के तपाईं येशूले जस्तै गर्न उत्प्रेरित हुनुभएको छ?
“उहाँ निस्कँदा एउटा ठूलो भीड़ देख्नुभयो, र तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा को शिक्षा दिन लाग्नुभयो।”–मर्कूस ६:३४.
१. व्यक्तिविशेषले प्रशंसनीय गुणहरू प्रकट गर्नु किन बुझ्नसकिने कुरा हो?
इतिहासका पानाभरि थुप्रै व्यक्तिविशेषले प्रशंसनीय गुणहरू प्रकट गरेको भेटिन्छ। कारण तपाईं बुझ्न सक्नुहुन्छ। यहोवा परमेश्वरसित हामी मानवजातिले कदर गर्ने गरेका अन्य थुप्रै गुणहरूको अतिरिक्त प्रेम, दया अनि उदार भाव छ र उहाँ ती प्रकट गर्नुहुन्छ। मानवहरू उहाँको स्वरूपमा सृजिए। त्यसकारण, थुप्रैले केही मात्रामा भए पनि प्रेम, दया, अनुकम्पा र अन्य ईश्वरीय गुणहरू किन प्रकट गर्छन् अनि अन्तस्करणको आभास दिनुका कारण हामी बुझ्नसक्छौं। (उत्पत्ति १:२६; रोमी २:१४, १५) तैपनि, कसै कसैले अरूको तुलनामा यी गुणहरू सजिलै प्रकट गर्न सकेको हामीले देखेका हौंला।
२. ख्रीष्टको अनुकरण गरिरहेका छौं भन्ठान्दै मानिसहरूले गर्ने केही असल काम के के हुन्?
२ रोगले सताइरहेको व्यक्तिलाई अक्सर भेट्न जाने वा मदत गर्ने, अपांगहरूप्रति सहानुभूति दर्साउने वा गरिबहरूलाई उदारचित्त भएर दिने स्त्री तथा पुरुषहरू सायद तपाईंले चिन्नुभएको होला। अनि आफ्नो सम्पूर्ण जीवन कुष्ठ रोगीहरूको सेवामा वा अनाथालयहरूमा बिताउनेहरू, अस्पताल वा नर्सिङ होमहरूमा स्वयंसेवा गर्नेहरू अथवा घरबारविहीन वा शरणार्थीहरूलाई मदत गर्न यत्न गर्ने सहानुभूतिशील व्यक्तिहरूबारे पनि सोच्नुहोस्। हुनसक्छ, तिनीहरूमध्ये कसै कसैलाई आफूले मसीहीहरूका लागि नमुना छोड्नुहुने येशूको अनुकरण गरिरहेको जस्तो लाग्दो हो। सुसमाचारका पुस्तकहरूमा ख्रीष्टले रोगीहरूलाई निको पार्नुभएको र भोकाहरूलाई खुवाउनुभएको घटनाबारे हामी पढ्छौं। (मर्कूस १:३४; ८:१-९; लूका ४:४०) येशूले देखाउनुभएको प्रेम, कोमलता अनि अनुकम्पा “ख्रीष्टको मन[को]” प्रतिबिम्ब हुन्। उहाँ सधैं स्वर्गमा हुनुहुने आफ्नो पिताको अनुकरण गर्नुहुन्थ्यो।—१ कोरिन्थी २:१६.
३. येशूले गर्नुभएका असल कामहरूप्रति सन्तुलित दृष्टिकोण राख्न हामीले के विचार गर्नु आवश्यक छ?
