के यहोवाले हामीबाट अचाक्ली माग गर्नुहुन्छ?
“परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्वरसित नम्र भएर हिंड़नू।”—मीका ६:८.
१. कोही कोहीले यहोवाको सेवा नगर्नूको कारण के हुनसक्छ?
यहोवा आफ्ना जनहरूबाट केही चाहनुहुन्छ। तर मीकाका भविष्यवाणीबाट उद्धृत गरिएको माथि उल्लिखित शब्दहरू पढेपछि तपाईं परमेश्वरका मागहरू व्यवहारिक छन् भन्ने निष्कर्षमा पुग्नु होला। यद्यपि, थुप्रैले हाम्रो महान् सृष्टिकर्ताको सेवा गर्दैनन् र कोही कोहीले पहिले सेवा गर्थे तर अहिले छोडेका छन्। किन? किनभने तिनीहरूको विचारमा परमेश्वरले हामीबाट अचाक्ली माग गर्नुहुन्छ। तर के साँच्चै उहाँले हामीबाट अचाक्ली माग गर्नुहुन्छ? अथवा यहोवाले हामीसित माग्नुभएका कुराहरूप्रति सही मनोवृत्ति नभएकोले समस्या उत्पन्न भएको हो कि? यस विषयमा अन्तरदृष्टि पाउन एउटा ऐतिहासिक विवरण विचार गर्नसक्छौं।
२. नामान को थिए र यहोवाको अगमवक्ताले तिनलाई के गर भने?
२ आरामी सेनापति नामानलाई कोर लागेको थियो। इस्राएलमा तिनलाई निको पार्नसक्ने यहोवाको एक जना अगमवक्ता छ भनेर बताइएको थियो। त्यसैले नामान आफ्ना लावालस्करसहित इस्राएलमा परमेश्वरको अगमवक्ता एलीशाको घर गए। आफ्नो विशिष्ट पाहुनालाई भेट्न जानुको सट्टा एलीशाले आफ्नो नोकर मार्फत नामानलाई यस्तो सन्देश पठाए: “गएर यर्दन नदीमा सातपल्ट डुबुल्की मार, र तिम्रो शरीर ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।”—२ राजा ५:१०.
३. नामानले किन सुरुमा यहोवाले भन्नु भएअनुसार गर्न अस्वीकार गरे?
३ नामानले परमेश्वरको अगमवक्ताले भनेअनुसार गरेको खण्डमा तिनको त्यस घिनलाग्दो रोग निको हुने थियो। तसर्थ के यहोवाले तिनीबाट अचाक्ली माग गरिरहनुभएको थियो? अहँ थिएन। यद्यपि, नामान परमेश्वरले भन्नु भएअनुसार गर्न तयार थिएनन्। नामानले रिसाउँदै यसो भने: “के दमीशकका अबाना र फारपर नदीका पानी इस्राएलका सबै पानीभन्दा असल छैनन् र? के म तिनमा स्नान गरेर शुद्ध हुन सक्तिनँ र?” त्यसो भन्दै नामान रिसले चूर हुँदै फर्के।—२ राजा ५:१२.
४, ५. (क) नामानले आज्ञा पालन गर्दा कस्तो इनाम पाए र त्यसपछि तिनले कस्तो प्रतिक्रिया व्यक्त गरे? (ख) अब हामी के छलफल गर्नेछौं?
४ वास्तवमा नामानको समस्या के थियो? नामानलाई त्यस्तो कुनै गाह्रो काम गर्न अह्राइएको थिएन। नामानको नोकरले चतुऱ्याइँपूर्वक यसो भने: “यदि अगमवक्ताले तपाईंलाई केही गाहारो कुरा गर्नुहोस् भनी भन्नुभएको भए के तपाईं गर्नुहुने थिएन र? उहाँले तपाईंलाई डुबुल्की मार्नुहोस् भनेकोमा तपाईंले झन् किन नगर्ने?” (२ राजा ५:१३) समस्या थियो, नामानको मनोवृत्ति। तिनलाई आफ्नो मर्यादा सुहाउँदो नभई बेकारको बेइज्जतीपूर्ण काम गर भनेजस्तो लाग्यो। तथापि, नामानले आफ्नो नोकरको चतुऱ्याइँपूर्ण सल्लाह सुने र यर्दन नदीमा सात चोटि डुबुल्की मारे। अनि ‘तिनको शरीरको छाला सानो बालकको जस्तै शुद्ध’ हुँदा कस्तो हर्षित भए होलान्, कल्पना गर्नुहोस् त! तिनी कृतज्ञताले ओतप्रोत भए। यसबाहेक तिनले त्यस उप्रान्त यहोवाको मात्र उपासना गर्ने घोषणा गरे।—२ राजा ५:१४-१७.
