“साँच्चै जीवनको” आनन्द उठाउनुहोस्
यहोवा परमेश्वरले मानिसलाई अनन्तताको ज्ञान दिनुभएको छ। (उपदेशक ३:११) त्यसैकारण मानिसले मृत्युसमक्ष निस्सहाय महसुस गरे तापनि उसको बाँचिरहने तीव्र इच्छा मर्दैन।
परमेश्वरको प्रेरित वचन पवित्र बाइबलले हामीलाई गहकिलो आशा दिन्छ। (२ तिमोथी ३:१६) प्रेमको अमूर्त रूप यहोवा परमेश्वरले मानिसलाई अनन्तता बुझ्ने क्षमताको साथमा दुई दिने जिन्दगी मात्र दिनुभएको हुनसक्दैन। परमेश्वरले हामीलाई कर्मको लेखा भोग्नकै लागि बनाउनुभएको हो भन्ने धारण परमेश्वरको व्यक्तित्वसित कदापि मेल खान सक्दैन। हामी “बेसमझका प्राणीहरूझैं पकराउ परेर नाश हुनालाई चैतन्यहीन पशुझैं” सृजिएका होइनौं।—२ पत्रुस २:१२.
यहोवा परमेश्वरले आदम र हव्वालाई अनन्तताको चेतनासहित सृजनु हुँदा उहाँले “साह्रै राम्रो” सृजना गर्नुभएको थियो; तिनीहरूलाई सधैंभरि बाँच्ने क्षमतासहित सृजनुभएको थियो। (उत्पत्ति १:३१) तर दुःखको कुरा, प्रथम मानव दम्पतीले आफ्नो स्वतन्त्र इच्छाको दुरुपयोग गरे। तिनीहरूले सृष्टिकर्ताले कडाइका साथ लगाउनुभएको प्रतिबन्ध उल्लंघन गरे र आफूले पाएको मौलिक सिद्धता गुमाए। फलस्वरूप, तिनीहरू मरे अनि आफ्नो असिद्धता र मृत्यु आफ्ना सन्तान, दर सन्तानलाई पनि सारिदिए।—उत्पत्ति २:१७; ३:१-२४; रोमी ५:१२.
बाइबलले जीवनको उद्देश्य र मृत्युको अर्थलाई रहस्यमय कुराले बेह्रेको छैन। बाइबलले मृत्युपछि “नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ” किनकि “मरेकाहरूले ता केही पनि जान्दैनन्” भनी बताएको छ। (उपदेशक ९:५, १०) अर्को शब्दमा भन्ने हो भने मरिसकेको मानिस अरू कुनै अवस्था वा तरिकामा जीवित हुँदैन। आत्मा अमर हुन्छ भन्ने शिक्षा बाइबलले सिकाउँदैन। अतः, मृत व्यक्तिहरू कुन अवस्थामा होलान् भनेर जान्न कुनै गुत्थी सुल्झाउनु पर्दैन।—उत्पत्ति ३:१९; भजन १४६:४; उपदेशक ३:१९, २०; इजकिएल १८:४.a
परमेश्वरको उद्देश्य छ; उहाँले यो पृथ्वी “व्यर्थको वस्तु” सृष्टि गर्नुभएको होइन। उहाँले प्रमोदवनरूपी अवस्थामा सिद्ध मानवहरूद्वारा “आबाद गर्नलाई” पृथ्वी बनाउनुभयो र परमेश्वरले आफ्नो उद्देश्य परिवर्तन गर्नुभएको छैन। (यशैया ४५:१८; मलाकी ३:६) यसैलाई पूरा गर्न उहाँले आफ्नो पुत्रलाई यस पृथ्वीमा पठाउनुभयो। मृत्युसम्मै विश्वासी रहेर येशू ख्रीष्टले मानिसजातिलाई पाप र मृत्युबाट छुटकारा दिनुभयो। वास्तवमा, येशूले यसो भन्नुभयो: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”—यूहन्ना ३:१६.