३ तथापि, आज थुप्रै मानिसहरू येशूको प्रेम अनि अनुकम्पादेखि उत्प्रेरित भए तापनि ख्रीष्टको मनको मुख्य पक्षलाई नै बुझ्न नसकेको तपाईंले देख्नुभएको छ कि? मर्कूस अध्याय ६ लाई होसियारीसाथ विचार गरेर हामी यसबारे अन्तरदृष्टि पाउनसक्छौं। हामी त्यहाँ मानिसहरूले येशूकहाँ रोगीहरू निको पार्नलाई ल्याएको कुरा पढ्छौं। उहाँकहाँ आउने हजारौं मानिसहरू भोकाएका देख्नुभएपछि येशूले तिनीहरूलाई चमत्कार गरेर खुवाउनुभएको पनि हामी त्यहाँ पाउँछौं। (मर्कूस ६:३५-४४, ५४-५६) रोगीहरूलाई निको पार्नु र भोकाहरूलाई खुवाउनु प्रेम र अनुकम्पाको अतुलनीय प्रदर्शन भए तापनि के येशूले अरूलाई मदत गर्नुभएको प्रमुख तरिका यही थियो त? अनि जसरी उहाँले यहोवाको अनुकरण गर्नुभयो, त्यसै गरी हामीले प्रेम, दया र अनुकम्पा देखाउने क्षेत्रमा येशूले छाड्नुभएको सिद्ध नमुना सकेसम्म हुबहु कसरी अनुकरण गर्नसक्छौं?
आध्यात्मिक आवश्यकता पूरा गर्न अग्रसर
४. मर्कूस ६:३०-३४ को पृष्ठभूमि के थियो?
४ येशू आफू वरपरका मानिसहरूको विशेष गरी आध्यात्मिक आवश्यकताहरू देखेर टिठाउनुहुन्थ्यो। यी आवश्यकताहरू शारीरिक आवश्यकताभन्दा बढ्ता महत्त्वपूर्ण थिए। मर्कूस ६:३०-३४ को विवरणलाई याद गर्नुहोस्। त्यहाँ लिपिबद्ध गरिएको घटना गालील समुद्रको किनारामा सा.यु. ३२ को निस्तार चाड सुरु हुनुभन्दा केही समयअघि भएको थियो। प्रेरितहरू उत्सुक थिए र त्यो स्वाभाविक पनि थियो। बृहत् भ्रमण पूरा गरिसकेपछि आफूले संगालेका अनुभवहरू बताउन उत्सुक हुँदै तिनीहरू येशूकहाँ आए। तथापि, भीड जम्मा भयो। भीड अति ठूलो भएकोले येशू र उहाँका प्रेरितहरूले खान वा आरामसमेत गर्न पाउनु भएन। येशूले प्रेरितहरूलाई यसो भन्नुभयो: “तिमीहरू आफै पनि सुटुक्क एकान्त ठाउँमा आओ, र केही थकाइ मार।” (मर्कूस ६:३१) एउटा डुंगामा चढेर उहाँहरू गालील समुद्रपारि शान्त ठाउँमा सायद कफर्नहुमतिर जानुभयो। तर भीडहरू किनारैकिनार भएर डुंगा आइपुग्नु अगावै त्यहाँ पुगे। येशूले के गर्नुभयो? एकछिन पनि थकाइ मार्न नदिएकोमा के उहाँ रिसाउनुभयो? अहँ! पटक्कै रिसाउनुभएन!
५. उहाँकहाँ आउने भीड देखेर येशूलाई कस्तो लाग्यो र कस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो?
५ उत्सुकतासाथ उहाँलाई पर्खिरहेका रोगीहरूका साथै हजारौं मानिसहरूको भीड देखेर येशूको मन पग्लियो। (मत्ती १४:१४; मर्कूस ६:४४) येशू किन अनुकम्पाले भरिनुभयो र उहाँले त्यसपछि के गर्नुभयो, त्यसतर्फ ध्यान खिंच्दै मर्कूसले लेखे: “उहाँ निस्कँदा एउटा ठूलो भीड़ देख्नुभयो, र तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा को शिक्षा दिन लाग्नुभयो।” (मर्कूस ६:३४) येशूले त्यहाँ थुप्रै मानिसहरूको भीड मात्र देख्नुभएन। उहाँले तिनीहरूको आध्यात्मिक आवश्यकता पनि देख्नुभयो। तिनीहरू हरियो चौरमा चराउन लैजाने वा हेरचाह गर्ने गोठालो नभएको असहाय भेडाहरूजस्तै थिए। मायालु गोठालो साबित हुनुपर्नेमा कठोर हृदय भएका धार्मिक नेताहरूले उल्टो आम जनताहरूलाई तुच्छ ठानिरहेका र तिनीहरूको आध्यात्मिक आवश्यकतालाई बेवास्ता गरिरहेका छन् भनी येशूलाई थाह थियो। (इजकिएल ३४:२-४; यूहन्ना ७:४७-४९) येशूले तिनीहरूसित भिन्नै तरिकामा, सकेसम्म तिनीहरूको भलो हुने व्यवहार गर्न चाहनुभयो। उहाँले तिनीहरूलाई परमेश्वरको राज्यबारे सिकाउन थाल्नुभयो।
६, ७. (क) मानिसहरूको आवश्यकता पूरा गर्ने सम्बन्धमा येशूले दिनुभएको प्राथमिकतालाई सुसमाचारका पुस्तकहरूले कसरी प्रकट गरेको छ? (ख) केले येशूलाई प्रचार गर्न र सिकाउन उत्प्रेरित गऱ्यो?