५ मानव इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने यहोवाले मानिसहरूलाई विभिन्न नियमहरू पालन गर्न अह्राउनुभएको छ। हामी तपाईंलाई तिनीहरूमध्ये केही बुँदाहरू विचार गर्न आग्रह गर्छौं। अनि तीबारे छलफल गर्दै जाँदा यहोवाले तपाईंबाट त्यस्ता कुराहरू चाहनुभएको भए तपाईंले के गर्नुहुन्थ्यो भनी आफैलाई प्रश्न गर्नुहोस्। पछि, यहोवाले हामीबाट आज के चाहनुहुन्छ, छलफल गर्नेछौं।
यहोवाले विगतमा के माग गर्नुभयो
६. प्रथम मानव दम्पतीबाट के माग गरियो र तपाईंले ती निर्देशनहरूप्रति कस्तो प्रतिक्रिया देखाउनुहुन्थ्यो?
६ यहोवाले प्रथम मानव दम्पती आदम र हव्वालाई बच्चाहरू जन्माउन, पृथ्वी आबाद गर्न र पशुहरू आफ्नो वशमा पार्न आज्ञा दिनुभयो। प्रथम दम्पतीलाई ठूलो प्रमोदवनरूपी घर पनि दिइएको थियो। (उत्पत्ति १:२७, २८; २:९-१५) तर एउटा प्रतिबन्ध लगाउनुभएको थियो। अदनको बगैंचामा भएको थुप्रै रूखका फलहरूमध्ये एउटा रूखको फल खानु हुँदैन थियो। (उत्पत्ति २:१६, १७) अब के उहाँले अचाक्ली माग गरिरहनुभएको थियो र? सधैंभरि बाँच्न पाउने प्रत्याशासहित सिद्ध शरीरमा त्यस्तो काम गर्न पाउँदा के तपाईं आनन्दित हुनुहुने थिएन र? बगैंचामा प्रलोभक देखा परे तापनि के तपाईंले त्यसको तर्कलाई अस्वीकार गर्नुहुने थिएन र? अनि यहोवाले एउटा साधारण प्रतिबन्ध लाउनु जायजै हो भनेर के तपाईं सहमत हुनुहुन्न र?—उत्पत्ति ३:१-५.
७. (क)नूहलाई कस्तो काम दिइयो र तिनले कस्तो विरोधको अनुभव गर्नुपऱ्यो? (ख) यहोवाले नूहलाई अह्राउनुभएको कामप्रति तपाईं कस्तो दृष्टिकोण राख्नुहुन्छ?
७ पछि यहोवाले नूहलाई विश्वव्यापी जलप्रलयबाट बच्न जहाज बनाउने आज्ञा दिनुभयो। जहाजको विशाल नापलाई विचार गर्दा काम सजिलो थिएन। अनि सम्भवतः यो बनाउँदा निकै गिल्ला र वैरभाव खप्नु पऱ्यो होला। तैपनि आफ्नो परिवारको साथसाथै ती थुप्रै पशुपक्षीहरूलाई बचाउन पाउनु नूहको निम्ति कस्तो ठूलो सुअवसर थियो! (उत्पत्ति ६:१-८, १४-१६; हिब्रू ११:७; २ पत्रुस २:५) तपाईंलाई त्यस्तो कार्यभार दिइएको भए के तपाईंले काम पूरा गर्न परिश्रम गर्नुहुन्थ्यो? वा यहोवाले तपाईंबाट अचाक्ली माग गरिरहनुभएको छ भन्ठान्नुहुन्थ्यो?
