रिसले तपाईंलाई नपछारोस्
“आँखा चिम्म गरेर लामो सास फेर!” “एकदेखि दस गन!” “चुप लाग!” के तपाईंले यी वाक्यांशहरू सुन्नुभएको छ? जरङ्ङ रिस उठ्दा सायद मनमनै आफैलाई यी शब्दहरू भन्नुभएको होला। कोही कोही रिसको झोंकमा काम नबिग्रियोस् भनेर रिस उठ्ने बित्तिकै जुरुक्क उठेर बाहिरतिर लाग्छन्। यी त भए, रिसलाई थाम्ने अनि अरूसितको सम्बन्धलाई जोगाउने केही सरल तरिकाहरू।
तथापि, रिस थाम्नु ठीक हो कि होइन भन्ने विषयमा हालै पेशेवरहरूले विरोधाभाष सुझाउहरू दिन थालेकाले थुप्रै मानिसहरू अन्योलमा परेका छन्। उदाहरणका लागि, केही मनोवैज्ञानिकहरूले “तपाईंलाई हल्का महसुस हुन्छ भने” रिस पोख्नुहोस् भन्ने सुझाउ दिए। अन्य कतिपयले चाहिं सधैं जंगिने बानीले “धूम्रपान, उच्च रक्तचाप अनि उच्च कोलेस्ट्रोलजस्ता स्वास्थ्यमा हानि पुऱ्याउने खतराहरूले भन्दा पनि छिट्टै मृत्युको मुखमा पुऱ्याउँछ” भनेका छन्। परमेश्वरको वचनले भने प्रस्टै यो बताएको छ: “रिसाउन छोड़ र क्रोधलाई त्याग्। व्याकुल नहो, यसले खराबी गर्नतिर ढल्काउँछ।” (भजन ३७:८) बाइबलले यसरी तोकेरै सल्लाह दिनुको कारण के हो?
आफ्ना भावनाहरूलाई बेलगाम छोड्दा काम पनि त्यस्तै हुन्छ। मानव इतिहासको सुरुमै यो कुरा चरितार्थ भएको हामी देख्छौं। हामी यस्तो लेखिएको पढ्छौं: “कयिन ज्यादै रिसाए, र तिनको मुख अँध्यारो भयो।” अनि त्यसपछि? रिसले चूर भएर तिनले आँखै देखेनन्, यहाँसम्म कि तिनको हृदय यत्ति कठोर भयो, यहोवाले होसियार गराउनुभएको सल्लाहलाई तिनले वास्तै गरेनन्। रिस थाम्न नसक्दा कयिनले जघन्य पाप गरे अर्थात् आफ्नै भाइको हत्या गरे।—उत्पत्ति ४:३-८.
मानिसहरूले दाऊदको निकै प्रशंसा गर्दा इस्राएलका प्रथम राजा शाऊल पनि त्यसरी नै रिसाए। “स्त्रीहरू आनन्दित भएर यसो भनेर गाउँदथिए, ‘शाऊलले हजारौं हजारलाई ध्वंस गरे, तर दाऊदले ता लक्खौं लाखलाई ध्वंस गरे।’ शाऊल साह्रै रिसाए, र ती शब्दहरूले तिनलाई साह्रै चोट लाग्यो।” तिनी रिसले आगो भए फलस्वरूप, निकै पटक दाऊदलाई मार्ने कोसिस गरे। दाऊदले मेलमिलाप गर्ने प्रस्ताव राखे तापनि शाऊल सुलह गरेर राम्रो सम्बन्ध कायम गर्न इच्छुक भएनन्। आखिरमा तिनले यहोवाको अनुमोदन नै गुमाए।—१ शमूएल १८:६-११; १९:९, १०; २४:१-२१; हितोपदेश ६:३४, ३५.
अतः रिसलाई वशमा नराख्ने व्यक्तिले सम्बन्धित सबै व्यक्तिहरूलाई पक्कै पनि चोट पुग्ने कुरा वा काम गरी छोड्छ। (हितोपदेश २९:२२) कयिन र शाऊल रिसाए किनकि तिनीहरू दुवै डाही भए, ईर्ष्यालु भए। तथापि, थुप्रै कारणहरूले गर्दा रिस उठ्नसक्छ। बेमनासिबको आलोचना, लाञ्छना, गलतफहमी वा भेदभावले रिस दन्काउन आगोको झिल्काको काम गर्नसक्छ।
कयिन र शाऊल दुवै एउटै कमजोरीले गर्दा अनियन्त्रित रिसको सिकार भए। भेटी चढाउँदा कयिन विश्वासद्वारा उत्प्रेरित भएका थिएनन्। (हिब्रू ११:४) शाऊलले चाहिं यहोवाको आज्ञा पालन गरेनन् र सम्झाउँदा पनि सफाइ मात्र पेश गर्न खोजेकाले परमेश्वरको अनुमोदन र आत्मा दुवै गुमाए। स्पष्टतः यी दुवै पुरुषहरूले यहोवासितको आफ्नो सम्बन्धमा फाटो आउने मौका दिए।
अब तिनीहरूको त्यस्तो व्यवहारलाई दाऊदको व्यवहारसित तुलना गरेर हेर्नुहोस्। शाऊलको व्यवहारदेखि रिसाउने थुप्रै कारण तिनीसित थियो। तर दाऊदले आफ्नो भावनालाई वशमा राखे। किन? तिनले भने: “मैले आफ्ना मालिक, परमप्रभुका अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्। उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ।” यहोवासितको आफ्नो सम्बन्धलाई दाऊद सधैं मनमा राखिरहन्थे र यसले शाऊलसित तिनको व्यवहारलाई पनि असर गरेको थियो। तिनले नम्रतासाथ आफ्नो अवस्था यहोवाको हातमा सुम्पे।—१ शमूएल २४:६, १५.