६ यसै घटनालाई लिएर अर्का लेखकले दिएको विवरणमा कुन कुन कुरालाई क्रमैसित प्राथमिकता दिइएको छ विचार गर्नुहोस्। यो, अरूको सु-स्वास्थ्यमा निकै चासो दिने चिकित्सक लूकाको विवरण हो। “भीड़हरू [येशूका] पछिपछि लागे। औ उहाँले तिनीहरूलाई खुशीसित ग्रहण गर्नुभयो, र परमेश्वरको राज्यको विषयका सुनाउनुभयो, औ निको पार्नु पर्ने जतिलाई निको पार्नुभयो।” (लूका ९:११; कलस्सी ४:१४) लूकाको यस प्रेरित विवरणमा सबैभन्दा पहिले उल्लेख गरिएको कुरा प्रायः येशूले चमत्कार गर्नुभएका अन्य अवसरहरूबारे उल्लेख गरिंदा हरेक चोटी उल्लेख गरिएको छैन? त्यो हो, येशूले मानिसहरूलाई सिकाउनुभयो भन्ने कुरा।
७ मर्कूस ६:३४ मा जोड दिइएको कुरासित यो मेल खान्छ। उक्त पदमा येशूले सबैभन्दा पहिले भीड देखेर टिठाउनुभएको कुरा स्पष्ट पारिएको छ। मानिसहरूको आध्यात्मिक आवश्यकताहरू बुझेर उहाँले तिनीहरूलाई सिकाउनुभयो। आफ्नो सेवकाईको प्रारम्भमा येशूले यसो भन्नुभएको थियो: “मैले अवश्य परमेश्वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) तैपनि, येशूले कर्तव्य बोधको कारण मात्र राज्य सन्देश घोषणा गर्नुभएको वा मानौं उहाँ प्रचार कार्य गर्नैपर्छ भन्दै मेसिनजस्तो हुनुभएको थियो भनेर सोच्नु गलत हुनेछ। बरु, उहाँलाई मुख्यतया मानिसहरूप्रतिको मायालु चासोले अरूसित सुसमाचार बाँड्न उत्प्रेरित गऱ्यो। येशूले रोगी, प्रेतहरूद्वारा सताइएका, गरिब वा भोकाहरूका लागि पुऱ्याउन सक्नुहुने चिरकालीन फाइदा त तिनीहरूलाई परमेश्वरको राज्यबारे सत्य कुरा थाह दिन, ग्रहण तथा प्रेम गर्न मदत गर्नु थियो। यहोवाको सार्वभौमिकता उच्च गर्न र मानवजातिलाई स्थायी आशिष्हरू दिन परमेश्वरको राज्यको भूमिकाको कारण सत्य अत्यावश्यक छ।
८. प्रचार गर्ने र शिक्षा दिने कामलाई येशू कस्तो ठान्नुहुन्थ्यो?