८. अब्राहामलाई के गर भनियो र तिनको आज्ञाकारिताले कुन कुराको चित्रण गऱ्यो?
८ परमेश्वरले अब्राहामलाई एउटा असाध्यै गाह्रो काम गर्न लगाउनुभयो। उहाँले यसो भन्नुभयो: “तेरो, छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।” (उत्पत्ति २२:२) यहोवाले त्यतिबेलासम्म निस्सन्तान इसहाकको सन्तान हुनेछ भनी प्रतिज्ञा गर्नुभएको हुँदा परमेश्वरले इसहाकलाई पुनर्जीवित गर्न सक्नुहुने क्षमतामा तिनको विश्वास थियो र पछि तिनको सोही विश्वासको जाँच भयो। अब्राहामले इसहाकलाई बलि चढाउन लाग्दा परमेश्वरले इसहाकलाई बचाउनुभयो। परमेश्वरले आफ्नो पुत्रलाई मानिसजातिको निम्ति बलि चढाउनुहुनेछ र पछि पुनरुत्थान गर्नुहुनेछ भनी यस घटनाले देखायो।—उत्पत्ति १७:१९; २२:९-१८; यूहन्ना ३:१६; प्रेरित २:२३, २४, २९-३२; हिब्रू ११:१७-१९.
९. यहोवाले किन अब्राहामबाट अचाक्ली माग गरिरहनुभएको थिएन?
९ कसै कसैलाई यहोवा परमेश्वरले अब्राहामबाट अचाक्ली माग गर्नुभयो जस्तो लाग्ला। तर के उहाँले साँच्चै अचाक्ली माग गर्नुभएको थियो र? मरेकाहरूलाई पुनरुत्थान गर्न सक्नुहुने हाम्रो सृष्टिकर्ताले हामीबाट आज्ञाकारिताको माग गर्नुहुँदा केही समयको लागि मृत्युको निद्रामै पर्नु परे तापनि के त्यो निर्दयी कुरा हो र? येशू ख्रीष्ट र उहाँका अनुयायीहरूले त्यस्तो ठानेनन्। परमेश्वरको इच्छा गर्न तिनीहरू शारीरिक सास्ती र मृत्युसमेत भोग्न तयार थिए। (यूहन्ना १०:११, १७, १८; प्रेरित ५:४०-४२; २१:१३) परिस्थितिले त्यस्तै माग गऱ्यो भने के तपाईं पनि त्यस्तै गर्न तयार हुनुहुनेछ? उहाँको जन हुन स्वीकार गरेकाहरूबाट यहोवाले चाहनुभएका केही कुराबारे विचार गर्नुहोस्।
यहोवाले इस्राएललाई दिनुभएको व्यवस्था
१०. यहोवाले भन्नुभएबमोजिम गर्ने प्रतिज्ञा कसले गरे र उहाँले तिनीहरूलाई के दिनुभयो?
१० अब्राहामको सन्तान तिनको छोरा इसहाक र नाति याकूब वा इस्राएल मार्फत पछि इस्राएलको राष्ट्र भयो। यहोवाले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट मुक्त गर्नुभयो। (उत्पत्ति ३२:२८; ४६:१-३; २ शमूएल ७:२३, २४) त्यसको लगत्तै तिनीहरूले परमेश्वरले भन्नु भएबमोजिम गर्ने प्रतिज्ञा गरे। तिनीहरूले यसो भने: “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” (प्रस्थान १९:८) उहाँको शासन मन पराउने इस्राएलीहरूको चाहनाअनुरूप यहोवाले तिनीहरूलाई दस आज्ञालगायत अन्य ६०० भन्दा बढी व्यवस्था दिनुभयो। समयमा मोशा मार्फत दिइएका परमेश्वरका यी व्यवस्थाहरू नै व्यवस्था मात्र भनेर चिनियो।—एज्रा ७:६; लूका १०:२५-२७; यूहन्ना १:१७.
