तिनीहरूले साहस बटुले
प्रचार गर्न साहस बटुल्नु सधैं सजिलो छैन। वास्तवमा, प्रेरित पावलले एक पटक “अति विरोधमा पनि” त्यसो गर्नुपरेको बताए। (१ थिस्सलोनिकी २:२) प्रचार गर्न प्रयास गर्दा के फाइदै मात्र हुन्छ र? साहस बटुलेर प्रचार गर्दा अप्रत्याशित अनुभवहरू बटुलिन्छ नै भन्ने छैन तर परमेश्वरका जनहरू त्यसरी निर्भयी भएकाले अक्सर आनन्दित हुन्छन्। केही उदाहरण विचार गर्नुहोस्।
कक्षामा शिक्षिकाले दोस्रो विश्वयुद्धतिर यातना शिविरमा यहूदीहरूले चिनारीस्वरूप पहेंलो रंगको डेभिड्स स्टार लगाउँथे भन्दा आठ वर्षकी ताराले ध्यान दिएर सुनिरहेकी थिइन्। तारालाई पनि केही भनूँ भनूँ लाग्यो। तिनी भन्छिन्, “मैले आँखा खुल्लै राखेर प्रार्थना गरें।” त्यसपछि तिनले हात उठाइन् र यहोवाका साक्षीहरू पनि उक्त शिविरमा थिए र तिनीहरूले बैजनी रंगको त्रिकोण लगाउनुपर्थ्यो भनिन्। शिक्षिकाको चासो जाग्यो र तिनलाई धन्यवाद दिइन्। ताराको यो टिप्पणीले गर्दा शिक्षिकासित थप कुराकानी हुनसक्यो र पछि तिनले आफ्नो सम्पूर्ण कक्षालाई नाजी आक्रमण विरुद्ध यहोवाका साक्षीहरू दृढ रहन्छन् नामक भिडियो देखाइन्।
गिनी, पश्चिम अफ्रिकामा ईरेन नाउँ भएकी बप्तिस्मा अप्राप्त प्रकाशक युवती आफ्नो सेवकाईमा उन्नति गर्न चाहन्थिन्। तिनीसित बाइबल अध्ययन गर्ने मिसनरीले स्कूलमा साथीहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्! प्रस्तुत गर्ने प्रोत्साहन दिइन्। साथीहरू तिनको कुरा सुन्ने खालको नभएको हुँदा ईरेन हिचकिचाइन्। तथापि, मिसनरी बहिनीको प्रोत्साहन पाएर ईरेनले सबैभन्दा विरोध गर्लाजस्तो देखिने विद्यार्थीलाई नै सबैभन्दा पहिला भेट्ने निर्णय गरिन्। तर छक्कलाग्दो कुरा, उक्त केटीले तिनको कुरा सुनिन् र इच्छुकतासाथ पत्रिकाहरूसमेत लिइन्। अरू विद्यार्थीहरूले पनि त्यसै गरे। ईरेनले त्यसअघिका पाँच महिनाहरूमा वितरण गरेकोभन्दा बढी पत्रिकाहरू उक्त महिना प्रस्तुत गरिन्।
ट्रिनिडाडमा एक जना प्राचीनलाई स्कूलकी प्रधानाध्यापकलाई भेटेर ब्यूँझनुहोस्! पत्रिकाको शैक्षिक मूल्य देखाउन अलि संकोच लागिरहेको थियो। तैपनि, तिनले साहस बटुले। तिनी भन्छन्: “स्कूलहाताभित्र छिर्ने बित्तिकै मैले प्रार्थना गरें। प्रधानाध्यापकलाई एकदमै हँसिलो मुद्रामा देखेर म त छक्कै परें!” तिनले “आजका युवाहरूका लागि के आशा छ?” शीर्षकको ब्यूँझनुहोस्! लिइन् र कक्षामा प्रयोग गर्नसमेत राजी भइन्। अहिलेसम्ममा तिनले थुप्रै विषयहरूका ४० वटा पत्रिका लिइसकिन्।
जवानै भएकाले भोनलाई प्रचार गर्नु अक्सर गाह्रो लाग्थ्यो। “म अतालिन्थें, मेरो हातबाट पसिना छुट्थ्यो र म छिटोछिटो बोल्थें—म हड्बडाउँथें।” तैपनि, तिनी पूर्ण-समय सेवक भए। अहिले पनि तिनलाई कुरा थाल्न साहस बटुल्नुपर्छ। एक पटक दिनभरि जागिर खोजेर हत्तु भएको बेला “यस्तो नराम्रो दिनमा केही राम्रो काम त होस्” भन्ने विचार गर्दै रेलगाडीमा कसैलाई प्रचार गर्न मन लागेछ, तर सब-वे ट्रेनमा एक जना एकदमै महत्त्वपूर्ण जस्तो देखिने व्यापारी देखेर तिनी अलि हच्किएछन्। तर आखिरीमा, साहस बटुल्दै तिनले आफ्नो छेवैको पाको उमेरका व्यक्तिसित कुरा थाले। परिणामस्वरूप निकै समयसम्म वार्लालाप जारी रह्यो। उक्त व्यापारीले भने, “यति जवान भएर पनि तपाईंले त यस्तो राम्रो प्रश्न गर्नुभयो” र सोधे, “तपाईं त शास्त्रज्ञ हो कि क्या हो?” भोनले “होइन, म यहोवाका साक्षी हुँ,” भनेर जवाफ दिए। उक्त मानिसले मुसुक्क हाँसेर भने, “ए, बल्ल कुरा बुझें।”
निर्भयी हुनसकेकोमा यी साक्षीहरू र अन्य थुप्रै साक्षीहरू दंग छन्। के तपाईं पनि त्यसै गर्नुहुनेछ?
[पृष्ठ २५-मा भएको चित्र]
तारा
[पृष्ठ २५-मा भएको चित्र]
भोन