प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 अगस्त pp. १४-१९
  • सृष्टिकर्तामाथिको विश्‍वास बलियो बनाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सृष्टिकर्तामाथिको विश्‍वास बलियो बनाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धेरै मानिस किन सृष्टिकर्तामाथि विश्‍वास गर्दैनन्‌?
  • तपाईँ सृष्टिकर्तामाथिको विश्‍वास कसरी बलियो बनाउन सक्नुहुन्छ?
  • आफ्नो विश्‍वासलाई कायम राख्नुहोस्‌!
  • विश्‍वास—हामीलाई बल दिने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • केटाकेटी हो, आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 अगस्त pp. १४-१९

अध्ययन लेख ३२

सृष्टिकर्तामाथिको विश्‍वास बलियो बनाउनुहोस्‌

“विश्‍वास भनेको . . . अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण हो।”—हिब्रू ११:१.

गीत ११ सृष्टि गाउँछ यहोवाको महिमा

परिचयa

१. हाम्रो सृष्टिकर्ताबारे तपाईँले के-कस्ता कुराहरू सिक्नुभएको छ?

तपाईँ साक्षी परिवारमा हुर्कनुभएको हो भने तपाईँले सानैदेखि यहोवाबारे धेरै कुरा सिक्नुभएको होला। यहोवा सृष्टिकर्ता हुनुहुन्छ, उहाँको व्यक्‍तित्व मनमोहक छ र मानवजातिको लागि उहाँले मायालु उद्देश्‍य राख्नुभएको छ भनेर तपाईँले सिक्नुभयो।—उत्प. १:१; प्रेषि. १७:२४-२७.

२. सृष्टिकर्तामाथि विश्‍वास गर्नेहरूप्रति कोही-कोही कस्तो दृष्टिकोण राख्छन्‌?

२ तर धेरै मानिस परमेश्‍वर हुनुहुन्छ वा उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो भन्‍ने कुरामा विश्‍वास गर्दैनन्‌। बरु तिनीहरू जीवनको सुरुवात संयोगवश भएको हो र सरल किसिमका जीवहरू बिस्तारै विकसित हुँदै गएर जटिल किसिमका जीवहरू देखा परे भन्‍ने कुरामा विश्‍वास गर्छन्‌। केही विद्वान्‌ले समेत यस्तो धारणा राख्ने गर्छन्‌। विज्ञानले बाइबललाई गलत प्रमाणित गरेको छ अनि अनपढ, कमजोर र सिधासादाले मात्र परमेश्‍वरमाथि विश्‍वास गर्छन्‌ भनेर तिनीहरू भन्‍ने गर्छन्‌।

३. हामीले आफ्नो विश्‍वास बलियो बनाउनु किन आवश्‍यक छ?

३ केही प्रभावशाली व्यक्‍तिको धारणाले यहोवा मायालु सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने हाम्रो विश्‍वासलाई के ढलपल पार्न सक्छ? यो कुरा यहोवा सृष्टिकर्ता हुनुहुन्छ भनेर हामी किन विश्‍वास गर्छौँ, धेरै हदसम्म त्यसमा निर्भर हुन्छ। यहोवा सृष्टिकर्ता हुनुहुन्छ भनेर हामी किन विश्‍वास गर्छौँ? कसैले हामीलाई यस कुरामा विश्‍वास गर्न सिकाएकोले हो कि हामी आफैले समय लगाएर त्यसको प्रमाण जाँचेकोले? (१ कोरि. ३:१२-१५) यहोवाको साक्षी भएको जति नै लामो समय भए पनि हामी सबैले आफ्नो विश्‍वास बलियो बनाइराख्नुपर्छ। यसो गर्दा हामी परमेश्‍वरको वचनविपरीतका कुराहरू सिकाउने मानिसहरूको “खोक्रो अनि छली विचारधाराहरूद्वारा” बहकिनेछैनौँ। (कल. २:८; हिब्रू ११:६) यस लेखले (१) धेरै मानिस किन सृष्टिकर्तामाथि विश्‍वास गर्दैनन्‌, (२) तपाईँ सृष्टिकर्ता यहोवामाथि आफ्नो विश्‍वास कसरी बलियो बनाउन सक्नुहुन्छ र (३) यस्तो विश्‍वासलाई तपाईँ कसरी कायम राख्न सक्नुहुन्छ भनेर बुझ्न मदत गर्नेछ।

धेरै मानिस किन सृष्टिकर्तामाथि विश्‍वास गर्दैनन्‌?

