् र हाम्रो बाल्यकाल सुखमय नै बित्यो। बुबा त हाम्रो असल मित्र जस्तो हुनुहुन्थ्यो, सधैं हामी बच्चाहरूसित केही न केही गरिरहनुहुन्थ्यो। हाम्रो आमाबुबा इभ्यान्जिकल चर्चको सदस्य हुनुहुन्थ्यो तर चर्चको कुनै पनि कार्यक्रममा भाग लिनु हुन्नथ्यो किनभने आमा त्यहाँका पादरीहरूको कपटदेखि वाक्क हुनुभएको थियो। तैपनि आमाले परमेश्वर र उहाँको वचन बाइबललाई प्रेम गर्नुहुन्थ्यो र बडो उत्साहसाथ पढ्नुहुन्थ्यो।
हामी बस्ने लिथुआनियाको भूमि १९३९ मा जर्मनीले कब्जा गऱ्यो। अनि १९४३ को सुरुतिर मलाई जर्मन सेनामा भर्ती हुन बोलाइयो। यस्तै एउटा युद्धमा म घाइते भएँ तर निको भएपछि म पश्चिमी युद्धभूमिमा फर्कें। यतिबेलासम्म परिस्थितिले कोल्टो फेरिसकेको थियो, अब जर्मन सेनाहरू सोभियत सेनाहरूदेखि भाग्दै थिए। यही बेला नै हो, म माथि परिचयमा बताइएको मृत्युको मुखबाट बचेको।
आफ्नो भाकल पूरा गर्दै
युद्धको दौडान मेरो आमाबुबा जर्मनीस्थित लिपजिगको दक्षिणपूर्व ओसहाट्समा सर्नुभयो। युद्धपछि उहाँहरूलाई खोज्न निकै गाह्रो भयो। तर हाम्रो पुनर्मिलन हुँदा हामी साह्रै हर्षित भयौं! त्यसको केही समयपछि म आमासँगै अप्रिल १९४७ मा माक्स शुबर नामक यहोवाका साक्षीको जनभाषण सुन्न गएँ। साँचो धर्म यही हो भनी आमा विश्वस्त हुनुहुन्थ्यो र म पनि उहाँसँग केही सभाहरूमा गएपछि विश्वस्त भएँ।
त्यसको केही समयपछि आमा भऱ्याङबाट लडेर सिकिस्त हुनुभयो र यही कारण उहाँ केही महिनापछि बित्नुभयो। उहाँको मृत्युको केही समयअघि अस्पतालमा मलाई यसरी प्रोत्साहित गर्नुभयो: “मेरा छोराछोरीमध्ये एक जना भए पनि परमेश्वरको मार्गमा हिंडोस् भनेर म अक्सर प्रार्थना गर्थें। अहिले उहाँले मेरो प्रार्थना सुन्नुभएको देखेकी छु र अब शान्तसँग मर्न सक्छु।” अहिले, मेरी आमा ब्यूँतनुभएपछि उहाँको प्रार्थना पूरा गरेको बताउने समय उत्सुकतासाथ पर्खिरहेको छु!—यूहन्ना ५:२८.
भाइ शुबरको भाषण सुनेको चार महिनापछि अगस्त ८, १९४७ मा लिपजिगको सम्मेलनमा पानीको बप्तिस्माद्वारा यहोवा परमेश्वरप्रतिको समर्पणलाई प्रतीकात्मक रूप दिएँ। बल्ल परमेश्वरसित गरेको भाकल पूरा गर्न कदम चाल्दै थिएँ। चाँडै म अग्रगामी भएँ। त्यतिबेला यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकहरूलाई त्यसो भनिन्थ्यो। त्यतिबेला प्रजातान्त्रिक गणतन्त्र जर्मन वा पूर्वी जर्मनीमा झन्डै ४०० अग्रगामीहरू थिए।
विश्वासको प्रारम्भिक जाँच
ओस्वार्जमा एक जना छिमेकीले मार्क्सवादप्रति चासो जगाउन जर्मन साम्यवाद एकता पार्टीको (एस इ डि) सदस्य हुन आग्रह गऱ्यो र म सदस्य भएँ भने सरकारद्वारा आर्थिक सहयोग पाउने विश्वविद्यालयमा भर्ती गराइदिने लोभ देखायो। येशूले जस्तै मैले पनि शैतानको प्रस्तावलाई अस्वीकार गरें।—मत्ती ४:८-१०.