८ येशू पृथ्वीमा आउनुभएको प्रमुख कारण नै परमेश्वरको राज्यबारे सक्रिय प्रचार गर्नु थियो। पार्थिव सेवकाईको अन्तमा येशूले पिलातसलाई भन्नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ। सत्यको जो छ, हरेकले मेरो सोर सुन्छ।” (यूहन्ना १८:३७) येशू कोमल भावना हुनुभएका अर्थात् हेरचाह गर्ने, नजिकिन सजिलो, अरूको विचार राख्ने, भरोसा गर्ने र सबैभन्दा महत्त्वपूर्ण त माया गर्ने व्यक्ति हुनुहुन्थ्यो भनेर अगिल्ला दुई लेखहरूमा हामीले विचार गऱ्यौं। यदि हामी ख्रीष्टको मन साँच्चै बुझ्न चाहन्छौं भने उहाँको व्यक्तित्वको यो पक्षलाई मूल्यांकन गर्नु आवश्यक छ। ख्रीष्टको मनमा उहाँले प्रचारकार्य अनि शिक्षा दिने काममा दिनुभएको प्राथमिकता पनि समावेश छ भनेर बुझ्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
उहाँले साक्षी दिन अरूलाई आग्रह गर्नुभयो
९. प्रचार गर्ने र शिक्षा दिने सम्बन्धमा कसले प्राथमिकता दिनुभएको थियो?
९ प्रेम र अनुकम्पा व्यक्त गर्ने तरिका अर्थात् प्रचार गर्ने र शिक्षा दिने काममा प्राथमिकता दिनु येशूको लागि मात्र लागू हुने होइन। अनुयायीहरूलाई उहाँले आफ्नो मनोवृत्ति, प्राथमिकता र कार्यहरू अनुकरण गर्न आग्रह गर्नुभयो। उदाहरणका लागि, येशूले १२ जना चेलाहरू छानिसक्नुभएपछि तिनीहरूले के गर्ने थिए? मर्कूस ३:१४, १५ हामीलाई यसो भन्छ: “तिनीहरू उहाँका साथमा रहन, र तिनीहरूलाई प्रचार गर्न पठाउन, र भूतहरू निकाल्ने अधिकार पनि तिनीहरूलाई होस् भनेर, उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो।” प्रेरितहरूले राख्नुपर्ने प्राथमिकता के तपाईंले देख्नुभयो?
१०, ११. (क) प्रेरितहरूलाई पठाउनुहुँदा येशूले तिनीहरूलाई के गर भन्नुभयो? (ख) प्रेरितहरू पठाउनुको कारण के थियो?
१० समयमा ती १२ जनालाई येशूले अरूलाई निको पार्न र भूत निकाल्न सक्षम पार्नुभयो। (मत्ती १०:१; लूका ९:१) त्यसपछि उहाँले तिनीहरूलाई “इस्राएलको घरानामा हराएका भेड़ाहरूकहाँ” पठाउनुभयो। के गर्न? येशूले तिनीहरूलाई यस्तो निर्देशन दिनुभयो: “ ‘स्वर्गको राज्य नजीकै आइपुगेको छ,’ भन्दै प्रचार गर। बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जगाओ, कोरीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल।” (मत्ती १०:५-८; लूका ९:२) वास्तवमा तिनीहरूले के गरे? “तब तिनीहरू निस्केर गई [१] मानिसहरूले पश्चाताप गरून् भन्ने प्रचार गरे। अनि [२] तिनीहरूले धेरै भूतात्माहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेल घसिदिएर निको पारे।”—मर्कूस ६:१२, १३.
११ हर अवसरमा सुरुमा नै शिक्षा दिनेबारे उल्लेख नगरिएको भए तापनि त्यसबारे उपरोक्त क्रमलाई विचार गर्दा यहाँ प्राथमिकता दिनुपर्ने कुरालाई जोड दिइएको छ वा मनोवृत्तिलाई? (लूका १०:१-८) निको पार्नुअघि शिक्षा दिनेबारे कति पटक उल्लेख गरिएको छ, त्यसलाई हामीले कम महत्त्वको ठान्नु हुँदैन। यो घटनालाई विचार गर्नुहोस्। बाह्र प्रेरितहरूलाई पठाउनुअघि मात्र भीडलाई देखेर येशूको मन पग्लियो। हामी यसो लेखिएको पाउँछौं: “येशू सब शहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिंदै र राज्यको सुसमाचारको प्रचार गर्दै, र हरेक किसिमका रोग र बिमार निको पार्दै हिंड़नुभयो। तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए। तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनी बिन्ती गर।’ ”—मत्ती ९:३५-३८.