४. हिब्रू ११:१ र फुटनोटअनुसार साँचो विश्‍वास केमा आधारित हुन्छ?

४ केही मानिसको विचारमा विश्‍वास भनेको विना प्रमाण कुनै कुरा पत्याउनु हो। तर बाइबलअनुसार त्यो साँचो विश्‍वास होइन। (हिब्रू ११:१ र फुटनोट पढ्‌नुहोस्‌।) विश्‍वास ठोस प्रमाणमा आधारित हुन्छ भनी बाइबल बताउँछ। हुनत हामी यहोवा, येसु र स्वर्गदूतहरूलाई देख्न सक्दैनौँ तर ती वास्तविक हुन्‌ भनेर हामीले प्रमाण पाएका छौँ। (हिब्रू ११:३) एक जना जीवरसायन शास्त्री जो पछि यहोवाको साक्षी भए, तिनी यसो भन्छन्‌: “हाम्रो विश्‍वास भनेको वैज्ञानिक तथ्यहरूलाई बेवास्ता गर्ने अन्धविश्‍वास होइन।”

५. परमेश्‍वरले जीवनको सुरुवात गर्नुभयो भनेर धेरै मानिस किन विश्‍वास गर्दैनन्‌?

५ तर एउटा प्रश्‍न उठ्‌न सक्छ, ‘सृष्टिकर्ताको अस्तित्वको ठोस प्रमाण हुँदाहुँदै किन धेरै मानिस परमेश्‍वरले जीवनको सुरुवात गर्नुभयो भनेर विश्‍वास गर्दैनन्‌?’ किनभने कसै-कसैले त्यसका प्रमाणहरू कहिल्यै जाँचेका हुँदैनन्‌। रोबर्ट जो अहिले यहोवाको साक्षी हुन्‌, तिनी यसो भन्छन्‌: “स्कुलमा सृष्टिबारे कहिल्यै नसिकाइने भएकोले मलाई सृष्टिकर्ता हुनुहुन्‍न जस्तो लाग्थ्यो। तर म २२ वर्षको छँदा मैले यहोवाका साक्षीहरूलाई भेटेँ र बाइबलबाट सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुराको तर्कपूर्ण र चित्तबुझ्दो प्रमाणहरू पाएँ।”b—“आमाबुबालाई अनुरोध” भन्‍ने पेटी हेर्नुहोस्‌।

आमाबुबालाई अनुरोध

एक बुबा आफ्नो छोरासित “जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न” पुस्तिकाबाट छलफल गर्दै छन्‌।

आमाबुबा हो, तपाईँका छोराछोरीलाई स्कुलमा के-के सिकाइँदै छ, त्यो जान्‍ने कोसिस गर्नुहोस्‌। बाइबल शिक्षाविपरीतका केही कुरा सिकाइँदै छ भनेर थाह पाउनुभयो भने तपाईँ के गर्न सक्नुहुन्छ? हाम्रा प्रकाशनहरू चलाएर बाइबलमा पाइने ठोस प्रमाण केलाउन छोराछोरीलाई मदत गर्नुहोस्‌। छोराछोरीलाई विश्‍वविद्यालय पठाउँदा तिनीहरूको आध्यात्मिक हानि हुन सक्छ भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌ किनकि त्यहाँ धेरैले परमेश्‍वरमाथि विश्‍वास गर्दैनन्‌ र विश्‍वास गर्नेहरूको पनि गिल्ला गर्छन्‌।

६. धेरै मानिस सृष्टिकर्ताको अस्तित्वमा किन विश्‍वास गर्दैनन्‌?