अप्रिल १९४९ को एक दिन दुई जना प्रहरी मेरो काम गर्ने ठाउँमा आए र उनीहरूसँगै जाने आदेश दिए। मलाई स्थानीय सोभियत जासुस विभागमा लगे र पश्चिमका पुँजीवादीहरूको लागि मैले काम गरिरहेको भन्ने दोष लगाए। सधैंझैं घर-घर जाने तर सोभियत संघ वा एस इ डि-बारे नकारात्मक कुरा गर्ने अनि यहोवाका साक्षीहरूको राज्यभवनमा आउने व्यक्तिहरूबारे रिपोर्ट गरेर मेरो निर्दोषिता प्रमाणित गर्नसक्ने कुरा तिनीहरूले बताए। मैले तिनीहरूको सर्त इन्कार गरेपछि थुनामा हाले। पछि मलाई सैनिकहरूको अदालतमा लगे। मलाई सजाय दिइयो: साइबेरियामा १५ वर्षसम्म कठिन परिश्रम गर्ने!
म शान्त रहें। यो देखेर अधिकारीहरू प्रभावित भए। मेरो सजाय अझै यथावत् रहेको तर म तिनीहरूलाई सहयोग गर्न तयार नहुञ्जेल हप्ताको एक चोटि हाजिर हुन आएपुग्छ भने। परिपक्व मसीहीहरूको सल्लाह आवश्यक महसुस भएकोले माग्डेबर्गस्थित वाच टावर सोसाइटीको शाखा कार्यालय गएँ। यो यात्रा गर्नु जोखिमपूर्ण थियो किनभने म तिनीहरूको निगरानीमा थिएँ। माग्डेबर्गमा कानुनी विभागमा काम गरिरहेका अर्नस्ट भाउले यसो भने: “लड्नुभयो भने तपाईंले जित्नुहुनेछ। सम्झौता गर्नुभयो भने तपाईं हार्नुहुनेछ। हामीले नाजी शिविरबाट यही सिक्यौं।”a यो सल्लाहबाट परमेश्वरसित गरेको भाकलमा स्थिर रहन निकै मदत पाएँ।
प्रतिबन्ध र पुनः पक्राउ
जुलाई १९५० मा मलाई परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्ने सुझाउ दिइयो। तथापि, अगस्त ३० मा प्रहरीले माग्डेबर्गमा छापा माऱ्यो र प्रचारकार्यमा प्रतिबन्ध लगायो। अतः मेरो कार्यभार परिवर्तन भयो। पल हिर्सबर्ग र मैले झन्डै ५० वटा मण्डलीहरूलाई मदत गर्नुपर्थ्यो। एउटा मण्डलीमा दुई/तीन दिन बिताउँदै प्रतिबन्धको समयमा कसरी सेवकाईमा व्यवस्थित हुने भनी हामी भाइहरूलाई सिकाउँथ्यौं। त्यसपछिका महिनाहरूमा म छ चोटि प्रहरीहरूको पक्राउमा पर्नबाट बचें!
एउटा मण्डलीको कसैले हामीलाई धोका दिंदै स्टासीहरूलाई सहयोग गरिरहेको रहेछ। अतः जुलाई १९५१ मा पल र मलाई बाटोमा पाँच जना मानिसहरूले बन्दूक तेर्साएर पक्रे। अहिले त्यो कुरा सम्झँदा हामी त्यतिबेला यहोवाको संगठनमा त्यति भर नपरेको देखिन्छ। हाम्रा पाका भाइहरूले हामीलाई कहिल्यै सँगै यात्रा नगर्नू भनी सल्लाह दिएका थिए। बढी विश्वस्त भएको कारण हामीले स्वतन्त्रता गुमायौं। यसबाहेक, हामी पक्राउ पऱ्यौं भने के भन्ने भनेर सल्लाह समेत गरेका थिएनौं।
भाइहरूलाई धोका नदिऊँ वा विश्वासको सम्झौता गर्न नपरोस् भनेर जेलको कोठामा रुँदै प्रार्थना गरेर यहोवासित मदत मागें। म सुतेपछि अचानक मेरो साथी पलको स्वर सुनेर ब्यूँझिएँ। स्टासीहरूले उसलाई केरकार गरिरहेको कोठा ठ्याक्क मेरो माथि रहेछ। त्यस रात गर्मी भएकोले कौसीतिरको ढोका खुल्ला रहेछ र मसिनो स्वर भए तापनि मैले सबै सुन्नसक्थें। पछि मलाई केरकार गर्दा मैले पनि उसले जस्तै भनें र अधिकारीहरू छक्क परे। मैले फेरि आमाको मनपर्ने बाइबल पद सम्झें: “संकटको दिनमा मलाई पुकार्। म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्।”—भजन ५०:१५.