११. व्यवस्थाको एउटा उद्देश्य के थियो र यसको उद्देश्य पूरा गर्न दिइएका केही विधिविधानहरू के हुन्?
११ व्यवस्थाको एउटा उद्देश्य इस्राएलीहरूलाई यौन नैतिकता, व्यापारिक लेनदेन र बालबच्चाको हेरचाहजस्ता विषयहरूमा लाभदायी विधिविधानहरू दिएर सुरक्षित राख्नु थियो। (प्रस्थान २०:१४; लेवी १८:६-१८, २२-२४; १९:३५, ३६; व्यवस्था ६:६-९) सँगी मानवहरूका साथै पशुलाई कस्तो व्यवहार गर्नुपर्छ भनी नियमहरू दिइएको थियो। (लेवी १९:१८; व्यवस्था २२:४, १०) वार्षिक चाड तथा उपासनाको निम्ति सँगै भेला हुनुपर्ने सन्दर्भमा नियमहरूले मानिसहरूलाई आध्यात्मिक तवरमा सुरक्षित राख्न मदत गऱ्यो।—लेवी २३:१-४३; व्यवस्था ३१:१०-१३.
१२. व्यवस्थाको प्रमुख उद्देश्य के थियो?
१२ व्यवस्थाको प्रमुख उद्देश्यबारे उल्लेख गर्दै प्रेरित पावलले यस्तो लेखे: “जुन वंश [ख्रीष्ट] प्रतिज्ञा भएको हो सो नआउञ्जेल अपराधको कारणले यो थपिन आएको हो।” (गलाती ३:१९) व्यवस्थाले इस्राएलीहरूलाई तिनीहरू असिद्ध हुन् भनी सधैं याद दिलाइरहन्थ्यो। अतः तिनीहरूको पाप पूर्णतया हटाउन सिद्ध बलिदान आवश्यक हुनु मुनासिब थियो। (हिब्रू १०:१-४) अतः व्यवस्थाको उद्देश्य मानिसहरूलाई येशू मसीह वा ख्रीष्टलाई स्वीकार्न तयार पार्नु थियो। पावलले यसो लेखे: “यसैले विश्वासैबाट हामी धर्मी ठहरिऔं भनेर हामीलाई ख्रीष्टमा ल्याउनालाई व्यवस्था ता हाम्रा जिम्मावाल भएको हो।”—गलाती ३:२४.
के यहोवाको व्यवस्था कडा थियो?
१३. (क)असिद्ध मानवहरूले व्यवस्थाप्रति कस्तो विचार राखे र किन? (ख) के व्यवस्था साँच्चै कडा थियो?
१३ व्यवस्था “धर्मी र असल” भए तापनि थुप्रैलाई कडा लाग्यो। (रोमी ७:१२) व्यवस्था सिद्ध भएको कारण इस्राएलीहरूले यसको उच्च स्तर पालन गर्न सकेनन्। (भजन १९:७) त्यसैकारण प्रेरित पावलले यसो भने, “जुन नता हाम्रा पिता-पुर्खाहरूले न हामीले बोक्नसक्यौं।” (प्रेरित १५:१०) निस्सन्देह, व्यवस्था आफै कडा थिएन र आज्ञा पालन गर्दा मानिसहरूलाई फाइदा हुन्थ्यो।
१४. व्यवस्था, इस्राएलीहरूको निम्ति अत्यन्तै लाभकारी थियो भन्नेबारे केही उदाहरणहरू के हुन्?