१२. येशू र प्रेरितहरूले गरेका चमत्कारी कार्यहरूले कुन थप उद्देश्य पूरा गरे?
१२ उहाँसित हुनुहुँदा प्रेरितहरूले केही हदसम्म ख्रीष्टको मनसित भिज्नसके। तिनीहरूको सुकर्मको प्रमुख पक्ष अर्थात् मानिसहरूप्रति मायालु अनि अनुकम्पापूर्ण हुन परमेश्वरको राज्यबारे प्रचार गर्नु र शिक्षा दिनु समावेश छ भनेर तिनीहरूले बुझ्नसके। त्यसअनुरूप रोगी निको पार्ने जस्ता भौतिक सुकर्मले खाँचोमा परेकाहरूका लागि धेरै मदत गरेको थियो। रोग निको पारिएको र चमत्कार गरेर खुवाएको हुनाले केही मानिसहरू आकर्षित हुन्छन् भनेर तपाईंले कल्पना गर्नुभएकै होला। (मत्ती ४:२४, २५; ८:१६; ९:३२, ३३; १४:३५, ३६; यूहन्ना ६:२६) तथापि, शारीरिक मदतको अलावा यी कार्यहरूको कारण दर्शकहरूले येशू परमेश्वरको पुत्र हुनुहुन्छ र मोशाले अगमवाणी गरेका “अगमवक्ता” हुनुहुन्छ भनेर पनि बुझे।—यूहन्ना ६:१४; व्यवस्था १८:१५.
१३. व्यवस्था १८:१८ को भविष्यवाणीले आउनलागेका “अगमवक्ता[को]” कस्तो भूमिकामाथि जोड दियो?
१३ येशू “अगमवक्ता” हुनु किन अर्थपूर्ण थियो? वास्तवमा, भविष्यवाणीमा उहाँको प्रमुख भूमिका के थियो? व्यवस्था १८:१८ यस्तो भविष्यवाणी गर्छ: “तिनीहरूका निम्ति तिनीहरूमध्येबाट म एउटा [मोशाजस्तै] अगमवक्ता खड़ा गर्नेछु। मैले बोल्ने कुरा म त्यसलाई भन्नेछु र त्यसले मेरो आज्ञाअनुसार मानिसहरूसम्म मेरो कुरा पुऱ्याउनेछ।” त्यसै गरी प्रेरितहरूसित कोमल भावना हुनु र त्यो व्यक्त गर्नुका साथै त्यतिखेरै तिनीहरूले ख्रीष्टको मन तिनीहरूको प्रचारकार्य र शिक्षा दिने कार्यमा प्रत्यक्ष देखिनुपर्छ भन्ने निष्कर्षमा पनि पुग्नुपर्थ्यो। यो तिनीहरूले मानिसहरूका लागि गर्नसक्ने सर्वोत्तम कुरा थियो। यसद्वारा रोगी तथा गरिबहरूले यो छोटो मानव जीवन वा एकदुई छाक मात्र होइन स्थायी लाभहरू पाउनसक्थे।—यूहन्ना ६:२६-३०.
आजै ख्रीष्टको मन विकास गर्नुहोस्
१४. हामीले प्रचार गर्ने सम्बन्धमा ख्रीष्टको मन हुनुमा के समावेश छ?
१४ हामीमध्ये कसैलाई पनि प्रथम शताब्दीकाहरूलाई जति ख्रीष्टको मन अनुपम लाग्दैन होला। अर्थात् येशू र प्रारम्भिक मसीहीहरूलाई जति लाग्दैन होला जसबारे पावलले यसो लेखे: “हामीसँग ता ख्रीष्टको मन छ।” (१ कोरिन्थी २:१६) अनि सुसमाचार प्रचार गर्न र चेला बनाउन हामी करमा नै परेका छौं भनेर सहजै स्वीकारौंला। (मत्ती २४:१४; २८:१९, २०) यद्यपि, यो काम गर्ने सम्बन्धमा हामीले आफ्नो मनोवृत्ति केलाउनु फाइदाजनक हुन्छ। हामीले कर्तव्यबोधको कारण यसो गर्न नहुने हो। हामी सेवकाईमा किन भाग लिन्छौं, त्यसको प्रमुख कारण परमेश्वरप्रतिको प्रेम हो र साँच्चै येशूजस्तै हुनुमा प्रचार गर्न र शिक्षा दिन अनुकम्पाको कारण उत्प्रेरित हुनु पनि समावेश छ।—मत्ती २२:३७-३९.