हाम्रो केरकारपछि पल र मलाई पुर्पक्षको लागि हेलस्थित स्टासी जेलमा र पछि माग्डेबर्गमा पाँच महिना राखे। माग्डेबर्गमा हुँदा कहिलेकाहीं हाम्रो तत्कालीन बन्द शाखा कार्यालय देख्थें। जेलमा त्यसरी बस्नुभन्दा त्यहाँ काम गर्न पाएको भए कति राम्रो हुन्थ्यो भनी सोच्थें! फेब्रुअरी १९५२ मा हाम्रो सजाय सुनाइयो: “१० वर्ष जेल सजाय र २० वर्ष नागरिक अधिकार निलम्बन।”
जेलमा विश्वास कायम राख्दै
कम्तीमा १० वर्ष सजाय पाएका यहोवाका साक्षीहरूले जेलमा बस्दा केही समय एउटा विशेष चिह्न लगाउनुपर्थ्यो। सुरुवाल र ज्याकेटको एउटा बाहुलामा रातो टेप लगाइदिएको हुन्थ्यो। साथै हाम्रो कोठाबाहिर पनि हामी खतरनाक अपराधीहरू हौं भनी गार्डहरूलाई चेताउनी दिन सानो रातो कागतको टुक्रा राखेको हुन्थ्यो।
अधिकारीहरूले हामीलाई साँच्चै खतरनाक अपराधीहरूको रूपमा हेर्थे। हामीलाई बाइबल राख्न दिंदैनथे र एक जना गार्डले भनेझैं: “यहोवाको साक्षीसित बाइबल हुनु भनेको अपराधीसित बन्दूक हुनु जत्तिकै हो।” बाइबलका केही पदहरू पढ्न हामी रूसी लेखक लिओ टल्सटोइका लेखहरू पढ्थ्यौं किनभने तिनले अक्सर आफ्नो पुस्तकमा बाइबल पदहरू उद्धृत गर्थे। ती बाइबल पदहरू हामीले मुखस्त गर्थ्यौं।
सन् १९५१ मा पक्राउमा पर्नुभन्दा अघि मेरो मगनी एल्सा राइमरसित भएको थियो। तिनी मलाई समय समयमा भेट्न आउँथिन् र खानाका पोकाहरू पठाइदिन्थिन्। तिनले ती पोकाहरूमा आध्यात्मिक खाना पनि लुकाएर पठाउँथिन्। एक चोटि तिनले प्रहरीधरहरा-का केही लेखहरू ससेजमा लुकाएर पठाइन्। गार्डहरूले अक्सर ससेजभित्र केही लुकाएको छ कि भनी हेर्न काटेर हेर्थे तर त्यतिबेलाचाहिं छुट्टि हुनै लागेको समय परेकोले हेरेनन्।
त्यतिबेला कार्ल हाइन्ज क्लाब र म अन्य तीन गैरसाक्षी कैदीहरूसित एउटै कोठामा थियौं। अब तिनीहरूले नदेख्ने गरी प्रहरीधरहरा कसरी पढ्ने? हामीले किताब पढेजस्तो गरेर त्यस किताबभित्र प्रहरीधरहरा-का लेखहरू राख्थ्यौं। ती अनमोल आध्यात्मिक भोजन जेलमा भएका अन्य सँगी साक्षीहरूलाई पनि दिन्थ्यौं।
जेलमा हुँदा अरूलाई परमेश्वरको राज्यबारे बताउने मौकाको फाइदा उठाउँथ्यौं। फलस्वरूप मेरा एक सहकैदी विश्वासी हुँदा रोमाञ्चित भएँ।—मत्ती २४:१४.