६ केही मानिस भने ‘म आफ्नो आँखाले देख्ने कुरामा मात्र विश्‍वास गर्छु’ भन्‍ने गर्छन्‌। त्यसैले तिनीहरू सृष्टिकर्तामाथि विश्‍वास गर्दैनन्‌। तर तिनीहरू हावाजस्ता नदेखिने कुराहरूमा विश्‍वास गर्छन्‌, जुन वास्तविक हो भन्‍ने कुराको प्रमाण छ। बाइबलमा चर्चा गरिएको विश्‍वास “अहिले नदेखिएका” त्यस्तै अरू “वास्तविकताहरूको” प्रमाणमा आधारित छ। (हिब्रू ११:१) ती प्रमाणहरू केलाउन समय र शक्‍ति लाग्छ तर धेरै मानिस त्यस्तो कोसिस गर्नै चाहँदैनन्‌। आफैले ती प्रमाणहरू नकेलाउने व्यक्‍ति परमेश्‍वर हुनुहुन्‍न भन्‍ने निष्कर्षमा पुग्न सक्छन्‌।

७. के सबै विद्वान्‌ले परमेश्‍वरले ब्रह्‍माण्ड सृष्टि गर्नुभयो भन्‍ने कुरालाई नकार्छन्‌? व्याख्या गर्नुहोस्‌।

७ प्रमाण जाँचिसकेपछि केही वैज्ञानिक परमेश्‍वरले ब्रह्‍माण्ड सृष्टि गर्नुभयो भन्‍ने निष्कर्षमा पुगेका छन्‌।c विश्‍वविद्यालयमा सृष्टिबारे कहिल्यै नसिकाइने भएकोले अगाडि उल्लेख गरिएका रोबर्टजस्तै केही वैज्ञानिकलाई सृष्टिकर्ता हुनुहुन्‍न जस्तो लागेको हुन सक्छ। तर थुप्रै वैज्ञानिकले यहोवाबारे थाह पाए र उहाँलाई प्रेम गर्न थाले। हाम्रो शैक्षिक पृष्ठभूमि जस्तोसुकै भए पनि यी वैज्ञानिकहरूले जस्तै हामी सबैले परमेश्‍वरमाथिको आफ्नो विश्‍वास बलियो बनाउनुपर्छ र यो काम हामी आफैले गर्नुपर्छ।

तपाईँ सृष्टिकर्तामाथिको विश्‍वास कसरी बलियो बनाउन सक्नुहुन्छ?

८-९. (क) अब हामी कुन प्रश्‍नको जवाफ पाउनेछौँ? (ख) सृष्टिबारे अध्ययन गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?

८ तपाईँ सृष्टिकर्तामाथिको आफ्नो विश्‍वास कसरी बलियो बनाउन सक्नुहुन्छ? अब हामी चार वटा तरिकाबारे छलफल गरौँ।

९ सृष्टिबारे अध्ययन गर्नुहोस्‌। जनावरहरू, बोटबिरुवाहरू र ताराहरू अवलोकन गरेर तपाईँ सृष्टिकर्तामाथिको आफ्नो विश्‍वास बलियो बनाउन सक्नुहुन्छ। (भज. १९:१; यसै. ४०:२६) तपाईँ ती कुराहरूबारे जति धेरै अध्ययन गर्नुहुन्छ, यहोवा नै सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा त्यति नै विश्‍वस्त हुनुहुनेछ। हाम्रो सङ्‌गठनका प्रकाशनहरूमा सृष्टिका विभिन्‍न पक्षबारे छलफल गरिएका लेखहरू पाइन्छ। त्यस्ता लेखहरू पूर्णतया बुझ्न नसके पनि ती लेखहरू पढेर त्यसबाट लाभ उठाउने कोसिस गर्नुहोस्‌। साथै हालसालैका वर्षहरूमा अधिवेशनमा देखाइएका सृष्टिसम्बन्धी सुन्दर भिडियोहरू jw.org वेबसाइटमा गएर फेरि हेर्न नबिर्सनुहोस्‌।

१०. सृष्टिकर्ता हुनुहुन्छ भनेर सृष्टिमा भएका कुराहरूले कसरी प्रमाणित गर्छ? एउटा उदाहरण दिनुहोस्‌। (रोमी १:२०)

१० सृष्टिबारे अध्ययन गर्नुहुँदा त्यसबाट सृष्टिकर्ताबारे के सिक्न सकिन्छ भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। (रोमी १:२० पढ्‌नुहोस्‌।) उदाहरणको लागि, सूर्यले हाम्रो जीवनको लागि चाहिने प्रकाश र ताप दिनुका साथै हानिकारक विकिरणहरू पनि फ्याँक्छ। त्यस्ता विकिरणहरूबाट हामी मानिसजातिलाई सुरक्षा चाहिन्छ र त्यस्तो सुरक्षा हामीले पाएका पनि छौँ। कसरी? हाम्रो पृथ्वीको वायुमण्डलमा ओजोन ग्याँसको एउटा तह छ, जसले सूर्यबाट निस्कने हानिकारक विकिरणहरूलाई छेक्ने काम गर्छ। हानिकारक विकिरणहरूको मात्रा जति बढ्‌छ, ओजोन तहमा भएको ग्याँसको मात्रा पनि त्यति नै बढ्‌छ। यो कुरा विचार गर्दा यस प्रक्रियाको पछाडि एक जना मायालु र बुद्धिमान्‌ सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा के तपाईँ सहमत हुनुहुन्‍न र?