१४ उदाहरणका लागि, व्यवस्थाअन्तर्गत चोरलाई कैदमा हालिंदैन थियो तर तिनले आफूले चोरेको भन्दा दोबर वा त्योभन्दा बढी तिर्न काम गर्नुपर्थ्यो। अतः चोरी भएको मानिसले कुनै नोक्सानी भोग्नु पर्दैन थियो र नता कैद व्यवस्थालाई समर्थन गर्न मेहनती मानिसहरूमाथि बोक्नै नसक्ने भार पर्थ्यो। (प्रस्थान २२:१, ३, ४, ७) अस्वास्थ्यकर भोजन निषेधित थियो। सुंगुरको मासु राम्रोसित पाकेन भने ट्रीकिनोसिस र खरायोको मासु राम्रोसित पाकेन भने टुलारेमिया हुनसक्छ। (लेवी ११:४-१२) त्यस्तै गरी सिनु छुने सन्दर्भमा दिइएको व्यवस्थाले पनि सुरक्षा प्रदान गऱ्यो। यदि कसैले लास छोएमा नुहाउनुका साथै लगाएको सबै लुगा धुनुपर्थ्यो। (लेवी ११:३१-३६; गन्ती १९:११-२२) कीटाणुहरू फैलिन नदिन दिसा बसेपछि पुर्नुपर्थ्यो र यस्ता कीटाणुहरूबारे वैज्ञानिकहरूले हालैका शताब्दीहरूमा मात्र पत्ता लगाए।—व्यवस्था २३:१३.
१५. इस्राएलीहरूको लागि कुन कुरा बोझजस्तो भयो?
१५ व्यवस्थाले मानिसहरूबाट ज्यादै बढी माग गरिरहेको थिएन। तर व्यवस्थाको अर्थ खुलाउने भूमिका सँभाल्ने व्यक्तिहरूको कुरा भने अर्कै छ। तिनीहरूले लागू गरेका नियमहरूको सन्दर्भमा जेम्स हेस्टिङद्वारा सम्पादन गरिएको बाइबलको शब्दकोश (अंग्रेजी) यसो भन्छ: “बाइबलको हरेक आज्ञासित सम्बन्धित स-साना विधिविधानहरू हुन्थे। . . . अतः सबै कुरालाई व्यवस्थाअन्तर्गत राख्न र अतार्किक तर्क गर्दै सम्पूर्ण मानव आचरणलाई नै नाटीकुटी नीतिनियमले बाँध्ने प्रयास गरियो। . . . अन्तस्करणको आवाजलाई कुल्चीमिल्ची गरियो। ईश्वरीय शब्दको शक्तिलाई प्रभावहीन बनाउनुका साथै अन्य नानाथरीका नियमहरू बनाएर दबाउन खोजियो।”
१६. धर्म गुरुहरूको कडा नियमकानुन तथा परम्पराबारे येशूले के भन्नुभयो?
१६ नानाथरीका नियमहरू लागू गर्ने धर्म गुरुहरूको येशू ख्रीष्टले निन्दा गर्दै यसो भन्नुभयो: “तिनीहरू गह्रौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा हालिदिन्छन्। तर तिनीहरू आफैले भने आफ्ना औंलाले पनि ती सारिदिने मन गर्दैनन्।” (मत्ती २३:२, ४) तिनीहरूले भाँडाकुँडा, हात धुने इत्यादि विषयहरूमा तीन थुप्रो आफ्नै नियम तथा परम्पराहरू बनाएर “परमेश्वरको वचनलाई” निष्क्रिय तुल्याएको कुरा उहाँले औंल्याउनुभयो। (मर्कूस ७:१-१३; मत्ती २३:१३, २४-२६) येशू यस पृथ्वीमा आउनुअघि नै इस्राएलका धर्म गुरुहरूले यहोवाले वास्तवमा मानिसहरूबाट चाहनुहुने कुराहरूको गलत अर्थ लगाइरहेका थिए।
यहोवाले वास्तवमा हामीबाट चाहनुभएको के हो
१७. अविश्वासी इस्राएलीहरूको होमबलिबाट यहोवा किन अप्रसन्न हुनुहुन्थ्यो?