धेरै अघि परमेश्वरले “नयाँ आकाश र नयाँ पृथ्वी” सृष्टि गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो। (यशैया ६५:१७; २ पत्रुस ३:१३) यसमा उहाँले स्वर्गीय जीवन बिताउन विश्वासी सीमित मसीहीहरू छान्नु पनि समावेश थियो। येशू ख्रीष्टसित मिलेर तिनीहरूले सरकार गठन गर्नेथिए। बाइबलले यसलाई “स्वर्गको राज्य” अथवा “परमेश्वरको राज्य” भन्छ र यसले ‘पृथ्वीका सबै कुरामाथि’ प्रशासन चलाउनेछ। (मत्ती ४:१७; १२:२८; एफिसी १:१०; प्रकाश ५:९, १०; १४:१, ३) यस पृथ्वीबाट अभक्तहरू सबैलाई नाश गरिसकेपछि र यसलाई शुद्ध पारेर परमेश्वरले धार्मिक नयाँ मानव समाज अथवा “नयाँ पृथ्वी” खडा गर्नुहुनेछ। यस दुष्ट रीतिरिवाजको अत्यन्त नजिक आएको विनाशबाट परमेश्वरले जोगाउनु भएका मानिसहरू यसमा रहनेछन्। (मत्ती २४:३, ७-१४, २१; प्रकाश ७:९, १३, १४) प्रतिज्ञा गरिएबमोजिम पुनरुत्थान भएर फेरि जीवित हुनेहरू यिनीहरूसित सम्मिलित हुनेछन्।—यूहन्ना ५:२८, २९; प्रेरित २४:२५.
त्यसपछि “साँच्चै जीवन”
भावी पार्थिव प्रमोदवनमा हुने रोमाञ्चकारी जीवनको पुस्टि दिनुहुँदै परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म सब कुरा नयाँ तुल्याउँछु।” (प्रकाश २१:५) परमेश्वरले मानिसजातिको लागि गर्नुहुने उदेकलाग्दा कुराहरू बुझ्न मानिसजाति असमर्थ छ। परमेश्वरले सारा संसारभरि अदनजस्तै प्रमोदवन बनाउनुहुनेछ। (लूका २३:४३) अदनमा जस्तै त्यहाँ पनि सुन्दर तथा रंगीचंगी संसार हुनेछ, कर्णप्रिय आवाज तथा मुखै रसाउने खाद्यपदार्थहरू प्रशस्त हुनेछन्। गरिबी, अनिकाल फेरि हुनेछैन, किनकि त्यस समयबारे बाइबल यसो भन्छ: “पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश २१:४; भजन ७२:१६) रोगबिमार सदाका लागि अन्त गरिने भएकोले त्यहाँ कसैले पनि “म बिरामी परें” भन्ने छैनन्। (यशैया ३३:२४) हो, मानिसजातिको पुरानो शत्रु मृत्युलगायत दुःखी हुनुपर्ने हर कारण मेटाइनेछ। (१ कोरिन्थी १५:२६) ख्रीष्टको राज्य अधीनस्थ नयाँ मानव समाज अर्थात् “नयाँ संसार[को]” उदेकलाग्दो दर्शन देख्दा यूहन्नाले यस्तो आवाज सुने: “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन।” यस ईश्वरीय प्रतिज्ञा पूरा हुँदा पाइने अथाह सान्त्वना तथा आनन्द के अरू कुनै थोकले देला र?
भावी जीवनबारे वर्णन गर्दा बाइबलले विशेष गरी मानिसको नैतिक तथा आध्यात्मिक तृष्णा सन्तुष्ट हुने परिस्थितिमा विशेष जोड दिन्छ। असल मनसायले मानिसले अहिलेसम्म गरेको असफल संघर्षहरू पनि सफल हुनेछन्। (मत्ती ६:१०) यी संघर्षहरूमध्ये न्याय पाउने इच्छा पनि एक हो किनकि, अत्याचारीहरूले कमजोर र निर्धाहरूलाई दुःख दिने भएकाले मानिसले अक्सर न्याय पाएका छैनन्। (उपदेशक ८:९) ख्रीष्टको शासनअन्तर्गत हुने अवस्थाबारे भजनरचयिताले यसरी अग्रिमवाणी गरे: “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ।”—भजन ७२:७.
समान हक एउटा अर्को धोको हो। यसका लागि थुप्रैले त्यागहरू गरेका छन्। परमेश्वरले गर्नुहुने “नयाँ सृष्टिमा” यस्तो किसिमको भेदभाव हटाउनु पनि समावेश छ। (मत्ती १९:२८) सबैको समान हक अनि मानमर्यादा हुनेछ। तथापि यो समानता कुनै क्रूर शासकले जबरजस्ती थोपारेको जस्तो समानता भने पटक्कै हुनेछैन। बरु, अरूमाथि हैकम जमाउन उत्प्रेरित गर्ने कारक, स्वार्थ तथा घमण्ड अनि सरसम्पत्ति थुपार्ने इच्छालाई नै पूर्णतया हटाइनेछ। यशैयाले यस्तो भविष्यवाणी गरे: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन।”—यशैया ६५:२१, २२.