११. सृष्टिकर्तामाथि आफ्नो विश्‍वास बलियो बनाउने तथ्यहरू तपाईँ कहाँ पाउन सक्नुहुन्छ? (“विश्‍वास बलियो बनाउन मदत गर्ने केही साधन” भन्‍ने पेटी हेर्नुहोस्‌।)

११ सृष्टिकर्तामाथि आफ्नो विश्‍वास बलियो बनाउने थुप्रै तथ्य थाह पाउन वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) वा यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी र jw.org वेबसाइटमा अनुसन्धान गर्न सक्नुहुन्छ। सुरुमा तपाईँ “सृष्टि या संयोग?” शृङ्‌खलाका लेखहरू र भिडियोहरू हेर्न सक्नुहुन्छ। ती शृङ्‌खलाहरूमा जनावर र बोटबिरुवासम्बन्धी छोटो तर रोचक तथ्यहरू प्रस्तुत गरिएका छन्‌। साथै त्यसमा वैज्ञानिकहरूले प्रकृतिमा भएका कुराहरूको नकल गरेर कस्ता आविष्कारहरू गर्न प्रयास गरेका छन्‌ भन्‍ने उदाहरणहरू पनि पाइन्छ।

विश्‍वास बलियो बनाउन मदत गर्ने केही साधन

एक युवक “के तपाईँको चासो राख्ने सृष्टिकर्ता हुनुहुन्छ?” किताब, “जीवन सृष्टि कि संयोग?” र “जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न” पुस्तिकाहरू र ट्याबलेट प्रयोग गर्दै सृष्टिबारे केही तथ्य अध्ययन गर्दै छन्‌। चित्रहरूको सँगालो: १. डिएनए। २. कमिला। ३. सौर्यमण्डलमा भएका ग्रहहरू।

पुस्तिकाहरू:

जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न

जीवन सृष्टि कि संयोग?

किताबहरू:

के तपाईँको चासो राख्ने सृष्टिकर्ता हुनुहुन्छ? (अङ्‌ग्रेजी)

पत्रिकाहरू:

“सृष्टिकर्ता छ?” अक्टोबर-डिसेम्बर २००६ को ब्यूँझनुहोस्‌!-को विशेष अङ्‌क

भिडियोहरू:

सृष्टिका आश्‍चर्यजनक कुराले परमेश्‍वरको महिमा प्रकट गर्छ (अङ्‌ग्रेजी)

शृङ्‌खलाहरू:

“सृष्टि या संयोग?” ब्यूँझनुहोस्‌! र jw.org मा प्रकाशित हुने शृङ्‌खला

१२. बाइबल अध्ययन गर्दा हामीले के-कस्ता कुराहरूमा ध्यान दिनुपर्छ?

१२ बाइबल अध्ययन गर्नुहोस्‌। अगाडि उल्लेख गरिएका जीवरसायन शास्त्री सुरुमा सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनथे। तर समयको दौडान तिनले सृष्टिकर्ताको अस्तित्वमा विश्‍वास गर्न थाले। तिनी भन्छन्‌: “सृष्टिकर्तामाथि विश्‍वास गर्न मलाई विज्ञानसम्बन्धी आफूले हासिल गरेको ज्ञानले मात्र नभई बाइबलको गहिरो अध्ययनले पनि मदत गरेको थियो।” सायद तपाईँले बाइबलको सही ज्ञान लिइसक्नुभएको छ होला। तैपनि सृष्टिकर्तामाथि आफ्नो विश्‍वास बलियो बनाउन तपाईँले परमेश्‍वरको वचन अध्ययन गरिरहनुपर्छ। (यहो. १:८; भज. ११९:९७) इतिहासमा घटेका घटनाहरूबारे बाइबलले दिने ससाना जानकारीहरूमा ध्यान दिनुहोस्‌। पूरा भएका बाइबल भविष्यवाणीहरूबारे र बाइबल लेखकहरूबीचको आपसी तालमेलबारे पनि विचार गर्नुहोस्‌। त्यसरी अनुसन्धान गर्नुभयो भने एक जना मायालु र बुद्धिमान्‌ सृष्टिकर्ताले हामीलाई बनाउनुभयो र उहाँले नै बाइबल लेख्न प्रेरणा दिनुभयो भन्‍ने कुरामा तपाईँको विश्‍वास बलियो हुन सक्छ।d—२ तिमो. ३:१४; २ पत्रु. १:२१.