१५. किन अनुकम्पा हाम्रो सेवकाईको अत्यावश्यक भाग हो?
१५ हो, हाम्रो विश्वाससित सहमत नहुनेहरू र विशेष गरी भावशून्यता, तिरस्कार वा विरोध सामना गर्नुपर्दा ती व्यक्तिहरूप्रति अनुकम्पा प्रकट गर्नु सधैं सजिलो हुँदैन। यद्यपि, मानिसहरूप्रति हाम्रो प्रेम र अनुकम्पा गुमायौं भने हामीले मसीही सेवकाईमा भाग लिने अत्यावश्यक उत्प्रेरणा पनि गुमाउनेछौं। त्यसोभए, हामी कसरी अनुकम्पा खेती गर्नसक्छौं? हामीले मानिसहरूप्रति येशूको जस्तै दृष्टिकोण राखेर अर्थात् तिनीहरूलाई “गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका” छन् भन्ठानेर। (मत्ती ९:३६) के आज थुप्रै यस्तै छैनन् र? तिनीहरू झूटा धार्मिक गोठालाहरूका कारण तिरस्कृत र अन्धो भएका छन्। फलतः, तिनीहरूलाई बाइबलमा पाइने निश्छल निर्देशनहरू थाह छैन न त परमेश्वरको राज्यले चाँडै यस पृथ्वीमा ल्याउने प्रमोदवनरूपी अवस्थाबारे नै थाह छ। तिनीहरूसित परमेश्वरको राज्यले ल्याउने आशा छैन र तिनीहरूले गरिबी, पारिवारिक कलह, रोग र मृत्युलगायत जीवनका दैनिक समस्याहरू सामना गरिरहेका छन्। हामीसित तिनीहरूलाई चाहिएकै कुरा छ: स्वर्गमा स्थापित परमेश्वरको राज्यको जीवनरक्षक सुसमाचार!
१६. हामी अरूसित सुसमाचार किन बाँड्न चाहन्छौं?
१६ आफू वरपरकाहरूको आध्यात्मिक आवश्यकताहरूमा ध्यान केन्द्रित गर्दा के तपाईं तिनीहरूलाई परमेश्वरको मायालु प्रबन्धबारे सबथोक भन्न हृदयदेखि नै उत्प्रेरित हुनुहुन्न र? हो, हाम्रो काम अनुकम्पापूर्ण छ। येशूले जस्तै मानिसहरूप्रति समानुभूति छ भने त्यो हाम्रो बोल्ने तरिका, हाम्रो अनुहार अनि हामीले शिक्षा दिने तरिकामा प्रस्टिन्छ। यी सबले “अनन्त जीवनका लागि नियुक्त भएकाहरू जत्ति[का]” लागि हाम्रो सन्देश कर्णप्रिय बनाउँछ।—प्रेरित १३:४८.
१७. (क) अरूप्रतिको हाम्रो प्रेम र अनुकम्पा प्रकट गर्ने केही तरिकाहरू के के हुन्? (ख) किन यो, कि असल कामहरू गर्ने कि त जनसेवकाईमा भाग लिने कुरा होइन?
