भरोसायोग्य पूर्वानुमानहरूको खोजमा
मेसिडोनियाका राजा महान् सिकन्दर सा.यु.पू. ३३६ मा राजा भएका केही समय नबित्दै मध्य ग्रीसको डेल्फीस्थित वेदीमा गए। तात्कालिन संसारका प्रायजसो सबै भाग आफ्नो कब्जामा लिने तिनको महत्त्वाकांक्षी योजना थियो। तर तिनले आफ्नो महत्त्वाकांक्षी योजना सफल होला कि नहोला भनी ईश्वरीय आश्वासन खोजे। दन्त्य कथाअनुसार, डेल्फीमा पुगेका दिन तिनले दैवी ज्ञान भएको भनी नाउँ कहलिएका व्यक्तिसँग परामर्श लिन सकेनन्। जवाफ नपाई नफर्कने विचारले सिकन्दरले अगमवादिनीलाई अगमवाणी गर्न कर लगाए। हैरान भएर अगमवादिनीले यसो भनिन्: “ए ठिटो, तिमी अजेय छौ!” जवान राजाले यो अगमवाणीलाई राम्रो शकुनको रूपमा लिए अर्थात् आफ्नो सैनिक अभियान सफल हुनेछ भन्ठाने।
तथापि, सिकन्दरले बाइबल पुस्तक दानियलका भविष्यवाणीहरू केलाएका भए आफ्नो अभियानको नतिजाबारे अझ राम्ररी बुझ्न सक्नेथिए। तिनले एकपछि अर्को विजय हासिल गर्दै जानेछन् भनी ती भविष्यवाणीहरूले एकदमै सही पूर्ववाणी गरेका थिए। दानियलले सिकन्दरको बारेमा लेखेका कुरा अन्ततः तिनले पढ्न पाए भनेर त्यति बेलाका प्रचलनले देखाउँछ। यहूदी इतिहासकार जोसेफसअनुसार, मेसिडोनियाका राजा यरूशलेममा जाँदा राजालाई दानियलको भविष्यवाणी देखाइयो। त्यो भविष्यवाणी सम्भवतः दानियल आध्याय ८ थियो। (दानियल ८:५-८, २०, २१) प्राप्त विवरणअनुसार, यसैकारण सिकन्दरका विध्वंसकारी सेनाहरूले यरूशलेम शहर नाश गरेनन्।
अन्तरनिहित मानव आवश्यकता
राजा हून् वा जनसाधारण, प्राचीन समयको वा आधुनिक समयको नै किन नहोस्, मानिसले भविष्यबारे भरोसायोग्य पूर्वानुमानको आवश्यकता महसुस गरेका छन्। बुद्धिमानी सोचविचार गर्नसक्ने प्राणीहरूको हैसियतमा हामी अतीतलाई केलाउँछौं, वर्तमानबारे सचेत हुन्छौं अनि विशेष गरी भविष्यबारे चासो राख्छौं। एउटा चिनियाँ भनाइ एकदमै उपयुक्त छ: “पछि हुने कुराहरू तीन दिन अगाडि देख्ने मानिस हजारौं वर्षसम्म धनसम्पन्न हुनसक्छ।”
वर्षौंका दौडान करोडौं मानिसहरूले ईश्वरीय कुरा बताउनसक्ने भनी विश्वास गरेकाहरूसँग परामर्श लिएर भविष्य जान्ने प्रयास गर्दै आएका छन्। उदाहरणका लागि, पुरातन युनानीहरूलाई लिनुहोस्। आफ्नो राजनैतिक वा सैनिक कामकुरा के कस्तो हुने हो, साथै यात्रा, बिहेबारी अनि छोराछोरी जस्ता निजी मामिलाहरूमा देवहरूको राय बुझ्ने थुप्रै पवित्र वेदीहरू थिए। जस्तै, डेल्फी, डेलोस अनि डोडोना इत्यादि। राजा अनि सेनापतिहरू मात्र होइनन् तर सबै जनजाती अनि शहर तथा प्रान्त-प्रान्तका सबै मानिसहरू दैवी ज्ञान भएका भनेर कहलिएका व्यक्तिमार्फत देवहरूको डोऱ्याइ खोज्थे।
एक प्राध्यापकअनुसार, अहिले “भविष्यबारे अध्ययन गर्ने संगठनहरू अकस्मात् छ्यासछ्यास्ती बढेका छन्।” यद्यपि, थुप्रैले भविष्यवाणीको एक मात्र अकाट्य स्रोत बाइबललाई बेवास्ता गर्छन्। आफूले खोजिरहेको कुरा बाइबल भविष्यवाणीमा पाइन्छ भनेर तिनीहरू ठाडै इन्कार गर्छन्। केही शास्त्रविद्हरू त बाइबलका भविष्यवाणी र दैवी ज्ञान भएका भनेर कहलिएका प्राचीन समयका मानिसहरूले गरेका पूर्वानुमानहरू एउटै हुन् भन्न समेत पछि परेका छैनन्। अनि आधुनिक समयका शंकालु व्यक्तिहरू बाइबलका भविष्यवाणीप्रति पक्षपात गर्छन्।
हामी भन्छौं, तपाईंहरू आफैले बाइबल लेखोट जाँच्नुहोस्। बाइबलका पूर्वानुमान र दैवी ज्ञान भएका भनेर कहलिएका व्यक्तिका कुराहरू होसियारीपूर्वक दाँज्दा के पत्ता लाग्छ? के तपाईं पुरातन देववाणीहरूभन्दा बाइबल भविष्यवाणीमाथि बढी भरोसा गर्न सक्नुहुन्छ? अनि के तपाईं आफ्नो जीवन बाइबल भविष्यवाणीहरूमा केन्द्रित गर्न सक्नुहुन्छ?
[पृष्ठ ३-मा भएको चित्र]
सिकन्दरले एकपछि अर्को विजय हासिल गर्नेछन् भनी बाइबलले भविष्यवाणी गरेको थियो
[स्रोत]
Cortesía del Museo del Prado, Madrid, Spain
[पृष्ठ ४-मा भएको चित्र]
महान् सिकन्दर
[स्रोत]
Musei Capitolini, Roma
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
COVER: General Titus and Alexander the Great: Musei Capitolini, Roma