१३. परमेश्‍वरको वचनले कस्तो व्यावहारिक सल्लाह दिन्छ? एउटा उदाहरण दिनुहोस्‌।

१३ बाइबल अध्ययन गर्दा यसले दिने सल्लाह कत्ति व्यावहारिक छ भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। उदाहरणको लागि, सयौँ वर्षअघि बाइबलले पैसाको प्रेम हानिकारक हुन्छ र यसले “थुप्रै पीडा” दिन्छ भनेर चेतावनी दिएको थियो। (१ तिमो. ६:९, १०; हितो. २८:२०; मत्ति ६:२४) के त्यो चेतावनी अहिले पनि समय सान्दर्भिक छ? अहम्‌ताको महामारी (अङ्‌ग्रेजी) भन्‍ने किताब यसो भन्छ: “साधारणतया पैसा नै सबै कुरा हो भन्‍ने मानिसहरू तुलनात्मक हिसाबमा निराश छन्‌, खुसी छैनन्‌। धेरै पैसा कमाउने चाहना मात्र राख्नेहरूसमेत मानसिक समस्याले पीडित हुन सक्छन्‌ र शारीरिक समस्या पनि उनीहरूमा धेरै हुने गरेको पाइन्छ।” पैसाको प्रेमबारे बाइबलको चेतावनी कत्ति व्यावहारिक छ, होइन र? तपाईँलाई मदत गरेको अन्य बाइबल सिद्धान्तहरू सम्झन सक्नुहुन्छ कि? हामी बाइबलको सल्लाहको जत्ति धेरै कदर गर्छौँ, हाम्रा मायालु सृष्टिकर्ताको अपार बुद्धिमा त्यत्ति नै भर पर्न उत्प्रेरित हुनेछौँ। (याकु. १:५) परिणामस्वरूप हामी अझ आनन्दित हुन सक्नेछौँ।—यसै. ४८:१७, १८.

१४. बाइबल अध्ययन गरेर तपाईँ यहोवाबारे के सिक्न सक्नुहुन्छ?

१४ अध्ययन गर्नुहुँदा यहोवालाई अझ राम्ररी चिन्‍ने लक्ष्य राख्नुहोस्‌। (युह. १७:३) अध्ययन गर्दै जाँदा तपाईँले यहोवाको व्यक्‍तित्व र उहाँका गुणहरूबारे थाह पाउन सक्नुहुन्छ र ती नै गुणहरू सृष्टिमा पनि झल्किन्छ। यहोवाका गुणहरूबारे सिक्दै जाँदा उहाँ काल्पनिक नभई वास्तविक व्यक्‍ति हुनुहुन्छ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुनुहुनेछ। (प्रस्थ. ३४:६, ७; भज. १४५:८, ९) यहोवालाई जत्ति राम्ररी चिन्दै जानुहुन्छ, त्यत्ति नै तपाईँको विश्‍वास बढ्‌नेछ, उहाँप्रतिको प्रेम प्रगाढ हुनेछ र उहाँसितको मित्रता अझ बलियो हुनेछ।

१५. आफ्नो विश्‍वासबारे अरूलाई बताउँदा कस्तो फाइदा हुन्छ?