निस्सन्देह, अनियन्त्रित रिसको असर गम्भीर हुन्छ। प्रेरित पावलले यस्तो चेताउनी दिए: “क्रोध गर, तर पाप नगर।” (एफिसी ४:२६) उचित रिस गर्नु ठीकै भए तापनि रिसले हामीलाई पछार्नसक्ने खतरा सधैं नै हुन्छ। त्यसैले त रिसलाई नियन्त्रण गर्नु हाम्रो निम्ति चुनौती समान भएको छ। उसोभए, हामी कसरी रिसलाई नियन्त्रणमा राख्नसक्छौं त?
पहिलो तरिका त यहोवासित बलियो सम्बन्ध विकास गर्नु हो। उहाँ तपाईंलाई आफ्नो मन अनि हृदयको कुरा पोखाउने प्रोत्साहन दिनुहुन्छ। उहाँलाई आफ्नो चिन्ता, फिक्री आदि बताउनुहोस् र रिसलाई परास्त गर्न हृदयलाई शान्त पार्ने मदत माग्नुहोस्। (हितोपदेश १४:३०) “प्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका अन्तरबिन्तीतिर खुला हुन्छ” भन्ने कुरामा ढुक्क हुनुहोस्।—१ पत्रुस ३:१२.
प्रार्थनाले तपाईंलाई असर गर्नसक्छ, डोऱ्याउनसक्छ। कुन तरिकामा? यसले अरूसितको तपाईंको सम्बन्धमा गहिरो असर पुऱ्याउनसक्छ। यहोवाले तपाईंसित गर्नुभएको व्यवहार सम्झनुहोस्। धर्मशास्त्रअनुसार यहोवाले “हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन।” (भजन १०३:१०) “शैतानको केही दाउ नलागोस्” भन्ने चाहनुहुन्छ भने तपाईं क्षमावन्त हुनु नितान्त आवश्यक छ। (२ कोरिन्थी २:१०, ११) यसबाहेक, प्रार्थना गर्दा तपाईंको हृदयले पवित्र आत्माको डोऱ्याइ खोज्छ र त्यसले हाम्रो जीवनशैलीका कारण जरा गाडेर रहेका बानीहरूलाई पूरै हटाउनसक्छ। यहोवा खुसीसाथ ‘सारा समझलाई माथ गर्ने शान्ति’ दिनुहुन्छ, जसले तपाईंलाई रिसको बलियो जकडबाट मुक्त पार्नसक्छ।—फिलिप्पी ४:७.
तथापि, प्रार्थनाको साथसाथै हामीले ‘यहोवाको इच्छा बुझ्न’ नियमित तवरले धर्मशास्त्र पनि जाँच्नुपर्छ। (एफिसी ५:१७; याकूब ३:१७) रिसलाई नियन्त्रण गर्न साह्रै गाह्रो भइरहेको छ भने, सम्बन्धित विषयमा यहोवाको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस्। विशेष गरी रिसलाई नियन्त्रण गर्ने शास्त्रपदहरू सम्झनुहोस्।
प्रेरित पावल यो महत्त्वपूर्ण कुरा स्मरण गराउँछन्: “सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) अरूको भलाइ गर्ने विचार तथा काम गर्नुहोस्। यस्ता स्वास्थ्यकर सकारात्मक क्रियाकलापले समानुभूति र भरोसा राख्न प्रोत्साहन दिनेछ र तुरुन्तै रिस उठाउनसक्ने गलतफहमीलाई कम गर्नेछ।
भजनरचयिताले भने: “तपाईंको वचनमा मेरा पाइलाहरू लगाइदिनुहोस्, र कुनै अधर्मले ममाथि राज्य गर्न नपाओस्। तपाईंको व्यवस्थामा प्रेम राख्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारणै रहँदैन।” (भजन ११९:१३३, १६५) यो तपाईंमा पनि सत्य साबित हुनसक्छ।
[पृष्ठ ९-मा भएको पेटी/चित्र]
रिस थाम्ने तरिकाहरू
□ यहोवालाई प्रार्थना गर्नुहोस्।—भजन १४५:१८.
□ दिनहुँ धर्मशास्त्र जाँच्नुहोस्। —भजन ११९:१३३, १६५.
□ लाभदायी काममा व्यस्त हुनुहोस्। —गलाती ६:९, १०.