व्यक्ति व्यक्तिबीच अनि समूह समूहबीचको रक्तपातको कारण मानिसले कत्ति दुःख पाएका छन्, उल्लेख गरिरहनु नपर्ला! हाबिलको हत्यादेखि आजसम्म यस्तो रक्तपात चल्दै आएको छ। मानिसले शान्ति स्थापित होला भनी चाह गर्नु, बिनसित्ति आशा गरे वा कुरेजत्तिकै भइसक्यो! पुनःस्थापित प्रमोदवनमा सारा मानिसहरू शान्तप्रिय र विनम्र हुनेछन्। तिनीहरूले “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:११.
यशैया ११:९ यसो भन्छ: “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” वंशाणुगत असिद्धतालगायत थुप्रै कारणहरूले गर्दा यी शब्दमा लुकेका प्रत्याशाहरूलाई हामीले पूर्णतया बुझ्न सक्दैनौं। परमेश्वरको सिद्ध ज्ञानले हामीलाई उहाँसित कसरी एकताबद्ध तुल्याउनेछ र यो ज्ञान पूर्ण रमाहटको कारण कसरी हुनेछ, त्यो सिक्न बाँकी नै छ। तथापि, धर्मशास्त्रले यहोवा शक्ति, बुद्धि, न्याय र प्रेमको अद्भुत परमेश्वर हुनुहुन्छ भनेको हुँदा त्यो “नयाँ संसार[का]” बासिन्दाहरूको सम्पूर्ण प्रार्थना उहाँले सुन्नुहुन्छ भनी हामी निश्चिन्त हुनसक्छौं।
“साँच्चै जीवन” वास्तविकता हो —हातबाट फुत्कन नदिनुहोस्!
थुप्रैको निम्ति उत्तम संसारमा अनन्त जीवन बिताउनु केवल सपना वा मृगतृष्णा भएको छ। तथापि, बाइबलको प्रतिज्ञामा साँच्चै विश्वास गर्नेहरूका लागि यो आशा वास्तविक आशा हो। यो तिनीहरूको जीवनको लंगर हो। (हिब्रू ६:१९) जसरी लंगरले जहाजलाई स्थिर बनाउँछ र हिलोमा भासिनदेखि जोगाउँछ, त्यसरी नै अनन्त जीवनको आशाले मानिसहरूलाई स्थिर, निर्धक्क बनाउनुका साथै जीवनमा आइपर्ने गम्भीर समस्याहरूसित जुझ्न मदत गर्छ।
परमेश्वरले पक्कै पनि आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भनेर हामी ढुक्क हुनसक्छौं। उहाँले शपथ खानुभएर, ग्यारेन्टीसमेत दिनुभएको छ। प्रेरित पावलले लेखे: “जब परमेश्वरले आफ्नो कहिल्यै बदलिन नसक्ने उद्देश्य प्रतिज्ञाका हकदारहरूलाई झन् छर्लङ्गसँग देखाइदिने इच्छा गर्नुभएथ्यो, तब उहाँले शपथबाटनै पुष्टि गर्नुभयो। यसरी यी दुइ कहिल्यै बदलिन नसक्ने कुराबाट, जसमा परमेश्वरलाई झूट बोल्न असम्भव छ, . . . हाम्रो सामनेमा राखिदिएको आशा ग्रहण गर्नालाई उत्कट उत्साह होस्।” (हिब्रू ६:१७, १८) परमेश्वर कहिल्यै नतर्कनुहुने “यी दुइ कहिल्यै बदलिन नसक्ने कुरा” उहाँको प्रतिज्ञा अनि शपथ हुन् जसमा हाम्रा प्रत्याशाहरू आधारित छन्।
परमेश्वरको प्रतिज्ञामाथिको विश्वासले अथाह सान्त्वना र आध्यात्मिक बल प्रदान गर्छ। इस्राएलीहरूका नेता यहोशूसित यस्तै विश्वास थियो। यहोशूले इस्राएलीहरूलाई आफ्नो अन्तिम बिदाइ भाषण दिंदा तिनी वृद्ध भइसकेका थिए र आफ्नो मृत्यु नजिकै छ भनेर तिनलाई थाह थियो। यद्यपि, तिनले परमेश्वरका प्रतिज्ञाहरूमाथिको पूर्ण भरोसाद्वारा उत्पन्न बल अनि अटुट वफादारी व्यक्त गरे। सम्पूर्ण मानिसजातिलाई मृत्युतर्फ डोऱ्याउने मार्ग अर्थात् “सबै मानव जातिको रीतिमा” जाँदैछु भनिसकेपछि यहोशूले भने: “परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।” हो, आफूले गर्नुभएका सबै प्रतिज्ञा परमेश्वरले सधैं पूरा गर्नुहुन्छ भनेर यहोशूले तीनपटक दोहऱ्याए।—यहोशू २३:१४.