१५ परमेश्‍वरमाथिको आफ्नो विश्‍वासबारे अरूलाई बताउनुहोस्‌। यसो गर्दा तपाईँको आफ्नै विश्‍वास पनि बलियो हुनेछ। तर कसैलाई साक्षी दिँदा तिनले परमेश्‍वरको अस्तित्वबारे प्रश्‍न उठाए र तपाईँलाई त्यसको जवाफ दिन आएन भने नि? त्यसबारे हाम्रो कुनै प्रकाशनमा कस्तो बाइबलआधारित जवाफ दिइएको छ, खोज्नुहोस्‌। त्यसपछि ती व्यक्‍तिसित त्यसबारे छलफल गर्नुहोस्‌। (१ पत्रु. ३:१५) तपाईँ कुनै अनुभवी भाइबहिनीको मदत पनि माग्न सक्नुहुन्छ। ती व्यक्‍तिले तपाईँले बाइबलबाट दिनुभएको जवाफ स्विकारे पनि वा नस्विकारे पनि आफ्नो अनुसन्धानबाट तपाईँलाई पक्कै फाइदा हुन्छ। तपाईँको विश्‍वास अझ बलियो हुनेछ। परिणामस्वरूप सृष्टिकर्ता हुनुहुन्‍न भनेर सिकाउने बुद्धिमान्‌ र बुद्धिजीवी कहलिएकाहरूले गर्ने झूटा दाबीहरूले तपाईँको विश्‍वासलाई ढलपल पार्न सक्नेछैन।

आफ्नो विश्‍वासलाई कायम राख्नुहोस्‌!

१६. हामीले आफ्नो विश्‍वास बलियो बनाएनौँ र त्यसलाई कायम राखेनौँ भने के हुन सक्छ?

१६ यहोवाको सेवा गरेको जति नै लामो समय भए पनि हामीले उहाँमाथिको आफ्नो विश्‍वास बलियो बनाउनुपर्छ र त्यसलाई कायम राख्नुपर्छ। किन? किनभने हामी होसियार भएनौँ भने हाम्रो विश्‍वास कमजोर हुन सक्छ। नबिर्सनुहोस्‌, विश्‍वास नदेखिएका वास्तविकताहरूको प्रमाणमा आधारित हुन्छ। जुन कुरा हामी देख्न सक्दैनौँ, त्यो कुरा सजिलै बिर्सन सक्छौँ। विश्‍वासको कमी हुनु भनेको हामीलाई “सजिलै अल्झाउने पाप” हो भनेर पावलले बताए। (हिब्रू १२:१) त्यसोभए हामी त्यो पासोमा नपर्न के गर्न सक्छौँ?—२ थिस्स. १:३.

१७. आफ्नो विश्‍वासलाई कायम राख्न हामीलाई केले मदत गर्छ?

१७ सर्वप्रथम, यहोवासित पवित्र शक्‍ति मागिरहनुहोस्‌। किन? किनभने विश्‍वास पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (गला. ५:२२, २३) पवित्र शक्‍तिको मदतविना हामी सृष्टिकर्तामाथिको विश्‍वास बलियो बनाउन र त्यसलाई कायम राख्न सक्दैनौँ। हामीले यहोवासँग पवित्र शक्‍ति मागिरह्‍यौँ भने उहाँले हामीलाई त्यो दिनुहुनेछ। (लुका ११:१३) हामी तोकेरै यसरी प्रार्थना गर्न सक्छौँ: “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌।”—लुका १७:५.

१८. भजन १:२, ३ अनुसार हामीले कस्तो सुअवसर पाएका छौँ?

१८ साथै नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌। (भजन १:२, ३ पढ्‌नुहोस्‌।) यो भजन रचिँदा इस्राएलमा परमेश्‍वरको व्यवस्थाको पूर्ण लिखित प्रति थोरै मात्र थिए। अनि ती प्रति राजा र पुजारीलगायत केही इस्राएलीसित मात्र हुन्थे। त्यसैले हरेक सात वर्षमा ‘पुरुष, स्त्री, तिनीहरूका छोराछोरी’ र इस्राएलमा बस्ने विदेशीहरूलाई परमेश्‍वरको व्यवस्था पढेर सुनाउने प्रबन्ध मिलाइएको थियो। (व्यव. ३१:१०-१२) येसुको समयमा थोरै मानिससित मात्र धर्मशास्त्रका मुठाहरू हुन्थ्यो। धेरैजसो मुठा सभाघरमा राखिन्थ्यो। तर आज धेरैले परमेश्‍वरको वचनको पूरा वा आंशिक भाग पढ्‌न पाएका छन्‌। त्यो साँच्चै एउटा सुअवसर हो! हामी त्यसको कदर गर्छौँ भन्‍ने कुरा कसरी देखाउन सक्छौँ?

१९. विश्‍वास बलियो बनाइराख्न हामीले के गर्नुपर्छ?