१७ अगमवक्ता यशैया मार्फत यहोवाले यसो भन्नुभयो: “म ता भेड़ाहरूका होमबलि र पालेका पशुहरूका बोसोदेखि अघाएको छु। म गोरु, थुमा र बाख्राहरूका रगतदेखि प्रसन्न हुन्नँ।” (यशैया १:१०, ११) व्यवस्थामा उहाँ आफैले लागू गर्नुभएको बलि किन परमेश्वरलाई चित्त बुझेको थिएन? (लेवी १:१–४:३५) किनभने मानिसहरूले उहाँलाई अनादरपूर्ण व्यवहार गरे। तसर्थ उहाँले यस्तो नसिहत दिनुभयो: “आफूलाई धोएर चोखो पार। मेरो सामनेबाट तिमीहरूका दुष्ट्याइँ फालिदेऊ, खराबी गर्न छोड़। भलाइ गर्न सिक, इन्साफ खोज, अत्याचारलाई दमन गर, टुहुरा–टुहुरीको न्याय गर, विधवाहरूको पक्षमा बोलिदेऊ।” (यशैया १:१६, १७) यहोवा आफ्ना सेवकहरूबाट के चाहनुहुन्छ भनी बुझ्न के यसले मदत गर्दैन र?
१८. यहोवा इस्राएलीहरूबाट वास्तवमा के चाहनुहुन्थ्यो?
१८ परमेश्वर साँच्चै के चाहनुहुन्छ भनी येशूले देखाउनुभयो। उहाँले यो प्रश्न सोध्नुभयो, “व्यवस्थामा प्रमुख आज्ञा कुन चाहिं हो?” येशूले उत्तरमा यसो भन्नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। प्रमुख र प्रथम आज्ञा यही हो। दोस्रो चाहिं त्यही जस्तो हो, तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षा यिनै दुइ आज्ञामा निर्भर छन्।” (मत्ती २२:३६-४०; लेवी १९:१८; व्यवस्था ६:४-६) यस्तो प्रश्न गरेर अगमवक्ता मोशाले पनि उक्त कुरा स्पष्ट पारे: “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यिनै हुन्—तिमीहरूले आफ्ना परमप्रभुको डर मान, उहाँका सबै मार्गमा हिंड़, उहाँलाई प्रेम गर, औ आफ्नो पूरा मन र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर। आज तिमीहरूको हितको लागि मैले तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान।”—व्यवस्था १०:१२, १३; १५:७, ८.
१९. इस्राएलीहरूले कसरी आफूलाई धर्मी देखाउन खोजे तर यहोवाले तिनीहरूलाई के भन्नुभयो?
१९ आफ्ना गलत कार्यहरूको बावजूद इस्राएलीहरू धर्मी देखिन चाहन्थे। व्यवस्थाअनुसार वार्षिक प्रायश्चितको दिनमा मात्र उपवास बस्नु परे तापनि तिनीहरू निकै चोटि उपवास बस्न थाले। (लेवी १६:३०, ३१) तर यहोवाले तिनीहरूलाई यसरी हप्काउनुभयो: “दुष्टताको बन्धन फुकाल्नु, जूवाको डोरी फुकाल्नु, र अत्याचारमा परेकाहरूलाई मुक्त गराउनु, औ हरेक जूवा भाँचिदिनु, मैले चुनेको उपवास यही होइन र? आफ्नो भोजन भोकाहरूलाई बाँड़िदिनु, र घर नभएका गरीबहरूलाई आफ्नो घरमा ल्याउनु, नाङ्गाहरूलाई देखेर तिनलाई लुगा लगाइदिनु, र आफ्नो जात–भाइहरूबाट नलुक्नु, होइन र?”—यशैया ५८:३-७.
२०. येशूले कपटी धर्मगुरुहरूलाई किन हप्काउनुभयो?
२० आत्म-धर्मी इस्राएलीहरू पनि कपटी धर्मगुरुहरूजस्तै थिए। येशूले तिनीहरूलाई यसो भन्नुभयो: “तिमीहरू पदीना र सूँप र जीराको दशौं भाग दिन्छौ, औ व्यवस्थाका तीभन्दा गहकिला कुराहरू, अर्थात् न्याय, दया र विश्वास छोड़दछौ। तर तिमीहरूले यो पनि गरेर ती पनि नछोड़नु पर्थ्यो।” (मत्ती २३:२३; लेवी २७:३०) हामीबाट यहोवा साँच्चै के चाहनुहुन्छ भनी बुझ्न के येशूका यी शब्दहरूले मदत गर्दैन र?