परमेश्वरको प्रतिज्ञाबमोजिम चाँडै स्थापित हुन लागेको नयाँ संसारमाथि तपाईंले पनि यस्तै विश्वास प्रकट गर्न सक्नुहुन्छ। लगनशील भई बाइबल अध्ययन गरेर तपाईंले यहोवा को हुनुहुन्छ र उहाँ पूर्ण भरोसाको योग्यको किन हुनुहुन्छ, बुझ्नुहुनेछ। (प्रकाश ४:११) अब्राहाम, सारा, इसहाक, याकूब तथा पुरातन समयका अन्य विश्वासी जनहरूसित साँचो परमेश्वर यहोवाबारे आफूले सिकेका गहन कुराहरूमा आधारित अटुट विश्वास थियो। जीवितै छँदा “यी सबै प्रतिज्ञाहरू नपाईकन” पनि तिनीहरू आफ्नो आशामा स्थिर रहे। तिनीहरूले “तिनीहरूलाई [“प्रतिज्ञाहरूलाई,” NW] टाढ़ैबाट देखेर स्वागत” गरिरहे।—हिब्रू ११:१३.
बाइबलका भविष्यवाणीहरू बुझेर हामी अहिले पृथ्वीलाई सम्पूर्ण दुष्टताबाट सफा पारिने समय अर्थात् “सर्वशक्तिमान परमेश्वरको ठूलो दिन” नजिकिंदै गइरहेको समयमा रहेछौं भनेर देखिरहेका छौं। (प्रकाश १६:१४, १६) पुरातन समयका विश्वासी जनहरूझैं हामी पनि भावी घटनाहरू पूरा हुनेछन् भनेर निर्धक्क हुनुपर्छ र विश्वासका साथै परमेश्वर र “साँच्चै जीवन[प्रतिको]” प्रेमले उत्प्रेरित हुनुपर्छ। नजिकिंदै गएको नयाँ संसारले यहोवामाथि विश्वास राख्नेहरू र उहाँलाई प्रेम गर्नेहरू सबैलाई बलियो उत्प्रेरणा प्रदान गर्छ। परमेश्वरको अनुमोदन पाउन र छिट्टै आउने उहाँको दिनबाट बच्न हामीले यस्तो विश्वास अनि प्रेम खेती गर्नैपर्छ।—सपन्याह २:३; २ थिस्सलोनिकी १:३; हिब्रू १०:३७-३९.
त्यसोभए, के तपाईंलाई जिन्दगीको माया लाग्छ? अनि के तपाईंलाई अझ “साँच्चै जीवन[को]” अर्थात् आनन्दित भविष्य अनि अनन्त जीवनको आशासहितको परमेश्वरले ग्रहण गर्नुहुने सेवकले बिताउने जिन्दगी मन पर्छ? तपाईंले यस्तै जीवन खोजिरहनुभएको छ भने, प्रेरित पावलले दिएको यो सल्लाह पालन गर्नुहोस्। तिनले ‘अनिश्चित सम्पत्तिमा होइन, तर परमेश्वरमाथिनै आशा राख्नुपर्छ’ भनेर लेखे। पावल अझै लेख्छन्: “जो साँच्चै जीवन हो, सो पक्री” राख्नसक्न “असल काममा उदारचित्त भएर धनवान होऊ” ताकि परमेश्वरको आदर होस्।—१ तिमोथी ६:१७-१९.
यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने प्रस्ताव स्वीकारेर तपाईंले पनि “अनन्त जीवन[को]” ज्ञान हासिल गर्नसक्नुहुन्छ। (यूहन्ना १७:३) खुसीको कुरा, बुबाले दिनुभएको यो निम्तोलाई बाइबलले रेकर्ड गरेको छ: “हे मेरो छोरो, मेरो अर्तीलाई नभूल्, तर मेरो आज्ञालाई तेरो हृदयमा जोगाइराख्। किनभने त्यसले तँलाई दीर्घायु र धेरै वर्ष र तँलाई उन्नति पनि दिन्छन्।”—हितोपदेश ३:१, २.
[फुटनोट]
a विस्तृत विवरणका लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित मृत्युपछि हामीलाई के हुन्छ? पुस्तिका हेर्नुहोस्।