पुनः पूर्ण-समय सेवकाईमा
झन्डै छ वर्ष कैदमा बिताएपछि अप्रिल १, १९५७ मा मलाई छोडे। त्यसको दुई हप्तापछि मैले एल्सासित बिहे गरें। स्टासीले म मुक्त भएको सुनेपछि मलाई फेरि थुनामा हाल्न निहुँ खोज्न थाले। यस्तो नहोस् भनेर एल्सा र म सीमा पार गरी पश्चिम बर्लिन गयौं।
हामी पश्चिम बर्लिन पुगेपछि सोसाइटीले हाम्रो के कस्ता योजनाहरू छन् भनी जान्न चाह्यो। हामीले, हामीमध्ये एक जनाले काम गर्ने र एक जनाले अग्रगामी गर्ने कुरा बतायौं।
“दुवै जना अग्रगामी हुनेबारे के विचार छ?” भनी हामीलाई सोधियो।
हामीले जवाफमा भन्यौ: “त्यस्तो गर्नु सम्भव छ भने हामी तुरुन्तै थाल्ने छौं।”
अतः हामीलाई हरेक महिना केही रकम दिइन्थ्यो र १९५८ देखि विशेष अग्रगामीको रूपमा सेवा गर्न थाल्यौं। हामीले बाइबल अध्ययन गरेका व्यक्तिहरूले यहोवाको सेवक हुन जीवनमा परिवर्तनहरू गरेको देख्दा हामी साह्रै हर्षित भयौं! विशेष अग्रगामीको रूपमा बिताएको अर्को दस वर्षमा पति र पत्नीको रूपमा सँगै काम गर्न प्रशिक्षण पायौं। म गाडी मर्मत गरिराख्दा समेत एल्सा मसँगै हुन्थिन्। हामीले सँगै पढ्ने, अध्ययन गर्ने र प्रार्थना गर्ने गर्थ्यौं।
हामीलाई १९६९ मा परिभ्रमण कार्यमा खटाइयो र मण्डलीका प्रत्येक सदस्यहरूको सेवा गर्दै विभिन्न मण्डलीहरूमा काम गऱ्यौं। परिभ्रमण कार्यमा अनुभवी योसेफ बार्थले मलाई यस्तो सल्लाह दिए: “आफ्नो कार्यमा सफल हुन चाहन्छौ भने भाइहरूसित भाइलाई जस्तो व्यवहार गर्नू।” मैले त्यही सल्लाह लागू गर्ने कोसिस गरें।
एल्सालाई १९७२ मा क्यान्सर भएको थाह भयो र शल्यचिकित्सा गरियो। पछि तिनलाई बाथ पनि भयो। पीडामा भए तापनि तिनी मसित हरेक हप्ता मण्डलीहरूमा जान्थिन् र मण्डलीका बहिनीहरूसित सकेसम्म सेवकाईमा जान्थिन्।
आवश्यकताअनुसार छाँटकाँट
सन् १९८४ मा मेरो सासुससुरालाई हेरचाह गर्नु आवश्यक पऱ्यो। त्यसैले परिभ्रमण कार्य छोडेर उहाँहरूको मृत्यु नहुञ्जेल चार वर्षसम्म हेरचाह गऱ्यौं। (१ तिमोथी ५:८) अनि १९८९ मा एल्सा सिकिस्त बिरामी भइन्। खुसीको कुरा तिनी अलि अलि त निको भइन् तर मैले घरको सबै काम गर्नुपर्छ। सधैं पीडामा हुँदा कस्तो हुन्छ भनी मैले अझै बुझ्ने कोसिस गरिरहेको छु। मानसिक तथा भावनात्मक तनाउको बावजूद हामीले आध्यात्मिक कुराहरूप्रति प्रेम कायम राखेका छौं।
खुसीको कुरा, हामी अझै अग्रगामीहरूको सूचीमा छौं। तथापि, महत्त्वपूर्ण कुरा हाम्रो ओहदा वा कति गरिरहेका छौं भन्ने नभई विश्वासी रहनु हो भनी हामीले बुझेका छौं। हाम्रा परमेश्वर यहोवाको केही वर्ष मात्र नभई हामी सघैंभरि सेवा गर्न चाहन्छौं। हामीले अहिले बटुलेका अनुभवहरू भविष्यका लागि राम्रो प्रशिक्षण भएको छ। अनि अत्यन्तै कठिन परिस्थितिहरूमा पनि उहाँको प्रशंसा गर्न यहोवाले हामीलाई बल दिनुभएको छ।—फिलिप्पी ४:१३.
[पादटिप्पणी]
a अर्नस्ट भाउको जीवनी अगस्त १, १९९१, प्रहरीधरहरा, (अंग्रेजी) पृष्ठ २५ देखि २९ मा प्रकाशित भएको थियो।
[पृष्ठ २३-मा भएको चित्र]
मलाई यहाँ माग्डेबर्गमा थुनामा राखेको थियो
[स्रोत]
Gedenkstätte Moritzplatz Magdeburg für die Opfer politischer Gewalt; Foto: Fredi Fröschki, Magdeburg
[पृष्ठ २३-मा भएको चित्र]
हाम्रो १९५७ मा बिहे हुँदा
[पृष्ठ २३-मा भएको चित्र]
अहिले एल्सासित