२१. यहोवाले हामीबाट के चाहनुहुन्छ र के चाहनु हुँदैन भन्नेबारे अगमवक्ता मीकाले के भने?
२१ यहोवाले हामीबाट के चाहनुहुन्छ र के चाहनुहुन्न भनेर स्पष्ट पार्दै परमेश्वरका अगमवक्ता मीकाले यस्तो प्रश्न गरे: “के लिएर म परमप्रभुको सामु आऊँ, र सर्वोच्च परमेश्वरको सामने निउरूँ? के एक वर्षे बाछा लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ? के परमप्रभु हजारौं भेड़ाहरू र तेलका लाखौं नदीसित प्रसन्न हुनुहुन्छ? के म आफ्नो अपराधको लागि आफ्नो जेठो छोरोलाई दिऊँ, मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई दिऊँ? ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्वरसित नम्र भएर हिंड़नू।”—मीका ६:६-८.
२२. व्यवस्थाको अधीनमा भएकाहरूबाट यहोवाले विशेष गरी के चाहनुभयो?
२२ त्यसोभए यहोवाले व्यवस्थाको अधीनमा बस्नेहरूबाट साँच्चै के चाहनुहुन्थ्यो त? निस्सन्देह, तिनीहरूले यहोवा परमेश्वरलाई प्रेम गर्नुपर्थ्यो। यसबाहेक, प्रेरित पावलले यसो भने: “समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, यसैमा कि ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्।’ ” (गलाती ५:१४) त्यस्तै गरी रोमका मसीहीहरूलाई पावलले यसो भने: “छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ। . . . यसकारण प्रेम गर्नुनै व्यवस्था पूरा गर्नु हो।”—रोमी १३:८-१०.
यो अचाक्ली होइन
२३, २४. (क)यहोवाले हामीबाट चाहनुहुने कुरा किन कहिल्यै अचाक्ली हुँदैन? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौं?
२३ यहोवा मायालु, समझदार र कृपालु परमेश्वर हुनुभएकोमा के हामी खुसी छैनौं र? उहाँको एक मात्र प्रिय पुत्र येशू ख्रीष्ट परमेश्वरको प्रेमको प्रशंसा गर्न र यहोवाको नजरमा मानिसहरू कति मूल्यवान् छन् भनी थाह दिन यस पृथ्वीमा आउनुभयो। परमेश्वरको प्रेमबारे बताउँदै येशूले जाबो भँगेराहरूबारे यसो भन्नुभयो: “तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन।” अनि अन्तमा उहाँले यसो भन्नुभयो: “तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ता मूल्यका छौ।” (मत्ती १०:२९-३१) साँच्चै यस्तो मायालु परमेश्वरले हामीबाट माग्नुहुने कुरा कहिल्यै अचाक्ली हुँदैन!
२४ तथापि, यहोवाले आज हामीबाट के चाहनुहुन्छ? अनि कसै कसैले परमेश्वर हामीबाट बढी माग गर्नुहुन्छ भनी सोच्नुको कारण के हो? यी प्रश्नहरू जाँचेपछि यहोवाले चाहनुभएको हरेक कुरा गर्नु किन अनुपम सुअवसर हो भनी हामीले बुझ्नेछौं।
के तपाईं जवाफ दिन सक्नुहुन्छ?
◻ किन कसै कसैले यहोवालाई सेवा गर्न इन्कार गर्छन्?
◻ समयको दौडान यहोवाले मानिसहरूबाट चाहनुभएका कुराहरू कसरी बेग्लाबेग्लै भएका छन्?
◻ व्यवस्थाले कुन उद्देश्यहरू पूरा गऱ्यो?
◻ यहोवाले हामीबाट चाहनुहुने कुरा किन कहिल्यै अचाक्ली हुँदैन?
[पृष्ठ १८-मा भएको चित्र]
सरसफाइजस्ता विषयमा तिनीहरूका तीन थुप्रा मानव-निर्मित नियमहरूले उपासना बोझिलो बनाएका छन्