दीर्घ जीवनको लागि हाम्रो खोज
“स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ, त्यो फूलझैं फक्रन्छ र ओइलाइहाल्छ। त्यो छायाजस्तै हराइहाल्छ, रहँदैन।”—अय्यूब १४:१, २.
उक्त कुरा लगभग ३,५०० वर्षअघि लेखिएको थियो। यद्यपि, जीवन अल्प छ भन्ने कुरा नकार्ने मानिसहरू अहिले कमै होलान्। एक छिनको लागि रमाइलो गरेर बूढो हुनु अनि मरेर जानु मानिसहरूलाई पटक्कै चित्त बुझेको छैन। त्यसकारण, इतिहास पल्टाएर हेर्ने हो भने, जीवन लम्ब्याउने तरिकाहरू प्रशस्त फेला परेका छन्।
अय्यूबको समयमा मिश्रीहरूले जनावरहरूको अण्डकोष खाएर पुनः नौजवान हुने निरर्थक प्रयास गरे। मध्ययुगको रसायन शास्त्रको प्रमुख उद्देश्य थियो, दीर्घ जीवन प्रदान गर्ने अमृत बनाउनु। मानिसले बनाएको सुनले अमर जीवन दिनसक्छ अनि सुनको थालमा खाना खानाले दीर्घ जीवन पाइन्छ भनी थुप्रै रसायन शास्त्रीहरूले विश्वास गरेका थिए। ध्यान गर्ने, श्वासप्रश्वाससम्बन्धी व्यायाम गर्ने अनि खानपानमा ध्यान पुऱ्याउने जस्ता तरिकाहरू अपनाएर शरीरमा पोषक पदार्थको रासायनिक परिवर्तन गर्न सकिन्छ अनि अमरत्व पाइन्छ भनेर चीनका पुरातन ताओमार्गीहरूले सोच्थे।
स्पेनी अन्वेषक हुआन पोन्स डे लीओन यौवनको मुहान धुइँधुइँती खोज्ने व्यक्तिको रूपमा चिरपरिचित छन्। कन्ये केटीहरूलाई बसन्त ऋतुमा सानो कोठामा राखेर तिनीहरूको सासलाई सिसीमा जम्मा गर्नुपर्छ र त्यो सासलाई आयु बढाउने ओखतीको रूपमा प्रयोग गर्न सकिन्छ भनेर १८ औं शताब्दीका एक डाक्टरले हरमिपुस रेडिभीभुस नामक पुस्तकमा सुझाउ दिए। तर ती सबै तरिकाहरू बेकार भए भनेर भनिरहनु नपर्ला।
मोशाले अय्यूबको कुरा लिपिबद्ध गरेको आज लगभग ३,५०० वर्ष भइसक्यो अनि अहिले मानिसहरूले चन्द्रमामा पाइला टेकिसके, मोटर गाडी र कम्प्युटरहरू निर्माण गरिसके अनि परमाणु तथा कोषहरू अनुसन्धान गरिसके। यद्यपि, यस्ता प्राविधिक प्रगतिको बावजूद पनि हामी अझै “अल्प-आयुका र अशान्तिले” भरिएका छौं। हो, गत शताब्दीमा विकसित देशहरूका मानिसको आयु छक्कै पर्नेगरि वृद्धि भएको छ। तर यसको कारण स्वास्थ्य सेवामा उन्नति हुनु, सफा-सुग्घरमा बढी ध्यान दिनु र राम्रो भोजन गर्नु हो। उदाहरणका लागि, १८ औं शताब्दीको बीचदेखि १९९० दशकको सुरुसम्म स्वीडेनमा पुरुषहरूको औसत आयु ४० वर्षदेखि बढेर ७५ वर्ष पुग्यो भने स्त्रीहरूको ४४ देखि ८० वर्ष पुग्यो। तर के यसको मतलब अब मानिसमा लामो जीवन बिताउने मोह छैन त?
त्यसो होइन। किनकि केही मुलुकहरूमा थुप्रै मानिसहरू वृद्ध भइञ्जेल बाँचे तापनि वर्षौंअघि मोशाले लेखेका निम्न शब्दहरू अहिले पनि लागू हुन्छ: “हाम्रा आयु ता तीन कोरी र दश वर्ष मात्र छन्, पौरखले चार कोरीसम्म ता होला। . . . , किनकि त्यो चाँड़ै बित्छ, र हामी उड़िजान्छौं।” (भजनसंग्रह ९०:१०) के निकट भविष्यमा हामीमा कुनै परिवर्तन आएको देख्न सक्नेछौं? के मानिसहरू अहिलेभन्दा निकै लामो समयसम्म बाँच्नसक्लान्? अर्को लेखले यस्ता प्रश्नहरूबारे छलफल गर्नेछ।