१७ पक्कै पनि हाम्रो सम्पूर्ण जीवनमा प्रेम र अनुकम्पा झल्कनुपर्छ। यसमा खाँचोमा परेका, रोगी र गरिबहरूप्रति दयालु हुनु अर्थात् तिनीहरूको पीडा कम गर्न व्यावहारिक भई हामीले गर्नसकेजति गर्नु पनि समावेश छ। यसमा मृत्युको कारण प्रियजनहरू गुमाएकाहरूको शोक हरण गर्ने प्रयासमा हामीले बोलेका र गरेका कामहरू पनि समावेश छन्। (लूका ७:११-१५; यूहन्ना ११:३३-३५) यद्यपि, प्रेम, दया र अनुकम्पाको यस्तो प्रकटिकरण हाम्रो कोही कोही मानववादीहरूको जस्तै असल कार्यतिर ध्यान खिच्ने मुख्य कुरा पटक्कै हुनुहुँदैन। योभन्दा पनि चिरकालीन अर्थ राख्ने कुरा त माथि उल्लेख गरिएका ईश्वरीय गुणहरूले उत्प्रेरित भई गरिएका प्रयासहरू हुन् जुन मसीही प्रचारकार्य र शिक्षा दिने कार्यमा भाग लिंदा प्रकट हुन्छन्। यहूदी धार्मिक नेताहरूबारे येशूले के भन्नुभयो सम्झनुहोस्: “तिमीहरू पदीना र सूँप र जीराको दशौं भाग दिन्छौ, औ व्यवस्थाका तीभन्दा गहकिला कुराहरू, अर्थात् न्याय, दया र विश्वास छोड़दछौ। तर तिमीहरूले यो पनि गरेर ती पनि नछोड़नु पर्थ्यो।” (मत्ती २३:२३) येशूले कि यो कि त त्यो भन्नु भएन अर्थात् मानिसहरूलाई कि भौतिक आवश्यकता पूरा गर्न मदत गर्नू कि जीवन दिने आध्यात्मिक कुराहरू सिकाउनू, भन्नुभएन। येशूले यी दुवै गर्नुभयो। तैपनि, उहाँको शैक्षिक कार्य सबैभन्दा पहिलो थियो भन्ने कुरामा दुई मत छैन किनकि यही असल कार्यद्वारा उहाँले अनन्तसम्म मदत हुने काम गरिरहनुभएको थियो।—यूहन्ना २०:१६.
१८. ख्रीष्टको मन विचार गर्दा हामीलाई के गर्न उत्प्रेरित गर्छ?
१८ यहोवाले हाम्रोनिम्ति ख्रीष्टको मन प्रकट गरिदिनुभएकोमा हामी कत्ति कृतज्ञ हुनसक्छौं! सुसमाचारका पुस्तकहरू मार्फत हामीले आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान् पुरुषका विचार, भावना, गुण, क्रियाकलाप र प्राथमिकताहरू अझ राम्ररी बुझ्नसक्यौं। बाइबलले येशूबारे प्रकट गरेका कुराहरू पढ्ने अनि मनन गर्ने कि नगर्ने त्यो हामीमा भर पर्छ। नबिर्सनुहोस्, येशूले जस्तै गर्न चाहन्छौं भने असिद्धताको बावजूद क्षमताले भ्याएसम्म हामीले सर्वप्रथम उहाँले जस्तै सोच्नैपर्छ, महसुस गर्नैपर्छ अनि स्थिति पारख गर्नैपर्छ। त्यसकारण, आउनुहोस्, ख्रीष्टको मन खेती गर्न र प्रदर्शन गर्न दृढ होऔं। यसभन्दा असल तरिकामा जीवन बिताउने, मानिसहरूसित व्यवहार गर्ने अनि हामी र अरू येशूले पूर्णतया प्रतिबिम्बित गर्नुभएको हाम्रो मायालु परमेश्वर यहोवासित नजिकिने अरू कुनै तरिका छैन।—२ कोरिन्थी १:३; हिब्रू १:३.
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
• खाँचोमा परेका मानिसहरूप्रति येशूले कस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो भन्नेबारे बाइबलले कस्तो अन्तरदृष्टि प्रदान गर्छ?
• आफ्ना अनुयायीहरूलाई निर्देशन दिनुहुँदा येशूले के कुरामा जोड दिनुभयो?
• हाम्रो गतिविधिमा हामी कसरी ख्रीष्टको मन प्रकट गर्नसक्छौं?
[पृष्ठ २३-मा भएको पृष्ठभरिको चित्र]
[पृष्ठ २४-मा भएको चित्र]
मसीहीहरूले अरूका लागि गर्नसक्ने सबैभन्दा असल कार्य के हो?