१९ परमेश्‍वरको वचन नियमित रूपमा पढेर हामी त्यसको कदर गरेको कुरा देखाउन सक्छौँ। हामी फुर्सत भएको बेला मात्र बाइबल पढ्‌ने र अध्ययन गर्ने गर्दैनौँ। बरु त्यसको लागि समय छुट्ट्याउँछौँ। अध्ययन गर्ने राम्रो बानी कायम राखेर हामी आफ्नो विश्‍वास बलियो बनाइराख्न सक्छौँ।

२०. हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

२० यस संसारका “बुद्धिमान्‌ र बुद्धिजीवीहरू”-को जस्तो नभई हाम्रो विश्‍वास परमेश्‍वरको वचनमा आधारित छ। (मत्ति ११:२५, २६) त्यो पवित्र शास्त्रको अध्ययन गरेको हुनाले पृथ्वीको अवस्था किन झन्‌झन्‌ बिग्रँदै छ र अब यहोवाले के गर्न लाग्नुभएको छ भन्‍ने कुरा हामीले थाह पाउन सक्यौँ। त्यसैले आउनुहोस्‌, हामी आफ्नो विश्‍वास बलियो बनाउने र अरूलाई सृष्टिकर्तामाथि विश्‍वास गर्न सक्दो मदत गर्ने सङ्‌कल्प गरौँ। (१ तिमो. २:३, ४) अनि हामी त्यस समयको प्रतीक्षा गरौँ, जब पृथ्वीमा भएका सबैले प्रकाश ४:११ मा लेखिएका यी शब्दहरूद्वारा परमेश्‍वरको प्रशंसा गर्नेछन्‌: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँ महिमा . . . ग्रहण गर्न योग्य हुनुहुन्छ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो।”

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • विश्‍वास भनेको के हो र के होइन?

  • तपाईँ कुन-कुन तरिकामा सृष्टिकर्तामाथिको आफ्नो विश्‍वास बलियो बनाउन सक्नुहुन्छ?

  • तपाईँ कसरी आफ्नो विश्‍वासलाई कायम राख्न सक्नुहुन्छ?

गीत २ यहोवा तिम्रो नाम

a यहोवा परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ भनेर बाइबलले स्पष्ट बताउँछ। तर धेरै मानिस यस कुरामा विश्‍वास गर्दैनन्‌। तिनीहरू जीवन आफसेआफ आएको हो भनेर विश्‍वास गर्छन्‌। हामीले परमेश्‍वर र बाइबलमाथि आफ्नो विश्‍वास बलियो बनाएका छौँ भने तिनीहरूको धारणाले हाम्रो विश्‍वासलाई कमजोर पार्न सक्नेछैन। हामी कसरी आफ्नो विश्‍वास बलियो बनाउन सक्छौँ, यस लेखमा छलफल गर्नेछौँ।

b धेरै स्कुलमा परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो भनेर सिकाइँदैन। यस्तो कुरा सिकाउँदा विद्यार्थीको धार्मिक स्वतन्त्रतामाथि दखल पुग्छ भनेर केही शिक्षाविद्‌ बताउने गर्छन्‌।

c सृष्टिकर्तामाथि विश्‍वास गर्ने वैज्ञानिकहरूका साथै ६० जनाभन्दा धेरै विशेषज्ञको टिप्पणी वाच टावर प्रकाशन सूची-मा (अङ्‌ग्रेजी) पाइन्छ। “विज्ञान” विषयअन्तर्गत “वैज्ञानिकहरू सृष्टिबारे आफ्नो विश्‍वास व्यक्‍त गर्छन्‌” भन्‍ने शीर्षक हेर्नुहोस्‌। तीमध्ये केही टिप्पणी यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी किताबमा पनि पाइन्छ। त्यसको लागि “विज्ञान तथा प्रविधि” विषयअन्तर्गत “‘अन्तरवार्ता’ (ब्यूँझनुहोस्‌!-को शृङ्‌खला)” शीर्षक हेर्नुहोस्‌।

d उदाहरणको लागि, अगस्त ८, १९९७ अङ्‌कको ब्यूँझनुहोस्‌!-मा भएको “के बाइबल र विज्ञान मेल खान्छ?” भन्‍ने लेख र मे १, २०१४ अङ्‌कको प्रहरीधरहरा-मा भएको “के कसैले भविष्य देख्न सक्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने